१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

हाम्रो टोलको कथा

सामयिकी
अघिल्लो साता बलात्कारीको निर्मम सिकार भएका केटीहरूप्रति श्रद्धाको मैनबत्ती बालेर माइतीघर, मण्डलाबाट फर्किंदा म सोचिरहेको थिएँ— हामीले बलात्कारको विरोध गर्दागर्दै त्यसलाई ग्लोरिफाई गरिरहेका छौं ।
किशोर नेपाल

काठमाडौँ — अचेल टोलमा राम्ररी सुत्न पनि पाइँदैन । एवोन कम्पनीको पुरानो डिजाइनको साइकल सानातिनो टिप्पर नै हो । साइकलका दायाँ–बायाँ बोरा झुन्डयाएर बिहानैदेखि खाली सिसी, पुराना कागज र फलामका टुक्राको खोजीमा हाँक लगाउँदै आउँछन् हूलका हूल मानिसहरू । उनीहरूको हाँक सुनेपछि निद्राबाट ब्युँझिनैपर्छ । ओछयानबाट उठ्नैपर्छ । यो टोलमा बस्ने प्रत्येक घरवालाको बाध्यता हो यो ।

हाम्रो टोलको कथा

घर–आँगनबाट यी खाली सिसीवालाहरू अर्को टोलतिर ओरालो लाग्नेबित्तिकै आलु, प्याज, बन्दा, लौका, भन्टा, परवर, खुर्सानी र करेलाको हाँक लगाउने फेरीवालको लर्को लाग्छ । लर्को देखेपछि गृहिणीहरू रमाउँछन् । उनीहरू आलु, प्याज र परवर, करेलाको भाउ लगाउन थाल्छन् । अचेल विभिन्न प्रकारका दाल पनि घरघरमा पुग्न थालेका छन् । यी शाकाहारी ‘आइटम’ बाहेक फेरीवालहरूले आम, काँक्रो र मोटा खोर्सानीको अचार, काँचो माछा पनि ल्याउने गरेका छन् । कुन दिनदेखि मासु लिने हो हजुर ? बकरेको शुद्ध मासु । कालिमाटीको तरकारी बजारमा आएजति र टिप्न भ्याएजति सबै उपभोग्य सामान बिक्री गर्छन् फेरीवालहरू ।


यी फेरीवाल नआउने हो भने टोलका मानिसले तरकारी नै खान पाउने थिएनन् । घरका पुरुष सदस्यहरू बिहान हुनेबित्तिकै चिया चुरोटको तलतल मेटाउन चियापसलतिर लाग्छन् । समयमा ठूलो परिवर्तन आएको छ । पहिलेपहिले महिलाहरू कम्मरमा बाँधिएको सारीमा ठूलो साँचोको झुत्तो झुन्डयाएर बजारतिर लाग्थे । उनीहरूको पछिपछि हातमा झोला बोकेको एउटा केटो हुन्थ्यो । अचेल महिलाहरू तरकारी बजारतिर जानै चाहँदैनन् । एक त, तरकारीको भाउ अकासिएको छ । कुनै वस्तु छोइसाध्य छैन । किन्ने त कुरै नगरौं । दोस्रो, बजार यति फोहोर छ कि त्यता जानै मन लाग्दैन । फेरीवालाले उनीहरूको पैसा पनि जोगाइदिएका छन् ।


पहिलेपहिले दूरदराज मधेसबाट आएका तरकारीवाला भैयासँग कसैले पनि तरकारी किन्दैनथे । अहिले यिनीहरू नभए भान्सा नै चल्दैन । यस्तो लाग्छ, कुनै दिन भैयाहरू तयारी दाल–भात, तरकारी बोकेर टोलका ढोका ढकढक्याउन थाल्नेछन् । टोलको मूलबाटो एक डेढ घण्टाका लागि तरकारीमय हुन्छ । फेरीवाल भैयासँग व्यवहार गर्नु गृहिणीहरूका लागि सजिलो पनि छ । उनीहरू उधारो पनि पत्याउँछन् ।


