म अम्मली ! 

अनुभूति
एउटा लेखकका लहड, लत र रुचि अनेक हुन्छन् । फेसबुक वा युट्युबको अम्मल त सामान्य कुरा हो । अनेक खालका परीक्षण, उटांगी कामकुरा पनि छँदैछ, अझ दाँतेगुहु निकाल्नेदेखि कानेगुजी उधिन्नेसम्मका अम्मल कोहीकोहीमा हुन सक्छन् । 
कल्पना बान्तवा

काठमाडौँ — हाल केही महिनादेखि म, युट्युबका भिडियोहरू हेर्ने अम्मली बनेकी छु । देशदेशावरका खबर, प्रहसन, तथा सांगीतिक कार्यक्रमका भिडियोलगायत डीआईवाई टिप्सहरू, मकबाङ, बागबानी तथा करेसाबारीका काम, कानेगुजी निकालेको, दाँतबाट कीरा झारेको, कुकुरको जिउमा लछ्रप्पै टाँसिएका किर्ना र आँपेजुका निकालेका भिडियोहरू आङ जिरिङ्ङ पार्दै हेरिरहन्छु ।

म अम्मली हुँ । यसमा कुनै शंका/उपशंका वा किन्तु–परन्तुको गुन्जायस छैन किनकि, जोकोही मानिस पनि अम्मली हुन सक्छ, खालि अम्मलको प्रकार, त्यसको गाढापन वा तरलताको मात्रा र त्यो टिक्ने समयावधिले अम्मलीहरूबीच भिन्नताको सीमारेखा कोरिदिन्छ । बस् !
केही वर्षअघि, मलाई हरघडी खाइरहनुपर्ने अम्मलले गाँजेको थियो । घरमा, काम गर्ने थलोमा र कहिलेकाहीँ त कार्यालय र घरबीचको माइक्रोबसको छोटो यात्रामा धरि मलाई खान पथ्र्यो । खाना पनि घरमा बनेको सिठोपिठो भए तैबिसेक ! मलाई जंकफुड अथवा भात नै चाहिन्थ्यो । दिव्य चार–पाँच वर्ष म खानका लागि बाँचिरहें । १५१ सेमि कदकी मेरो तौल ६२/६३ केजीको हाराहारीमा पुगेको थियो । डाक्टरहरू कचकच गरिरहन्थे, ‘तिम्रो बीएमआई (बडी मास इन्डेक्स) बडो गडबडिएको छ, त्यसलाई सही ठाउँमा ल्याऊ । शारीरिक उचाइअनुसार तिम्रो वजन ४८ केजीभन्दा माथि हुनै हुँदैन... ।’

खाने बेला डाक्टरका कुरा जहिल्यै भुल्थेँ म ! भेटघाटमा तिनका अघिल्तिर मनचिन्ते डरको भारी बिसाउँदै खुइय्य काड्थेँ, ‘मलाई तीव्र आभास हुन्छ, डाक्टर ! कि छिनछिनमा खाइरहिनँ भने म हाइपोग्लाइसेमिया (रगतमा चिनीको मात्रा पर्याप्त नहुनु) मा गएर जहाँ र जहिल्यैसुकै ड्याङ्ग ढल्छु !’
मेरो बतासे कुरा सुनेर ती हाँस्थे, ‘त्यस्तो त चिनी रोगको दबाई खाइरहेकालाई पो हुन्छ भन्ने आपैंm नर्स भएर पनि भुलेकी ? हाइपो हैन, बरु चाहिनेभन्दा धेर खाएर हाइपर अर्थात् तिम्रो रगतमा चिनीको मात्राअचाक्ली बढ्ला !’

त्यो ताका, महिनामा कम्तीमा एक बाजी रक्तचाप बढेर रातबिरात अस्पतालको इमर्जेन्सी सेवा लिन दौडिनुपथ्र्यो । एक रात त, उच्चको पनि हद नाघेको रक्तचाप लिएर अस्पताल पुगेकी मलाई, सीसीयूमा भर्ना गरेर पाँच दिनसम्म अनेकओली दबाई चलाउँदा पनि बढेको रक्तचापले तल झर्ने सुरसारै कसेन, उल्टै झन्डै सिलटिम्मुर खाएकीमैले ! दमकी दीर्घरोगी ७८ वर्षीया मेरी माता, बाथले जाम पारेका घुँडादुखाइको पीडा सहेर स्याँस्याँ गर्दै अस्पतालका तला उक्लेर अर्धविचेत मलाई देख्दा रोएको सुनेपछि भने, आफ्नो खाइरहनुपर्ने अम्मलसँग अग्घोरै घृणा जाग्यो । उसै पनि अस्पताल बसाइमा भातको नामै सुनेर बान्ता हुन थालेको थियो, नशाबाट दिइने सलाइनपानी र करले पिएको सर्बतको भरमा सास अडेको थियो मेरो !

