कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

दंशभित्रको दंश

पुस्तक
सङ्ग्रहका प्राय: कथाले ‘दंश’ शब्दले बोक्ने अर्थलाई ध्वनित गर्छन् । केहीलाई छाडेर यी कथाले कुनै न कुनै रूपले व्यक्तिजीवन अथवा ऊ बाँचेको समयका पीडा बोलेका छन् ।
विजय सापकोटा

काठमाडौँ — ‘दंश’ कथासङ्ग्रहमा समेटिएका कथामा बुनिएका विषयवस्तुले दिनमानलाई वर्तमानका कथाकारका रूपमा उभ्याएका छन् । उनका कथाका विषय र चरित्र विविध छन् । उनी तत्कालको घटनालाई पनि कथामा भावभूमि बनाइहाल्छन् ।

दंशभित्रको दंश

यतिखेर देशमा बलात्कारको आतङ्क छ । जनसामान्य आतङ्कित छ तर ठूला सपना बाँडिरहेको शासक र उसका मातहतका संयन्त्रलाई यो स्वाभाविक लागिरहेको छ । यी घटनाबारे संवेदनशील तदारुकताको झिनो संकेत पनि राज्यले देखाइरहेको छैन । प्रहरी नै मुछिएको निर्मला पन्तको घटनाले त यो व्यवस्थाको न्याय प्रणालीप्रति नै धेरै सवाल जन्माएका छन् । यो सन्दर्भमा कथाकार दिनमान गुर्मछानको हालै प्रकाशित ‘दंश’ कथासङ्ग्रहको शीर्ष कथा ‘दंश’ ले सोच्ने एउटा ठाउँ दिएको छ । जनसाधारण माथि भइरहेका बलात्कारका घटनालाई संवेदनशील नजरले नहेर्ने अझ विभिन्न लेनदेनमा दोषीलाई उन्मुक्ति दिलाउने एउटा ठूलो गिरोहलाई बोकी हिँडेको पुलिस प्रशासनकै परिवारमा यस्तो घटना भयो भनेचाहिँ त्यसको प्रतिक्रिया कस्तो होला ? अवश्यै पनि दु:ख अथवा संवेदनाको रङ र आवाज त एउटै हुन्छ । गुर्मछानको कथाले यतातिर संकेत गरेको छ ।

सङ्ग्रहका प्राय: कथाले ‘दंश’ शब्दले बोक्ने अर्थलाई ध्वनित गर्छन् । केहीलाई छाडेर यी कथाले कुनै न कुनै रूपले व्यक्तिजीवन अथवा ऊ बाँचेको समयका पीडा बोलेका छन् । ती पीडा राज्य व्यवस्थाजन्य, व्यक्तिगत अथवा कुनै प्राकृतिक संयोगद्वारा दिलाइएका छन् । कथाभित्रका प्राय: सबै मूलचरित्रहरू कुनै न कुनै रूपले दंशित छन् । त्यो दंशले जन्माएको पीडा, छटपटी, अन्योल अनि अँध्यारो जुन हामी बाँचेको समयको सग्लो चित्र पनि हो, त्यसको उठानको प्रयास कथाहरूमा भएका छन् । तर, दिनमानका कथाहरू एउटै वैचारिक आयामभित्र व्यक्तिन्नन् । तिनमा विविधता छ ।

‘दंश’ कथाहरूको जग सामयिक जीवन हो । प्रस्तुतिगत विविधताका कारण कतिपय कथामा कल्पनाको उडान अलिक बढी भेटिन्छ । तर, रूपगतपक्ष जे जस्ता भए पनि तिनले युगजीवनलाई नै बोलेका छन् । चाहे ‘घुर’, ‘योद्धासँगको केही पल’, ‘मधेसको गर्मी’, ‘दंश’, ‘छाडेको फूल’, ‘नागरिकता’ जस्ता सीधा रेखामा अघि बढेका सरल कथा हुन् अथवा ‘त्यो रात’, ‘नीलो गुलाब’ आदि जस्ता कल्पनाप्रेरित कथा, तिनले हाम्रो समयकै अनेक पक्षलाई मुखरित गरेका हुन्छन् ।

