कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

म अम्मली ! 

अनुभूति
एउटा लेखकका लहड, लत र रुचि अनेक हुन्छन् । फेसबुक वा युट्युबको अम्मल त सामान्य कुरा हो । अनेक खालका परीक्षण, उटांगी कामकुरा पनि छँदैछ, अझ दाँतेगुहु निकाल्नेदेखि कानेगुजी उधिन्नेसम्मका अम्मल कोहीकोहीमा हुन सक्छन् । 
कल्पना बान्तवा

काठमाडौँ — हाल केही महिनादेखि म, युट्युबका भिडियोहरू हेर्ने अम्मली बनेकी छु । देशदेशावरका खबर, प्रहसन, तथा सांगीतिक कार्यक्रमका भिडियोलगायत डीआईवाई टिप्सहरू, मकबाङ, बागबानी तथा करेसाबारीका काम, कानेगुजी निकालेको, दाँतबाट कीरा झारेको, कुकुरको जिउमा लछ्रप्पै टाँसिएका किर्ना र आँपेजुका निकालेका भिडियोहरू आङ जिरिङ्ङ पार्दै हेरिरहन्छु ।

म अम्मली ! 

म अम्मली हुँ । यसमा कुनै शंका/उपशंका वा किन्तु–परन्तुको गुन्जायस छैन किनकि, जोकोही मानिस पनि अम्मली हुन सक्छ, खालि अम्मलको प्रकार, त्यसको गाढापन वा तरलताको मात्रा र त्यो टिक्ने समयावधिले अम्मलीहरूबीच भिन्नताको सीमारेखा कोरिदिन्छ । बस् !

केही वर्षअघि, मलाई हरघडी खाइरहनुपर्ने अम्मलले गाँजेको थियो । घरमा, काम गर्ने थलोमा र कहिलेकाहीँ त कार्यालय र घरबीचको माइक्रोबसको छोटो यात्रामा धरि मलाई खान पथ्र्यो । खाना पनि घरमा बनेको सिठोपिठो भए तैबिसेक ! मलाई जंकफुड अथवा भात नै चाहिन्थ्यो । दिव्य चार–पाँच वर्ष म खानका लागि बाँचिरहें । १५१ सेमि कदकी मेरो तौल ६२/६३ केजीको हाराहारीमा पुगेको थियो । डाक्टरहरू कचकच गरिरहन्थे, ‘तिम्रो बीएमआई (बडी मास इन्डेक्स) बडो गडबडिएको छ, त्यसलाई सही ठाउँमा ल्याऊ । शारीरिक उचाइअनुसार तिम्रो वजन ४८ केजीभन्दा माथि हुनै हुँदैन... ।’


खाने बेला डाक्टरका कुरा जहिल्यै भुल्थेँ म ! भेटघाटमा तिनका अघिल्तिर मनचिन्ते डरको भारी बिसाउँदै खुइय्य काड्थेँ, ‘मलाई तीव्र आभास हुन्छ, डाक्टर ! कि छिनछिनमा खाइरहिनँ भने म हाइपोग्लाइसेमिया (रगतमा चिनीको मात्रा पर्याप्त नहुनु) मा गएर जहाँ र जहिल्यैसुकै ड्याङ्ग ढल्छु !’

मेरो बतासे कुरा सुनेर ती हाँस्थे, ‘त्यस्तो त चिनी रोगको दबाई खाइरहेकालाई पो हुन्छ भन्ने आपैंm नर्स भएर पनि भुलेकी ? हाइपो हैन, बरु चाहिनेभन्दा धेर खाएर हाइपर अर्थात् तिम्रो रगतमा चिनीको मात्रा अचाक्ली बढ्ला !’


