२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

डीपी सर जसलाई भेटियो र भेटिएन

सम्बन्ध
मैले डीपी सरको हात समातेँ । उनले मेरो हात यसरी पक्डिए मानौं उनको हात एक सनासो हो । मैले गम खाएँ– त्यो कडा पकडको मनसाय के हुँदो हो ? मलाई एक्लै नछाड ? म जगत्मा छँदैछु, मलाई नबिर्स ?
खगेन्द्र संग्रौला

काठमाडौँ — मैले सोधेँ— सर, मलाई चिन्नुभो ? म रिपु क्या रिपु । बूढा ठट्टैठट्टामा मलाई रिपु वा लेखनी जगत्को प्रतिस्पर्धी भन्थे । बूढाका मुखबाट अस्पष्ट ध्वनि प्रकट भयो । तल्लो ओठ सन्तुलनकारी तन्तुहरू शिथित भएझैँ, दाँत फुक्लिएझैँ पोको पर्‍यो । मैले भनेँ— डीपी सर, म तपाईंको चाबेलको चाउरे क्या ?

डीपी सर जसलाई भेटियो र भेटिएन

एक मनले यी परिहासप्रेमी बूढालाई भेट्न जान खुबै मन थियो, अर्को मनले नित्य आनाकानी गरिरह्यो । यदाकदा भेट हुँदा मित्र शेखर खरेल द्रवित हुँदै बूढाका कुरा गर्थे— दाइ, सर अब आफैं आफूमा हुनुहुन्न । भेट्न जान मन लाग्छ तर जानै सक्दिनँ । बिरानाले बिरानालाई हेरेजस्तो गरी हेर्न के भेट्नु ?

तरुण दोस्त देवेन्द्र भट्टराईले भनिरहे— सर, लौ न कम्तीमा एकपल्ट बूढाकहाँ जाऊँ । धेरै विलम्ब भएपछि सर, पछुतो मात्रै बाँकी रहन्छ । हुन्छ, देवेन— सधैं मुखले मानिरहेँ, मनले कहिल्यै जाँगर लगाइनँ । अलि महिनाअघि अभि दाइले बूढालाई भेटेको उदास सम्झनाको मर्मान्तक कथा पढेको थिएँ ।

अलिपछि कुमार नगरकोटीले भेटेको संक्षिप्त बयान पढेँ । बूढाले एक सुरले वेडिङ कार्डमा आँखा स्थिर गरेर आँखैआँखाले कार्ड ओल्टाइपल्टाइ गरेको सटीक वर्णन बडो हृदयविदारक थियो । त्यो चरम् कारुणिक चित्रले बूढाकहाँ नजान मलाई झन्झन् दृढ बनायो ।

तर, देवेन बाउ भैंसीका ढाडको किर्नोजस्ता छन्, आग्रहको आङमा टाँसियो कि टिपेर पन्छाउनै नसकिने । फेरि, फेरि र फेरि पनि तिनले कर गरिरहे— लौ न सर, पछि पछुतो... । लौ न भने लौ न सही, गत मंसिर १ गते बिहान १० बजे हामी दुई भाइ बाटो लाग्यौं ।

बटाभरि मेरो आशंकित मन त्यसैत्यसै उद्वेलित भइरह्यो । म किन बूढालाई भेट्न हिँडेको ? मित्रको मित्रसँग जीवन्तदृष्टिले भेट हुन्छ । स्पन्दनमय स्वरले भेट हुन्छ । न्यानो स्पर्शले भेट हुन्छ । र, भेट भयो भन्ने सबुतका रूपमा स्मृतिग्रन्थिले मस्तिष्कका चिप्सहरूमा यी सबै भेटहरूको दिगो अभिलेख राख्छ । बूढासँगको भेटमा मेरो केको भेट हुने हो ? केवल सपाट हेराहेरको ? फगत अर्थहीन स्पर्शको ? सिर्फ अपरिचित स्वरको ?

