२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

फेरिँदो जीवनशैली

दैनिकी
हरिकुमार श्रेष्ठ

काठमाडौँ — मानिसहरू परिश्रमको सिँढी चढेर नै सफलताको शिखरमा पुग्छन् । एडमन्ड हिलारी पनि सगरमाथाको शिखरमा पुग्नुअघि हिउँको ठाडो चट्टानमा सिँढी खोपेर भर्‍याङ चढेका थिए । अब भर्‍याङ नै नचढ्ने भनेपछि उचाइ त कहिल्यै नदेखिने भयो । मलाई एकाएक पहाडको टुप्पोबाट फेदीमा खसेजस्तो भयो ।

फेरिँदो जीवनशैली

तीन वर्षअघि ढाकाबाट फर्केपछि मेरो फुर्सदिलो जीवन सुरु भएको थियो । तीन दशक लामो परराष्ट्र सेवाबाट बिट मारेपछि अवकाशको अध्याय प्रारम्भ भएको थियो । अवकाशपछि के गर्ने भन्‍ने खासै कुनै योजना थिएन । तर अवकाश जीवनलाई मनमनै स्वागत गरिरहेको थिएँ । कारण, जागिरको लामो समयमा न घर न परिवार, कसैलाई पनि समय दिन सकिएन । न हिउँदको पारिलो घाममा कौशीमा बसेर भोगटे साँधेर खान पाइयो, न त वसन्तको पालुवासँगै वनपाखामा रमाउन पाइयो । वास्तवमा भन्‍ने हो भने, जागिरका दिनहरू मेकानिकल तरिकाले बिते– घर–अड्डा, अड्डा–घर । रेलको लिकजस्तो सपाट जिन्दगी विविधताबिनाको यात्राजस्तो जागिरे जीवनबाट अवकाश हुँदा पनि एक किसिमको उन्मुक्तिजस्तै अनुभूत भएको थियो ।


कस्तो आनन्दको फुर्सदिलो जीवन † पिँजडाबाट मुक्त भएको चराले पङ्‍ख फुकाएर उडेजस्तै । न कुनै बन्धन, न कुनै सकस । अफिस छुट्ला भन्‍ने पनि भएन । मौसमअनुसारको नानाभाँतीको ट्युनिक पनि भिर्नुपरेन, जति बजे सुते पनि भयो, जति बजे उठे पनि भयो, जति बजे खाए पनि भयो, जहाँ गए पनि भयो र जहाँ घुमे पनि भयो । त्यस्तो जीवन सुरुआत गर्न पाउँदा विन्दास थिएँ म ।


जागिरका सुरुआती दिनमा जस्तो हाकिमहरूलाई धनुष्टंकार पनि गर्नुपरेन अब । परराष्ट्र प्रवेश गर्दाका सुरुका दिनमा डराईडराई सिंहदरबारको गेटबाट भित्र पस्थेँ । अफिसमा ठूलो स्वरसम्म निकाल्न पाइन्नथ्यो । ती दिनहरू पनि अब अतीत भए ।


सरकारी जागिर । नियम, कानुन र अनुशासनमा बस्नैप‍र्‍यो– त्यसमा कुनै अन्यथा थिएन । तर, दुई कौडीका माननीय, नेता भनाउँदाहरूले अनाहकमा हेप्ने, चेप्ने र अनावश्यक दु:ख, हैरानी बेसाउनुपर्दा भने परराष्ट्र सेवाको विशिष्ट जागिर पनि अप्ठयारोमा फलेको फर्सीजस्तो लाग्थ्यो ।


परराष्ट्रमा विदेशको पोस्टिङ के–के न ठूलो भन्ठान्छन् । मैले पनि सुरुमा त्यस्तै ठान्थेँ । तर, वास्तविकता भने बेग्लै रहेछ । दूतावासमा काम गर्दा धेरैजसो समय ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ को अवस्था आउँदो रहेछ ।


