खोइ, खुला चउर ?

सरोकार
दीपक भेटवाल

काठमाडौँ — हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन्— सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफखोरहरू छन । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ ।

आज नेपाल बन्दको दिन । हिजो साँझ नानीहरूको स्कुलले पठाएको म्यासेजले मोबाइल ट्वाङ्ङ बज्यो । म्यासेज पढे, टार्न नसकिने अवस्थाको कारणले भोलि स्कुल बन्द रहनेछ । नानीहरू भोलि घरमै कैद हुने भए । स्कुल बिदा भएको दिन केटाकेटीहरू बाहिर घुम्न जान पाएनन् भने घरेलु कैदमा थुनिनुपरेजस्तो गर्छन् । मेरा दुई छोराछोरी पाँच र सात वर्षका भए । विदेशमा जन्मेर उतै हुर्केका नानीहरू नेपालीपनमा भर्खर घुलमिल हुँदै छन् । मनभरि जिज्ञासा र कौतूहल छचल्किने यो उमेरका कलिला नानीहरू घरबाहिरको संसारमा चुलबुलिन हुरुक्क हुन्छन । तर, पछौटेपनले गाँजेको हाम्रो समाजको विकासे योजनामा कलिला बालबालिकाहरू फुक्काफाल भएर खेल्ने खुला ठाउँको नक्सा कतै देखिँदैन ।


बिदाको पटयारलाग्दो दिन काट्न दिक्क लागेपछि दिदी–भाइ मिलेर मलाई प्रस्ताव राखे— लेट्स गो टु पार्क, डयाड । मेरो डेरा खुमलटार हाइटमा छ । घरको सामुन्ने अगाडि प्रिमियर स्कुल छ । प्रिमियर स्कुलको ठीक पछाडि एउटा खुला चउर छ । त्यसैलाई उनीहरू पार्क भन्छन् ।


केटाकेटीको पछि लागेर पार्क गइयो । हिलाम्मे खुला चउरमा गाई–बाख्रा चरिरहेका थिए । काठको लाठो बोकेर केही जवानहरू क्रिकेट खेल्दै थिए । ससाना नानीहरू फुक्काफाल घुम्दै थिए । यसअघि जाँदा चौरको वरिपरि बार लगाउन ठडिएका कंक्रिटको पिल्लरहरू आज भुइँमा सुतिरहेक देखिए । एउटा अनलाइन पत्रिका पढेर थाहा पाएको थिएँ— यो चउर सरकारले भाडामा दिइसकेको छ । सरकारको यो निर्णयविरुद्ध जागरुक स्थानीयहरू एकमत भएर उभिएका छन् । सायद स्थानीय अभियन्ताको आक्रोशको निसानामा परेर हो कि ? ढाड भाँचिएको कंक्रिटका पिल्लरहरू घाममा सुतिरहेका थिए ।


हिजो बेलुका मात्र दर्केको झरीले छपक्कै भिजेको चउर, आजको निम्छरो घाममा ओभाइसकेको थिएन । बल खेल्ने भनेर हातमा भकुन्डो बोकेर गएका दिदी–भाइले चिसो चउरमा बल खेल्न पाएनन् । बसिबियाँलो गर्न मैले यिनीहरूलाई चरिरहेका एक हूल बाख्रातिर डोर्‍याएँ । बाख्रा हेर्न खटिएको अधबैंसे गोठालो हातमा आफूभन्दा अग्लो लौरो टेकेर उभिइरहेको थियो । बाख्रा अगाडि जान दुवै जना अलि डराएजस्तो गरे । उनीहरूले विद्यालयको पुस्तकमा पढेको भाका समात्दै मैले बाख्रा ‘डोमेस्टिक एनिमल’ हो, यसले मान्छेलाई हानि गर्दैन भनेर सम्झाएँ । दुवैले अलि सहज माने । छोरीले एउटा खसीको थुतुनोमा भकुन्डो लगेर जोड्न थाली । यसो सुँघेजस्तो गरेर खसीले मुन्टो बटार्‍यो । बगरेको पसलमा पुग्न ठिक्क परेजस्तो अर्को एउटा बूढो खसीलाई मैले हात दिएँ । बूढो खसीले हात चाटुँलाजस्तो गरेर सुँघ्न थाल्यो । मैले टाउको मुसारें । ऊ सन्चो मानेर उभियो । नानीहरू मेरा नजिक आए । हल्का धक मान्दै कलिला हातहरूले खसीको ढाडको रौं मुसारे । दुवै दंग परे । खसीसँग जिस्किँदै मेरो पछाडि लुक्न आए । घरी फुत्त खसीको ढाड मुसार्दै र घरी मेरो पछाडि आएर लुक्दै गर्न थाले । खसी मलाई चिनेजस्तो गरेर आनन्द मान्दै मेरो अगाडि उभिएको छ । म उसको टाउको मुसार्दै छु । दुई चिचिला बूढो खसीसँग लुकामारी खेल्दै छन् ।


