बकिङघम प्यालेस हुँदै मार्क्स

नियात्रा
ब्रिटिस राजमा अलिकता सहिष्णुता छ, ओली राजमा चौतर्फी असहिष्णुता छ । लाग्छ, ओली राजको क्रूर असहिष्णुता हिन्दु उन्मादी मोदी राजबाट प्रेरित छ । र, यो कमरेड सिजिन पिङको एकल स्वेच्छाचारतर्फ लम्किन उपद्रो जिद्दी गरिरहेछ ।
खगेन्द्र संग्रौला

काठमाडौँ — बकिङघम प्यालेसले सम्झाउँछ सिंहदरबार, शीतलनिवास दरबार र बालुवाटार दरबार । यी जिनिसहरूमा बेलायतको संसदीय थिति र नेपालको संसदीय बेथिति जब देख्छु, मेरो मन त्यसैत्यसै उद्विग्न हुन्छ ।

समयले अगस्त ३ टेकेको छ । म विश्वको बूढो बाघ यूकेमा छु ।


अचम्म लाग्छ, मानिस जहाँसुकै जाओस्, कसरी उसलाई आफ्नै सम्झनाका अमिट छापहरूले नित्य पछयाइरहन्छन् † देहलाई आफ्नै छायाले निरन्तर पछयाएजस्तै । यसबाट कसैगरी छुट्कारा पाउन सकिँदैन । विस्मरणको व्यथाले यो आखेटबाट छुट्कारा त दिन्छ तर त्यसबखत जीवन आशा र निराशा, सुख र दु:ख, जय र पराजयको कथामाला बोकी हिँड्ने जीवन्त जीवन नै रहँदैन । रहन्छ त केवल स्मृतिशून्य हाडमासुको थुप्रो मात्र । त्यो जीवनमा न आफ्ना लागि कुनै उपयोगिता बाँकी रहन्छ न अरूका लागि । मलाई हाल विस्मरणबाट पीडित रसिक एवं विनोदी मित्र डीपी भण्डारीको याद आउँछ, र मन त्यसैत्यसै अमिलो हुन्छ ।


म एघार नम्बरी बाहनले औद्योगिक क्रान्ति र संसदीय शासन व्यवस्थाको जननी लन्डनका सडकहरू नाप्दै छु । साथमा राई त्रिमूर्ति अगुवा छन् । नरेश, मनकुमार र किरण राई । जब म लन्डनको सडक नियाल्छु, यसले मलाई आफ्नै काठमाडौँको सडक सम्झाउँछ । अनि लन्डन सहरले काठमाडौँ सहर । अनि बकिङघम प्यालेसले सम्झाउँछ सिंहदरबार, शीतल निवास दरबार र बालुवाटार दरबार । यी जिनिसहरूमा बेलायतको संसदीय थिति र नेपालको संसदीय बेथिति जब देख्छु, मेरो मन त्यसैत्यसै उद्विग्न हुन्छ ।


काठमाडौँका सडकका भद्रगोल दृश्यहरू मनको पर्दामा प्रकट हुन्छन् । सडकमा जता हेर्‍यो, बर्दीधारी ट्राफिक प्रहरीहरू देखिन्छन् । र, ठाउँठाउँमा देखिन्छन् बन्दुकधारी जवानहरू । टोपीधारी शासकका दरबारहरूमा त झन् राइफलधारी फौजीहरूका झुन्डै हुन्छन् । हेर्छु, लन्डनका सडकहरूमा न कतै ट्राफिक प्रहरी छ न छ कतै बन्दुकधारी जबान । तैपनि सडकमा ट्राफिक अनुशासन र मर्यादा शानदार छ † यो यस्तो किन छ ब्रो ? के को प्रेरणाले ? के–के प्रभावले ? केको निर्देशले ? वा केको डरले ? भाइ गाइडहरू भन्छन्— दाइ, यो जासुसी यन्त्रको कमाल हो । सडक किनारमा ठाउँठाउँमा जासुसी क्यामेरा जडान गरिएका छन् । ती अहोरात्र जाग्राम बस्छन्, र तिनले आँखाले भ्याएसम्म देखिने सडकको मिहिन जासुसी गर्छन् । छिसिक्क ट्राफिक नियम तोडयो कि तोडाहा ब्रो फसिहाल्यो । फस्ने हुस्सुलाई थाहापत्तो छैन, फसाउने चतुरेले उता पुर्जी काटिसक्यो । भोलिपल्ट जरिमानाको पुर्जी टयाक्क घरैमा हाजिर हुन्छ । बेलैमा तिरे केही राहत मिल्छ, विलम्ब गरे सरकारले जरिमानाको पनि जरिमाना असुल्छ ।


हुन त लन्डनका सडकमा भन्नु मात्र ट्राफिक प्रहरी छैन । वास्तवमा त्यहाँ प्रहरी नै प्रहरीको नित्य लावालस्कर छ । कुरो गजप छ † त्यहाँ प्रत्येक नागरिक सादा पोसाकधारी ट्राफिक प्रहरी हो । एउटाले नियम तोडेको देख्यो कि अर्काले जिब्रो निकालेर यसोक्क गिज्याइहाल्छ । जहाँका नागरिकमा लाज पचेको छैन, त्यहाँ गिज्याइले अचुक काम गर्छ । नियम तोड्नेलाई लाज लाग्छ । भित्रभित्रै ऊ पछुताउँछ । र, ऊ कान समातेर संकल्प गर्छ— हैट्, आइन्दा म... । त्यसउप्रान्त ऊ नियमको इज्जत गर्छ । अनि ऊ आफूलाई मर्यादाको वशमा राख्छ । यो नागरिक चेतना केवल एक दिन कानुनको डन्डा हल्लाएर बन्दैन । धेरै दिनको कानुनी डन्डा र नागिकको सचेत अभ्यासबाट बन्ने संस्कार हो यो । यो वास्तवमा दण्ड र पुरस्कार एवं निन्दा र प्रशंसाबाट निसृत भावनाको उपज हो । र, यो आफूलाई हर्दम अरूका आँखाले हेर्ने शिष्टताको द्योतक पनि हो ।
***

