फुक्काफाल केटीहरु

अनुभूति
दिनदिनैका दिक्दारी र विरक्त कुराहरूबाट त्राण लिन पनि समाजमा चुपचाप दियो जलाउने मानिसहरूको चर्चा सञ्चारमाध्यममा गर्नु आवश्यक छ । देशका कुनाकुनामा अँध्यारोलाई नटेरी धप्प बलिरहेका दीपजस्ता मानिसहरू हाम्रा ताराहरू हुन् ।
सरला गौतम

काठमाडौँ —  दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’

दस वर्षअगि । रेडियोको कामबाट फर्कंदा रातको एघार बजेको थियो । हामी चार पाँच जना रेडियोकर्मी महिला मेरो डेरातर्फ जाँदै थियौं । देशव्यापी रूपमा महिला हिंसाविरुद्ध अभियान छेडेका थियौं । बिहान सात बजेदेखि कहिलेकहिले राति एघार बजेसम्म काम हुन्थ्यो ।

हाम्रो धड्कनको आवाज पनि हामीसँगै बेखबर थियो । थाकेका हामी मेरो डेरा नजिकै पुग्दै थियौं । दुई–तीन जँडयाहा हल्ला गर्दै हामीतिर आए । सबै साथी डराएर मतिरै सोझिए । मैले डायलग मारें, ‘खै निकाल खुकुरी केटी हो । यस्ता चोरहरू कति छप्काइयो छप्काइयो । आज पनि हान्ने हो दुई चार जना निहुँ खोज्नेलाई ।’ जँडयाहाहरू परपर भए । त्यो बत्ती नबलेको गल्लीमा निडर देखिनुको विकल्प अर्को थिएन । जँडयाहाहरू नभागी उल्टै जाइलाग्न पनि सक्थे । ‘म निर्भयताको वकालत गर्दिनँ । सबैलाई सुरक्षित बनाऊँ अनि मात्र घरबाट निस्कन्छु भन्ने अवसर हामीलाई थिएन । बिहान उठेर एक कप मीठो चिया खान पनि काम गर्नैपथ्र्याे । अँध्यारोसँग जुध्नैपथ्र्याे । साथीहरूले त्यो बेलादेखि जिस्काएर भन्न पनि थाले, ‘ओइ खुकुरी दलको अध्यक्ष ।’


हामीले पचहत्तरै जिल्लाका महिला अधिकारकर्मीसँग घटनाबारे बुझ्ने र स्थानीय निकायसँग कुरा गरी जिम्मेवार बनाउने काम गरिरहेका थियौं । ‘दोस्रो दर्जाका’ पत्रकार थियौं । किनकि हामी ‘जेन्डरका कुरा’ गथ्र्याैं । न्यून सुविधा र लोडसेडिङको समस्या । यस्तोमा महिला हिंसाको कार्यक्रमले साधन भेट्नु र काम गर्नु ठूलो थियो । महिलाका समाचार तलतल पारिन्थे, न्युज रुममा भिडेर लिस्ट माथिमाथि राख्न लगाउँथ्यौं । पत्रिकामा छापिएका, महिलाविरोधी लेखबारे सम्पादकसँग स्पष्टीकरण माग्थ्यौं । पत्रपत्रिकामा महिलाको समाचार कहाँ छापिन्छन्, त्यसको आधारमा जवाफ पनि माग्थ्यौं । महिला, जुत्ता, जुनार लेख काण्डदेखि अनेकमा हामीलाई मिल्ने विशेषता ‘जेन्डर डेन्जर ।’ ‘फेमिनिस्ट ।’ अफिसभित्र र बाहिर यस्ता टिप्पणी सुन्थ्यौं काममा लाग्थ्यौं । मानिसका छड्के आँखा । भो कुरा नगरौं ।


यस्तै एक दिन दिनभरि काममा भिडेपछि क्यान्टिनमा साँझको खाना खाएर भोलिपल्टका लागि हामी फेरि खटियौं । सबै गइसकेपछि पनि पत्रकार साथी कमला र म राति एघार बजेसम्म सुनसान अफिसमा काम गर्दै गर्‍यांै । घर फर्कने सम्पूर्ण तागत रित्तियो । एउटा गेस्ट रुम थियो । त्यसैमा रात गुजार्ने तर्खर गर्‍यौं । दुई तला झरेर ढोका लाउन जाने शक्ति दुवैमा थिएन । लगभग एकै स्वरमा भन्यौ ‘ह्या कसैले बलात्कार गरे नि गरोस् । मारे नि मारोस् । अब तागत छैन केही गर्ने । ढोका नलगाई सुतौं ।’ र त्यसै गर्‍यौं । उठ्दा चौकीदार दाइले बाहिरबाट ताला लगाइदिनुभएको रहेछ । दिनभरि आफूमाथिको अपमान पियौं । देशभरिका हिंसाको कुरा बटुल्यौं । अनि हामी दुई केटी आफूमाथिको कुनै पनि सम्भावित खतरा मोलेर पल्टियौं । थकित ज्यानमा भनेजस्तो खाना थिएन । डरलाग्दा घटनाले हरदिन बिथोलिने मन र मस्तिष्कको के हिसाब भयो र । सारा संसार बेखबर निदाइरहेको थियो । छोरीहरूको सुरक्षाबारे राज्यका निकायसँग कुरा गरेका हामी आफ्नै सुरक्षामा ढुक्क थिएनौं । यतिबेला आँटले नझुधे अरू केले जुध्ने ?


