उड्यो यायावर यूकेतिर

नियात्रा
कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो ।
खगेन्द्र संग्रौला

काठमाडौँ — १० जुलाई २०१८ । दिउँसो ३ बजेतिर जेबी फोनको घन्टी बज्यो— कोकुली क्वाँक्, कोकुली क्वाँक् । हेर्छु, नम्बर परदेशको छ । परदेशी छोराछोरीको होइन, कसको होला यो ?‘सेवा रो दाजु, म नरेश काङमाङ ।’

को नरेश ? कताका काङमाङ ? म अलमल्ल पर्छु । एकाध छोटो भेट भएका मानिसको अचेल सहजै सम्झना हुँदैन । उमेरले गिज्याउँदै अब तँ बूढो हुन लागिस् है ब्रो भन्छ । सविनय केरकारपछि फोनकर्मीको परिचय खुल्यो, ‘यूकेबाट म उही नरेश क्या दाजु ।’
उनले सुराक दिए, सम्झनाको धमिलो पत्रमा उनको परिचय खुल्दै गयो । छ–आठ महिनाअघि होला, पहिचान पुरस्कारको एउटा यज्ञमा हाम्रो भेट भएको थियो । छाँटले पुरस्कार गुठीका हर्ताकर्ता उनै थिए । पुरस्कार भुइँयाँ रचेर हाम्रा यज्ञश ब्रोले पड्काएका थिए ।
‘अबलाई चिनेँ ब्रो,’ मैले भनेँ ।
‘एउटा अनुरोध गरूँ भनेर हाव दाजु ।’
‘हन त्यस्तो के होला हाव ब्रो ?’
‘आदिवासी–जनजाति महासंघ, यूकेले यसपाला तपाईंलाई यूकेमा निम्ता गर्ने निर्णय गर्‍यो । विश्व आदिवासी दिवसको औसरमा । तपाईं स्वीकार गर्नुहुन्छ ?’ बाफ रे प्रिय ब्रोको यो भाषा ? कति औपचारिक ! मनमा जबाफ हाजिर छ, तर मसँग भाषै छैन । म त्यति औपचारिक, त्यति अह्ररो हुन जान्दिनँ । न त कोही भएको नै मलाई उति सहज लाग्छ । जिन्दगीभरि अरसिक औकचारिकताको पर्दाप्रथाबाट म भागिरहेँ । म जस्तो छु, त्यसैले त म यस्तो भएँ ।


‘हुन्छ नि त, आउँला,’ संक्षिप्त भलाकुसारीपछि मञ्जुरी दिएँ ।


‘थप कुरो जङ्ग सुनुवारसँग हुन्छ है दाजु ।’ यसो भन्दै नरेश कर्तव्यनिवृत्त भए । जङ्ग रहेछन् उताको आदिवासी–जनजाति संस्थाका अध्यक्ष । थर भने सुनुवार !? मेरो खुल्दुले चित्तमा अलमलको अर्को चक्रबात् उठ्यो । संघ छ आदिवासी–जनजातिको, सुनुवार कसरी यसका अध्यक्ष भए ? मेरो अल्पज्ञानमा सुनुवार भनेको सुनार थियो । सुनार अर्थात् सुवर्णकर्मी उर्फ कामी । झस्किँदै सम्झेँ, शाही सेनाको अड्डामा वध गरिएकी किशोरी मैना सुनुवार थिइन् । सुनुवार अर्थात् कामीकी छोरी । रेडियो नेपालका मनमुग्धकारी उद्घोषक पाण्डव सुनुवार कामी थिए, सुनकर्मी कामी । मैले आफ्नो खुल्दुलीको काम चलाउ उत्तर रचेँ— हन्डर–ठक्करबाट सिक्दै आदिवासी–जनजाति संघको वृत्त विस्तार भएछ क्यार । र, सीमान्तकृत जनजातिको संघमा उत्पीडित दलितलाई पनि ससम्मान भित्र्याइएछ । यो सत्य हो भने ब्रोहरूले जे गरे, गज्जप गरे । सारा सनातनी शोषक शासकहरू निहित स्वार्थको मोर्चामा एकगठ छन्, तीसँग जुध्न सारा शोषित–पीडितहरूचाहिँ एकगठ किन नहुने ? कति दिन फुटाऊ र शासन गरको सिकार भइरहने ? स्वतन्त्रताको बाजीमा कति दिन हारिरहने ?


जङ्गसँग मेरो सम्पर्क भयो । आदिवासी–जनजातिको कार्यक्रम रहेछ अगस्त ५ मा, म लन्डन पुग्नुपर्ने ढिलोमा पनि त्यसको तीन दिनअगाडि । आइजाइ र गाँस–बासको चाँजो जङ्गले मिलाउने । मैले हल्का झोला हल्लाउँदै गए हुने । जङ्गले आवश्यक कागजातहरू पठाइदिए । र, भने, ‘कत्ति बियाँलो नगरी भिसालाई निवेदन दिइहाल्नुस् है । यता प्रचार भइसक्यो, बेलैमा भिसा नपाए बर्बाद हुन्छ ।’ दिन गन्छु, थुप्रो छन् । मलाई हतार छैन । सन् २००५ मा भिसाको निवेदन बदर हुँदाको अनुभव मसँग छ । निवेदन दिएर एक थैलो दस्तुर बुझायो, केही दिनमा केरकार र फैसला भइहाल्छ । आ... किन यत्रो हतार ?


