१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृष्णको अर्ती उपदेशजस्तै

प्रतिक्रिया
कान्तिपुर संवाददाता

काठमाडौँ — इतिहासविद् योगेशराजसगको कान्तिपुर कुराकानीले असोज १३ को कोसेली अंक भरिएको पाएँ । यति धेरै महत्त्व र अर्थ देखेर छापिएको कुराकानी के–के न होला भन्दै पढी सिध्याएँ । इतिहाससँग सम्बद्ध रहेका केही जिज्ञासा र जवाफ सान्दर्भिक लागे पनि लेखक योगेशराजले ‘यो पनि ठीक, त्यो पनि ठीक’ को शैलीमा दिएको जवाफ भने चित्त बुझ्ने लागेन ।

कृष्णको अर्ती उपदेशजस्तै

पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको कुरामा अथवा आज भएका अनेक राजनीतिक–सामाजिक परिवर्तन (जनयुद्ध वा नयाँ नेपालको सन्दर्भ) का कुराहरूमा जतै पनि ‘कुनै कुनै त खास राजनीतिक परियोजनाअन्तर्गत थालिएका गतिविधि’ भनेर सजिलो जवाफ दिन खोज्नु त्यति उचित लागेन । यसमा त बहस, समीक्षा र मीमांसा हुन सक्नुपर्छ । तर, योगेशराजजस्तो विचारक पनि सजिलो जवाफतिर लाग्नुभएको हो कि भन्ने लाग्यो ।


यस्तै एक ठाउँमा योगेशराजको जवाफ छ, ‘रणहार’ पढेर पाठकले रणजित मल्लकालीन नेपालखाल्डोको इतिहास बुझेँ भन्छन् भने त्यो उपन्यासले दिन खोजेको घमण्ड होइन । रणजित मल्ल किन हारे, के कसो गरेका भए उनी जित्थे, भन्नेजस्ता प्रश्नको तिनले जवाफ पाएँ भन्छन् भने त्यो उपन्यासले दिन खोजेको भ्रम होइन । एउटा उपन्यासले त्यस्तो भ्रमात्मक ऐतिहासिक शिक्षा दिन सक्दैन । उपन्यासको मुख्य काम पाठकलाई ऐतिहासिक अन्तर्दृष्टि दिने होइन । बितेको समयप्रति संवेदनशील बनाउने मात्र हो । उपन्यासले बुद्धिलाई परिष्कृत गर्ने होइन, मनलाई ताजा पार्ने हो, आलो बनाउने हो ।


यसरी ऐतिहासिक अर्थ र महत्त्वको उपन्यास लेखिएपछि के मनलाई ताजा पार्ने र आलो बनाउने प्रयोजनमा मात्रै एउटा पाठक कसैको लेखाइमा घोत्लिरहने हो र ? योद्धा भनेर कहलिएका रणजित मल्लको ‘हार’ को कारण समेटेर उपन्यास लेखिएपछि तथ्य–तथ्यांक मात्रै काफी हुन्छ र ? रणजित नामका ऐतिहासिक पात्रको ऐतिहासिकता, मनोविज्ञान, सामाजिक यथास्थितिले जित वा हार निर्दिष्ट गर्न सक्छ कि सक्दैन ? यो पक्ष पनि ‘रणहार’ मा समेटिएजस्तो लाग्दैन । तर, योगेशराजको सिंगो र एकदमै बृहत् अन्तर्वार्ता भने गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई उपदेश दिएजस्तो मात्रै लाग्यो, एकतर्फी र सपाट ।
—रामविनोद शर्मा
हाल : मन्थली, रामेछाप

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?