कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

एक रातमा एघार

आवाज
म सोच्न विवश हुन्छु— के हाम्रो समयले हामी महिलाको उद्धारक रूपमा डेनिस मक्वेगजस्तै कुनै परोपकारी पुरुषलाई पर्खिरहको छ ? अथवा हामी सबै यौनदासी हौं र पर्खिरहेछौं, हामीबीचबाटै जन्मिने नादिया मुराद ?
उमा सुवेदी

काठमाडौँ — सन् २०१८को नोबेल शान्ति पुरस्कार इराककी नादिया मुराद र कंगोका डेनिस मक्वेगले हात पारे । यो समाचारले भन्दा उनीहरूलाई नोबेल पुरस्कार दिइनुको कारणले मेरो ध्यानाकर्षित गर्‍यो । उनीहरू दुवैले युद्धका बेला हुने बलात्कारविरुद्ध संघर्षमा महत्त्वपूर्ण योगदान गरेका रहेछन् ।

एक रातमा एघार

नादिया आफँै पनि इस्लामिक स्टेट भन्ने लडाकु समूहबाट अपहरित भएर यौनदासीसमेत बनिसकेकी रहिछन् । डेनिस मक्वेग भने स्त्री रोग विशेषज्ञ रहेछन्, जसले बलात्कृत हजारौं महिलाको उपचार गरेका रहेछन् ।


मेरो वरिपरि बलात्कार र महिला हिंसाका यति धेरै शृंखलाहरू घटित भइरहेका थिए र छन् कि म नादिया र मक्वेगोको उपलब्धिमा खुलेर खुसी हुनै सकिनँ ।
०००

यतिबेला रातको एघार बजेको छ । बाहिरको वातावरण चकमन्न र सुनसान छ । तर, मेरो कानमा तमाम बलात्कृत महिला र बालिकाहरूको चीत्कार प्रतिध्वनित भइरहेको छ । त्यो आवाज मेरो अन्तर्मनसम्म पसेको छ । मैले चीत्कारका कहालीलाग्दा आवाजहरूका बीचमा कञ्चनपुरकी निर्मलाको चीत्कार सुनेँ, जो अहिले यो संसारमा छैनन् र पनि उनी बलात्कारविरुद्ध उठेका आवाज र उचालिएका हातहरूको प्रतीक बनेकी छन् । उनको मधुरो मुस्कानसहितको तस्बिर यतिबेला मेरो स्मृतिमा सल्बलाइरहेको छ, जसले हाम्रो देशको पुलिस प्रशासनको कमजोर छविमाथि व्यंग्य गरिरहेको छ । निर्मलाको त्यो मुस्कान राज्यको लाचारीमाथिको भयानक प्रश्न हो । प्रश्न त छ तर यसको जवाफ गलत आइरहेको छ । प्रधानमन्त्री भन्नुहुन्छ, निर्मलाको बलात्कारी र हत्यारा पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ । कमरेड प्रचण्ड भन्नुहुन्छ, बलात्कारको घटना बढ्नुमा प्रतिपक्षीको षडयन्त्र छ । मलाई उहाँहरूको दरिद्र चिन्तनप्रति रूखो हाँसो छोड्न मन छ । तर, म यो मध्यरातमा हाँस्न पनि सक्दिनँ । यतिबेला मेरो दिमागमा सल्बलाइरहेका छन् ती एघार घटना, जो मैले एक रातमा सुनेकी थिएँ ।
***


केही दिनअघि म आफ्नो गृहनगर झापा पुगेकी थिएँ । त्यहाँ म कथा खोज्नका लागि गएकै थिइनँ । केही कामविशेषले हतारहतारमै पुगेकी थिएँ । एकै रातको बसाइ थियो मेरो । आफ्नो काम सकेर चन्द्रगढी नजिकै बहिनीको घर पुगेँ । निकै समय भएको थियो बहिनीसँग अन्तरंग कुराकानी हुन नपाएको । दिदीबहिनीका भलाकुसारीमा आधारात बिताउने मन थियो । तर, कुराकानीले यस्तो मोडमा पुर्‍यायो— जसले मेरो दिमागमा निकै तनाव, थुप्रै बोझ र केही प्रश्नहरू कोचिदियो । बहिनीले सुनाएका घटना कथाजस्तै लागे पनि ती रहस्य, रोमाञ्च या फयान्टासीले भरिपूर्ण थिएनन् । ती सामाजिक यथार्थवादको नाममा तयार भएका आख्यान पनि थिएनन् । ती त हाम्रो समाज वरिपरिका भयानक र नमीठा यथार्थ थिए जसले मलाई आजसम्म बेचैन बनाइरहेका छन् ।