सुनेअनुसार बूढाका स्मृतिका चिप्सहरूमा त्यो केही नै अंकित हुँदैन त बित्थामा यो केको भेट ? केवल लोकाचारको ? केवल हामी पुराना अन्तरंग मित्र हौं भन्ने उदास यादको ? अथवा केवल यादविहीन यादको ? हामी देवेन्द्रको टुरटुरेमा डा. डीपी भण्डारीका घरको मूलद्वारमा पुग्यौं । लौह टुरटुरेबाट ओर्लिएर देवेन्द्रको अनुहार हेरेँ । अहो ! उनी त त्यसैत्यसै आतंकित छन् ।

मानौं कुनै क्लेशकारक दृश्यको पूर्वाभासले उनी मर्माहत छन् । उनले भयभीत मुद्रामा गेटको चरबाट यसो भित्र चियाए । हामी आफ्नै बाध्यात्मक रहरले एक अप्रिय एवं अनिष्ट दृश्यको निकट गइरहेछौं । आतेसको मुद्रामा देवेनले गेट खोले । गेटभित्र घर निकै पर छ, घरबाहिर चरोमुसो केहीको चालचोल छैन । त्यहाँ छ त केवल सघन सन्नाटा मात्र । भित्रबाट एउटी महिला प्रकट भइन् ।

तिनले केही भनेर टार्लिन् कि भन्ने मलाई डर थियो । तर, देवेनको सविनय जिज्ञासाको शिष्ट प्रत्युत्तरमा तिनले मुस्कानमय भावभंगिमाले हाम्रो स्वागत गरिन् । हामीभित्र पस्यौं । महिलाले बायाँपट्टिको ढोकाबाट मुन्टो छिराएर ‘बुआ, मान्छे भेट्न आउनुभा’छ भनिन् । यी विचलित आँखाले के देख्ने हुन् भनेर बेचैन मनोवाद गर्दै म भित्र पसेँ । कोठा सानो छ ।

डीपी सर सफासुग्घर ओछ्यानमा उत्तानो परेर सुतेका छन् । देवेन बाबुले बूढा भाम मोटाका छन् भनेका थिए । मैले त बूढा निकै गलेका देखेँ । आँखामा कालो चस्मा, शिरमा ऊनीको कालै टोपी, गालामा चाउरी, आँखामा हो कि होइनजस्तो खुल्दुली । बूढाले हामीलाई आलोपालो गरी हेरे । हेराइ ईश्वरवल्लभको ‘दुइटा फूल देउराली’ मा झैँ थियो— देखेदेखेजस्तो, चिनेचिनेजस्तो । नदेखेनदेखेजस्तो, नचिनेनचिनेजस्तो । म बूढाको शिरपट्टि बसेँ, देवेन बाबु गोडामुनिपट्टि बसे ।

गोडामुनि भित्तामा टेलिभिजनको ठूलो स्क्रिन थियो । बूढा यसो केही हेरेर समय कटनी गर्दा हुन्— किञ्चित् चैनको भावमा मैले तर्कना गरेँ । अब बूढालाई के भन्ने ? मेरो बक् फुट्न गाह्रो भयो । देवेनले सोधे— सर, उहाँलाई चिन्नुभो ? डीपी सरका आँखामा कुनै कौतुक, कुनै भाव, कुनै तरंग, कुनै उमंग गोचर भएन । उनले केवल उही शेखरले भनेझैँ बिरानाले बिरानालाई हेरैझैँ मलाई हेरे मात्र ।

उनका ज्याकेटको चेन थोरै खुला थियो । उनको हात त्यो चेन लगाउन बल गरिरह्यो । पहिले नगरकोटी ब्रो जाँदा जसरी उनको चित्त वेडिङ कार्डमा एकाग्र भएको थियो, अहिले चेनमा एकाग्र भइरह्यो । हामी त्यहाँ बसुन्जेल नै त्यो एकोहोरो ताना चलिरह्यो, चलिरह्यो ।

मैले डीपी सरको हात समातेँ । उनले मेरो हात यसरी पक्डिए मानौं उनको हात एक सनासो हो । मैले गम खाएँ— त्यो कडा पकडको मनसाय के हुँदो हो ? मलाई एक्लै नछाड ? म जगत्मा छँदैछु, मलाई नबिर्स ? अथवा म विस्मरणमा गए पनि तिमीप्रतिको मेरो स्नेह पूर्ववत् कायम छ । बूढाको त्यो जब्बर पडकले मलाई त्यसैत्यसै भावुक बनायो । मनचिन्ते कल्पनामा म रमाएँ— जे भए पनि बूढाले मलाई बिर्सेका रहेनछन् ।

तपाईंको प्रेममय परिहासको उही चाबेलको चाउरे । अहिले भने बूढाले बुझिने गरी दोहोर्‍याए— चाबेलको चाउरे ?

