जब जागो तब सबेरा

सामयिकी
हलिउड, बलिउड हुँदै नेपालसम्म आउनै लागेको छ— मिटु । नेपालमा अहिले एकआपासमा मिटु फुसुरफुसुर सुरु भएको छ । यो मिटु फुसुरफुसुरहरू धेरै बढ्दै गएपछि त्यसको ध्वनि ठूलै हुन्छ । अनि सबैले सुन्नेछन् ।
आन्विका गिरी

काठमाडौँ — मलाई लाग्दैन– अहिले पनि यौन दुव्र्यवहारविरुद्धमा हाम्रो परिवार, विद्यालय वा कार्यस्थलमा कसैले हामीलाई, हाम्रा नानीहरूलाई आश्वस्त पारेको छ । मैले काम गरेको कुनै पनि संस्थाले मलाई आजसम्म पनि के तिमी कुनै किसिमको दुव्र्यवहारमा परेकी छौ ? के तिम्रो केही भन्नु छ ? भनेर सोधेको छैन ।

जब जागो तब सबेरा

कम्युनिस्ट राजनीतिमा लाग्नेहरूका लागि अक्टोबर क्रान्ति निकै महत्त्वपूर्ण समय हो । यही अक्टोबर गत वर्षदेखि यौन हिंसामा परेका विशेषत: महिलाहरूका लागि पनि विशेष बनेको छ ।
यतिखेर भारतीय सञ्चारमाध्यम र फिल्म उद्योग बलिउड तातेको छ । सन् २००८ मा ‘हर्न ओके प्लिज’ को छायांकन क्रममा अभिनेता नाना पाटेकरले गरेको यौन दुव्र्यवहारका बारेमा नायिका तनुश्री दत्ताले बोलेपछि अहिले कार्यक्षेत्रमा हुने यौन दुव्र्यवहारको बहसले व्यापकता पाएको छ । सन् २००८ मै दत्ताले सिने र टीभी कलाकारको संगठन सिन्टामा नानाले यौन दुव्र्यवहार गरेको र नृत्य निर्देशक गणेश आचार्य, निर्माता समी सिद्धकी तथा निर्देशक राकेश सारंगले आफ्नो गुनासोको सुनुवाइ नगरेको भनेर उजुरी नै गरेकी थिइन् । उनले प्रहरीमा पनि उजुरी गरेकी थिइन् । त्यतिखेर सिन्टाले आर्थिक क्षतिपूर्तिबारेमा सम्झौता गराए पनि यौन दुव्र्यवहारबारेमा भने कुनै कुरा गरेन । त्यतिखेरका सञ्चारमाध्यमले घटनालाई प्रचारका लागि गरिएको फन्डाभन्दा अर्को कुनै कोणबाट हेरेनन् । बलिउडले त यस्ता घटनामा बोल्ने गरेकै थिएन ।