‘भैया’ शब्दले यी भैयाहरूलाई रत्तिभर पनि प्रतिक्रियात्मक बनाउँदैन । किनभने, उनीहरू नेपाली होइनन् । मधेसका नेपाली त झगडा गर्ने मुडमा आइहाल्छन, ‘को भैया ? किसका भैया ?’ दूर देहातका नेपालीहरू काठमाडौं सहरमा तरकारीको भारी साइकलमा चढाएर दुई–चार पैसा कमाउनुभन्दा घरजग्गा धरौटी राखेर ऋण काढ्छन् र रोजगारीका लागि खाडीतिर भासिन्छन् । नेपालीले बाँच्न होइन, भासिन मात्रै जानेका छन् । पहिले लाहुर जान्थे, अहिले कतार जान्छन् । जहाँ पनि भासिने, जागिरमा पनि, सम्बन्धमा पनि, परिवारमा पनि, ऋृणमा पनि । ई क्यू धेरै भएको जाति हो यो । जहिले पनि मनले सोच्छ । भन्छ— दिमागलाई रौंले छोपेको छ । टोपीले पनि छोपेको छ । दिमाग छ कि छैन ? विचार त्यसमा पनि गर्नुपर्छ ।
भारत, बिहारको बरौनी वा बेतियाबाट व्यापार गर्न आएका फेरीवाललाई कसैले भैया भनोस् कि दादा ? मतलब नै के भो र ? उल्टै, छिमेकका ‘मोटीमोटी दुल्ही सावनी’ जब भैया शब्द बोल्छन् तब फेरीवालहरू यो शब्द सुनेरै गदगद हुन्छन्, आत्मीय ‘फिल’ गर्छन् र कबीरको दोहा गुनगुनाउन थाल्छन् :
चाह मिटी चिंता मिटी मनवा बेपरवाह ।
जिसको कुछ नहीं चाहिए वह शहनशाह ।।

यीमध्ये धेरैले आफ्नो घर नेपालमा रहेको बताउँछन् । भारतमा भन्दा के होला, कसो होला । आखिर नेपालमा भारतीय पिटिने त चलन नै बसिसकेको छ । ज्यानको माया सबैलाई हुन्छ । विडम्बना के भने, तीमध्ये एक जना पनि नेपाली हुँदैनन् । धेरैले आफ्नो घर ‘गौर’ वा ‘कलिया’ बताए पनि नेपाली मधेसीको कान र जिब्रोका लागि उनीहरूले गरेका शब्दहरूको उच्चारण समावेशी हुँदैनन् ।


तरकारी बजार उठ्नेबित्तिकै टोलमा तिखो सिटीको आवाज गुन्जिन्छ । ‘फोहोर आयो फोहोर आयो’, घरपरिवारका सबै सदस्य हातमा एक एकबटा डस्टबिन लिएर घरबाहिर निस्किन्छन् । भान्साको काम गर्नेले फोहोरको निकै ठूलो पोको उचाल्नुपर्छ । चाडबाडको बेलामा टोलमा बढी नै फोहोर थुप्रिन्छ । टोलका मानिसहरू खान्छन्, खूब खान्छन् । रेस्टुराँबाट मगाएर खान्छन । खाँदो खान्छन् । त्यसपछि बाँकी रहेको खाना गल्लीको पेटीमा खुला थुपारिदिन्छन । टोलका मात्तिएका भुस्याहा कुकुरहरू त्यो खानातिर हेर्दा पनि हेर्दैनन् । फोहोर पहिले गाडामा आउँथ्यो, अचेल गाडीमा आउँछ । फोहोरको काम गर्ने सहकारीले कुन्नि कुन विदेशी दाताको सहयोगमा टिप्पर किनेको छ । एक टोल, एक टिप्पर भने पनि टिप्पर पहाडमा नुन बोक्ने खच्चडजस्तो जोतिइरहेको हुन्छ ।


