कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दसैंमा छाउघर

सन्दर्भ
दसैंको माहोल एकदमै हर्षविभोर पार्ने खालको थियो । तर, त्यही बेला गाउँघरका केही महिला चिनाजानी, आफन्त युवतीहरू भने महिनावारी बार्नैपर्ने (छाउप्रथा) को घेराबन्दीमा थिए ।
मञ्जु भट्ट

काठमाडौँ — २०७२ सालको भुइँचालोले सातो लिएपछि दसैं–तिहार उत्सवमा घर/माइत जान सकेकै थिइनँ । यसपटक आँट जुराएर बेलैमा बाटा लागें । बाटो निकै लामो थियो । काठमाडौंदेखि लम्की र लम्कीदेखि साँफेबगर, मंगलसेन हुँदै अछामको कमलबजार अनि त्यहाँबाट गैरीटाँड, सेरा पुग्दा बाटैमा ४ दिन बितेको थियो । 

जामा, फलटाँडे घर पुगेपछि भएभरको हैरानी र सास्ती भुलेझैं भयो । भैंसीको दूध हालेर बनाएको बाक्लो चियासँगै सुरु भयो बिहानी । बारीमा अम्बा र केरा पाकिरहेका थिए । आफ्नै बारीमा फलेको काक्रोमा दही हालेर बनाएको राइतोको अचार छँदै थियो ।


आफ्नै बारीको मुला, रायो, तोरीको साग, गिठा (रूखको बोक्रा) सुकाएर बनाएको धूलोको दाउन हालेर पकाएको सेलरोटी, खीर, मासु र आफ्नै ओखलमा कुटेको धानबाट पकाएको मगमग बास्ना आउने ताजा चामलको भात खाँदा मनभरि चैन छाएको थियो, बेचैनी बेपत्ता थियो । आफ्नै घरमा फलेको गहुँ, मकै, कोदो, फापर जे खाए पनि अति नै स्वादिष्ट थियो ।


मूलको पानी जति खाए पनि अघाइन्नथ्यो । चार जना दाजुभाइको परिवार, एउटा बहिनी, भान्जा–भान्जी, आमाबुवा र पण्डित बाजे गरेर जम्मा २८ जना भएका थियौं । दुई जना भाइ नवरथा बस्नुभएको थियो । घरमा चण्डी पाठ लगाएकाले बेलुकी पण्डित बाजे पनि हाम्रै घरमा सुत्नुहुन्थ्यो । अझै सात जना बहिनीहरू बिहे भइसकेकाले आउन पाएका थिएनन् ।

दसैंको माहोल एकदमै हर्षविभोर पार्ने खालको थियो । घर, परिवार, आफन्त र चाडपर्व, उत्सवको अर्थ गाउँघर पुगेपछि मात्रै बुझ्न सकिन्छ भन्ने लागेको थियो । तर, त्यही बेला गाउँघरका केही महिला चिनाजानी, आफन्त युवतीहरू भने महिनावारी बार्नैपर्ने (छाउप्रथा) को घेराबन्दीमा थिए ।


त्यो थाहा पाएपछि मनमा बढेको बेचैनी र सकस भने असाध्यको रहयो । अझ दसैंमा महिनावारी भएका महिलालाई सात दिनसम्म घरमा बस्न निषेध गरिएको थियो । उनीहरू छाउघरमा बस्न बाध्य थिए ।

प्रकाशित : मंसिर १, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

छाउ छल्दै अछाम

मञ्जु भट्ट

काठमाडौँ — १५ वर्षपछि घर अछाममा दसैं मनाउन छोराछोरीसहित श्रीमान् र म गरेर चार जना घर जाँदै थियौं । घर जाने भनेर पैसाको जोहो, किनमेल भएपछि मन फुरुंग थियो । अर्कोतिर, आफ्नो र छोरीको महिनावारीको समय सम्झेर भित्रभित्रै डर लाग्थ्यो । मैले १५ वटा दसैं महिनावारीको डर र सुत्केरीकै कारण काठमाडौंमै गुजारेकी थिएँ । धेरैपटक गाली खाएँ ।

छोरी दसैंको केही दिनअगाडि मात्र महिनावारी भएर जोगिइन् । मैले भने महिनावारीका कारण हुने शारीरिक तथा मानसिक पीडा आकलन गरेर त्यसबाट उम्किने सजिलो उपाय खोजेँ । काठमाडांैमै महिनावारी पर सार्ने फेमिट्रोन (नोरेथिस्टेरोन) औषधि किनेँ । दिनको एउटा चक्कीका हिसाबले एक सातासम्म खाएँ । यो औषधिबाट महिनावारी गडबडी, पेट दुख्ने, मोटोपन, दुब्लोपन, निद्रा तथा आँखाको ज्योतिमा समस्या हुन सक्ने असरबारे औषधि पसलेले सचेत गराएकै थिए । मलाई भने त्योभन्दा ठूलो डर छाउघरमा सर्प, किराफटयांग्रा, जंगली जनावरले सिकार गर्लान् भन्नेमा थियो ।