उक्त घटनापछि तनुश्री बलिउडबाट करिब–करिब पलायन अवस्थामा पुगिन् । र, अमेरिकामा बसोबास गर्न थालिन् । हालै भारत आएकी उनले एक अन्तर्वार्तामा अमेरिकामा उनको कामको बारेमा प्रश्न सोधिएपछि उनले ‘१० वर्षअघिको घटनाले अझै पनि आफूलाई काम पाउन गाह्रो परेको’ खुलासा गरिन् । त्यतिखेरको घटनाको अनलाइन कभरेज सहजै उपलब्ध भएको हुँदा हरेक नयाँ कामका लागि आफूले स्पष्टस्करणको फेहरिस्त सुनाउनुपरेको उनले सुनाइन् । एक दशकअघि ‘ड्रामा क्विन’ भनेर उडाएको मिडियाले यस पटक भने उनको कुरा सुन्यो । विभिन्न टेलिभिजन, अनलाइन प्लेटफर्म, पत्रपत्रिकामा उनले नाना पाटेकरको नाम नै लिएर आफूले भोग्नुपरेको दुव्र्यववहारबारेमा बोलिन् । उनी बोलेको केही दिनसम्म बलिउडले कुनै प्रतिक्रिया दिएन । यतिसम्म कि ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर सार्वजनिक अवसरमा अमिताभ बच्चनले ‘म तनुश्री दत्ता पनि होइन, नाना पाटेकर पनि होइन । मलाई यो प्रश्न किन सोध्नुहुन्छ ?’ भनेर भने । उनको यो भनाइको सर्वत्र आलोचना मात्र भएन, बलिउडले आफ्नो ‘चुप्पी’ पनि तोडयो । बलिउडको चुप्पी तोड्न आमीर खानको कूटनीतिक जवाफ र सलमान खानले तनुश्री–नानाको विषयमा प्रश्न सोध्ने रिपोर्टरलाई ‘जुन कार्यक्रममा आएको हो, त्यही कार्यक्रमबारेमा मात्रै सोध’ भनेर दिएको गैरजिम्मेबार जवाफले पनि निकै ‘सघायो’ । तनुश्रीका कुरामा सहमति जनाउँदै सो फिल्म सेटमा रहेकी पत्रकार जेनिस सेक्युरा र वासिम अख्तर तथा सहायक निर्देशक स्यानी सेट्टीले आफूहरू उक्त घटनाको प्रत्यक्षदर्शी भएको भन्दै अघि आएपछि सोनम कपुर, प्रियंका चोपडा, फरहान अख्तर, ट्विंकल खन्ना, स्वरा भाष्करलगायत बलिउड हस्तीहरूले ‘तनुश्रीको कुरा सुनिनुपर्ने र आफूहरूले सुनिरहेको’ भनेर ट्विटरमा लेखे । तनुश्रीको समर्थनमा एकपछि अर्को मान्छे बोलिरहेका बेला भारतीय हास्य जगत्मा नाम बनाइसकेका उत्सव चक्रवर्तीको बारेमा महिलाहरूले आफूलाई पठाएका मेसेजसहित ट्विटरमा पोस्ट गर्न थाले ।


यो सिलसिलामा एकपछि अर्को गर्दै आफूमाथि भएको दुव्र्यवहार र दुव्र्यवहार गर्ने व्यक्तिको नाम महिला पत्रकारहरूले पनि सामाजिक सञ्जालमा ‘हयासटयाग मिटु’ अभियान छेडे । आफूमाथि भएको दुव्र्यवहारबारेमा केही महिलाले प्रमाणहरू (वार्तालापको, यौनसम्पर्कको आशय भएका मेसेजका स्क्रिन–सट) पनि पोस्ट गरेका छन् । टाइम्स अफ इन्डिया, हैदराबादका आवासीय सम्पादक केआर श्रीनिवासका बारेमा लेखेर सन्ध्या मेननले सुरुआत गरेपछि यतिखेर भारतीय सञ्चारमाध्यमका बडेबडे हस्तीहरू यौन दुव्र्यवहार घटनामा तानिएका छन् । लेखक चेतन भगत र किरण नागरकर, गायक कैलाश खेर, पत्रकार प्रशान्त झादेखि एमजे अकबर, जो अहिले भारतका विदेश राज्यमन्त्री पनि हुन्, सबैका विरुद्धमा महिलाहरूले आफ्नो परिचय दिएर वा आफ्नो गोपनीयता कायम राख्दै सन्ध्या मेननजस्ता खुलेर आएका पत्रकारका माध्यमबाट आफ्नो कुरा भनिरहेका छन् । लोकप्रिय अभिनेता आलोकनाथ पनि चर्कै रुपमा आलोचित भैरहेका छन् । आलोकनाथले विनिता नन्दा (तारा सिरियल, निर्देशक) लाई गरेको शारीरिक/मानसिक दुव्र्यवहारको लुकेको पाटो अहिले मात्रै खुलेको छ ।