हरबखत हरसन्दर्भमा हामीमध्ये कसैले आफ्ना यावत् कुरा घरीघरी भन्दै हिँड्न पनि चाहन्नौं । यसको मतलब हरबहसमा ‘फुक्काफाल केटीहरू’ जस्तोसुकै काम गर्न सहुलियत प्राप्त छन् भन्ने हल्कारा टिप्पणी सुन्न पनि चाहन्नौं ।


फागुको बेला स्डुडियोमा खबरदारी कार्यक्रम चलाएपछि सडकमा हिँड्थ्यौं ढुंगा समातेर । कसैलाई हान्ने त होइन लोला हान्नेको सातो लिन । कुनै चाड वा बाड हामीलाई बिदा के हो कहिले थाहा भएन । घरबाट कान्छी बैनीले ‘दिदी उडेर भए पनि आऊ । तिमी नआई रमाइलो हुन्न’ भनेर लेखेको मेसेज नजिकको साथीलाई देखाउन सक्दिनथें । दसैंको बेला पनि कामको चापले ऊ सुदूरपूर्वको आफ्नो घर जान पाएकी थिइन । आमाको मेसेज हेरेर गलेको उसको अनुहार हेरी आफ्नो न्यास्रो म घुटुक्क निलिदिन्थें । मुस्किलले मिलाएको बिदामा घर गएर फर्कंदा काठमाडौंमा हल्ला फर्किसकेको हुँदैनथ्यो । न्यास्रोको अर्को झोक्काले फेरि हान्थ्यो । प्राविधिक काम पनि गर्नैपर्ने । सस्तो रकममा अलराउन्डर ह्युमनपावर थियौं हामी । नाम मात्रको तलबले कसरी धान्यौं प्राण । भन्नलाई पूरै जीवन बाँकी छ ।


केही गर्न घरबाट हिँडेको छोराका लागि परिवार र आफन्त जति मिजासमा हुन्छन्, छोरीमान्छेको रहरको करिअरमा उत्तिकै रूखा । भेटघाट, चाडबाड र मेसेजको कुराकानीमा चासो मात्र ‘योग्य वर’ कै हुन्छ । अदालतको कठघरामा उभिएको कैदीले के गर्छ प्रश्नको सामना । प्रश्नकै ओछयानमा सुत्छौं हामी । ‘तिम्रा रहरका दु:ख’ भन्नेजस्ता टिप्पणी सामान्य कुरा हुन् । एकसेएक योग्य वरहरू बाल हानेर स्वाँट्ट झोला लिएर हिँड्ने हामी ‘बदचलन औरत’ हरू नै एकअर्काका आफन्त थियौं र छौं । यसरी हिँड्ने केटीहरूका लागि न थानकोटमा स्वागतद्वार हुन्छ, न आफ्ना मान्छेको भनेजस्तो प्यार ।


रेडियोको कामबाट अर्को दिन राति यसरी नै झन्डै दस बजे कामबाट फर्कंदै थियौं । हामी एकैतिर बस्ने भएकाले पत्रकार कमला थापा नै थिइन् सँगै । उनी अनायास बिरक्त भइन् । एकपछि अर्को प्रश्न गरिन् मलाई । ‘सरला यो कालो रातसम्म हामीले काम गरेको कसले देख्छ । यो रेडियो कतिले सुन्छन् । यसको प्रतिफल के हुन्छ । हामीले के पाउँछौं ?’ सबै कुरा हावामा बिलाएजस्तो लाग्यो । सबै बिरक्ति मेट्ने पैसा पनि थिएन । आज हामी जे गरिरहेछौं यी कुराहरू यति महत्त्वहीन हुँदैनन् होला । झिनामसिना र आइमाई केटाकेटीका कुरा भन्न छोडेर सबैले आवाज दिने दिन आँउछ होला । फगत आस थियो । उसलाई मैले यही आस सुनाएँ ।


र, धेरैपछि, हामीभित्रको डर मिल्काएर लडौं, आफ्ना लागि र आफूभन्दा कमजोरका लागि । यही आशयको एक विचार लेखें । ट्विटरमा छाएका नवक्रान्तिकारीहरूको ‘तैंले मात्र हिँडेर काम गरेर हुन्छ, अपवादको कुरा गर्ने’ लगायत व्यक्तिगत रूपमा अपमान गर्दै गरेका गालीका लर्को मैले रुँदै पढें । त्यो दिन मलाई सरेआम बीच सडकमा उभ्याएर मानिसहरूले ढुंगा हानेको जस्तो भइरहेको थियो । कमलाले के पाउँछौं र सरला भनेर पोखेको बिरक्तिको सार भेट्दै थिएँ । आस मुर्झाइरहेको थियो । उपाय नास्ती भएको सहरमा आँटकै भरमा आफ्नो काम गरेर कत्रो अपराध गरियो, थाहै पाउन सकिनँ । को हुन् यी गालीबाज जसले कुराको चुरो नै अन्त मोडिदिन्छन् ।


गाउँमा डुल्दा उर्लेर आएको हुन्थ्यो नदी । पुल नभएको ठाउँमा तरेर पार जानैपथ्र्याे । कहालिँदै पाइला चोपलेर, रेकर्डर र क्यामेरा छातीमा च्यापेर पारि पुग्थें । तीनमा भरिएका कुराको माया कति हुन्थ्यो । अचानक भएको महिनावारीको रगत खोलामा बगिदिन्थ्यो । लाज मानी बस्ने सुविधा पनि सधैं हुँदैनथ्यो । सबै ठाउँमा हुँदैन स्यानिटरी प्याड । पातको सहाराले पिरियड थामेर कुरा बटुल्दै हिँड्नुलाई हामीले दु:ख भन्न पाइन्न । ‘फ्री बटरप्लाई’ । वादको बहसमा भिडिरहेकाहरूले सजिलै यसो भनिदिन्थे यता सहरमा ।


दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’ न समयको विचार, न सन्दर्भ । अर्ती उही सहनशीला सुशीलावाला । अझै पनि कम प्रश्न गर्ने र हरदम मिजासमै रहन प्रोत्साहित गरिँदै छ । यसो गर्न नसक्नेलाई तिरस्कार !