उनका आँखामा हल्का चमक, अनुहारमा पातलो कान्ति दृष्टिगोचर भयो । उनका ओठ खुले र मुस्कानमय दन्त प्रकट भए । बूढाको अनुहार त्यसैत्यसै उज्यालो भयो । लालबुझक्कडी मुद्रामा म फुर्किएँ— बस्, बूढाले चाबेलको चाउरेलाई चिने ! तर पछि शेखरको भनाइले मलाई खिन्न तुल्यायो । उनले भने— दाइ, त्यो सरले चिन्नुभएको होइन । त्यो त केवल बोल्नेका वचन यान्त्रिकरूपले दोहोर्‍याएको मात्र हो । होला सायद । हुन पनि डीपी सरले आफैँ केही भनेनन्, केवल भनिएका शब्द दोहोर्‍याए । त्यो त फगत सुगाशैलीको यान्त्रिक पुनरुक्ति न हो ।

***

डीपी सरका कान्छा छोरा शैलेश कोठामा आए । कर्तव्यनिष्ठ भई पिताको स्याहार–सुसार गर्न अमेरिकाबाट नेपाल फर्केका । डीपी सरको रेखदेखमा दुईजना सहयोगी नियुक्त गरिएका रहेछन् । रातोदिन, कोठाबाहिर र भित्र, उठ्दा र सुत्दा नित्य सुसार गर्ने एक पुरुष र दिनमा एकचोटि आउने एक महिला नर्स । जे होस्, बूढाको हेरचाहमा कुनै कमी रहेनछ । देवेन र मैले मुखामुख गर्‍यौं । अहिले भने उनको र मेरो उदास मन किञ्चित् हलुंगो भयो ।

त्यस्तै पौने घण्टापछि हामी बिदा हुने बेला भयो । बूढाले मेरो हात छाडे त मार्दिनू । अहिले भने म द्रवित भएँ । आँखामा आँसु लिएर निर्ममतासाथ हात फुस्काउँदै नमस्कार गरेर हामी बाटो लाग्यौं । मेरो ट्वीट पढेर होला सायद भोलिपल्ट अभि दाइले जेबी हल्कारामार्फत खबर पठाए— भाइ, डीपी सर एक छिन फर्केको कुराले म द्रवित भएँ । यता अप्रिय तर्कनाले मेरो मन त्यसैत्यसै हुँडलिरह्यो— सके डीपी सरसँग मेरो यो अन्तिम भेट हो । फेरि जान म के आँट गर्न सकूँला र ?

***

२०६८ को उजाड र उदास चैत महिना । मलाई शेखर खरेलको निम्ता आयो । जेबी फोनमा निज ब्रोले भने— दाइ, तीन आदरणीयलाई मेरोतर्फबाट नगरकोटमा एक रातको निम्ता । को तीनलाई ?— मैले सोधें । डीपी सर, अभि सर र दाइलाई । डीपी सर र अभि सर शेखरका औपचारिक गुरु हुन् । यी गुरु–चेलाको नाता रहरलाग्दो छ ।

यी गुणग्राही चेलाको आफ्ना गुरुप्रतिको कृतज्ञताभाव र यी अनुरागी गुरुको आफ्ना चेलाप्रतिको ममतापूर्ण अभिभावकत्वको भाव मलाई बडो उदाहरणीय लाग्छ । चेला शेखरले गुरुभेटीका रूपमा रोचक डकुमेन्ट्री ‘काडमान्डु ओडिसी’ बनाए । यो ओडिसी अभिनारायण सुवेदीदेखि अभि सुवेदीसम्मको काठमाडौं विचरणको सुख–दु:खको दशकीय यात्राको रंगीन कथा हो ।

ज्यापूदेखि हिप्पीसम्म र टुँडालदेखि साँढेसम्मको अद्भुत संगतको कथा । शेखर असीम कृतज्ञताको मुद्रामा सुनाउँछन्— दाइ, यति अग्लो कद भएका स्वनामधन्य दुई गुरुले म फुच्चेलाई आफ्ना एकएक पुस्तकको भूमिका लेख्ने अवसर दिए । मेरो जीवनमा कल्पनै नगरिएका पुरस्कार हुन् यी !

