कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्ति र भोग

चिन्तन
देवी पूजा हाम्रो समाजको एक छलपूर्ण अनुहारको प्रतिविम्ब हो । भक्ति र भोगबीचको बिपर्यास चिन्तन ।
पितृसत्ताको साँघुरो मानसिकताले निर्माण गरेको महिला मन्दिरभित्रकी देवीझैँ हुन् जो मौन छन् र छन् अनेकन घेराभित्र । समाजको घेरा, घरभित्रको घेरा, त्यसपछिको संस्कार, मान्यताको घेरा र अन्य पनि बन्धनहरूमाँझ चुपचाप रहन बाध्य ।
कुमारी लामा

काठमाडौँ — फरक सुगन्ध, धुन र माहोलसहित प्रत्येक वर्ष छिर्ने गर्छ दसैँ हाम्रो देशमा, घरमा अनि प्रत्येक मनमा पनि । यस वर्ष पनि सँघार नाघेर उक्लिसकेको छ स्त्रीशक्तिपूजक पर्व, दसैँ । अब केही समय मालश्रीमय हुनेछ समय । देशका प्रत्येक शक्तिपीठमा श्रद्धालुको भीड लाग्नेछ । पूजा हुनेछ स्त्री शक्तिको । नवरात्रभरि उपासकहरू नतमस्तक भई नवदुर्गाको आराधनामा तल्लीन हुन्छन् । देवी अर्थात् स्त्रीपूजनको एउटा गजबको कोलाज देखिन्छ जताततै ।

भक्ति र भोग

तर, दानवहरूकी संहारकर्ता देवी दुर्गाको उपासनामय समयमै हाम्रै गाउँसहरको अमुक सेपिलो ठाउँतिर देवीहरू बलात्कारपछि मारिएको, एसिड प्रहारले घाइते भएको, आफैंले जन्माएको सन्तानको नागरिकताको निम्ति कार्यालयमा विगतलाई पुष्टयाइँ गर्दै हिँडेको र कतै भने गर्भमा हुर्कंदै गरेकी कान्छी देवी संसारमा आउनुअघि नै क्लिनिक या अस्पतालको डस्टबिनतिर मिल्किँदै गरेका पनि हुनेछन् ।


दसैँभरि हुने मिथकीय देवीहरूको शक्तिपूजन र हामी छेउछावै यस्ता अनेक शोषण र पीडाबाट गुज्रिरहेका निरीह देवीहरूबीच केही सामञ्जस्य छ त ?

भक्ति र भोग
निकै समयअघि जब फरक थियो समय, कलिलो उमेर, भ्रम र यथार्थ खुट्टिनसकेको बेला, तब हूल बाँधेर चहारेकै हो नवरात्रभरि देवीका मन्दिरहरू । भुकभुके उज्यालैमा मन्दिरहरू पुग्ने हतारमा अघि बढ्ने ती अनगिन्ती पाइलाहरूसँग मिसिनुको आनन्द बेग्लै थियो । तर, समय उस्तै नरहने रहेछ । अब त सम्झना पनि छैन, कति नवरात्रिहरू चिप्लिसके मेरो मन्दिर यात्राबेगरै । यतिखेर भने म ती शक्तिपीठमा स्थापना गरिएका ढुंगेदेवीहरूको शक्ति र प्रत्येक घरका ज्युँदा देवीहरूले बेहोरिरहेको (कु)समयबीचको दूरी चिन्तनमा छु ।
दसैँसँग जोडिने देवी या भनौं छोरी जातिको पूजा मीठो भ्रम र सकसपूर्ण यथार्थसँग जोडिएको पाउँछु । छोरी जन्मदा लक्ष्मी आई, घर उज्यालो पारी भन्छन् प्राय: नेपाली परिवार । त्यसमा पनि खुसी डबलिन्छ, यदि पहिलो सन्तान छोरा छ अनि त्यसपछि छोरी जन्मिई भने । छोरीलाई निकै माया गरेको देखिन्छ । चाडपर्व त छोरीहरूलाई नै बढी लाग्ने हो । त्यसमा पनि दसैँ त उनीहरूकै पूजा हुने पर्व ।


