१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वाङ्मय सेरोफेरो

बहस
ह्रस्व, दीर्घलगायत अक्षरश: सबै शुद्ध चाहिने । नत्र अक्षर, मात्रा सबै दोहोर्‍याई तेहर्‍याई दसौं पटकसम्म लेखेर देखाउनुपर्ने । अंग्रेजी विन्यासमेत उसैगरी सिकियो ।
रामेश्वरप्रसाद बराल

काठमाडौँ — अमेरिका, बेलायतजस्ता मुलुकले टोफेल र आईएलटीएसजस्ता भाषामानक पहिल्याएका छन् । त्यहाँ अध्ययन गर्ने हाम्रै विद्यार्थीहरूले पनि अंग्रेजी भाषा सुन्न, बोल्न, पढ्न र लेख्न चारैवटा खुड्किला उक्लिनुपर्छ । हामीकहाँ भने सरकारी, अद्र्धसरकारी वा निजी कतै यस्तो वाङ्मय नियामक छैन । यस्ता कतिपय निकायका पत्रलेखन, सूचना वा विज्ञापनपाटीमा त्रुटि र अशुद्धता झल्किन्छ ।

वाङ्मय सेरोफेरो

भन्नै पर्दैन— आज हामी व्यस्त छौँ, व्यस्त हुन झन् अभ्यस्त छौँ । तथापि न विश्वस्त छौँ, न त खुलस्त छौँ । त्यसैले हामी अस्तव्यस्त छौँ । बोली फुटेदेखि हाम्रो यही नै चाल छ । अबोध बालकको तोतेबोलीसँगै टुकुटुकु हिँडेको हेर्न सुन्न पनि मेलो छैन । मेरो पनि यस्तै थियो पढ्नैपर्ने, पढ्न जानैपर्ने । राजीखुसी होस्, दोर्किएर, घिस्सिएर, मुन्टिएर होस् वा झ्यानाकुल्टुङ भएर । न पढ्न पाइनँ भन्ने खुड्को, न पढ्छु भन्ने भाकल । हँुदै जाँदा बुभँmे । पढगुन निर्बाेध उपासना हो ।


फेरि कस्तो उदेक र संजोग ! अक्षर र ईश्वरको सँगसँगै उपासना । ज्ञान खुल्दै गए । अक्षर के, ईश्वर के– दुवै अनीश्वर । ईश्वर अनीश्वर बन्न सक्लान्, अक्षर अनक्षर बन्न सक्तैनन् । अर्कातिर ईश्वर निराकार । यिनको रूप, रङ, सज्जा वा ज्यामितिक आकृति खोइ कुन हो ? काला मान्छेका ईश्वर काला, गोरा मान्छेका गोरा । भैंसीले आफ्नो ईश्वर देख्दा अझ कालो, अझ अजंगको आफ्नै रूप पाउला, हगि !


अक्षर भने ज्यामितीय र चित्रमय छन् । हुन त अक्षर र ईश्वर दुवै घोकन्ती हुन् । अहिले घोक्ने कुरा सम्झिनुपर्दा अचम्म मान्छु । मैले अंग्रेजी वर्णमाला हिन्दी माध्यमले सिकेँ, किनभने गुरु हिन्दुस्तानी बिहारी थिए । यिनले धेरै थोक सिकाए । गुन मान्नुपर्छ । एकथोक भने कहिल्यै सिकाएनन् । त्यो हो हिन्दुस्तानी राष्ट्रवाद । बिचराहरू, भन्नुको नुनका सोझा । नत्र उनले आफ्नै राष्ट्रवादको चेला मुड्न सक्थे र भिराउन सक्थे । ज्ञान पस्दै जाँदा के पनि थाहा पाएँ भने हिन्दी र नेपाली संस्कृतजस्तै देवनागरी वर्ण हुन् ।


अहिले लाग्छ— यसले ब्रिटिस उपनिवेशवादविरुद्ध हामीलाई चनाखो हुन सिकाएको रहेछ, र उपनिवेशवादी लुटाहा शक्तिको आफ्नै कङ्गाली हैसियतप्रतिको व्यङ्ग्यवाण रहेछ । जिब्रोमै बिलाउने लवज र कति सहज ! हामी पनि लहैलहैमा भट्टयाउँथ्यौं, खाँडो जगाउँथ्यौँ, ‘कुइरेका टाउकामा ट्वाक ।’ सबैथोक बुझ्नै किन पथ्र्याे र ? भैंसीको थुतुनो भैंसीलाई प्यारो लाग्छ नै । भन्नुपर्‍यो, धन्य पराधीन भएर बाँच्नु परेन !


