कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माटो र मुटुकै गीत

समीक्षा

काठमाडौँ — पत्रकारका रूपमा चिनिएका पारसप्रकाश नेपाल नेपाली सांगीतिक क्षेत्रमा एउटा पृथक् र मौलिक शैली बोकी गायकका रूपमा उदाएका छन् । हुन त यसअघि नै उनले राष्ट्रभक्ति र देशप्रेमको भावनाले ओतप्रोत भएको ‘नालापानी कालापानी’ गीत सार्वजनिक गरेका थिए, उनको आवाजबाट म अत्यन्तै प्रभावित भएको थिएँ ।

माटो र मुटुकै गीत

हालै अर्को अल्बम ‘धरोहर’ श्रोतासामु आएपछि गायक पारसको लगनशीलता र मिहिनेत फेरि प्रकट भएको छ ।


‘धरोहर’ मा चाहेर वा खोजेर सजिलै नभेटिने मूर्धन्य स्रष्टाहरू राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार क्षेत्रप्रताप अधिकारी, कवि दिनेश अधिकारी, फूलमान वल, अमन मास्केजस्ता सर्जकका रचना समेटिएका छन् । पारसका गीतहरूमा गहन शब्दको प्रयोग छ । यिनलाई सुन्नेबित्तिकै जोकोहीले पनि यसका शब्दमा भाषामा खेल्ने व्यक्तिको प्रभाव परेको बुझ्न सक्छ । ‘धरोहर’ मा लोकभाका, आधुनिक गीत, स्वदेश र राष्ट्रप्रेमले भरिएका विविध शैलीका गीत छन् । एक–एक शब्दको अर्थ र त्यसको गहिराइलाई आत्मसात्/अनुभूति गरेर पारसले गीत गाएका छन् । फलस्वरूप उनका आवाज र गीतहरूमा यो देश र जनताले भोगेको वेदना, पीडा, सामाजिक विसंगति आदिलाई श्रोताले पनि सजिलै अनुभूति गर्न सक्छन् ।


पारसबारे एउटा जिज्ञासा थाती थियो मसँग— एउटा पत्रकारलाई कसरी संगीत जस्तो प्राविधिक विषयमा पनि यस्तो गहिरो ज्ञान हुन गएको होला ? पछि मात्र मलाई ज्ञात भयो— अध्ययनका सिलसिलामा भारतको वाराणसीमा बिताएका केही वर्षमा उनले शास्त्रीय संगीतको अध्ययन र गायकी तालिम पनि लिएका रहेछन् । आफूले आर्जित गरेका ‘रञ्जयते इति राग:’ भन्ने राग परिभाषालाई उनी ‘धरोहर’ मा प्रयोग गरी गीतलाई सुन्दर र मिठासपूर्ण बनाउन सफल भएका छन् ।


‘धरोहर’ मा संगृहीत गीतहरू वास्तवमा मुटु र माटोसँग जोडिएका छन् । ‘मेरो मन दुख्छ हजुर भाइको मन दुखे’, ‘पल्लो घरको धुरीबाट धूवाँ आ’को छैन’ जस्ता शब्दले भ्रातृप्रेम, राष्ट्रभक्ति तथा एउटा नेपालीले पाएको पीडालाई अर्को नेपालीले अनुभूति गरेको देखिन्छ । सर्वसाधारणको गाँस–बास–कपासको सपना, खाडी मुलुकसहितमा नेपाली बन्धुको पीडा र चिन्ता, देशको अस्तव्यस्त र भाँडभैलो अवस्था, देशको सधैंको दुरवस्था, हराउँदै गएको सद्भावदेखि तापक्रम वृद्धिले हिमालमा परेको प्रभावसम्मको संवेदना पारसका गीतमा चित्रित छन् ।


‘धरोहर’ लाई उत्कृष्ट बनाउनका लागि शब्द र स्वरसँगै जुगल डंगोलजस्ता खारिएका संगीतकारको महत्त्वपूर्ण योगदान रहेको मेरो ठम्याइ छ । कविताको भाव र गायकको स्तरको परख गरेर सुहाउँदो संगीत एवं वाद्य संयोजन गर्न नसके त्यसको स्तरीयता कायम हुन सक्दैन । यस परिप्रेक्ष्यमा जुगलले ‘धरोहर’ मा गरेको कार्य अत्यन्तै सराहनीय तथा उत्कृष्ट छ ।
आजकलका धेरै अल्बमका गीतहरूले एकैनास अर्थात् एउटै शैलीलाई पछयाएको देखिन्छ, तर पारसका गीतहरूमा गायकीको विविधता स्पष्ट झल्कन्छ । त्यसको श्रेय गीतकार तथा गायकलाई त छँदै छ, तथापि यसमा संगीतकारको भूमिका अझै प्रबल रहेको मेरो बुझाइ छ । ‘धरोहर’ मा संगीतकारले नेपालीपना अभिव्यक्त हुने लोकशैलीका अतिरिक्त नेपाली मौलिक बाजालाई अत्यन्तै सशक्त र प्रभावकारी रूपमा प्रयोग गरेका छन् । यस संग्रहमा सबै वाद्यकलाकारको प्रस्तुति सराहनीय छ । विशेषत: सारंगी, मादल र बाँसुरीवादकले अत्यन्तै उत्कृष्ट वादन गरी ‘धरोहर’ को उचाइ बढाइदिएका छन् ।


समग्रमा, पारसको प्रयास र प्रस्तुति सार्थक छ, त्यही भएर यो सफल पनि छ । पारसको आवाजमा कुनै कृत्रिमता छैन, मौलिकता तथा प्राकृतिकपनाले भरिएको आवाज छ । तथापि संगीतमा साधनाको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहने र निरन्तर अभ्यास गरेमा मात्र यो अझै खारिंदै जाने निश्चित छ । पारसले पनि आफ्नो आवाजको मौलिकपना र शैलीलाई जीवित राखी अझै आफूलाई अब्बल दर्जाको श्रेणीमा पुर्‍याउनका लागि थप साधना र अभ्यास गर्नु आवश्यक छ ।
–डा. धु्रवेशचन्द्र रेग्मी

प्रकाशित : भाद्र १६, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?