आँखामा परिरहने एउटा परिवार छ । त्यस घरकी जेठी बुहारीले पहिलो सन्तान छोरा जन्माइदिएपछि खुसीको सीमा थिएन । दोस्रो सन्तान छोरी जन्मिदा त चार चाँद नै लागेको थियो त्यस घरमा । त्यस बच्चीलाई लक्ष्मी भित्रिई भनेर मन खोलेरै स्वागत गरे । अब ती नानी पनि पाँच वर्षकी भइसकिन् । अझै पनि हजुरबा हजुरआमा उनैको खुट्टा ढोगेर सुरु गर्छन् दिन । बढ्दै गरेकी नानी धेरथोर कुरा बुझ्ने भएकी छ । परिवारले उसको आमाप्रति गर्ने व्यवहार चालचलनमा चासो देखाउन थालेकी छ । आजकल उसले प्रश्न गर्छे आमालाई— मामु तपाईंलाई मात्र किन गाली गर्नुहुन्छ आमा (हजुरआमा) ?


उनीसँग मौनताभन्दा अर्को जवाफ छैन । किनकि छोरी बुझ्ने भइसकेकी छैन, अजातकी बुहारी हुनु, लोग्नेबाट बेवास्तामा पर्नु र आफ्नो कुनै आर्थिक आर्जन नहुनुसँग कसरी जोडिन्छ एउटी महिलाप्रति परिवारको नजानिदो हिंसा फेहरिस्त ।


नातिनीलाई खुलेर माया दिने त्यस परिवार बुहारीप्रति भने चिसो व्यवहार गर्छन् । गालीगलौज टड्कारै सुनिन्छ । आँखा डिलबाट झर्न तयार आँसु निकै पटक देखेकी छु उनको । महिलामाथि हुने हिंसाका रिसर्चहरू यस्ता धेरै केसहरूमा काम नलाग्न पनि सक्छन् । उनको अस्तित्वलाई धूलो ठानी सधैँ गालीबोली गर्ने परिवारले गरेको हिंसाबारे कहाँ गर्ने र उजुरी ? ती महिलाले आफ्नी छोरीलाई कसरी बुझाउन सक्लिन् र उनले सहनुपर्ने आजको समयसँग जोडिएको पितृसत्तात्मक सामन्ती मनोविज्ञानको जब्बर जरा ?


पितृसत्तात्मक मनोविज्ञानले त महिलालाई एक भोग्याभन्दा बढी देख्दैन नै । महिला भनेका बसमा राख्नुपर्ने जाति, भोग गर्नुपर्ने वस्तु, मन पर्न छाडे अर्कोले ‘रिप्लेस’ गर्न सक्ने चीजभन्दा माथि उक्लेर हेरेको छैन । परिवर्तनका अनेक खुड्किला उक्लिसक्दा पनि अझै यही मनोविज्ञान हावी छ हाम्रो समाजमा । ती महिलाको लोग्नेले गरेको उनीप्रतिको बेवास्ता र परस्त्रीगमन यसैको उपज हो । त्यस परिवारलाई थाहा छ— छोराको कर्तुत तर चुपचाप बस्छ । बरु उल्टै छोरा तह लाउन नसकेको निहुँ झिकी उनैलाई गालीबोली गरिरहन्छ । यो निश्चय नै त्यही डरलाग्दो पितृसत्तात्मक चिन्तनकै उपज हो ।