कुनै बेला सात महिना म बाजुरामा डेरा लिएर बसेथें । दसैंको बेला पूरै बजार सुनसान थियो । रातको खाना खाएर डेरा फर्कंदै थिएँ । मोबाइलको चार्ज सकिन लागेको थियो ।

सधैंजसो बेपर्वाह ढोकाबाट छिर्ने त्यो दिन ढोकामा पुगेपछि टक्क अडिएँ । धिपधिप मोबाइल बालें । एकै पटक ढोकाको चेपमा हेरें । मान्छे थियो । मेरो होस कसरी उडयो बताउन सक्दिनँ । रातिमा कहालिँदै कुदेर म सशस्त्र प्रहरी चौकीमा पुगें । अँध्यारोमा डयास दिनेलाई ‘तँलाई छप्काइदिम् । मलाई छुन्छस्’ भन्दै हिँड्ने गर्थे । त्यो दिन सातो उडेको थियो । त्यो सन्नाटा भरिएको रातमा आफूलाई बलात्कार गर्न वा मार्न तम्सिएको मान्छेलाई मुक्का हान्ने होस मैले कसरी पाउनु । दुई–चार दिनपछि फेरि हिम्मत बटुलेर काममा जानैपर्‍यो । घरबाट आएको फोनमा भनें, ‘सबै ठीक छ । राम्रो छ ।’


न्याय, प्रशासन सबै नाम मात्रको थियो । चौकीमा धर्ना कसेर बलात्कार र अन्य हिंसाका घटना सम्झौतामा टुंगिन नदिन हात उचालिरहेका हुन्थे केटीहरू । सामाजिक संरचना सबै ठीक भएर हिम्मतिला भएका थिएनन् उनीहरू । सबै ठीक भए त आराम गरिबस्थे । सिंगो सामाजिक, राजनीतिक र राज्यको संरचनासँग जुधेर हावामा हात बत्ताएर किन बस्थे । अनि यस्ता केटीहरूको आँटको चर्चा गर्नु अपराध ? आफू झन्डै मारिन लागेको कहाली बिर्सेर फेरि यात्रा गर्दै काममा जानुु पनि अपराध । एक पत्रकार साथीले मसँग भनेकी थिइन्, ‘हामीलाई त कमजोर हुनु र डराउन पाउनु पनि लक्जरी हो ।’ आफ्ना थाप्लामाथि खस्दै गरेका चट्टानका चपरी हेर्दै भाग्दा डराउने फुर्सद पनि मिल्दैन । यसो गरिरहेका छोरीहरूले सबैले यसै गरेनन् भनेर तपाईंलाई सरापेका छैनन् । जो सकी नसकी बल गरिरहेछन् । उसको तेजोबध गर्ने छुट तपाईंलाई छैन ।


कालिकोटका साथीले मलाई सुनाउँदै थिए । ‘तपाईंको बास बसेको दैलेखको त्यो बजार निकै खतरनाक हो । बीस रुपैयाँका लागि मान्छे मारिएको रेकर्ड छ । अस्ति भर्खर एउटा केटीलाई मारे । म तपाईंलाई सम्झेर झस्कें । लेख र रिपोर्ट मात्र होइन यस्ता अनुभव भन्न थाल्नुस्,’ खिड्किज्युला भन्ने त्यो ठाउँमा मेरो रातिमा बास परेको थियो एक पटक । बल्लबल्ल पाएको बासमा चुक्कुलसमेत थिएन । बाकस नै बाकसले ढोका थिचेर रातभरि जागेर बसें । पारि खोला सुस्याइरह्यो । मनमा भय । यो बेलाको सहारा थियो मनमा धिपधिप गरी बलिरहेको आँट र आसको उज्यालो ।


विशेष सन्दर्भ र खुलाउनैपर्ने कुराबाहेक आफ्नो दिक्दारी हरसन्दर्भमा बताउँदै कोही हिँड्दैन । दार्शनिक कृष्णमूर्ति भन्छन्— अँध्यारोसँग धेरै मुठी नकस । चुपचाप एक दियो जलाऊ । आफसेआफ उज्यालो आउँछ ।’ दिनदिनैका दिक्दारी र विरक्त कुराहरूबाट त्राण लिन पनि समाजमा चुपचाप दियो जलाउने मानिसहरूको चर्चा सञ्चारमाध्यममा गर्नु आवश्यक छ । देशका कुनाकुनामा अँध्यारोलाई नटेरी धप्प बलिरहेका दीपजस्ता मानिसहरू हाम्रा ताराहरू हुन् । औंसीको अँध्यारो छरिएको समाजलाई साहस दिइरहेका । खराबीको मात्र बढी चर्चा गर्ने मिडियाले खोजीखोजी ल्याओस् यी मानिसहरू । धपक्कै पारेर राखिदिओस् अगाडि । बिहानै पत्रिका पढ्दा होस् मनै उज्यालो । समाजमा आस र आँट जीवित राखेर यसको उन्नति गर्ने हो भने ।


