कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बाँसघारी

कथा
भुइँचालाले हाम्रो पनि घर भत्केको थ्यो । जस्ताको पाताले बारेको बंकरजस्तो गोलो सानो छाप्रामा हाम्रो बास थियो । गाउँलेहरू सोप्पै जना यस्तै छाप्रोमा बसिर’को थ्यो । एक दिन गाउँभरि हल्ला चल्यो, सरखारबाट इन्द्रेको आप्पोले दस लाख रुप्पेँ पनि पायो रे । 
मुना चौधरी

काठमाडौँ — आखिरमा म पनि ऋतुजस्तै किन बन्न सकिनँ ? म आफ्नै लहरमा किन हिँड्न सकिनँ ? म  निराश हुन्थेँ । मैले आफूलाई किन ढकमक फुलाएर राख्न सकिनँ ? म रित्तिँदै थिएँ दिनदिनै र पलपल । मानिस रित्तिँदा उसको भरिने दिन कहिल्यै आउँदैन किन ?

बाँसघारी

कति भइसकेको थियो यहाँ कुहिरोले आकाश ढाकेको थिएन । फूलमा भमराहरू भुनभुन गर्न छोडेका थिएनन् । मौरीहरू आफ्नै धुनमा थिए । ऋतु आफ्नै वेगमा हिँडेको थियो । उसलाई न आफू बूढो हुनुको चिन्ता नै थियो न त आफू नि:सन्तान हुनुको पीडा नै थियो । आकाशभरि कालो बादल छरिएर बसे पनि वसन्त आफ्नै लहरमा चलिरहन्थ्यो । जूनको पीडा आकाशलाई थाहा हुँदैन्थ्यो । आकाशको पीडा सूर्यलाई थाहा हुँदैन्थ्यो । सबै वस्तु राम्रा र मन लोभ्याउने लागे पनि कुनै न कुनै रूपमा सबै वस्तुलाई पीडित देख्थेँ म ।

आखिरमा म पनि ऋतुजस्तै किन बन्न सकिनँ ? म आफ्नै लहरमा किन हिँड्न सकिनँ ? म निराश हुन्थेँ । मैले आफूलाई किन ढकमक फुलाएर राख्न सकिनँ ? म रित्तिँदै थिएँ दिनदिनै र पलपल । मानिस रित्तिँदा उसको भरिने दिन कहिल्यै आउँदैन किन ? मेरो भाग्यमा कोरिएका रेखाहरू कुन्नि कहाँ गएर अल्झिरहेका थिए । म पचास वर्ष लागिसकेँ । तैपनि मेरा सन्तान थिएनन् । म आमा बन्न सकेकी थिइनँ । मेरो देवरका दुईजना छोरा थिए । साच्चै, म खुसी थिइनँ । किनकि मेरो अन्त्यपछि मेरो अन्त्येष्टि गर्ने मेरो कोखबाट जन्मेका मेरा आफ्ना सन्तान थिएनन् । नि:सन्तान नहुनुको पीडाले मलाई

कति पिरोलेको थियो, त्यो मेरो छातीभित्र थियो ।

मेरी देवरानीले आफ्नो छोराहरूको हेरचाह गर्दा मेरो पनि सन्तान भइदिए छातीभरिको बात्सल्य लुटाउँथेँ भन्ने लाग्थ्यो । देवरको कान्छो छोरो मलाई सारै मनपथ्र्यो । म उसलाई प्राय:जसो आफूसँगै राख्न खोज्थेँ तर ऊ मभन्दा परपर भाग्थ्यो । आफ्नी आमालाई मभन्दा बढी मन पराउँथ्यो उसले । मलाई ‘तिमी मेरी आमा होइनौ’ भन्थ्यो ।

उसको कुरा सुनेर मेरो छातीभित्र अथाह पीडा हुन्थ्यो । म मातृबात्सल्यले छटपटिन्थेँ । मेरो सन्तानसँग हजारौँ रात आफ्नो ओछ्यानमा बिताउन चाहन्थेँ । ऊसँग तोतेबोलीमा कुरा गर्न मन लाग्थ्यो । मेरा वक्षस्थलमा भएका दूधका धारा आफ्नो सन्तानका लागि बगाउन चाहन्थेँ । आफ्नो सन्तानको गाला निचोर्न चाहन्थेँ । हजारौँ चुम्बनको वर्षात गर्दै भन्न मन लाग्थ्यो— मेरो बाबु, मेरो छोरो ।