जिब्रोले मेरो हात चाट्दै बूढो खसीले मबाट केही खान्कीको अपेक्षा गर्न थाल्यो । अलिकति घाँसको मुन्टो चिमोटेर मुखमा हालिदिए । अल्छी बूढो दंग पर्दै घाँस उग्राउन थाल्यो । दुई चिचिलाले पनि मेरो सिको गर्दै सकीनसकी घाँस चुँडेर ल्याए । परैबाटै हात तन्काएर खसीको मुखमा हाल्न थाले । कलिला नानीहरूले खुवाएको घाँस बूढो खसीले स्वाद मानेर खान थाल्यो । चिचिलाहरू पुलकित भए । चउरमा चरिरहेका चौपायासँग डर र धक हट्दै जान थाल्यो । बूढो खसीसँग सहज हुँदै जान थाले । यिनीहरूले बाख्राहरूका सिङ गने । कान गने, खुट्टा गने । कुनको सिङ ठूलो छ, कुनको सानो दाँजे ।


उतापट्टि दुई खसी सिङ जुधाएर कुस्ती खेल्न थाले । दुई लडाकुहरू एकआपसमा सिङ ठोक्नुअघि अगाडिको दुई खुट्टा माथिसम्म उठाउँथे । अनि खुट्टा भुइँतिर झार्दै एकअर्काको सिङ ठोक्थे । ठ्वाक्क ! यो दृश्य हेरिरहेको दुई चिचिलाको चञ्चल मन झन् तरंगित भयो । पर बसेर यी दुईले निकै स्वाद मानीमानी खसी जुधाइ हेरे । ठूलो स्वरमा चिच्याई–चिच्याई ‘अगेन–अगेन’ भनेर लडाकु खसीलाई जुध्न उत्प्रेरित गर्न थाले । अघिसम्म भयभीत चिचिलाहरूले बाख्राको हूललाई खेद्न थाले । पुस्तकमा पढेका यी ‘डोमेस्टिक एनिमल’ सँग नानीहरू झ्याम्मिन थाले ।


नेहरूले छोरीलाई लेखेको पत्रमा भनेका थिए— ब्रह्माण्ड खुला पाठशाला हो । दुई चिचिलाहरूले हिलाम्मे घाँसे चउरमा मनोरञ्जन मात्र लिएनन्, खुला पाठशालामा टेकेर मसिना ज्ञान पनि बटुल्न पाए । कक्षाकोठामा कैयांै दिन लगाएर घोक्नुपर्ने घरेलु चौपायासँग खेल्दै, लखेट्दै, आनन्द लिँदै सिकिरहेका थिए । घरेलु चौपायाको खान्की, व्यवहार सिकिरहेका थिए । घरेलु चौपायासँग मित्रवत् व्यवहार गर्ने संस्कार सिक्दै थिए ।


तर, यो खुला पाठशाला सरकारले भाडामा दिने निर्णय गरिसकेको छ ।


खुला ठाउँमा उभिएर सास फेर्न मात्र होइन, सार्वजनिक जीवनका मसिना बान्कीहरू नियाल्दै आनन्दित हुन पनि हामीलाई खुला पार्क चाहिन्छ । खुला ठाउँमा उभिएर एकअर्काको जीवन, अस्तित्व, हाउभाउ नियाल्दै हिँड्दा जीवन अझ जीवन्त लाग्छ । त्यसैले सार्वजनिक पार्क मलाई निकै सजीव लाग्छ । गतिशील लाग्छ । जीवनजस्तै लाग्छ ।