खाइरहने आदतप्रति वितृष्णा जागेसँगै, ‘आफ्ना लागि नभएर आमाका लागि मैले बाँच्नुपर्छ, स्वस्थ हुनपर्छ’ भन्ने चेत पनि अन्तसमा जुर्मुराएर उठयो । महिना दिनको अस्पताल बसाइबाट घर फिरेपछि घरबाहिरका खानपिनलाई हात लगाइनँ । मलाई घरमै पाकेको खानेकुरा नै मोमो म्याजिक भयो ! मलाई बेकरी क्याफे नि त्यही, मलाई केएफसी र म्याकडोनाल्ड नि त्यही भयो । गर्मीमा चियाकफी–पान पनि बन्द गरेर, केही नमिसाएको हरियो चियापियाइलाई नियमित तालिकामा पारेँ । त्यसयता त भातसँग अमन मात्र हैन, दुश्मनी नै भयो । अझै पनि म खाना खाइरहँदा रमाउँदिनँ । बाँच्न मात्र खान्छु । यसो हुनुमा सायद, कुनै कुरासँग मोहभंग हुँदा त्यसलाई फेरि कहिल्यै नसम्झने गरी भुलिदिने मेरो हठी स्वभावको भूमिका निर्णायक बन्यो ।
जंकफुड खान छाडेको लगभग छ महिनापछिदेखि पुराना लुगाहरू, जिउमा खुकुलिन थाले । अस्पतालमा भेटिएका चिनारुहरू ‘आहा ! कसरी घटेको ?’ भन्न थाले । त्यसअघि काठमाडौँका स–साना उकाला बाटाहरू उक्लँदा सास बढ्थ्यो, अब त्यस्तो हुन छाडेको थियो । ऐनामा हेर्थेँ, अनुहार त उस्तै लाग्थ्यो, ठूला गालासहितको रातोपिरो ! एक दिन वेइङ मेसिनमा उभिएर बहिनी ममतालाई अह्राएँ, ‘हेर त ! कति भएछु !’ खुसीमिश्रित स्वरमा ऊ कहालिई, ‘अबुइ दिदी ! ५४ किलो भइछौ !’

‘हैट् ! हैन होला !’ भन्दै स्वयंले हेरेँ, हो नै रैछ ! पुगनपुग वर्ष दिनमा चालै नपाई ९ केजी घटेछु । एक्कासि खुसीले ह्वात्तै दैलो उघारेजस्तो लागेर बहिनीसँग रमाएँ । रमाउँदिनथें पनि कसरी ? तिनताका हाँसोखुसीले मेरो नाउँ, थर, वतनको थर–ठेगाना चटक्कै भुलेको जो थियो ! ५४ केजी भएको आठ/नौ महिनापछि ४९ केजी भएँ, केवल घरको खाना तीन साँझ खाएर ! र ४८ केजीको तोक्मामा ज्यानको भारी अडिएको पनि धेरै भयो ।
त्यसपछि, बूढा जीबा डार्बिनको विकासवादको सिद्धान्तभैँm, सिक्री धुमपानीले जसरी एकपछि अर्को सुकुमेल चबाउने बानीको ममा क्रमिक विकास भयो, मेरो मुखले म निदाएको बखतबाहेक सन्चोले बस्न पाएन । ८०/९० रुपैयाँको सुकुमेल, तीनचार दिनमा चट् पार्थेँ । उम्दा सुकुमेल ग्राहक भेटेका साहुजीले समेत नाफाको परवाह नगरी सम्झाउँथे मलाई, ‘ढेरै सुकुमेल खाएर पथाउन हुँडैन, नानी ! ग्यास्टिकभे’र ल्याउँछ !’

साढे तीन महिनाजति दैनिकीको अभिन्न अंग बनेर सुकुमेल–लतले धेरै भाउ नखोजी बिदा माग्यो, मैले राम्रै मुखले बिदा दिएँ । छुर्पी र सुपारी खाने बानी पुरानो हो । झापा घरबाट पठाइदिएको कट्मेरो सुपारी खाएर हलका रिंगटा लागेपछि सुपारीलाई पनि फर्केर हेरिनँ । छुर्पी टोक्दाटोक्दा भित्री
गालामा दुवैतिर बनेका मजाकै घाउले पीडा दिन थालेपछि छुर्पीलाई पनि ‘हस् त ! नमस्कार !’ भनिपठाएँ ।

केटाकेटी छँदादेखि लागेको चक्लेट खाने बानी, र केही वर्षयता सुरु भएको टोलाएर अनुहार कोटयाउने पागलपनले चाहिँ अद्यापि आफ्नो चंगुलबाट मुक्त गरेका छैनन्