महिनावारी हुँदा अरू बेला घरबाहिरकै एउटा कुनामा लुगाले घेरेर सुत्न पाइन्छ । केही भइहाल्यो भने घरभित्रका मान्छेले सजिलै थाहा पाउँछन् । दसैंमा चण्डीपाठ गरिने भएकाले महिनावारी भएकी महिलाले घर छुनै हुँदैन भनिन्छ । हाम्रो घरमा पाल टाँगेर घरभन्दा अलि पर गरामा छाउ भएका बेला बस्न अस्थायी टहरा बनाइएको थियो । जाडो र गर्मीका लागि बस्ने छुट्टाछुट्टै ठाउँमा हाम्रा घर छन् ।

जाडाका बेला अर्थात् मंसिरदेखि चैतसम्म महिनावारी हुँदा सुत्न ढुंगाले बनाएको र खरले छाएको छुट्टै छाउघर छ । गर्मीका बेला भने महिनावारी हुँदा अस्थायी टहरामा दिनरात कटाउनुपर्छ । दसैंका बेला महिनावारी भएकाले नौमहिने छोरीसहित देवरानी अस्थायी टहरामा सुतिन् । भाउजूलाई एक्लै बाहिर सुत्दा डर लाग्ने भएकाले नन्दले पाँच दिन पालो दिनुभयो । पाँचौं दिनमा आफैं महिनावारी भएपछि निरन्तर पालभित्र सुत्नुपर्‍यो ।

दिउँसो घाम लाग्थ्यो, खासै समस्या थिएन । राति शीत झथ्र्यो । भुईंबाट पनि चिसो आउँथ्यो । सर्प, किराफटयांग्राको डर छँदै थियो । देवरानी नौमहिने छोरीसहित अस्थायी टहरामा सुतेको देख्दा सहरबाट दसैं मनाउन गाउँ पुगेका जसका पनि अँखा रसाउँथे । चोख्याउने भनेर बिहानै नुहाउँदा चिसो लाग्थ्यो । एकचोटि बिरामी भएर राम्रोसँग सन्चो हुन नपाउँदै बाहिर सुत्ने अर्को पालो भइसक्थ्यो । टीकाका दिन गाउँभरिबाट आएका मान्छेले हाम्रा ९५ वर्षका ससुराका हातबाट टीका थापिरहेको मेरी नन्दले पल्लो छेउबाट हेरिरहँदा मलाई रुन मन लागेको थियो ।

दसैंका बेला नौरथाको चण्डीपाठ र पूजाआजा गर्नुपर्ने भएकाले नियम कडा बनाइएका रहेछन् । अरू बेला महिनावारी हुँदा पाँच दिनमा घर आउन पाए पनि दसैं तथा अरू चाडपर्वमा भने सात दिनमा मात्र घरमा प्रवेश पाइन्छ । त्यतिन्जेल घरको खला (आँगन) सम्म पनि पाइला राख्न पाइँदैन । दसैंमा काटेको खसीको मासु महिनावारीको सात दिन नभई खान पाइँदैन । अरूले भने दिनको तीनपल्टै मासु खाएर बिताए ।

महिनावारी भएकी महिलाले सुत्न ओछयाएको पराल गाईबस्तु कसैलाई पनि खान दिइँदैन । खान दिए पाप लाग्छ भनिन्छ । गोरुले खायो भने दाँत झर्छन् रे, गाईभैंसीले खाँदा दूध दिँदैनन् रे † ओछयाइएको पराल जलाइन्छ वा खोलामा कसैले नछुने ठाउँमा फालिन्छ । तातो बनाउन धेरै पराल ओछयायो भने वर्षैभरमा धेरै पराल नष्ट हुन्छ । थोरै ओछयाए जमिनको चिसोले बिरामी बनाउँछ । बाक्लो ओढ्ने ओछयाउने लुगा भए बोकेर टाढा खोलामा धुनुपर्छ । पानी पर्याप्त नहुने भएकाले परालमाथि पातलो लुगा ओछयाउने र ओढ्ने गरिन्छ ।

महिनावारीका बेला दूध, दही, मही, घिउजस्ता शरीरलाई नभई नहुने पौष्टिक कुरा खान बन्देज लगाइन्छ । काम भने घाँस, दाउरा गर्ने, खेत खन्ने, बालीनाली लगाउनेलगायत गाह्रो, अप्ठयारो सबै गर्नुपर्छ ।
महिनावारी हुँदा सफासुग्घर भएर घरमै बस्न पाउनुपर्ने हो । महिनावारी भएकी महिलाले छुनै नहुने, पोसिलो खानै नहुनेजस्ता कुरा सिधै महिला हिंसा हुन् । किन महिनावारी बार्नुपर्छ भन्ने प्रश्नको जवाफ कसैसँग छैन । जसले पनि परम्परादेखिको चलन मात्रै भन्ने गर्छन् ।

