कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चुप : कति लागिरहने ? 

समीक्षा
डा. अरुणा उप्रेती

काठमाडौँ — ‘चुप’ किताबमा कसरी महिलामा भारतमा संस्कृतिको नाममा चुप लाग्न सिकाइन्छ भनेर ठाउँठाउँमा विभिन्न महिला र युवतीको भनाइ राखिएको छ । यौन र यौनिकताका बारेमा कुनै किशोरीले प्रश्न गरिन् भने ‘यो त विवाहपछि थाहा भइहाल्छ’ भनिन्छ ।

चुप : कति लागिरहने ? 

कुनै राम्रो कविता, कथा, उपन्यास पढेपछि म मेरा छोरीहरू र साथीभाइसँग ‘सेयर’ गरिहाल्छु । आफूले पाएको आनन्द अरूले पनि पाउन्, केही सिकून्, मस्तिष्क मन्थन गरून् भन्ने म चाहन्छु ।


यसपाला त्यस्तै एउटा किताब भारतीय अधिकारकर्मी कमला भासिनका माध्यमबाट प्राप्त भयो जसको नाम नै ‘चुप’ रहेछ । अंग्रेजी भाषमा लेखिएको ‘चु्प’ (नेपालीमा मौन) अंग्रेजी भाषामै समाहित भइसकेको रहेछ । लामो समय विश्व बैंकलगायतका सस्थामा काम गरेर विज्ञ चिनारी बनाएकी दीपा नारायनले ‘चुप’ पुस्तक भने ६ सय जना पुरुष–महिलासँगको अन्तर्वार्ता आधारित भएर लेखेकी रहिछन् ।


यो किताब कथा/कविता त होइन, तर पढ्दै जाँदा त्यस्तै आनन्द दिन्छ । भारतीय महिलाहरूले भोगिराखेको कुरा पढ्दा नेपाली समाज पनि त त्यसैबाट आक्रान्त छ भन्ने अनुभव हुन्छ । किताबको अंग्रेजी भाषा न सजिलो छ, न क्लिष्ट । सामान्य मानिसका विचार, भावना, भोगाइ आदिको सेरोफेरोमा लेखिएको हुनाले पढ्दा लाग्छ, ‘ए, यो त मैले भोगेको हो नि । ए, मैले त सुनेको घटनाजस्तै रहेछ नि ।’


थाहा भएकै कुरालाई लेखनीमा उतार्न कति गाह्रो हुन्छ भन्ने कुरा लेखकले मात्र बुझ्न सक्छ । दीपाले पनि किताबको सुरुआतमा लेखेकी छन्, ‘१७ वटा किताब लेखिसकेपछि, अब त किताब लेख्ने छैन भन्ने अठोट गरिसकेकी थिएँ । तर, भारतमा भएको निर्भया काण्ड, त्योसँग जोडिएको राजनीति, जनताबाट उठेको आवाज र पितृसत्तात्मक मानसिकताले बलियोसँग जरो गाडेको अनुभवले मलाई फेरि यो किताब लेख्न विवश गरायो ।’


उनी लेख्छिन्, ‘हामी सस्कृंतिका नै उपज हौ । जन्मिँदा सबै नाङ्गै जन्मिन्छौ । तर, हाम्रो संस्कृतिले हामीलाई भारतीय, श्रीलंकन, अंग्रेज, अमेरिकी बनाउँछ । कुन परिवारमा हुर्किन्छौं, जन्मिन्छौं, कस्तो छिमेकी हुन्छ भन्ने कुराले हाम्रो मूल्य र मान्यता बनाउँछ । यो गर, यो नगर भन्ने कुरा सानैदेखि सिकिन्छ, मनमा राखिन्छ । थाहा नपाईकनै यस्ता मान्यता हाम्रो शरीर, मन, नैतिकता र आत्मासम्म घुस्छन् । अनि जीवन चलाउने हाम्रो धरातल बन्छन् ।’


यो पढेपछि मलाई लाग्यो— नेपाली समाजमा पनि त एकै तरिकाले जन्मिन्छौं । अनि बन्छौं— बाहुन, गुरुङ, नेवार, कार्की, डोम, चमार आदि । जुन समाजमा जन्मिन्छौं, त्यही मूल्य र मान्यता आत्मसात् गर्छांै । फिल्ममा जस्तो कुनै बाह्मण परिवारमा जन्मेएको शिशु साटिएर गुरुङ जातिको अभिभावकले लालनपालन गरे भने उनकै मूल्यमान्यता शिशुले आत्मसात् गर्छ । उसको शरीरको कोषमा रहेको ब्राह्मण मूल्य र मान्यता लिएर हुर्किन्न ।


दीपाले बेंगलुरु, अहमदाबाद, मुम्बईका प्रसिद्घ कलेजमा प्रश्न सोधिन्, ‘तपाईंको विचारमा असल महिला अथवा असल पुरुष को हो ?’