सार्वजनिक पार्क मान्छेको जीवनको अभिन्न अंग हो । तर, हाम्रोजस्तो पछौटे समाजको विकासको नक्सामा सार्वजनिक पार्कको रेखांकन खासै देखिँदैन । स्कुले नानीहरू खल्याङ्ग खुट्टी गर्दै उफ्रिन अथवा खुला ठाउँमा बसेर गफिन, प्रौढ बा–आमाहरूलाई लौरो टेकेर घाम ताप्न, वयस्कहरू कुइना जोडेर धित मरुन्जेल गफिनलाई सार्वजनिक पार्क चाहिन्छ । पार्कमा बसेर कडा रंग हालेको चिया पिउँदै गफिनु, भुटेको बदाम छोडाउँदै सम्झना साटासाट गर्नु, सुन्तलाको केस्रा छोडाउँदै पहारीलो घाम ताप्नु ! आहा, सार्वजनिक पार्क हाम्रो मनोविज्ञानको ग्रन्थिसँग कति धेरै निकट छ । तर, आज यो खुला चउर ओहो ! कति टाढा भइसकेको छ ।


तर, गज्जबको पार्क बनाउन मिल्ने घर अगाडिको खुला चउर गणतन्त्र नेपालको दुईतिहाइ सरकारले निसानी छाप ठोकेर भाडामा दिइसकेको छ । खुला चउरमा पिलर गाड्ने कार्य सुरु भइसकेको छ । सरकार विकास गर्न मरिमेटेर लागेको छ । यस्तो विकास जहाँ जनताको भावना जोडिएको छैन, जनताको जीवन जोडिएको छैन ।


हामी बाँचेको समाजमा दुई चीज मात्र बलशाली र प्रभावशाली छन् । सत्ता र बजार । समाज, जीवन, भावना सबै यी दुई बलियाको आखेटमा परेका छन् । माथि बहुमतीय सरकारको सत्ता छ, तल बजार साम्राज्य हाँकेर बसेका नाफाखोरहरू छन् । बहुमतीय ओली सरकारलाई रेलको लिक बिछयाउन पैसाको खाँचो छ, नाफाखोरहरूलाई बजार विस्तार गरेर नाफा असुल्न । हाम्रा नानीबाबुहरूलाई भने खेल्ने खुला चउर चाहिएको छ । यी दुई बलियाहरूले निल्न लागेको खुला चउर जोगाउन स्थानीय नागरिकहरू कस्सिएका छन् । जागरुक स्थानीयहरू सिंहदरबार धाएका छन् । यो खुला चउर हाम्रो सास फेर्ने ठाउँ हो भाडामा नदिऊ भनेर हात जोडेका छन् । भर्खरै जीवनको लय सिक्न थालेका मेरा नानीहरू भोलिदेखि खुला चउर खोज्दै कहाँ जालान् ? क्याट स्टेभेन्सको गीत जस्तै :
‘मलाई थाहा छ,
हामी निकै लामो बाटो नाघेर आएका छौं
हामी दिनानुदिन बदलिंदै छौं
तर मलाई भन,
केटाकेटीहरू खेल्ने ठाउँ कहाँ छ ?’

twetter: @deepakbhetwal

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

नाकाबन्दीले कोपरेका घाउहरु

कतारमा नाकाबन्दीकाे असर
दीपक भेटवाल

काठमाडौं — कतार एयरवेजका सिइओ अल बकर भन्छन, ‘देशहरु बीचको कुटनीतिक संकट ढिलो वा चाडो जहिले टुगिंएपनि मान्छेको मनमा लागेको घाउ निकै गहिरो भइसकेको छ । र, मान्छेहरुले यो भुल्न सक्दैनन ।’

