कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

देवी : विम्ब र प्रसंग

बहस
दसैं नजिकिँदै जाँदा दोलखामा पाँचवर्षीय बालिका एउटा सरकारी कर्मचारीद्वारा बलात्कृत भएको समाचार पढ्दा रन्थन्नियो यो मन । कसरी गर्ने लैंगिक हिंसाको अन्त ? कहाँ छ समाधान ?
अर्चना थापा

काठमाडौँ — स्त्रीशक्तिको कल्पना एकातर्फ छ, शक्तिहीन स्त्रीको वास्तविकता अर्कातर्फ । बाहिरबाट गरिने पूजा एउटा छ, भित्री आराधना अर्कै । पोस्टरमा देवी पुजिन्छ तर बोलीवचनमा उनै देवी ‘घरभँडुवा’, ‘उग्रवादी’, ‘डलरवादी’ वा ‘डेभिएन्ट’ का रूपमा चिनिन्छिन् ।

देवी : विम्ब र प्रसंग

-‘बाघमाथि सवार देवी र मस्तिष्कमा अठोट बोकेका मान्छे हार्ने गर्दैनन् ।’

-‘जगाऔं देवी आफैंभित्र, अत्याचार संहारका लागि ।’
-‘मानवीकृत दानवहरूको संहारका निम्ति उठ निर्मला चण्डी बनी... ।’
-‘दुर्गा, काली र लक्ष्मीलाई पूजा गर्छ अनि छोरीहरूलाई बलात्कार र एसिड छयापेर मार्छ ।’

निर्मला हत्याकाण्डको केसमा आक्रोशित जनताका कविता, गजल र अन्य अभिव्यक्तिमा देवी प्रसंग बढ्न थाले । दुई महिना बितिसक्दा पनि निर्मला हत्याकाण्डको अपराधी समातिएन् । दण्डहीनताको प्रतिरोधमा जनता सडकमा ओर्ले । र्‍यालीमा केही घाइते भए र केहीले ज्यानसम्म गुमाए । बाबु उमेरका रामबाबु पासवानको शारीरिक सम्बन्ध प्रस्ताव अस्वीकार गर्दा सम्झना दासले एसिड आक्रमणमा ज्यान गुमाउनपर्‍यो । हिंसा, बलात्कार, तेजाब आक्रमण र हत्याको निरन्तरताले नागरिकहरू स्तब्ध हुँदा जनअभिव्यक्तिमा दुर्गा, काली र दावनका विम्बहरूको प्रयोग बढन थाल्यो ।


के दसैं नजिकिएको कारण देवीको विम्ब र प्रसंग बढेका हुन् त ? नेपालमा दसैं भनेको भगवती र आयुध पूजाको चाड हो । नास्तिकका लागि दसैं टीका र आशिष थाप्ने र दिने प्रतीकात्मक पारिवारिक चाड हो । दसैं चाड माने वा नमाने पनि प्राय:जसो दुर्गा र कालीका मिथकबाट कोही अपरिचित छैनन् । म हुर्केको पारिवारिक माहोल कट्टर धार्मिक नभए पनि दुर्गा र कालीका कथा मेरा प्रिय कथा थिए । जनावर बलिरहित दसैं, चण्डीपाठ र महाकाली अनुष्ठानरहितको दसैं र रातो माटोले लिपेको घरको बास्नारहितको काठमाडौंको दसैं ! रमाइलो हुन्थ्यो । सायद दक्षिणाको लालसा एउटा कारण थियो । दोस्रो कारण, नवमीको दिन छिमेकी आन्टीले विशेष निम्तो दिएर मलाई र अरू कन्याकेटी भेला पारेर पूजा गर्नुहुन्थ्यो । पूजापछि खाना र मिठाईका परिकार टन्न ख्वाएर उदारमनले दक्षिणा पनि दिनुहुन्थ्यो । त्यस दिन घाँटीमा सयपत्रीको माला भिरेर, हत्केलामा खुद्रा दक्षिणा बोकेर हिँड्दा आफूलाई भगवती स्वरूप धारण गरेको ठूलो भ्रम हुन्थ्यो । ‘छोरीको जन्म, हारेको कर्म’ जस्ता छोरी होच्याउने मानसिकताले थेचारेको बेला एक दिनको भगवती ‘परफर्मेन्स’ ले स्त्रीशक्तिबारे मनमा ठूलो भ्रम गराउँथ्यो । तर, भ्रम निवारण हुन समय पनि लाग्दैनथ्यो ।