यो जिज्ञासामा महिलाहरूको उत्तरचाहिं एकै प्रकारको थियो, अचम्मलाग्दो । नेपालमा पनि असल महिला को हो भनेर सोधेमा उत्तर आउन सक्छ—घरको सबै काम गर्ने, मसिनो बोल्ने, अधिकार नखोज्ने, लोग्नेको भलाइका खातिर लागि व्रतपूजा गर्ने महिला नै असल हो ।


२०१३ फेब्रुवरीमा नयाँ दिल्लीको उच्च अदालतले एक बालकको हत्या गरेको अभियोगमा एउटा हत्यारालाई फाँसी दिने निर्णय गर्‍यो । निर्णयमा भनिएको थियो, ‘कसैको छोरालाई मार्नु, छोरीलाई मार्नुभन्दा ठूलो अपराध हो ।’

टाइम्स अफ इन्डियामा छापिएको यो सानो समाचारमा न्यायाधीशलाई उद्धृत गर्दै भनिएको थियो, ‘चार छोरीपछि जन्मेको परिवारको एक मात्र छोरोलाई मार्ने व्यक्तिले ती आमाबाबुको मनमा कति पीडा दिएको होला ? त्यस्तो बालक जसले वंशको नामअगाडि बढाउँथो । बुढ्यौलीमा उनीहरूको रक्षा गथ्र्यो, त्यस्तो बालकलाई मार्नु अमानवीय हो ।’

‘यदि छोरीको हत्या भएको भए न्यायाधीशले यस्तो लेख्ने थिए होलान त ? मानांै, छोरीको हत्या गर्नुचाहिँ खास केही होइन,’ लेखक दीपा प्रश्न गर्छिन् । त्यती बेला भारतमा निर्भया काण्डका बारेमा पनि बहस चलिरहेको थियो । तर, निर्भयाले वंश बढाउने कुरा कुनै पनि न्यायाधीशले गरेनन् ।


दीपा लेख्छिन्, ‘महिला र पुरुषसँग धेरै घन्टासम्म अन्तर्वार्ता गर्दा मैले पाएँ कि हाम्रो संस्कृतिमा त बालिकाको अस्तित्व त शून्यप्राय: छ । उनीहरूलाई चुप रहन, शान्त बस्न, यौनिकताबारे चुप रहन, आफ्नो अस्तित्वलाई नर्कान, अरूमाथि आश्रित हुन मात्रै सिकाइन्छ ।’ यो पढेपछि मलाई लाग्यो— नेपालमा पनि हामी त्यही मूल्य लिएर हिँड्छौं ।

कुनै युवतीले आफ्नो इच्छानुसार काम गरिन भने भनिन्छ, ‘हेर, परिवारको वास्ता नगरेर स्वार्थी भएकी !’ कुनै महिलाले ‘म पुरुषसँग प्रेम गर्दिन, महिलासँग नै प्रेम गर्छु, विवाह गर्न चाहन्छु’ भनेमा त परिवार र समाजमै भूकम्प आउँछ । विवाह गरेपछि कुनै युवतीले रातो टीका, चुरा लगाएर हिँडिन भने सुन्नुपर्छ, ‘हेर कस्तो शृंगार नगरेर विवाह नभएजस्तो गरेर हिँडेकी ! उसलाई आफ्नो लोग्नेको वास्तै छैन ।’


कुनै पुरुषको मृत्युपछि महिला किरियाकर्ममा बस्नैपर्छ । श्रीमतीको मृत्युपछि श्रीमान्चाहिँ किरिया बस्ने चलनै छैन । काजकिरियाको १३ दिनपछि पुरुषको अर्को विवाहको सुरसार हुन्छ । किनभने समाजले भन्छ, ‘बिचरा, पुरुषले कसरी घर चलाउन सक्छ र ? कसरी छोराछोरीको स्याहार गर्न सक्छ र ?’