नाकाबन्दीअघि कतार एयरवेजको दोहा–दुबई–दोहा उडानलाई दुबई सटल भनिन्थ्यो । दुबई सटलले सासै नफेरी बिहानैदेखि अवेर रातिसम्म यात्रुहरु ल्याउने र पुर्‍याउने गरिरहन्थ्यो । दोहाको एयरपोर्टबाट पांग्राले भुईँ छाड्नासाथ जाहाज फनक्क पुर्वतिर मोडिएर पर्सियन खाडीको सागरमाथि कावा खान थाल्छ । त्यसपछि जहाजले पूरा उचाई लिन नपाइउँदै दुबई एयरपोर्टमा ओर्लिने सुरसार थाल्छ । हेर्दाहेर्दै जहाजले दुवई एयरपोर्टको रनवेमा पांग्रा टेकाउन आईपुग्छ । एक घण्टाको उडान भएको दोहा–दुवईको हवाई यात्रा उडेको एकै छिनमा मिलिक्कै दुबई आईपुग्छ । कतार एयरवेजले मात्र दुबईको लागि दैनिक बाह्रवटा उडान भथ्र्यो ।

उसैगरी दुबईको इमिरेट्स एयरलाइन्सले दोहाको लागि दैनिक एघार वटा जति उडान भथ्र्यो । यूएईको दुबई, आबुधाबी, शारजाहलगायतको सहरमेत जोड्दा कतार एयरवेजले उडानहरु बीस जति पुग्थ्यो । त्यतिनै संख्यामा यूएईका बिभिन्न हवाई कम्पनीहरुले दोहाको लागि उडान भर्थे । कतारको दोहास्थित हमाद अन्तराष्ट्रिय बिमानस्थलबाट बहराइन तथा साउदीका अरबको बिभिन्न शहरहरुमा पनि उसैगरी हवाई उडानको बाक्लो आवतजावत भइरहन्थ्यो । कतारको अर्को छिमेकी मुलुक बहराइन त झन दोहाबाट तीस मिनेटको हवाइ उडानमा आइपुगिन्छ । राजधानी दोहाबाट एकघण्टामा सडक मार्गबाट नै साउदी अरेबियाको सिमानापार भइसक्छ । यसरी नाकाबन्दी अघिसम्म खाडीका यि देशहरु सिमानाबिहीन जस्तो लाग्ने भुगोलमा बाँचेका थिए ।

खाडी देशका नागरिकहरुलाइ एक अर्काको देशमा भ्रमण गर्न भिसाको जरुरत पर्दैन । निर्वाध रुपमा एकअर्का देशमासहजै बसोवास गर्न, ब्यापारव्यवसाय चलाउने अनुमति प्राप्त छ । बिद्यार्थीहरु यताउताका बिद्यालय वा विश्वविद्यालयमा अध्ययन गरिरहेका हुन्छन । वारिपारी जस्तो लाग्ने यि देशहरुका नागरीकबीच बिहेवारी चल्छ । ससुराली, मावली एक अर्का देशमा छरिएका छन । बहुबिवाहले मान्यता पाएको हँुदा कतिपयले एक भन्दा बढी श्रीमतीहरु फरक फरक देशमा राखेका छन् । कतारमा मात्र ११,३८७ जना बहराइनी , साउदी र इमाराती (युएई) नागरिकहरु बसोबास गर्छन् । नाकाबन्दी अघिसम्म खाडीराष्ट्रका मुलुकहरु एकै मुलुक जस्ता थिए । उनीहरु एकअर्काको देशमा हिंडडूल गर्न, बसोबास गर्न, बिहेवारी गर्न स्वतन्त्र थिए ।