मलाई ! बुवाको पनि, पर कता शून्यमा हेर्दै देब्रे चिउँडोनजिकको ठूलो कालोकोठी एकतमासले चलाइरहने बानी थियो । उच्च रक्तचापजस्तै अनुहार कोटयाउने रोग पनि बुवाकै जिनबाट ममा सरेको पो हो कि ! जे होस् ! मेरो झोलामा अमूलको डेरिमिल्क क्याड्बरी एक प्याकेट हरहमेसा रहन्छ र भेटेसम्मका चक्लेट मर्‍याङ्मर्‍याङ् चबाइरहन्छु । बच्चा बेलामा अहिलेको क्याड्बरीजस्ता नरमखाले हैन, सारो न सारो सुन्तले बासनावाला लाम्चो–बाटुले चक्लेट गालामा पोक्याएर चुसिरहिन्थ्यो । चुस्दाचुस्दा लास्टाँ दाह्री खौरने पत्तीजस्तो भएपछि झ‍र्‍याम्‌झुरुम् पारेर सकिन्थ्यो ।

यस्तो मरिगए छाड्न नसक्ने, पहेँला दाँत सेता भएको हेर्न अर्को जुनी कुर्न पर्ने चक्लेटी–लतले सायद मलाई कर्‍याप्‌कुरुप् पारेर अँठयाउँदैनथ्यो होला, यदि सुदूर अतीतमा तराईको घरअगाडि सडकपारिको धिताल बाजेको घरको भुइँतलामा गम्केर चक्लेट फयाक्ट्री नखुलेको भए !

आहा ! फयाक्ट्रीमा गुँड पकाएर के–के सुगन्ध मिसाइएको चास्नीको लेदोको मनोहारी बासले चौतर्फी मगमगाएर, हामी केटाकेटीमा भुँडी चर्कुन्जेल बिहानको भात खाएर पनि पुन: त्यो चक्लेट चुस्ने भोक जगाइदिन्थ्यो । हामी केही भुरा, खुर्रर कुद्दै चकलेट फयाक्ट्रीमा पुग्थ्यौँ र मसिनले गुँडको अर्धकठोर चास्नीलाई चक्लेटमा ढालेको प्रीतिकर दृश्य थुक निल्दै हेरिरहन्थ्यौँ । निकै बेरको पर्खाइपछि फयाक्ट्रीका प्रोप्राइटर प्रमोद गुप्ता दाजुले बल्ड्याङ्ग्रा आँखा अझ तन्काउँदै, हुलिया बिग्रेका केही चक्लेट हाम्रा हातमा राखिदिएर हाम्लाई धपाउँथे, ‘चल् भाग् बच्चापाटी सब् ! कौनो काम छैन, खाली फोकटमा दरबाजामा पहरा दिएर लोद्दर लगाउँछ !’

मलाई सबभन्दा बेसी पिरोलेको चाहिँ हरबखत अनुहार कोटयाउने बानीले हो । सामान्यतया स्वास्नीमानिसहरू, मुहार सौन्दर्यप्रति आफूले सक्दो सचेत रहन्छन् । नानाथरीका उपाय र नुस्खा अपनाउँछन् अनुहार सफा राख्न ! तर, म, शीतला माईले दागेको जस्तो दागैदागसरिको अनुहार भइसक्दा पनि चेत्दिनँ । घरकाले सम्झाएर हार खाइसके, म आफंै पनि हैरान भइसकेँ तर यो आदत छुटेको छैन । यहाँसम्म कि भुइँचालोको बेला घरअगाडिको खाली ठाउँमा त्रिपालमुनि बसिरहँदा, छिमेककी आमैले मेरो चन्द्रमाजस्तो छयाके–मुहार देखेर भनेकी थिइन्, ‘अनुहार त हेर्नै नहुने भएछ यो नानीको ! यिनका दुवै हात कम्मरमा पटुका कसेर त्यसैले बाँधिदिनु, हात चलाउनै नमिल्ने गरी !’

उनको वचन खेरै गयो । म अझै अनुहार कोटयाइरहेकी छु, र दागहरूलाई नि:सर्त प्रेम गरिरहेकी छु ।
यी त भए पुराना लत र अम्मलका कुरा !

हाल केही महिनादेखि म, युट्युबका भिडियोहरू हेर्ने अम्मली बनेकी छु । देशदेशावरका खबर, प्रहसन, तथा सांगीतिक कार्यक्रमका भिडियोलगायत थरीथरीका खाना बनाउने तरिका, डीआईवाई टिप्सहरू, मकबाङ, बागबानी तथा करेसाबारीका काम, कानेगुजी निकालेको, दाँतबाट कीरा झारेको, कालाटाउका पुलुत्तपुलुत्त निचरेर निकालेको, महिलाको ढाड र पाखुराबाट माखाका लार्भा निकालेको, कुकुरको जिउमा लछ्रप्पै टाँसिएका किर्ना र आँपेजुका निकालेका भिडियोहरू आङ जिरिङ्ङ पार्दै हेरिरहन्छु । जमोठ भई बसेका दाँतेगुहु स्केलरले कोटयाएर चोक्टाचोक्टा निकालेको हेर्नमा मलाई खुब रस बसेको छ । आफूले पनि दाँत विभागमा छँदा त्यसरी नै गरेको भएर होला ।