म सडक नाप्दै बेलायती बडामहारानीको बकिङघम दरबार हेर्न गएँ । जे अपेक्षित थियो, त्यहाँ मैले त्यो देखिनँ । जे देखेँ, त्यसबाट म हुनुसम्म चकित भएँ । दरबार, त्यो पनि जस्ताजस्ताको होइन, बेलायती महारानीको † तर अचम्म छ, दरबारवरिपरि बर्दीधारी र बन्दुकधारीको नाकमुख कतै देख्नु छैन । अहँ, फिटिक्कै, एउटै । त्यहाँ कुनै शासकीय ठाँटबाँट छैन । न त त्यहाँ हैकमी दम्भ प्रदर्शन नै छ । यता हाम्रातिरको शीतल निवास दरबार उता लन्डनमा मेरासामु फुत्त हाजिर भयो । अनि पछि लागेर आयो सिंहदरबार । अनि बालुवाटार दरबार । हेर्छु, यी सबै दरबारमा बर्दीधारी र बन्दुकधारीहरूका झुप्पा छन् । नागरिकका लागि सेरोफेरोको वातावरण बन्देजकारी छ, भयकारी छ । त्यहाँ धक्कुबाज शासकहरूका धकलाग्दा बर्दी र बन्दुकहरूका अदृश्य पर्खालहरू खडा गरिएका छन् । जननिर्वाचित भनाउँदो र जनप्रतिनिधि नामधारी ठालु यो पर्खालभित्र बस्छ । आम मानिस पर्खालबाहिर । भुइँफुट्टा हिरोद्वारा आफूलाई सामान्यजनभन्दा बेग्लो र विशिष्ट एवं उच्च र वरिष्ठ देखाउन बनाइएको मैमत्त अहंकारको पर्खाल हो यो । यो पर्खालभित्र र बाहिरको मनोवैज्ञानिक दूरी कति कति लामो छ † जो भित्र छ, ऊ आफूलाई राजा वा रानी ठान्छ । र, बाहिरकाहरूलाई ऊ तिरष्कार गर्छ, अपमान गर्छ, हेप्छ, ठग्छ र हर्दम सताउँछ । तथापि ढोँगी अभिनय गर्दै ऊ भन्न छाड्दैन— म प्रजातन्त्रवादी । म जनवादी । म कम्निस्ट । म समाजवादउन्मुख ।


बकिङघम प्यालेसबाहिर शिवरात्रि मेलामा झैँ रमितेहरू कमिलाको गोलोसरी स्याउँस्याउँती छन् । आउने आउँदा छन्, जाने जाँदा छन्, बात मार्ने मार्दा छन्, छिल्लिने छिल्लिँदा छन्, फोटा खिच्ने खिच्दा छन् । त्यहाँ कहीँ कतै कुनै रोकटोक छैन, छेकथुन छैन । रमितेजनमा त्यहाँ एकरत्ती संकोच छैन, भय छैन । कम्निस्टको पाङदुरे पगरी गुथेका हाम्रा शासकहरू भन्छन्— हाम्रो शासनको बान्की बेलायतको जस्तो झर्रो संसदीय किमार्थ होइन । यो त्योभन्दा उन्नत हो । यो त्योभन्दा फराकिलो हो । र, यो त्योभन्दा कता हो कता जनमुखी हो । यी पिपलपाते ब्रोहरू भन्छन् यसो र गर्छन् उसो । यी गर्छन् आखिर के ? राणशाहीतुल्य हैकमी दम्भ प्रदर्शन गर्दै यी आफ्ना दरबारदेखि कोसौँ परका ससाना खाली डबलीहरूमा निषेधाज्ञा थोपर्छन् । यी ठालुहरू मानौँ सचेत नागरिकले आफ्नो दुष्ट मति र भ्रष्ट आचरण देख्लान् र आफ्नो नाकतिर चुनौतीकारी औँला ठडयाउलान् भनी भयाक्रान्त छन् । र नै त यी निरङ्कुश जीवातहरू नागरिकहरूका आँखा, कान र मुख थुन्न आतुर छन् ।


प्यालेसबाहिर मण्डपमाथि एक भव्य प्रतीक छ । स्वतन्त्रता र ममताको प्रतीक । जसको गजुरमा पँखेटा फिँजाएर मुक्त आकाशमा उड्न लागेको चरो छ, र तल सबैतिर छन् कलिला लालाबोला बोकेका ममतामयी आमाहरू । मेरालागि त्यहाँको सुन्दरतम् र अविस्मरणीय दृश्य त्यही हो, त्यही स्वतन्त्रता र ममताको मनोरम प्रतीक !


अँ, प्यालेसबाहिर शासकीय दम्भ र शान झल्किने एउटै मात्र चीज दृष्टिगोचर भयो । त्यो हो, क्रुद्ध प्रतीत हुने घोडा र त्यसमाथि सवार पुरुषको अह्ररो अनुहार । चिटिक्क सिँगारिएको घोडा प्यालेसको मूलद्वारको समीपमा कम्पाउन्ड वालको आर्कमुनि मुन्टो बाहिर निकालेर लिन्ठिङ्ङ उभिएको छ । र, त्यसमाथि काठीमा एक जवान बसेको छ । खाइहालुँलाजस्तो मुद्रामा छ त्यो । कुन्नि, बाहिर सारा रमिते आनन्दी मुद्रामा फुक्काफाल हिँडिरहेका देख्दा त्यो अश्वारोहीलाई आफू महारानीको मूर्तिवत् कैदी भएको कष्टकर अनुभूति पो हुँदो हो कि † त्यसैले पो ऊ त्यस्तो रौद्र रूप धारण गर्न विवश भएको हो कि !