राणाहरूले आफ्नो शासनकालमा कलकत्ता, दिल्ली र लन्डनमा रहेका नेपाली नियोगलाई आफ्नै बिर्ता ठान्थे । पछि राजाको शासनकालमा विदेशस्थित नेपाली दूतावासहरू राजपरिवारको बिदा मनाउने विश्रामस्थलजस्तै भएका थिए । मुलुकमा लोकतन्त्रको पुन:स्थापनापश्‍चात् देशमा पात्रहरू फेरिए, तर प्रवृत्ति र संस्था फेरिन सकेनन् । परराष्ट्र तथा त्यसअन्तर्गतका नेपाली नियोगहरूले पनि त्यसको भुक्तमान बेहोर्नुपर्‍यो ।


च्याउसरि उम्रेका नेता तथा उनका आसेपासेहरूले दूतावासलाई आफ्नो ससुराली ठान्‍न थाले । नौ–नौ महिनामा सरकार फेरिन्थे, प्रधानमन्त्री, मन्त्रीहरू फेरिन्थे । सबैलाई विदेशयात्राको भूत सवार हुन्थ्यो । त्यसको मार विदेशमा रहेका नेपाली दूतावास र त्यहाँ काम गर्ने कर्मचारीलाई पथ्र्यो ।


प्रजातन्त्रको ठेक्‍का लिने ती ठूला नेता, मन्त्री, सांसद प्राय: दूतावासकै मेजमानीमा बस्थे । डिनरको बेला सोमरसको चुस्की लिँदै तिललाई पहाड बनाउँथे, अनि नसा चढ्दै गएपछि उल्टै दूतावास र त्यहाँका कर्मचारीलाई तथानाम गाली गर्न पनि बाँकी राख्थेनन् । त्यस्तो कटु अनुभव मैले पनि भोगेको छु । तर, जागिरको अनुशासन र पदीय मर्यादाको कारण दाँत किटेर बस्नुपर्ने बाध्यता हामी धेरैले भोगेको यथार्थ हो ।


अब त त्यो बाध्यता रहेन । कसैलाई खुसी पार्नु पनि परेन । कोही रिसाउला भनी डराउनु पनि परेन । आङ फुकाएर बोल्न पाइयो । पेट मिचुन्जेल हाँस्न पाइयो । आफूलाई मन नपरेको कुरामा विवाद गर्न पाइयो । जागिर छउन्जेल ती सब गर्ने छुट थिएन । अवकाशको जीवनले यति ठूलो बोनस पस्केको थियो ।


अवकाशको जीवनले अरू पनि बोनस ल्याएको थियो । ‘नामअनुसारको काम’ भनेझैं परराष्ट्रको काम स्वेदशमा भन्दा विदेशमै बढी हुने नै भयो । त्यसैले परराष्ट्रमा छँदा विदेश घुम्ने अवसर मिल्यो होला, तर आफ्नै देशको नघुमी नहुने, नहेरी नहुने ठाउँ छुटेका छुटयै भए । आफ्नै देश नबुझी, आफ्नै ठाँउ नजानी कसरी परराष्ट्र बुझिँदो हो र ? त्यो पश्नको उत्तर मैले अहिलेसम्म पाउन सकेको छैन ।


जस्तो कि, हिमालपारिको मनाङ, मुस्ताङ नपुगी विदेशीहरूसँग म कसरी अन्‍नपूर्ण सर्किटको विषयमा कुरा गर्न सकौँला ? इलामको चियाको बगान नघुमी म कसरी नेपाली अर्थोडक्स चियाको बखान गर्न सकौँला ? त्यस्तै जंगेपिलर नहेरी म कसरी नेपालको सीमा बुझौँला ? अनि वनवासा र ब्रह्मदेव मण्डी नपुगी म कसरी महाकाली सन्धिको मर्म बुझौँला ?
यदि परराष्ट्र नीति भनेको आन्तरिक नीतिको विस्तारित रूप हो भने स्वदेश नबुझी विदेश बुझ्ने कुरै भएन । तर, तीन दशक परराष्ट्रमा बिताउँदा मैले स्वदेश कति बुझेँ हुँला ? सम्झँदा अहिले आफैँलाई कहाली लाग्छ ।