एकपल्ट, दाँतेगुहुको कडा पत्र उक्काउने भिडियो हेर्दै थिएँ । हे अचम्म ! दाँत सफा गरिने मानिसलाई सजिलो गरी डेन्टल बेडमा सुताएपछि उनको गिँजामा सिरिन्जद्वारा लोकल एनेस्थेसिया पो दिन थालियो । म परेँ तीनछक किनकि हामीकहाँ त्यस्तो प्रचलन छँदै थिएन ।

दाँत सफा गर्दा लोकल एनेस्थेसिया नदिने कुराको के कुरा ! म इन्डोस्कोपी शाखामा छँदा इन्डोस्कोपी, कोलोनोस्कोपी र ईआरसीपी गर्दासमेत एनेस्थेसिया दिइँदैनथ्यो, जबकि यी परीक्षण गर्दा अप्ठयारो र पीडाले बिरामीहरू हुरुक्क हुन्थे । आफ्नै इन्डोस्कोपी धेरैचोटि गरेको बहुतै पीडादायी अनुभव छ मेरो । वयस्क साइज ९.०–११.४ मिमि आयतनवाला दरो तर लचकदार सिन्थेटिक पाइप मुखबाट छिराएर खानेनली हुँदै पेट र सानो आन्द्राको थालनीसम्म पुर्‍याउँदा, पेट बटारिएर उत्पन्न हुने शक्तिशाली वाक्वाक् र अप्ठयारोले मरेतुल्य बनाउँछ । तुरुन्त त्यो इन्डोस्कोप निकालिदिए भगवानै मान्थेँजस्तो विवश चाहना पलाउँछ असहाय बिरामीको मनमा । त्यसमाथि अनवरत बग्ने आँसु र र्‍याल–सिँगानले नाक बन्द भएर फेरिरहेको सासै रोकिने हो कि भन्ने त्रासले उत्तिकै अत्याउँछ । यी सबमाथि डाक्टर तथा स्वास्थ्यकर्मीको आदेश ‘ए ! वाक्वाक्नगर्नुस् ! चुपचाप लामोलामो सास फेर्नुस् !’ हे हरि !

कोलोनोस्कोपी : १२.९–१३.७ मिमि जति आयतन र १३३–१६८ सेमि लामो, कडा, बटार्न मिल्ने पाइप मलद्वारबाट छिराएर गरिने ठाडो, तेर्सो र ओरालो झरेको ठूलो आन्द्राको जाँच हो, जसमा सोही पाइपछेउबाट अतिरिक्त हावा पठाएर ठूलो आन्द्रा फुलाउँदै त्यसभित्रको दृश्य कम्प्युटर–पर्दामा हेरिन्छ । भित्रका सबै कुरा छयाङ्ग देखियोस् भनेर दुई दिनअघिदेखि बिरामीलाई पखाला चलाएर, झोल पदार्थ मात्र खान दिइएको हुन्छ । पखालाले हत्तुहैरान चेतन अवस्थाको बिरामीलाई, पेटमा भरिएको हावाले र पाइप घुमाइघुमाइ गरिने जाँचले मर्नु बनाउँछ । परीक्षणपश्चात् पेटको वायु फाल्न आतुर बिरामीलाई सुबिस्ता हुने शौचालय पनि नजिकै थिएन म हुँदा । पछाडि ह्वाङ्गै पारिएको अस्पतालको पाइजामा लाएर, टाढाको सार्वजनिक शौचालयतर्फ आफन्तको हात समाएर हतारिँदै बिरामी हिँड्दा मन कुँडिन्थ्यो । एकादुईले खप्न नसकेर र शौचालय जान नभ्याएर, परीक्षण कक्षभित्रै इन्डोस्कोपहरूलाई सङ्क्रमणरहित तुल्याउने केमिकल घोलमा डुबाउने प्लास्टिकका ठूला बाटामै मलद्वारबाट वायु विकार र पातलो दिसा छाडेको याद छ मलाई !

यी परीक्षणमध्ये, जन्डिसले थलिएका बिरामीको नाजुक अवस्था, जाँचको अवधि र प्रकृतिलाई तुलना गर्दा, ईआरसीपी : जाँच बिरामीका निम्ति अत्यन्त कष्टकर लाग्छ । यो प्रक्रियामा, बेहोस नबनाइएका बिरामीको मुखबाट इन्डोस्कोपभन्दा अलि मोटो तर लामो ईआरसीपी पाइप छिराएर पेट हुँदै पित्तनली तथा प्यानक्रियाज नलीनजिकै पुर्‍याएर केमिकल डाई हाल्दै भटाभट एक्स–रे खिचिन्छ । तर, यहाँ मैले लेखेजस्तो अथवा मुखले ‘भटाभट एक्स–रे खिच्ने कुरा’ बोलेजस्तो सजिलो छँदैछैन । जस्तै क्षमतावान डाक्टरलाई पनि बिरामीको मुखमा हुलेको पाइपलाई, कम्प्युटर स्क्रिनमा हेर्दै डुडेनमको सूक्ष्म प्वाल खोजेर–भेट्टाएर, त्यसबाट पाइप छिराएर डाई धकेल्नु सहज हुँदैन । मनग्गे समय लाग्छ । त्यतिन्जेलसम्म, पेट दुखाइ, छट्पटी र अत्यासले मरेसरह हुन्छन् बिरामी !