यसैबीच नारीप्रधान भनिएको ‘क्विन’ चलचित्रका निर्देशक विकास बहल पनि यसमा तानिएका छन् । फयान्टम फिल्मसका चार संस्थापकमध्येका एक बहलमाथि सन् २०१५ मा फयान्टमकै एक पूर्वकर्मचारीले २०१५ मा यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । उनले अनुराग कश्यपसँग बहलको उजुरी गरे पनि कश्यपले कुनै सुनुवाइ नगरेको बताएकी छन् । जुन कुरा कश्यपले फस्र्ट पोस्टले उनीसँग गरेको कुराकानीमा स्विकारेका छन् । यही घटनाले फयान्टम फिल्मस् कम्पनी विघटनसमेत भएको छ । बहलको व्यवहार असहज र काम गर्न अप्ठयारो खालको भएको कुरा कंगना रनावत, क्विनकै अर्की कलाकार नारायणी दीक्षितले पनि बताएका छन् ।


सन् २००६ मा तराना बुर्केले ‘मिटु क्याम्पेन’ को सुरुआत गरेकी हुन् । यौन दुव्र्यवहारमा परेका विशेषगरेर कम उमेरका महिला र निम्न आय भएको समुदायलाई मद्दत गर्ने उद्देश्यले यो अभियान थालेकी बुर्के स्वयंले पनि यौनहिंसाको सामना गरेकी छन् । एकाएक ११ वर्षपछि हलिउड अभिनेत्रीहरूले हार्वे वाइन्स्टिनका बारेमा मिटु भन्दै बोल्न थालेपछि यसले विश्वमा नै एक किसिमको तरंग लिएर आयो । वाइन्स्टिनले आफूलाई यौनसम्पर्क राख्ने आशयको कुरा गरेको, उपहारहरू दिएर प्रभावित पार्न खोजेको, आफूलाई गलत किसिमले छोएको भन्ने मात्र नभई तीन जना महिलाले उनले आफूलाई बलात्कार गरेको कुरा सार्वजनिक रूपमा भने । यी महिलाहरूमा हलिउडका शक्तिशाली महिला कलाकारहरू एन्जेलिना जोलीदेखि रोज म्याकवेव पनि छन् । सम्पूर्ण आरोपहरू अस्वीकार गरेका वाइन्स्टिनले आखिरमा अदालतसमक्ष आफूलाई पेस गरेका छन् । वाइन्स्टिन मात्र होइन, हलिउडमा मिटु अभियान सुरु भएपछि कलाकार, निर्माता, संगीतकार, नेता धेरैको नाम नै लिएर महिलाहरूले अब चुप लाग्ने समय सकिएको बताउँदै सामाजिक सञ्जालबाट संसारभरका महिलालाई बोल्न आह्वानसमेत गरे । त्यसैको लहरले अफगानिस्तान, क्यानडा, अस्ट्रेलिया, चिली, चीन, इथियोपिया, फ्रान्स, जर्मनी, इजरायल, प्यालेस्टाइन, जापान, इटाली, केन्या तथा नाइजेरियाका महिलाहरूले पनि मिटु भन्दै आफू उत्पीडनमा परेको बताए । बीबीसीको एक रिपोर्टका अनुसार संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ मिटुका बारेमा गुगल नगरिएको होस् । यही मिटु अभियान नै अहिले भारतमा मुखर भएर आएको हो ।