पछि कुरो बुझ्दा त गाँठ्ठे ! मेरा कन्चटबाट चिट्चिट् पसिना आए । भिसाको नाटक फेरिएछ । त्यो सरलबाट जटिल, सहजबाट दुरूह भएछ । भिसाको लागि निवेदन र थैलो बुझाउनुपर्ने यता काठमाडौँमा, निवेदनमाथि कारबाही हुने उता दिल्ली ब्रिटिस हाई कमिसनको तजबीजमा । यो यन्त्रणाकारी नोकरशाही प्रक्रियाको आयु रहेछ कम्तीमा तीन हप्ता । हैट्, ब्रिटिस गोराहरूले गोर्खाहरूलाई के सारो हेपेका ! यिनका उपेक्षाकारी नजरमा गोर्खाहरूको काठमाडौँ दूतावासबाट नाथे भिसा पाउने हैसियत पनि रहेन । थुप्रो रकम तिरेर भिसाको कृपा प्राप्त गर्न हामीले दिल्ली जानुपर्ने ! हैन, यिनले काठमाडौँमा दूतावासचाहिँ किन राखिछाडेका ? दिल्ली दूतावास छँदैछ नि मान्यवर ! यो घोर उपेक्षा र उग्र अपमानबारे गोर्खे शासकहरू एकदमै मौन छन् । किन ? किनभने भन्नेबित्तिकै तिनका घरदैलामा यूकेको भिसा हाजिर हुन्छ । कुरा केवल पावर र पैसाको छ । सत्ताको पावर हातमा छँदैछ, राज्यकोषको साँचो पनि आफ्नै हातमा छ । भिसा व्यापार हो, अतिरिक्त शुल्क तिरेपछि त्यो झटपट हात लागिहाल्छ । गोर्खे संविधानले जनता भनेका प्राणीहरू मानौँ अझै रैती हुन् । रैतीको नियति भिसाको क्याँट बुझाउनु र निरीह मुद्रामा दिल्ली हाई कमिसनको कृपा हात थापेर बस्नु हो ।


हतारको हुटहुटीले उता जङ्ग ब्रो हैरान छन् । यता म कुहिराको कागतुल्य भएको छु । भिसाका लागि निवेदन बुझाउने लैनचौर दूतावासमा होइन रहेछ । आखिर त्यो होचाहिँ कहाँ ? यो बुझ्न मलाई दुई दिन लाग्यो । कोही भन्छ, त्यो लैनचौरमै कतै छ । कोही त्यो नक्साल–नागपोखरीतिर कतै छ भन्छ । आखिरमा यूके गइबस्ने तरुण डाक्टर भाष्कर गौतमबाट जानकारी भयो— तिनका बाउको अड्डो त पाटन अस्पतालनेर पो रहेछ । निवेदन र थैलो बोकेर कुद्दै म हाजिर भएँ । केरकारे नेपाली ठिटाले भने— हाम्रा हातमा केही छैन जी । दिल्लीबाट निर्णय आउन तीन हप्ता लाग्न सक्छ । ढिलो भए हामीलाई दोष नदिनुहोला । परेन कि फसाद ! मसँग अब जम्मा बीस दिन बाँकी छन् । नयन सिन्धुलियाले सुझाए— दाइ, थप रकम तिरे जिनिस छिटो हात लाग्छ । मनमनै भनेँ— यत्रो पनि तिर्रिनँ । मैले तिरेको भए सुनुवार ब्रोले खुसीसाथ सट्टाभर्ना गर्दा हुन् । तर मलाई मनै लागेन । त्यत्रो चौध हजार एक सय छैसठ्ठी रुपैयाँमाथि थप घुस खुवाएर भिसा लिनु ? आ... भिसा नपाए बरु यसपाला पनि बेलायत जान्नँ ।


जङ्ग सुनुवार नित्य सम्पर्कमा छन् । दिनदिनै एसएमएसमा केही न केही कुरा भइरहन्छ । एकाध दिनमा त ट्याक्क फोनै गर्छन् । मान्छे बडो विनयशील रहेछन् । कुरैकुरामा हिमचिम र निकटता बढेपछि यी ब्रो मलाई ‘जदौ’ को संज्ञाले सम्बोधन गर्न थाले । अब भने म ढुक्क भएँ— मान्छे पक्का सुनुवार उर्फ सुनारै हुन् । जति दिन बित्दा छन्, सुनुवार ब्रोको बेचैनी उति नै बढ्दो छ । बेला नबित्दै भिसा लागेन भने ? उनी दिनदिनै अनस्तित्ववासी निराकार भगवान्सँग प्रार्थना गर्छन् र मलाई आश्वस्त तुल्याउन खोज्छन्— ‘जदौ ब्रो, सपना राम्रो देखेँ है ।
भिसा लाग्छ ।’


चार दिनपछि बेलायत उड्नु छ, बल्ल दिल्ली हाई कमिसनको बिजुलीपत्र आयो । तिम्रो निवेदनउपर निर्णय गरी कागजात पठाइएको छ, अड्चालीस घण्टापछि बुझ्न जानू । औँला भाँच्दै अड्चालीस घण्टा गनेँ । र, उनन्चासौँ घण्टामा पाटन अस्पतालछेउको ब्रिटिस व्यापारिक अड्डामा हाजिर भएँ । सोध्दा नानी भन्छिन्— बल्ल हिजो आइपुग्यो सर, पोको खोल्या छैन । अस्ति–अस्तिकै कतिकति बाँड्न बाँकी छ । मैले आफ्नो विवशता बताएँ । नानी ज्ञानी रहिछन्— भोलिपल्ट फस्र्ट आवरमा डाकिन् । गएँ र खामबन्दी निर्णय बुझेँ । दिल्लीवाले हाई कमिसनले मलाई छ महिनालाई भिसा दिएछ । जङ्गलाई उनकै जदौको भाकामा जानकारी दिएँ— मान्यवर, एकबारको जुनीमा अबलाई हाम्रो भेट पक्का भो । अहो ! तिनको हर्षातिरेक ! त्यो केवल अनुभूत गर्न सकिने, शब्दमा भन्न नसकिने ।