यी पुरस्कृत पात्रको निम्तामा नगरकोट जाने दिन आयो । के खण्डखातिर पर्‍यो कुन्नि, अभि दाइ सामेल भएनन् । शेखर अगाडि सारथिको सिटमा बसे, डीपी सर म पछाडि निम्तालुको सिटमा । नगरकोटको मौसम र वातावरण सानदार थियो । मन्दमन्द पवनको सुमधुर लयमा एकदमै शीतल र शान्त । डीपी सरमा विस्मरणको लक्षण देखिन थालेको थियो । तर, त्यो केवल हो कि होइनको चरणमा थियो ।

कफीको सुस्वादु चुस्की लिँदै र सेरोफेरोको मनोरम हरियाली हेर्दै दर्शनदेखि राजनीतिसम्म, प्रणयदेखि परिहाससम्म, डब्लुबी इट्सदेखि देवकोटासम्म अनेक विषयमा छरपस्ट कुरा भए । डीपी सरसँगको वार्तामा हुने सधैं त्यस्तै हो । निर्बन्ध मुद्रा, निर्बन्ध विषय, निर्बन्ध विमर्श । साँझपख हल्का पान र अघाउँजी खान सम्पन्न भयो ।

घरमा भाउजूको कडा खटनमा चीज बिल्कुलै निषिद्ध रहेछ, बन्धनमुक्त नगरकोटमा डीपी सरले वाइन बजाए । सुरुमा गिलास र चम्चा उठाएर मुखमा पुर्‍याउन गाह्रो भयो । सरका पार्किन्सनले गाँजेका औंला थर्थरी कामे । गिलास र चम्चाको सन्तुलन मिलाउन शेखरले सप्रेम सघाए । पछि वाइनको नशाद्वारा तरंगित बूढाका औंला अचम्मसँग सन्तुलित हुुँदै गए । र, सरले बिनासहारा आफ्नै सुरले गिलास र चम्चा चलाए ।

भोलिपल्ट हामी फर्केर जब डीपी सरको घरमा आइपुग्यौं, जीवनको एक विषादपूर्ण पर्दा उठ्यो । ढोकामा डीपी सरको ढकढकपछि भित्र भाउजू प्रकट भइन् । ती दम्पतीबीच एकतमासको हेराहेर भयो । दुवैका अनुहार अन्योलग्रस्त र उदास देखिए । तिनको हेराइ मलाई बिराना आँखाले बिरानो मानिसलाई हेरेजस्तो लाग्यो । त्यो क्षणमा डीपी सर हठात् आफैँबाट हराए ।

र, बिदा गर्न हतार लागेझैँ गरी मतिर फर्केर सोधे— तपाईं भक्तपुरै जाने हो ? होइन सर, म चाबेल जाने । तपाईं भक्तपुरको प्रोफेसर होइन ? होइन सर, म चाबेलको चाउरे । मेरो परिचित उत्तरले बूढाका अनुहारमा कुनै परिचित र प्रिय भाव जगाएन । र, शेखरसँग बिदा मागेर उदास सुस्केरा हाल्दै म चाबेलतिर लागेँ । बाटाभरि लागिरह्यो— एक बारको जुनीमा स्मरणशक्तिसहितका डीपी सरलाई भेट्नु सायद यत्ति हो !

***

डीपी सर र मेरो मितेरीको कथा हाम्रालागि त यसै पनि रोचक छ नै, लोकका लागि झनै रोचक छ । सार्वजनिक डबलीमा अनेक लोकदृष्टिमुखेन्जी जंगिँदै डीपी सर मलाई झम्टिन खोज्छन्— तँलाई चाउरे ! लोक बडो विस्मयसाथ जीवनको त्यो अनपेक्षित अभिनय नजर गर्छ र जिब्रो टोक्छ । यो के भएको ?