मिटुले के भयो त ?
हालै फुटबल ‘स्टार’ क्रिस्टियानो रोनाल्डोले आफ्नो बलात्कार गरेको खुलासा अमेरिकन मोडल क्याथरिन मेयोर्गाले गरिन् । उनको आरोप छ, रोनाल्डोले उनलाई दस वर्षअघि लास भेगासको एउटा होटलमा बलात्कार गरेका थिए । ‘नन डिस्क्लोजर’ सम्झौतामा हस्ताक्षर गरेको हुनाले उनले लामो समयसम्म आफू बोल्न डराएको बताएकी छन् । एक दशकपछि आफूलाई हलिउडको मिटु मुभमेन्टले बोल्ने साहस दिएको बताएकी छन् । ५ अक्टोबर २०१७ मा द न्युयोर्क टाइम्सले पहिलो पटक हार्भे वाइन्साइटमाथि विभिन्न महिलाले यौन हिंसाको आरोप लगाएको विस्तृत रिपोर्ट छापियो । यसको एक सातामा उनलाई उनकै कम्पनीबाट निकालियो । मध्य अक्टोबरमै कलाकार अलिसिया मिलानोले यौन हिंसाको सामना गरेका महिलालाई आह्वान गर्दै आफ्नो ट्विटमा प्रतिक्रिया दिन आग्रह गरिन् । एक दिनमै उनको ट्विटमा पाँच लाख मानिसले प्रतिक्रिया जनाए । बीबीसीले मे २०१८ मा एउटा लेखमा भनेको छ, ‘अस्कर, गोल्डेन ग्लोब, क्यान फिल्म फेस्टिबलजस्ता मञ्चहरू २०१७ सम्ममा टिनसेल टाउनको एकअर्कालाई बधाई साटासाट गर्ने, फुक्र्याउनका लागि हुन्थ्यो भने मिटु अभियानपछि विरोध प्रदर्शन गर्ने स्थल बनेको छ ।’


भारतमै पनि यसमा आएका प्रतिक्रियाहरू हेर्दा यौन दुव्र्यवहार हुने कार्यस्थलका रूपमा कोही पनि आफ्नो काम गर्ने ठाउँलाई चिनाउन नचाहेको प्रस्ट हुन्छ । पत्रकार प्रशान्तलाई आरोप लागेको २ दिनपछि छानबिन नसकिउन्जेसम्मका लागि हिन्दुस्तान टाइम्सले ब्युरो चिफ तथा राजनीतिक सम्पादकबाट पदमुक्त गरेको छ । कमेडियनहरूको संस्था एआईबीले आरोप लागेका आफ्नो दुई संस्थापक सदस्य तन्मय भट्ट र गुरसिमान खम्बालाई अर्को सूचना नदिउन्जेसम्मका लागि एआईबीका सम्पूर्ण कामबाट मुक्त गरेको छ । मुम्बई अक्याडमी अब मुभिङ इमेजले एआईबीको ‘चिन्टुका बर्थ डे’ र रजत कपुरको ‘कदाख’ फिल्म आफूले आयोजना गरेको फिल्म फेस्टिबलमा देखाउन नसक्ने विज्ञप्ति जारी गरेको छ । उसले आफ्नो विज्ञप्तिमा यो अभियानलाई कार्यक्षेत्रमा हुने हिंसाका विषयमा बोल्न र समस्याको समाधान खोज्ने अवसरको रूपमा लिएको उल्लेख गरेर अन्य पीडितहरूलाई बोल्न प्रेरित गरेको छ ।
बहलले निर्देशन गरेको ‘सुपर ३०’ मा काम गरिरहेका नायक ह्तिक रोशनले यौन दुव्र्यवहारजस्तो संगीन आरोप लागेको निर्देशकसँग काम गर्नु आफ्ना लागि असम्भव कुरा हो भन्दै ट्विट गरेका छन् । आरोपीमध्ये केहीले आरोपको खण्डन गरेका छन् भने केहीले माफी मागेका छन् । टाइम्स अफ् इन्डियाका श्रीनिवासनले आफ्नो कार्यालयको छानबिन समितिमा आफूलाई सुम्पेको बताएका छन् । भारतीय सञ्चारमाध्यमका सम्पादकको संस्था एडिटर्स गिल्डले पीडित महिलाको अभियानलाई समर्थन गर्दै यस्ता घटनाहरूको स्वतन्त्र तथा निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ ।