भयको उल्टो आँट हो । एकपछि अर्को बलात्कारका घटनाले विक्षिप्त बनाइरहेको थियो हाल साल । भदै बहिनी कामबाट कोठामा आउँदै थिई । सुनसान रात, चिप्लो बाटो । गेटमा उभिएर कुरें । उसले ढिलो गरी । मन डरायो । केही त भएन । फेरि मन फर्काएँ । अहँ यसरी डराउन हुँदैन । डरले डर बढाउँछ । अनि अपराधको कीरा सलबलाउन थाल्छन् । सकेसम्म केही हुन्न, केही हुन्न नै भनिरहने हो । ऊ आई । मैले मनोदशा सुनाएँ । रातिको १२ बजे दिदीबहिनी एकै निष्कर्षमा पुग्यौं । हामीलाई रातबिरात काममा नहिँडी हुँदैन । सबैतिर बत्ती छैन । बाटो यस्तो छ । डराएर मात्र काम चल्दैन । मर्ने घडी आउने बेलासम्म निर्भय भएर काममा जानु र आउनुको विकल्प कोही देखाइदेओस् । हाम्रो काम अब हाम्रो रहरको करिअर होइन । हातमुख जोर्ने र बाँच्ने बाटो पनि हो । यसैले समाजमा भएका दस जनामा तीन जना बदमाससँग हरबखत डराएर बस्दैनौं । काठमाडांैको अँध्यारा गल्लीहरूमा नक्कली पुलिस बनेर मान्छेलाई सातो टिपेका कहानी हामीसँग कति छन् कति । आफूलाई फलो गर्दै आइरहेको बाइक नजिकै गएर ‘के भयो भाइ । के अप्ठेरो पर्‍यो । के सहयोग गरम् ।’ भन्दै हिँड्नु त नियति नै हो । त्यो पनि नामी सञ्चारगृहलाई लेख बुझाएर फर्कंदा । यसो नगरे के गर्ने कोही भनिदेओस् ।


भिड्दाभिड्दै मर्नैपरे पनि बाँचेका छोरी र दिदीबहिनीलाई हावामा भन्ने हो । हेर मेरो मृत्युबाट पनि तिमी नडराऊ । यो संसार योभन्दा निकै राम्रो हुन सक्छ । छोरीहरू निकै खुलेर हाँस्न सक्छन् । उनीहरूको हाँसो वायुमण्डलमा ठोकिएको बखत हावामा अमृत भरिन्छ । त्यसका लागि तिमी बोल । नदीमा हाम फालेकी नेपाली योगमाया, गोलीको सिकार भएकी भारतकी गौरी लंकेश र अरू धेरै लडाकुको आत्माले हामीलाई यही भनेझैं लाग्छ । थुजाथुजा पारेर मारी फालिएका हाम्रा छोरीहरूको आत्माले भन्दै होला ‘हेर जो जो जीवित छौ । तिमीहरूलाई चुप लाग्ने सुविधा छैन । हामी त गयौं । बाँच्नेहरूलाई हिम्मत देऊ । उनीहरूलाई भन योभन्दा सुन्दर संसार सम्भव छ । र, त्यसका लागि लागिपर ।’ यिनै सानीहरूका लागि पनि हामी त यो आँटमा चल्छौं चल्छौं ।


सहरका कुनाकुना गाउँका कुनाकुनामा सुरक्षाको उज्यालोमा छोरीहरू मुस्कुराउनैपर्छ । हरेक पटक यो भन्छौं । महिलाहरू जहाँ काम गर्छन्, स्वतन्त्र वा जागिरे त्यहाँका जिम्मेवाार व्यक्तिले उनीहरूको सुरक्षामा अनिवार्य ध्यान दिनुपर्छ । महिला हिंसाविरुद्ध लेख छापिरहेका सञ्चारगृहले परेको बेला छोरीहरूले गुहार्न सक्ने भरोसा बन्नुपर्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुनै पनि प्रहरमा नेपाल सरकार हाम्रो सुरक्षामा हाजिर हुनैपर्छ । हामीलाई डर मिल्काउन देऊ । सारा समाज हाम्रो रक्षक बन । नडराऊ भन्नेहरूको सातो ट्विटरमा बस्नेहरूले नखाऊ । प्रकाशित : भाद्र २, २०७५ ०८:३८

प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका घोडावालीहरू

परिदृश्य
सृष्टिको आँखामा बाबुकै सपना नाचिरहन्छन् । बाबुको लास उत्खनन गर्दा खप्पर भेटियो । जमिनबाट खप्पर निकालेर जिल्ला पार्टी कार्यालयमा राखिएको छ, अझै पनि ।
सरला गौतम

काठमाडौँ — सूर्य पनि अस्ताउन मात्र आउँछ भनिन्छ पश्चिममा । तर, सूर्यभन्दा तेजिला राप बनेर पश्चिमका छोरीहरू उदाउँदै छन् । कोही घोडचढी बनेर, कोही कराँते ब्ल्याकबेल्ट त कोही मुलुककै कम उमेरका उपमेयर बनेर दिदीबहिनीहरू पश्चिमबाट उदाइरहेका छन्, देश–दुनियाँलाई देखाउने गरी ।

उसले घोडाको लगाम जोडले समाती । कर्के नजरले हामीलाई हेरेर भनी, ‘गए जाऊ, नगए बाल छैन । तिमीले जति भन्यौ, उति पैसामा हामी जाँदैनौं ।’


चार जना किशोरी रारा ताल छेउको मिलीचौरमा सवारी कुर्दै थिए । उनीहरूको मोल हामीले घटाउँदा झन्डै आगो भए । एउटीले सबैको स्वर आफंैमा समेटेर हामीलाई डाँकोले टिपी । हामी मरीच चाउरिएझैं भयौं । अलि आँट निकालेर लोकल–टोन ल्याउने प्रयास गर्दै मैले भनें, ‘अरे वा, कर्णालीका छोट्टी हो । क्या दादागिरी छ है... ।’ जिस्केर कुरा गरेपछि उनीहरूको तापमान उत्रियो । शीतल भएर मुस्काए ।