अर्को परीक्षण ब्रोङ्कोस्कोपी : मुखबाटै मसिनो पाइप छिराएर कम्प्युटर पर्दामा श्वासनली र फोक्सोभित्रका सामान्य/असामान्य कुरा हेर्ने जाँच । माथि उल्लेख गरिएकामध्ये यो सबभन्दा जटिल परीक्षण भए पनि, प्रोफेसर प्रकाश सायमीले गर्दा म निश्चिन्तै हुन्थेँ बिरामीको सम्भावित खतरापूर्ण स्वास्थ्यस्थितिप्रति ! कस्ता बिरामीको ब्रोङ्कोस्कोपी गर्न हुँदैन भन्ने नीति–नियमलाई कडाइसाथ पछयाउँथे उनी ! सामान्य मानिसको रगतमा अक्सिजन स्याचुरेसन ९८–१०० प्रतिशत हुन्छ । ९० प्रतिशतभन्दा कम भएको मानिसको ब्रोङ्कोस्कोपी गर्न हुँदैन किनकि, ब्रोङ्कोस्कोपी गरिरहँदा बिरामीलाई नाकबाट अटुट अक्सिजन दिइरहे पनि सानै आयतन र लम्बाइको ब्रोङ्कोस्कोप छिराइएको श्वासनलीमा अवरोध त आउँछ नै ! पहिलेदेखि नै स्याँस्याँ गरिरहेका बिरामीमा यो जोखिम झन् उच्च हुन्छ । मेरो टाउको दुख्न थाल्थ्यो त्यो बेला, जब एकअर्का फिजिसियन/प्रोफेसर ब्रोङ्कोस्कोपी गर्न आउँथे ! उनी सिकारु थिए । डाक्टर प्रकाश सायमीले ब्रोङ्कोस्कोपी गरेको दुई/तीन पटक हेरेपछि, भुइँफुट्टा बन्ने अभियानमा लागिपरेका थिए । ८० प्रतिशत अक्सिजन स्याचुरेसन भएको दमको बिरामीको पनि ‘लु गरम् !’ भन्दै अघि सर्थे ।

मैले ‘नाइँ’, ‘हुँदैन’ भन्थेँ । तर, इन्डोस्कोपी शाखाका इन्चार्ज, सिनियर हेल्थ असिस्टेन्ट जयकरणप्रसाद चौधरी दाजु केही नबोली बसिरहन्थे । बिसौँ वर्षको कामको अनुभवले खारिएका उनले, माथि चर्चा गरिएका परीक्षणहरू गर्न कति डाक्टरलाई सिकाए भनिसाध्य र गनिसाध्य छैन तर बाराका यी सोझासीधा थारू दाजुले ‘नाइँ’ भन्न हतपती सकेनन् ।

इन्डोस्कोपी विभागमा बिरामीको थामिनसक्नु चाप देखेर, प्रकाश सायमी सर फुर्सदमा हामीलाई जापानमा आफू तालिमे डाक्टर हुँदाका किस्सा सुनाउँथे, ‘जापानका अस्पतालमा, एक दिनमा २ जनाभन्दा बढी बिरामीको यस्ता जाँच गरिँदैन, इमर्जेन्सीका लागि छुट्टै व्यवस्था छ । यी जाँचहरू गरिने बिरामीलाई दुई दिनअघि नै अस्पताल भर्ना गरिन्छ र जाँच सकेर पनि दुई दिन अस्पतालमा राखेर घर फर्काइन्छ । परीक्षणको दौरान बिरामीलाई केही थाहा नहुने बनाइन्छ । आकस्मिक रूपमा चाहिने औषधिदेखि एनेस्थेसियाको डाक्टरलगायत पुग्दो दक्ष जनशक्ति हुन्छ । बिरामीको सुविधामा कुनै सम्झौता गरिन्न त्यहाँ र दैनिक दुई बिरामीलाई राम्रो हेरचाहसहित स्वास्थ्य सेवा दिनु जापानजस्तो विकसित मुलुकमा खासै अचम्मको कुरा पनि हैन ...’
‘पाँच/छ जनाको इन्डोस्कोपी मात्र गर्ने’ भनेर अगावै समय दिएकामा, थप्दैथप्दै दिनको लगभग १५ जना पुग्ने र ईआरसीपी ‘दिनको दुई जनाभन्दा गर्दै नगर्ने है !’ भनेकामा ५ देखि ७ जनासम्मको गर्न पर्ने हाम्रो सन्दर्भमा जापानका कुरा आकाशे फल हो तर पनि हामीलाई तिलस्मी बखानजस्तो चखिला लाग्थे डाक्टर सायमीका कुरा !

