१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जिरीले बोलायो...

फोटो
चन्द्रशेखर कार्की

काठमाडौँ — दुर्भाग्य, मेरो चोर चिनारीबारे घरमा पनि सबैलाई थाहा भएको रहेछ । मावली घरमा म भान्जा भएका नाताले पिटाइ त खानुपरेन तर, ग्लानिले गर्दा घोसे मुन्टो लगाउँदै दिनरात कटाउनुपर्‍यो । अझैसम्म आफ्नो त्यो ‘चोर चिनारी’ सम्झँदा म लाजले पानीपानी हुन्छु । 

जिरीले बोलायो...

सानो छँदा जिरीमा देखिएका धेरै दृश्यले मलाई फोटो खिच्न उक्साइरहेको थियो । मेरो बुुबाको क्यामेरा देखेरै होला, मलाई एउटा क्यामेरा घाँटीमा झुन्ड्याएर फोटो खिच्दै हिँड्ने रहर सानैदेखि थियो । मसँग क्यामेरा नभएका बेला मलाई उक्साउने दृश्यहरूलाई यसपाला क्यामेरामा कैद गरिरहेको थिएँ ।


यसपाला दसैँ मनाउनका लागि मावली गाउँ जिरी जाने क्रममा थिएँ । खाडीचौरबाट उकालो लागेपछि मोटर कुदाउँदै गर्दा म एकाएक सम्झनामा हराएँ । झन्डै तीन दशकअगाडि मात्रै म आफ्ना मावली हजुरबुबाको हात समातेर लामोसाँगुको उकालो पैदल उक्लिरहेको हुन्थें । त्यो उकालो आफैंमा रोमाञ्चक थियो, रमाइलो पनि ।


मावली घर जिरीमा जन्मेर २ वर्षको उमेरमा मात्रै म आफ्नी आमासँगै रामेछाप–सिन्धुली हुँदै १ महिना लामो यात्रा नाघेर भद्रपुर (झापा) घर पुगेको रहेछु । त्यसपछिका ८ वर्ष जति म झापामै रहें । अनि, फेरि फर्केर भद्रपुर–काठमाडांै हुँदै लामोसाँगु आएको थिएँ । लामोसाँगुबाट ४ दिन हिंडेर बल्ल जिरी पुगिन्थ्यो । यसपछि मेरो बाल्यकाल र स्कुले उपद्रो (एसएलसीसम्मै) जिरीमै बितेको थियो । मेरी आमा जिरीकै एउटा प्राथमिक स्कुलमा शिक्षिका हुनुहुन्थ्यो । त्यसैले मलाई भन्न अप्ठ्यारो लाग्दैन कि म जिरी मावलीसँग बढी निकट छ । यसैकारण जिरीले मलाई बोलाइरहन्छ ।

समयको यो अन्तरमा यसपालि म श्रीमती, दुई छोरा र माइली माइजूसँगै दसैं मनाउन जिरी जाँदै थिएँ । धेरै वर्षपछि लामोसाँगुको उकालोमा मैले मेरा हजुरबाको न्यानो स्पर्श सम्झिरहेको थिएँ ।

***


आहा ! कुँडारको मावली घर देखियो । फेरि सम्झना उत्रियो, त्यो समयको । म भर्खरै जाँच सकेर ८ कक्षामा उक्लेको थिएँ । एक दिन स्कुल जाँदै गर्दा एक जना बटुवाले सोधेका थिए, ‘घर कुन हो बाबु ?’


