भूपू भैरव भगवान्

पात्र
इन्द्रजात्राका बेला रथ यात्रा गरिने तीन देवताहरूमध्ये कुमारीका लागि मात्रै छुट्टै बस्ने व्यवस्था गरिएको छ । गणेश र भैरव बन्ने बालकहरू आ–आफ्नै घरमा बस्छन् । उनीहरू कुमारीजस्तै घरबाट निस्कन नपाइने भन्ने हुँदैन ।
सुरेश किरण

काठमाडौँ — हाल जीवित रहेका भूतपूर्व भैरवमध्ये इन्द्रबहादुर शाक्य सबैभन्दा जेठा हुन् । इन्द्रपछि अरू सात जना भैरव आइसके । आफू कुनै बेलाको भगवान् हुँ भनी सम्झँदा पनि इन्द्र गौरव महसुस गर्छन् । उनका बुझाइमा, उनका भोगाइमा ‘भगवान् हुन पाउनु ठूलै भाग्य हो ।’

भूपू भैरव भगवान्

२००७ सालको इन्द्रजात्रा । राणा शासनको अन्तिम इन्द्रजात्रा । तत्कालीन राणा सरकारविरुद्ध प्रदर्शन गर्न गणेशमान सिंहले रोजेको उपयुक्त दिन थियो, त्यो इन्द्रजात्रा । स्मरण रहोस्, गणेशमान सिंहले एक पटक इन्द्रजात्राकै दिन राणा प्रधानमन्त्री सवारी भएको बेला बम पड्काउने योजनासहित कुमारीको रथयात्रा चलाउने विभिन्न स्थानहरूमा विस्फोटक पदार्थ जम्मासमेत गरिसकेको थियो । तर, राणा शासकहरूले बीचैमा थाहा पाउँदा त्यो काम गर्न पाएन । ०७ सालको इन्द्रजात्रामा चाहिँ बम पड्काउने होइन, कुमारीको दर्शन गर्न आउने राणा प्रधानमन्त्रीसामु प्रदर्शन गर्ने कार्यक्रम कांग्रेसले बनाएको थियो ।

०७ सालको भदौमा कुमारीको रथ तान्ने तयारी भइरहेको थियो । वसन्तपुरमा कुमारीको पूजा भइरहँदा उता नयाँ सडकतिर प्रदर्शन सुरु भइहाल्यो । इन्द्रजात्राजस्तो ठूलो पर्व, त्यसै पनि मानिसको घुइँचो हुने समय । त्यसमाथि कांग्रेसको प्रदर्शनले जात्रा बिथोलिनेसमेत आशंका हुन थाल्यो ।


त्यसबेला कुमारीको रथ तान्दा राणा प्रधानमन्त्रीहरू पनि हस्ते हैँसे भन्दै रथको पछिपछि यात्रामा सहभागी हुने गर्थे । त्यो वर्ष राणा प्रधानमन्त्री मोहनशमशेर रथको पछि लागेनन् । जात्रामा तानिने तीनवटै खटमा बिराजमान देवी र देवताहरूको दर्शन गरी उनी फर्किहाले । त्यो दिन प्रधानमन्त्री मोहनशमशेर देशमा कुनै बिघ्न नहोस् भनी पहिलेभन्दा ठूलो पूजा लिएर आएका थिए । नारायणहिटीबाट पनि ठूलै पूजा आएको थियो ।


प्रजातन्त्रप्रेमी कार्यकर्ताहरूको नाराबाजी र जुलुसबीच कुमारीको रथयात्रा पनि सुरु भयो । श्रद्धालुहरू अन्योलग्रस्त थिए । विसं १८२५ मा गोरखाका राजा पृथ्वीनारायण शाहले पनि
इन्द्रजात्राकै हूलमूलमा काठमाडौं आक्रमण गरी कब्जा गरेका थिए ।