म मुखर प्रतिक्रिया गर्दिनँ । केवल मौन भावले नतमस्तक हुन्छु म । लोकदृष्टिमा विचार र स्वभावमा हामी नदीका दुई किनारजस्ता । मानौं कहिल्यै भेट हुन नसक्ने । म कांग्रेसविरोधी कम्निस्ट, डीपी सर कम्निस्टविरोधी कांग्रेस । तर, यथार्थमा यो लोकदृष्टि सही थिएन ।

डीपी सर कांग्रेसलाई भोट हाल्थे तर सुकागोटे टिकट काटेका बँधुवा कांग्रेस थिएनन् । उनी कम्निस्टको पाखण्डका कठोर आलोचक थिए, कम्निस्ट आदर्शविरोधी थिएनन् । मेरो कथा पनि यस्तै हो । समयक्रममा मेरो जगत्दृष्टि फेरिँदै, विस्तारित हुँदै, परिमार्जित हुँदै आएको छ । वैचारिक शुद्धताको रुढीलाई त्यागेर मैले राष्ट्रवादको गन्धे बोरा जब बिसाएँ, कांग्रेसलाई हेर्ने मेरो दृष्टि फेरियो ।

म संगठनको नोकरशाही सिक्रीले बाँधिएको कम्निस्ट कहिल्यै भइनँ । तर, कम्निस्ट आदर्श मेरालागि सदैव प्रिय छ । प्रणय र परिहास डीपी सरको जीवनदृष्टि र कलात्मक अभिव्यक्तिका दुई रुचिकर तत्त्व हुन् । र, मेरा पनि । पाखण्डको धज्जी उडान हाम्रा साझा विषय । र, यदाकदाको सहमदिरापान हाम्रो अन्तरंग सम्बन्धको सरस रसायन ।

युवाबयमा डीपी सर केही समय कडा कम्निस्ट थिए । यो हरिद्वारको आश्रममा संस्कृतको घोकन्ते विद्यार्थी छँदाको कुरा हो । आश्रममा अर्को एउटा मोहीतिघ्रे विद्यार्थी थियो, परमानन्द नौटियाल । त्यो जीव कम्निस्ट भएको उग्र अभिनय गथ्र्यो । उग्र वाणी, उग्र पूर्वाग्रह, उग्र द्वेष, उग्र निषेध त्यसका परिचायक विशेषता थिए । अजिबको जीव त्यो परमानन्द सोझा डीपी सरको कम्निस्ट गुरु ।

ऊ एक मुठीको टुप्पी पाल्थ्यो, तीनधर्के चन्दन लाउँथ्यो, पहेँलो धोती फेथ्र्यो, नित्य स्तोत्र जप्थ्यो र सायद यताउता आतेपाते गरेर अछेता–दछिना पनि थाप्थ्यो । उसका वचन, कर्म र आचरण विरोधाभासग्रस्त थिए । ऊ लोभ, द्वेष, ढोङ र परपीडनको साक्षात् प्रतिमूर्ति थियो । एक बिहान युवा डीपी धारामा नुहाउँदै के थिए एउटा जखमले बाँदर धाराको खम्बामाथि चढ्यो ।

डीपी ब्रोको सातो गयो । र, उनी भाग्न लाग्दा उनको कटिमुनिबाट गम्छा खस्यो । हठात् प्रकट भएका परमानन्दले चीज देखे । रोषले रुष्ट हुँदै उनले गुरुलाई पोल लगाए— गुरु, यसले मलाई देखायो । यो मेरो परीक्षामा व्यवधान गर्ने अपशकुन हो । मूढमति परमानन्दको त्यो अन्धविश्वास र द्वेषभावले युवा डीपी मर्माहत भए । र, चेलोमा गुरुपन्थप्रति वितृष्णा जागेर आयो । बस्, डीपी सर परमानन्दलाई थुक्दै निजले थोपरेको कम्निस्टको आवरण च्यातेर सादा मानिसमा फर्किए । र, धेरैपछि पूर्वस्मृतिहरूको यादमा उनले ‘म किन कम्निस्ट हुन सकिनँ’ भन्ने निबन्ध लेखे ।