त्यसैले होला जागिरे जीवनका दमित इच्छाहरू अवकाशपछि एकाएक पलाउन थाले । कहिलेकाहीँ त कहाँबट सुरु गरूँ भन्‍नेमै अल्मलिन्थेँ । मनले भन्थ्यो— मिल्केडाँडाको गुराँसको वनमा नाचौँला । इलामको चियाबगानको सौन्दर्यमा रमाउँला । सौराहामा आन्तरिक पर्यटक भएर राप्‍ती नदीको तीरबाट अनुपम दृश्य हेरौँला । अनि सराङकोटको डाँडाबाट सूर्योदयको मनमोहक दृश्य मनको क्यामेराले कैद गरौँला । त्यस्तै, कर्णालीमा डल्फिन उफ्रेको दृश्यले टेलाउने अनि शुक्लाफाँटामा बथानका बथान बाह्रसिङेहरू चरेको हेरेर रमाउने सपना साँचेको थिएँ ।


संसारको सबैभन्‍दा ठूलो ताल– साइबेरियाको मध्यमा रहेको बैकाल ताल, मास्कोमा छँदा हामी सोध्दैखोज्दै पुगेका थियौं । मास्कोबाट त्यहाँ पुग्न प्लेनबाटै पाँछ घन्टा लाग्थ्यो । तर, अहिलेसम्म म आफ्नै देशको रारा ताल पुगेको छैन । मलाई कहिलेकाहीँ थकथकी पनि लाग्छ— आफ्नै देशको प्रकृतिको अनुपम वरदान रारा नपुग्नेले केको बैकालको फुर्ती लाउनु ?
अवकाशपछि आफ्नै देशमा घुम्नुपर्ने ठाँउको योजना बुन्दै थिएँ । मनभरि अरू पनि योजनाहरू एकपछि अर्को आइरहेका थिए । थुप्रै साथीभाइ, आफन्त तथा इष्टमित्रसँग भेटघाट नभएको पनि वर्षौँ भइसकेको थियो । परराष्ट्रको एकांकी जीवनले त्यसलाई पाखा लगाइदिएको थियो । कतिले त त्यसलाई डलरको धाक र रवाफको रूपमा पनि लिन्थे होलान् । म त्यो भ्रम चिर्न चाहन्थेँ र आफूले मान्‍नुपर्नेका पाउमा शिर राखेर आशीर्वाद लिन चाहन्थेँ । अनि विदेश बस्दाका सुखदु:खका कथा बाँड्न चाहन्थेँ ।


अरू पनि योजना थिए । जस्तो कि, परराष्ट्रमा छउन्जेल लेखपढ त थोरबहुत गरिन्थ्यो नै तर ती धेरैजसो आफ्नै पेसासँग सम्बन्धित हुन्थे । जीवन र जगत्को अध्ययन गर्न बाँकी नै थियो । त्यस्तै, सृजनात्मक विधामा आङ फुकाएर कलम चलाउन पेसागत बाध्यताले रोक्थ्यो । अब त फुक्‍काफाल थिएँ । मन परेको विषय पढ्न पाउँथेँ । मन लागेको विषयमा लेख्‍न छुट पनि थियो । लेखेरै र पढेरै दिन काट्न सक्छु भन्‍ने लागेको थियो ।


भर्खर नेपाल फर्केको थिएँ । मनका इच्छाहरू जतनसँग साँचेको थिएँ । तर, अवकाशको जीवन त सुरुमै आफू ताक्छ मुढो, बन्चरो ताक्छ घुँडोजस्तो पो भयो । नेपाल फर्केको केही महिनामै कम्‍मर दुख्‍ने, जोर्नी दुख्‍ने, घुँडा दुख्‍ने पीडाले थला पारिहाल्यो । श्रीमती पहिलेदेखि नै घुँडा दुखेर हिँडडुल गर्न नसक्ने, त्यसमाथि आफूलाई पनि घुँडा, कम्मर दुख्‍ने व्यथाले थला पार्न लागेपछि मलाई त्यतिखेरै लाग्यो र अहिले पनि लागिरहेको छ— बन्चरो त घुँडामै ताक्दो रहेछ । आफूले ताकेको मुढो त कहाँ पुग्यो कहाँ ।