सानोमा दैवीय दिव्यतामाथि सयप्रतिशत आस्था नभए पनि काली र दुर्गाको पोस्टर र मूर्तिअगाडि नतमस्तक जमात हेरेर नै शक्तिको भक्तिबारे मनमा प्रश्न उठ्न थालेको थियो । एकातिर अस्त्रशस्त्र सुसज्जित, रौद्ररूपधारिणी देवीको पोस्टर पुज्ने जमात ! अर्कोतिर, वास्तविक जीवनमा देखिएका शक्तिहीन, निरीह र निरुत्तर नारीलाई आदर्श नारी मान्ने
जमात ! स्त्रीशक्तिको विम्ब र वास्तविकताबीच थुप्रै अनुत्तरित प्रश्नहरू थिए । एकातिर स्त्रीशक्तिका बहुल स्वरूप (शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री), अर्कोतिर धार्मिक कथा र जीवनका वास्तविकताबीचको जटिलता नबुझे पनि मनमा ‘शक्ति’ को अन्धभक्तिबारे जिज्ञासा हुन थालेको थियो ।



स्त्रीशक्तिको भ्रम
हुर्किने क्रममा कन्यापूजाको निम्तो आउन बन्द भयो । उमेरसँगै दक्षिणा मोह पनि रित्तियो । तर, पीडक संहारनी, ‘कन्सोर्ट’ रहित देवीको विम्ब आकर्षणको विषय रहिरह्यो । काली र दुर्गाका विद्रोही स्वरूपले आदर्श नारीगुणलाई लत्याएजस्तो लाग्थ्यो । नारीशक्तिको उक्त विद्रोही स्वरूप मिथकीय कल्पनामा आधारित थियो । जबकि ब्राह्मणवादी ब्रह्माण्डको संरचना मर्दश्रेष्ठताबाट परिचालित छ । उक्त मानसिकताले थिचिएको संसारमा नारी शक्तिको पीडक संहारिनी स्वरूपलाई धार्मिक कर्मकाण्डभन्दा पनि स्त्रीशक्तिको परिचायकको रूपमा देख्न थालेकी थिएँ ।


हुन त स्त्रीशक्तिको मिथक र संकथन मन बहलाउने कथा मात्र बनेका छन् । किनकि सामाजिक संरचनाको सत्य मर्दश्रेष्ठ मानसिकता नै हो । तर पनि जब महिला हिंसाका विषयमा कुरा उठ्छ, संस्कृतिवादीहरूको तर्क हुन्छ, ‘हाम्रो संस्कृतिमा नारी सदैव पूजनीय छन् । मानौं, ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता:’ श्लोक नै महिला मुक्तिको ‘पूर्वीय नारीवादी’ मन्त्र हो । दमनविरुद्ध सक्रिय देखिएकी भगवतीको पूजा गरे पनि समाजका अन्य विधिविधान, दर्शन, ज्ञान, आचारविचार र आचरण सबै मर्दश्रेष्ठताको मानसिकताबाट सञ्चालित छन् । ज्ञानका ठेलीहरूमा नारीअस्तित्वलाई पुरुषआश्रिताको रूपमा परिभाषित गरिएको छ । मुलुकको विधि, शासनव्यवस्ता र नागरिकताको नियमसमेत त्यही सोचबाट निर्देशित छ । उदाहरण, आमाको परिचय हुँदाहुँदै पनि बच्चाले वंशजको नागरिकता पाउन बाबुको परिचय खुलाउनुपर्ने व्यवधान छ ।