खै ! अहिलेचाहिँ इन्डोस्कोपी विभागले अग्रगामी छलाङ लगायो कि कुन्नि ! आफूले त्यो विभाग छाडेपछि सोबारे चाख र चासो पनि रहेन ।
आफ्ना कुख्यात अम्मलबारे लेख्दालेख्दै, युट्युब भिडियोमा दाँत सफा गरेको दृश्यले इन्डोस्कोपी विभागका बिरामीका दुर्दशा सम्झाएर यति लेख्ने जमर्को गरेँ । प्रिय पाठक ! लेखकको जातै यस्तो भनेर कृपया बुझिदिनुहोला ।

प्रकाशित : मंसिर ८, २०७५ ०८:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ओडार सरेको छाउगोठ 

आवाज
छाउगोठ भत्काउने अभियानले धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइएकै रिसमा उनीहरू ओडारको बास बस्न बाध्य भएका छन् । 
झुमा लिम्बू

काठमाडौँ — सुदूरपश्चिमका गाउँघरतिर चलेको ‘छाउगोठ भत्काऊ अभियान’ ले सानाठूला उमेरका धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइयो तर घर पस्न पनि दिइएन । यो घडी छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किरहेका छन् भने महिनावारी भएका महिलाहरू ओडारतिर पसिरहेका छन् । गोठबाट ओडारतिर हुने यो भयातुर बसाइ–सराइ नै के आमूल परिवर्तन हो त ?


आजकलको मान्छेको औसत आयु करिब ६५ वर्ष होला । कोही कम बाँच्छन् त कोही अलि बढी । सुविधासम्पन्न ठाउँका मान्छे धेरै र अभावमा हुर्केकाहरू कम बाँच्ने तथ्य पनि छँदैछ । जति वर्ष बाँचे पनि, आफ्नो जीवनकालमा मान्छे एक्लै बाँच्दैन । बाँच्दाबाँच्दै उसले समाज पनि बनाउँछ । मान्छेले नै बनाएको समाजले नियम र चलनको अनेक घेरा बनाउन थाल्छ, त्यही घेरामा उनिएर रनभुल्ल पर्ने पनि उही मान्छे हुन्छ । समाजले बनाएको चालचलन सबै खराब हुँदैनन्, सबै राम्रा पनि हुँदैनन् । मान्छे र समाज बाँच्ने प्रक्रियाको क्रम उपक्रममा समय वा पुस्ताअनुसार चालचलन र नियम परिस्कृत पनि हुँदै जान्छन् । समय बित्दै जाँदा अनेक कारणले पुराना नयाँ मान्यताहरू बन्दै, भत्किँदै जान्छन् ।
मासिकश्राव भएको महिलालाई छाउघर वा छाउगोठ राखिने छाउपडी प्रथा पनि यस्तै एउटा मान्यता हो । नेपाली मिडियामा ‘छाउपडी’ बारम्बार दोहोरिरहने शब्द हो । विदेशी मिडियाका लागि समेत नेपालको छाउपडी ग्लामरस विषय हो । अनेक कथा र उपन्यासहरूसमेत लेखिसकिएको विषय हो यो । नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि प्राथमिकता दिएर लाखौंलाख रकम खर्चिएको क्षेत्र पनि हो— छाउपडी ।

सुदूरपश्चिमको बझाङ, मध्यपश्चिमको हुम्ला र आसपासका केही जिल्ला घुम्ने क्रममा मैले पनि यो विषयमा प्रत्यक्ष देख्ने/सुन्ने मौका पाएँ । आफ्नो कर्म क्षेत्र गीत सङ्गीतबारे सोधखोज गर्ने भए पनि, त्यो गीत सङ्गीत उठ्ने लोकमा के–कस्ता चलन छन्— त्यो मेरा लागि रुचिको विषय हुने नै भयो । यसरी डुल्ने क्रममा, वर्षौंदेखिको बहुपक्षीय चासो र सरोकार हुँदा पनि छाउपडी समस्या सुल्झिनुको साटो झन्झन् बल्झेको पो हो कि भन्ने लाग्यो मलाई ।

आजको आधुनिक मानिएको समयमा छाउघर वा छाउगोठमा बस्नु कसैका लागि पनि सुखद कुरा हुँदै होइन । घरभित्रको कोठाबाट निकालिएर बाहिर गोठमा बस्नुपर्ने जो कोहीलाई अपमानित महसुस हुँदो हो । समाजकै लागि पनि यो लज्जाको विषय हो । प्राकृतिक रक्तश्रावलाई धर्मसँग जोडेर गलत व्याख्या गरिएकाले धेरै महिलाले अनाहकमा यस्तो अपमान र कष्ट भोग्नुपरिरहेको छ ।