कालिकोट जुम्ला सडकखण्डकै चिनारु गुरुजी नवराज शर्मा साथमै थिए । बाह्र वर्षदेखि यही बाटोमा अनेकौं डनको रवाफ झेलेका छन् उनले । उनकै बसमा मुगु पुगेकी थिएँ म । संयोगले रारा जाने बाटोमा भेटिए । परिवारसहित घुम्न आएका । डनहरूको सान उनका लागि के नौलो भयो र ? बाटैमा कति पटक मैले नै देखें । यहाँ कुरो लेडी–डनहरूको थियो । ‘कर्णालीका छोरी लुसुक्क परेर निहुरिमुन्टी लाएर छाउगोठमा मात्र बस्दा रहेनछन्,’ उनकी जहान भन्दै थिइन् । पहिलो पटक कर्णाली टेकेकी थिइन् उनले । रारा घुम्न जाँदा देखिन्, केटीहरूले सानसँग घोडा हाँकेको । मान्छे डाकेको । पैसा घटाउनेको सातो टिपेको ।


घोडावालीहरूको हँुकार छेउमा बसेर ट्वाँ परेर हेर्दै थिए, मोटरवाला गुरुजी । अन्तत: आफ्नो सानो छोरालाई एउटा घोडामाथि राखेर फोटो खिचाई उनले धोको मेटे । अनि लुखुरलुखुर हामी सँगै रारा तालतिर रवाना भयौं ।
***


साथीभाइलाई बिदा गरेपछि रारा किनारैकिनार हिँड्दै थिएँ । अर्को घोडावाल भेटिए । ठिटोले झोलामै लोकसेवा आयोगको एक ठेली पुस्तक बोकेका थिए । डाँडाकाँडा तालतलैया चहार्दै पढ्ने बानी रहेछ । उनले निकै कर गरेपछि म उनको घोडामा बसें । घोडावालले आफ्ना कुरा सुनाउँदै गए । मैले राराको नीलो दहमा नजर फाल्दै कुरा सुनिरहें । बस्ने ठाउँ नजिक पुगें । घोडावाल फर्किए । पाइलैपिच्छे किस्सा हुन्छन् यसरी हिँडेपछि ।


रारालाई बडो कठिनसँग बिदा गरेर ताल–बाटो माझखर्कतिर लम्कँदै थिएँ । अगाडि एउटा, पछाडि एउटा झोलाले सकस दिइरहेको थियो । नीलो रारा र नीलै आकाशले ढाडस । विपरीत दिशातिरबाट आइरहेका मान्छेलाई सोधें— बिर्खमान रोकाया घरै छन् ?


उनले भने, ‘मै त हुम् ।’


यसरी आठ वर्षमा दोस्रो पटक भेट । बाटैमा † उबेला पूरै रारामा पर्यटक भनेको म र मेरा दुई जना साथी । बिर्ख दाइले के बिर्सन्थे ? उनले भने, ‘देख्दासाथै चिनिसकेको थिएँ । न अर्कै हो कि भनेर म पहिला नबोलेको ।’ के चाहियो ? हामी थचक्क बाटैमा बसेर बात मार्न थाल्यौं ।


टकटकटकटक... परैबाट घोडाको टाक सुनियो । दुवैका नजर त्यतै परे । घोडा नजिक आयो । सामुन्नेमा उभिएर घोडावालीले लगाम समात्दै ब्रेक लगाई । बिर्खमान दाइतिर हेरेर भनि, ‘बा मैले आज दुई हजार कमाएँ, तिम्लाई दिम् कि आमालाई ?’


आठ वर्षअघि फुटेका गाला र हातगोडा लिएर चुलो वरिपरि घुमेकी यही केटी हो र ? म कसरी पत्याऊँ । त्यतिबेला बिर्खमान दाइकोमा बास बसेका थियौं हामी । रारा तालमा बस्न मिल्ने होटल थिएन । श्रुति र दीपेन्द्र घोडा चढेर उनकोमा आएको गहुँको रोटी खाएको कुरा उनले सुनाएका थिए । अहिले उनकै छोरीले घोडाको लगाम समातेकी थिई ।
मिलीचौरमा भेटिएका घोडावालीहरू एकपछि अर्को गर्दै आँखामा नाचे ।


मैले आँखा ट्वाल्ल पारेर सोधें, ‘कर्णालीका छोरीले घोडा हाँक्न थाले दाइ !’
बिर्खमान दाइले सहजै भने ‘हाँक्दा ।’


फिल्मी शैलीमा म आश्चर्य मान्न खोजे पनि बाबुछोरी दुवैले खास मतलब गरेनन् । मैले फेरि सोधें, ‘कमाउन थाले है ?’
बिर्ख दाइले भने, ‘कमाउँदा नापो नापो (अलिअलि कमाउँछन्) ।’ मलाई के के न लागेको कुरा उनीहरूलाई केही न केही । हैट !