अचेल नेताहरू सिंहदरबार देशका सबै गाउँ र नगरपालिकामा पुगेको छ भन्छन् । यो टोलमा भने सिंहदरबार अझसम्म आएको छैन । टोलबाट त्यस्तै तीन किलोमिटरजति पर होला साँच्चिकै सिंहदरबार । चुनाव भएको एक वर्ष भइसक्दा पनि हाम्रो टोलसम्मको तीन किलोमिटरको दूरी पनि पार गर्न सकेको छैन सिंहदरबारले ।


यो टोलका मानिसहरू अनन्तको कुरा गर्छन् । बौद्धनाथ र पशुपतिनाथको अनन्त आभाले धिपिक्क बलेको महानगरको यो टोल पहिले खाँट्टी गाउँ थियो । अनन्त माने इन्फिनिटी । यो कुन अनन्त हो ? साकार हो कि निराकार ? आकार भएको अनन्त त यही हो जहाँ कोही जन्मिँदैछ र कोही मर्दैछ । त्यो पनि भोकै । त्यो निराकारको बारेमा कसैलाई केही थाहा छैन । त्यो अनन्तका बारे मेरी श्रीमतीलाई केही थाहा होला जो हालै तीज मनाउन माइत गएकी थिइन् । मेरी आमाको तीज मनाउन माइती जाने चलन थिएन । माइती टाढा थियो । मोटर चल्ने बाटो थिएन । हुनेखानेका छोरी–बुहारी उलिनकाठ चढेर माइती जान्थे ।


मेरी आमा सिनियर थिइन् गाउँमा । उनी गाउँका सबै दिदी–बहिनी र साथीहरू बटुलेर वाग्मती जान्थिन् ऋृषि–पञ्चमीका दिन सप्तऋृषिको पूजा लगाउन । हामी केटाकेटीहरू बिहानै चिया–पाउरोटी खाएर वाग्मतीको किनारामा पुग्थ्यौं भकारी कब्जा गर्न । बिहान निकै चिसो हुन्थ्यो । वाग्मतीको निर्मल र कञ्चन पानीमा हात कठाङ्ग्रिन्थ्यो । तैपनि, हामी पौडी खेल्थ्यौं । सफा बालुवा टिलिक्क टल्किन्थे हाम्रो निधारमा । आमा राता सारीमा सजिएका महिलाको हूल बाँधेर आउँथिन् । वाग्मतीको पानीले भकारी पखाल्ने काम केटीहरूको जिम्मामा पथ्र्याे । त्यसपछि सेतो भोटो र सेतै धोतीमा सजिएका गुरुजी भकारीमा चढ्थे । उनी चामलको पीठोले अष्टमण्डल बनाउँथे र अष्टमण्डलको बीचमा श्रीयन्त्र बनाउँथे । त्यसपछि पूजा सुरु हुन्थ्यो । दर्जन महिलाहरू गोलाकार बनेर अष्टमण्डलको परिक्रमा गर्थे । धूप, दीप जल्थ्यो । विशेष नैवेद्यमा हाम्रो रुचि हुन्थ्यो । आमाहरू घर फर्केर कर्कलोको तरकारीसँग सामाको भात खान्थे । मलाई अहिलेसम्म थाहा छैन धानको कनिकाजस्तो सामा भनेको कस्तो चामल के हुन्थ्यो ?


