देवकोटीय : भानुभक्तीय

कविता
डा. राजेन्द्र भण्डारी

काठमाडौँ — घरीघरी आँखामा नाचिरहनेत्यो घँसिनी मुनाको गीतउसको टल्केको कचियात्यत्तिकै अलपत्र थिए ।

घरीघरी आँखामा नाचिरहने
त्यो घँसिनी मुनाको गीत
उसको टल्केको कचिया
त्यत्तिकै अलपत्र थिए ।
क्रूर लिंगहरुले
सुइँकुच्चा ठोकिसकेका थिए
उसलाई बेहोस छोडेर ।

चराले बोकेरै उड्छ आफूसँग आकाश
मदनले बोकेरै हिँड्छ भाग्य
यस्तै के के सम्झिँदै
मदनलाई
कतार एयरवेजमा चढाएर
सिमसार आँखा बोकी
सिधै गए देवकोटा वीर अस्पताल
जहाँ ऐय्या–आत्थुहरुसँग जुझ्दै छे मुना ।

एक हूल भोका लिंगहरूको आक्रमणमा परेकी
मुनाको योनिमा
दुखिरहेको छ एउटा सिंगै समय ।
थुप्रै सिलाइ परेको छ स्वाभिमानमा ।

उसका विस्फारित आँखाले भन्दै छन्
लौन नि कसले सल्काउने हो डढेलो
जूनघामबिनाको यो लिंगवनमा ।
कहिले आउला त्यो भानुभक्त
‘वरशिक्षा’ लेख्न
‘लोकको हित’ गर्न ।

कालेबुङ (भारत)

प्रकाशित : मंसिर १५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मिडियामा मी–टु !

बहस
लामो समयदेखि पत्रकारितामा लागेका महिला पत्रकारका अनुभव सुन्दा लाग्छ, उनीहरू बोल्ने हो भने यसमा कैयौं ‘ठालु’ को नाम मुछिन्छ । पत्रकारितामा भर्खरै लागेका महिलाले पनि यस्ता घटनाको सामना गरी पत्रकारिता नै छोड्नुपरेका घटना पनि छन् तर गुपचुप । 
शिल्पा कर्ण

काठमाडौँ — साढे ३ वर्षअघिको कुरा हो । महिला पत्रकारका लागि आयोजना गरिएको एउटा तालिममा हामी मातातीर्थमा थियौं । देशका विभिन्न जिल्लाबाट उपस्थित सहभागीबीच अनौपचारिक छलफल पनि भए । महिला पत्रकारलाई काम गर्न हुने अप्ठ्याराका विषयमा धेरै कुरा आए । काम गरिराखेको ठाउँमा हाकिम आई ‘कस्तो गाह्रो भएको होला है’ भन्दै काँधमा हात राखेर थिचिदिने गरेको चितवनकी एक जना रेडियोकर्मीले अनुभव सुनाइन् । 

‘हैन सर ठीक छ, मलाई त्यस्तो गाह्रो केही छैन,’ भन्दा ‘मलाई थाहा छ, लामो समय कम्प्युटरमा बस्दा कस्तो गाह्रो हुन्छ । म यतिका वर्ष काम गरेको मान्छेले बुझ्छु नि’ भन्ने गरेको बताइन् । अब आफूले चाँडै रेडियो छोड्न लागेको पनि उनले भनेकी थिइन् । भोगाइ बाँड्ने कार्यक्रममा उपस्थित कसैलाई त्यसबेलामी–टुको बारेमा थाहै थिएन । अचेल मी–टु चर्चा भएका बेला म उनलाई सम्झिरहेछु ।

साथीभाइ भेटघाट हुँदा होस् या कलेज, कार्यालय । फेसबुके साथीसम्मले कुराकानी सिलसिलामा केही रमाइलो टिप्पणी गरेर ‘फेरि तिमीले मी–टु लाइदिने त होइन नि’ भन्छन् । ख्यालख्यालमै गरिने यस्ता कुराले ‘मी–टु’ देखिको डर र यसको शक्तिबारे सबै जानकार भइसकेका छन् जस्तो लाग्छ । विभिन्न क्षेत्रमा मी–टुले ल्याएको हलचल, निम्त्याएको बहस र चर्चाका साथै आरोपितमाथि सामाजिक–पेसागत कारबाहीका कुराले पीडामा परेका महिलालाई आफ्ना कुरा भन्न हौसला थपेको छ ।

