समीक्षक समस्या

फिल्म
किरण विक

काठमाडौँ — एउटा पत्रकार नै समीक्षक हँुदाको सबैभन्दा चरम दु:ख के हो भने शुक्रबार ८ बजे रिलिज भएको फिल्मको ११ बजे समीक्षा लेख्न हतार गर्ने । यो हतारले अर्थभन्दा बढी अनर्थ दिएको छ समीक्षामा ।

समीक्षक समस्या

सप्रियो सप्रियो’ भन्दाभन्दै नेपाली फिल्म ‘फेरि बिग्रन थाल्यो’ भनेर सरोकारवालाको चिन्ता बाहिर आउन थालेको छ । नयाँ धारले लय समात्न नसकेको र पुरानो धारले आफूलाई ‘अपग्रेड’ गर्न नसकेको दोहोरो आरोप यहाँ बाझिएर बसेको अवस्था छ । एक दर्शकको रूपमा भन्नुपर्दा म आफूलाई राजेश हमालबाट वाक्क हुन २० वर्ष लाग्यो भने दयाहाङ राईबाट वाक्क हुन जम्मा ५ वर्ष लाग्यो । फिल्मसम्बन्धी समीक्षाले पनि प्रिन्ट, अनलाइन, टीभी र रेडियो माध्यममा राम्रै स्पेस ओगटेको छ । तर, ‘फिल्म राम्रो छ, नराम्रो छ अथवा यस्तो छ, उस्तो छ’ भनेर विवेचना गर्ने सीमित ज्ञानको समीक्षालाई के समीक्षा भन्ने ? बहस जरुरी देखिएको छ ।


नेपालमा प्रचलित फिल्मी समीक्षाको ट्रेन्ड हेर्दा फिल्मको चर्को समाजशास्त्रीय चर्चा मात्र यहाँ हुने गरेजस्तो लाग्छ । फिल्मले अवश्य समाजको चित्र उतारेको हुन्छ तर त्यो हुबहु भने हुँदैन । फिल्मको आफ्नै आयाम हुन्छ । यसको आफ्नै व्यापकता, सीमितता र सम्भाव्यता हुन्छ । फिल्म धेरै अर्थमा मनोरञ्जन हो । ठूलो ज्ञानगुनका कुरा लिन मानिस सिनेमा जाँदैन । सिनेमाको दोस्रो उद्देश्य हो— सन्देश बाँड्नु । मनोरञ्जनसँगै सन्देश पनि जोडिएर जान सक्छ । (अथवा सक्दैन ।) प्रायोजित उद्देश्यबाहेक फिल्मबाट सन्देश प्रवाह गर्नु एक प्रकारको ‘बाई प्रोडक्ट’ हो । फिल्म एक प्रकारले ‘फेन्टासी प्रोडक्ट’ हो, यसमा धेरै स्वतन्त्रता हुन्छ । कतिपय समीक्षकले नबुझेर समाजशास्त्र मिलेन भन्ने गरेका छन् । कतिपयले त्यहाँ त्यो जात नै छैन, त्यो भाषा त्यहाँ बोलिन्न भनेर दाबी गर्छन् । कतिसम्म भने फिल्ममा राखिएको वडा नम्बर मिलेन भन्नेसम्म लेखेको पनि देखिन्छ ।


बुझ्नुपर्ने कुरा के हो भने फिल्म ‘डकुमेन्ट्री’ होइन । फिल्ममा शतप्रतिशत समाजशास्त्र मिल्नु पर्दैन । बढी समाजशास्त्रीय भएरै हो, नेपाली समीक्षकले ‘राइज अफ द एप’, ‘ब्याट्सम्यान’, ‘हल्क’, ‘स्पाइडर म्यान’ जस्ता फिल्मको समीक्षा गर्ने गरेका छैनन् । अथवा यी फिल्मलाई फिल्म नै मान्दैनन् । कतिपय फिल्म समीक्षकले कथा र पटकथाको फरक नबुझेका कारण समीक्षामा कठिनाइ आइपरेको बुझ्न सकिन्छ । एउटा उदाहरण हो— आमीर खानको पीके । पीकेको विषय हल्का खालको थियो तर फिल्म असाध्यै राम्रो बन्यो कसरी त ? कारण थियो— पटकथा । कथा लामो छ वा छोटो छ ? राम्रो छ कि नराम्रो छ ? भन्ने कुरा एउटा राम्रो फिल्म मेकरका लागि त्यति अर्थको कुरा होइन । फिल्म राम्रो कथामा होइन, राम्रो पटकथामा बन्छ । कतिपय नेपाली समीक्षकले कथा नै राम्रो छैन भनेर दुत्कारिरहेका हुन्छन् । खासमा पटकथा नै फिल्म हो । हामीले स्क्रिनमा २ घन्टा हेर्ने चीज कथा नभएर पटकथा हो ।


फिल्म समीक्षकले बिल्कुल नबुझेको र बुझ्न नचाहेको पक्षचाहिँ ‘टेक्निकल’ हो । लाइट, सिनेम्याटोग्राफी, एडिटिङजस्ता चीजको कथामै पनि अर्थ र मूल्य हुन्छ । जस्तो कि ‘हरि’ भन्ने फिल्ममा डिरेक्टर लो–लाइटमा खेलेका थिए तर त्यसको समीक्षामा कतिपय समीक्षकले ‘निर्देशकले लाइट दिन सकेन, लाइट्सम्यानको कमजोरी देखियो’ जस्ता अबुझ टिप्पणी गरेको पाइयो । यस्तै, ‘एडिटिङ’ आफैंमा एक कला हो । सुटमा बिग्रेको फिल्मलाई बचाउने काम हो—एडिटिङको । हामीले राम्रो मानेको कतिपय फिल्म डिरेक्टरले नभई फिल्म एडिटरले त्यतिको बनाइदिएको हुन्छ । कुनै पनि समीक्षकले एडिटरलाई क्रेडिट दिएर समीक्षा लेखेको पाइँदैन । समीक्षकले लाइभ साउन्ड, सिंक साउन्डको अर्थ पनि बुझेको हुनुपर्छ । सिनेम्याटोग्राफीको आधारभूत नियम बुझेमा मात्रै त्यहाँ प्रयोग भएको सटको अर्थ बुझिन्छ ।


समीक्षकले ‘डिरेक्टर इन्टेन्सन’ पनि बुझेकै हुनुपर्छ । डिरेक्टरले के देखाउन खोजेको हो, के भन्न खोजेको हो भन्ने पनि केलाउन सक्नुपर्छ । आर्ट ड्रामाका डिरेक्टरले टुक्राटुक्रामा अथवा सब–टेक्स्ट कथा भनिरहेका हुन्छन् । मूलत: अलमलमा कुनै पनि डिरेक्टरले फिल्म बनाउँदैन । डिरेक्टरको कमजोरी त्यसले मात्र भन्न सक्छ, जसले ‘डिरेक्टर इन्टेन्सन’ समात्न सक्छ । कहिलेकाहीं ओपन– इन्डिङलाई समीक्षकहरू कथाले बाटो बिराएको वा डिरेक्टर क्लियर नभएको जस्ता ‘क्लिसे लाइन’ लेख्दिन्छन् ।


नेपाली फिल्म समीक्षकको अर्को समस्या हो— पुस्तक समीक्षकले नै फिल्म समीक्षा गर्नु । पुस्तक र फिल्म दुवै बिल्कुल फरक माध्यम हुन् । धेरैजसो फिल्म समीक्षा पुस्तक समीक्षाको क्राफ्टमा आएजस्तो लाग्छ । पुस्तकभन्दा फिल्ममा अनेक प्रयोग हुन्छ, फिल्ममा कथा भन्ने तरिका धेरै छ ।


आफ्नो फिल्म फ्लप भयो भने डिरेक्टरले ‘दर्शकले बुझेनन् वा मेरो फिल्म बुझ्ने स्तरको दर्शक नै भएनन्’ भन्नुचाहिँ फ्रस्टेसन पोखेको हो । दर्शकको आ–आफ्नो रुचि हुन्छ । कसैको चेतनास्तरलाई गाली गर्नुको अर्थ रहन्न । फिल्मको स्तरअनुसार दर्शक भएनन् भन्नु नेपाली समीक्षकको अर्को एक समस्या हो ।


यदि समीक्षा गर्ने हो भने समीक्षकले कम्तीमा २ पटक फिल्म हेर्नुपर्छ । पहिले दर्शकका रूपमा र त्यसपछि समीक्षकका रूपमा । पहिला समीक्षक नै निरपेक्ष दर्शक हुनुपर्‍यो । एक पटक मात्र हेरेर लेखिने कुरा ‘लागेको कुरा’ मात्रै हो । सिनेमा मेकिङ एक प्रकारको इन्जिनियरिङ पनि हो, धेरै टेक्निकल चीज हो— सिनेमा मेकिङ ।


फिल्मको समिक्षा गर्दा फिल्मभित्र जे छ, त्यसको मात्र समीक्षा हुनुपर्छ । फिल्मभित्र राखिएकै कुराहरूको अर्थ खोज्नुपर्छ । के–के थप्नुपथ्र्यो, के–के पुगेन भन्ने कुरा अनन्त हुन्छ । फिल्म समीक्षकले फिल्मी ‘टर्मिनोलोजी’ पनि जानेको जानेको हुनुपर्छ । एउटा पत्रकार नै समीक्षक हुँदाको सबैभन्दा चरम दु:ख के हो भने शुक्रबार ८ बजे रिलिज भएको फिल्मको ११ बजे समीक्षा लेख्न हतार गर्ने । यो हतारले अर्थभन्दा बढी अनर्थ दिएको छ समीक्षामा ।

प्रकाशित : मंसिर १, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?