बेलायती प्यालेसको वातावरण आँखाभरि नजर गरियो । र, अगुवा जानिफकारहरूले मलाई नजिकैको नम्बर टेन डाउनिङ स्ट्रिटतिर डोर्‍याए । यो नम्बर टेन रहेछ बेलायती प्रधानमन्त्री कार्यालको नाम । नाम पनि क्या गजबको दस नम्बरी † दस नम्बरीपछि मलाई राईत्रयले वेस्ट मिनिस्टर प्यालेसतिर कुदाए । त्यो रहेछ बेलायती संसद्भवन । प्रधानमन्त्रीय भवन र संसद्भवन छेउछाउको वातावरण नियाल्न खोज्दा मलाई झ्याट्ट शीतल निवास दरबार, सिंहदरबार, बालुवाटार दरबार र संसद्भवन, बानेश्वरको याद आयो । उता चाल उही बकिङघम प्यालेसको छ । त्यहाँ पनि दर्शनार्थीहरू स्याउँस्याउँती छन् । त्यहाँ पनि न कतै बर्दीधारी बन्छ न कतै बन्दुकधारी छ । वातावरण उस्तै भयमुक्त छ । अनि हाम्रो शीतलनिवास दरबार, सिंहदरबार, बालुवाटार दरबार र बानेश्वर भवनमा नि ? यी दरबारवरिपरि काँडेतारका बार छन् । बारबाहिर प्रहरी र फौजीका झुन्ड भयकारी छन् । ती कसैका हातमा लाठा छन्, कसैका हातमा बन्दुक । आखिर कसको डरले ? कसका टाउकामा ठोक्न ? कसका छाती दाग्न ?


छाँटले बेलायतको संसदीय शासन निकै उदार र सहिष्णु लाग्छ । देखियो त । अनि यताको गोर्खे संसदीय शासन ? यथार्थमा यो त संसदीय शासन नै होइन । संसदीय शासनका नाममा केवल एक कलंक हो यो । शासनतन्त्रमा नाम र छाप छ कम्निस्टको । कम्निस्ट अर्थात् जनताको गुनिलो मित्र र विनम्र सेवक । सादा जीवन उच्च विचारको निष्ठावान् उपासक र इमानी अभ्यासकर्ता । तर, ओली सर र दाहाल ब्रोको कुशासनको सारमा प्रदर्शित मति, चरित्र र आचरणमा यति साह्रो के गनाएको हो यो ? सढेको सामन्तवाद ?


लन्डनका सडकमा शासकको सवारीमा के हुन्छ ? नेपालमा जे हुन्छ, त्यहाँ त्यो हुँदैन । त्यहाँ सवारीमा एक जना ठालु–ठालुनीको दम्भी ठाँटबाँट र सकल जनतालाई अथाह सास्ती हुँदैन । साइरनले सवारीको सूचना जब दिन्छ, वाहनहरूले सर्लक्क बाटो छाडिदिन्छन् । र, मिनेटभरमै सवारी आँखाबाट ओझेल परिसक्छ । अनि हाम्रोमा ? हाम्रोमा राष्ट्रपति विद्याको सवारी हुँदा लोकलाई उही निरंकुश राजतन्त्रको पिराहा प्रेतले सताउँछ । र यसको नाम छ— समुन्नत र परिमार्जित संसदीय व्यवस्था † कुरूप वस्तुका लागि सुन्दर अर्थबोधी शब्दहरूको क्या दुरुपयोग !


बकिङघम प्यालेस आसपासको घुमघाममा कुरै कुरामा दुई जना सत्याग्रही प्रसंगमा आए । नेपालका गोविन्द केसी, बेलायतका ज्ञानराज राई । माग र दाबी छन् भूपू गोरखालाई समकक्षी गोरा सिपाहीसरह पेन्सन र अन्य सुविधाहरू । ठाउँ छ प्रधानमन्त्री कार्यालयछेउ दस नम्बरी डाउनिङ स्ट्रिटको एउटा कुनो । यताका डा. केसीको प्रेरणा र प्रभावले होला सायद उताका ज्ञानराज झ्याप्प सत्याग्रहमा डटेछन् । ल मार्‍यो बजियाले, ब्रिटिस सरकारलाई परेन कि फसाद † दाबीबमोजिम माग पूरा गरूँ, छलछाम र आलटाल गर्दै यतिका दिन झुलाउन सफल भइया छ, कसरी गरूँ ? नगरूँ, यी परे रगत, चीत्कार र आँसुले आफ्नो भूतपूर्व साम्राज्य फैलाइदिने र थामिदिने पीडित गोरखा सिपाहीहरूका हक्की र झोँक्की प्रतिनिधि । कदाचित निराहारी सत्याग्रहमै यी बूढाको प्राण पखेरु उडिहाल्यो भने !? जगत्सामु लोकतन्त्रको जननी भनिने बेलायतको घिरौँले नाकको गति के हुन्छ ? त्यो काटिँदैन र ठनक्कै ? सोझो नोकरका रूपमा यतिका दिन कजाइएको गोरखेले अब भने बिताउने भो! ब्रिटिस सरकारका कन्चट टनकटनक टन्किए । निजको दम्भी चित्तमा तनावको चक्रबात् उठयो । र, जब्बर ज्ञानराज ब्रो सत्र दिन सत्याग्रहमा डटेपछि ब्रिटिस सरकार छेरभालु भयो । आखिरम दुई पक्षको कुराकानी भयो । र, समस्याको गाँठो फुकाउन एउटा त्रिपक्षीय समिति बनाउने सहमति गरियो । यसरी कागजमै भए पनि ज्ञानराजले जिते, र गोरखालीको सत्याग्रहसामु ब्रिटिस सरकार ग्वाँ भयो ।


ज्ञानराजको सम्झनाले अहिले मलाई ओलीराज सम्झायो । बचाल ज्ञानराज सार्वजनिक डबलीमा उत्तेजक भाकामा ‘अपराधी ब्रिटिस सरकार’ भन्दै आफ्ना मर्का र दाबीका कुरा थाल्छन् । उनलाई पक्रिन बेलायती पुलिस आउँदैन । न त उनले खाइपाइ आएको पेन्सन नै कट्टी हुन्छ । न त उनी बेलायतबाट नेपाल लखेटिन्छन् । यता हाम्रो ओलीराजमा ? समाजिक सञ्जालमा कसैले पोस्ट गरेको बेहोरा कसैलाई शेयर गर्ने अभागी नागरिक पक्राउ पर्छ । र, ओली सरकारले उसको जागिरै खाइदिन्छ । भन्नलाई उताको पनि संसदीय व्यवस्था, यताको पनि संसदीय व्यवस्था । अझ उन्नत संसदीय व्यवस्था † तर ब्रिटिस राजमा अलिकता सहिष्णुता छ, ओली राजमा चौतर्फी असहिष्णुता छ । लाग्छ, ओली राजको क्रूर असहिष्णुता हिन्दु उन्मादी मोदी राजबाट प्रेरित छ । र, यो कमरेड सिजिन पिङको एकल स्वेच्छाचारतर्फ लम्किन उपद्रो जिद्दी गरिरहेछ ।
***