यस्तो चलनलाई विकृति वा पछौटेपना मानेर नेपाल सरकार र राष्ट्रिय/ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले यसका विरुद्ध विभिन्न गतिविधि चलाएको पनि धेरै भइसक्यो । पछिल्लो समय यो समस्या समाधान गर्ने भनेर ‘छाउगोठ भत्काऊ’ अभियानसमेत चलाइयो । यो अभियान निरन्तर चलिरहेकै छ ।

हो, यो अभियानको उद्देश्य आफैंमा गलत छैन । तर माथि भनिसकियो— हाम्रा संस्कार वा चालचलन एकै दिनमा बनेका होइनन् । समाजमा व्याप्त विकृत चलन फेर्नुअघि त्यसका प्रभावहरूबारे गम्भीर रूपमा सोच्नु जरुरी छ । तर, पश्चिमका विकट जिल्ला वा गाउँबस्तीमा घुमिरहँदा धेरैजसो सरोकारवालाहरूले छाउगोठ भत्काउने अभियान हचुवा र लहडको तालमा चलाएको महसुस गरेको छु मैले ।

छाउघर भत्काउ अभियानमा स्थानीय समाजसेवी र राजनीतिक अभियन्ताको भूमिका पनि उदेकलाग्दो छ । समाज र समुदाय विशेषका व्यावहारिक जटिलताबारे यिनले अलि बढी सोच्नुपर्ने हो । तर, चर्चा र भोट पाउने मोहले हो कि यिनीहरू पनि लहैलहैमा लागेर छाउपडी प्रथाको उन्मूलनको अल्पकालीन समाधानको सूत्र जपिरहेका छन् । छाउघर भत्काइएपछि महिनावारी भएका महिलाले भोग्नुपरेको थप पीडाबारे यिनीहरू थप जिम्मेवार हुनुपर्ने हो । तर, व्यवहारमा यसको ठीक उल्टो भइरहेको छ ।

छाउघर वा छाउगोठ भत्किँदैमा समाजले महिनावारी बार्न बाध्य पार्ने चलन फेर्न सहज छैन । किनकि कतिपय समुदायले यसलाई अझै अनिवार्य सामाजिक नियमका रूपमा लिएको अवस्था छ । यस्तो नियममाथि धर्म र संस्कारजन्य विश्वासले बल पुर्‍याइरहेको छ ।

हाम्रोजस्तो परम्परागत समाज जहाँ कानुन हैन धर्मको हैकम चल्छ, त्यसलाई चुनौती दिन परिपक्व निर्णयको खाँचो पर्छ । हामीकहाँ लिखित कानुन त छ तर यसको कार्यान्वयन कमजोर छ । दूर नेपाल र सुदूर नेपालका जनतामाथि राज्यको कानुनभन्दा त्यहीँको परम्परागत रीतिथितिको शासनको प्रभाव बढी छ । परम्परा र रुढीको नियन्त्रण बलियो छ । त्यहाँ ज्ञान र विज्ञानभन्दा पाप र धर्मको व्याख्याले बढी अर्थ राख्छ । प्राकृतिक र कृत्रिम कुराको भेदलाई त्यहाँ देवता वा राक्षस लागेको रूपमा बुझिन्छ ।

यस्तो बुझाइ र मान्यताले राज गरिरहेको समाजमा बाहिरी ज्ञानलाई हुबहु उतार्ने अभ्यासले सफलता पाउन सजिलो छैन । त्यहाँ त छाउपडी पाप र धर्मको विषय नभई शरीर विज्ञानको विषय हो भन्ने कुरा बुझाउने प्रयास भए पो त्यसले अर्थ राख्छ । छाउपडीजस्ता महिलालाई दु:ख दिने कुरा किन अन्त गर्नुपर्छ भन्ने नयाँ र पुराना दुवै पुस्ताबीच विमर्श चलाए पो त्यसले रूपान्तरणमा सकारात्मक प्रभाव पार्छ । पुस्तौंपुस्ताले सहस्र स्विकारेको यो प्रथालाई हटाउन पुस्तैनी प्रयासको खाँचो पर्ने देखिन्छ । नत्र त्यो समाजको जीवनशैली थप अप्ठ्यारोमा पर्ने खतरा रहन्छ ।

यी भेगका केही गाउँहरू (लिमी उपत्यका) मा अझै पनि साँझ परेपछि नयाँ मान्छे गाउँ आउँदा भूत–प्रेत आएर गाउँमा दु:ख दिन्छ भनेर बास नदिने चलन रहेछ । पश्चिम र सुदूरपश्चिममा छुवाछूत र भेदभाव धेरै भएका ठाउँमा छाउपडी समस्या बढी छ । समाजमा विद्यमान जातीय र आर्थिक विभेदको अन्त्य गर्ने अन्य पूर्वाधार तयार नभईकन छाउपडी हटाउने अभियान प्रभावकारी हुन सक्दैन । किनकि हाम्रा सामाजिक सांस्कृतिक समस्याहरू एकआपसमा जेलिएका जो छन् ।