म ज्यादै हर्षित हुन्थेँ, यस्तो सपनामा रमाउन पाउँदा । एकदिन कसैले नदेख्ने गरी कोठाको ढोका बन्द गरेँ । आफ्नो पुरानो फरिया च्यातेर टालाटुलीको व्यवस्था गरेँ । सेतो टालोको गोलो सानो डल्लो बनाएँ । त्यो डल्लोलाई टाउको बनाएँ । पहेँलो टालोको हात र खुट्टा बनाएँ । टाउको र हात, खुट्टा जोड्दै एउटा पुतली बनाएँ टालाटुलीको । त्यो पुतलीलाई आफ्नो अगाडि राखेँ र तलदेखि माथिसम्म हेरेँ । उसको अनुहार सेतो र बाटुलो थियो । उसको अनुहार धेरै निर्दोष देखिन्थ्यो । उसको अनुहारले मलाई नै हेरेजस्तो लाग्यो । मनमनै भनँे, मेरो छोरो । मेरो राजा । कसैले नदेख्ने गरी म पूर्ण रूपमा आमा बनिसकेकी थिएँ । टालाटुलीको पुतलीलाई मैले बनाएको छोरो बनाएँ ।

एउटा सानो टोपी, सुरुवाल र कमिज सियो र धागोले सिलाएँ । त्यो लुगा टालाटुलीको छोरोलाई लगाइदिएँ । त्यो अति नै सुन्दर देखियो । त्यसको हात, खुट्टातिर हेरेँ । मानौँ— मैले आफ्नो गर्भबाट जन्माएकी थिएँ उसलाई । उसलाई आफ्नो वक्षस्थलमा राखेर मातृबात्सल्य लुटाएँ । वक्षस्थलको अमृतको प्याला पिलाएँ । हजारौँ रातका शोकाकुल ममतामय प्रेम लुटाएँ । आफ्नो छातीमा टाँसिरहेँ । आफ्नो काखमा सुताएँ । आफ्नो अँगालोमा बेसरी बाँधेँ । उसलाई बेसरी निचोरेँ । गाला रातो हुने गरी म्वाई खान मन लाग्यो । मसिना औँलाहरू चलाइरहेँ । तर, उसलाई जति चलाए पनि ऊ शान्त र ज्ञानी बनेर कहिले केही बोलेन । ऊ कहिले चलमलाएन । उसले मेरो देवरको छोराजस्तो, तिमी मेरी आमा होइन भनेर कहिले भनेन, त्यसैले मैले उसलाई आफ्नो छोरोको रूपमा स्विकारेँ ।

उसले मेरो वक्षस्थल चुसेको ममतामय आनन्दको अनुभव गर्ने इच्छा जाग्यो । मेरो सारा जिउ काउकुतीले नियन्त्रण गर्न नसक्ने भयो । कागतीलाई निचोरेजस्तो उसका गालाहरू निचोरेँ । मेरो कोठाको ढोका बन्द थियो । म देवरका छोराभन्दा टालाटुलीको छोरासँग धेरै खुसी थिएँ । किनकि मैले बनाएको छोराले ‘तिमी मेरी आमा होइनौ’ भनेर कहिले भनेन । उसले मलाई सन्तान सुख दिइरहेको थियो भने म उसलाई मातृबात्सल्य मनैदेखि लुटाइरहेकी थिएँ । मेरो छोरो मप्रति समर्पित थियो भने म ऊप्रति ।

म कहिले उसलाई वक्षस्थलमा टाँसेर राख्थेँ । कहिले अँगालोमा बेसरी बाँधेर म्वाई खान्थेँ । म मुसुमुसु हाँस्थेँ किनकि म मातृप्रेमको अनुरागमा चुर्लुम्म डुबेकी हुन्थेँ । उसले मलाई स्वर्गको अनुभूति दिइरहेको हुन्थ्यो । म उसलाई सबैसँग लुकाएर दराजमा राख्थेँ । मेरो श्रीमान् अफिस गइसकेपछि म सबैसँग लुकेर आफ्नो छोरोसँग खेल्थेँ । देवरका छोराहरूतिर हेर्नै मन लाग्दैनथ्यो मलाई । किनकि उनीहरूले मलाई भन्थे, ‘तिमी मेरी आमा होइनौ’ म पनि उनीहरूलाई मनमनै भन्थेँ, ‘म पनि आमा हुँ । मेरो पनि छोरो छ । तर, तिमीहरूजस्तो कठोर शब्द मेरो छोरो बोल्दैन । मेरो भावना बुझ्छ, जोसँग म दिनभरि मातृबात्सल्यको धारा बगाउन सक्छु ।’

म खुसी थिएँ । किनकि मेरो सन्तान दराजभित्र थियो । म जतिखेर पनि उसलाई मातृबात्सल्यको छहारीमा शीतलता दिन सक्थेँ । म जतिखेर पनि उसलाई निचोर्न सक्थेँ । अँगालोभरि बाँधेर राख्न सक्थेँ । उसलाई जसरी पनि अठ्याउन सक्थेँ ।

नि:सन्तान हुनुको पीडा मभित्र छँदै थियो । त्यसमाथि सारा संसारको आँखामा म बाँझो खेतजस्तै थिएँ । जुन खेतमा कहिल्यै बाली लाग्दैन । एक दिन सासूले मलाई मिलबाट गहुँ पिँधाएर ल्याउन भनिन् । गहुँ बोकेर म मिल गएँ । त्यहाँ बैरियावाली र कसहावाली काकी मिलमा धान कुटाउन आएका थिए । मलाई देख्नेबित्तिकै बैरियावाली काकीले सोधिन्, ‘बुहारीको कति जना छोराछोरी भयो ?’ मैले केही नबोल्दै कसहावाली काकीले भनिन्, ‘छोराछोरी हुँदैन । नि:सन्तान छे । बाँझी छे ।’ उनको कुरा सुनेर बैरियावाली काकीले भनिन्, ‘पटवारनी बूढीकी जेठी बुहारी यिनी नै हुन् ?’