गगन विहार गर्ने अगस्त २ आयो । हल्का कुम्ला–कुटुरा बोकेर कतार एयरवेजमा लन्डन ताकेर हुइँयँ उडेँ म । यात्राको क्रममा मलाई चेत भयो— भूगोलको भेग र यात्रुको औकात हेरी विमानको पनि वर्ग हुँदो रहेछ । काठमाडौँ–दोहा निम्न वर्गको विमान, दोहा–लन्डन उच्च वर्गको । पहिलोमा विमान साधारण, परिचारिकाहरू साधरण, सेवा–सुविधा साधारण । दोस्रोमा सबैथोक उच्च, विशिष्ट र भव्य । कारण स्पष्ट छ— काठमाडौँ–दोहामा अधिकांश यात्रु गरिब नेपाली श्रमिक हुन्छन्, त्यसउता धनी गोराहरू र अन्य धानाढ्यहरू । कतार एयरवेजमा एउटै कुरा मलाई बडो रमाइलो लाग्यो । त्यो हो, नेपाली भाषाको नितान्त नूतन औतार । कतार एयरवेजको नेपाली भाषा जब सम्झन्छु, अझै मेरा हड्डी–हड्डीमा काउकुतीमय हाँसोको अजस्र फोहरा फुट्छ । यात्रुहरूलाई सचेत गराउँदै कतारे ब्रोले नेपालीमा भन्यो, ‘यात्रु महानुभावहरू ! सिट सोझो पारेको, सिधा बसेको, सुरक्षा पेटी बाँधेको सुनिश्चित गर्नोस् ।’ विषय र प्रसंगले मलाई अर्थ खुलिहाल्यो । दाँत बाँधेर हाँसो रोक्दै सोचेँ— पक्का पनि यो अंग्रेजीबाट नेपालीमा गुगले अनुवादको कमाल हो । मनमा तर्कनाको कौतुकमय तरंग उठ्यो— नेपाली भाषाका मर्मज्ञहरूले यो नेपाली सुने के भन्दा हुन् ? सम्झनामा शरच्चन्द्र वस्ती आए, केदार शर्मा आए । कुन्नि, यी नेपालीप्रेमी बन्धुले नेपाली भाषालाई विकृत तुल्याएबापत कतारे ब्रोलाई कारबाही गर्नुपर्छ पो भन्लान् कि ! तर मचाहिँ त्यसो भन्दिनँ । म त भन्छु— यो नेपाली भाषाको विस्तार हो । देशभित्रै क्षेत्रक्षेत्रमा, जातिजातिमा, कुनाकुनामा नेपाली भाषाका नानाओली औतार छन् । भन्देखिन् अन्तर्राष्ट्रिय फलकमा झन् किन नहुनु ?


भनूँ भने यो नेपाली भाषाको विस्तारवाद हो । विस्तारवादमा नेपालको असल छिमेकी भारतको एकाधिकार किन ? नेपाल पनि केही न केही कुरामा त विस्तारवादी होस् न ब्रो ।
नेपालबाट बिहान १० बजे उडेको थिएँ, उही दिन बेलुका १० बजे लन्डन टेकेँ । स्वागत गर्न जङ्ग र एकाध भाइ–बहिनी अघिदेखि नै एयरपोर्टमा कुरिबसेका रहेछन् । सुनार जङ्गसँग जदौको आदान–प्रदान भयो । जोडाजोडा र सामूहिक फोटा खिचिए । र, म नरेश काङमाङ राईसँग उनको निवास साउथ ह्यारोतिर लागेँ, जङ्ग अर्को दिशाको आफ्नो गुँड फार्नबोरोतिर लागे । केही दिनपछि जङ्गकहाँ सर्ने मतो गरियो । नरेश ब्रोकहाँ छोटोमा छिटो घरगृहस्थीका कुरा भए । इलम–व्यवसायका कुरा भए । र भए बालबच्चाका कुरा । गृहमन्त्री सीमा रहिछन् हर्दम् हँसमुख, विनम्र र मायालु । यात्राको दूरीले थकित थिएँ, उनको सत्कार ग्रहण गरेर म घुप्लुक्क सुतिहालेँ ।


बाँकी रात म भुस भएर निदाएँछु । बिउँझिँदा भित्ते घडीमा बिहानको सात बजेको थियो, नाडीघडीमा बिहानको एघार । नेपालको समय नेपालमै छाडेर हिँडेको थिएँ म, मेरो बफादार घडीले छाडेनछ । शरीरमा समयको अन्तरको अनौठो असर छ । झुम्मजस्तो, हल्का बेचैनीजस्तो, किञ्चित् दिग्भ्रमजस्तो । खल्खली नुहाएँ । तैबिसेक चैन भयो । कफी खाउँm लाग्यो । तर, किचनमा मेसो पाइनँ । कोठापछाडि झुरुम्म वन छ । वनमा ढुकुर कुर्लिरहेछ— ढुकुर कुर, ढुकुर कुर । गर्धन तन्काएर हेर्दा देखेँ, तामे ढुकुर रहेछ त्यो । विश्वको पहिलो विशाल साम्राज्यवादको ढुकुर । नेपालको भन्दा निक्कै ठूलो । गए–बितेका दिनको याद आयो । त्रिचालीस सालमा काठमाडौँको चाबेलमा मेरो घर बनेको थियो । ठ्याक्कै वीरगन्जे द जुद्ध मैच फैक्टरीको चारपाटे सलाईजस्तो । घर ठड्याउँदा पैसा चिलिम भयो । कम्पाउन्ड बनेन । घरवरिपरि बाक्लो झ्यासझाडी थियो । आँगनमा दिउँसै बडो सानले स्याल प्रकट हुन्थ्यो, भयङ्कर सर्प डोलाउँथ्यो । केटाकेटी सानै थिए, तिनलाई सर्पबाट जोगाउनै गाह्रो ! र, एकाबिहानै यसैगरी ढुकुर कुरकुर कुुरकुर कुर्लिन्थ्यो । अब त्यो सब केही बाँकी रहेन । मजस्तै मान्छेको निर्मम अतिक्रमणले झ्यासझाडी सखाप भयो, पशु–पन्छीहरूको बासउठ्ठा भयो । ढुकुर हराए र छोराछोरी पँखेटा हालेर उडिगए । त्यसैले पहिले हेरी अहिले मेरो घर उजाड छ र सेरोफेरो छ एकदमै उराठलाग्दो । तर यहाँ नरेश–सीमाको अनुरागयुक्त गुँडवरिपरि हराभरा प्रकृति छ, दिलखुस पशु–पन्छीहरू छन् । र, घरमा दुई भाइ छोरा छन् । चौध वर्षको ठूलो स्वप्निल, नौ वर्षको सानो स्वर्णिम । जन्मले, भाषाले र सायद भविष्यले पनि यी दुवै भतिज अंग्रेज हुन् । कुरा सुन्दा रमाइला छन् यी दुवै । जेठो अंग्रेजीमा कविता रच्छ । कवितामा ऊ वास्तविक उमेरभन्दा बढी परिपक्व लाग्छ । कान्छो छ फुटबलको भयानक सोखिन । सुत्दा पनि फुटबल नछाड्ने ।


