फुक्काफाल केटीहरु

अनुभूति
दिनदिनैका दिक्दारी र विरक्त कुराहरूबाट त्राण लिन पनि समाजमा चुपचाप दियो जलाउने मानिसहरूको चर्चा सञ्चारमाध्यममा गर्नु आवश्यक छ । देशका कुनाकुनामा अँध्यारोलाई नटेरी धप्प बलिरहेका दीपजस्ता मानिसहरू हाम्रा ताराहरू हुन् ।
सरला गौतम

काठमाडौँ —  दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’

फुक्काफाल केटीहरु

दस वर्षअगि । रेडियोको कामबाट फर्कंदा रातको एघार बजेको थियो । हामी चार पाँच जना रेडियोकर्मी महिला मेरो डेरातर्फ जाँदै थियौं । देशव्यापी रूपमा महिला हिंसाविरुद्ध अभियान छेडेका थियौं । बिहान सात बजेदेखि कहिलेकहिले राति एघार बजेसम्म काम हुन्थ्यो ।

हाम्रो धड्कनको आवाज पनि हामीसँगै बेखबर थियो । थाकेका हामी मेरो डेरा नजिकै पुग्दै थियौं । दुई–तीन जँडयाहा हल्ला गर्दै हामीतिर आए । सबै साथी डराएर मतिरै सोझिए । मैले डायलग मारें, ‘खै निकाल खुकुरी केटी हो । यस्ता चोरहरू कति छप्काइयो छप्काइयो । आज पनि हान्ने हो दुई चार जना निहुँ खोज्नेलाई ।’ जँडयाहाहरू परपर भए । त्यो बत्ती नबलेको गल्लीमा निडर देखिनुको विकल्प अर्को थिएन । जँडयाहाहरू नभागी उल्टै जाइलाग्न पनि सक्थे । ‘म निर्भयताको वकालत गर्दिनँ । सबैलाई सुरक्षित बनाऊँ अनि मात्र घरबाट निस्कन्छु भन्ने अवसर हामीलाई थिएन । बिहान उठेर एक कप मीठो चिया खान पनि काम गर्नैपथ्र्याे । अँध्यारोसँग जुध्नैपथ्र्याे । साथीहरूले त्यो बेलादेखि जिस्काएर भन्न पनि थाले, ‘ओइ खुकुरी दलको अध्यक्ष ।’


हामीले पचहत्तरै जिल्लाका महिला अधिकारकर्मीसँग घटनाबारे बुझ्ने र स्थानीय निकायसँग कुरा गरी जिम्मेवार बनाउने काम गरिरहेका थियौं । ‘दोस्रो दर्जाका’ पत्रकार थियौं । किनकि हामी ‘जेन्डरका कुरा’ गथ्र्याैं । न्यून सुविधा र लोडसेडिङको समस्या । यस्तोमा महिला हिंसाको कार्यक्रमले साधन भेट्नु र काम गर्नु ठूलो थियो । महिलाका समाचार तलतल पारिन्थे, न्युज रुममा भिडेर लिस्ट माथिमाथि राख्न लगाउँथ्यौं । पत्रिकामा छापिएका, महिलाविरोधी लेखबारे सम्पादकसँग स्पष्टीकरण माग्थ्यौं । पत्रपत्रिकामा महिलाको समाचार कहाँ छापिन्छन्, त्यसको आधारमा जवाफ पनि माग्थ्यौं । महिला, जुत्ता, जुनार लेख काण्डदेखि अनेकमा हामीलाई मिल्ने विशेषता ‘जेन्डर डेन्जर ।’ ‘फेमिनिस्ट ।’ अफिसभित्र र बाहिर यस्ता टिप्पणी सुन्थ्यौं काममा लाग्थ्यौं । मानिसका छड्के आँखा । भो कुरा नगरौं ।