त्यो ताका, महिनामा कम्तीमा एक बाजी रक्तचाप बढेर रातबिरात अस्पतालको इमर्जेन्सी सेवा लिन दौडिनुपथ्र्यो । एक रात त, उच्चको पनि हद नाघेको रक्तचाप लिएर अस्पताल पुगेकी मलाई, सीसीयूमा भर्ना गरेर पाँच दिनसम्म अनेकओली दबाई चलाउँदा पनि बढेको रक्तचापले तल झर्ने सुरसारै कसेन, उल्टै झन्डै सिलटिम्मुर खाएकी मैले ! दमकी दीर्घरोगी ७८ वर्षीया मेरी माता, बाथले जाम पारेका घुँडादुखाइको पीडा सहेर स्याँस्याँ गर्दै अस्पतालका तला उक्लेर अर्धविचेत मलाई देख्दा रोएको सुनेपछि भने, आफ्नो खाइरहनुपर्ने अम्मलसँग अग्घोरै घृणा जाग्यो । उसै पनि अस्पताल बसाइमा भातको नामै सुनेर बान्ता हुन थालेको थियो, नशाबाट दिइने सलाइनपानी र करले पिएको सर्बतको भरमा सास अडेको थियो मेरो !


खाइरहने आदतप्रति वितृष्णा जागेसँगै, ‘आफ्ना लागि नभएर आमाका लागि मैले बाँच्नुपर्छ, स्वस्थ हुनपर्छ’ भन्ने चेत पनि अन्तसमा जुर्मुराएर उठयो । महिना दिनको अस्पताल बसाइबाट घर फिरेपछि घरबाहिरका खानपिनलाई हात लगाइनँ । मलाई घरमै पाकेको खानेकुरा नै मोमो म्याजिक भयो ! मलाई बेकरी क्याफे नि त्यही, मलाई केएफसी र म्याकडोनाल्ड नि त्यही भयो । गर्मीमा चियाकफी–पान पनि बन्द गरेर, केही नमिसाएको हरियो चियापियाइलाई नियमित तालिकामा पारेँ । त्यसयता त भातसँग अमन मात्र हैन, दुश्मनी नै भयो । अझै पनि म खाना खाइरहँदा रमाउँदिनँ । बाँच्न मात्र खान्छु । यसो हुनुमा सायद, कुनै कुरासँग मोहभंग हुँदा त्यसलाई फेरि कहिल्यै नसम्झने गरी भुलिदिने मेरो हठी स्वभावको भूमिका निर्णायक बन्यो ।

जंकफुड खान छाडेको लगभग छ महिनापछिदेखि पुराना लुगाहरू, जिउमा खुकुलिन थाले । अस्पतालमा भेटिएका चिनारुहरू ‘आहा ! कसरी घटेको ?’ भन्न थाले । त्यसअघि काठमाडौँका स–साना उकाला बाटाहरू उक्लँदा सास बढ्थ्यो, अब त्यस्तो हुन छाडेको थियो । ऐनामा हेर्थेँ, अनुहार त उस्तै लाग्थ्यो, ठूला गालासहितको रातोपिरो ! एक दिन वेइङ मेसिनमा उभिएर बहिनी ममतालाई अह्राएँ, ‘हेर त ! कति भएछु !’ खुसीमिश्रित स्वरमा ऊ कहालिई, ‘अबुइ दिदी ! ५४ किलो भइछौ !’


‘हैट् ! हैन होला !’ भन्दै स्वयंले हेरेँ, हो नै रैछ ! पुगनपुग वर्ष दिनमा चालै नपाई ९ केजी घटेछु । एक्कासि खुसीले ह्वात्तै दैलो उघारेजस्तो लागेर बहिनीसँग रमाएँ । रमाउँदिनथें पनि कसरी ? तिनताका हाँसोखुसीले मेरो नाउँ, थर, वतनको थर–ठेगाना चटक्कै भुलेको जो थियो ! ५४ केजी भएको आठ/नौ महिनापछि ४९ केजी भएँ, केवल घरको खाना तीन साँझ खाएर ! र ४८ केजीको तोक्मामा ज्यानको भारी अडिएको पनि धेरै भयो ।

त्यसपछि, बूढा जीबा डार्बिनको विकासवादको सिद्धान्तभैँm, सिक्री धुमपानीले जसरी एकपछि अर्को सुकुमेल चबाउने बानीको ममा क्रमिक विकास भयो, मेरो मुखले म निदाएको बखतबाहेक सन्चोले बस्न पाएन । ८०/९० रुपैयाँको सुकुमेल, तीनचार दिनमा चट् पार्थेँ । उम्दा सुकुमेल ग्राहक भेटेका साहुजीले समेत नाफाको परवाह नगरी सम्झाउँथे मलाई, ‘ढेरै सुकुमेल खाएर पथाउन हुँडैन, नानी ! ग्यास्टिक भे’र ल्याउँछ !’