आफूलाई कफीको तलतलले गाँजिसक्यो । खै त, घरबेटी कोही उठ्दैन । म के गरूँ अब ? म सुतेको कोठा बैठक र पुस्तकालय दुवै थियो । म पुस्तकालयको जासुसी गर्न थालेँ । गोर्खा लाहुरेको पुस्तकालय । हिजो लाहुरे तिघ्रा ठटाउँथ्यो, बन्दुक पड्काउँथ्यो र तालु ठोक्दै दुखिया तकदिरको बात गथ्र्यो । आज उही लाहुरे जिज्ञासु, अन्वेषणकारी र मानवीय औतारमा प्रकट भइरहेछ । आज ऊ पुस्तक बटुल्छ, पुस्तक पढ्छ र पुस्तक लेख्छ । आज ऊ सुस्केरा हाल्दै निरीह तकदिरको बात गर्दैन, बरु उन्नत विचारले, लक्ष्ययुक्त संघर्षले र सिर्जनशील उद्यमले तकदिर फेर्ने कुरा गर्छ । नरेशको पुस्तकालयमा पेरिस कम्युनका माक्र्स–एङ्गेल्स छन्, र छन् अतिरञ्जित आत्मगाथाका विनोद चौधरी पनि । त्यहाँ आत्मवृत्तान्तका बीपी कोइराला छन्, दोचाका नगरकोटी छन् र छन् उस्तै अतिरञ्जित हाई–हाईका लिक्वान हुु पनि । हरियो साइकलका गोविन्द वर्तमान र ऋतु विचारका वसन्त थापा, माङ्गेनाका युग पाठक र उत्तरआधुनिक विमर्शका गोविन्दराज भट्टराई, यारका नयनराज पाण्डे र नथियाकी सरस्वती प्रतीक्षा, दमिनी भीरका राजन मुकारुङ र दोचाका कुमार नगरकोटी, केके, केकेका योगमाया र तसलिमा नसरिन, सिमोन द बो र परशु प्रधान, वैद्य बा र आहूति, पारिजात र हर्क गुरुङ— अरे, त्यहाँ को छैन र के छैन ? पछि कफीको चुस्की लिँदै नरेशलाई सोधेँ, ‘नरेश ब्रो, यी जम्मै पुस्तक पढ्नु भा’छ ?’


‘झन्डैजसो पढ्या छु, दाजु,’ उनले भने, ‘अझ कुनैकुनै चाख नलागेर बीचैमा छाडियो होला । नत्र...’ कुरै कुरामा युग पाठकको माङ्गेनाबारे उनले बडो रोचक टिप्पणी गरे । भने, ‘पुस्तक राम्रो छ । तर कति साह्रो भाष्य–भाष्य भनिराख्या हाव दाजु ? घरीघरी यो भाष्य नभन्दा पुस्तकको भाउ नै नरहला कि जस्तो !’ सुनेर मलाई लाग्यो— गज्जपको टिप्पणी ! गम्भीर लेखकमाथि गम्भीर पाठकको गम्भीर टिप्पणी हो यो ।


अब फेरि केही कुरा उही रहस्यमय सुनुवार र सुनारका । नरेशलाई सोधेँ, ‘भाइ, हाम्रो आदिवासी–जनजाति संस्थामा दलितलाई पनि घुसाको हो ?’
के रे दाजु ? कुराको मेसो नपाएर नरेश अलमलिए । मैले प्रसंगको गाँठो फुकाएँ, ‘जङ्ग सुनुवार दलित सुनार होइनन् र ?’
नरेशको उत्तर सुनेर म त्यसत्यसै सेन्टिफ्ल्याट भएँ ।


पछि म जङ्ग सुनुवारको घरमा सरेपछि मेरो अल्पज्ञानलाई गिज्याउन अनेक सुनुवार बन्धुहरू हाजिर भए । जङ्ग सुनुवार, केदार सुनुवार, होम सुनुवार, भावना सुनुवार, कतिकति सुनुवार ! होम सुनुवारले राई जगत्को सुनुवार समुदायमथि बडो फुर्तीसाथ प्रकाश पारे । नजानिंदो उपहासको भावमा तिनले मलाई सोधे— रेडियोका पाण्डव सुनुवारको जात त थाहा होला नि ? थाहा थियो ब्रो तर कुराको तत्त्व नबुझी तिनलाई सुनार मानियो । ती हाम्रा मान्छे हुन्— शब्दशब्दमा जोड दिँदै होमले भने— ती हाम्रा राई हुन्, ती हाम्रो सुनुवारगणका गहना हुन् ।
मनमनै कान समातेर मूक भाषामा मैले भनेँ— मैले मानेँ ब्रो, अबलाई यही कुरो सदर भो । नेपाली समाजको विछट्टको विविधता मलाई शङ्कर लामिछानेको प्याजजस्तै लाग्यो ।