हिजोको क्रान्तिकारिताको स्खलन ‘महामारी’ कथामा ध्वनित हुन्छ । क्रान्तिकारी नेताको पुरानो विम्ब दिमागमा बोकेर उसले आफ्नो गाउँको समस्या समाधान गरिदिने विश्वासमा आएको एउटा बूढो मानिसले खेपेको हन्डर (महामारी), अपराधीसित नाम मिलेकै आधारमा सजाय पाएको एउटा निरपराध गरिब मजदुरको लाचार जीवन (नागरिकता), झन्डैझन्डै प्रेमचन्दको कथा ‘कफन’ को हाराहारीको गरिब मुसहर परिवारको गरिबीको कारुणिकता (घुर), वैदेशिक रोजगारीको बाध्यताले ध्वंस बनाएको जिन्दगी (संक्रमण), मधेस आन्दोलनभित्रको सत्यको एउटा पाटो (मधेसको गर्मी), बलात्कारको पीडा (दंश) हाम्रो समयका केही प्रतिनिधि अँध्यारा पाटाहरू हुन् । यिनलाई कथाकारले मार्मिक किसिमले प्रस्तुत गरेका छन् । यी प्रतिनिधिमूलक सन्दर्भबाहेक वैयक्तिक जीवनका विविध पाटोहरू प्नि उनका कथामा उनिएका छन् । जनयुद्धको समयमा पुलिस अफिसरको जीवनमा भएको एउटा दुर्घटनाद्वारा लखेटिएको वर्तमान (अनुहार), यौवनको प्रेमको स्मृतिदंश बृद्धावस्थामा पनि बोकिरहेको मान्छे (बलिहाङको प्रेम), भूकम्पमा ढलेको धरहरामा सकिएको प्रेम सम्बन्धको दंश (प्रेमको धरहरा), उपभोक्तावादी समयको प्रेमको वियोग (छाडेको गुलाब), द्वैध सम्बन्धमा अल्झिएको भावनात्मक प्रेमको दु:खान्त (पलिना, इन्द्रावती र बगरको यात्रा), दैहिक आकांक्षालाई परिपूर्ति गर्न खोज्नेको घृणित मानसिकता (वेब तृष्णा), प्रेम प्राप्तिको आकांक्षाले समस्यामा फसेको प्रेमीको दुर्दशाको तिलस्मी वर्णन (नीलो गुलाब) दंशका कथामा आएका छन् ।

‘चियाको बाफ’ र ‘पुरुष’ कथाले विपरीत विचारलाई अभिव्यक्त गर्दछन् । ‘चियाको बाफ’ कथाले स्त्रीबिनाको संसारको परिकल्पना गरेर स्त्रीप्रति पूर्णरूपले आश्रित पौरुषत्वको धज्जी उडाउँछ भने ‘पुरुष’ कथामा पुरुष वेश्या (जिगलो) को हीनताबोध छ । प्राय: सबैजसो कथाले दुर्बल पक्षलाई विषयवस्तु बनाए पनि थोरै कथा मात्रै जीवनको सबलतालाई प्रकाशित गर्छन् । त्यस्ता कथामा ‘अनुहार’ ले विगतको दुर्घटनालाई वर्तमानमा सहज बनाउन गरेको प्रयास आएको छ । ‘पराजित’ मा जीवनको अर्थ नदेखेर आत्महत्या गर्न उद्यत चरित्रले पत्नीको दैहिक सामीप्यमा कसरी जीवनको मिठासलाई ग्रहण गर्न पुगेको छ, त्यसको रोचक कथा कहिएको छ भने योद्धासँगको केही पलमा हिजो परिवर्तनका लागि कलिलैमा युद्धमा होमिएको एउटा चरित्रको इमानदारी र वैचारिक प्रस्टताको प्रशंसा गरिएको छ ।

