कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

महिमा मात्रै

सन्दर्भ
महिलाकै कारण हामी देशको ठूलो चाड पनि मानिरहेका छौं । समानताका हक पनि खोजिराखेका छौं तर आफैंभित्र खुम्चिएर बस्न बाध्य छौं । अझै पनि खुलेर हामी आफ्नो पहिचान खोज्न सकिरहेका छैनौं ।
बालिका थपलिया

काठमाडौँ — जब दसैँको हामीमाझ आगमन हुन्छ तब दुर्गा भवानीको महिमा गाउँछौं । राक्षस मारेर सत्यको जित गराउने उनको बडादसैँमा पूजा गर्छौं । नवरात्रिमा पनि हामी देवीहरूकै उपासना गर्छौं । मालसिरीको धुनले उनको गुनगानको व्याख्या गरेको छ । बडादसैँलाई हामीले देशको ठूलो चाँडको रूपमा मान्दै आएका छौं ।

महिमा मात्रै

असत्यलाई हराएर सत्यको विजय गरेको यो चाडमा टाढाटाढाबाट मान्यजनको आशीर्वाद लिनलाई मानिसहरू लोभिने गर्छन् । मान्यजनको आशीर्वाद थाप्न लालायित हुने गर्छन् ।


‘दसैँ’ शब्द सुन्नेबित्तिकै हामी नयाँ लुगा, रातो टीका, जमरा आदि सम्झिन्छौं । पिङ खेलेर साथीभाइसँग रमाइलो गरेको सम्झिन्छौं । सँगै बसेर मीठामीठा खाने कुरा खाएको झझल्काले सताउँछ हामीलाई । मालसिरीको धुन सम्झिन्छौं र भावुक हुन्छौं । आफ्ना मान्छेहरूसँग भेट हुनेबारेमा सोचेर खुसी हुन्छौं ।


दुर्गा भवानीको प्रसंगलाई म हामी नेपाली नारीको प्रसंगसँग जोड्न चाहन्छु । पितृसत्तात्मक देशमा जन्मिएका हामीले आफनो अस्तित्वको खोजी गर्न साहसी कदम चालिरहेका छौ । हाम्रो देशमा पनि महिला राष्ट्रपति भइराखेका छन् । अन्य प्रतिष्ठित पदमा पनि पुगिसकेका छौं । तर पनि हामीले सोचेजस्तो भइराखेको छैन । कताकता केही नपुगेजस्तो, केही छुटेजस्तो लागिराखेको छ । महिलाकै कारण हामी देशको ठूलो चाड पनि मानिरहेका छौं । समानताका हक पनि खोजिराखेका छौं तर आफैंभित्र खुम्चिएर बस्न बाध्य छौं । अझै पनि खुलेर हामी आफ्नो पहिचान खोज्न सकिरहेका छैनौं ।


अब आमाको नाममा पनि नागरिकता बनाउने बहस चलिरहेको छ । बाबुको सम्पत्ति पनि छोरीले अंशस्वरूप पाउनुपर्ने कुरा उठिरहेको छ । महिला अधिकारप्रति सचेतना बढिसकेको छ । तर पनि हामी नारीहरू भित्रभित्रै खुम्चिएर बाँचिरहेका छौं । आफ्ना हकको बारेमा नबुझेका पनि होइनौं तर हाम्रो कार्यान्वयन पक्ष फितलो भएको छ ।


दसैँमा दुर्गा पूजा एवं तिहारमा लक्ष्मी पूजा धुमधाम उमंग र सम्मानको साथ गरिन्छ । तर, वास्तविक जीवनमा हामी नारीहरू आफ्ना आकांक्षाहरू आफ्नै मनमा थाती राखेर बाँचिरहेका छौं । हामीलाई विद्रोह गर्न मन हुँदाहुँदै पनि अदृश्य पन्जाहरूले घाँटी थिचेर आवाज निस्किन सकिरहेको छैन । पुरुषसँग समान कदम चाल्न डराएर हाम्रा पाइलाहरू लगलग काँपिरहेका छन् ।


एक्काईसौं शताब्दीको यात्रामा हिँडिरहँदा पनि हामीले आफ्नो पहिचान खोज्न सकिरहेका छैनांै । आफ्नो अधिकार खोज्दा सती सावित्रीको पद खुस्किएला कि भनेर भित्रभित्रै पिल्सिइहेका छौं । हामी अझ पनि डर र द्विविधाको जिन्दगी बाँचिरहेछौं । समाजले भिराइदिएको सती सावित्रीको उपमा जोगाउन हामी बाध्य भइरहेका छौं ।


साहित्य, पत्रकारिता, निजामती सेवा आदिदेखि लिएर अन्य विविध क्षेत्रहरूमा महिलाहरूले वर्चस्व कायम गरिरहेका छन् । २०७४ सालको प्रतिष्ठित मदन पुरस्कार योगमाया किताबकी लेखक नीलम कार्की निहारिकाले प्राप्त गरेकी छन् । योगमाया नारी सङ्घर्षको इतिहासमा अमर नाम लेख्न सफल थिइन् र उनको बारेमा लेख्ने नीलमले पनि साहित्यिक इतिहासमा अभिलेख राखिन् । समाजका हरेक क्षेत्रमा महिलाहरूले आफ्ना पाइलाहरू अघि बढाइरहेका छन् । तर, यी कदमहरू समावेशी बन्न सकिरहेका छैनन् । हामीलाई अझ थप ऊर्जाको खाँचो छ । आफूभित्रको त्रासलाई नहटाएसम्म हामीले कुनै पनि हालतमा आफ्नो अस्तित्वको खोजी गर्न सक्दैनौं । समग्र नारी एकता नै सफलताको सूत्र हो ।


धार्मिक इतिहासमा शक्तिशाली स्थान हासिल गरेका हामी महिला वास्तविक जीवनमा असुरक्षित भएर बाँचिरहेका छौं । देशका उच्च पदमा नारीहरूले अग्रस्थान लिए पनि असुरक्षाको घेराबाट बाहिर निस्किन नसकेको दर्दनाक स्थितिको सामना गर्नुपरेको छ ।


हामी नारीमा शक्ति नभए सायद देवी बन्दैनथ्यौं होला । दसैँमा दुर्गा भवानी, तिहारमा लक्ष्मी, सरस्वती पूजामा विद्याकी देवी सरस्वती भनेर पूजा गरिँदैनथ्यो होला । तर, हाम्रो मर्मलाई महिला स्वयं र पुरुषहरूले बुझिदिए कुनै विरोधाभास बाँकी रहने थिएन् । तर, बुझ्न नसक्नु नै हामी नारी जगत्को लागि अभिशाप भएको छ । हामी पनि केही गरेर देखाउन सक्छौं भन्ने प्रमाण नै हाम्रो आन्तरिक क्षमताको प्रस्फुटन हो ।


हामी यथार्थमा पनि आराधनाको पात्र बन्न सक्छौं तर त्यसका लागि आफैंले आफूभित्र निहित सामथ्र्यलाई बुझेर समाजमा प्रस्तुत गर्न सक्नुपर्छ । जयन्ती मंगलाकाली अब भावनामा मात्र होइन जीवनमा सफल बन्न अब सङ्घारमा आइपुगेको दसैँ चाडले हामीलाई प्रेरणा प्रदान गरोस् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?