नाकाबन्दी अघिसम्म हरेक बिहीबार घाम डुब्दै जान थालेपछि कतारको हमाद अन्तराष्ट्रिय बिमानास्थलमा दुवई र बहराइनमा दुई दिने छुट्टी मनाउन जाने यात्रुहरुको मेला लाग्थ्यो ।
खाडी मुलुकहरुमा शुक्रबार र शनिवार दुई दिन सरकारी छुट्टी हुन्छ । शनिबार साँझ उताबाट फर्किने यात्रुहरुको बिमानस्थलमा थामिनसक्नुको भीड लाग्थो । यि देशका नागरिकबीच पारिवारिक भातृत्वको सम्बन्ध थियो । यिनीहरुबीचको आपसी सम्बन्ध आर्थिक, सामाजिक वा सांस्कृतिक मात्र होइन भावानात्मकरुपले पनि कसिलो थियो । यि देशहरुले आपसी देशहरुलाई छिमेकी होइन, दाजुभाई जस्तो सद्भाव प्रकट गर्दथे ।

कतार, यूएई, बहराईन, साउदी अरेबीयाबीच दैनिक सयौंको संख्यामा हुने हवाई उडानहरुको पनि यि देशबीचको कसिलो सम्बन्धको झलक देखाउँछ । तर दुइसाताअघि अप्रत्याशितरुपले बिकसित भएको खाडीको कुटनैतिक संकटले दाजुभाईजस्ता यि देशको सम्बन्धको सबै डोरीहरु चुँडिएको छ । साउदी, बहराइन तथा यूएई सरकारले कतारसँग कुटनीतिक सम्बन्धबिच्छेद गर्ने घोषणासँगै कतारका नागरिकलाई पनि १४ दिनभित्र आफनो देश छाड्न र आफ्ना नागरिकलाई पनि १४ दिनभित्र कतारबाट फर्कन आदेश दिएपश्चात, देश –देशबीचका कुटनीतिक सम्बन्ध मात्र होइन, नागरिकबीचको भावानात्मक सम्बन्ध पनि टुटेको छ ।

सिमानाको ढोका बन्द भएपनि एक अर्कामा मनको सम्बन्ध भएका यि देशका नागरिकलाई लागि मनको ढोका बन्द गर्न हम्मेहम्मे परेको छ । उनीहरु बैवाहिक, पारिवारिक तथा समाजिक सम्बन्धको डोरीले बाँधिएका छन् । उसै पनि पवित्र महिना रमदान इस्लाम समाजमा कठोर ब्रत राखेर मन, बचन र कर्मलाई शुद्दतातिर उन्मुख गर्ने याम हो । तीस मिनेटको हवाई उडानबाट कतारीहरु ईफतार खान बहराईनमा भएका नातागोताकोमा पुग्छन र सहुर खान फेरी कतार फर्किसक्छन् । इमारातीहरु (युएइका नागरिक) दुबईमा इफ्तार खाएर एक घण्टाको हवाई उडानमा सहुर खान कतारी ईष्टमित्रकोमा आइपुग्छन् । पारिवारिक सम्बन्ध भएका साउदी, बहराईन, कतारका नागरिकबीच एकाअर्काको देशमा ईफ्तार वा सहुर खाँदै हार्दिकता साटासाट गर्न छोटो दुरीको हवाई यात्रामा फुत्त पुगेर फर्कने गर्छन । अझै रमादानको कठोर ब्रत सकिएपछि आउने पर्व इद उल्लासमय किसिमले मनाइन्छ । तर, राजनीतिको कठोर गणितले रमदानको याममा देखिने मानव मानवबीचको जीवन्त व्यवहारहरुलाई भष्म पारिदिएको छ ।

अलजजिरा लेख्छ, वाफा अलवाजेदी एक कतारी महिला हुन् । उनको पूर्व श्रीमान बहराइनी नागरिक हुन् र उनका पूर्व श्रीमानको तर्फबाट दुई सन्तान छन् । खाडी मुलुकहरुमा सन्तानले बाबुको नामबाट नागरिकता पाउने चलन छ । त्यसैले उनीसँग कतारमा बसोबास गर्दै आएका उनका दुई सन्तानहरुले बाबुको नामबाट बहराइनी नागरिकता पाएका छन् । बहराइनको सरकारले कतारमा भएका आफना नागरिकलाई मुलुक फर्किने आदेश दिएपछि वाफा अलवाजेदी अन्योलमा परेकी छन् । अब न उनका दुई सन्तानहरु कतारमा बस्न सक्छन, न उनी बहराईन जान पाउँछिन् ।