यदि कुनै महिलाले श्रीमान्को मृत्यु भएको छ महिनापछि पनि ‘अर्को विवाह गर्छु’ भनेमा उनको परिवार र समुदायमा सुनामी नै आउँछ । यदि महिलाले एकल भएपछि रंगीन लुगा लगाइन अथवा हाँसबोल गरिन् भने भनिन्छ, ‘हेर, यसलाई त श्रीमान्को माया नै रहेनछ । कसरी हाँस्न सकेकी श्रीमान् मरेपछि !’ यसरी भारत र नेपालको पितृसत्तातम्क समाजमा महिलाको नियति नै ‘चुप’ रहनु हो ।


‘चुप’ किताबमा कसरी महिलामा भारतमा संस्कृतिको नाममा चुप लाग्न सिकाइन्छ भनेर ठाउँठाउँमा विभिन्न महिला र युवतीको भनाइ राखिएको छ । यौन र यौनिकताका बारेमा कुनै किशोरीले प्रश्न गरिन् भने ‘यो त विवाह पछि थाहा भइहाल्छ’ भनिन्छ ।


कसरी भारतमा महिलाको यौनिकता र स्वतन्त्रतामा नियन्त्रण गर्न कोसिस गरिन्छ भन्ने उदाहरण लेखकले दिएकी छन् । सन् २०१४ मा गुडगाँव (हरियाणा) मा सामूहिक बलात्कारको घटना भएपछि त्यहाँ प्रहरीले महिलालाई ८ बजेपछि घरबाट निस्कन दिएन, श्रम विभागको स्वीकृति लिएर मात्रै निस्कन पाइने नियम बनायो । प्रहरीले सबैलाई सुरक्षा दिन सक्दैन भनेर उर्दी जारी गरियो । राति घरबाहिर निस्कने केटीले त बलात्कारलाई निमन्त्रणा गरेजत्तिकै भयो ।


अर्थात् प्रहरीले महिलालाई हिँडडुलमा नियन्त्रण गरेर बलात्कारबाट बचाउन खोजियो । अझ हरियाणाका तत्कालीन मुख्यमन्त्रीले त खुलेरै भने— केटीहरूको विवाह गर्ने उमेर १८ बाट घटाइदिनुपर्छ । अर्थात् विवाह भएपछि केटीहरू मानौं सुरक्षित हुन्छन् । धन्य, भारतको सर्वोच्च अदालतले यो कुरा अस्वीकार गर्‍यो ।


२४ वर्षीया एक कलेज युवतीले दीपालाई भनिन्—मलाई जहिले पनि मुस्काउन र अरूलाई खुसी पार्न सिकाइयो । असल महिलाको एक चिह्न नै त्यही हो । मन नपरे पनि चुप लागेर बस्ने र अरूको सेवा गर्दा आफूलाई दु:ख भए पनि चुपचाप लागेर सहन नेपालमा पनि सिकाइन्छ । यो पढ्दा मलाई आफैंलाई अनुभव भयो कि नेपाल–भारतको संस्कृतिअनुसार म असल महिला होइन । किनभने म आफूलाई ठीक नलागेको कुरा भनिहाल्छु, आफूले कठोर दु:ख पाएर अरूलाई खुसी पार्ने काम म गर्दिन, म श्रीमानको आयु बढोस भनेर व्यर्थको ढकोसला गरेर तीजको व्रत बस्दिन । म महिनावारी भएको बेला पनि मन्दिर गएकी छु ।


सबै महिलाहरू जसले जे भन्यो, त्यही गरेर चुप लाग्ने हो भने समाज कहिले बदलिएला र ? धन्य दीपाले किताबमा चाहिँ अन्तिम परिच्छेदमा आशाको झल्को पनि दिएकी छन् । कसरी महिला र पुरुषहरू एकजुट भएर महिला–पुरुषप्रति हुने हिंसाविरुद्ध बोलिरहेका छन् भनेर उदाहरण दिएकी छन् । यी शब्दहरू लेख्दालेख्दै भारतमा ‘मि–टु’ को आँधी चलेर कति स्वनामधन्य पुरुषलाई यौन शोषणको आरोप लागिरहेको छ । नेपालमा पनि महिलाहरूले यो विषयमा ‘चुप’ नबसेर आवाज उठाउन थालेका छन् । आँधी चल्दै छ, मौनता तोड्न चुपले धेरै काइदा सिकाएको छ ।

प्रकाशित : मंसिर १, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?