महिला स्वास्थ्यको सबैभन्दा महत्त्वपूर्ण/संवेदनशील समय हो— महिनावारी । सहरमा बस्ने म आफू दिनमा दुई–तीन पटकसम्म प्याड फेर्छु, प्याड फेर्दैपिच्छे धुनुपर्छ । महिनावारीको बेला गाउँघरमा प्याडको सट्टा पुरानो कपडालाई साना–साना टाला बनाएर पटयाएर लगाउने चलन छ । कतिपय त त्यही टालोसमेत बनाएर लगाउन नसक्ने अवस्थामा छन् । तिनको प्राथमिक आवश्यकता के हो ? यसबारे अभियन्ता र सरोकारवालाहरूले खासै ध्यान दिएको भेटिएन ।
पश्चिमी भेगका पहाडी र हिमाली जिल्लामा पानीको अभाव साझा समस्या हो । कतिपय गाउँमा महिनावारीका बेला प्रयोग गरिने टालो धुने पानीसमेत हुँदैन । त्यो टालो फाल्यो भने अर्को महिना लगाउने टालो हुँदैन । छाउघर वा छाउगोठमा सरसफाइ र सुरक्षाको अभाव छ । चिसो लाग्ने र सर्पले डस्ने खतरा छ । अझ यस्तै दु:खमा बलात्कार र बलात्कारी मनोवृत्तिको भय झनै खतरनाक समस्या हो ।

त्यसै पनि रक्तस्रावले शरीर कमजोर भएको बेला छाउघरभित्र भुइँमा डस्नाबिना गुन्द्रीमा ५–७ दिन घाम नदेखी बस्दा कस्तो हुन्छ ? एउटा गोठ जहाँ बत्ती छैन, पानी छैन, न्यानो छैन, मान्छे भएर बाँच्नुपर्दाको आधारभूत चीजबीज छैन । कल्पना गर्नुस् त । यस्तो अभाव र समस्यामा बाँचिरहेका दिदी, बहिनी, आमा र भाउजूहरूका तत्कालीन आवश्यता सम्बोधन कसले गर्ने ? कसरी गर्ने ? छाउघरबिनै महिनाबारी बार्न कहाँ जाने ?

यसको क्रान्तिकारी उत्तर छाउप्रथा नै नमाने भइगयो भन्ने हुन सक्छ । यस्तो हुन सके त कति वेश हुन्थ्यो । तर पनि मेरो प्रश्न छ— छाउ नै नमान्ने समाज निर्माण कसरी गर्ने ? कसले गर्ने ? छाउगोठ भत्काउँदैमा छाउ बार्ने चलन रोकिएको छ त ? पक्कै छैन ।

बरु, ‘छाउगोठ भत्काऊ अभियान’ ले साना ठूला उमेरका धेरै महिलामाथि थप संकट उब्जाएको छ । गोठ भत्काइएकै रिसमा उनीहरू ओडारको बास बस्न बाध्य भएका छन् । झनै ठूलो तिरस्कार र त्रासको सिकार बनेका छन् । छाउगोठ भत्काएर अभियन्ताहरू घर फर्किन्छन् भने महिनावारी भएका महिलाहरू ओडारमा पुग्छन् । गोठबाट ओडारमा हुने यो भयातुर बसाइ–सराइ नै परिवर्तन हो त ?

परिवर्तन दुईखाले हुन्छ होला । एउटा सुधारात्मक, अर्को क्रान्तिकारी । सांस्कृतिक कुरामा सुधार ल्याउन क्रान्तिकारीजस्ता लाग्ने तर व्यावहारिक समाधानबिनाका क्षणिक गतिविधिले समस्याको सतही समाधान मात्र खोज्छ । बरु सुधारात्मक लाग्ने दीर्घकालीन सोचसहितको व्यावहारिक पहलले छाउपडी प्रथाजस्तो जरो गाढेको समस्यासँग जुध्न सघाउने हो कि !

‘अग्रगामी’ र ‘क्रान्तिकारी’ जस्तो लाग्ने छाउगोठ भत्काऊ अभियानको सतही काम देख्दा, सुन्दा म भने यही निष्कर्षमा पुगेकी छु । यो कटुसत्य बाहिर ल्याउँदा अवश्यै निन्दा र भत्र्सना सुन्नुपर्ला तर सत्य तीतो छ । म यो सहरमा ‘छाउबोध’ गर्ने युवती हुँ, दुरदराज गाउँमा ओडारमा छाउ बसिरहेका दिदीबहिनीको पीडाबोध गरेरै कथित विकासे अभियानको विरोधमा उभिएकी हुँ ।

प्रकाशित : मंसिर १, २०७५ ०९:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT