सम्झनाको गल्लीमा

फोटो–कथा
विकास रौनियार

काठमाडौँ — नेपालमा थोरै मात्र त्यस्ता कार्यक्रम हुन्छन्, जुन अन्तर्राष्ट्रिय स्तरको हुन्छ । नोभेम्बर १६ (शनिबार) मात्रै सम्पन्न भएको ‘फोटो काठमाडौं’ अन्तर्राष्ट्रिय तस्बिर महोत्सवको तेस्रो संस्करणले कार्यक्रम र आयोजक दुवैको मान राखेको छ ।

सम्झनाको गल्लीमा

एक महिनाभन्दा लामो महोत्सवले असंख्य कलाप्रेमीलाई पाटन आसपासमा भेला गरायो । ‘द पब्लिक लाइफ अफ ओमन : अ फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ नाम दिएर गरिएको फोटो प्रस्तुति आफैंमा इतिहासको एउटा कठघराझैं बनेको थियो । यी फोटो सामग्रीको संकलन दिवसराजा केसी र नयनतारा गुरुङ कक्षपतिले गरेका थिए । एउटै विषयमा केन्द्रित रहेर पाटनका विभिन सार्वजनिक स्थलमा दुर्लभ ऐतिहासिक तस्बिरहरूको प्रदर्शनी गरिएको थियो ।


अर्को उल्लेख्य प्रदर्शन बुनु ढुंगानाको ‘कन्फ्रन्टेसन’ थियो जसमा निकै साहसिक रूपमा समाजमा महिलाको सम्बन्धबारे प्रस्तुति एवं प्रदर्शन गरिएको थियो । स्विस फोटोग्रफेर लरेन्स रस्तीको इरानको समलिंगी प्रस्तुतिले लुकेर बसेको समाजको चित्रण गरेको थियो । छाया सेन्टर, ठमेलमा नेपालका वरिष्ठ फोटोग्राफर श्रीधरलाल मानन्धरको ५० वर्षमा संकलित एतिहासिक तस्बिरहरूले त्यो बेलाको राजनीति र समाजको बारेमा गहिरो चित्रण गरेको थियो । अर्को निकै नै रुचाइएको प्रदर्शनी ‘फ्रिक स्ट्रिट’ झोंछेमा गरिएको हिप्पीहरूको तस्बिरहरू थियो जसले सन् ६० र ७० को दशकमा हिप्पीहरूको आगमन र त्यसबेलाको काठमाडौंको दृश्य समेटिएको थियो ।


महोत्सवमा धेरै शिक्षामूलक र जानकारी दिने खालको अरू धेरै कार्यक्रम राखिएका थिए । वर्कसप, अन्तरक्रियालगायत धेरै महत्त्वपूर्ण कार्यक्रमले महोत्सवको उचाइ धेरै नै माथि पुर्‍याएको थियो । यसपालि बंगलादेश, पाकिस्तान, इन्डिया, इन्डोनेसिया, साउथ अफ्रिका, संयुक्त राज्य अमेरिकालगायतबाट करिब १७० सहभागी विभिन्न रूपले सहभागी भएका थिए । यस पटक महोत्सवमा लोकप्रिय फेसन डिजाइनर प्रबल गुरुङको उपस्थितिले खासगरी युवालाई धेरै नै उत्साहित बनाएको थियो । र, अर्को उल्लेखनीय काम फोटो काठमाडौंद्वारा प्रख्यात बंगलादेशी फोटोग्राफर शहिदुल आलम, जो अहिले बंगलादेशमा आफ्नो स्वतन्त्रतापूर्वक निर्वाह गरेको पत्रकारिताको कारण हिरासतमा छन्, उनलाई ‘अवार्ड अफ एक्सेलेन्स’ द्वारा सम्मानित गरिनु पनि थियो ।

(फोटोग्राफर शहिदुल आलमलाई बिहीबार मात्रै ढाका सर्वोच्च अदालतले रिहा गरेको छ ।)





















प्रकाशित : मंसिर १, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?