त्यो दिनको दृश्यावलोकनको एक किस्ता तुरियो । र, हाम्रो टोली गुँडतिर बाटो लाग्यो । बाटामा थेम्स नदीको पुलमाथि खुला रेस्टुरामा खाजा खाइयो । सम्झँदैमा द्रव्यभारले कुम लच्किने महँगो न महँगो खाजा । नाथे एउटा हयाम्बर्गरलाई ५ पाउन्ड नखत † ठाउँले गर्दा लन्डनकै महँगो जिनिस रे त्यो । खाजामा साथ दिने नरेश किञ्चित् गम्भीर छन् । किरण र मनकुमार ब्रो छन् खास्सै विनोदप्रेमी । किरण ब्रो रहेछन् भूपू कान्तिपुर टेलिभिजनकर्मी । छँदाखाँदाको जागिर चटक्कै छाडेर पढ्ने सुरले लुत्त बेलायत छिरेका । के पढ्ने हो ? यी अलमस्त तन्नेरीलाई थाहा छैन । कसरी पढ्ने हो ? त्यो पनि यिनलाई पत्तो छैन । यी निरुद्देश्य यायाबरझैँ यता र उता लुखुर–लुखुर हिँड्छन् । मानौँ जीवनले आफ्नो बाटो आफैँ खोज्छ । आखिर चिन्ता गर्नु किन ? प्रिय भाइ किरणलाई लाग्दो हो, जीवन अनन्त छ । आखिर हतार किन ? रनै उनी समयको बिल्कुल पर्बाह गर्दैनन् । दस बजे भेट्ने भन्यो, ब्रो झुल्किन्छन् एघार बजे । यी यात्राका बडो स्वादबद्र्धक मसला हुन् । के हाँसझैँ सुस्त गतिमा हल्लिँदै हिँडेको ब्रो ? अरे, ज्यानको भारी बोक्नु परेन र दाजु ? कतिको भारी हो ब्रो ? चानचुन एक टन नि । हेर्दा त्यस्तो लाग्दैन त यार् । सोलोडोलो छ क्या दाजु माथि शिरदेखि तल पाउसम्म । किरण ब्रो मग्न मुद्रामा ख्यालठट्टा गर्छन् र हयाम्बर्गरको भारी द्रव्यले दाबिएका हाम्रा चित्तहरू आनन्दी हाँसोले हल्का हुन्छन् ।


आयो कुरा अब अर्का रौसे कमरेड मनकुमारको । मन ब्रो मलुवा एमाले रहेछन् । यी मनुवा कुरैकुरामा एमालेको झन्डा उठाउँछन् । तर, दृष्टान्त, तथ्य र तर्कले एमालेको वैचारिक र आचारगत गरिमालाई सिद्ध गर्न सक्दैनन् । र, यी वाचाल कमरेड थपक्क झन्डा बिसाउँछन् । अनि छिनभरमै पत्तै नपाई फेरि झन्डा उठाइहाल्छन् । म भन्छु— आफ्नो गरिखाने हो बन्धु, बित्थामा अर्काको झुत्रो झन्डा किन बोक्नु ? मेरो कुरो सजिलै पत्याउँछन् र फेरि संस्कारतुल्य झन्डा उठाइहाल्छन् । मन ब्रोलाई लन्डनका गल्लीगल्ली कण्ठ रहेछन् । सुनेको थिएँ— लन्डनको नाभिमा कतै कार्ल माक्र्सले कष्टसाध्य यत्नद्वारा दर्शन कोरलेको बास छ । मनले फुर्किँदै भने— बास मलाई थाहा छ । बस्, तिनले हामीलाई माक्र्सको बासतिर डोर्‍याए । बास सोहो भन्ने टोलमा रहेछ । साँघुरो सडक, घरहरू पुराना र सानासाना । यताउता सरसफाइ र स्वच्छताको दशा दयनीय छ । कतै शराबी ब्रो अचेत औतारमा पेटीमा लमतन्न छ । कतै माग्ने मनुवा हार्मुनियम बजाउँदै पदयात्रीका चित्त पगाल्ने धुनमा छ । कसैले भनेको सम्झन्छु— माक्र्स डेरा गरी बसेको टोल अचेल नगरवधूहरूको चहलपहलमा नामी छ, नेपालको ठमेलजस्तै । झट्ट हेर्दा माक्र्सका पदचिह्न अंकित सोहो टोल वृद्ध, उदास र उराठ मुद्रामा झोक्राइरहेझैँ लाग्छ । हामी सडकवारि पेटीबाट माक्र्सको पारिको डेरा हेर्छाैँ । दोस्रो तलामा माक्र्सको बास छ । बासबाहिर भित्तामा बूढाको जन्म र मरनको मिति अंकित छ । र, साना अक्षरमा अरू केही लेखेको देखिन्छ, जो ठमिन्न । त्यो घर, त्यो कोठा, त्यो साइनबोर्ड मलाई एक भौतिकवादीको पवित्र तीर्थझैँ लाग्छ । म अलिबेर विस्फारित नजरले अपलक हेर्छु, र श्रद्धानत भई अदृश्य बूढालाई भावमय अभिवादन गरेर बाटो लाग्छु ।