महिला तथा बालबालिका विकासमन्त्री मेनका गान्धीले एमजे अकबरविरुद्धको आरोपको छानबिन हुनुपर्ने बताएकी छन् भने विदेश मन्त्री सुष्मा स्वराजले भने पत्रकारले सोधेको प्रश्न पन्छाएकी छन् । टेलिग्राफले आफ्ना संस्थापक सम्पादक अकबरका बारेमा पहिलो पृष्ठमा समाचार लेखेको छ । इन्डियन एक्स्प्रेसले पनि सञ्चारजगत्मा काम गर्ने महिलाहरूमाथि भएको यौन दुव्र्यवहारलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।


टाइम्स अफ इन्डियाका पूर्वकार्यकारी सम्पादक र डीएनएका पूर्वप्रधानसम्पादक गौतम अधिकारीले आरोप लागिसकेपछि सेन्टर फर अमेरिकन प्रोग्रेसको वरिष्ठ सदस्यबाट राजीनामा दिएका छन् । द वायरले यो घटनापछि आफ्नो कार्यालयका कोही कसैले यस्ता किसिमका दुव्र्यवहार भोगिरहेको छ भने आन्तरिक गुनासो समितिमा सम्पर्क गर्न वक्तव्य नै जारी गरेर आह्वान गरेको छ । सन्ध्या मेननले एक कार्यक्रममा आफूलाई केआर श्रीनिवासले मानहानिको नोटिस पठाएको बताएकी छन् भने तनुश्रीलाई नाना पाटेकर र विवेक अग्निहोत्रीले मानहानिको नोटिस पठाएका छन् । यी क्रिया–प्रतिक्रियाहरू हेर्दा मात्र पनि यस्तो देखिन्छ कि वर्षांैदेखि आफैंभित्र पीडा गुम्स्याएर बसेका महिलालाई अब कसैले रोक्न सक्दैन । उनीहरू अब बोलेरै छोड्छन् । धम्की, डर, चरित्रहत्या, जागिर गुम्नेजस्ता कुनै पनि कुराले अब उनीहरूलाई फरक पर्दैन । उनीहरूले वर्षौंदेखि लाज, डर, धम्की, जागिर, परिवार, समाज भनेर बन्द गरेको ओठ यसरी खोलेका छन्, दुव्र्यवहार गर्ने पुरुषहरूको सातो उडेको छ ।


यो अभियानमा लागेका महिलालाई सबैले ताली बजाएर वाहवाही मात्र गरेका छैनन्, धेरैले घटना हुनेबित्तिकै किन बोलेनौ भनेर प्रश्न पनि तेस्र्याएका छन् । घटनालगत्तै बोल्दा सन् २००८ मा तनुश्रीका लागि उनीहरूले के गरे भन्ने प्रश्नको भने यस्ता औंला उठाउनेसँग कुनै जवाफ छैन । भारतमा मात्र होइन, हलिउडमै पनि दुव्र्यवहारको सिकार भएका महिलाले यो प्रश्नको सामना गरे । पीडितहरूलाई भनियो— किन तिमीहरू होटलसम्म गयौ ? किन ऊसँग बसेर मद्यपान गर्‍यौ ? किन उसको उपहार लियौ ? किन घटना भएलगत्तै उजुरी गरेनौ ? आदि आदि । यो पीडितलाई निरुत्साहित गर्ने विश्वव्यापी प्रचलन हो । पीडितहरूले समयमै बोल्न नसक्नुलाई उनीहरूको कमजोरी बनाएर पीडकलाई उन्मुक्ति दिने पितृसत्ताको यो पुरानै र परिचित तरिका हो । माथि उल्लेख भएका ओरोपितहरूको पदको बारेमा यो लेख पढ्दै गर्दा ध्यान दिनुभयो ? राम्रोसँग हेर्नुस् त, आफ्नो पदको शक्तिको आडमा यी घटनाहरू भएका छन् र पीडितले सधैं डरको सामना गर्नुपरेको छ । परिवारको इज्जत बोकेर हिँड्न सिकाइएका महिलाहरू त्यही इज्जतको भारले थिचिएर बोल्न नसक्ने भएका छन् । आफूमाथि भएको दुव्र्यवहारका बोल्न पनि महिलाहरूलाई वर्षौं लागेको छ भने किन लाग्यो होला भनेर सोच्ने हो र त्यसको निकास खोज्ने हो । न कि तैंले पहिला बोलिनस्, अब बोल्न पाउँदिनस् भनेर मुख थुन्ने हो ।