तर, अर्काको आवाजलाई बल दिने पत्रकारिता क्षेत्रमा पनि यस्ता कैयौं घटना छन् । लामो समयदेखि पत्रकारितामा लागेका महिला पत्रकारका अनुभव सुन्दा लाग्छ, उनीहरू बोल्ने हो भने यसमा कैयौं ‘ठालु’ को नाम मुछिन्छ । भर्खरै पत्रकारितामा प्रवेश गरेका मात्र होइन, हिंसाको यो सिलसिला निकै पहिलेदेखि चलिरहेको छ । पत्रकारितामा भर्खरै लागेका महिलाले पनि यस्ता घटनाको सामना गरी सञ्चारगृह/पत्रकारिता नै छोड्नुपरेका घटना पनि छन् तर गुपचुप । जिल्लामा केही वर्ष काम गरेको अनुभवका अधारमा भन्दा यहाँ पत्रकारदेखि डराउने अवस्था छ । उनीहरूविरुद्ध आवाज कसैले उठाउन चाहँदैनन् । बाहिर पनि र सञ्चारगृहभित्र पनि ।

भारतमा नाम चलेका पत्रकारमाथि पूर्वसहकर्मीलाई दुव्र्यवहारको आरोप र प्रमाणपछि निकै हलचल मच्चियो । पत्रकारिताको सुरुआती दिनका कुरा यति समयपछि ती महिला पत्रकारले सार्वजनिक गरे पनि उनको यो कदमले धेरैलाई हौसला दिएको छ । यद्यपि नेपालमा यौन हिंसाका सन्दर्भमा खुल्ने र कारबाही हुने क्रम निकै कम छ । नेपालमै एक महिला पूर्वपत्रकार र महानगरपालिकाका पूर्व कर्मचारीले प्रदेशमन्त्री(हाल बर्खास्त)माथि लगाएको आरोपबारे खासै चर्चा भएन । वरिष्ठ र हामीले आफ्नो आदर्श मान्ने महिला पत्रकारले समेत उबेलाका आफ्ना भोगाइ विभिन्न कार्यक्रममा सुनाउँदा मी–टुको सुरुआत निकै ढिलो भएछजस्तो लाग्छ ।

हिंसाको शृङ्खला नेपालजस्तो गरिब वा कम विकसित मुलुकमा मात्र होइन । सन् २०१३ को इन्टरनेसनल न्युज सेफ्टी इन्स्टिच्युट र द इन्टरनेसनल मेडिया फाउन्डेसनको तथ्यांकलाई आधार मान्ने हो भने उत्तर अमेरिकाका महिला पत्रकार सबैभन्दा बढी हिंसामा परेका छन् । उक्त तथ्यांकले एसिया प्रशान्त क्षेत्रमा साढे २६ प्रतिशत महिला पत्रकारले शारीरिक तथा मानसिक हिंसा भोग्नुपरेको देखाएको छ । बाहिर भएका यस्ता हिंसाका घटनाबाहेक भित्र वा कार्यस्थलमा भएका हिंसाका घटना निकै कम आउँछन् ।

पत्रकार क्षमता वृद्धिका लागि आयोजना गरिने महिला लक्षित कार्यक्रममा औपचारिक सेसनमा समेत विषयवस्तुसँग सम्बन्धित र असम्बन्धित विभिन्न कुराहरूमा छलफल हुन्छ । यस्ता कार्यक्रम अन्य जिल्लाका पत्रकारसँग भेट गरी सुखदु:ख सुन्ने सुनाउने राम्रो अवसर हुन्थ्यो । कुराकानीकै क्रममा कार्यस्थलमा हिंसाका कुरा पनि आउँछ । कार्यस्थलमा वा पेसागत कार्य सम्पादन क्रममा आफूमाथि त्यस्तो गम्भीर यौन हिंसा भएको खास याद छैन । त्यसैले म आफूलाई निकै भाग्यमानी ठान्छु ।