कति सपना देखेको थिएँ, कति योजना बुनेको थिएँ, ती सबै तुषारापात भए । हामी बूढाबूढी दुवै सकीनसकी अस्पतालको तारिख धाउनतिर पो लाग्यौँ । नेपालमा अस्पतालको पनि कुरा गरी के साध्य । कहाँ जाने, कसलाई देखाउने, केही मेलोमेसो थिएन । निजामती अस्पतालको परिचयपत्र साथमा थियो, त्यतै सोझियौँ । सुरुका बखत त्यो अस्पतालले राम्रै सेवा दिएको अनुभूति हुन्थ्यो तर त्यो अस्पताल निजामती कम र सार्वजनिक बढी भइसकेको रहेछ । त्यतिसम्म त ठीकै थियो तर टिकटका लागि टोकन लिनसमेत बिहान ६ बजेदेखि नै लाइनमा बस्नुपर्ने नियमचाहिँ बुझी नसक्नुकै थियो ।


त्यस अस्पतालको काम गर्ने आफ्नै तौरतरिका रहेछ । टिकटका लागि टोकन लिन पनि हामी बिहानै लाइनमा बस्यौँ । हाम्रो पालो आउने बेलामा त हाडजोर्नी विभागको टिकट नै सक्ििकइसकेछ । त्यसबेला हामीलाई सोभियत संघको विघटनको संघारको बखतको मास्कोको याद आयो जुनबेला कठयाङ्ग्रिने हिउँमा घन्टौँ लाइनमा कुरेपछि आफ्नो ‍पालो आउने बेलामा सामान सकियो भन्दै पसल बन्द गर्थे । जसरी त्यसबेला सामान नपाएर रित्तो हात फर्कनुपथ्र्याे, त्यसैगरी त्यति लामो समय कुर्दा पनि हामीलाई डाक्टर जँचाउन नपाई घर फर्कने अवस्था आयो । सिभिल अस्पतालको अनसिभिल ताल देखेर हामी जिल्ल पर्‍यौँ ।


तैबिसेक त्यहाँ दिउँसोको पेइङ क्लिनिकमा जाँच्ने सुविधा रहेछ । त्यसका लागि पनि दिनभरि नै कुर्नुपर्ने । हामीले त्यसमै भए पनि नाम लेखायौँ । खानु न पिउनु, बिहानदेखि सास्ती खाएपछि चार बजेतिर बल्ल हाम्रो पालो आयो । हाडजोर्नी विभागका एक युवा डक्टरले हामीलाई जाँचे । उनी गुल्मीका रहेछन् । परराष्ट्रमा एक समय एक दर्जन जति त गुल्मीका नै थिए । धेरैलाई उनले चिनेका पनि रहेछन् । परराष्ट्रको नाता जोडेपछि राम्ररी जाँचे, नजोडेको भए पनि जाँच्दा हुन् । तर, नानीदेखि लागेको बानी ‘परराष्ट्र’ शब्द फुत्त निस्किहाल्यो ।
कम्मर र घुुँडाको एक्सरे हेरेपछि उनले भने :
‘तपाईंको केस राइफलबाट गोली निस्केजस्तै हो । जसरी राइफलबाट गोली परर्र निस्कन्छ, उमेर ढल्केपछि कसैकसैको कम्मरको जोर्नी पनि परर्र फाट्छ । जसरी गोली निस्केपछि निस्क्योनिस्क्यो, त्यसैगरी हड्डी फाटेपछि फाटयो फाटयो ।’
म अक्‍क न बक्‍क परेँ ।


’एमआरआई, सिटीस्क्यान गर्न पर्ला कि, डाक्टर साप ?’ मैले आश्वस्त हुन सोधेँ ।
उनले एक्सरे प्लेट भित्तामा देखाउँदै कम्मर र घुँडाको जोर्नी खिएको स्पष्ट तस्बिर देखाएपछि मैले बोल्ने ठाउँ नै रहेन ।
‘के गर्ने त अब, डाक्टर साप ?’ मेरो स्वाभाविक प्रश्न थियो ।