मिटु अभियानको सुरुआत कम उमेरका महिला तथा निम्न आय भएका महिलाका लागि सुरु भए पनि चलचित्र र सञ्चारजगत्का महिलाको मञ्च बनेको जस्तो देखिन्छ । भारतमा अहिले मुखर भएर आएका प्राय: महिला चलचित्र र सञ्चारजगत्का छन् । अझ न्युज लन्ड्री नामक अनलाइन पोर्टलले यो अभियानमा अझै पनि हिन्दी भाषामा काम गर्ने सञ्चारमाध्यमका महिलाहरू बोल्न नसकेको लेखेको छ ।

नेपालमा मिटु ?
हाम्रो विद्यालयमा एक जना शिक्षकका बारेमा हामीभन्दा माथिल्ला कक्षाका दिदीहरू, हामीभन्दा तल्ला कक्षाका बहिनीहरूले सधैं खासखुस–खासखुस गरिरहे । फलाना सरले ब्राको रङ सोध्यो, ढाड मुसार्‍यो, हात समायोजस्ता कुराहरू भइरहन्थे । कसैले पनि हेडसरको कोठासम्म पुगेर ती सरका बारेमा उजुरी गरेको मेरो जानकारीमा छैन । न त कहिल्यै कुनै अभिभावक ‘फलाना सरले मेरो छोरीलाई यसरी छोयो रे’ भन्दै आएको पनि मैले सुनिनँ । यस्तो किन भयो त ? हामीलाई कहिल्यै पनि न घरमा, न विद्यालयमा यौन दुव्र्यवहार भनेको यो हो, यस्तो भइहाल्यो भने यसमा तिम्रो कुनै पनि गल्ती हुँदैन, हामीलाई भन भनेर भनिएन ।


मलाई लाग्दैन— अहिले पनि यौन दुव्र्यवहारविरुद्धमा हाम्रो परिवार, विद्यालय वा कार्यस्थलमा कसैले हामीलाई, हाम्रा नानीहरूलाई आश्वस्त पारेको छ । मैले काम गरेको कुनै पनि संस्थाले मलाई आजसम्म पनि के तिमी कुनै किसिमको दुव्र्यवहारमा परेकी छौ ? के तिम्रो केही भन्नु छ ? भनेर सोधेको छैन । हाम्रा छोरीहरूलाई पनि विद्यालयमा उनीहरूमाथि यौन दुव्र्यवहार भइहाल्यो भने कसलाई भन्नुपर्ने हो भनेर सिकाइएको छैन । के तपाईंले कहिल्यै आफ्नो परिवारमा केही गलत मान्छेका बारेमा संकेत गर्नेबाहेक कोही दुव्र्यवहारमा परिरहेको छ कि (?) भनेर सोध्नुभएको छ ? कार्यस्थलमा तपाईं हाकिम हुनुहुन्छ भने आफूभन्दा मुनिका कर्मचारीलाई सोध्नुभएको छ ? तपाईंको कार्यालयमा यस्ता दुव्र्यवहारबारेमा उजुरी गर्ने प्रणाली त छ के ? कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ लाई तपाईं काम गर्ने संस्थाले लागू गरेको छ ? यसबारेमा सुन्नु त भएको छ ? हामीलाई सधैँ हाम्रो परिवारमा, हामीमाथि, हाम्रो कार्यालयमा यस्तो घटना हुँदैन भन्ने भ्रममा हुन्छौं । यस्ता घटना सधैं अरूमाथि नै हुन्छ भन्ने हाम्रो सोचाइ हुन्छ । हाम्रो यो भ्रम पनि यस्ता घटनालाई बढावा दिन सहायक भइरहेको छ ।