पत्रपछि पत्र, अर्को पत्रपछि झन् अर्को पत्र, अनि झन् अर्कोपछि...। बूढेसकालमा अहिले बुझ्दै छु— जीवनमा अज्ञानतामा कत्रो खतरा छ ! आफ्नो कति प्यारो पहिचान नै गायब बनाउन खोजेकोमा धन्न लन्डनवासी सुनुवार ब्रोहरूले मलाई...। मान्यवर, अज्ञानीहरूका लागि मानवीय उदारता सङ्कटको सहारा रहेछ।

प्रकाशित : भाद्र ३०, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

लन्डनतिर छुक्छुक् रेलैमा

नियात्रा
खगेन्द्र संग्रौला

काठमाडौँ — लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् ! बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु ।

जमानामा कहिल्यै घाम नअस्ताउने भूतल भनी धाक लगाउने साम्राज्य बेलायत । उपनिवेशपीडित जनहरू जाग्दै जाँदा र कब्जाकारीका अत्याचारहरूको पोल खुल्दै जाँदा आयतन खुम्चिएर शनै:शनै: बूढो बाघको औतारमा पतीत भएको बेलायत । नश्लीय राष्ट्रवाद र दक्षिणपन्थी अनुदारवादको नशाले लठ्ठ भई उन्मादी लहडमा ब्रेक्जिट भएको बेलायत । फलत: आर्थिक मन्दीले लगभग मूच्र्छित र आहत बनेको बेलायत । र, अहिले क्रूद्ध युरोपियन यूनियनले साटो फेर्न नाकाबन्दी नै पो लगाउला कि भनी भयाक्रान्त बेलायत । जे जसो भए पनि आखिर बूढो बाघ त यो हो नै । केही हप्ताअघि म ट्याक्क यो बूढो बाघको भूमि टेक्न पुगेँ । छोटो समय ।

प्रेमीजनहरूसँग फटाफट चिनारी साटासाट । केही हेर्न यता कुदाकुद, केही गर्न उता कुदाकुद । घरी कसैको केही सुन्नु, घरी कसैलाई केही भन्नु । नाथे दुई हप्ता त ब्रो, पत्तै नपाई बिते । यस्तो कुदाकुदको यात्रा वास्तवमा हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तै हो । त्यसैले मसँग यो यात्राबाट सँगालेका केन्द्रित, गहन र सघन अनुभूतिहरू केही नै छैनन् । छन् त मसँग केवल केही सतही पर्यटकीय अवलोकन, केही हतपते श्रवण, केही छरपस्ट कथनहरू ।


गन्थनको यो पहिलो पन्तुरो म यात्राको बीचबाट सुरु गर्छु । लन्डन टेक्नासाथ निम्तागरी पठाउने मनकारी घरबेटीलाई सोधेँ— यहाँ हाम्रा राजदूत को छन् ब्रो ? उत्तर आयो— मिस्टर दुर्गाबहादुर सुवेदी । ए, नचिनेका मानिस रहेछन् । तैपनि सोचेँ— निजलाई यसो मानार्थ फोनचाहिँ गर्नुपर्ला नै । पछि आदिवासी–जनजाति सभामा प्रमुख अतिथिको औतारमा राजदूत प्रकट भए । अरे, ती ब्रो त दुबसु क्षत्री पो रहेछन् † मैले सायद कहिल्यै नभेटेका, तर रचना पढेर राम्रैसँग चिनेका । बडो फुर्तिला, वाचाल र कूटनीतिक कर्म र भाषाले सबैको मन र मान राख्न हुनुसम्म सिपालु । भेटमा तिनले मलाई बडो आदरभावले डिनरको निम्तो दिए । हस् महामहिम— मैले सहर्ष सकारेँ ।


अगस्त १३ । लन्डनको नेपाली दूतावासमा डिनरमा हाजिर हुने दिन । म फानबोरोमा थिएँ, आदिवासी–जनजाति महासंघ, यूके शाखाका अध्यक्ष जंग र जंगपत्नी भावना सुनुवारको निवासमा । त्यस दिन कुम्ला–कुटुरा बोकेर नरेश–सीमा काङमाङको हयारोस्थित घरमा सर्नु थियो । नरेश ब्रो परे आदिवासी जनजाति संघका पूर्वअध्यक्ष, युद्ध साहित्यका गम्भीर एवं नामी साधक र जनजातीय हकका अग्निवर्षी योद्धा । त्यस दिन मध्याह्नमा मलाई गेसो (गोर्खा भूपू सैनिक सघ) को भेलामा हाजिर हुनु छ । बराबरी हक र इज्जतको आन्दोलनको फल गेसोले के पायो र पाउन बाँकी के छ, हो त्यो सुन्न र जान्न । मलाई थाहा थिएन, गेसोका नयाँ सभापति रहेछन् कृष्णकुमार राई । पदमको कमान्डमा सञ्चालित गेसो आन्दोलनका मेरा पुराना मित्र । कृष्ण ब्रोको मलाई विशेष आग्रह छ— आइदेऊ, गोर्खा आन्दोलनको उकाली र ओराली, विग्रह र एकता, लाभ र ठेसका कथा–किस्साहरू सुनिदेऊ । र, नेपाल फर्केर अघोरी सरकारका कान थर्किने गरी हाम्रो बिन्ती सुनाइदेऊ । भन्दाभन्दै तिनले यो पनि भन्न भ्याए— नेपाल सरकार हाम्लाई हेप्छ, सायद तिम्रा कुरा सुन्ला । त्यसैल त ब्रो... !
थोरै तरुण, अलि धेरै अधबैँसे, थुप्रो पाका गोर्खाहरू । गेसोको सानो हलमा गोर्खाजनहरू अटाइनअटाइ जुटे । र, भन्नु–सुन्नुको रोचक मेसो सुरु भयो । गेसोको अन्तरंग छलफल र सुस्वादु खानपिन सकिँदा ४ बज्यो । मेरो गाइड मित्र नरहाङ राईले सोधे— ‘दाइ, कुम्ला–कुटुरा नरेशकहाँ थन्क्यार दूतावास जाने हो ?’


