कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेरी दिदीको मी–टु जीवन

तिहार
सञ्जीव बगाले

काठमाडौँ — अहिले चर्चामा छ— मी–टु । कुनै महिलाको इच्छाविरुद्ध भएको र गरिएको आजको वा हिजोको शारीरिक वा मानसिक यातनामा जोडिएको छ— मी–टु । तर, केही रुपैयाँ पैसा अथवा एउटा सुनको सिक्री दाइजोमा नलगेकै कारण जीवनमा नसोचेको बुहार्तन बेहोरेकी मेरी साख्ये दिदीको कथा–व्यथा ‘मी–टु’ हो कि होइन (?), म घोत्लिरहेको छु ।

मेरी दिदीको मी–टु जीवन


सानो छँदा मलाई मेरी दिदीजस्तो बलियो र आँटिलो कोही छजस्तै लाग्थेन । एक बिहानमै दुई भारी घाँस काट्न सक्ने अनि हामीलाई पढाउन पनि सक्ने । दाइलाई पनि सिकाएकै छ, मलाई पनि सिकाएकै छ । हामीलाई दिदी भनेपछि ‘सातो’ जान्थ्यो । मभन्दा ११ वर्ष र दाइभन्दा ८ वर्षले जेठी भए पनि हामीलाई कहिले पनि आफूलाई ‘तपाईं’ भन्न अह्राइनन् । अहिले पनि दिदीलाई ‘तँ’ नै भन्नुपर्छ । खेलकुद प्रतियोगिताहरूमा विजेता पनि उनै दिदी हुन्थिन् । यस्तो लाग्थ्यो— मेरो दिदीले नसक्ने केही छैन ।


समय सधैं एकैनास नहुने रहेछ । सिंहजस्ती साहसी दिदीको एक दिन बिहे भयो, एकाएक । त्यसपछि मेरो र हामी दाजुभाइकै साहस हरायो । २०५२ साल फागुन १४ गते दिदीको बिहे हुँदा म सात कक्षा मात्रै पढ्थें । बिहा ठूलो रवाफका साथ गर्न सकिएन । घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिहेमा दाइजो दिन सकिएन । त्यही दाइजो नदिएका कारण प्रिय दिदीको ‘घर गरी खाने दिनरात’ नरकसरह बन्यो, आततायी बन्यो ।


‘आफूलाई सुनको सिक्री नदिएको’ भन्दै स्वयं भिनाजुले सुनको सिक्री ल्याउन दबाब दिन थालेका थिए । एक दिन दिदी माइती आइन् र सुनको सिक्री मागिएको बताइन् । दिदीको घरको त्यो प्रस्तावले आमा त छाँगाबाट खसेजस्तै हुनुभयो । त्यतिबेला एक तोला सुनको मूल्य १० हजार रुपैयाँ हाराहारीमा थियो । जम्माजम्मी २० हजारमा बिहे उम्काउने परिवारले फेरि सुनको सिक्री कसरी दिन सक्नु ? बिहान खाए बेलुका के खाऊँ भन्ने हैसियत भएकालाई त्यतिबेला १० हजार कसले पत्याउने ?


त्यही सुनको सिक्रीको अभावमा दिदीलाई नचाहिंदो दु:ख दिइन थालियो । दिदीलाई यति धेरै काममा जोताइयो कि बुहारीभन्दा पनि एक जना ‘भाडाको कामदार’ झैं व्यवहार गर्न थालिएको रहेछ । केही समय त यो सास्ती दिदीले पनि लुकाइन्, हामीले पनि नदेखेझैं गर्‍यौं । तर, यस्ता छिद्र कुरा त्यत्तिकै फैलिन्छ नै । एक कान दुई कान हँुदै सबैतिर यो चर्चा छाइसकेको रहेछ ।


घरदेखि झन्डै पन्ध्र किलोमिटर दूरीमा पथ्र्यो— दिदीको घर । लमजुङको सोतीपसलदेखि सदरमुकाम बेंसीसहर जाने बाटोमा पर्छ भोटेओडार । त्यतिबेला गाडी नचल्ने भएकाले सदरमुकाम जानेहरू भोटेओडारकै बाटो आउने–जाने गर्थे । हाम्रो घर तनहुँ भए पनि आउजाउ लमजुङमा बढी हुन्थ्यो ।