अहिले कार्ल माक्र्सको गुँडसँग जोडिएर हवार्ड जिन सम्झनामा टुप्लुक्किए । उनै प्रिय अमेरिकी जनइतिहासकार हवार्ड जीन । जीनले सन् १९९९ मा माक्र्सको यादमा एउटा नाटक लेखेका छन्— सोहोमा माक्र्सको पुनरागम । नाटकमा जीन बडो आक्रामक, जीवन्त र रुचिकर ढंगले माक्र्सलाई बकाउँछन् । र, माक्र्स आफ्नो विचारको बचाउ पक्षमा जोडदार तर्क गर्छन् । र, आफ्नो नित्य अभावग्रस्त र निरन्तर संघर्षमय जीवनको इतिवृत्त कहन्छन् । जसको एक अंश यस्तो छ, ‘युरोप महादेशभरिका शरणार्थी सोहोको हाम्रो डेरामा आइरहन्थे । पिपर तिनैमध्ये एक थियो । ऊ मेरोवरिपरि अरिंगालझैँ भुनभुनाइरहन्थ्यो । ऊ अरूलाई फुक्र्याउन उस्ताद चाटुकार थियो । ऊ मेरा लेखको उद्धरण मलाई नै सुनाउँथ्यो । म भन्थेँ— ए पिपर, मेरा उद्धरण मलाई नै नसुनाऊ न बाबु । अँ, मलाई खुसी पार्न ऊ दास क्यापिटल उल्था गर्छु भन्थ्यो । तर, अंग्रेजी भाषालाई ध्वस्त नपारी ऊ एक वाक्य पनि बोल्न जान्दैनथ्यो । अरे बा बा, अंग्रेजी त शेक्सपियरको भाषा पो हो । शेक्सपियरले उसले बोलेको एक वाक्य अंग्रेजी सुनेका भए सके विषपान गर्थे होलान् । त्यही पिपरले एक दिन मलाई माक्र्सवादी समाज गठन गरेको कुरा सुनायो । र, हात मल्दै मलाई त्यो समाजमा बोलिदिन बिन्ती बिसायो । मैले सोधेँ— हैन, के समाज हो त्यो ? उसले बोलीमा चिल्लो घस्दै हामी आफूलाई माक्र्सवादी भन्छौँ डा. माक्र्स भन्यो । हामी तपाईँका विचारका अटल अनुयायी हौँ । मैले भनेँ— मलाई माफ गर बाबु, म त्यहाँ बोल्दिनँ । किनभने मचाहिँ माक्र्सवादी होइन !’
हेर्नुस्त, माक्र्सको विनयशीलता, सुझबुझ र दूरदर्शिता!

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्

उड्यो यायावर यूकेतिर

नियात्रा
कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — १० जुलाई २०१८ । दिउँसो ३ बजेतिर जेबी फोनको घन्टी बज्यो— कोकुली क्वाँक्, कोकुली क्वाँक् । हेर्छु, नम्बर परदेशको छ । परदेशी छोराछोरीको होइन, कसको होला यो ?‘सेवा रो दाजु, म नरेश काङमाङ ।’

को नरेश ? कताका काङमाङ ? म अलमल्ल पर्छु । एकाध छोटो भेट भएका मानिसको अचेल सहजै सम्झना हुँदैन । उमेरले गिज्याउँदै अब तँ बूढो हुन लागिस् है ब्रो भन्छ । सविनय केरकारपछि फोनकर्मीको परिचय खुल्यो, ‘यूकेबाट म उही नरेश क्या दाजु ।’
उनले सुराक दिए, सम्झनाको धमिलो पत्रमा उनको परिचय खुल्दै गयो । छ–आठ महिनाअघि होला, पहिचान पुरस्कारको एउटा यज्ञमा हाम्रो भेट भएको थियो । छाँटले पुरस्कार गुठीका हर्ताकर्ता उनै थिए । पुरस्कार भुइँयाँ रचेर हाम्रा यज्ञश ब्रोले पड्काएका थिए ।
‘अबलाई चिनेँ ब्रो,’ मैले भनेँ ।
‘एउटा अनुरोध गरूँ भनेर हाव दाजु ।’
‘हन त्यस्तो के होला हाव ब्रो ?’
‘आदिवासी–जनजाति महासंघ, यूकेले यसपाला तपाईंलाई यूकेमा निम्ता गर्ने निर्णय गर्‍यो । विश्व आदिवासी दिवसको औसरमा । तपाईं स्वीकार गर्नुहुन्छ ?’ बाफ रे प्रिय ब्रोको यो भाषा ? कति औपचारिक ! मनमा जबाफ हाजिर छ, तर मसँग भाषै छैन । म त्यति औपचारिक, त्यति अह्ररो हुन जान्दिनँ । न त कोही भएको नै मलाई उति सहज लाग्छ । जिन्दगीभरि अरसिक औकचारिकताको पर्दाप्रथाबाट म भागिरहेँ । म जस्तो छु, त्यसैले त म यस्तो भएँ ।


‘हुन्छ नि त, आउँला,’ संक्षिप्त भलाकुसारीपछि मञ्जुरी दिएँ ।


‘थप कुरो जङ्ग सुनुवारसँग हुन्छ है दाजु ।’ यसो भन्दै नरेश कर्तव्यनिवृत्त भए । जङ्ग रहेछन् उताको आदिवासी–जनजाति संस्थाका अध्यक्ष । थर भने सुनुवार !? मेरो खुल्दुले चित्तमा अलमलको अर्को चक्रबात् उठ्यो । संघ छ आदिवासी–जनजातिको, सुनुवार कसरी यसका अध्यक्ष भए ? मेरो अल्पज्ञानमा सुनुवार भनेको सुनार थियो । सुनार अर्थात् सुवर्णकर्मी उर्फ कामी । झस्किँदै सम्झेँ, शाही सेनाको अड्डामा वध गरिएकी किशोरी मैना सुनुवार थिइन् । सुनुवार अर्थात् कामीकी छोरी । रेडियो नेपालका मनमुग्धकारी उद्घोषक पाण्डव सुनुवार कामी थिए, सुनकर्मी कामी । मैले आफ्नो खुल्दुलीको काम चलाउ उत्तर रचेँ— हन्डर–ठक्करबाट सिक्दै आदिवासी–जनजाति संघको वृत्त विस्तार भएछ क्यार । र, सीमान्तकृत जनजातिको संघमा उत्पीडित दलितलाई पनि ससम्मान भित्र्याइएछ । यो सत्य हो भने ब्रोहरूले जे गरे, गज्जप गरे । सारा सनातनी शोषक शासकहरू निहित स्वार्थको मोर्चामा एकगठ छन्, तीसँग जुध्न सारा शोषित–पीडितहरूचाहिँ एकगठ किन नहुने ? कति दिन फुटाऊ र शासन गरको सिकार भइरहने ? स्वतन्त्रताको बाजीमा कति दिन हारिरहने ?