अलिक तल वरपर धान र परालका कुन्युले घेरिएको घरलाई मैले देखाइदिएँ । त्यसको केही दिनपछि एउटा अलि बढी छट्टु साथीले मलाई खाजा खुवाउन लिएर गयो, पसल त त्यही बटुवाको रहेछ । साहुजीले पनि हामी फुच्चे केटालाई बडो आत्मीयताका साथ खाजा खुवाए । साहुजीको आत्मीयताले गर्दा हाम्रो त्यहाँ आउने–जाने क्रम निकै बाक्लियो ।


खाजा खान पैसा त सधैं हुँदैनथ्यो । छट्टु साथीले जुक्ति निकाल्यो— अब बाँकी खाने । पहिलो दिन पैसाबिना खाजा खानै डर लाग्यो तर साथीले हिम्मत बढाउँदै भन्यो— पख न, म सब मिलाइहाल्छु नि ।


‘ए साहुजी, पैसा पछि दिन्छौँ है,’ खाजा खाइसकेपछि साथीले भन्यो । अहँ साहुजी रिसाएनन् । बरु मतिर औंला तेस्र्याउँदै र खुसी हुँदै कराए, ‘ए भइहाल्छ नि, यी बाबुलाई म रामै्रसँग चिन्छु ।’


तर, यो नचाहिंदो चिनारीले पछि गएर खति मात्रै गरायो । म ज्वरोले थलिएर सुतेको थिएँ । भएभरका साथीभाइ भने त्यही साहुजीकहाँ गएर मेरो नाममा बाँकी लेख्दै खाजा खाने रहेछन् । म ज्वरो निको भएर स्कुल आएपछि मात्रै यो कुरा थाहा भयो ।


अलि दिन त साहुजीको पसलतिरको बाटो हिँडिएन । तर, एक दिन साहुजीले बाटो ढुकेर समातिहाले । अब परेन फसाद ? पैसा नतिरेमा स्कुलमा हेडसरलाई भनिदिने धम्कीसमेत आयो । ओहो, त्यसबेलाका स्कुले सरहरूसँग आँखा जुधाएर हेर्नु भनेको विद्यार्थीका लागि सानोतिनो बाघ मारेसरह हुन्थ्यो । फेरि साहुजीले मलाई विश्वास गरेको कारण रहेछ— त्यही कँुडारको धान–पराल कुन्युले घेरिएको ठूलो घरलाई देखेर ।

स्कुल र मास्टरको डरले भए पनि पैसा तिर्नु त पर्‍यो तर तिर्ने कसरी ? त्यही छट्टु साथीलाई मैले भनें— २ जना मिलेरै तिरौँ अब । म आमासँग मागेर ५० रुपैयाँ जति ल्याउँछु, तँ पनि त्यति नै ले ।


तर, उसले आफ्नो विवशता देखायो । उसले रुन खोज्दै भन्यो— तँलाई थाहा छँदैछ, मेरो बाउ बित्नुभएको धेरै भइसक्यो । आमाले यति धेरै पैसा कहाँबाट दिनु ? अनि उसैले जुक्ति निकाल्दै भन्यो— तेरो हजुरबुबा त गाउँको धनी मान्छे हो, जाबो सय रुपैयाँ त हो । एक पटकलाई खल्ती साफ गरेर तिरौँ, अनि फेरिदेखि बाँकी नखाउँला ।


साथीले सुझाए जस्तै गर्ने भइयो । अरू विकल्प नै देखिएन । एक दिन दाउ हेरेर पहिलो पटक हजुरबुबाको खल्तीमा हात मात्रै के हालेको थिएँ, म त पसिनाले निर्थुक्कै भिजेँ । कसो–कसो गरेर हातमा ३० रुपैयाँ आयो । त्यति पैसा लगेर साहुलाई बुझायौं । अनि, ४ रुपैयाँको खाजा खाएर फक्र्याैं । अलि दिनको साहुजीको मुखमा बुजो लगाउने काम भयो । यस्तै चोरी कर्मकै भरमा ४ पटक जतिमा साहुजीको ऋणबाट मुक्त भएका थियौं ।

तर दुर्भाग्य, उता घरमा भने यो कुरा थाहा पाइहाले । भान्जा भएका नाताले पिटाइ त खानुपरेन तर ग्लानिले गर्दा घोसे मुन्टो लगाउँदै दिनरात कटाउनुपर्‍यो । अझैसम्म आफ्नो त्यो चोर चिनारी सम्झँदा म लाजले पानीपानी हुन्छु ।