प्रत्येक घरबाट सुरु हुन्छ छोरीका निम्ति निर्माण गरिएको भ्रमपूर्ण संसार र श्रीमती, बुहारीहरूले बेहोर्नुपर्ने यथार्थको सिरेटो । वर्षको एक पटक देवी आराधना भन्नु तिनै सानी छोरीले बाँचिरहेको एक मायावी समयझैँ हो जो वर्षभरिका अरू दिनहरू उनकै आमाले भोगिरहेजस्तै सकसपूर्ण हुन्छ ।
देवी पूजा हाम्रो समाजको एक छलपूर्ण अनुहारको प्रतिविम्ब हो । भक्ति र भोगबीचको बिपर्यास चिन्तन ।

महिला भाष्य
मिथकीय देवीहरूको शक्तिशाली उच्च स्थान र आफूले भोगिरहेको हिंसा र शोषणयुक्त निरीह अवस्थाबीच पेन्डुलम छ आजको महिला मनस्थिति ।


यी दुवै अवस्था महिलाहरू स्वयम्ले निर्धारण गरेका पक्कै होइनन् । उनीहरूको ढुंगेदेवीझैँ शक्तिशाली देखिने सेरेमोनियल पोजिसन होस् या बोली भएर पनि चुपचाप बस्नुपर्ने आम महिला अवस्था, दुवै नै सामन्तवादी पितृसत्तात्मक समाजले निर्माण गरेको महिला भाष्य हो । वास्तवमा यही चित्रण वरपर आजका महिलाहरू आफूलाई झनै बढी पीडित पाउँछन् । किनकि शक्ति र सत्ताले निर्माण गरेको भाष्यले उनीहरूको पीडालाई एकदमै सामान्यीकरण गरिदिएको छ । ‘आइमाईको जुनी यस्तै हो’ भन्ने एक ‘क्लिसे’ (भनाइ) बारम्बार दोहोर्‍याउँदै असंवेदनशीलताको पराकाष्टा ओकलिदिन्छ हाम्रो समाज । त्यही चिसोपन सदनदेखि सडकसम्म छताछुल्ल पोखिएको छ । यसैबखत मथिंगल चिमोट्ने प्रश्नहरूको लर्को लागेको छ ।
– किन महिलाका विषयले प्रमुखता पाउँदैन सदनमा ?
– किन बलात्कारी र हत्याराहरू उम्किरहन्छन् ?
– किन एउटी आमाले प्रमाण पेस गरिरहनुपर्छ आफ्नै छोराछोरीलाई नागरिकता दिलाउन ?
किन... ?
धेरै छन् प्रश्न । र, यी प्रश्नसँग जोडिएका महिलाहरू पटक्कै मेल खाँदैनन् दसैँभरि धुपधुवाँर गरिने ती शक्तिशाली देवीहरूसँग । लाग्छ, त्यो त कसैको जालसाजीमा निर्माण गरिएको एक भ्रमपूर्ण चित्रण मात्र हो ।
आफ्नो इच्छानुकूल, आफ्नै खाले मान्यता र सर्तसहित निर्मित महिलाहरू पक्कै भिन्न होलान् । तर, पितृसत्ताको साँघुरो मानसिकताले निर्माण गरेको महिला मन्दिरभित्रकी देवीझैँ हुन् जो मौन छन् र छन् अनेकन घेराभित्र । समाजको घेरा, घरभित्रको घेरा, त्यसपछिको संस्कार, मान्यताको घेरा र अन्य पनि बन्धनहरूमाँझ चुपचाप रहन बाध्य । आवाज भएर पनि मौन बस्न सिकाउँछ हाम्रो संस्कार । महिला अवस्थाको सजीव चित्रण छ भारतीय कवि कमलादासका यी कविता अंशमा ।
उनीहरूले भने,
साडी लगाऊ, आइमाई बन ।
स्वास्नी बन ।
सिलाइबुनाइ गर, भान्से बन, नोकरचाकरलाई कज्याऊ ।
आफूलाई सबै काममा पोख्त पार ।
कसैकी होऊ...
***