अपराधको अत्याचार
धर्म निरपेक्ष भए पनि देवी र कुमारी पुजिने राज्य एकाएक सकारात्मक परिवर्तनको संघारमा पुगेजस्तो लाग्यो, जब देशका तीन महत्त्वपूर्ण पद (राष्ट्राध्यक्ष, सभामुख र प्रधानन्यायाधीश) मा नारी नियुक्त भए । जनआशा जाग्नु स्वाभाविक थियो । लाग्यो, नारी नेतृत्वअन्तर्गत देशका आधाभन्दा बढी जनसंख्यासित जोडिएका विषयहरूमा सुधार हुनेछ । लाग्यो, विशेषत: उत्पीडित वर्ग, जात र समूहका नारीहरूका समस्याहरू सम्बोधन हुनेछन् । आशा जाग्यो, अपराध, हिंसा, विभेद र लैंगिक उत्पीडनबारे राज्यका जिम्मेवार निकायहरू सजग र संवेदनशील हुनेछन् । लाग्यो, मर्दवादी सामन्ती सोचबाट निर्देशित राज्यमा नारी नेतृत्वको हस्तक्षेपकारी भूमिका हुनेछ र समानता र समावेशिताका विषय मुख्य हुनेछन् ।


हुन त नारी नेतृत्वअन्तर्गत के कस्ता सकारात्मक काम भए त्यसको मूल्यांकन हुन बाँकी नै छ । तर, केही नयाँ कानुन बने । फितलो कार्यान्वयन पक्षको कारण ती प्रभावकारी देखिँदैनन् । समाजमा जघन्य अपराधका घटनाहरू अकल्पनीय रूपले बढेका छन् । काखे बालिकादेखि वृद्धाण्सम्म बलात्कृत भएको खबरले मर्माहत तुल्याए पनि अपराध समाधान देखिएको छैन । गोदामचौर बलात्कार केस, माया विक केस, जातपात र छुवाछूतको आरोपमा दलितले भोगेका हिंसाका केस, शारीरिक सम्बन्धको प्रस्तावलाई अस्वीकार गर्दा तेजाब आक्रमणमा ज्यान गुमाएकी सम्झनाको केस र वसन्ती परियारमाथि भएका हिंसाका घटना केवल प्रतिनिधि केस मात्रै हुन् । दुई महिना बितिसक्दा पनि निर्मला हत्याकाण्डको अपराधी पक्राउ परेको छैन । पोस्टरका देवी पुज्ने र संस्कृतिको दुहाई दिँदै ‘यत्र नार्यस्तु पूज्यन्ते...’ को पक्षमा तर्क गर्नेहरूलाई नारी उत्पीडन र लैंगिक समानताका विषय ‘टयाउँटयाउँ’ लाग्छ । मर्दश्रेष्ठताको सोचले गर्दा एकातिर कुत्सित अपराध र हिंसाको सामान्यीकरण गरेको छ भने अर्काेतिर दोष सबै पीडितप्रति तेर्‍साएर पीडितलाई थप पीडित बनाएको छ । अपराधको कारण देखाउँदा भनिन्छ— उत्ताउली भएको कारण, अंग प्रदर्शन गरेको कारण, एक्लै हिँडेको कारण, शारीरिक सम्बन्धको प्रस्ताव नमानेको कारण, रक्सी खाएको कारण, सुन्दर भएको कारण अपराधीले अपराध गरेको हो । असहय हुन्छ जब शक्तिको भक्ति गर्ने सांसद, नेता, नारी अगुवाले नारीमाथि हुने हिंसालाई सरकारविरुद्धको षडयन्त्र भन्दै व्याख्या गर्छन् ।