छोरीले दिएको पैसा बिर्ख दाइले गोजीमा हाले । उनलाई गमगढी बजार भर्न जानु थियो । मेरो एउटा ब्याग सुशीलाले समाती । सदरमुकाम नगई उनी मलाई लिएर घरतिरै फर्के । हामीलाई हेर्दै हाँस्दै सुशीलाले हावामा वेग हानी । टकटकटकटक... !! घोडाको पदचाप पर पुग्ने बेलासम्मै सुनियो ।

***


मुगु आइपुग्नुअघि म कालिकोट थिएँ । कालिकोटको गाउँ रासकोट जाने मेसो जुर्‍यो । वरिपरि डाँडाकाँडा । तल नदी । रासकोट गाउँको फराकिलो चौर । आकार–आकारका नेपाली झन्डा हावामा हल्लिरहेका । पूरै गाउँ उल्टेर राता पहेंला, हरिया लुगामा अनुहारभरि रमाइलो भरेर मैदानतिर नजर फालिरहेका । राष्ट्रिय गान, खेलाडीको गान । पूरै गाउँ गुन्जायमान । राष्ट्रपति कपका लागि खेल हँुदै थियो । भलिबल खेलाडी किशोरीहरू हावामा बल बत्ताउँथे । हावाको वेगसँग उनीहरू पनि बत्तिरहेको ‘नजारा’ साच्चै लोभलाग्दो थियो । भलिबलमा किशोरीहरू रमाइरहेकै बेला निरुता शाहीसँग कुरा गर्ने जुक्ति निकालें । उनी तेक्वान्दोमा राष्ट्रिय खेलाडी । भलिबलको क्षेत्रीय खेलाडी । चैतको अन्त्यको गर्मी अनि भर्खरै खेलेर पसिनामा डुबेको उनको ज्यान । रातोपिरो देखिन्थिन् । डरलाग्दा भीर चिरेर उनको सपना कसरी उड्यो होला भुरुरुरुरु !


निरुताले घरको काम गरिन्, स्कुल गइन्, खेलमा लागेको मन लागिरहन दिइन् । प्राक्टिस गर्ने समय चोरिन् । उनको रुचि कसरी पलायो खेलमा, त्यो पनि तेक्वान्दोमा ? त्यसरी नै पलायो, जसरी पलाउँछ ढुंगाको कापमा पीपल । मनले दियो आवाज । उनले सुनिन् । त्यसैको पछि लागिन् । त्यो कन्दरामा सिकाउने गुरु मिल्न मुस्किल थियो । सिकेर जिल्ला छिचोलेपछि क्षेत्रीय तहमै घुलमिल हुन मुस्किल थियो । भाषा नै अलग थियो । उनलाई नमिठो लागिरहन्थ्यो—अरू जिल्लाका मान्छेले आफू बोलेको नबुझ्दा । बिस्तारै राष्ट्रिय स्तरको खेलाडी बनिन् । जिल्लालाई एकपछि अर्को गोल्ड मेडल दिइन् । अनेक पिरलोकै बीच संघर्ष चलिरह्यो । सामूहिक प्रतिस्पर्धा भएको बखत कर्णालीका लागि टिम नपुग्ने । कुन बेला समय निकालेर खेलुन् यो भेगका छोरीले र मिलोस् टिम ? खिन्न हुन्थ्यो निरुताको मन । भन्थिन्, ‘सिंगल–सिंगल भिडेको बेला त हान्थें गोल्ड मेडल । अरू बेला टिम नै नपुग्ने । भाषा पनि नौलो लाग्ने । आफ्नै देशमा परदेशीजस्तै... ।’


खेल हेरेर छेउतिर उभिरहेकी वाइसवर्षे कांग्रेसा बुढा सिरहाबाट सीएमए गरेर गाउँ फर्केकी रहिछन् । लोकसेवा आयोगको तयारीमा रहेकी उनलाई गाउँमा गतिलो स्वास्थ्य चौकीको अभाव बिझाएको रहेछ । ‘अहिले त पहिलाभन्दा धेरै राम्रो भएको छ, छोरी–चेलीका लागि । पहिलाको तुलनामा बदलाव पनि राम्रो छ,’आफ्नो भेगका लागि उनी आशावादी देखिन्थिन । भन्थिन्, ‘छोराहरूले गर्ने भनेका सबै काम गाउँका छोरीहरूले गरेको हेर्न मन छ ।’ बिहानभरि चुलोचौको, दिनभरि खेतबारी, फेरि घरधन्दा । बजै, जिजुबजै र आमाहरूका सप्पै सपनाहरू डल्लो परेर उनीहरूका आँखामा सलबलाइरहेको थियो । हिँड्नु त धेरै छ नि बाटो । पाइला नाप्दैछन् तन्नेरी छोरीहरू । कालिकोटे केटीहरूको जोसले आफंै जोसिली हुँदै थिएँ म । यही जोसको भरमा पुगें मुगु ।


मुगु गमगढीमा भेटिइन्, दीक्षा थापा । चौध वर्षकी भइन् उनी । कराँतेमा विद्यालय स्तरको नेसनल च्याम्पियन । ब्ल्याकबेल्टवाली केटी । आमाबा सुर्खेतमा बस्छन् । उनले त्यहीं आफ्नो कराँतेको करामत देखाएर राष्ट्रिय स्तरमा नाम पनि बनाइन् । ‘खेलेर छोरीले ज्यान बिगार्ने भई,’ बाबुले अहोरात्र चिन्ता गर्थे । त्यही भएर पठाइदिए मामाघर मुगु । दीक्षाकी हजुरआमासँग म उनको घर पुग्दा उनको शरीरको फुर्तीले मलाई कायल पारेको थियो । आफ्ना रामकहानी सुनाउँदै थिइन्— हजुरआमा गौरी चौलागाईं । भिडियोमा उनका बात भरेर म मेरो धन्दा गर्दै थिएँ । हामीलाई हेर्दै मेसिनको तालमा घरको काम गर्दै थिई सानी केटी । यता गौरी भन्दै थिइन्, ‘अब पनि काँचुली नफेरेर सुख यो कर्णालीले ? हाम्रा खुन–पसिना बग्याका छन् । यो कन नबदली धाइ सुख ?’