यस्तै एक दिन दिनभरि काममा भिडेपछि क्यान्टिनमा साँझको खाना खाएर भोलिपल्टका लागि हामी फेरि खटियौं । सबै गइसकेपछि पनि पत्रकार साथी कमला र म राति एघार बजेसम्म सुनसान अफिसमा काम गर्दै गर्‍यांै । घर फर्कने सम्पूर्ण तागत रित्तियो । एउटा गेस्ट रुम थियो । त्यसैमा रात गुजार्ने तर्खर गर्‍यौं । दुई तला झरेर ढोका लाउन जाने शक्ति दुवैमा थिएन । लगभग एकै स्वरमा भन्यौ ‘ह्या कसैले बलात्कार गरे नि गरोस् । मारे नि मारोस् । अब तागत छैन केही गर्ने । ढोका नलगाई सुतौं ।’ र त्यसै गर्‍यौं । उठ्दा चौकीदार दाइले बाहिरबाट ताला लगाइदिनुभएको रहेछ । दिनभरि आफूमाथिको अपमान पियौं । देशभरिका हिंसाको कुरा बटुल्यौं । अनि हामी दुई केटी आफूमाथिको कुनै पनि सम्भावित खतरा मोलेर पल्टियौं । थकित ज्यानमा भनेजस्तो खाना थिएन । डरलाग्दा घटनाले हरदिन बिथोलिने मन र मस्तिष्कको के हिसाब भयो र । सारा संसार बेखबर निदाइरहेको थियो । छोरीहरूको सुरक्षाबारे राज्यका निकायसँग कुरा गरेका हामी आफ्नै सुरक्षामा ढुक्क थिएनौं । यतिबेला आँटले नझुधे अरू केले जुध्ने ?


हरबखत हरसन्दर्भमा हामीमध्ये कसैले आफ्ना यावत् कुरा घरीघरी भन्दै हिँड्न पनि चाहन्नौं । यसको मतलब हरबहसमा ‘फुक्काफाल केटीहरू’ जस्तोसुकै काम गर्न सहुलियत प्राप्त छन् भन्ने हल्कारा टिप्पणी सुन्न पनि चाहन्नौं ।


फागुको बेला स्डुडियोमा खबरदारी कार्यक्रम चलाएपछि सडकमा हिँड्थ्यौं ढुंगा समातेर । कसैलाई हान्ने त होइन लोला हान्नेको सातो लिन । कुनै चाड वा बाड हामीलाई बिदा के हो कहिले थाहा भएन । घरबाट कान्छी बैनीले ‘दिदी उडेर भए पनि आऊ । तिमी नआई रमाइलो हुन्न’ भनेर लेखेको मेसेज नजिकको साथीलाई देखाउन सक्दिनथें । दसैंको बेला पनि कामको चापले ऊ सुदूरपूर्वको आफ्नो घर जान पाएकी थिइन । आमाको मेसेज हेरेर गलेको उसको अनुहार हेरी आफ्नो न्यास्रो म घुटुक्क निलिदिन्थें । मुस्किलले मिलाएको बिदामा घर गएर फर्कंदा काठमाडौंमा हल्ला फर्किसकेको हुँदैनथ्यो । न्यास्रोको अर्को झोक्काले फेरि हान्थ्यो । प्राविधिक काम पनि गर्नैपर्ने । सस्तो रकममा अलराउन्डर ह्युमनपावर थियौं हामी । नाम मात्रको तलबले कसरी धान्यौं प्राण । भन्नलाई पूरै जीवन बाँकी छ ।


केही गर्न घरबाट हिँडेको छोराका लागि परिवार र आफन्त जति मिजासमा हुन्छन्, छोरीमान्छेको रहरको करिअरमा उत्तिकै रूखा । भेटघाट, चाडबाड र मेसेजको कुराकानीमा चासो मात्र ‘योग्य वर’ कै हुन्छ । अदालतको कठघरामा उभिएको कैदीले के गर्छ प्रश्नको सामना । प्रश्नकै ओछयानमा सुत्छौं हामी । ‘तिम्रा रहरका दु:ख’ भन्नेजस्ता टिप्पणी सामान्य कुरा हुन् । एकसेएक योग्य वरहरू बाल हानेर स्वाँट्ट झोला लिएर हिँड्ने हामी ‘बदचलन औरत’ हरू नै एकअर्काका आफन्त थियौं र छौं । यसरी हिँड्ने केटीहरूका लागि न थानकोटमा स्वागतद्वार हुन्छ, न आफ्ना मान्छेको भनेजस्तो प्यार ।


