बीए पास भेडीगोठे

पेसा
आनन्द गौतम

काठमाडौँ — ताप्लेजुङ, फावाखोले तन्नेरी कमल विष्टका साथीभाइ कोही लाहुरमा छन्, कोही खाडीको तातोमा भेडीगोठतिर छन् । पढाइमा बीए तह पार गर्नै लागेका कमल भने हिजोआज माथि लेलपको ग्याव्लामा छन्, भेडाको ऊन कात्दैमा उनको दिनरात बितिरहेको छ । देशविदेश, साथीभाइ, इज्जत, प्रतिष्ठा सबै ‘जोडघटाउ’ गरेरै कमल भेडीगोठ छिरेका हुन्, लोकलाज माया मारेर ।

बीए पास भेडीगोठे

पाथिभरा बहुमुखी क्याम्पसबाट बीए पढाइ पूरा गरेका विद्यार्थी कोही लोकसेवा तयारीमा छन् त कोही शिक्षक सेवा आयोगको । कतिपयको सोच विद्यार्थी वा कामदार भिसामा बाहिरी मुलुक जानेतिर पनि छ । कतिपयलाई अन्योल छ, के गर्ने के गर्ने ! स्नातक तहको अन्तिम खुड्किलो परीक्षा दिएका फुङलिङ–११ फावाखोलाका कमल विष्ट भने अव व्यावसायिक भेडागोठालो बन्ने दाउमा छन्, उनी भेडीगोठ फर्कंदै छन् ।


कमलका लागि भेडीगोठ पुख्र्यौली पेसासमेत हो, गोठालो बन्नुमा पुर्खाको नामकामसमेत छ । पाँच दाजुभाइका कान्छा कमल भेडासँगै हुर्किए । बाल्यकालमा आमाले नजानू भन्दा पनि बाबुको प्यारो भएर गोठ जान कम्ती मज्जा लाग्दैन थियो उनलाई । त्यसैले त कहिलेकाहीं हप्ता दिनसम्म पनि स्कुल छाडेर गोठतिरै बस्थे । उनी बालापन सम्झँदै छन्, ‘भेडाको दूध पिउँथें, राडीमा सुत्थें, पाठा बोकेर माउ (उसको आमा) सँग पुर्‍याइदिन्थें अनि नटेरे सोट्कन (सिर्कनाले हिर्काउनु) लगाउँथें । तर, पाँच कक्षामाथि उक्लिएपछि भने गोठ बिरानो लाग्न थाल्यो र स्कुल प्यारो भयो ।’


घर करेसामै रहेको सिम्बु माविबाट माध्यमिक तह पढाइ पार लगाएपछि उनी कलेज पढ्न सदरमुकाम फुङलिङ झरे । अलिक उट्पटयाङ कुरा गर्ने सोख भएका उनले स्थानीय एफएममा कार्यक्रम चलाउने मौका पनि पाए । ‘रेडियो आरजे भएँ, प्राविधिक भएँ, पेन्टिङ गर्न जानें, बोर्डहरू लेख्न सक्ने भएँ,’ सहर पसेपछिको सिकाइ सुनाउँदै कमलले थपे, ‘उमेर बित्दै जाँदा अलिक भिन्न सोच पलायो । बरु भेडापालन र गोठलाई व्यावसायिक बनाउँछु भनेर अर्कै बाटो समाएको छु ।’


कमलका चार दाजुहरू फर्निचर निर्माण लगायतका अरू व्यवसायमा छन्, कमल भने उनका बाबु र काइँला दाजुका साथमा भेडीगोठ पसेका छन् । अहिले २ सय ५० रहेको गोठमा उनी तत्कालै एक सयवटा पाठा थप्दै छन् । यो संख्या पाँच सयजति पुर्‍याउने उनको योजना छ । अझ भेडापालकको समूह बनाउने योजनामा छन् उनी ।

भेडा इतिवृत्ति
‘हरेक व्यवसायमा थोरै दु:ख त भइहाल्छ नि,’ कमलको बुझाइ छ, ‘तर, भेडापालनमा धेरै आनन्द र फाइदा पनि छ । एउटै चीज पनि खेर नजाने भनेको भेडा मात्रै हो ।’ यसको खुरदेखि शिरसम्म काम दिन्छ । देशविदेश, साथीभाइ, इज्जत, प्रतिष्ठा सबै ‘जोडघटाउ’ गरेरै कमल भेडातिर लागेका हुन्, उनी कमाइको हिसाबले पनि सन्तुष्ट देखिन्छन् ।


राडीपाखी बनाउन भेडाको ऊन बिक्री हुन्छ । अहिले एक धार्नी (दुई किलो) को पाँच सय रुपैयाँ मूल्य छ । यसलाई असोज र चैतमा गरेर वर्षमा दुई पटक मुडिन्छ । घरमै बाँधेर पालेको भेडाको त वर्षमा तीन पटक कात्नुपर्छ । असोजदेखि चैतसम्मको सिजनमा जंगलमा काँडाले ऊन धेरै तान्ने भएकाले कम हुन्छ ।