‘हो नि’,हत्तपत्त मैले भनेँ । दूतावास नामक कूटनीतिक गृहमा, नितान्त औपचारिक भेटमा, हाँडीघोप्टे काइदाले कुम्ला–कुटुरा बोकेर जानु पनि के जानु ? बस्, अब हामी लाग्यौँ नरेश–सीमा गृहतिर । साथमा तीनजना छन्— नेतृ क्षेत्रकला राई, गोर्खा लडाकु नरहाङ र तन्नेरी भाइ किरण राई । नरेशको घर कुन दिशामा पर्छ र नेपाली दूतावास कता छ ? यता र उता गरी बाटो कति लामो छ ? मलाई केही अत्तोपत्तो छैन । तर, म ढुक्क छु, सावधान अगुवाले पक्कै समयको हिसाब राखेका होलान् । रेल चढ्यो, रेल फेर्‍यो । बस चढ्यो, बस फेर्‍यो । त्यो पनि एक–दुई होइन, तीन–चार ठाउँमा । डिनरमा निम्ता छ सात बजे, अहिले भइसक्यो सवा ६ बजे । समयको माम्लोमा नरेश ब्रो मित्र कृष्ण पहाडीजस्ता छन् । साह्रै कडा † तिनका लागि सात बजे भनेको सातै बजे हो । ट्याक्क । हामी ढिलो पुग्दा तिनका राँकिएका कन्चटमा चिट्चिट पसिना आइसकेका रहेछन् । मलुवा लबजमा तिनले झोँक पोखी पनि हाले । कुराका छिद्रमा रफ्फु भर्दै मैले भनेँ— केही छैन, ब्रो । हामीमध्ये कोही पनि प्रमुख अतिथि होइनौँ क्यारे । अनि डिनर पार्टी कठोर प्रहरी अड्डाको तारेख पनि त होइन ।


हामी हस्याङफस्याङ गर्दै दूतावासतिर लाग्यौँ । नरेश, क्षेत्रकला, नरहाङ, किरण र म । लाग्न त ढिलो भएकोमा मलाई पनि असहज नलागेको होइन । दूतावास हो, त्यो पनि अन्तको होइन, समयको मूल्य बुझ्ने बेलायतको । त्यहाँ त पक्कै सीआईए टाइम चल्दो हो । गइयो र चाल पाइयो— केको चल्थ्यो ? त्यहाँ पनि नेपालकै ताल रहेछ । उस्तै ढिलढाल, उस्तै आलस्य, उस्तै सुस्तता । हामी पन्ध्र मिनेट विलम्ब गरी पुग्यौँ । डिनरमा निम्ता थियो नोबलकिशोर राइर्, तुलसी दिवस, गोविन्दराज भट्टराई र मलाई । सोचेको थिएँ— हदै भए यताउताका अरु त्यही पाँच–सात जना जन थपिएलान् । आम्मामामा † जब भीड देखेँ, म त्यसैत्यसै चकित भएँ । त्यहाँ त नर्तकी र गायिका, गजलकार र कवि, गद्यकार र गफाडी, थप्पडीबाज र हाहाहोहोको सानोतिनो जम्बोरी पो छ बा । छाँटले लघु आकारको पार्टी खोल्न पुग्ने जम्बोरी । हेर्छु, कसैका हातमा कोक छ, कसैका हातमा बियर । कसैका हातमा फलादीको रस छ, अनि कोही मस्ती मुद्रामा मानौँ, केही कडा जिनिसको चुस्की लिइरहेछ । वातावरण छ बडो रङ्गीन र रोमाञ्चक । हैन, के सोचेर कहाँ पुग्न हिँडेको म यो कहाँ पो पुगेँ हाव गाँठ्ठे !


प्रमुख अतिथि रहेछन् कवि श्री तुलसी दिवस । दूतावासको त्यो जमघट उनकै पर्खाइमा रहेछ । दिनभरिको धपेडीले लास्टै थकित थिएँ म । मलाई महामहिमसँग मुस्कान आदानप्रदान गरी गाँस टिपेर बाटो लागिहाल्न मन थियो । आउलान् कि भन्यो, अब त आउलान् कि भन्यो, हैन अब त कसो नआउलान् भन्यो। अहँ, तुलसी दाइको नाकमुख देख्नु छैन । नोबलकिशोर र गोविन्द सर अघि नै आइसकेका छन् । तिनका अनुहार हेर्छु, ती पनि थकित, दिक्क र क्लान्त छन् । तर निम्तालुले घरबेटीसँग केही भन्न नमिल्ने । भने भद्रतामा खलल पर्ने । यातनामय पर्खाइको निसासलाग्दो क्षणमा तुलसी दाइकै नितान्त मौलिक भाकामा मलाई ख्याँस्स कविता फुर्‍यो :