‘दंश’ कथासङ्ग्रहमा समेटिएका कथामा बुनिएका विषयवस्तुले दिनमानलाई वर्तमानका कथाकारका रूपमा उभ्याएका छन् । उनका कथाका विषय र चरित्र विविधतामय छन् । उनी तत्कालको घटनालाई पनि कथामा भावभूमि बनाइहाल्छन् । जस्तै जनयुद्ध, मधेस आन्दोलनदेखि भुइँचालोसम्मका सन्दर्भहरू कथामा आउनुले उनको लेखनको उद्देश्य र कथा छनोटको तरिकालाई प्रस्ट पार्दछ । प्राय: सरलरेखीय कथाहरू लेखे पनि कतिपय प्रस्तुतिमा उनले हल्का नयाँपन ल्याउने प्रयास गरेका छन् । विशेषगरी मधेसको भावभूमिमा लेखिएका कथाहरूमा स्थानीय रङ आउँछ, यो दिनमानको कथाकारिताको एउटा सबल पक्ष हो ।

सबैभन्दा बलियो पक्षचाहिँ उनका कथाको अन्त्य नै हो । आफ्ना कथाको अन्त्य उनी यति हठात् र अप्रत्याशित रूपमा गरिदिन्छन् कि एउटा अन्त्य सोचेर बसिरहेको पाठक चकित हुन सक्दछ । कतिपय कथामा महान्् कथाकार ओ हेनरीको जस्तो ‘सरप्राइजइन्डिङ’ को झल्कोसमेत आउँदछ । यसले गर्दा सुरुमा सामान्य लागेको कथाले पनि पढिसकेपछि लामै प्रभाव पाठकलाई दिलाउन सक्दछ । यो क्षमता दिनमानका कतिपय कथाले राख्दछन् । मधेस तराईको भावभूमिमा लेखिएका कथाले पछिल्लो समयको बोली बोलेका छन् । स्थानीय माटोको सुगन्ध कथामा आउनु स्तुत्य कुरा हो ।

जीवन र जगत्का यथार्थ लेख्ने हो भने त्यसमा सतहको यथार्थ जानेर मात्रै हुँदैन, त्यसभित्र गाँजिएका राजनीतिक, सामाजिक–सांस्कृतिक, आर्थिक एवम् तिनद्वारा निर्मित मनोवैज्ञानिक यथार्थको पनि आधारभूत जानकारी हुनुपर्दछ । दिनमान गुर्मछान राम्रा कथाकार हुन् तर उनका कतिपय कथा त्यसको अभावमा चुकेका छन् । कतिपय कथामा चरित्रको गतिशीलता अझै धेरै हुन सक्थ्यो । चरित्रको मनोद्वन्द्वको चित्रणमा पनि कतिपय ठाउँमा जान सक्ने किसिमको गहिराइ नपक्डेका कारण केही कथा अझै उम्दा हुनबाट चुकेका छन् । गम्भिर विषयवस्तु रुचाउने पाठकलाई उनका कतिपय कथा फिल्मी शैलीका हलुका पनि लाग्न सक्छन् । पहिलो कथासङ्ग्रह भएकाले पनि होला कथाकार विविध शैली, विचारका कथाहरूमार्फत फरकफरक किसिमका पाठकसित अन्तक्र्रिया गर्न चाहन्छन् कि जस्तो पनि देखिन्छ ।

पचासको दशकपछि नेपाली कथा लेखन संख्या र गुण दुवै हिसाबले क्रमश: ओरालो लाग्दै गरेको गुनासो छ । कतिपय सन्दर्भमा यो असान्दर्भिक र अनुपयुक्त पनि लाग्दैन । संख्यात्मक हिसाबले कम देखिए पनि साठीको दशकमा केही भरोसालाग्दा कथाकार उदाएका छन्, जो कथालेखनमा सक्रिय छन् । साठीको दशकको मध्यतिरदेखि देखा परेको नवीन राजनीतिक र सामाजिक परिवर्तन एवम् सँगसँगै कथालेखनमा पनि नवीनता आएको छ । यही परिवर्तित समयलाई बाँधेर कथालेखनमा सक्रिय दिनमान गुर्मछान यो समयका भरोसालाग्दा कथाकार हुन् ।

प्रकाशित : मंसिर २२, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?