’यो रोग होइन, उमेरसँगै आउने कन्डिसन हो । त्यसैले यसलाई म्यानेज गर्ने हो । त्यसका लागि लाइफस्टाइल मोडिफिकेसन गर्ने— भर्‍याङ नचढ्ने, उकालोओरालो नहिँड्ने, बिहानको घाम ताप्ने, फिजियोथेरापी गर्ने ।’


तीस वर्षको परराष्ट्र सेवाले दिएको मेरो लाइफस्टाइल अचानक परिवर्तन गर्नुपर्ने भयो । जुन लाइफस्टाइलमा मैले जीवनको सबैभन्दा उर्वर समय बिताएँ, त्यसलाई मैले अलबिदा भन्नुपर्ने भयो । जुन लाइफस्टाइलले मलाई करिअर दियो, त्यसलाई मैले गुड बाई भन्नुप‍र्‍यो ।
मलाई हुनुसम्मको पीडाबोध भयो ।


जस्तै पीडा सहेर भए पनि हामी हाम्रो लाइफस्टाइल बदल्न विवश थियौँ । तर, त्यो भनेजस्तो सजिलो कहाँ होस् ? नेपालमा अनि राजधानीमा पनि उकालोओरालो नहिँडी गुजारा चलाउन सम्भव थिएन । आफ्नै घर आउन पनि उकालो बाटो हिँड्नुपथ्र्याे । बिहान मन्दिर दर्शन गर्न जाँदा पनि उकालै हिँड्नुपर्ने । बिस्तारै मर्निङवाक गरौँ भने पनि उकालै हिँड्नुपर्ने ।
उकालीओराली अनि भञ्ज्याङ–चौतारीबिना हाम्रो जिन्दगीको यात्रा कसरी सम्भव होला ? म गम खान्थेँ ।


अनि भ‍र्‍याङबिनाको घर त म सोच्नसम्म सक्दिनँ ।
कमसेकम बिहानको घाम ताप्न घरको छतमा पुग्नैपथ्र्याे । कम्पाउन्ड भएको घर भए पो भुइँतला वा लनमा बसेर घाम ताप्न पाइन्थ्यो । त्यसैले लौरो टेकेर होस् वा घस्रेर होस् हाम्रालागि भर्‍याङ चढ्नुको विकल्प थिएन । त्यसो त घरसम्म आइपुग्दा ढलेको धरहराजत्तिको उचाइको उकालो त त्यसै पनि हिँड्नुपथ्र्याे । मन्दिरको हिसाब गर्ने हो भने त्यसको दोब्बर ।
लाइफस्टाइल मोडिफिकेसनको सल्लाह पनि हाम्रा लागि हावादारी साबित भयो ।


गर्न सकिने भनेको एउटा फिजियोथेरापी रहेछ जुन हामीले सकभर नियमित गर्न थाल्यौँ, अद्यापि गर्दै छौँ । फलोअपका लागि सिभिल अस्पताल जाँदा त्यहाँका अर्का एक युवा डाक्टरले जोक गर्दै मेरी श्रीमतीलाई भने पनि ‘आन्टी, फिजियो नै हो हड्डी खिइने रोगको औषधि । आर्यघाट जाने बेलामा पनि एक पटक फिजियो गरेर मात्र जान्छु भन्नुहोला ।’
उपचारकै क्रममा बेलाबेलामा ब्लड प्रोफाइल जँचाउन अस्पताल गइरहनुपथ्र्याे । अचम्म, हामी बूढाबूढी दुवैको प्रोफाइल करिब उस्तैउस्तै ।


वर्षौँदेखिको बसउठ्, उही खानपिन, उही रस्तीबस्ती, घरदेशमा पनि सँगै परदेशमा पनि सँगै । अनि उही बसाइ, उही घुमाइ– अहिले आएर रोग पनि उही अनि उही समयमा । हुँदाहुँदा शरीरको रगतको तत्त्व पनि उस्तैउस्तै ।यसलाई केवल संयोग वा काकताली मान्न म किमार्थ तयार छैन ।


विवाह बन्धनमा बाँधिएपछि शरीर दुई भए पनि आत्मा एक हुन्छ भन्थे जानिफकारहरू । हो त रहेछ । हाम्रो लाइफस्टाइल मोडिफिकेसन त्यसैको साक्षी छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?