प्रजातन्त्रप्रेमीको नाराबाजी र श्रद्धालुहरूको भयातुरबीच चलिरहेको त्यो जात्रा रथभित्रै बसेर अनौठो मानी हेरिरहेका थिए— इन्द्रबहादुर शाक्य । शाक्य रथभित्रै किन थिए भन्दा उनी आफैं त्यतिबेला श्री भैरवका रूपमा रथको आसनमा बिराजमान थिए । इन्द्रजात्राका बेला कुमारीको रथ तान्दा साथसाथै गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । त्यतिबेला भैरवको रथमा इन्द्रबहादुर शाक्य थिए भने गणेशको रथमा अकलबहादुर शाक्य थिए । इन्द्रबहादुर भैरव छनोट भइसकेपछिको पहिलो रथयात्रा थियो त्यो ।


कुमारीजस्तै गणेश र भैरव पनि शाक्य परिवारबाटै छनोट गरिन्छ । बालकैमा देवता बनाइएका उनीहरू किशोर उमेर पुगेपछि, अझ खासगरी रथमा बस्न नमिल्ने देखिएपछि, आसनबाट निकाली अर्को छान्ने गरिन्छ । इन्द्रबहादुर २००६ सालमा भैरव छानिएका थिए । त्यसबेला उनी ११ वर्षका थिए । उनलाई सम्झना छ, छानिनुअघि उनलाई सिंहदरबार लगी तत्कालीन प्रधानमन्त्री मोहनशमशेरसामु परिचय गराइएको थियो । साथै चिना पनि देखाइएको थियो । त्यसको सात दिनपछि राजाबाट स्वीकृत भयो भन्दै उनलाई भैरवको आसनमा बिराजमान गराइएको थियो ।


०७ सालको इन्द्रजात्रामा उनी पहिलो पटक रथ चढेका थिए । त्यही साल आन्दोलन चर्कियो । इन्द्रजात्राकै बेला सुरु भएको त्यो आन्दोलन मच्चिँदै जाँदा माघमा राजा त्रिभुवन दरबार छोडी भारतीय दूतावास गए । त्यसपछि दिल्ली नै लागे । फागुनमा फर्केपछि देशमा प्रजातन्त्र बहाली गरे ।


देशमा प्रजातन्त्र आएपछि कुमारी घरमा इन्द्रजात्राका बेला गरिने प्रचलनहरूमा पनि केही परिवर्तन हुन थाल्यो । राणा प्रधानमन्त्रीका ठाउँमा राजाहरू आफैं आई टीका थाप्न थाले । खासगरी इन्द्रजात्राको अन्तिम दिन (नानिचा या:) को राति राजा र राजपरिवारका सदस्यहरू कुमारीको हातबाट टीका थाप्न कुमारी घर आउने गर्छन् ।


इन्द्रबहादुरलाई याद छ, टीका थाप्न आउँदा राजा त्रिभुवन त कुमारीलगायत गणेश र भैरवको समेत गोडा ढोग्छन् । उनका छोरा तत्कालीन युवराज महेन्द्रले भने गोडा नढोगी नमस्ते मात्रै गरे । तर, त्रिभुवनले उनको टाउकै समाई तीन जनै देवी र देवताहरूको खुट्टा ढोग्न लगाए ।


आफू भैरवको रूपमा आसनका बसेकै बेला देशमा राजनीतिक परिवर्तन भएको त्यो घटना इन्द्रबहादुर रोमाञ्चित हुँदै सम्झन्छन् । राजा त्रिभुवन मृत्युअघिसम्म हरेक साल टीका लगाउन आउँथे ।


उनलाई सम्झना छ, एक साल इन्द्रजात्राकै बेला उनीमाथि कोप भएको थियो । लगन टोलस्थित आफ्नो घरबाट जात्राका लागि निस्कन लाग्दा उनी अशक्त बने । पुजारीले दिएको सगुनसमेत उनले ग्रहण गरेनन् । जात्रा सुरु हुने बेला भइसक्यो, यता भने उनको अवस्था खराब हुँदै थियो । आखिर दरबारमा समेत यसको खबर पुर्‍याइयो । बल्ल विभिन्न पूजाआजा गरी उनलाई जात्रामा सहभागी गराइयो । त्यही साल राजा त्रिभुवनको निधन भयो ।


इन्द्रबहादुर अहिले सम्झन्छन्, ‘त्यो सायद राजाको अशुभ संकेत पो थियो कि ?’