दिदीलाई भेट्नेहरूमध्ये कसैले पनि दिदीका बारेमा राम्रो सुनाएनन् । कसैले भारी बोक्दै गरेको भेटाए, कसैले घाँस काट्दै गरेको भेटाए, कसैले जुठा भाँडाको रासमा भेटाएछन् । यस्तै–यस्तै । यो हैरानीपछि अनेकथरी बहाना गर्दै दिदी माइत आउने गर्थिन् । हरेक पटक त्यही सुनको सिक्रीको अड्डीमा रुवाबासी चल्थ्यो ।


धेरै समयसम्म सिक्री लान नसकेपछि भिनाजु पनि दिदीसँग आक्रोशित हुन थालेका रहेछन् । कति पटक दिदीलाई पिट्नसमेत थालेका रहेछन् । एक पटक त दिदी आफ्नो शरीरका नीलडाम देखाउँदै माइत आएकी थिइन् । हामी पनि दिदीसँगै मिसिएर रुन्थ्यौं । अरू के पो गर्न सकिन्थ्यो र ?


त्यो पटक पनि आमाले फकाईफुलाई दिदीलाई घर पठाउनुभयो । दिदीलाई घरसम्म पुर्‍याउन दाई जान्थ्यो तर ऊ पनि फर्कंदा रुँदै आउँथ्यो । अब त दिदीलाई ‘सिक्री नल्याए अर्को श्रीमती ल्याउँछु’ भनेर भिनाजुले धम्क्याउन थालेका रहेछन् । दिदीका सासू–ससुरा र आफन्तले पनि केटी खोज्न थालेका रहेछन् । यो तनावमाझ पनि हामीले कतै १० हजार रुपैयाँ पाउन सकेनौं । २०५३ माघमा हजुरआमासँग पाँच हजार रुपैयाँ सापटी मागेर दिदीका घरमा जेनतेन बुझायौं, त्यस पटक भने दिदी र पैसा लिएर म पुर्‍याउन गएको थिएँ ।


बाटोभर दिदी झोक्राएर हिंडिरहन्थिन्, उनको मनभरि नैराश्यता भरिएको थाहा लाग्थ्यो । उनका आँखामा दिग्दारी भरिएको थियो । बिहेअघि दिदीको बोली सुनेर हामी चुपचाप हुन्थ्यौं, अहिले दिदी सासू–ससुरा र श्रीमान्का सामु सासले बोलिरहेकी हुन्थिन् । रातमा सबैले खाना खाइसकेपछि र जुठो भाँडा माझिसकेपछि मात्रै दिदीको खाने पालो आउँथ्यो । माघको जाडोमा त्यो भात कति चिसो थियो होला ?


त्यो पटक पनि खाना खाइसकेपछि रातको समयमा मैले दिदीका सासू–ससुरालाई घरदेखि ल्याएको पैसा दिएँ । ‘यति पैसा पनि खेत बन्दगी राखेर ल्याएको हो, अरू पनि सकेसम्म छिट्टै दिन्छौं’ भन्दै ‘पूरै पैसा ल्याउन नसकेकामा माफ गर्नुहोला’ भनेर मैले बिन्ती सुनाएँ । मैले त्यसो भनिरहँदा मेरा हातगोडा लुलिएका थिए, म काँपिरहेको थिएँ । तर, सामुमा बसेका सासू–ससुरामा भने रत्तिभर संवेदना थिएन । भिनाजु काठमाडौंतिर काम गर्ने भएकाले उनीसँग भेट हुन पाएन । राति कति बेला निदाएँ, थाहा भएन । भोलिपल्ट भालेको डाकसँगै म घर फर्किएँ ।
***