रेडियोमा दुई वर्ष काम गरुन्जेल राति ८ बजेसम्म पनि काम गरियो । राति बाहिर बस्ने गरी धेरै तालिममा सहभागी भइए पनि त्यस्ता गम्भीर हिंसामा परेको सम्झना छैन । तर, मिडियामा यस्ता यौन हिंसाका घटना कति हो कति छन् । पुरुष पत्रकारले बाहिर मात्र होइन, आफैंसँग काम गर्ने महिलामाथि हिंसा गरेका घटना पनि गुपचुप हुन्छन् । बाहिर आए भने पनि महिलाको नाम उचालिन्छ, पुरूषमाथि कारबाही हुन्न । एउटामा जागिरबाट निकालिए भने अर्कोमा काम पाउँछन्, उनीहरूको जीवनमा खास फरक पर्दैन ।

प्रिन्ट मिडियाको विकास भएको धेरै पछि मात्रै रेडियो आयो । त्यसमा पनि नेपालमा रेडियोको संख्या यति धेरै बढेको दुई दशकभन्दा थोरै बढी भएको छ । यसले धेरै महिला पत्रकारितामा आए । राजधानीका धेरै पत्रकारले पत्रकारिता प्रिन्ट माध्यमबाटै सुरु गरे पनि जिल्लामा भने धेरैजसो नयाँ पत्रकारको पेसागत यात्रा रेडियोबाटै सुरु हुन्छ । महिलाको हकमा पनि त्यस्तै छ । धेरै पत्रकार महिला प्रिन्टभन्दा पनि रेडियो, टेलिभिजनतिर छन् । रेडियोको हकमा धेरै रेडियो सञ्चालकको गुनासो हुन्छ, महिला पत्रकार टिक्दैनन् । तर, यो विषयमा बहस हँुदैन कि, महिला पत्रकारहरूलाई काम गर्न कस्तो खालको अप्ठ्यारो छ वा के ले उनीहरू पत्रकारिता वा सञ्चारगृह छोडिरहेका छन् । एक त कमै उमेरमा रेडियोमा पत्रकारिता गर्न सुरु गरेका हुन्छन्, अनुभवी हुँदैनन् । जसकारण रेडियोका ठूला ठालुले उनीहरूको श्रम शोषण गरिरहेका हुन्छन् र शारीरिक शोषण पनि । उनीहरू कम उमेरका हुन्छन् र स्टेसन म्यानेजर वा पुराना पत्रकारले त्यसको फाइदा उठाउँदै शोषण गर्न पछि पर्दैनन्, गरेका पनि छन् ।
***

अहिले २ नं. प्रदेशको राजधानी जनकपुरको एक स्टेसन म्यानेजर सम्झिन्छु । आफूलाई पुराना, ठूला र अन्तर्राष्ट्रिय पहुँच भएको पत्रकार बताउने उनले आफ्नो रेडियोमा कार्यरत महिला सञ्चारकर्मीमाथि गरेको व्यवहारले महिलाले रेडियो नै छाडेका छन् । कतिले अर्को सञ्चारगृह रोजे, केही पत्रकारिताबाट टाढिइसके । उनले घरी हात समाएर माउस चलाउन सिकाउने, कहिले पछाडिबाट अँगालो हाल्नेसम्मका हर्कत गर्न पछि परेनन् र अहिले २ नं. प्रदेशमा महिला पछाडि पर्नुको कारणबारे रिपोर्टिङ गरेर बसेका छन् । लाज पचाएर अझै आफू ठुलो पत्रकार भन्दै हिँड्छन् । उनीबाट प्रताडित २/३ जना चिन्छु । तर, उनीहरू खुल्दैनन् । किनकि विवाहित छन्, घर परिवारबाट साथ पाउँदैनन् ।