डीपी सर रजनीशका फ्यान हुन् । गुरु रजनीशझैँ मूर्तिभञ्जनका एक अथक बौद्धिक अभियन्ता । जीवनमा पनि र कलामा पनि । मूर्तिभञ्जन मेरो पनि रुचि र साधनाको विषय । बस्, डीपी सर र म इतिहासको उही कालका, जीवनको एउटै किनारका यात्री । र, लोकदृष्टिमा हामी विचित्रका मित्र ।

***

डीपी सरको निबन्धसंग्रह ‘मृगस्थली’ माथिको मन्तव्यमा यदुनाथ खनाल लेख्छन्, ‘परिहासशून्य मानिस आधा मानिस हो ।’ स्मृतिग्रन्थि जीवन्त छँदा डीपी सर श्री खनालको यो आप्त वचन घरीघरी दोहोर्‍याउँथे । र, परिहासको भावमा मलाई सोध्थे— भन्त चाउरे, तेरो कम्निस्ट महलमा परिहासशून्य मानिस कति छन् ? म गम खान्थेँ र आफ्नै उत्तरले मलाई लज्जित तुल्याउँथ्यो ।

कम्निस्ट महलमा परिहासयुक्त मानिस म विरलै देख्थेँ । एकाध अपवादलाई छाडेर सबैजसो अररा, सबैजसो अरसिक, सबैजसो ढोँगी । डीपी सर भन्थे— पाखण्ड मानिसको दोहोरो चरित्रको द्योतक हो । र, यो परिहासको सरासर शत्रु हो । डीपी सरले मलाई गर्ने सम्बोधनमा लोक सायद सम्बोधनकर्ताको अभद्रता र अहंकार महसुस गथ्र्यो ।

र, त्यसप्रतिको मेरो मुस्कानमय मौन स्वीकृतिमा सायद मेरो हीनता देख्थ्यो । तर, परिहासमय लबजयुक्त र नितान्त अन्तरंग त्यो सम्बोधन बडो प्रेममय थियो र मेरो त्यो मौन स्वीकृति आदरभावले ओतप्रोत थियो । प्रयोगकर्ताको ध्वनि र भंगिमाले शब्दमा विछट्टको लाक्षणिक अर्थ भरिदिन्छ । र, शब्दमा प्रयोगकर्ताको जादुगरी कला प्रकट हुन्छ । डीपी सरको ‘चाबेलको चाउरे’ मा त्यही प्रेमपूर्ण कला सन्निहित छ ।

***

न जन्म मानिसको वशमा हुन्छ न त मृत्यु नै । यी दुवै कसैले पनि राजीखुसीले रोज्न नपाइने । संयोगले जो पाएको चुपचाप भोग गर्न, बेहोर्न विवश हुनुपर्ने । जीवनमा कति प्रतिशत जीवन आफ्नो हो र कति प्रतिशत अन्य कारक र कारण एवं संयोग र दुर्घटनाहरूको हो ? डीपी सरको विस्मृत अवस्था देखेपछि मनमा यस्ता कुराका तरंग उठिरहे । अँ, फेरि पनि आयो कुरा परिहासको ।

डीपी सरको लेखनीमा परिहासको प्रयोग खतरा छ । एउटा निबन्धमा उनले लेखे— पशुपतिनाथको नागा बाबा हाकाहाकी लिंग प्रदर्शन गर्छ । भ्रष्टाचारी नेताको नाकभन्दा त नागा बाबाको लिंग कता हो कता दर्शनीय लाग्छ ।

त्यस्तो भष्टाचारीको यथोचित नियतिउपर घोत्लिँदै डीपी सर सगर्व घोषणा गर्थे— भष्टाचारी दुष्ट कीरा परेर मर्छ, म वनकालीमा घुम्दाघुम्दै हृदयाघातले मर्छु । तर, के लाग्छ, चिताएको एउटा थियो, भइदियो अर्कै । वनकालीको विचरण र इच्छामरण डीपी सरका लागि आफ्नै अतीतको विस्मृत जीवनको विस्मृत कथा बन्न पुग्यो ।

डीपी सर, तपाईंले बिर्से पनि चाबेलको चाउरे ती बितेका दिनको सम्झना गर्दै तपाईंलाई भारी हृदयले सम्झिरहन्छ । आखिर यस्तै त रहेछ जीवन !

प्रकाशित : मंसिर २२, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?