‘हो यिनी नै हुन् ।’ भन्दै बैरियावाली काकीले मलाई सोधिन्, ‘गहुँ पिसाउन आएकी बुहारी ?’ उनीहरूको कुरा सुनेर मलाई केही बोल्न मन लागेन । म भावविह्वल भएँ । मैले टाउको हल्लाउँदै ‘हो’ को इसारा मात्र गरेँ । यस्तो कुरा मैले कति सुनेकी थिएँ । यही कुरा अझ कति सुन्न बाँकी नै थियो । मेरा किन सन्तान भएनन्? म सोचरिहेँ । फगत सोचिरहेँ । मेरा गह भरिएर आएँ । छाती पोल्यो । मेरो मन छटपटायो । सन्तानको छहारीमा सुस्ताउन नसक्ने अनुभव भयो । मेरो वक्षस्थलको दूध जमेर ढिको बनिसकेको अनुभव गरेँ । नि:सन्तान हुनुको पीडा एउटी आमालाई मात्र अनुभव हुँदो हो । आफंैलाई हेरेँ । आफैंलाई चियाएँ । के म साँच्चि आमा बन्न सक्दिनँ र ? सधैँ म नि:सन्तान नै रहन्छु ? मेरा वक्षस्थलमा भएको मातृबात्सल्य कसैको कामको थिएन र ? मभित्र पीडा थियो र पीडाभित्र म थिएँ । ममतामय मनको पिँधभरि अटाएर राखिएको माया सबै बाँकी नै थियो । कहिले रित्तिने थाहा थिएन ।

आफ्नो टालाटुलीको सन्तानलाई सम्झेँ । जसलाई म आफ्नो मातृबात्सल्यले रातदिन नुहाइरहेकी थिएँ । जसलाई म ढोका बन्द गरेर आफ्नो वक्षस्थलको दूध चुसाउँथेँ र ऊ घोप्टो परेर मेरो वक्षस्थलमा टाँसिरहन्थ्यो । उसलाई मैले जसरी पनि ममतामय धारामा नुहाइदिन सक्थेँ । ऊ धेरै शान्त र ज्ञानी थियो । म मेरो हातले उसलाई लछारपछार गर्थेँ र पाउँथेँ छोरो र आमाको ममतामय सम्बन्धको परिचय ।

गहुँ पिँधिसकेको थियो । पिठो बोकेर घर गएँ । भण्डार कक्षमा पिठो राखेँ । आफ्नो कक्षमा गएँ । कोठाभरि मेरो सामान छताछुल्ल थियो । दराज खुला थियो । दराजभित्र हेरेँ । त्यहाँ मेरो टालाटुलीको छोरो थिएन । कतै मेरो छोरो सामानको छेउछाउमा लुकेर बसेको छ कि भनेर कोठाभरि छरिएका सामानहरू पल्टाईपल्टाई हेरेँ तर उसलाई देखिनँ । म अतालिएँ । सासूलाई सोध्न गएँ, ‘आमा मेरो कोठामा सामान किन छरपस्ट छ ?’

मेरो कुरा सुनेर सासूले भनिन्,‘दराजमा पुराना लुगाहरू र टालाटुली धेरै थुप्रिएका थिए । ती पुराना लुगाहरू र टालाटुलीलाई बाबुले बाँसघारीमा भर्खरै मिल्काउन लग्यो ।’

म हतास भएँ । धेरै डराएँ । मेरो छोरो कहाँ होला ? कस्तो अवस्थामा होला ? उनी मेरो छोरालाई लिएर कहाँ गए होलान् ? मेरो छोरालाई के गरे होलान् ? म हतारिँदै आँगनबाट बाहिर गएँ । म हतारिँदै बाहिर गएको देखेर सासू मेरो पछिपछि आइरहेकी थिइन् । तोरीबारी हुँदै उनी पुरानो लुगा र टालाटुली मिल्काउन गएको बाँसघारीतिर म दौडेँ । टालाटुली र मेरो झूटो छोरालाई मिल्काउनबाट बचाउन म दौडेँ । म दौडेको देखेर सासूले भनिन्, ‘बुहारी कहाँ जान लागेकी ? के भयो ? किन दौडेकी ?’ सासू पनि मेरो पछिपछि दौडिन् । उनी कराउँदै थिइन्, ‘ए, बुहारी पख्... पख्... । कहाँ जान लागेकी...? के भयो तँलाई...?’

प्रकाशित : मंसिर ८, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?