कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विनिर्मित तर्क साम्राज्य

पुस्तक
महेश पौड्याल

काठमाडौँ — कवि गोविन्द नेपालले १२ वर्षको अन्तरालमा दोस्रो कवितासङ्ग्रह ‘तर्कको साम्राज्य’ बजारमा ल्याएका छन् । सङ्ग्रहमा ४३ थान कविता छन् । विषयवस्तु हिसाबले हेर्दा निकै विविधता पाइन्छ गोविन्दका किताबमा । गोविन्द विचारको कुनै एक लाइन, अथवा चिन्तनको एकपक्षीय हिमायती होइनन् ।

विनिर्मित तर्क साम्राज्य

उनका सबैभन्दा प्रभावशाली कविता मानवीय अन्तर्सम्बन्धका कविता हुन् । बा, श्रीमती, परदेसिएको खसम, सानी छोरी, ठूली छोरी, प्रेयसी, सखी आदि उनको कवितामा पात्रको रूपमा उपस्थित आत्मीयजन हुन् । उनले बालाई विश्वविद्यालय मानेका छन्, श्रीमतीलाई सम्पूर्ण कविताको स्रोत र ऊर्जा मानेका छन् । सानी छोरीलाई ठूली छोरीको अनुपस्थितिको पूरक मानेका छन् भने छोरीसँगै ज्वाइँको पनि गरिमामण्डन गरेका छन् । तर यो पनि साँचो हो कि अझै पनि अवशेषमा बाँकी विम्ब पनि यहाँ प्रयुक्त छन्, जसले लैंगिक संवेदनशीलतामा अलिअलि परम्पराको धङधङी बाँकी देखिन्छ । जस्तो कि, ‘पँधेर्नी दिदीबहिनी’ (आलस्यविरुद्ध, ७६) जस्ता वाक्यांश, अथवा ‘तिमीले पानी भर्ने पँधेरो र गाग्रीसँगै भरिँदै गरेको तिम्रो अधुरो सपना’ (तिम्रो माया र बाडुली, ६३) जस्ता वाक्यांशमा कोरिएको महिला र पँधेरोको सम्बन्धको विम्ब अवशेषमा सत्य होला, र देशमा बाँकी होला तर प्रगतिशील चेतको एउटा कविले यस्ता पारम्परित विम्बलाई पनि अब विनिर्मित देखाउने पो हो कि, अथवा अभिव्यक्तिका अध्यावधिक विम्बहरूको आविष्कार पो गर्नुपर्छ कि ? अथवा, ‘सहर, साँल्दाइ र लोकल बस’ शीर्षकको कवितामा जस्तो सबै भट्टीलाई सधैँ कुनै माइली, साइँली वा अर्की महिलाको जिम्मा लाउने कामबाट पनि निवृत्ति लिने हो कि ?


मानवीय अन्तरसम्बन्धपछि गोविन्दको कथ्यको अर्को ठूलो भूगोल भनेको समयचेत हो । उनी वर्तमानलाई निकै गहिरिएर हेर्छन्, निरीक्षण गर्छन्, विगतसँग पनि दाँज्छन् र आफ्ना निचोड निकाल्छन् । फेसुबकजस्ता सूचनाका उपकरणले क्रमश: चिस्याउँदै लगेको संवेदनाको विरोधमा, विभिन्न बहानामा आफूलाई अल्छी बनाउँदै गरेको मान्छेका सम्बन्धमा, ड्राइभरलगायतका श्रमिकका नदेखिएका पाटाका बारेमा लेखिएका उनको कविता समयचेतका साक्षी हुन् । ‘माया पहिले र अहिले’ शीर्षक कवितामा उनले अतिशय वस्तुकरणका कारण क्षणिक र अविश्वसनीय बन्दै गरेको प्रेमको कुरूप चित्र खिचेका छन् ।


गोविन्दका कविताको अर्को भँगालो भनेको कसैले नछोएका, सूक्ष्म र गौण लाग्ने, तर पढेपछि झल्यास्स मस्तिष्कमा बिजुलीको झट्काजस्तो दिने तीक्ष्ण र यथार्थवादी कविताको भँगालो हो । सैलुनमा हामी जान्छौँ तर हामी अक्सर सोच्दैनौँ कि त्यहाँ हामी कुनै परायाका मोहरा बनिरहेका हुन्छौँ र उसको इसारालाई अक्षरश: पालना गरिरहेका हुन्छौँ । यस्तै अर्को कविता हो ‘उपनामको कथा’ जसमा समयसँगै फेरिँदै जाने उपनामको फेहरिस्त प्रस्तुत गरेका छन् कविले । गोविन्दका कविताहरूको एउटा ठूलो हिस्सा दार्शनिक कविताको छ, जसमा उनी आफ्नो जीवनदृष्टि र विश्वदृष्टि पोख्छन् ।


गोविन्दले यस सङ्ग्रहको नाम राखे ‘तर्कहरूको साम्राज्य’ जसले यी कविता बढी मस्तिष्कविलासी कविता हुन् कि भन्ने एउटा आशंका पाठकमा उब्जिन्छ तर, सम्पूर्ण कविता त्यस्ता होइनन् । निकै कोमल, रुमानी र हृदयविलासी कविता पनि छन् सङ्ग्रहभित्र ।


‘कालोपनको विपक्षमा’ शीर्षक कवितामा कालो रङलाई नकारात्मकताको विम्ब बनाइएको छ । मलाई लाग्छ— यो पुरानो र रङभेदी चिन्तन हो, र यो पोलिटिकल्ली गलत छ । तर्क गरिएको छ, ‘तपाईं रङ भन्नुस्, चाहे उमंग भन्नुस्, कालो ढोँगी हो, कालो भोगी हो, कालो रोगी पनि हो ।’ प्रतीकात्मक होला कविता तर अविधात्मक अर्थमा यसले कालो वर्ण भएकाहरूको चित्तलाई आघात पुर्‍याउन सक्छ । आखिर, रङमा के छ र त्यस्तो ?


केही सुझाव कवि गोविन्दलाई । बाका बारेमा थुप्रै कविता आएका छन् । तर्क उस्तैउस्तै हुन्छन्, बाको गरिमामण्डन गरिएको, र सकारात्मक पाटो मात्रै लेखिएको । अलि नयाँ धार सोच्ने कि बाका अथवा आमाका बारेमा ? ‘भुइँमान्छे’ शीर्षकको कविताको भाव पनि धेरै लेखिएको भाव हो । यसको अन्त्य यस्तो छ, ‘भुइँबाटै सुरु हुन्छ मेरो यात्रा, सगर्व भन्छु— म भुइँमान्छे मेरो अन्तिम गन्तव्य पनि भुइँ नै हो ।’ यो शास्त्रीय तर्कलाई अलि पुनर्लेखन गर्ने कि ? ‘क्यालेन्डरमा जीवनको पाना पल्टाउँदै’ शीर्षकको कविताको कथ्य पनि पुनरावृत्त हो कि ?
–महेश पौड्याल

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?