हामी हुनेखाने वर्गमा पर्दैनौं । त्यसो भए पनि, मेरी श्रीमती गाडीमा नै आउने–जाने गर्छिन् अफिस र माइत । माइत त्यति सारो जान मन गर्दिनन् । उनी सत्य–सनातनी परिवारमा हुर्केकी नारी । उनलाई आफना बा, आमा, दिदी, बहिनी कसैको पनि एटिच्युड मन पर्दैन । उनीहरू जिन्दगीलाई सग्लो हेर्छन् । यो बांगो–टिंगो छ भन्ने बुझ्दैनन् अथवा बुझ्न चाहँदैनन् । त्यसो त, म आफैं पनि आफ्नी पत्नीसँग अलिकति झस्किन्छु र अलिकति हच्किन्छुु । उनी नारीविरुद्ध हुने कुनै पनि अन्यायको प्रतीकारात्मक आन्दोलनमा जुटेकी हुन्छिन् । उनको जागिर नै त्यही हो ।


मलाई खुसी छ, उनले उनकै रुचिअनुसारको काम पाएकी छन् । यति कुरालाई आनन्द छ कि उनी कमाउँछिन् र परिवारको आवश्यकता पूरा गर्छिन् । मुख्य कुरा, उनले काम गर्न थालेपछि घरमा बा–आमा दुवै खुसी छन् । आमा माइती नगएको धेरै भयो । बाह्र–पन्ध्र वर्षदेखि माइतीहरू पहाडबाट झरेर मधेसतिर बसाइँ सरेका छन् । पहाडमा बस्न सकिने परिस्थिति भएन । केही बढी नै काटमार भयो । जेठा मामाको घरमा ‘उनीहरू’ ले आगो लगाइदिए । सुरक्षाकर्मीले भन्यो, ‘आतंकवादीले आगो लगाइदिएका हुन् बाजे । हामी केही गर्न सक्दैनौ । केही नगर्नू भन्ने आदेश नै आएको छ माथिबाट ।’ मामा र सुरक्षाकर्मीका बीच कुराकानी हुँदाहुँदै केही पड्किएको चर्को आवाज आयो । बम, छेउको फूलछाया वस्त्र भण्डार अगाडि बम पड्किएको थियो । बम पड्किएपछिको दृश्य मुटु पगाल्ने खालको थियो । बुङ्ग धूलो उडेको थियो । आँगनमा मानिसहरू निर्वस्त्र उभिएका थिए । उनीहरूले लगाएका कपडा चिथ्राचिथ्रा भएका थिए । शरीरभरि बमका टुक्राहरू गाडिएका थिए । बिचल्ली मानिसको ।


बुहारीसँग आमाभन्दा पनि बा खुसी छन । बा रिटायर हुँदा उपसचिव थिए । त्यही साइनोले उनलाई सबैले सचिव भन्थे । बूढा मख्ख थिए— बुहारी छोरालाई टक्कर दिने अंग्रेजी वोल्छिन् । उनी चिल्लो गाडी चढेर अफिस जान्छिन् । लाख रुपैयाँ त तलब मात्रै छ उनको । आठ दस हजार आम्दानी गर्ने छोरोसँग कुनै तुलना र टक्कर हुनै सक्दैन । यसले छरछिमेकमा घरको प्रतिष्ठा ह्वात्तै बढाएको छ । ओहो, सचिव साहेबकी बुहारी त अलग्गै छिन् । टोलमा अहिलेसम्म कोही पनि देखिएको छैन उनलाई जित्ने । अस्ति मासुपसले अशोक भन्दै थियो— अंकललाई सुहाएन यो घर । अलि ‘पश’ एरियामा घर लिनुपर्‍यो । अंकल–अण्टीको आम्दानी छँदैछ । आफू अन्त बस्न गएर यो घर भाडामा लगाए पनि चल्छ । नरेले भनेपछि चल्छ । ऊ मासुको व्यापार मात्रै गर्दैन । घर–जग्गादेखि मनी लेन्डिङसम्म, उसको बिजनेस व्यापक छ । मैले सोचें, नरेले जवाफ पाउनुपर्छ । ‘नरे, मसँग गरेको कुरा सचिव साहेबसँग गर न,’ मैले भनें ।