जङ्गसँग मेरो सम्पर्क भयो । आदिवासी–जनजातिको कार्यक्रम रहेछ अगस्त ५ मा, म लन्डन पुग्नुपर्ने ढिलोमा पनि त्यसको तीन दिनअगाडि । आइजाइ र गाँस–बासको चाँजो जङ्गले मिलाउने । मैले हल्का झोला हल्लाउँदै गए हुने । जङ्गले आवश्यक कागजातहरू पठाइदिए । र, भने, ‘कत्ति बियाँलो नगरी भिसालाई निवेदन दिइहाल्नुस् है । यता प्रचार भइसक्यो, बेलैमा भिसा नपाए बर्बाद हुन्छ ।’ दिन गन्छु, थुप्रो छन् । मलाई हतार छैन । सन् २००५ मा भिसाको निवेदन बदर हुँदाको अनुभव मसँग छ । निवेदन दिएर एक थैलो दस्तुर बुझायो, केही दिनमा केरकार र फैसला भइहाल्छ । आ... किन यत्रो हतार ?


पछि कुरो बुझ्दा त गाँठ्ठे ! मेरा कन्चटबाट चिट्चिट् पसिना आए । भिसाको नाटक फेरिएछ । त्यो सरलबाट जटिल, सहजबाट दुरूह भएछ । भिसाको लागि निवेदन र थैलो बुझाउनुपर्ने यता काठमाडौँमा, निवेदनमाथि कारबाही हुने उता दिल्ली ब्रिटिस हाई कमिसनको तजबीजमा । यो यन्त्रणाकारी नोकरशाही प्रक्रियाको आयु रहेछ कम्तीमा तीन हप्ता । हैट्, ब्रिटिस गोराहरूले गोर्खाहरूलाई के सारो हेपेका ! यिनका उपेक्षाकारी नजरमा गोर्खाहरूको काठमाडौँ दूतावासबाट नाथे भिसा पाउने हैसियत पनि रहेन । थुप्रो रकम तिरेर भिसाको कृपा प्राप्त गर्न हामीले दिल्ली जानुपर्ने ! हैन, यिनले काठमाडौँमा दूतावासचाहिँ किन राखिछाडेका ? दिल्ली दूतावास छँदैछ नि मान्यवर ! यो घोर उपेक्षा र उग्र अपमानबारे गोर्खे शासकहरू एकदमै मौन छन् । किन ? किनभने भन्नेबित्तिकै तिनका घरदैलामा यूकेको भिसा हाजिर हुन्छ । कुरा केवल पावर र पैसाको छ । सत्ताको पावर हातमा छँदैछ, राज्यकोषको साँचो पनि आफ्नै हातमा छ । भिसा व्यापार हो, अतिरिक्त शुल्क तिरेपछि त्यो झटपट हात लागिहाल्छ । गोर्खे संविधानले जनता भनेका प्राणीहरू मानौँ अझै रैती हुन् । रैतीको नियति भिसाको क्याँट बुझाउनु र निरीह मुद्रामा दिल्ली हाई कमिसनको कृपा हात थापेर बस्नु हो ।


हतारको हुटहुटीले उता जङ्ग ब्रो हैरान छन् । यता म कुहिराको कागतुल्य भएको छु । भिसाका लागि निवेदन बुझाउने लैनचौर दूतावासमा होइन रहेछ । आखिर त्यो होचाहिँ कहाँ ? यो बुझ्न मलाई दुई दिन लाग्यो । कोही भन्छ, त्यो लैनचौरमै कतै छ । कोही त्यो नक्साल–नागपोखरीतिर कतै छ भन्छ । आखिरमा यूके गइबस्ने तरुण डाक्टर भाष्कर गौतमबाट जानकारी भयो— तिनका बाउको अड्डो त पाटन अस्पतालनेर पो रहेछ । निवेदन र थैलो बोकेर कुद्दै म हाजिर भएँ । केरकारे नेपाली ठिटाले भने— हाम्रा हातमा केही छैन जी । दिल्लीबाट निर्णय आउन तीन हप्ता लाग्न सक्छ । ढिलो भए हामीलाई दोष नदिनुहोला । परेन कि फसाद ! मसँग अब जम्मा बीस दिन बाँकी छन् । नयन सिन्धुलियाले सुझाए— दाइ, थप रकम तिरे जिनिस छिटो हात लाग्छ । मनमनै भनेँ— यत्रो पनि तिर्रिनँ । मैले तिरेको भए सुनुवार ब्रोले खुसीसाथ सट्टाभर्ना गर्दा हुन् । तर मलाई मनै लागेन । त्यत्रो चौध हजार एक सय छैसठ्ठी रुपैयाँमाथि थप घुस खुवाएर भिसा लिनु ? आ... भिसा नपाए बरु यसपाला पनि बेलायत जान्नँ ।


जङ्ग सुनुवार नित्य सम्पर्कमा छन् । दिनदिनै एसएमएसमा केही न केही कुरा भइरहन्छ । एकाध दिनमा त ट्याक्क फोनै गर्छन् । मान्छे बडो विनयशील रहेछन् । कुरैकुरामा हिमचिम र निकटता बढेपछि यी ब्रो मलाई ‘जदौ’ को संज्ञाले सम्बोधन गर्न थाले । अब भने म ढुक्क भएँ— मान्छे पक्का सुनुवार उर्फ सुनारै हुन् । जति दिन बित्दा छन्, सुनुवार ब्रोको बेचैनी उति नै बढ्दो छ । बेला नबित्दै भिसा लागेन भने ? उनी दिनदिनै अनस्तित्ववासी निराकार भगवान्सँग प्रार्थना गर्छन् र मलाई आश्वस्त तुल्याउन खोज्छन्— ‘जदौ ब्रो, सपना राम्रो देखेँ है ।
भिसा लाग्छ ।’


चार दिनपछि बेलायत उड्नु छ, बल्ल दिल्ली हाई कमिसनको बिजुलीपत्र आयो । तिम्रो निवेदनउपर निर्णय गरी कागजात पठाइएको छ, अड्चालीस घण्टापछि बुझ्न जानू । औँला भाँच्दै अड्चालीस घण्टा गनेँ । र, उनन्चासौँ घण्टामा पाटन अस्पतालछेउको ब्रिटिस व्यापारिक अड्डामा हाजिर भएँ । सोध्दा नानी भन्छिन्— बल्ल हिजो आइपुग्यो सर, पोको खोल्या छैन । अस्ति–अस्तिकै कतिकति बाँड्न बाँकी छ । मैले आफ्नो विवशता बताएँ । नानी ज्ञानी रहिछन्— भोलिपल्ट फस्र्ट आवरमा डाकिन् । गएँ र खामबन्दी निर्णय बुझेँ । दिल्लीवाले हाई कमिसनले मलाई छ महिनालाई भिसा दिएछ । जङ्गलाई उनकै जदौको भाकामा जानकारी दिएँ— मान्यवर, एकबारको जुनीमा अबलाई हाम्रो भेट पक्का भो । अहो ! तिनको हर्षातिरेक ! त्यो केवल अनुभूत गर्न सकिने, शब्दमा भन्न नसकिने ।