पर्खँदा पर्खँदा निरीह पर्खाइ नै थाकेपछि
पर्खने नाथेको पनि केही लाग्दो रहेनछ ।

आखिरमा दुई घण्टाको पटयारलाग्दो पर्खाइपछि हाँसझैँ हल्लिँदै तुलसी दाइको सवारी भयो । र, बल्ल औपचारिकताको सनातनी र सुस्त लयमा सुरु भयो कार्यक्रम । तुलसी दाइलाई त गाँठ्ठे † ढिलो गरी आउनु, माझमा सुत्न पाउनु भनेजस्तो भयो । लेखान्तकै फल पो हो कि, तुलसी दाइलाई माइकमा एकाधिकार प्राप्त भयो । अतिथिहरूमध्ये एकल वक्ता उनै भए, एकल वाचक पनि उनै । मनमनै कुरा खेलाएँ, काइदा त यो पो रहेछ बाबै † थुप्रो प्रतीक्षाकारीजनको दुदुई घण्टा आयु भक्षण गरी ढिलो आऊ, तालुको आलु मुसार्दै झ्याप्प डबली कब्जा गर र विछट्टको अभिनय प्रस्तुत गर । रंगमञ्चमा एकल तुलसी दाइको सुपरिचित अभिनय सुरु भयो । खासमा तुलसी दाइको भाषण वा कविता भन्नु नै ‘मुहार, मुद्रा र स्वरको जादुमयी नर्तन’ हो । त्यो अन्तरवस्तु होइन, केवल रूप हो । त्यो विचारतत्त्व होइन, केवल कथनको नूतन एवं चटके काइदा हो । त्यो कुनै सारभूत अर्थ होइन, केवल अर्थको भ्रम हो । उनै दाज्यैको पुरानो टेप उनै दाज्यैले बजाएजस्तो लाग्ने भाषण सुन्न विवश हुँदाको उच्चाटलाग्दो क्षणमा मलाई एउटा कुराको झ्याट्ट याद आयो । एक वामपन्थी युवकले एक दख्खिनपन्थी युवकलाई सोधेछन्— ‘हन ब्रो, साहित्यको सुकिलो डबलीमा तुलसी दाइको यत्रो भाउ किन छ हँ ?’ उत्तर युवकका जिब्राका टुप्पामै झुन्डिएको रहेछ— किनभने यार, तुलसी दाइ सधैँ टाई–सुटमा चिरिच्याँट्ट सिँगारिएर आउँछन् । उनमा भद्र परिधानको संस्कार बडो परिष्कृत छ । उनी थोडै फयाङ्ले लुगामा झुत्रो झोला हल्लाउँदै हिँड्ने झल्ला लेखक हुन् र ? पारखीको यो चाखलाग्दो जवाफ एकदमै अर्थपूर्ण छ । यो जवाफको गूढ तत्त्व वास्तवमा रूपवादप्रतिको प्रगाढ मोह हो ।


अँ, मेरो जीउमा भारी थकान छ, र आँखामा छ गाढा निन्द्रा । तुलसी दाइको ठोस स्वरलहरी र प्रवाहमय भाषण कुन बेला तुरिने हो, केही थाहा छैन । यस्तोमा मेरो विकर्षित मन दूतावास भवनको कल्पनातीत भव्यतातर्फ लहसिन्छ । गर्धन उचालेर हेर्छु— कार्यक्रम भइरहेको हलको सिलिङ पैँतीस–चालीस फिट अग्लो छ । भित्ता र सिलिङको रंगसज्जा विछट्टै कोमल, सुन्दर र आह्लादक छ । खण्डखण्डमा प्रकृति, संस्कृति र मानव–सम्बन्ध झल्काउने आकृति, प्रतीक र चिह्नहरू छन् । जति हेर्‍यो उति अपलक हेरिरहूँ लाग्ने । एकदमै शब्दातीत । अबोध र निश्छल गोर्खाली लडाकुहरू साम्राज्यवादी तोपको सस्तो चारो भइदिएबापत महारानीले धेरै वर्षअघि कृपा गरेको मायाको चिनो हो यो ।


युवा वयदेखिका मेरा लँगौटिया यार नोबलकिशोर राई गुत्थ फुलेर मेरो छेउमा बसेका छन् । थाहा छ, त्यहाँबाट टाप कस्न मलाईभन्दा उनलाई धेरै हतार छ । कानमा खुसुक्क सोध्छु— ‘पार्टनर, ज्यानलाई यो दरबार कस्तो लाग्यो ?’


‘अति सुन्दर’, संक्षिप्त जवाफ आयो। तर पार्टनर, नेपालको लुरे अर्थतन्त्रले यो विशालकाय हात्तीलाई पाल्नै सक्दैन । पाल्न खोजे आफैँ थला पर्छ । मित्र, हाम्रालागि यो जति शान हो त्यति नै बोझ हो यो । प्रसङ्गवश, मलाई दूतावास भवनमाथि लुब्धमति लोर्केहरूको गिद्धदृष्टिको याद आयो । मर्मत–सम्भार गर्न नसकिने भो भन्दै तिनले भवन बेच्न खोजे । बेच्न खोज्ने सायद यसअघिका कुनै राजदूत र तिनका आसेपासेहरू थिए । बेलायतबासी नेपालीहरूले राष्ट्रवादको लयमा गर्जनमय विरोध बोले । भावुक र रुमानी लबजमा तिनले भने— बरु भोकै बसेर हामी यो भवनको रक्षा गर्छौँ, यसलाई बेचेर कमिसन हसुर्न पाइँदैन । बस्, बिक्रीको दाउ र कमिसनको च्याँखे गोपीक्याँच भयो । र, भवन धन्न बँच्यो । तर विकराल समस्या ज्यूँका त्यूँ छ । भवन सायद सय वर्ष पुरानो होला । अब यसले दिनदिनै महँगो न महँगो मर्मत–सम्भार माग्छ । यथेष्ट मर्मत–सम्भार नगरूँ, भवन धूलिसात् हुन्छ । गरूँ, नेपालको दुर्लभ बजेटको निकै नै ढ्याके रकम यसमा झ्वाम् हुन्छ । त्यहीबेला नोबलले हो कि नरहाङले, मेरा कानमा एउटा व्यावहारिक जुक्ति सुझाए । सर्प पनि मर्ने, लौरो पनि नभाँचिने जुक्ति । दूतावास भवन भाडामा दिन सकिन्छ । अनि ? अनि यो भव्यतम् भवनको ढ्याके भाडाले अर्को ठिक्कको दूतावास भवनको भाडा तिर्न पनि पुग्छ, यसको बकाइदा मर्मत–सम्भार गर्न पनि पुग्छ । तर फसाद छ † यसो गर्नु गोर्खाली शानविपरीत हुन्छ । र, त्यो गोर्खे राष्ट्रवादको मानविपरीत हुन्छ । नेपालको दरिद्रता र दीनता सारा जगत्का नजरमा पर्छ र नेपालको नाक ठनक्कै काटिन्छ । तब गर्ने के ? केही पनि नगर्ने । किन ? किनभने ओलीय स्वैरकल्पनाको चकाचक समृद्धिले यस्ता नाथे आर्थिक समस्यालाई कसो सहजै नटार्ला ? यहाँनेर लागेर बालकृष्ण सम सम्झनामा आए :