राति हजुरआमा छिमेकीलाई भेट्न हिँडेपछि दीक्षाले मसँग रहरको बिस्कुन खोलिन् । सपनामा जो–जो भिलेन भएर आए पनि किक हानेर लडाउने योजनामा छन् दीक्षा । नौ कक्षा पढ्दै गरेकी फुर्तिली ठिटी । एसएलसी दिने बेलासम्म मुगुमै फुलाउनेछिन्— कराँते खेलेर नामी हुने सपना । यहीं पनि उनले जिमखाना फेला पारेकी छन् । लुकेरै जान्छिन् जिमखाना । कति गरें, उनले फोटो खिच्न मानिनन् ।

हिँड्ने बेला ढोकाबाट हेर्दै गरेकी दीक्षालाई जिस्काएर मैले मारें क्लिक । सबसँग लुकाएर आफ्नो मिसन गुमनाम छन् उनी मुगुमा । सबै धन्दा सकेपछि, चोरेर समय जिम जान्छिन् उनी । रक सोलिड उनको ज्यान हावामा मुक्का लाउँछ र बाधाहरूलाई भन्छ— पख्लास् !!


यसरी भेटिने मान्छेहरू मनबाट जानै मान्दैनन् । झन् त्यही भेगमा भएको बेला त मनको गरामा मोहियानी हक लाएर बस्छन् । यता राराबाट हिँड्दै म बाजुरा जाँदै थिएँ । कलिलो घाम वैशाखको भए पनि मनोरम थियो । मन किन हो, सिमलको भुवासरि थियो । बाटो बन्दै गरेको दृश्य । मान्छेहरू बान्नामा आड लाएर गफिएको दृश्य । बथानका बथान भेडा लिएर लेक हिँडेका गोठालाहरू । ढुंग्रे फुली र कालो चोलीमा काममा हिँडेका महिलाहरू । हेर्दै, अडिँदै, बात मार्दै हिँड्थे उनीहरू ।


मुगुकै खत्याड गाउँपालिकाको सेरी भन्ने ठाउँमा उभिएर बाटो खनेको हेर्दै थिएँ । पहिरो गएको भीरको भागमा मान्छेहरू ज्यान अडाएर मर्मत गर्दै थिए । भिरालो ठाउँमा उनीहरूले गरेको काम खिच्दै थिएँ । एउटी केटी नजिक आएर मलाई हेरिरहिन । म मुस्काएँ मात्र । अघि बढें । उनले मेरै चालसँग चाल मिलाइन् । यसो हेरें । बोल्लिन्जस्तो लागेन । फेरि अघि बढें । उनी मेरै चालमा सँगै हिँडिन् । अनि रोकिएँ । कुरा गर्न थालें । उनको कुरा गराइको छाँट देखेपछि मैले भिडियो अन गरें । पछाडि घाँसको भारी छ । अगाडि पेटमा बच्चाको भारी । अनुहार छ उज्यालो । आँखामा खेलिरहेको दुई ज्यानको भविष्य ।


सरिता विक उन्नाइस वर्षकी भइन् । पेटमा उनको नौ महिना लागेको बच्चा छ । दस कक्षा पढ्छिन् । स्कुल जान्छिन् । बताएर बताइनसक्नु दलितको व्यथा तर कम हँुदै गएको छ भन्छिन् उनी । सँगै नखाने, छोइछिटो गर्ने अझै केही बाँकी छन् । धेरै त तह लागिसके । चुनाव भएपछि, दलित भनेर धकेलिएका महिला जनप्रतिनिधि बने । यो देख्दा त सरिताको मन धपक्कै भयो रे । पहिला पढे, के नपढे के भन्ने लाग्थ्यो । अब त चुनाव लड्न पाइने, नेता हुन पाइने दिन आए । सबैका पछि बस्ने मान्छे अरूलाई पछि लाएर अगिअगि हिँड्ने दिन आए । हैन, पढ्नैपर्छ । जुन अवसरको पनि ढोका खुल्न सक्छ । उनलाई यस्तो लागेपछि स्कुल छोडिनन् । पढेरै आफूले चाहेजस्तो मान्छे आफंै बन्ने रहर उनले बोकिहिँडेकी छन् । सूर्यमुखीझंै फक्रिएको उनको आत्मविश्वासले अनुहारको चमक नै बेग्लै बनाउँथ्यो । जति कुरा गरिन्, हाँसेरै गरिन् । अहिलेसम्म जति फेरियो–फेरियो, बाँकी बदलाव हाम्रो आँट र कामले बोक्छ भन्नेमा उनी निर्धक्क थिइन् ।


उनको अनुहारको अलिकति उज्यालो मैले चोरेर उज्यालिएँ । उनको तागत सुटुक्क सापटी लिएँ । यात्रा मेरो निकै बाँकी थियो । उनी आफ्नो बाटो लागिन् । मैले हेरिरहें । दीक्षाकी हजुरआमा गौरीको कुरा सम्झें, ‘अझै नबदली हुँदो के : छाउकै नामले हामी कहिलेसम्म चिनिन्या ? यैकन काँचुली फेर्नका लागि पूरै जिन्दगी बाइगयो । (कर्णालीको काँचुली फेर्नकै लागि एउटा जीवन सकिन लाग्यो ।)’ सरिताहरू भेटेपछि ढाडस हुन्छ ।


यस्तो लाग्छ— नातिनी पुस्ताको पौरखले मुस्कुराउन थालेको छ कर्णाली । भेरी, तिला र कर्णाली नदीको लय बदलेर । बदलेर सुसेली र हुँकार ।