आफ्ना शारीरिक चाहना नदेखाऊ
आफ्नैले उपेक्षा गरे पनि ठूलो स्वरले नरोऊ...
(कमला दास, एन इन्ट्रोडक्सन)
कमलाका यी पंक्तिले बोलेझैँ महिलाका लागि सबैभन्दा ठूलो गुण भन्नु मौनता भनी बुझाउँछ समाज । आफ्ना चाहनाहरू सबै दबाउनु र अरूकै चाहनाबमोजिम भोगाइ, प्रयोग, आवश्यकताको वस्तुसरह बनिदिनू भनी सिकाइन्छ उनीहरूलाई । सहनु नै एउटी असल महिलाको चरित्र हो भनी लादेको मान्यताले आजपर्यन्त पिरोलिइरहेछ उनीहरूलाई ।
भएभरका पीडाहरू मनमा दबाएर घरदेखि, माइती, समाज सबैतिरको इज्जत राखिदिनुपर्ने बोझले थिचिएका छन् महिला । त्यो शक्तिपूर्वक लादिएको एक आदर्श महिला चरित्रभन्दा केही इन्च तलमाथि हुनासाथ उनीहरू आफ्नै परिवारको उपेक्षामा पर्छन् । बनिबनाउ घर समाज तोडिहाल्ने आँटको जगेडा जो कोही गर्न सक्दैनन् । तब त धेरै सचेत महिला पनि आफूभित्रको शक्ति, सामथ्र्य सबैलाई एकातिर पन्छाएर अनेकन हिंसाहरू सहँदै जीवन घिसारिरहन बाध्य छन् ।

अस्तित्व, एक प्रश्न
हालै एक पुरुष मित्रले आफ्नो मनोविज्ञान निर्माणसम्बन्धी खुलासा गर्दा म चकित रहेँ । उनी सानै हुँदा सिनियर दाइहरूले उनको ठूलो हत्केलालाई देखाउँदै ‘तेरो हात त केटीको...’का लागि गजब हुन्छ भन्थे रे । उनले इमानदारीपूवर्क बताएका ती घटना पुरुष मनोविज्ञानको निर्माण प्रक्रियाको एक प्रतिनिधि घटना हो । उनले भनेजस्तै सानै उमेरबाट हाम्रो समाजमा पुरुषहरूको फरक मनोविज्ञान निर्माण गरिन्छ जसमा महिला भनेका भोग्नका लागि हो भनी बुझाइने रहेछ । महिलाको वस्तुकरण र भोग्या जिनिस हो भन्ने भाष्यले गर्दा आज उठिरहेका महिला अधिकारका बुलन्द आवाजहरू बालुवामा पानीजस्तै भइरहेका छन् । बलात्कार (भोग) पछि हत्या, भनेको नमान्दा (भोग्न नपाउँदा) एसिड हानेर जीवन बर्बाद पारिदिनेलगायतका महिलामाथि हुने बर्बर काण्ड दिनप्रतिदिन बढिरहेका छन् । यस्ता घटनाहरू पुरुष भोग मनोविज्ञानको पराकाष्ठा हो । कही मेल खान्छ त दसैँभरि गरिने देवी भक्ति र जताततै टाँसिरहेको देवी (स्त्री) भोग मनोविज्ञानबीच ?


जबसम्म पितृसत्तात्मक जडताले निर्माण गरेको सामाजिक संरचना र उनीहरूबाटै निर्मित महिला डिस्कोर्सको जरा हल्लाउने काम हुन्न, तबसम्म महिलाहरू यसैगरी वर्षको एक पटक देवीको रूपमा पुजिने र अन्य दिनमा हदैसम्मको दलन बेहोर्दै भक्ति र भोगको दोछायामा भड्किरहनेछन् । प्रत्येक दसैँको मालश्री धुन केवल उनीहरूको अस्तित्वमाथिको ठूलो प्रश्नचिह्न भई उभिरहनेछ ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?