ती घटना सुनाइरहँदा बहिनीको अनुहारमा गहिरो त्रास र पीडाको भाव देखिरहेकी थिएँ । ती भावहरू सर्लक्क मेरो मन र अनुहारमा सरिरहेका थिए । उसले सुनाई मलाई चन्द्रगढी नजिकै धनुषमोडमा भएको घटना । त्यहाँ एक जना मन्दिरका पुजारीले मन्दिरकै छेउछाउ बस्ने एउटी २ वर्षीया वालिकालाई प्रसादको लोभ देखाएर कोठामा लगेर बलात्कार गरेको थियो । बच्ची रुँदै र कन्दै घर पुगी । आमाले सोधेपछि पुजारीले गरेको सबै हर्कत खोली । पुजारी भाग्यो । पैँतीस दिनपछि ऊ भेटियो । तर, विडम्बना पुजारीको पक्षमै उभिए गाउँले र मन्दिर सञ्चालन समिति ।
***


बहिनीले सुनाई— झापाकै हल्दिबारीमा गत तीजको अघिल्लो दिन भएको घटना । घर नजिकै मामाघरमै बस्दै आएकी एघार वर्षकी बालिका । बालिकाका पिता वैदेशिक रोजगारमा गएका थिए । आमा मजदुरी गर्थिन् । त्यसैले बालिका आफ्ना हजुरबा–हजुरआमाको रेखदेखमा हुर्कँदै थिइन् । एघार वर्ष नपुग्दै बालिकालाई महिनाबारी भयो । लगत्तै उसको महिनावारी रोकियो । बालिकाको पेट अस्वाभाविक रूपमा बढ्दै गएपछि छरछिमेकका महिलाले बालिकाकी आमासँग कुरा गरे । तर, आमा आफैंलाई पनि एक पटक महिनावारी भएपछि छ महिनासम्म रोकिएको रहेछ । छोरीको पनि त्यस्तै भयो होला भनेर उनले यसलाई गम्भीरतापूर्वक लिइनन् । तर, छोरीको पेट बढ्दै गएपछि उनी सशंकित भइन् र जँचाउन लगिन् । अनि पो थाहा भयो, एघार वर्षकी आफ्नी छोरीको पेटमा सात महिनाको गर्भ रहेछ । यो कर्तुत अरू कसैको नभएर आफ्नै हजुरबुबाको रहेछ । ती बालिका अहिले माइती नेपालले संरक्षणमा छिन् र हजुरबा हिरासतमा छन् ।


बहिनीबाट सुनेँ— हल्दीवारीकै अर्को घटना । २१ वर्षे दाजुले ६ वर्षकी बहिनी बलात्कार गरेको । र, अर्को घटना सुनाई, उसले स्थानीय वीरेन्द्र माविमा कक्षा सातमा पढ्दै गरेकी बालिकाको व्यथा । बालिका आफ्नी ठूली आमाको घरमा पढ्न बसेकी रहिछ । त्यही घरमै आफ्नै ठूलो बाउ र ठूलो बाउको छोराले पटकपटक बलात्कार गरेका रहेछन् । बाबु र छोरा दुवै बलात्कारी । घटना सार्वजनिक भयो । बालिकाको पक्षमा पूरै स्कुल उर्लियो । पूरै चन्द्रगढी बजार उर्लियो । तर, बलात्कारीलाई कारबाहीको साटो घटना मिलापत्रमा गएर टुंगियो ।