रेडियोको कामबाट अर्को दिन राति यसरी नै झन्डै दस बजे कामबाट फर्कंदै थियौं । हामी एकैतिर बस्ने भएकाले पत्रकार कमला थापा नै थिइन् सँगै । उनी अनायास बिरक्त भइन् । एकपछि अर्को प्रश्न गरिन् मलाई । ‘सरला यो कालो रातसम्म हामीले काम गरेको कसले देख्छ । यो रेडियो कतिले सुन्छन् । यसको प्रतिफल के हुन्छ । हामीले के पाउँछौं ?’ सबै कुरा हावामा बिलाएजस्तो लाग्यो । सबै बिरक्ति मेट्ने पैसा पनि थिएन । आज हामी जे गरिरहेछौं यी कुराहरू यति महत्त्वहीन हुँदैनन् होला । झिनामसिना र आइमाई केटाकेटीका कुरा भन्न छोडेर सबैले आवाज दिने दिन आँउछ होला । फगत आस थियो । उसलाई मैले यही आस सुनाएँ ।


र, धेरैपछि, हामीभित्रको डर मिल्काएर लडौं, आफ्ना लागि र आफूभन्दा कमजोरका लागि । यही आशयको एक विचार लेखें । ट्विटरमा छाएका नवक्रान्तिकारीहरूको ‘तैंले मात्र हिँडेर काम गरेर हुन्छ, अपवादको कुरा गर्ने’ लगायत व्यक्तिगत रूपमा अपमान गर्दै गरेका गालीका लर्को मैले रुँदै पढें । त्यो दिन मलाई सरेआम बीच सडकमा उभ्याएर मानिसहरूले ढुंगा हानेको जस्तो भइरहेको थियो । कमलाले के पाउँछौं र सरला भनेर पोखेको बिरक्तिको सार भेट्दै थिएँ । आस मुर्झाइरहेको थियो । उपाय नास्ती भएको सहरमा आँटकै भरमा आफ्नो काम गरेर कत्रो अपराध गरियो, थाहै पाउन सकिनँ । को हुन् यी गालीबाज जसले कुराको चुरो नै अन्त मोडिदिन्छन् ।


गाउँमा डुल्दा उर्लेर आएको हुन्थ्यो नदी । पुल नभएको ठाउँमा तरेर पार जानैपथ्र्याे । कहालिँदै पाइला चोपलेर, रेकर्डर र क्यामेरा छातीमा च्यापेर पारि पुग्थें । तीनमा भरिएका कुराको माया कति हुन्थ्यो । अचानक भएको महिनावारीको रगत खोलामा बगिदिन्थ्यो । लाज मानी बस्ने सुविधा पनि सधैं हुँदैनथ्यो । सबै ठाउँमा हुँदैन स्यानिटरी प्याड । पातको सहाराले पिरियड थामेर कुरा बटुल्दै हिँड्नुलाई हामीले दु:ख भन्न पाइन्न । ‘फ्री बटरप्लाई’ । वादको बहसमा भिडिरहेकाहरूले सजिलै यसो भनिदिन्थे यता सहरमा ।


दशकौंदेखि जुधेको अँध्यारो, जँडयाहाका हुँकार र भोकले भन्दा नारीवादका नाममा बर्सिएका व्यंग्य, कटाक्ष र गालीले गलायो । त्योभन्दा बढी आफूमाथि अन्याय हुँदा मौन बसेर साथ दिनेहरूको मौनताले बिषजस्तो गरी पोल्यो । व्यक्तिगत आक्रमण भइरहेछ । मानिसहरू मानसिक हिंसामा उत्रेका छन् । भलाद्मीहरू निर्धक्क सल्लाह दिन्छन् ‘लेखको टिप्पणी सहनुपर्छ ।’ न समयको विचार, न सन्दर्भ । अर्ती उही सहनशीला सुशीलावाला । अझै पनि कम प्रश्न गर्ने र हरदम मिजासमै रहन प्रोत्साहित गरिँदै छ । यसो गर्न नसक्नेलाई तिरस्कार !