उनले भनेकी छन्, ‘हामीआफै भित्र हराएको महसुस गरिरहेका छौं । वाजेदीका दुई सन्तानले कठोर राजनीतिभित्रको जटिलता बुझ्दैनन् । शासकहरुको हुकुमको उल्लंघन गर्दा चुकाउनु पर्ने मूल्यको लेखाजोखा गर्न पनि जानेका छैनन् । उनीहरु बालसुलभ भावमा भनिरहेका छन् “हामीसँग बहराइनको पासपोर्ट भए पनि हामीलाई कतार नै आफनो घरजस्तो लाग्छ । हामी हाम्रो आमासँण्ग छुट्टिन चाहदैंनौ । हामी कतारमा नै बस्छौ ।”

त्यसैगरी, दिवंगत श्रीमान साउदी नागरिक भएकी एक कतारी महिला आफ्ना दुई सन्तान सँगै साउदी अरबमा बसोबास गर्दै आएकी थिइन । साउदी सरकारको आदेशले उनलाई मुलुक छाड्न भनिएको छ । उनलाई यो पनि भनिएको छ की उनले आफ्नो छोरा, जो अपाङ्ग छन र प्रतिपल मातृ स्याहारको आवश्यकता छ, साथमा लैजान पाउने छैनन् किनकी उनका छोरा साउदी नागरिक हुन ।

लोग्ने–स्वास्नि छुट्टिनु परेको छ, नानीहरुले आफ्ना आमाबाबु छाड्नु परेको छ । विद्यालय वा विश्वबिद्यालयमा अध्यनरत छात्रछात्राले आफ्नो भविष्य छाडेर फर्कनु परेको घटनाहरु अनिगिन्ती छन् । कतारको राष्ट्रिय मानवअधिकार समितिमा समेत यस्ता खालका घटनाको उजुरीहरु दर्ताको खात सातसय नाघिसकेको छ । तर, नाकाबन्दीमा सामेल देशहरुले कतार र उसका नाकगरिकप्रति सहानुभूति जनाउदासमेत कारवाही हुने क्रम चलेको छ ।

नेपालीहरुको लागि नाकाबन्दी भन्नासाथ दैनिक उपभोग्य बस्तुको हाहाकार, ग्यासको अभाव, पेट्रोलको लाइनजस्ता दृश्यहरु बिम्ब बन्छन् । तर कतारमा नाकाबन्दी लागे पनि बाहिरी दुनियाँ ठीकठाक देखिन्छ । ग्याँसको हाहाकार छैन । अन्नपानीको यथेष्ट जोरजाम छ । स्कुल, कार्यालय, कारखाना सबै आफआफ्नै तालिकामा चलिरहेका छन । सडकबत्तिले सहरलाई रातभरी पनि उज्यालो राखेको छ । सडकमा सवारीको आवतजावतमा कुनै फेरबदल छैन् र पनि हाम्रो जस्तै कतारी नागरिकहरुको मनमा पनी छिमेकी देशले लगाएको अमानवीय नाकाबन्दीको गहिरो घाउ दुखेर बसेको छ । किनकी छिमेकी देशले कतारमाथि लगाएको नाकाबन्दीले दुइ देशका नागरीकबीचमात्र होइन, एउटै परिवारभित्र पनि धाँजा पारेको छ । हिजोसम्म एउटै छानोमुनी बसेर जीवन बाँचिरहेका परिवारका सदस्यहरु पनि धाँजा फाटेर चिरा परेको जमिनको दुई फरक फरक किनारझैं उभिन बाध्य छन् ।

तब त कतार एयरवेजका सिइओ अल बकर भन्छन,‘देशबीचको कुटनीतिक संकट ढिलो वा चाडो जहिले टुगिंएपनि मान्छेको मनमा लागेको घाउ निकै गहिरो भइसकेको छ । र, मान्छेहरुले यो भुल्न सक्दैनन् ।’

ट्वीटर :@deepakbhetwal

प्रकाशित : असार ६, २०७४ १४:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्