कतिपयले नयाँ बाटो रोजिसकेका छन्, फेरि पुराना कुराकोट्याउन चाहँदैनन् ।

विभिन्न कार्यक्रममा जाँदा महिला पत्रकारलाई लैजाने, विभिन्न तालिममा देश वा देशबाहिर जाने मौका दिने अनि पछि त्यसको ‘मलाई के फाइदा भयो’ भनेर खोज्ने पनि उत्तिकै छन् । ‘मौका दिएको’ बदलामा ‘अवसर खोज्ने’ पुरुष पत्रकारले महिलालाई निरुत्साहित बनाएका छन् । तर, अझै कुनै हीनताबोध छैन आफ्नो हर्कतप्रति । रेडियो भनेको यस्तो स्थान हो जहाँ चिच्याउँदा पनि आवाज बाहिर जाँदैन । एक जना महिला पत्रकारको अन–एयरमै सहकर्मी पुरुष साथीले जथाभावी छुँदा रेडियोमा आवाज जाला भनेर बोल्न नसकेको घटना यस्तै तालिमको एक कार्यक्रममा सँगै बसेको रात सुनेकी छु । रेडियोको प्राविधिक पक्ष र बनावटले गर्दा भित्र केही भयो भने त्यसको आवाज बाहिर आउन सक्दैन । मधेसको एक जिल्लामा रेडियोकर्मीमाथि आफ्नै महिला सहकर्मीको बलात्कार र हत्यासम्मको अभियोग लागेको थियो । पछि घटना साम्य भयो तर कारबाही केही भएन । प्रहरीको अनुसन्धान आधामै रोकियो, फाइल बन्द भयो । यस्तोमा कुन बाबुआमाले आफ्नी छोरी पत्रकार होस् भन्ने चाहलान् ?

अचम्म त के लाग्छ भने, यो मान्छे खराब छ भन्ने थाहा हुँदाहुँदै पुरुष पत्रकारले पनि बाइकट गर्नुको साट्टो त्यस्तासँग काँध मिलाई हिँडिरहेका हुन्छन् । पत्रकार भनेपछि सबैसँग चिनजान हुन्छ, त्यसकै आडमा धेरै घटना बाहिरै आएका छैनन् । सञ्चारगृहभित्र र बाहिर दुवैतिरका । रेडियोकर्मी एक महिलालाई चिन्छु जो अहिले पनि पत्रकारितामै छिन् । स्टेसन म्यानेजरले यौन हिंसा गरे, निकै निरुत्साहित भइन् । अहिले राम्रै स्थानमा रेडियो पत्रकारिता गरिरहेकी छन्, पुरानो घटना याद पनि गर्न चाहँदिनन् । नेपालगन्जमा एक महिला पत्रकारलाई कमेन्टमा र पछि म्यासेन्जर कलमा समेत जथाभावी बोल्ने पत्रकारलाई महासंघले सदस्यता खारेजीको धम्की दिएपछि माफी मागे । उनले आवाज उठाइन् तर यस्ता नउठेका आवाज गनेर साध्य छैन ।

यस्तै केही दिनअघि एक सम्पादकस्तरका मान्छेको राष्ट्रवादबारेको धारणालाई लिएर जनकपुरकी एक महिलापत्रकारले म्यासेन्जरको स्क्रिनसट फेसबुकमा राखिन् । यद्यपि त्यो हटाउन उनलाई निकै दबाब आए पनि उनले हटाइनन् । उनको साहसलाई धन्यवाद दिन मन लाग्छ । राष्ट्रिय दैनिकका सम्पादक रहेका ती व्यक्तिको निर्लज्जताको हद अन्य महिला पत्रकारले सार्वजनिक गर्ने हो भने मुख देखाउन लाज लाग्ला उनलाई सायद । तर, उनीजस्ता निर्लज्जलाई त्यसले फरक पार्छ कि पार्दैन ? म रेडियोमा काम गर्दा उनीसँग केही दिन च्याट हुन्थ्यो । ठूला लेख लेखिरहने उनले बोलाउने प्याटर्न, कुरा गराइको तरिका हेर्दा मानसिक रूपमा रोगी लाग्न थालेपछि कुराकानी हमेसाका लागि अन्त्य गर्ने निर्णय लिएँ । त्यसबेला हामी महिलाहरू हतपत खुल्दैनथ्यौं । अहिले अन्य पत्रकार महिला भेट्दा उनीसँगका पुराना म्यासेज देखाउँछन् । अचम्म त ती मान्छेको महिला अधिकारबारेको स्टाटस देखेर लाग्छ । उनी मातहत कसरी महिला रिपोर्टरले काम गर्छन् होला भन्ने सोच्छु ।
***