कुनै बेला सात महिना म बाजुरामा डेरा लिएर बसेथें । दसैंको बेला पूरै बजार सुनसान थियो । रातको खाना खाएर डेरा फर्कंदै थिएँ । मोबाइलको चार्ज सकिन लागेको थियो ।

सधैंजसो बेपर्वाह ढोकाबाट छिर्ने त्यो दिन ढोकामा पुगेपछि टक्क अडिएँ । धिपधिप मोबाइल बालें । एकै पटक ढोकाको चेपमा हेरें । मान्छे थियो । मेरो होस कसरी उडयो बताउन सक्दिनँ । रातिमा कहालिँदै कुदेर म सशस्त्र प्रहरी चौकीमा पुगें । अँध्यारोमा डयास दिनेलाई ‘तँलाई छप्काइदिम् । मलाई छुन्छस्’ भन्दै हिँड्ने गर्थे । त्यो दिन सातो उडेको थियो । त्यो सन्नाटा भरिएको रातमा आफूलाई बलात्कार गर्न वा मार्न तम्सिएको मान्छेलाई मुक्का हान्ने होस मैले कसरी पाउनु । दुई–चार दिनपछि फेरि हिम्मत बटुलेर काममा जानैपर्‍यो । घरबाट आएको फोनमा भनें, ‘सबै ठीक छ । राम्रो छ ।’


न्याय, प्रशासन सबै नाम मात्रको थियो । चौकीमा धर्ना कसेर बलात्कार र अन्य हिंसाका घटना सम्झौतामा टुंगिन नदिन हात उचालिरहेका हुन्थे केटीहरू । सामाजिक संरचना सबै ठीक भएर हिम्मतिला भएका थिएनन् उनीहरू । सबै ठीक भए त आराम गरिबस्थे । सिंगो सामाजिक, राजनीतिक र राज्यको संरचनासँग जुधेर हावामा हात बत्ताएर किन बस्थे । अनि यस्ता केटीहरूको आँटको चर्चा गर्नु अपराध ? आफू झन्डै मारिन लागेको कहाली बिर्सेर फेरि यात्रा गर्दै काममा जानुु पनि अपराध । एक पत्रकार साथीले मसँग भनेकी थिइन्, ‘हामीलाई त कमजोर हुनु र डराउन पाउनु पनि लक्जरी हो ।’ आफ्ना थाप्लामाथि खस्दै गरेका चट्टानका चपरी हेर्दै भाग्दा डराउने फुर्सद पनि मिल्दैन । यसो गरिरहेका छोरीहरूले सबैले यसै गरेनन् भनेर तपाईंलाई सरापेका छैनन् । जो सकी नसकी बल गरिरहेछन् । उसको तेजोबध गर्ने छुट तपाईंलाई छैन ।


कालिकोटका साथीले मलाई सुनाउँदै थिए । ‘तपाईंको बास बसेको दैलेखको त्यो बजार निकै खतरनाक हो । बीस रुपैयाँका लागि मान्छे मारिएको रेकर्ड छ । अस्ति भर्खर एउटा केटीलाई मारे । म तपाईंलाई सम्झेर झस्कें । लेख र रिपोर्ट मात्र होइन यस्ता अनुभव भन्न थाल्नुस्,’ खिड्किज्युला भन्ने त्यो ठाउँमा मेरो रातिमा बास परेको थियो एक पटक । बल्लबल्ल पाएको बासमा चुक्कुलसमेत थिएन । बाकस नै बाकसले ढोका थिचेर रातभरि जागेर बसें । पारि खोला सुस्याइरह्यो । मनमा भय । यो बेलाको सहारा थियो मनमा धिपधिप गरी बलिरहेको आँट र आसको उज्यालो ।


विशेष सन्दर्भ र खुलाउनैपर्ने कुराबाहेक आफ्नो दिक्दारी हरसन्दर्भमा बताउँदै कोही हिँड्दैन । दार्शनिक कृष्णमूर्ति भन्छन्— अँध्यारोसँग धेरै मुठी नकस । चुपचाप एक दियो जलाऊ । आफसेआफ उज्यालो आउँछ ।’ दिनदिनैका दिक्दारी र विरक्त कुराहरूबाट त्राण लिन पनि समाजमा चुपचाप दियो जलाउने मानिसहरूको चर्चा सञ्चारमाध्यममा गर्नु आवश्यक छ । देशका कुनाकुनामा अँध्यारोलाई नटेरी धप्प बलिरहेका दीपजस्ता मानिसहरू हाम्रा ताराहरू हुन् । औंसीको अँध्यारो छरिएको समाजलाई साहस दिइरहेका । खराबीको मात्र बढी चर्चा गर्ने मिडियाले खोजीखोजी ल्याओस् यी मानिसहरू । धपक्कै पारेर राखिदिओस् अगाडि । बिहानै पत्रिका पढ्दा होस् मनै उज्यालो । समाजमा आस र आँट जीवित राखेर यसको उन्नति गर्ने हो भने ।