इन्द्रजात्राका बेला रथ यात्रा गरिने तीन देवताहरूमध्ये कुमारीका लागि मात्रै छुट्टै बस्ने व्यवस्था गरिएको छ । गणेश र भैरव बन्ने बालकहरू आ–आफ्नै घरमा बस्छन् । उनीहरू कुमारीजस्तै घरबाट निस्कन नपाइने भन्ने हुँदैन । तर, बाहिर निस्कन पाएपछि विभिन्न नियमहरू भने पालना गर्नुपर्ने हुन्छ । घरमा बस्दा पनि उनीहरूले जामाजस्तै लुगा लगाउनुपर्छ । अरूले जस्तो कमिज पाइन्छ लगाउनु हुँदैन । कपाल काट्नु हुँदैन । जटा बनाएर राख्नुपर्छ । बाहिर गए पनि खोला नाघेर कहीं जानु हुँदैन । कसैको जुठो खानु हुँदैन । छोइछिटो होला भनेर भोजभतेर पनि जानु हुँदैन । त्यो पनि एक किसिमको समर्पण नै हो ।


इन्द्रबहादुर २०१४ सालमा आसनबाट झरे । त्यतिबेला उनी १७ वर्ष पुगिसकेको थियो । केही समय घरमै बसे । जीवन चलाउन केही रोजगारी त गर्नैपर्‍यो । खास समस्या हुने भनेको यही बेला हो । देउता भइसकेको मान्छे । जे पायो त्यही काम गर्नु पनि भएन । तर, राम्रो काम दिने कसले ? यो एउटा समस्याचाहिँ राज्यले नै समाधान गरिदिनुपर्ने ठान्छन् इन्द्रबहादुर । उनलाई त त्यतिबेला दरबारमा राम्रो पहुँच भएका हंसमान सिंहले टक्सार विभागमा जागिर लगाइदिए । त्यसैले खासै समस्या भएन । तर, अरू पूर्व गणेश र पूर्व भैरवहरू भने संकटबाट गुज्रिनुपरेको उनको गुनासो छ । उसै पनि समाजले पूर्व कुमारीलाई चाहिँ पछिसम्मै सम्झिरहेका हुन्छन्, पूर्व भैरव व पूर्व गणेश भने आसनबाट झरिसकेपछि गायबजस्तै बन्न पुग्ने पनि उनको दुखेसो छ ।


पहिलेपहिले त गणेश र भैरव हुने बालकहरूलाई सरकारले वार्षिक ३ मुरी धान उपलब्ध गराइन्थ्यो । पछि त्यसलाई सुधार गरी कौशी तोषाखानाले वार्षिक ५ सय रुपैयाँ दिन थाल्यो । अहिले पूर्व गणेश र पूर्व भैरवलाई सरकारले मासिक ३७ सय ५० रुपैयाँ श्रीपद भत्ता दिने गर्छ भने काठमाडौं महानगरपालिकाले मासिक ८ हजार रुपैयाँ प्रदान गर्छ । बहालवाला गणेश र भैरवलाई सरकारबाट मासिक ७५ सय रुपैयाँ र काठमाडौं महानगरपालिकाले मासिक १५ हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।


हाल जीवित रहेका पूर्व भैरवमध्ये इन्द्रबहादुर सबैभन्दा ज्येष्ठ हुन् । उनीपछि अरू सात जना भैरव आइसके । आफ्नो भैरवकालीन अवधि सम्झँदै उनी भन्छन्, ‘भगवान् हुन पाउनु ठूलै भाग्य हो । आफू कुनै बेलाको भगवान् हुँ भनी सम्झँदा अहिले पनि गौरव महसुस हुन्छ ।’

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?