फेसबुकको इनबक्समा उनले महिला पत्रकार र बाहिरका अन्यलाई गर्लफ्रेन्ड बन्नेदेखि विवाह प्रस्ताव राख्न भ्याइसकेका रहेछन् । जबकि उनी विवाहित र एक छोरीका पिता रहेछन् । यद्यपि फेसबुकमा कतै त्यसको प्रमाण राखेका छैनन् । अश्लील गफ गर्नदेखि, छाडा गाली गर्नसम्म पछि नपर्ने उनी कसरी सम्पादकको कुर्सीमा पुगे होलान्जस्तो लाग्छ । उनको व्यवहारबाट वाक्क भएका त आधा दर्जन महिला पत्रकार त अहिले मेरा साथी नै छन् । बाहिरका महिला पनि उनीबाट प्रताडित रहेछन् । यस्ता मान्छे सम्पादक कसरी बन्न पुगे भन्ने कुराकानी हुन्छ हामीबीच । र निष्कर्ष हुन्छ, हामीले आवाज नउठाएर । सायद पहिले आवाज उठाएको भए उनलाई सम्पादकको पद दिने सञ्चारगृहलेसोच्थ्यो कि ?

पत्रकार महासंघको सदस्यता दिलाइदिन राजनीतिक खेल मात्र होइन, आफ्नै सञ्चारगृहकी महिला पत्रकारलाई ‘समय बिताउन’ प्रस्ताव गर्ने पुरुष पत्रकार हामीमाझै छन् । त्यही ‘समय नबिताउँदा’ अवसरबाट वञ्चित भएका, क्षमता अभिवृद्धिका तालिम नपाएका, पत्रकारको पहिचानसमेत नपाएरका महिला पत्रकार चिन्छु । विभिन्न तालिमका बहानमा बाहिर जाँदा एउटै कोठामा बसौं भन्नेसम्मका पत्रकार हामीमाझै छन्, समय समयमा भेट भइरहेकै हुन्छ ।

गत वर्ष नोभेम्बरमा सार्वजनिक गरिएको इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्स (आईएफजे) को सर्वेक्षणले ४८ प्रतिशत महिला पत्रकारले कार्यस्थलमा लैंगिक हिंसा भोग्ने गरेको देखाउँछ । ५० देशमा गरिएको सर्वेक्षणले यस्तो देखाएको हो जसमा ८५ प्रतिशत घटनामा पीडकमाथि कुनै कारबाही गरिएको/भएको छैन । पीडकमा ४५ प्रतिशत बाहिरका अर्थात् नेता, स्रोत, श्रोता, दर्शक तथा पाठक हुने गरेका छन् । कार्यस्थलभित्रैका पीडक वरिष्ठ अधिकारी वा सिनियर पत्रकार ३८ प्रतिशत भेटिए ।

वरिष्ठ भनिएकै पत्रकारबाट महिला पत्रकारका विषयमा यदाकदा गरिने टिप्पणी सुनेर म गम खान्छु । ‘आज बाहिरै बस्न मिल्दैन, तिम्रो बडी कति स्लिम र सेक्सी भन्नेदेखि टेलिफोनमा कुरा गर्दा के कपडा लगाएकी छौ’ भन्नेसम्मका पत्रकार । भेटघाट र चिया गफमा धेरै महिला पत्रकारले सुनाउँछन्, यस्ता भोगाइ र यौन हिंसामा परेको कुरा । किन विरोध गर्न सक्दैनौं त ? जवाफ एउटै हुन्छ, के नै हुने हो र ? महिलाले आफ्नो प्रस्ताव स्वीकार नगरेपछि उसको चरित्रसँग जोडेर उल्टै कुरा काट्दै हिँड्ने पत्रकार पनिभेटिए, बजारमा ।

अहिले म नै वा हाम्रा साथी बिस्तारै बोल्दै छन् । तर, खुलेर र मान्छे तोकेर बोल्न सकेका छैनन् । बर्दियाकी सांसद विमला बीकेले एक कार्यक्रममा भनेको कुरा याद आउँछ, ‘हिंसाको कुरा गर्दा, हामी हाम्रो गाउँमा फलानोमाथि यस्तो हिंसा भइरहेको छ, चिलानालाई यस्तो गर्‍यो भन्छौं । तर, आफूले रातभरि कुटाइ खाएको भए पनि, त्यो दु:ख भन्दैनौं ।’ एकदमै सही लाग्यो उनको कुरा । महिला पत्रकार पनि अरूमाथि हिंसा र अन्याय भएको आवाज उठाउँछन् तर आफैंमाथि भएको हिंसाबारे अझसम्म बोल्न सकेका छैनन् । सोही कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष नीतु पण्डितले भनेकी थिइन्, ‘हामी अहिले बोल्छौं किनकि अहिले सुन्नेछन् । सुन्ने नभएको भए हामी बोल्न सक्दैनथ्यौं ।’