हलिउडपछि एक वर्षमा भारतसम्म आएको मिटु अभियान नेपालमा पनि अवश्य आउँछ । २०७४ चैतको कुनै एक अंकमा नेपाली साप्ताहिक शुक्रबारमा संगीत क्षेत्रका महिलाहरूले आफूमाथि भएको यौन दुव्र्यवहारका विषयमा बोल्दा नेपालमा पनि मिटु अभियानको सुरुआत हुने हो कि भनेर आशा गरिए पनि त्यो यत्तिकै सेलाएर गयो । संगीतकारहरू यसको विरोधमा आए भने अन्यले पनि यो विषयमा खासै चासो देखाउन सकेनन् । अहिले ट्विटरमा फाट्टफुट्ट महिलाहरूले भन्न थालेका छन् कि म यौन हिंसाको सिकार भएकी छु । यस्तो बेलामा महिलाहरूलाई बोल्नका लागि प्रेरित गर्ने, उनीहरूको कुरामा विश्वास गर्ने वातावरण तयार गर्नुपर्ने हो तर यही बेलामा धमिलो पानीमा माछा मार्नेले ‘ह्विच हन्ट’ गरेर मान्छेलाई तर्साउन पनि उद्यत भएका छन् । यस्ता कुरा हुन्छन् । पितृसत्तात्मक समाजमा यो सहज कुरा होइन तर असहज कुरा पनि बिलाएर कहाँ जान्छ र ? बलात्कारजस्तो जघन्य अपराधमा अपराधी पत्ता लगाउन उदासीन सरकार भएको देशमा आफूमाथि भएका दुव्र्यवहारबारेमा भटाभट महिलाहरू बाहिर निस्केर बोल्छन् भन्ने अपेक्षा राख्न नसकिएला तर भारतमा पनि अहिले आरोप लागेका मान्छेका बारेमा फुसुरफुसुर चलेको निकै भइसकेको थियो । नेपालमा पनि अहिले एकआपासमा फुसुरफुसुर सुरु भएको छ । धेरै फुसुरफुसुरहरू बढ्दै गएपछि त्यसको ध्वनि ठूलै हुन्छ । अनि सबैले सुन्नेछन् । त्यतिखेर महिलाहरूले परिवारको इज्जत, लाज, चरिहत्या र जागिर गुम्ने डर सबथोक मिल्काएर बुलन्द भएर आफ्नो औंला पीडकतिर तेस्र्याउनेछन् र भन्नेछन्— यही मान्छे हो, मसँग दुव्र्यवहार गर्ने † अँ अनि त्यतिखेर पनि पितृसत्ताका इमानदार ठेकेदार महिला तथा पुरुषहरूले भन्नेछन्— अहिले बोल्ने हो ? किन फोनमा कुरा गरेका ? किन रातिराति हिँडेका ? किन हाँसेका ? किन बेलैमा नभनेका ? किन उत्तिबेलै झापड हान्न नसकेको ? तर त्यस्ता कुरालाई पीडितको साहसी आवाजले सजिलै दबाइदिनेछ, जसरी हलिउडमा दबायो, भारतमा दबिइरहेको छ । दुव्र्यवहारविरुद्ध बोल्न कुनै साइत हेर्नु पर्दैन । जुन दिन बोल्छन्, बुलन्द बोल्छन् । भनिन्छ नि— जब जागो तब सबेरा !
[email protected]

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?