भेडाको सिङ खोज्नेहरू पनि उत्तिकै हुन्छन् । घरको ढोका अघिल्तिर सजाएर राख्न सिङको उपयोग हुन्छ । चरनका लागि सिद्धिसम्म पुर्‍याइने भेडाको घिउ सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ । गोठमै पुगे पनि भेडाको घिउ किलोको १५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । दाद, घाउ, खटिरा निको पार्ने र खाँदा शरीरभित्रको विकार पनि फाल्ने भएकाले घिउको महिमा अलग्गै छ । भेडाको मासु प्रतिकिलो ७ सय रुपैयाँ चल्तीमा छ । गुरुङ, मगर समुदायमा कोसेलीको रूपमा चल्ने भएकाले सबैभन्दा बढी उनीहरूले भेडामासु खपत गर्छन् । आक्कल–झुक्कल सदरमुकाममा भेडाको मासु पाइएमा हारालुछ हुने गरेको रमिता देख्न सकिन्छ । अझ सिद्धि चरेर फर्किएका भेडाको मासुको माग सबैभन्दा बढी हुन्छ । चैत–वैशाखमा सिद्धि पुर्‍याइने भेडा असोज–कात्तिकमा खोला किनार झारिन्छ । तापक्रम सन्तुलन मिलाउन र चरनका लागि पनि उकालो–ओरालो गराउनुपर्ने बाध्यता छ ।


भेडाको दूध भने पानी नहाली खान सकिँदैन । बाक्लो हुने र शरीरले पचाउन नसक्ने भएकाले एक लिटर दूधमा कम्तीमा एक पावा पानी हालेर मात्रै खानुपर्ने नियम छ । गोठमा बस्नेले पनि यही विधि अपनाउँछन् । एउटा माउ भेडाले एक पटकमा एक पावासम्म दूध दिन्छ । प्रत्येक बिहान दुहेपछि तताउने र मोही पारिहाल्नुपर्छ । डोरीले बाँदेर डेली (ढाडमा बोक्ने चीज) मा ठेकी, लुगा, जावे (मोही पार्ने) बोकिन्छ । जहाँ गोठ राखिन्छ, यी सामान पनि त्यहीं राखिन्छ ।


घाँस खुवाएर नसकिने भएकाले चरनको माध्यमबाट पालिने भेडालाई बर्खाको तुलनामा हिउँदमा रुँग्न कठिन हुन्छ । हिउँदमा कम घाँस हुन्छ भने बर्खामा प्रशस्तै । बर्खामा पाँच सयको संख्यालाई एउटै गोठमा राखे पनि हिउँदमा भने कम्तीमा चारवटा चोकमा छुटयाउनुपर्छ । त्यसैले कम्तीमा दुई/तीन गोठालाले एउटै गोठमा मिसाएर भेडा पाल्ने गरेका छन् । आफ्नो भेडा कुन हो भनेर पालकले आवाजले नै छुटयाउन सक्छन् । पाठा जन्मिएको दुई दिनमै हिँड्न सक्ने भएकाले स्याहारमा त्यति कठिनाइ छैन । भेडालाई भीरपहरामा जोगाउन भने कठिन हुन्छ । अरू जनावर फसे एउटा फस्छ तर एउटा भेडा फसे सबै फस्छन् ।


अहिलेको चुनौती सामुदायिक वन र बेलाबेला देखिने हैजा हो । सामुदायिक वनले ५ देखि १२ हजार रुपैयाँसम्म चरन शुल्क लिन्छन् । कहिलेकाहीं बिरामी भए पशु चिकित्सक पाइँदैन, परम्परागत घरेलु विधि प्रयोग गर्नुपर्छ । अहिले पनि चुकलगायतका घरेलु उत्पादन भेडापालकले औषधिको रूपमा प्रयोग गर्न बोकेर हिँड्ने गरेका छन् । एउटा विरामी भए अरूलाई पनि सताइहाल्ने भएकाले रोग नियन्त्रण चुनौती हुने भेडापालक बताउँछन् । थेचम्बुको खाल्टेखोला किनारदेखि कञ्चनजंघा हिमालको आधार शिविर खम्बाछेनसम्म भेडा धपाउँदै पुगेका कमल भेडाको उपचार विधि आफैं सिक्नु जरुरी भएको बताउँछन् ।


अधिक भेडापालन हुने फावाखोलाबाहेक थेचम्बु, मेवाखोला, मैवाखोला, लिंखिम, आङखोप, याम्फुदिनमा भेडापालन हुने गरेको छ । जोर बिक्री हुने भेडाको पाठापाठीको मूल्य एक जोडीको १६ हजारदेखि माथि हुने गरेको छ । माउ, थुंवाको मूल्य भने मासुका आधारमा हुन्छ । माग धेरै भएकाले भेडाको सुकुटी पनि बनाउन थालिएको छ ।


भेडाको सबैभन्दा अगाडि हिँड्नेलाई ‘केरी’ भनिन्छ । यो हिँडेपछि मात्रै अरू पछि लाग्छन् । बालीनाली भएको ठाउँमा भने जूनेलि रातमा राति हिँडाउने गरिन्छ । दिउँसो नौ घन्टा हिँड्ने बाटो भेडाले राति भने तीन घन्टामै छिचोल्छन् । दायाँबायाँ नगरी सरासर हिँड्ने भएकाले औलतिर झार्दा यसरी हिँडाइने भेडापालक बताउँछन् । भेडाको मल राम्रो हुने भएकाले आफ्नो बारी मलिलो बनाउन भेडा (गोठ) राखिदिन किसानले आग्रह गरिरहेका हुन्छन् । मल दिएबापत हेरालुलाई खाने र बस्ने व्यवस्था गर्नुपर्छ ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?