तर, बलात्कारमा परेका महिलाको उजुरी दर्ता गर्नसमेत प्रमाण खोज्ने यो देशमा, यस्ता ‘स–साना हिंसाका कुरा’ मा कसरी न्याय पाउलान् महिलाहरूले ? यो महिला मात्रै नभएर देशकै लागि दुर्भाग्यको कुरा हो । यौन हिंसाको आरोपमा मुछिएपछि विभिन्न देशमा पदबाट राजीनामा वा घटनाका विषयमा स्पष्टोक्ति आएका छन् । तर, नैतिकताको खडेरी परेको नेपालजस्तो मुलुकमा हामीले त्यति आशा गरिहाल्ने अवस्था छैन ।

अर्कोतिर सामाजिक सञ्जाल (विशेषगरी ट्विटर) मा धेरैले ‘पुरुषलाई फसाउन महिलाले मी–टुको आरोप लगाउने गरेको’ टिप्पणी वास्तवमै दिक्कलाग्दो छ । ‘मन परुन्जेल सबै सहन्छन् अनि मन पर्न छोडेपछि हिंसा भयो भन्छन्,’ भन्ने आशयका उनीहरूको अभिव्यक्तिपछि लाग्छ, इच्छा र हिंसाबीचको फरक बुझ्न सकेका छैनन् । सामाजिक सञ्जालका त्यस्ता ‘हल्का’ टिप्पणीले नेपालमा मी–टुलाई कमजोर बनाएको छ । एकथरी मानिसको बmुझाइ छ, मी–टु महिलाको मात्रै विषय हो । यो गलत बुझाइ नहटेसम्म नेपालमा मी–टु अभियान प्रभावकारी हुन सक्दैन ।

एउटा सत्य के हो भने, यौनका सन्दर्भमा नेपाल त्यति धेरै अगाडि बढिसकेको छैन कि, पुरुषहरू पनि यौन हिंसामा परून् । अझै पनि यौनलाई पुरुषले इन्जोय गर्ने र महिलाले पीडा भोग्ने विषय ठानिन्छ । त्यसकारण यस्ता घटनाबाट पीडित बढी महिला नै छन् । मी–टु महिला र पुरुष दुवैको विषय हो । अझ भनौं यो सिंगो देशको विषय हो । पीडकलाई कडा कारबाही र पीडितलाई चाँडो न्याय मिल्ने अवस्था राज्यले सिर्जना गर्ने हो भने गुपचुप रहेका थुप्रै यौन हिंसाका घटना मी–टु अभियानमार्फत बाहिर आउनेछन् । आशा गरौं, समृद्ध नेपाल निर्माणको अभियानमा हिँडेको सरकारले यौन हिंसामुक्त समाज निर्माणका लागि विशेष कदम चाल्नेछ ।

समाज विकासका लागि दुवै पांग्रा उत्तिकै बलियो र बराबर हुन जरुरी हुन्छ ।

पत्रकार होस् वा अन्य कोही, कार्यस्थलमा वा कोही महिलामाथि दुव्र्यवहार गरेको छु, जस्तो लाग्छ भने समयमै माफी मागिहाल्नुस् । व्यक्तिगत रूपमा भेटेर वा सामाजिक सञ्जालमार्फत नै भए पनि । नत्र भोलि तपाईंको नाममा पनि ‘ह्यास्ट्याग मी–टु’ वाला पोस्ट नआउला भन्न सकिंदैन । ढिलै भए पनि महिलाले आवाज उठाउन थालेका छन् । सामाजिक सञ्जालबाट सुरु भएको यो अभियानलाई गम्भीरतापूर्वक लिने जमात बढ्दै छ ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×