गगन विहार गर्ने अगस्त २ आयो । हल्का कुम्ला–कुटुरा बोकेर कतार एयरवेजमा लन्डन ताकेर हुइँयँ उडेँ म । यात्राको क्रममा मलाई चेत भयो— भूगोलको भेग र यात्रुको औकात हेरी विमानको पनि वर्ग हुँदो रहेछ । काठमाडौँ–दोहा निम्न वर्गको विमान, दोहा–लन्डन उच्च वर्गको । पहिलोमा विमान साधारण, परिचारिकाहरू साधरण, सेवा–सुविधा साधारण । दोस्रोमा सबैथोक उच्च, विशिष्ट र भव्य । कारण स्पष्ट छ— काठमाडौँ–दोहामा अधिकांश यात्रु गरिब नेपाली श्रमिक हुन्छन्, त्यसउता धनी गोराहरू र अन्य धानाढ्यहरू । कतार एयरवेजमा एउटै कुरा मलाई बडो रमाइलो लाग्यो । त्यो हो, नेपाली भाषाको नितान्त नूतन औतार । कतार एयरवेजको नेपाली भाषा जब सम्झन्छु, अझै मेरा हड्डी–हड्डीमा काउकुतीमय हाँसोको अजस्र फोहरा फुट्छ । यात्रुहरूलाई सचेत गराउँदै कतारे ब्रोले नेपालीमा भन्यो, ‘यात्रु महानुभावहरू ! सिट सोझो पारेको, सिधा बसेको, सुरक्षा पेटी बाँधेको सुनिश्चित गर्नोस् ।’ विषय र प्रसंगले मलाई अर्थ खुलिहाल्यो । दाँत बाँधेर हाँसो रोक्दै सोचेँ— पक्का पनि यो अंग्रेजीबाट नेपालीमा गुगले अनुवादको कमाल हो । मनमा तर्कनाको कौतुकमय तरंग उठ्यो— नेपाली भाषाका मर्मज्ञहरूले यो नेपाली सुने के भन्दा हुन् ? सम्झनामा शरच्चन्द्र वस्ती आए, केदार शर्मा आए । कुन्नि, यी नेपालीप्रेमी बन्धुले नेपाली भाषालाई विकृत तुल्याएबापत कतारे ब्रोलाई कारबाही गर्नुपर्छ पो भन्लान् कि ! तर मचाहिँ त्यसो भन्दिनँ । म त भन्छु— यो नेपाली भाषाको विस्तार हो । देशभित्रै क्षेत्रक्षेत्रमा, जातिजातिमा, कुनाकुनामा नेपाली भाषाका नानाओली औतार छन् । भन्देखिन् अन्तर्राष्ट्रिय फलकमा झन् किन नहुनु ?


भनूँ भने यो नेपाली भाषाको विस्तारवाद हो । विस्तारवादमा नेपालको असल छिमेकी भारतको एकाधिकार किन ? नेपाल पनि केही न केही कुरामा त विस्तारवादी होस् न ब्रो ।
नेपालबाट बिहान १० बजे उडेको थिएँ, उही दिन बेलुका १० बजे लन्डन टेकेँ । स्वागत गर्न जङ्ग र एकाध भाइ–बहिनी अघिदेखि नै एयरपोर्टमा कुरिबसेका रहेछन् । सुनार जङ्गसँग जदौको आदान–प्रदान भयो । जोडाजोडा र सामूहिक फोटा खिचिए । र, म नरेश काङमाङ राईसँग उनको निवास साउथ ह्यारोतिर लागेँ, जङ्ग अर्को दिशाको आफ्नो गुँड फार्नबोरोतिर लागे । केही दिनपछि जङ्गकहाँ सर्ने मतो गरियो । नरेश ब्रोकहाँ छोटोमा छिटो घरगृहस्थीका कुरा भए । इलम–व्यवसायका कुरा भए । र भए बालबच्चाका कुरा । गृहमन्त्री सीमा रहिछन् हर्दम् हँसमुख, विनम्र र मायालु । यात्राको दूरीले थकित थिएँ, उनको सत्कार ग्रहण गरेर म घुप्लुक्क सुतिहालेँ ।


बाँकी रात म भुस भएर निदाएँछु । बिउँझिँदा भित्ते घडीमा बिहानको सात बजेको थियो, नाडीघडीमा बिहानको एघार । नेपालको समय नेपालमै छाडेर हिँडेको थिएँ म, मेरो बफादार घडीले छाडेनछ । शरीरमा समयको अन्तरको अनौठो असर छ । झुम्मजस्तो, हल्का बेचैनीजस्तो, किञ्चित् दिग्भ्रमजस्तो । खल्खली नुहाएँ । तैबिसेक चैन भयो । कफी खाउँm लाग्यो । तर, किचनमा मेसो पाइनँ । कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो । त्रिचालीस सालमा काठमाडौँको चाबेलमा मेरो घर बनेको थियो । ठ्याक्कै वीरगन्जे द जुद्ध मैच फैक्टरीको चारपाटे सलाईजस्तो । घर ठड्याउँदा पैसा चिलिम भयो । कम्पाउन्ड बनेन । घरवरिपरि बाक्लो झ्यासझाडी थियो । आँगनमा दिउँसै बडो सानले स्याल प्रकट हुन्थ्यो, भयङ्कर सर्प डोलाउँथ्यो । केटाकेटी सानै थिए, तिनलाई सर्पबाट जोगाउनै गाह्रो ! र, एकाबिहानै यसैगरी ढुकुर कुरकुर कुुरकुर कुर्लिन्थ्यो । अब त्यो सब केही बाँकी रहेन । मजस्तै मान्छेको निर्मम अतिक्रमणले झ्यासझाडी सखाप भयो, पशु–पन्छीहरूको बासउठ्ठा भयो । ढुकुर हराए र छोराछोरी पँखेटा हालेर उडिगए । त्यसैले पहिले हेरी अहिले मेरो घर उजाड छ र सेरोफेरो छ एकदमै उराठलाग्दो । तर यहाँ नरेश–सीमाको अनुरागयुक्त गुँडवरिपरि हराभरा प्रकृति छ, दिलखुस पशु–पन्छीहरू छन् । र, घरमा दुई भाइ छोरा छन् । चौध वर्षको ठूलो स्वप्निल, नौ वर्षको सानो स्वर्णिम । जन्मले, भाषाले र सायद भविष्यले पनि यी दुवै भतिज अंग्रेज हुन् । कुरा सुन्दा रमाइला छन् यी दुवै । जेठो अंग्रेजीमा कविता रच्छ । कवितामा ऊ वास्तविक उमेरभन्दा बढी परिपक्व लाग्छ । कान्छो छ फुटबलको भयानक सोखिन । सुत्दा पनि फुटबल नछाड्ने ।