पाँच हजारले पनि दिदीका घरका जहानको मुखबुझो लागेको थिएन । कुनै बेला दुई हजार, कुनै बेला पन्ध्र सय गर्दै दस हजार पुर्‍यायौं । त्यही बेला एक दिन दिदीका श्रीमान् (भिनाजु भन्न पनि सरम लाग्छ) ले दाइको नाममा चिठी पठाए । उनका अनुसार, उनले त्यसबेला रेडियो सगरमाथामा जागिर सुरु गरेका थिए । मेरो दाइ दसमा पढ्दै थियो । चिठीमा ‘दाइलाई राम्रोसँग पढ्नु, एसएलसीपछि म सहयोग गर्छु’ भनेका थिए । सायद दिदीको बिहेपछिका दुई वर्षमा त्यही नै हाम्रा लागि सबैभन्दा ठूलो खुसीको खबर थियो । तर, केही समयमै फेरि परिस्थिति उल्टियो । लगत्तै भिनाजुले अर्को बिहे गर्ने तयारी थालेको थाहा भयो ।


दिदीको घरमा नसोचेको अप्ठयारो बढ्दो थियो । दिदीले भोगेको पीडाको बयान त आफ्नै ठाउँमा छँदैछ । बिहा गरेर घर धान्न गएपछि दिदीले १२ कक्षाको बाँकी रहेको विषय पनि जाँच दिन पाएकी थिइनन् । खाना खाने बेलामा सधैं आमा भन्ने गर्नुहुन्थ्यो— हामीले त मीठो–नमीठो खायौं, दिदीले के खाइहोली ? नजिकै मस्र्याङ्दी छ, कतै त्यही गएर पो हेलिन्छे कि ?
यति भनेर आमा डाको छाडेरै रुनुहुन्थ्यो । अनि, हामी दाजुभाइ पनि पिलपिल गर्दै कुना पस्थ्यौं ।


२०५६ सालको पुस–माघ महिना हुनुपर्छ । एसएलसी तयारीले गर्दा म साँझ मात्रै घर आइपुगेको थिएँ । दिदी पनि आइसकेकी रहिछ । आमाले दिदीसँग ‘भो, पिर नमान् । जस्तो मैले भोगें, त्यस्तै तँलाई पर्‍यो’ भनिरहनुभएको थियो । मैले सहजै अनुमान गरें— दिदीका श्रीमान्ले अर्को बिहे गरिछाड्छन् । हुन पनि त्यही भएछ ।


आखिर उनले अर्को बिहे गरिछाडे । हामीले दु:खसुख गरेर बुझाएको दस हजारले पनि काम काटेन । अब दिदीसँग कुनै बाटो थिएन । म भर्खरै १५ वर्षे भाइलाई त त्यति चिन्ता लाग्यो भने बूढी भएकी आमा र दिदी स्वयंलाई कस्तो भयो होला ? मैले दिनरात दिदीलाई सम्झिरहें ।
***

धन्य, एक दिन दिदी त्यो सास्तीको सग्लो घरबाट बाहिर निस्किइन्, हाम्रै छेउछाउमा काठमाडौंमा सँगै बस्न थालिन् । त्यसपछि उनले हिम्मत गरेरै र अनेक कष्टका माझ फेरि पढाइ सुरु गरिन् । आज मेरी दिदीले राजनीतिशास्त्रमा एमए र गणितमा एमएड गरेकी छन् । पाँचौं तहको सरकारी जागिर खाएकी छन् । कहिलेकाहीं बसिबियाँलोमा आमा भन्नुहुन्छ, ‘भएकी एउटै छोरीको पनि घर बिग्रियो ।’


अनि म भन्ने गर्छु, ‘दिदीको घर बिग्रिएको होइन, उसको घर बनेको छ । नरक जुनीबाट दिदी उम्किएर यहाँसम्म आएकी छ । उसको त यो नाफाको जिन्दगी हो ।’


अहिले तिहार पर्वले छोएको छ । साथमै भए पनि म मेरी दिदीलाई खुबै सम्झिरहेको छु । अझ पछिल्ला दिनमा सुरु भएको र खुबै चम्किरहेको मी–टु अभियानलाई मेरी दिदीको पीडासँग पनि जोडेर म हेर्दैछु । कतै मेरी दिदीले पनि विगतमा खेप्नुपरेको यो हदको पीडा दिदीका निम्ति ‘मी–टु’ होइन र ? यो हदको घरेलु र पारिवारिक हिंसाको न्याय कहाँ खोज्ने ? कसरी खोज्ने ? कहिले खोज्ने ?

प्रकाशित : कार्तिक १७, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?