मुगुलाई बाईबाई भनेर हिँड्दै–हिँड्दै म बाजुराको कोल्टी पुगें अर्को दिन । बाजुराको कोल्टीमा म पुग्दा चर्चा कसैको थियो भने सृष्टि रेग्मीको थियो । नेपालकै सबैभन्दा कम उमेरकी २५ बर्षिया उपमेयर सृष्टिको तेज भने सबैभन्दा चम्किलो होला सायद । नगरपालिकामा उनको कार्यकक्ष पुग्दा आफूभन्दा धेरै पाका अरू जनप्रतिनिधि र गाउँलेहरूमाझ उनी थिइन् । एकपछि अर्कोसँग कुरा गर्दै, डिल गर्दै । बाटोको काम नसकी भुक्तानी माग्ने ठेकेदारको रकम उनकै कारण रोक्का भएको थियो । पत्रकार सम्मेलन गर्दै थिइन् बेथिति बुझाउन ।
आफंै इन्जिनयर सृष्टि, बाटोको काम ठीकसँग पूरा भयो भएन भनी नाप्न फित्ता लिएर कुद्छिन् । निवासमा उनकी आमा भन्दै थिइन्, ‘दिउसो दुई बजेको घाममा बाटो नाप्न हिँडी । राति आठ बजे आई । ऊ हिँडेपछि कर्मचारीहरू नगई सुख्खै भएन ।’ २०६० सालमा सृष्टिका बुबा ताराचन्द्र न्यौपानेलाई माओवादीले अपहरण गरी यातना दिएर मारेका थिए । ताराचन्द्रले स्वास्थ्यकर्मीको जागिर छोडेर २०५४ को स्थानीय चुनाव लडेका थिए । साविकको कोल्टी गाविस अध्यक्षमा निर्वाचित भएका थिए । बाबुले चुनाव जित्दा चार वर्षकी बालकै रहेकी सृष्टि आफूले चुनाव जित्ता बाबुलाई सम्झेर आँसु बगाइरहेकी थिइन् । गाविसमा इन्जिनियरको जागिर छोडेर चुनावमा होमिएकी सृष्टिको आँखामा बाबुकै सपना नाचिरहन्छन् । उनका बाबुको लास उत्खनन गर्दा खप्पर भेटियो । जमिनबाट खप्पर निकालेर जिल्ला पार्टी कार्यालयमा राखिएको छ, अझै पनि ।


ताराचन्द्रको खप्परमा के के सपना थिए होलान् ? उनको ज्यानमा बर्बर यातना कसैले मच्चाइरहँदा कति काँपे होलान् ती सपनाहरू ?


सृष्टिको पूरै नसानसा काँप्छ, त्यो सबै सम्झेपछि । उबेला नुन र चामलकै लागि रोइरहेका बाजुरेली जनतालाई सजिलै नुन–चामल दिलाउने ताराचन्द्रको सपना थियो । अर्को टोलटोलमा बाटो र बिजुली । नुन र चामल त अब धेरै सहज भइसक्यो । बाटोको काम धेरै बाँकी छ । अस्थिपञ्जर बनेको बाबुको खप्परभित्रका सपनाको रापले सृष्टिलाई पोल्छ, पोलिरहन्छ । उनीभित्रको तापको अगाडि कोल्टीमा एकै पटक लाग्ने सातवटा घामको राप पनि कायल हुन्छ होला ।


न्यायिक निरुपण उनको अधिकारको काम हो । तर मन मान्दैन, बाटो पानी बिजुली सबैसबै काममा सृष्टि कुदिरहन्छिन । उनकी आमा शान्ता रेग्मी पसिनापसिना भएर दौडने छोरीको मुहार हेर्छिन् । मरेर गएका श्रीमान्को मोतीका दानाजस्ता सपना छोरीको निधारका टल्केका पसिनाका बुँदबुँदमा भेट्छिन् । लामो सास फेर्छिन् र आकाशतिर हेर्छिन् । ताराचन्द्र कतै तारा भएर बसेका होलान् । घर लुटिया,े श्रीमान् मारिए ।


आफ्ना पिँडौला छाम्दै उनले भनिन्, ‘यति कुटे, यति कुटे नानी, यो पिँडौलामा मासु कता हरायो–हरायो, थलथल रगत मात्र हल्लिरह्यो ।’ अनि उनी बोलिनन् । सृष्टिको कुरा उठेपछि फेरि उज्याली भइन् । खप्परभित्रका बाबुको सपना समेल्नु छ । आँसुका भेल आँखैभित्र लुकाएर बाँचेकी आमाको ओठभरि सयपत्री फुलाउनु छ । अहिले हतारो कसैलाई छ भने सृष्टिलाई छ ।


प्रकाशको गतिलाई पनि उछिन्ने गरी काम गर्न मन छ उनलाई । बाधा नै बाधाको पर्खालभित्र बसेर मुठ्ठी कसिरहेकी एउटी युवती बाँकी संसारलाई भन्दै छ, ‘म गरेर देखाउँछु । मलाई हार्ने सुविधा छैन । मलाई हराउने अड्चनलाई हराएर देखाउँछु ।’


ढुंगाको काप छिचोलेर उम्रिएका यी पीपलहरू सानातिना हन्डरले काँप्नेवाला देखिन्नन् । सूर्य पनि अस्ताउन मात्र आउँछ भन्छन् पश्चिममा । तर, नियम भत्काएरै उदाउँदै छन् पश्चिमा छोरीहरू । छरेर उज्यालो बाँकी जगत्मा । एक जुगमा एउटा समय काँपेर उठेजस्तो । बदल्नलाई सबथोक ।

प्रकाशित : असार २, २०७५ ११:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×