सचिव साहेब आफ्नो पेन्सन बैंकमा थुपारेर राख्छन् र बुहारीको कमाइमा घर खर्च चलेकोमा रमाउँछन् । काँठे स्वभाव जसो गरे पनि नजाने । मलाई मन पर्दैन यस्तो कुरा । बाले अव आफूले चाहेजति खर्च गरे हुन्छ । तर, बा आफूलाई इन्फिनिटी ठान्छन् । बिहान म घरबाट निस्किनै लागेको थिएँ, बा कराइहाले— उ निस्कियो नवाव साहेब । बा सधैं कराउँछन् । मेरा लागि बिहान घरबाट निस्किनु एकप्रकारको लत भइसक्यो । चुरोटको बाक्लो कस मिलाएर कडा चिया सुरुप्प तान्दा आउने मजाबाट म आफूलाई बन्चित गर्न चाहन्नँ । आह, कति मजा आउँछ ।


अझ अहिले त दुर्गाले आफ्ना साथीहरू कुशल र अर्जुनसँग मिलेर अग्र्यानिक कफी स्टोर खोलेको छ । खोलेको त दुर्गा, कुशल र अर्जुन तीनै जना मिलेर हो । कुनै एक जना मात्रको रुचिको कारण स्टोर खुलेको होइन । एस्प्रेसो र अमेरिकानो च्वाइस हो मेरो । गर्मीको मौसममा चार–पाँच क्युब आइस हालेर लुंगा बनाउँछ दुर्गाले । त्यसको स्वाद दिव्य हुन्छ र जिब्रोमा बसिरहन्छ लामै समयसम्म ।


हामी चार–पाँच जना साथीहरू अमेरिकानो पिउँछौ । स्वाद र सन्तुष्टिका लागि । यो सोख अब हामीलाई महँगो पर्न थालेको छ । चियाभन्दा पाँच गुना महँगो । सय रुपैयाँ कप कफी । ‘बरु यतै बरिष्टाको तालिम लिएर, बिहान–बेलुका काम पनि यतै गर्ने हो कि ? त्यसो भयो भने यताको कफी खर्च यतै उठाउन सकिन्छ होला कि ? के भन्छौ साथीहरू ?’ त्यो दिन मथुराले प्रस्ताव गर्‍यो । जवाफमा हामी सबै साथीहरू गललल्ल हाँस्यौं एकसाथ । हामी हाँसेपछि अरू ग्राहकहरू पनि हाँस्न थाले । हामी हाँस्नुको कारण हामी मात्र थियौं । हामी हाँस्नु उनीहरूका लागि हाँसोको कारण बन्यो ।


जीवन निरन्तरता होइन । चाहे सद्गुरुले भनुन्, चाहे साईंरामले । मानिसको ओरिजिन वा उद्गमका बारे उनीहरूको विचार भिन्न छैन भने त्यो भक्तको गल्ती होइन । भक्त त मूर्ख हुन्छ । ऊ आफ्नो इतिहास र ज्ञानलाई सद्गुरु र साईंरामको काखमा राखेर मुस्कुराउँछ । कस्तो मूर्ख । सद्गुरु र साईंबाबा हलिउडका सिनेमा निर्माता–निर्देशक उडी अलेन होइनन् । अलेन सिधै भन्थे, मानिसहरू प्रेममा फँसे भने बर्बाद हुन्छन् । प्रेम तनाव हो । तर, सेक्सले मानिसलाई तनावमुक्त गराउँछ । पोथी र भाले, दुवैथरी मानिसले यसलाई साँचो कुरा मानेका छन् । मानिस सधैं योजनाबद्ध भएर प्रस्तुत हुन चाहन्छ । तर, त्यो सम्भव नै हुँदैन । ऊ टेन्सनको भारी बोकेर सद्गुरुको आश्रम खोज्दै भौंतारिन्छ । त्यस्तो बेलामा अलिकति सोचेर सन्त कबीरको दोहा गुनगुनाउने हो भने मानिस मगन भइहाल्छ ।