आफूलाई कफीको तलतलले गाँजिसक्यो । खै त, घरबेटी कोही उठ्दैन । म के गरूँ अब ? म सुतेको कोठा बैठक र पुस्तकालय दुवै थियो । म पुस्तकालयको जासुसी गर्न थालेँ । गोर्खा लाहुरेको पुस्तकालय । हिजो लाहुरे तिघ्रा ठटाउँथ्यो, बन्दुक पड्काउँथ्यो र तालु ठोक्दै दुखिया तकदिरको बात गथ्र्यो । आज उही लाहुरे जिज्ञासु, अन्वेषणकारी र मानवीय औतारमा प्रकट भइरहेछ । आज ऊ पुस्तक बटुल्छ, पुस्तक पढ्छ र पुस्तक लेख्छ । आज ऊ सुस्केरा हाल्दै निरीह तकदिरको बात गर्दैन, बरु उन्नत विचारले, लक्ष्ययुक्त संघर्षले र सिर्जनशील उद्यमले तकदिर फेर्ने कुरा गर्छ । नरेशको पुस्तकालयमा पेरिस कम्युनका माक्र्स–एङ्गेल्स छन्, र छन् अतिरञ्जित आत्मगाथाका विनोद चौधरी पनि । त्यहाँ आत्मवृत्तान्तका बीपी कोइराला छन्, दोचाका नगरकोटी छन् र छन् उस्तै अतिरञ्जित हाई–हाईका लिक्वान हुु पनि । हरियो साइकलका गोविन्द वर्तमान र ऋतु विचारका वसन्त थापा, माङ्गेनाका युग पाठक र उत्तरआधुनिक विमर्शका गोविन्दराज भट्टराई, यारका नयनराज पाण्डे र नथियाकी सरस्वती प्रतीक्षा, दमिनी भीरका राजन मुकारुङ र दोचाका कुमार नगरकोटी, केके, केकेका योगमाया र तसलिमा नसरिन, सिमोन द बो र परशु प्रधान, वैद्य बा र आहूति, पारिजात र हर्क गुरुङ— अरे, त्यहाँ को छैन र के छैन ? पछि कफीको चुस्की लिँदै नरेशलाई सोधेँ, ‘नरेश ब्रो, यी जम्मै पुस्तक पढ्नु भा’छ ?’


‘झन्डैजसो पढ्या छु, दाजु,’ उनले भने, ‘अझ कुनैकुनै चाख नलागेर बीचैमा छाडियो होला । नत्र...’ कुरै कुरामा युग पाठकको माङ्गेनाबारे उनले बडो रोचक टिप्पणी गरे । भने, ‘पुस्तक राम्रो छ । तर कति साह्रो भाष्य–भाष्य भनिराख्या हाव दाजु ? घरीघरी यो भाष्य नभन्दा पुस्तकको भाउ नै नरहला कि जस्तो !’ सुनेर मलाई लाग्यो— गज्जपको टिप्पणी ! गम्भीर लेखकमाथि गम्भीर पाठकको गम्भीर टिप्पणी हो यो ।


अब फेरि केही कुरा उही रहस्यमय सुनुवार र सुनारका । नरेशलाई सोधेँ, ‘भाइ, हाम्रो आदिवासी–जनजाति संस्थामा दलितलाई पनि घुसाको हो ?’
के रे दाजु ? कुराको मेसो नपाएर नरेश अलमलिए । मैले प्रसंगको गाँठो फुकाएँ, ‘जङ्ग सुनुवार दलित सुनार होइनन् र ?’
नरेशको उत्तर सुनेर म त्यसत्यसै सेन्टिफ्ल्याट भएँ ।


पछि म जङ्ग सुनुवारको घरमा सरेपछि मेरो अल्पज्ञानलाई गिज्याउन अनेक सुनुवार बन्धुहरू हाजिर भए । जङ्ग सुनुवार, केदार सुनुवार, होम सुनुवार, भावना सुनुवार, कतिकति सुनुवार ! होम सुनुवारले राई जगत्को सुनुवार समुदायमथि बडो फुर्तीसाथ प्रकाश पारे । नजानिंदो उपहासको भावमा तिनले मलाई सोधे— रेडियोका पाण्डव सुनुवारको जात त थाहा होला नि ? थाहा थियो ब्रो तर कुराको तत्त्व नबुझी तिनलाई सुनार मानियो । ती हाम्रा मान्छे हुन्— शब्दशब्दमा जोड दिँदै होमले भने— ती हाम्रा राई हुन्, ती हाम्रो सुनुवारगणका गहना हुन् ।
मनमनै कान समातेर मूक भाषामा मैले भनेँ— मैले मानेँ ब्रो, अबलाई यही कुरो सदर भो । नेपाली समाजको विछट्टको विविधता मलाई शङ्कर लामिछानेको प्याजजस्तै लाग्यो ।

पत्रपछि पत्र, अर्को पत्रपछि झन् अर्को पत्र, अनि झन् अर्कोपछि...। बूढेसकालमा अहिले बुझ्दै छु— जीवनमा अज्ञानतामा कत्रो खतरा छ ! आफ्नो कति प्यारो पहिचान नै गायब बनाउन खोजेकोमा धन्न लन्डनवासी सुनुवार ब्रोहरूले मलाई...। मान्यवर, अज्ञानीहरूका लागि मानवीय उदारता सङ्कटको सहारा रहेछ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्