त्यतिबेला लाग्छ ती सबै शक्तिको भक्ति कीर्तनमा डुबेका छन् । नेतृत्वतहमा पुग्न लालायित अन्य केहीका लागि नारीका विषय अवसरवादी ‘परफर्मेन्स’ बनेको छ । किनकि मर्दश्रेष्ठताको सोचबाट निर्देशित राज्यमा शक्तिको भक्ति गर्नेलाई पुरस्कार र आलोचना गर्नेलाई दण्डको व्यवस्था हुन्छ । सायद त्यसै कारण पोस्टरमा देखिने स्त्रीशक्ति वा ‘एजेन्सी’ ले दसैंताका क्षणिक वैधानिकता पाए पनि ‘एजेन्सी’ भएका महिलालाई ‘घरभँडुवा’, ‘उग्रवादी’, ‘डलरवादी र ‘डेभिएन्ट’ भनेर सधैं सार्वजनिक रूपमा गाली र अपशब्द प्रयोग गरिन्छ ।

कहाँ छ समाधान ?
नागरिक हक, हित संरक्षणको जिम्मा राज्यको हो । तर, जब राज्य आफ्नो दायित्वप्रति अनुत्तरदायी हुन्छ नागरिक सडकमा ओर्लन्छन् । दु:खको कुरा आधाभन्दा बढी महिला रहेको संसदीय समितिले पनि समाजमा बढेको हिंसा र दुव्र्यवहारबारे खुलेर बोलेका छैनन् । उच्च पदको आशामा रहेका व्यक्ति मात्र नभई अन्य थुप्रै महिला सांसदसमेत शक्तिको भजनकीर्तनमा निर्लिप्त देखिन्छन् ।


दसैं नजिकिँदै जाँदा दोलखामा पाँचवर्षीय बालिका एउटा सरकारी कर्मचारीद्वारा बलात्कृत भएको समाचार पढ्दा रन्थन्नियो यो मन । कसरी गर्ने लैंगिक हिंसाको अन्त ? कहाँ छ समाधान ? सिडा अभिसन्धि र संयुक्त राष्ट्र संघका सन्धिहरूको कार्यान्वयन खोइ ? केही सजग नारीहरूले यस्तै प्रश्न उठाउँदा पश्चिमी नारीवादको नक्कल गरेको र डलर खाओवादको पक्षमा तर्क गरेको आरोप खप्न बाध्य छन् ! ‘एजेन्सी’ भएका स्त्रीशक्तिका ‘आर्किटाइपल’ (दुर्गा र काली) संकथनलाई पुनव्र्याख्या गर्दा रूढिवादिताको आरोप लाग्छ ! मर्दश्रेष्ठताको प्रभुत्वमा रमाउने समाजमा स्त्रीशक्तिका प्रतीक र विम्बहरूको महाअकाल छ । प्रतीकहरूको पुनव्र्याख्या भएको छैन ।


ट्विटरमा एक जनाले सम्झना दासको फोटोसँगै इन्द्रजात्राका कुमारीको फोटो राख्दै लेखे, ‘कहाँ छन् देवी ? एक्कै दिनका दुई प्रतिमा !’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले निर्मला केसबारे कान्तिपुरमा लेख्नुभयो,‘...भगवान्को घरमा देरी हुन सक्छ, अँध्यारो हुन सक्दैन ।’


के लोकतान्त्रिक राज्यका न्यायालय र सुरक्षा निकाय पनि मर्द मानसिकताबाट ग्रसित भएकाले भगवान् गुहारेको हो ? पूर्वप्रधानन्यायाधीशको भगवान् शरणम् अभिव्यक्ति (प्रतीकात्मक भए पनि) ले नैराश्यतातिर इसारा गर्छ ? वा दसैंमा देवी पूजा गर्ने र इन्द्रजात्रामा कुमारी पूजा गर्ने पाखण्डी समाजको द्वैधचरित्र उजागर गर्छ ?

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?