ओहो, यतिविधि बलात्कार । समाचार हेरेर, पढेर, सुनेर देशका मानिस तिलमिलाएका छन् । मानिसका साह्रा आचरणसँग, मान्यतासँग, सिद्धान्तसँग दिनहुँ बलात्कार भइरहेको देशमा नारी देहसँग बलात्कार हुनु स्वाभाविक नै हो । फूललाई फक्रिनै नदिई कोपिला अवस्थामा नै चुँडिदिएर बलात्कारी मानिस सृष्टिको संरचना नै भत्काउन चाहन्छ । दैत्यका रूपमा प्रस्तुत हुन थालेका छन् मानिसहरू । यो खतरा हो । यतिबेला सभ्यताको संक्रमण र पतन सुरु भएको छ । यति थोरै मानिस बस्ने यति सानो देशमा प्रत्यक्ष भनिएका बलात्कारका घटना यति धेरै छन् भने अप्रत्यक्ष–थाहा नपाइएका, दबाइएका, पन्छाइएका र खेदिएका घटना कति होलान् ? हाम्रो समाज आफ्नै विरुद्ध कति आततायी बनेको छ ।


अघिल्लो साता बलात्कारीको निर्मम सिकार भएका केटीहरूप्रति श्रद्धाको मैनबत्ती बालेर माइतीघर, मण्डलाबाट फर्किंदा म सोचिरहेको थिएँ— हामीले बलात्कारको विरोध गर्दागर्दै त्यसलाई ग्लोरिफाई गरिरहेका छौं । आफूलाई सुरक्षित पार्नका लागि शनिबार बिदाको दिन पारेर मण्डला आउने महानुभावहरू के अरू दिन पनि बत्ती बाल्न आउलान् ? मेरो चिन्तनको आवश्यकता थिएन त्यतिखेर । तैपनि, मनमा आइहाल्यो भने म के गरौं ? अँध्यारोलाई चिर्दै म घरतिर लागें । कोठामा मेरी पत्नी उभिएकी थिइन् स्वागतमा । उनी हटकेसबाट प्लेटमा खाना हाल्न थालिन् । म हात धुन गएँ । आएर एक गाँस मुखमा हाल्नेबित्तिकै उनले भनिन्, ‘मसँग गुड न्यूज छ हाम्रा लागि । आई एम एक्स्पेक्टिङ ।’


उनको र मेरोबीच सम्बोधन सहज थिएन । बा–आमाको अगाडि उनी मलाई ‘हजुर, बक्सियोस्’ भन्ने गर्थिन् । कोठामा हामी तिमी–तिमी । भनिन्, ‘तिमी के चाहन्छौ ? सन अर डटर ।’ डटर शब्द सुन्नेबित्तिकै म आत्तिएँ, ‘ओहो, नो । तिनीहरूले मार्छन् । मलाई रहर लागेको त छोरीकै हो । तर, बचाउने कसरी ?’


म अदृश्य भविष्यतिर संकेत गर्दै थिएँ । त्यो अदृश्य मात्र होइन, अचिन्त्य पनि थियो । मेरो प्रतिक्रियाले उनी पनि आत्तिएकी थिइन् । बलात्कारपछि मारिएका छोरीहरूका नाममा श्रध्दाञ्जलीका खातिर मैनबत्ती किन्न र सभा आयोजना गर्ने दाताकी प्रतिनिधि थिइन् उनी । अहिले उनी आमा बन्ने क्रममा छिन् । मलाई छोरी चाहिएको छ । तर, उनी जन्मिएपछि समर्थ नहुन्जेलसम्म आततायीहरूबाट कसरी जोगाउने उनलाई ? हामी निकै समय निदाएनौ । उनी केही सोचिरहेकी थिइन् ।

प्रकाशित : आश्विन १३, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?