जसरी सानैदेखि राम्रो मलजल गरेर हुर्कायो भने बिरुवा स्वस्थ हुन्छ र त्यसले राम्रो फल दिन्छ । त्यो बिरुवालाई सानैदेखि राम्रोसँग हुर्काइएन भने अस्वस्थ बन्छ । त्यसैगरी एउटा स्त्रीको शारीरिक तथा मानसिक विकास सानैदेखि राम्ररी भयो भने ऊ स्वस्थ बन्छे, स्वस्थ सन्तान जन्माउन सक्छे तर यो कसैले बुझ्दैनन् वा बुझ पचाएर बस्छन् । चाडवाडबाहेकको समयमा महिनावारी हुँदा घरकै बाहिर कुनामा लुगाले घेरेर सुत्ने गरिन्छ । बिहान अरूभन्दा अगाडि उठेर लिपपोत गरी गहुँत छर्नुपर्छ ।

आफूले सुत्दा प्रयोग गर्ने लुगा पोको पारेर कसैले नछुने ठाउँमा लगेर राख्नुपर्छ । यो काम पनि झन्झटिलो भएकाले महिलाहरू छाउघरमै बस्न रुचाउँछन् । घरबाहिर कुनामा सुत्दा एकचोटि राति सर्प लुगाभित्र घुसेको र अर्कोपल्ट गालामा सर्प हिँडेको मेरी नन्दले सुनाउनुभयो । ‘बाँचे बाँचिन्छ, मरे मरिन्छ भन्दै बस्ने हो छाउघरमा,’ उहाँले भन्नुभयो ।

छुट्टै छाउघरले अस्थायी टहराको तुलनामा घामपानीबाट जोगाउँछ । सर्प, बिच्छी तथा अरू विषालु किराको डर हुन्छ । बसाइँसराइले गाउँ पातलिँदै छ । छाउघर प्राय: सुनसान हुन्छन् । छाउघर वरिपरि घाँस, झारपात फाँडिएको हँुदैन । छाउघरमा सानो ढोका हुन्छ, झ्याल हुँदैन । आगलागीको जोखिम धेरै हुन्छ । दसैंमा घरमा चण्डीपाठ पढ्दा नौ दिनसम्म प्रथम शैलपुत्रीदेखि अन्तिम सिद्धिदात्री नवदुर्गाको पूजा गरिएको थियो । नौ दिनसम्म नौ देवीमध्ये कोही न कोही त महिनावारी भएकै होलिन् । कि देवी भएर कहिल्यै महिनावारी हुन्नन् ? घरमा नौ दिनसम्म नवदुर्गाको पूजा भइरहँदा घरका छोरीबुहारी घरबाहिर साह्रै कष्टसँग सुतेको देखेर पनि कसैको मनमा काली, भगवती, चण्डी, दुर्गा आदि देवीका रूप यी हाम्रै आमा, छोरीबुहारी हुन् भन्ने चेत आएन ।

हामी सहरबाट घरमा गएका केही महिलाले छाउप्रथाविरुद्ध आवाज नउठाएका होइनौं । घरमा कोही बिरामी परे, गाईबस्तु मरे वा अन्य नराम्रा घटना भए भने महिनावारी नबारेकी महिलालाई दोष थोपरिन्छ । कसैले महिनावारी नबारेको धामीझाँक्रीले थाहा पाए भने कामेर नाम किटान गर्दै अब उसको घरमा अनिष्ट हुन्छ भनेर अरूलाई पनि डर देखाइन्छ । महिनावारी नबारे देवी रिसाउँछिन् र उनको वाहन बाघ बाख्रा खान घरमा पस्छ भन्ने विश्वास छ ।

पुरानो पुस्ताले मान्दै आएको यो कुप्रथा नयाँ पुस्ताले बिस्तारै छाड्दै जानुपर्ने हो तर केही शिक्षित युवकयुवती राम्रो संस्कार भन्दै जोगाउन लागिपरेको पनि देखियो । कहिले सबै मान्छे शिक्षित होलान्, उनीहरूमा चेतना आउला र हाम्रा चेलीबेटी अकालमै मृत्युको मुखबाट जोगिएलान् भनेर कुरिबस्नुबाहेक उपाय देखिएको छैन ।

नियम, कानुन बने पनि, सरकारी, गैरसरकारी संस्था तथा महिला समूहले छाउघर उन्मूलनसम्बन्धी अभियान चलाए पनि हाम्रो गाउँमा, घरमा एक जना पनि पुगेका छैनन् । सुदूरपश्चिमका धेरैजसो जिल्लामा यो अभियान बालुवामा पानी हालेसरह छ । छाउप्रथालाई हटाउन सकिँदैन भने कम्तीमा प्रत्येक गाउँटोलमा सम्बन्धित स्थानीय सरकारले सुरक्षित छाउघर बनाइदियो भने चेलीबेटीको अकालमा ज्यान जानबाट जोगिन्थ्यो कि !

लेखक काठमाडौं, बौद्धस्थित अरुणिमा सेकेन्डरी स्कुलकी शिक्षक हुन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×