साढे तीन महिनाजति दैनिकीको अभिन्न अंग बनेर सुकुमेल–लतले धेरै भाउ नखोजी बिदा माग्यो, मैले राम्रै मुखले बिदा दिएँ । छुर्पी र सुपारी खाने बानी पुरानो हो । झापा घरबाट पठाइदिएको कट्मेरो सुपारी खाएर हलका रिंगटा लागेपछि सुपारीलाई पनि फर्केर हेरिनँ । छुर्पी टोक्दाटोक्दा भित्री

गालामा दुवैतिर बनेका मजाकै घाउले पीडा दिन थालेपछि छुर्पीलाई पनि ‘हस् त ! नमस्कार !’ भनिपठाएँ ।


केटाकेटी छँदादेखि लागेको चक्लेट खाने बानी, र केही वर्षयता सुरु भएको टोलाएर अनुहार कोटयाउने पागलपनले चाहिँ अद्यापि आफ्नो चंगुलबाट मुक्त गरेका छैनन्


मलाई ! बुवाको पनि, पर कता शून्यमा हेर्दै देब्रे चिउँडोनजिकको ठूलो कालोकोठी एकतमासले चलाइरहने बानी थियो । उच्च रक्तचापजस्तै अनुहार कोटयाउने रोग पनि बुवाकै जिनबाट ममा सरेको पो हो कि ! जे होस् ! मेरो झोलामा अमूलको डेरिमिल्क क्याड्बरी एक प्याकेट हरहमेसा रहन्छ र भेटेसम्मका चक्लेट मर्‍याङ्मर्‍याङ् चबाइरहन्छु । बच्चा बेलामा अहिलेको क्याड्बरीजस्ता नरमखाले हैन, सारो न सारो सुन्तले बासनावाला लाम्चो–बाटुले चक्लेट गालामा पोक्याएर चुसिरहिन्थ्यो । चुस्दाचुस्दा लास्टाँ दाह्री खौरने पत्तीजस्तो भएपछि झ‍र्‍याम्‌झुरुम् पारेर सकिन्थ्यो ।


यस्तो मरिगए छाड्न नसक्ने, पहेँला दाँत सेता भएको हेर्न अर्को जुनी कुर्न पर्ने चक्लेटी–लतले सायद मलाई कर्‍याप्‌कुरुप् पारेर अँठयाउँदैनथ्यो होला, यदि सुदूर अतीतमा तराईको घरअगाडि सडकपारिको धिताल बाजेको घरको भुइँतलामा गम्केर चक्लेट फयाक्ट्री नखुलेको भए !


आहा ! फयाक्ट्रीमा गुँड पकाएर के–के सुगन्ध मिसाइएको चास्नीको लेदोको मनोहारी बासले चौतर्फी मगमगाएर, हामी केटाकेटीमा भुँडी चर्कुन्जेल बिहानको भात खाएर पनि पुन: त्यो चक्लेट चुस्ने भोक जगाइदिन्थ्यो । हामी केही भुरा, खुर्रर कुद्दै चकलेट फयाक्ट्रीमा पुग्थ्यौँ र मसिनले गुँडको अर्धकठोर चास्नीलाई चक्लेटमा ढालेको प्रीतिकर दृश्य थुक निल्दै हेरिरहन्थ्यौँ । निकै बेरको पर्खाइपछि फयाक्ट्रीका प्रोप्राइटर प्रमोद गुप्ता दाजुले बल्ड्याङ्ग्रा आँखा अझ तन्काउँदै, हुलिया बिग्रेका केही चक्लेट हाम्रा हातमा राखिदिएर हाम्लाई धपाउँथे, ‘चल् भाग् बच्चापाटी सब् ! कौनो काम छैन, खाली फोकटमा दरबाजामा पहरा दिएर लोद्दर लगाउँछ !’


मलाई सबभन्दा बेसी पिरोलेको चाहिँ हरबखत अनुहार कोटयाउने बानीले हो । सामान्यतया स्वास्नीमानिसहरू, मुहार सौन्दर्यप्रति आफूले सक्दो सचेत रहन्छन् । नानाथरीका उपाय र नुस्खा अपनाउँछन् अनुहार सफा राख्न ! तर, म, शीतला माईले दागेको जस्तो दागैदागसरिको अनुहार भइसक्दा पनि चेत्दिनँ । घरकाले सम्झाएर हार खाइसके, म आफंै पनि हैरान भइसकेँ तर यो आदत छुटेको छैन । यहाँसम्म कि भुइँचालोको बेला घरअगाडिको खाली ठाउँमा त्रिपालमुनि बसिरहँदा, छिमेककी आमैले मेरो चन्द्रमाजस्तो छयाके–मुहार देखेर भनेकी थिइन्, ‘अनुहार त हेर्नै नहुने भएछ यो नानीको ! यिनका दुवै हात कम्मरमा पटुका कसेर त्यसैले बाँधिदिनु, हात चलाउनै नमिल्ने गरी !’


उनको वचन खेरै गयो । म अझै अनुहार कोटयाइरहेकी छु, र दागहरूलाई नि:सर्त प्रेम गरिरहेकी छु ।

यी त भए पुराना लत र अम्मलका कुरा !


हाल केही महिनादेखि म, युट्युबका भिडियोहरू हेर्ने अम्मली बनेकी छु । देशदेशावरका खबर, प्रहसन, तथा सांगीतिक कार्यक्रमका भिडियोलगायत थरीथरीका खाना बनाउने तरिका, डीआईवाई टिप्सहरू, मकबाङ, बागबानी तथा करेसाबारीका काम, कानेगुजी निकालेको, दाँतबाट कीरा झारेको, कालाटाउका पुलुत्तपुलुत्त निचरेर निकालेको, महिलाको ढाड र पाखुराबाट माखाका लार्भा निकालेको, कुकुरको जिउमा लछ्रप्पै टाँसिएका किर्ना र आँपेजुका निकालेका भिडियोहरू आङ जिरिङ्ङ पार्दै हेरिरहन्छु । जमोठ भई बसेका दाँतेगुहु स्केलरले कोटयाएर चोक्टाचोक्टा निकालेको हेर्नमा मलाई खुब रस बसेको छ । आफूले पनि दाँत विभागमा छँदा त्यसरी नै गरेको भएर होला ।


एकपल्ट, दाँतेगुहुको कडा पत्र उक्काउने भिडियो हेर्दै थिएँ । हे अचम्म ! दाँत सफा गरिने मानिसलाई सजिलो गरी डेन्टल बेडमा सुताएपछि उनको गिँजामा सिरिन्जद्वारा लोकल एनेस्थेसिया पो दिन थालियो । म परेँ तीनछक किनकि हामीकहाँ त्यस्तो प्रचलन छँदै थिएन ।


दाँत सफा गर्दा लोकल एनेस्थेसिया नदिने कुराको के कुरा ! म इन्डोस्कोपी शाखामा छँदा इन्डोस्कोपी, कोलोनोस्कोपी र ईआरसीपी गर्दासमेत एनेस्थेसिया दिइँदैनथ्यो, जबकि यी परीक्षण गर्दा अप्ठयारो र पीडाले बिरामीहरू हुरुक्क हुन्थे । आफ्नै इन्डोस्कोपी धेरैचोटि गरेको बहुतै पीडादायी अनुभव छ मेरो । वयस्क साइज ९.०–११.४ मिमि आयतनवाला दरो तर लचकदार सिन्थेटिक पाइप मुखबाट छिराएर खानेनली हुँदै पेट र सानो आन्द्राको थालनीसम्म पुर्‍याउँदा, पेट बटारिएर उत्पन्न हुने शक्तिशाली वाक्वाक् र अप्ठयारोले मरेतुल्य बनाउँछ । तुरुन्त त्यो इन्डोस्कोप निकालिदिए भगवानै मान्थेँजस्तो विवश चाहना पलाउँछ असहाय बिरामीको मनमा । त्यसमाथि अनवरत बग्ने आँसु र र्‍याल–सिँगानले नाक बन्द भएर फेरिरहेको सासै रोकिने हो कि भन्ने त्रासले उत्तिकै अत्याउँछ । यी सबमाथि डाक्टर तथा स्वास्थ्यकर्मीको आदेश ‘ए ! वाक्वाक् नगर्नुस् ! चुपचाप लामोलामो सास फेर्नुस् !’ हे हरि !


कोलोनोस्कोपी : १२.९–१३.७ मिमि जति आयतन र १३३–१६८ सेमि लामो, कडा, बटार्न मिल्ने पाइप मलद्वारबाट छिराएर गरिने ठाडो, तेर्सो र ओरालो झरेको ठूलो आन्द्राको जाँच हो, जसमा सोही पाइपछेउबाट अतिरिक्त हावा पठाएर ठूलो आन्द्रा फुलाउँदै त्यसभित्रको दृश्य कम्प्युटर–पर्दामा हेरिन्छ । भित्रका सबै कुरा छयाङ्ग देखियोस् भनेर दुई दिनअघिदेखि बिरामीलाई पखाला चलाएर, झोल पदार्थ मात्र खान दिइएको हुन्छ । पखालाले हत्तुहैरान चेतन अवस्थाको बिरामीलाई, पेटमा भरिएको हावाले र पाइप घुमाइघुमाइ गरिने जाँचले मर्नु बनाउँछ । परीक्षणपश्चात् पेटको वायु फाल्न आतुर बिरामीलाई सुबिस्ता हुने शौचालय पनि नजिकै थिएन म हुँदा । पछाडि ह्वाङ्गै पारिएको अस्पतालको पाइजामा लाएर, टाढाको सार्वजनिक शौचालयतर्फ आफन्तको हात समाएर हतारिँदै बिरामी हिँड्दा मन कुँडिन्थ्यो । एकादुईले खप्न नसकेर र शौचालय जान नभ्याएर, परीक्षण कक्षभित्रै इन्डोस्कोपहरूलाई सङ्क्रमणरहित तुल्याउने केमिकल घोलमा डुबाउने प्लास्टिकका ठूला बाटामै मलद्वारबाट वायु विकार र पातलो दिसा छाडेको याद छ मलाई !


यी परीक्षणमध्ये, जन्डिसले थलिएका बिरामीको नाजुक अवस्था, जाँचको अवधि र प्रकृतिलाई तुलना गर्दा, ईआरसीपी : जाँच बिरामीका निम्ति अत्यन्त कष्टकर लाग्छ । यो प्रक्रियामा, बेहोस नबनाइएका बिरामीको मुखबाट इन्डोस्कोपभन्दा अलि मोटो तर लामो ईआरसीपी पाइप छिराएर पेट हुँदै पित्तनली तथा प्यानक्रियाज नलीनजिकै पुर्‍याएर केमिकल डाई हाल्दै भटाभट एक्स–रे खिचिन्छ । तर, यहाँ मैले लेखेजस्तो अथवा मुखले ‘भटाभट एक्स–रे खिच्ने कुरा’ बोलेजस्तो सजिलो छँदैछैन । जस्तै क्षमतावान डाक्टरलाई पनि बिरामीको मुखमा हुलेको पाइपलाई, कम्प्युटर स्क्रिनमा हेर्दै डुडेनमको सूक्ष्म प्वाल खोजेर–भेट्टाएर, त्यसबाट पाइप छिराएर डाई धकेल्नु सहज हुँदैन । मनग्गे समय लाग्छ । त्यतिन्जेलसम्म, पेट दुखाइ, छट्पटी र अत्यासले मरेसरह हुन्छन् बिरामी !


अर्को परीक्षण ब्रोङ्कोस्कोपी : मुखबाटै मसिनो पाइप छिराएर कम्प्युटर पर्दामा श्वासनली र फोक्सोभित्रका सामान्य/असामान्य कुरा हेर्ने जाँच । माथि उल्लेख गरिएकामध्ये यो सबभन्दा जटिल परीक्षण भए पनि, प्रोफेसर प्रकाश सायमीले गर्दा म निश्चिन्तै हुन्थेँ बिरामीको सम्भावित खतरापूर्ण स्वास्थ्यस्थितिप्रति ! कस्ता बिरामीको ब्रोङ्कोस्कोपी गर्न हुँदैन भन्ने नीति–नियमलाई कडाइसाथ पछयाउँथे उनी ! सामान्य मानिसको रगतमा अक्सिजन स्याचुरेसन ९८–१०० प्रतिशत हुन्छ । ९० प्रतिशतभन्दा कम भएको मानिसको ब्रोङ्कोस्कोपी गर्न हुँदैन किनकि, ब्रोङ्कोस्कोपी गरिरहँदा बिरामीलाई नाकबाट अटुट अक्सिजन दिइरहे पनि सानै आयतन र लम्बाइको ब्रोङ्कोस्कोप छिराइएको श्वासनलीमा अवरोध त आउँछ नै ! पहिलेदेखि नै स्याँस्याँ गरिरहेका बिरामीमा यो जोखिम झन् उच्च हुन्छ । मेरो टाउको दुख्न थाल्थ्यो त्यो बेला, जब एकअर्का फिजिसियन/प्रोफेसर ब्रोङ्कोस्कोपी गर्न आउँथे ! उनी सिकारु थिए । डाक्टर प्रकाश सायमीले ब्रोङ्कोस्कोपी गरेको दुई/तीन पटक हेरेपछि, भुइँफुट्टा बन्ने अभियानमा लागिपरेका थिए । ८० प्रतिशत अक्सिजन स्याचुरेसन भएको दमको बिरामीको पनि ‘लु गरम् !’ भन्दै अघि सर्थे ।


मैले ‘नाइँ’, ‘हुँदैन’ भन्थेँ । तर, इन्डोस्कोपी शाखाका इन्चार्ज, सिनियर हेल्थ असिस्टेन्ट जयकरणप्रसाद चौधरी दाजु केही नबोली बसिरहन्थे । बिसौँ वर्षको कामको अनुभवले खारिएका उनले, माथि चर्चा गरिएका परीक्षणहरू गर्न कति डाक्टरलाई सिकाए भनिसाध्य र गनिसाध्य छैन तर बाराका यी सोझासीधा थारू दाजुले ‘नाइँ’ भन्न हतपती सकेनन् ।


इन्डोस्कोपी विभागमा बिरामीको थामिनसक्नु चाप देखेर, प्रकाश सायमी सर फुर्सदमा हामीलाई जापानमा आफू तालिमे डाक्टर हुँदाका किस्सा सुनाउँथे, ‘जापानका अस्पतालमा, एक दिनमा २ जनाभन्दा बढी बिरामीको यस्ता जाँच गरिँदैन, इमर्जेन्सीका लागि छुट्टै व्यवस्था छ । यी जाँचहरू गरिने बिरामीलाई दुई दिनअघि नै अस्पताल भर्ना गरिन्छ र जाँच सकेर पनि दुई दिन अस्पतालमा राखेर घर फर्काइन्छ । परीक्षणको दौरान बिरामीलाई केही थाहा नहुने बनाइन्छ । आकस्मिक रूपमा चाहिने औषधिदेखि एनेस्थेसियाको डाक्टरलगायत पुग्दो दक्ष जनशक्ति हुन्छ । बिरामीको सुविधामा कुनै सम्झौता गरिन्न त्यहाँ र दैनिक दुई बिरामीलाई राम्रो हेरचाहसहित स्वास्थ्य सेवा दिनु जापानजस्तो विकसित मुलुकमा खासै अचम्मको कुरा पनि हैन ...’

‘पाँच/छ जनाको इन्डोस्कोपी मात्र गर्ने’ भनेर अगावै समय दिएकामा, थप्दैथप्दै दिनको लगभग १५ जना पुग्ने र ईआरसीपी ‘दिनको दुई जनाभन्दा गर्दै नगर्ने है !’ भनेकामा ५ देखि ७ जनासम्मको गर्न पर्ने हाम्रो सन्दर्भमा जापानका कुरा आकाशे फल हो तर पनि हामीलाई तिलस्मी बखानजस्तो चखिला लाग्थे डाक्टर सायमीका कुरा !


खै ! अहिलेचाहिँ इन्डोस्कोपी विभागले अग्रगामी छलाङ लगायो कि कुन्नि ! आफूले त्यो विभाग छाडेपछि सोबारे चाख र चासो पनि रहेन ।

आफ्ना कुख्यात अम्मलबारे लेख्दालेख्दै, युट्युब भिडियोमा दाँत सफा गरेको दृश्यले इन्डोस्कोपी विभागका बिरामीका दुर्दशा सम्झाएर यति लेख्ने जमर्को गरेँ । प्रिय पाठक ! लेखकको जातै यस्तो भनेर कृपया बुझिदिनुहोला ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?