तँ चिता म पुर्‍याउँछु
कि चीतामा पुर्‍याउँछु !

अँ, रात छिप्पिइसक्यो । मेरो थकान र निन्द्रा झनै बढेर गयो । अब भने मलाई रमरम झोँक चल्न थाल्यो । धन्य कैलाशपति शम्भो † तुलसी दाइको भाषणका पुराना शब्दलहरमा उस्तै शब्दहरू खप्टिने क्रम कतै नतुरिएला कि भन्ने डर थियो । अबलाई त्यो तुरियो । र, प्रिय दाइको लम्बेतान कविता वाचन पनि सकियो । नाचहरू भए, गीतहरू गाइए, गजलमा रुद्रघण्टीहरू हल्लिए, कविताहरू बाचिए । अनि घरबेटी महामहिम दुबसु क्षत्रीको बोल्ने पालो आयो । ती जब सम्मान गरिने पात्रहरूको चिनारी खुलाउन थाले, म त्यसैत्यसै चकित र पुलकित भएँ । दुबसु ब्रो मेरो पहिलो मुद्रित रचनाभन्दा एक वर्ष कान्छा रहेछन् । उनैले इतिहासका पत्र पल्टाउँदै भाषणमा मलाई सुनाएका । म आफैँले बिर्सेको त्यो भुवामय भावुकता र रुमानी रोइलोयुक्त कथाको शीर्षक रहेछ— ‘अधुरो प्रेम, भिजेको रुमाल ।’


लन्डनवासी नेपाली जनहरूका वचनमा घरीघरी यी महामहिमप्रति प्रशंसा र कृतज्ञताको गुन्जन सुनिन्छ । कारण ? कारण एक होइन, अनेक रहेछन् । दुबसु परे आफैँ साहित्यका स्रष्टा र पारखी । कनिष्ट स्रष्टाहरूलाई प्रेमले डोर्‍याउनु र वरिष्ठहरूलाई नतमस्तक भई आदर गर्नु यिनको दिनचर्यातुल्य धर्म । लन्डनवासी नेपाली कविहरूका कविताको ढयाके सँगालोका यी प्रेमिल सम्पादक । लन्डनमा संघ–संस्थाहरू त गाँठ्ठे † नेपालमा जस्तै बर्खायामका च्याउसरी छयास्छयास्ती † तिनका सभामा गइदिन दुबसु ब्रोलाई दिनदिनै भ्याईनभ्याई । छाँटले ती कुनै सभा छाड्दैनन्, कुनै सभामा पूरा बस्न पाउँदैनन् । सके एउटा सभाको अवधिमा तिनले चारवटा सभामा हाजिरी दिन भ्याउँछन् । यसो हेर्दा दुबसु ‘माते पोथी’ जस्ता लाग्छन्, अनगिन्ती संस्थाहरू ममतामयी पोथीका न्याना पखेटामुनि स्नेह संरक्षण पाउने चल्लाजस्ता । कान थापेर कुरा सुन्दा संघर्षरत गोर्खा भूपूहरू पनि दुबसुसँग प्रसन्न छन् । आखिर किन ? भूपूहरूका मुखारविन्दबाट सुनेँ— दुबसु गोर्खा सिपाहीको समान हकको मुद्दामा बेलायती अधिकारीसँग लत्रिएर होइन, डटेर बोल्छन् । हात मल्दै होइन, शिर ठाडो पारेर बहस गर्छन् । दुई सय वर्षको अन्यायी इतिहास सच्याउन ट्वाक्क जोड दिन्छन् । समकक्षी गोरासरह पेन्सन, युद्धपछि खाली खुट्टा खेदिएकालाई राजकीय पेन्सन, विकलांगलाई दबाइमूलोको सुविधा । अरे ब्रो, अबलाई जाग्यो पीडित गोर्खाली । अब हामीलाई बराबरी नदिई धरै छैन । गोर्खा लडाकूहरूलाई काम परे भाँडो, काम सकिए ठाँडो गर्न पाइँदैन गोरा महोदय † आज नभए भोलि, भोलि नभए पर्सि, समान हक र सुविधा लिएरै छाडिन्छ । समय हेर्दै जाओस् ।


महामहिमद्वारा निम्तालुजनलाई सम्मान र उपहार प्रदानपछि बाह्र हात लामो कार्यक्रम समापन भयो । र, हत्तपत्त गाँस टिपेर आँखा मिच्दै नरेश–सीमागृहको बासतिर म कुदेँ— छुक्छुक् रेलैमा ।

प्रकाशित : भाद्र १६, २०७५ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्