झापाकै सालबाडीमा ७५ वर्षको वृद्धले एघार वर्षकी बालिकालाई गाउँकै उखुबारीमा लगेर बलात्कारको प्रयास गर्दै गर्दा स्थानीयले देखे । उमेरले मात्र वृद्ध मान्छे पहलमानै रहेछ । पूरै गाउँ र ३५ जना सुरक्षाकर्मीले बल्लबल्ल बूढालाई पक्रिन सकेका रहेछन् । बूढो अहिले जेलमा छ ।


२–३ वर्षअघि दमकका एक जना पत्रकारले आफ्नै छोरी बलात्कार गरेको घटना मैले सुनेकी थिएँ । बहिनीले फेरि सुनाएर मेरो दिमागलाई बिथोलिदिई । बलात्कारकै अभियोगमा जेल परेका एक जना अपराधीकी श्रीमतीसँग झापा जाँदा पटकपटक भेट हुन्छ मेरो । पढाइ कम, आफन्त र माइती कतैबाट पनि सहयोग नभएपछि उनी निरीह भएर त्यही बलात्कारी पतिलाई कुरेर बसेकी छन् । प्रेम विवाह गरेर आएकी ती युवतीको सानी छोरी पनि छिन् । गाउँलेहरूले उनीप्रति सहानुभूति प्रकट गर्नुको साटो बरु व्यंग्य गर्छन् । बिनाप्रसंग श्रीमान्ले गरेको कुकर्मका कुराबाट कुराकानी सुरु गर्छन् र अन्त्यमा लोग्नेलाई खुसी राख्न नसकेको र उसले बलात्कार गर्न पुगेकोजस्ता आरोप खन्याउँछन् । मानौँ, श्रीमान्ले गरेको कुकर्मको भागीदार उनै हुन् । उनलाई आफूले नखाएको विष लागेको छ । आफूले गर्दै नगरेको अपराधमा शिर निहुराएर हिँड्नुपरेको छ उनले । आफ्नी नाबालक छोरीको भविष्य सम्झेर भक्कानिन्छिन् उनी ।


बहिनीले एक रातमै सुनाएकी थिई आफ्नै वरिपरिका एघार बलात्कारका घटना र भनेकी थिई, ‘झापामा गएको चार पाँच महिनाभित्र हजारभन्दा माथि बलात्कारका केस अदालतमा
आएको छ ।’


उसले सुनाएको यो डाटाले थप तर्सायो मलाई । के सबै घटना अदालतसम्म पुग्छन् त ? अनेक डरधाक धम्की दिएर अदालतबाहिरै मिलापत्रमा टुंगिएका अझै कति घटनाहरू होलान् । त्यो रात मेरो दिमागमा दनदनी आगो बलेको थियो । म त्यही आगो बोकेर काठमाडांै उडेँ ।


मसँग कुनै ठूलो ब्याग थिएन । टयाक्सीवालासँग बार्गेनिङ गर्नुभन्दा सार्वजनिक यातायात उचित लाग्यो । एयरपोर्टको गेटबाहिर आएपछि महानगर यातायातको बसमा चढेँ । बसमा खासै भीड थिएन । मेरो सिटभन्दा पछाडि बीस–बाइस उमेरका तीन–चार जना केटाहरू आएर बसे । बस्नासाथ एउटाले आफ्नो साथीसित भन्यो, ‘आज साहुले तलब देला र गलफ्रेन्डसँग मोज गरौँला भनेको सालेले मेरो प्लान चौपट पारिदियो । हिजोदेखि उम्लेको हातैमा थाप्नुपर्ने भो आज पनि ।’


साथीले उक्सायो उसलाई, ‘मोज छ तँलाई । टिसर्ट फेरे जसरी गर्लफ्रेन्ड फेर्छस् साला । बेलाबेलामा हामीसित पनि सेयर गर्न केटीहरू । एक्लै मोज गर्छस् साला ।’
तेस्रोले झ्याल बाहिर हेर्‍यो र सडकमा हिँडिरहेका केही वयस्क महिलाहरूतिर हेर्दै फत्फतायो, ‘काठमाडांैका सेक्सी आमाहरूले कति धेरै फूलहरू जन्माएका । ओए, हेर् त त्यता । क्या सेक्सी आमा † त्यसले जन्माकी फूल झन् कति हट होली ।’
गर्लफ्रेन्डलाई उपभोग गर्न नपाएर भुत्भुतिएको केटोसित उसको अर्को साथीले सोध्यो, ‘अहिलेसम्म कति जना भो तेरो ?’
केटोले निर्धक्क जवाफ दियो, ‘भयो होला पन्ध–सोह्र जना ।’