***


‘बुबा, जुका लाग्यो’ भनेर एकाएक जेठो छोरो कराएपछि म सम्झनाबाट ब्युझिएँ— सपनाजस्तै ।

के–के न भएजस्तो ! यो छोराको उमेरमा म यही जुकाघारीमा लडीबुडी गरिरहेको हुन्थें । खेल्ने खलो नै जुकाघारीमा थियो ।

आहा ! कुँडारको मावली घर त पुग्नै आँटिएछ । यसपाला धान–परालका कुन्युहरू भने देखिएन । सायद धान काट्ने बेला भइसकेको थिएन ।

***


घाम पश्चिमतिर ढल्किँदै थियो । बार्दलीमा बसेर तलतिरको गाउँलाई नियाल्दै पुराना साथीसँगीहरू सम्झँदै थिएँ । एक्कासि पानी पो दर्कन थाल्यो । विपरीत दिशातर्फबाट आएको प्रकाशमा पर्दै गरेको पानी टल्किन थालेपछि हत्तपत्त क्यामेरा निकालेर तस्बिर कैद गर्न थालें— क्लिक... क्लिक...क्लिक... ।

दस मिनेटजतिमा पानी पर्न रोकियो । उबेला त्यही पारिको डाँडामा गाईबाख्रा चराउन गएका बेला एक्कासि पानी परेर कति रुझियो–रुझियो । स्कुलबाट फर्कंदा पानी पर्‍यो कि लुगा फुकालेर झोलामा हाल्यो, प्लास्टिकले बेर्‍यो अनि, कट्टु मात्र लगाएर साथीभाइसँग हिलाम्मे बाटोमा दौडन थालिहाल्यो । कहिलेकाही त नांगै होइन्थ्यो ।

घामपानीमा लाग्ने इन्द्रेणी भेट्न दगुरेको र भुइँकुहिरोमा लुृकामारी खेलेको सम्झँदा आफ्नो आजको बुढ्यौली भुलिरहेको थिएँ म ।

***


फेदी खोलामा तीनवटा छहरा राम्रा थिए, त्यसमध्ये लौतीको छहराचाहिं अरूभन्दा ठूलो र राम्रो थियो । एक दिन इन्द्रेणीलाई भेटाउन कुद्दै जाँदा बाख्रा जति अरूको बारीमा, हामीचाहिं लौतीको छहरा नजिक पुगेका थियौं । अनि साँझ घरमा गाली खाइयो, एकैसाथ अर्तीबुद्धि पनि— इन्द्रेणी लागेका बेला लौतीको छहरामा वनझाँक्री नाच्ने भएकाले त्यता नजानू, नत्र वनझाँक्रीले लैजान्छ ।

भोलिपल्टदेखि इन्द्रेणी रङ समात्न कुदाकुद गर्न छाड्यौं । कुदे पनि साँझपख भने लौतीको छहरातिर भने जानै छाड्यौं ।

***


सानो छँदा जिरीमा देखिएका धेरै दृश्यले मलाई फोटो खिच्न उक्साइरहेको थियो । मेरो बुुबाको क्यामेरा देखेरै होला, मलाई एउटा क्यामेरा घाँटीमा झुन्डयाएर फोटो खिच्दै हिँड्ने रहर सानैदेखि थियो । मसँग क्यामेरा नभएका बेला मलाई उक्साउने दृश्यहरूलाई यसपाला अलिकति मनमा र क्यामेरामा कैद गरिरहेको थिएँ । पानी धेरै परेकाले सोचे जस्तो त भएन । तैपनि मैले मेरो बाल्यकाल बिताएको गाउँका थोरै भए पनि तस्बिर खिच्न पाएँ । यसैमा म औधी खुसी छु ।

प्रकाशित : मंसिर १५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?