महतगाउँ दैनिकी

फोटो
आरके अदीप्त गिरी

काठमाडौँ — रुकुम र माओवादी युद्ध । यी दुवै उस्तै–उस्तै सुनिन्थे कुनै बेला । त्यही गृहयुद्धपछिका अनेकौँ राजनीतिक उथलपुथलको परिणामस्वरूप रुकुम जिल्ला नै टुक्रियो । या भनौँ, देश नयाँ संघीय संरचनामा गएपछि राजनीतिक एवं प्रशासकीय पुनर्संरचना भयो । यसरी देशकै कान्छो अर्थात् ७७ औँ जिल्लाको रूपमा पूर्वी रुकुमको अभ्युदय भयो ।

महतगाउँ दैनिकी

पूर्वी र पश्चिम गरी रुकुम दुई भागमा विभाजित भए पनि यहाँ द्वन्द्वकालीन घाउको खाटामा कुनै इरेजर चलेको छैन । पूर्वी रुकुममै पर्छ भूमे गाउँपालिका । जहाँ महतगाउँ द्वन्द्वकालीन विस्मृतिहरूको बिस्कुन सुकाएर बसेको देखिन्छ । देशमा चलेको दसवर्षे सशस्त्र द्वन्द्वका अनेकौँ सम्बन्ध र शृङ्खलाका कथाहरू यसको छातीमा पत्रैपत्र भई थन्किएका छन् ।


सङ्क्रमणकालीन राजनीतिक परिवेशबाट गुज्रँदै महतगाउँ फ्लासब्याकझैँ ती घटनाक्रम बेलाबेला सम्झिरहन्छ । थुप्रै तीतामीठा घटनाहरूको शृङ्खलाबीच यहाँको दिनचर्या उही लयमा बित्दै आयो । यस गाउँले थुप्रै सहिद जन्माएको छ । माटोलाई रगतदान गरेको छ ।


स्थानीयहरूको कठोर सङ्घर्षमय जीवनयापनमा उहिले र अहिले खास भिन्नता छैन । ठूलठूला अप्ठ्याराहरूबीच शक्तिका उन्मादहरू यहीँ गाउँबाट सुरु भए । देशको मूलधारको राजनीतिक व्यवस्थामै उथलपुथल ल्याउने क्रान्तिका गर्जनहरू यहींबाट सुरु भएका थिए । यस गाउँले केही चीज देशलाई दियो र केही आफूले प्राप्त गर्‍यो पनि । देश शान्ति–प्रक्रियामा आएपछि बिस्तारै यहाँको लाल–राजनीतिले पनि कोल्टे फेर्‍यो । बम र बारुद मात्र धुवाँउने भूमिमा शान्तिको सुवास चल्यो । बुट र परेडले थर्किने धर्तीमा सपनाहरू अङ्कुरण हुन थाले । तर, सोचेअनुरूप भएन राजनीतिक माहोल र आज गाउँबाट अधिकांश युवाशक्ति बिदेसिन बाध्य भइरहेको छ । अनेकौँ परिवर्तनका आयामहरूमा आफूलाई होमे पनि सपनाको त्यो उज्यालो गाउँमा अझै देखिन्न ।


महतगाउँको आङमा जहिल्यै दुखिरहने द्वन्द्वका छर्राहरू बाँकी नै छन् । जसरी बिझाइरहन्छ घाइते योद्धाको आङमा बारुदका छर्रा । यस गाउँबाट द्वन्द्धकालमा ५८ जना सहिद भएको तथ्याङ्क छ । राज्य र तल्कालीन विद्रोही पक्षबाट मारिएका थिए उनीहरू । यी बिझाइरहने छर्राजस्तै हुन्, महतवासीका लागि । गाउँलेको मनमा बल्झिरन्छन् ती विषालु विस्मृतिहरू ।


क्रान्तिले आफैं बाटो बिराउँदा गाउँले अनुहार फेर्न पाएन । हिजो जुन सपना बाँडिएको थियो, त्यो पूरा हुन त यही जुनीमा मुस्किलजस्तो लाग्न थालेको छ महतवासीलाई । दु:खको जाँतोमा पिँधिने कर्मशील जनताको नियति उही छ, बरु झन् जेलिएको छ ।


महतगाउँको रगतले देशकै व्यवस्था पल्टाउन योगदान दिए पनि स्वयं यस गाउँको दैनिकी भने फेरिएन । अभाव र गरिबीको चक्र उस्तै छ । ज्यानको बाजी राखेर हिजो आफूले दिएको योगदानको उचित कदर आज राज्यबाट होस् भन्ने उनीहरूको स्वाभाविक चाहना देखिन्छ । यही जुनीमा गाउँको मुहार फेरिएको हेर्ने धोको साँचेर बाँचेका छन् महतवासी । सुख–सुविधाको महसुस गर्न चाहन्छन् । जवान पाखुरीहरू आफ्नै देश र गाउँसहरमा श्रम गर्न पाउने अवस्थाको पर्खाइमा छन् । र, बिर्सन चाहन्छन्— हिजोका ती कहरिला एवं दुश्मन दिनहरूलाई ।


महतगाउँको कथा, व्यथा र विगतको संघर्षमय गाथा के राज्यले देखेको छैन होला र ? तर, बेखबरझैँ भएर बस्न सुहाउँदैन । राज्य र सर्वसाधारण मानिसको सम्बन्ध प्रगाढ भए मात्र देशका लागि गरेको संघर्ष सार्थक हुने अनि गाउँमा पनि परिवर्तन भएको मान्न सकिने महतवासीको धारणा छ ।

यस पटक महतगाउँ पुग्दा मैले जे देखेँ, जस्तो सुनेँ तिनै कथा–व्यथा र संघर्षका गाथालाई यहाँ प्रस्तुत गरेँ । महतगाउँ र त्यहाँका बासिन्दाको जीवनकथा र दिनचर्या बोल्ने फोटो डायरी हो यो ।



















[email protected]

प्रकाशित : मंसिर ८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?