तथापि पढाइमा थियो कठोर अनुशासन । मर्यादापालकमा गुरुहरू । गुरुले बोल्थे, हामीले टिप्नुपथ्र्याे । लेख्दा ह्रस्व, दीर्घलगायत अक्षरश: सबै शुद्ध चाहिने । नत्र अक्षर, मात्रा सबै दोहोर्‍याई तेहर्‍याई दसौं पटकसम्म लेखेर देखाउनुपर्ने । अंग्रेजी विन्याससमेत उसैगरी सिकियो । कक्षा उक्लिँदै जाँदा नेपाली–हिन्दी, हिन्दी–अंग्रेजी र कुनैका उल्टापाल्टा पनि भाषान्तरण गर्नुपथ्र्याे । म सम्झिन्छु एक पटक मैले ‘राम आज कलकत्ता जाता है’ को पाठमा अंग्रेजी यसरी सुनाएको थिएँ— राम टुडे कलकत्ता गोज’ । अझ माथिल्ला कक्षामा हिन्दी त छुटयो, भाषान्तरण भने छुटेन ।


यसै कालक्रममा २०१४ सालताका हो । विराटनगर (म हुर्केको ठाउँ) मा बित्थाको भाषा संग्राम मच्चियो । भनियो— नेपाली होइन, हिन्दी । आखिर थियो नेपालीकै वर्चस्व र तत्कालीन समाजमा यसैको मूलप्रवाह । यसैमा पनि कोही ठालू पल्टियो र पण्डित्याइँ छाँट्न पुग्यो : ‘जहाँ अन्यायले न्यायको घाँटी निमोठ्छ, त्यहाँ माटो बोल्छ ।’
ढर्र ढम्म ढर्र ढम्म ढ्वाङ ठोक सारा आज जानुपर्छ हामी देशनिम्ति प्यारा (देवकोटा) महेन्द्रकालका दुईवटा काम मैले घतलाग्दा पाएँ । नेपाली वाङ्मय र नेपाली मुद्राको राज्यव्यापी प्रचलन । नेपाली वाङ्मय अझ मलिलो हरितगृह र चित्रमय उद्यान बन्यो । त्यसैले यो वाङ्मय पुर्खाबाट आएको शेषपछिको बकसपत्र हो । यसमा हिमाली शीतल वायुको सफा चुम्बनदेखि तराई समथरसम्म मधुरता र मिठास छ ।


अब यो उद्यानमा धेरै सिर्जनशीलता झुल्केका र नवप्रतिभाले काँध थापेका छन् । काव्य, कथा, उपन्यास, आत्मकथा, समालोचना बग्रेल्ती आएका छन् । प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन, गोरखापत्रजस्ताले नेभाप्रसको अभिभारा थेगेका छन् । निजी बुद्धिबर्कत र लगानीमा लाभ–हानि जे बेहोर्नुपरे पनि ‘अभिव्यक्ति’ र ‘रचना’ आदिका स्तरीय प्रकाशन चार–पाँच दशकदेखि धानिएकै छन् । भानुभक्त, देवकोटा, लेखनाथ, गोपालप्रसाद रिमाल र नवप्रतिभाका कृतिहरू आंशिक भए पनि अंग्रेजी भाषान्तरण बढी राखेकै छन् ।


उत्पादन कार्यमा वाङ्मय र उद्योग व्यवसाय एकैनासे हुन् । दुवैले आफ्ना उत्पादन जनता–जनार्दनले सहज पाउन सकून् भन्ने चाहना गर्छन्, र दुवैले जनमानसको पहँुचमा होडबाजी । उता वाङ्मयमा साहित्य र भाषाको अन्योन्याश्रित सम्बन्ध छ । यिनले एक–अर्कालाई निर्देशन र नियन्त्रण गरी राखेका हुन्छन् । तसर्थ वाङ्मय राष्ट्र र राष्ट्रत्वको अखण्ड श्रीवृद्धि र सोह्रशृंगार हो । यसलाई राजनीति वा उग्रवादले टुक्रयायो वा टुक्रयाउन खोज्यो भने यसको शाश्वतता डगमगिन्छ । त्यसैगरी शब्द र भाषाहरू व्याकरणले निर्देशित गर्‍यो भने वाङ्मय बिटुलिनबाट जोगिन्छ । यथार्थमा यसले मानसपटलमा चौरासी व्यञ्जनको पृथक्–पृथक् स्वाद र रस खोज्छ ।


नियाल्दै जाँदा परभाषीको अडानतिर पनि नजर जान्छ । वाङ्मयका प्रत्यक्ष सरोकार नभएका विधा, जस्तै व्यवस्थापन, न्यायकानुन, विज्ञान, आईटी आदिमा अझ अन्योल छ । यस्तै, वाङ्मय स्तरीयतामा समेत पहल गर्न नसकिने होइन ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?