कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कुण्डैकुण्ड गोसाइँकुण्ड

प्रकृति
नेपाललाई अनुपम प्रकृतिले साथ दिएको भनेर हामी घमण्डचाहिँ गरिराख्छौं तर त्यसलाई माया र स्याहार गर्नचाहिँ चुक्छौं ।

काठमाडौँ — ४३ सय मिटर उचाइमा उभिएको गोसाइँकुण्ड सबैभन्दा प्रमुख विशेषता के हो भने प्रकृतिको यो विन्दुमा कुण्डैकुण्ड छन् । भैरव, सूर्य, दूध, सरस्वती कुण्डलगायत सुन्दर १७ कुण्डहरू आसपासमै टाँसिएर बसेका छन् ।

कुण्डैकुण्ड गोसाइँकुण्ड

हरेक वर्ष गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा भव्य मेला लाग्छ । दस हजारभन्दा बढी तीर्थालु कुण्डमा स्नान गर्न यहाँ पुग्छन् । रसुवा सदरमुकाम धुन्चेबाट तीव्र गतिमा हिँड्नेहरू एकै दिनमा वा सुस्त गतिकाहरू दुई दिनमा गोसाइँकुण्ड पुग्छन् । त्यसो त सुन्दरीजलको अर्को झन् कठिन बाटो पनि छँदैछ, कुण्ड पुग्न ।


हरेक वर्ष जनैपूर्णिमामा तीर्थालुको रेखदेख बिचार्दै हिमालयन उद्धार संघले अस्थायी स्वास्थ्य शिविर राख्दै आएको छ । झन्डै १८ वर्षयता यो क्रम नित्य छ । माउन्टेन मेडिसिन सोसाइटी अफ नेपालका तर्फबाट पनि स्वयंसेवक चिकित्सक शिविर सञ्चालनमा खटिएकै हुन्छन् । यस पटक त्यो अवसर मसहित पाँच चिकित्सकले पाएका थियौं ।


जनैपूर्णिमाको अघिल्लो रात हामी सिफ्ट मिलाएर रात्रिकालीन डयुटीमा व्यस्त थियौं । रमाइलो मेला नै हुन्छ त्यो रात, खाने, गाउने, नाच्ने, बजाउने चलिरहन्छ अबेरसम्म तामाङ समुदायको । छेवैको शिव मन्दिरको घण्टीको आवाजसँगै मिसिएर तामाङ गीत र नाचको ध्वनि हाम्रो शिविरको छाप्रोसम्मै आइरहेको थियो । अन्य पर्यटकभन्दा तीर्थालुहरू केही फरक हुन्छन् । न जाडो छल्न पर्याप्त लुगा, न खुट्टामा जुत्ता, व्रत बसेको खाली पेट र सीमित जनचेतना । त्यसैले तीर्थालुहरूमा झन् बढी समस्या देखिन्छन् । त्यसो आन्तरिक पर्यटकमा पनि लेक लाग्ने समस्या र जनचेतना अभाव उत्तिकै विकराल समस्याको रूपमा देखिएको छ ।


जनैपूर्णिमाको दिन बिहान ३ बजेदेखि नै उत्सव सुरु भइसकेको थियो । स्नान गर्ने तीर्थालुको भीडले कुण्ड छेउछाउ पूरै भरिएको थियो । अघिल्लो रातभरिको नाइट डयुटीको हयाङ भए तापनि पवित्र दिन भएकाले कुण्डमै नुहाउने अठोटसहित अरू साथीसँगै म पनि लागें कुण्डतिर । तर, गोसाइँकुण्डको अवस्था देखेर मन साह्रै खिन्न भयो ।


नेपाललाई अनुपम प्रकृतिले साथ दिएको भनेर हामी घमण्डचाहिँ गरिराख्छौँ तर त्यसलाई माया र स्याहार गर्नचाहिँ चुक्छौं । गोसाइँकुण्ड त्यस्तै प्रकृतिको अनुपम उपहार हो, सुन्दर तालहरू र यात्रा अवधिभर मनै लोभ्याउने लाङटाङ हिमाल, गणेश हिमाल र मनास्लु हिमालको ‘प्यानोरोमिक’ दृश्य देख्न पाइन्छ । सांस्कृतिक रूपमा पनि हिन्दु र बौद्ध धर्मको सहिष्णुताको संगम हो । तर, गोसाइँकुण्डमा जे देखियो, त्यसले कुन प्रकृतिप्रेमीको मन नरोला र ?
—डा. सुमन आचार्य

प्रकाशित : भाद्र २३, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?