भयको उल्टो आँट हो । एकपछि अर्को बलात्कारका घटनाले विक्षिप्त बनाइरहेको थियो हाल साल । भदै बहिनी कामबाट कोठामा आउँदै थिई । सुनसान रात, चिप्लो बाटो । गेटमा उभिएर कुरें । उसले ढिलो गरी । मन डरायो । केही त भएन । फेरि मन फर्काएँ । अहँ यसरी डराउन हुँदैन । डरले डर बढाउँछ । अनि अपराधको कीरा सलबलाउन थाल्छन् । सकेसम्म केही हुन्न, केही हुन्न नै भनिरहने हो । ऊ आई । मैले मनोदशा सुनाएँ । रातिको १२ बजे दिदीबहिनी एकै निष्कर्षमा पुग्यौं । हामीलाई रातबिरात काममा नहिँडी हुँदैन । सबैतिर बत्ती छैन । बाटो यस्तो छ । डराएर मात्र काम चल्दैन । मर्ने घडी आउने बेलासम्म निर्भय भएर काममा जानु र आउनुको विकल्प कोही देखाइदेओस् । हाम्रो काम अब हाम्रो रहरको करिअर होइन । हातमुख जोर्ने र बाँच्ने बाटो पनि हो । यसैले समाजमा भएका दस जनामा तीन जना बदमाससँग हरबखत डराएर बस्दैनौं । काठमाडांैको अँध्यारा गल्लीहरूमा नक्कली पुलिस बनेर मान्छेलाई सातो टिपेका कहानी हामीसँग कति छन् कति । आफूलाई फलो गर्दै आइरहेको बाइक नजिकै गएर ‘के भयो भाइ । के अप्ठेरो पर्‍यो । के सहयोग गरम् ।’ भन्दै हिँड्नु त नियति नै हो । त्यो पनि नामी सञ्चारगृहलाई लेख बुझाएर फर्कंदा । यसो नगरे के गर्ने कोही भनिदेओस् ।


भिड्दाभिड्दै मर्नैपरे पनि बाँचेका छोरी र दिदीबहिनीलाई हावामा भन्ने हो । हेर मेरो मृत्युबाट पनि तिमी नडराऊ । यो संसार योभन्दा निकै राम्रो हुन सक्छ । छोरीहरू निकै खुलेर हाँस्न सक्छन् । उनीहरूको हाँसो वायुमण्डलमा ठोकिएको बखत हावामा अमृत भरिन्छ । त्यसका लागि तिमी बोल । नदीमा हाम फालेकी नेपाली योगमाया, गोलीको सिकार भएकी भारतकी गौरी लंकेश र अरू धेरै लडाकुको आत्माले हामीलाई यही भनेझैं लाग्छ । थुजाथुजा पारेर मारी फालिएका हाम्रा छोरीहरूको आत्माले भन्दै होला ‘हेर जो जो जीवित छौ । तिमीहरूलाई चुप लाग्ने सुविधा छैन । हामी त गयौं । बाँच्नेहरूलाई हिम्मत देऊ । उनीहरूलाई भन योभन्दा सुन्दर संसार सम्भव छ । र, त्यसका लागि लागिपर ।’ यिनै सानीहरूका लागि पनि हामी त यो आँटमा चल्छौं चल्छौं ।


सहरका कुनाकुना गाउँका कुनाकुनामा सुरक्षाको उज्यालोमा छोरीहरू मुस्कुराउनैपर्छ । हरेक पटक यो भन्छौं । महिलाहरू जहाँ काम गर्छन्, स्वतन्त्र वा जागिरे त्यहाँका जिम्मेवाार व्यक्तिले उनीहरूको सुरक्षामा अनिवार्य ध्यान दिनुपर्छ । महिला हिंसाविरुद्ध लेख छापिरहेका सञ्चारगृहले परेको बेला छोरीहरूले गुहार्न सक्ने भरोसा बन्नुपर्छ । र, सबैभन्दा महत्त्वपूर्ण कुनै पनि प्रहरमा नेपाल सरकार हाम्रो सुरक्षामा हाजिर हुनैपर्छ । हामीलाई डर मिल्काउन देऊ । सारा समाज हाम्रो रक्षक बन । नडराऊ भन्नेहरूको सातो ट्विटरमा बस्नेहरूले नखाऊ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?