गएराति बलात्कारका एघार घटनाका अनेक खालका फेहरिस्तले रन्थनिएको मेरो दिमाग यी चिचिलेहरूको संवादले झन् बिथोलियो । उनीहरू मभन्दा पहिला ओर्लिएँ बसबाट । म पनि केही मिनेटमै आफ्नो गन्तव्यमा ओर्लिएँ, प्रश्नहरूको बोझसहित । मेरो समाज किन म र मजस्ता महिलाहरूका लागि सुरक्षित छैन ? समाजमा न आमा सुरक्षित छन्, न छोरीहरू ? किन गर्लफेन्ड र पत्नी पनि सुरक्षित छैनन् ? किन सुरक्षित छैनन् मेरा छेउछाउका अबोध बालिकाहरू ? समाजलाई सुरक्षित गराउने दायित्व कसको हो ? राज्यको कि भगवान् पशुपतिनाथको ? किन देशका महान् भनिएका नेताहरू बलात्कारका घटना र त्यसविरुद्ध आम जनताले गरिरहेको प्रदर्शनलाई पनि प्रतिपक्षी पार्टीको षडयन्त्रका रूपमा बुझ्छन् ? किन देशका प्रधानमन्त्री पुलिसको कमजोर अनुसन्धानप्रति संवेदनशील नभएर उल्टो दोषी पत्ता लाग्न या अनुसन्धान टुंगोमा पुग्न १२ वर्ष पनि लाग्न सक्छ भनेर गैरजिम्मेवारी भाषण गर्छन्् ?
प्रश्न छ मसित र हामी सबैसित । तर, जवाफ दिनेहरू मौन छन् ।


र, यसै मेसोमा आउँछ बलात्कारविरुद्धका अभियन्ताहरूले नोबेल शान्ति पुरस्कार पाएको समाचार । यस्तो बेला आएको नोबेल शान्तिको समाचारले मेरो मनलाई शान्ति दिँदैन । अझ बेचैन बनाउँछ । म सोच्न विवश हुन्छु, हाम्रो समयले हामी महिलाको उद्धारक रूपमा के डेनिस मक्वेगजस्तै कुनै परोपकारी पुरुषलाई पर्खिरहको छ ? या हामी सबै यौनदासी हौं र पर्खिरहेछौं, हामीबीचबाटै जन्मिने नादिया मुराद ?


म चुपचाप प्रश्न सोधिरहेछु । जवाफ कताबाट, कसरी र कहिले आउँछ थाहा छैन । बस्, मलाई थाहा छ, असंख्य रातहरूझैं मेरो यो रात पनि अनिदो बित्ने छ र बिहान जब म उठ्नेछु, रेडियो या टेलिभिजनबाट कुनै पुरुषले प्रवचन दिइरहेको हुनेछ, ‘हामी महिलाहरूलाई पूजा गर्छौं । सम्मान गर्छौँ । त्यसैले हामी हाम्रा आमा, दिदी, बहिनी या छोरीहरूको नाम राख्छौं— भगवती, दुर्गा, पार्वती, सरस्वती, उमा, सावित्री आदिआदि ।’


ती महाशयलाई कसले भनिदेओस्— हामीलाई देवीदेउताको नाम चाहिएको हैन । हामीलाई त ढुक्कले बाँच्ने अधिकार चाहिएको हो । हामीलाई त्यस्तो संसार चाहिएको हो, जहाँ हामी महिला भएकै कारणले कुनै हजुरबा, बा, दाजुभाइ, काका, मामा, ठूलो बुबा, सानो बुबालगायतका पुरुषबाट असुरक्षित हुनु नपरोस् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?