१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मध्यरातमा नायग्रा

यात्रा
टयाक्सीदेखि होटल बुकिङसम्म अनलाइन पद्धतिमा चल्ने ठाउँमा म भने आकाशका जूनतारा हेर्दै नायग्राको झरना हेर्न बेपरवाह कुदिरहेको थिएँ ।
घुमेर जाँदा थाहा पाएँ कि मलाई पहिले जसले रुम छैन भनेको थियो, त्यही होटलको अर्कोपट्टि मलाई ल्याएर छाडिएको रहेछ । पाको उमेरका चालकले पनि यसरी धोका दिएको महसुस भयो । मसँग अब के गर्ने, कसो गर्ने भन्ने विकल्प केही थिएन ।
उद्धव प्याकुरेल

काठमाडौँ — क्यानाडाको टोरोन्टो र अमेरिकाका उत्तरपूर्वी राज्यहरूको भ्रमणमा निक्लने जो कोहीलाई पनि भ्रमणका लागि सुझाइने स्थान रहेछ—नायग्रा फल्स । यसरी टोरोन्टोको एक साता लामो सम्मेलन टुंग्याएर न्युयोर्क हुँदै घर फिर्ने क्रममा मैले पनि नायग्रा फल्स छुन चाहें ।

मध्यरातमा नायग्रा

टोरोन्टोको छोटो फुर्सदमा नायग्रा जाने रेलको समयतालिका हेरेँ । साँझ ८ बजेर १० मिनेटमा युनियन स्टेसनबाट रेल जाने थाहा पाएपछि स्थानीय नेपाल सामाजिक मञ्चमा पाइने हाते झोलामा आवश्यक सामान भरेर म बाटो लागें । मेरो क्यानाडा बसाइकी होस्ट मैया दिदीले रातमा नायग्रा फल्समा धेरै रमाइलो हुने भनेपछि म झनै उत्साहित भएँ । अनेक तारतम्य मिलाएर रेल्वे स्टेसन पुग्दा आफूले चाहेको रेल छुटिसकेको रहेछ । अबको विकल्प भनेको आधा बाटोसम्म अर्कै रेलमा गएर त्यहाँबाट बसमा जान सकिने वताइयो । यसरी करिब साढे ११ बजे राति नायग्रा पुगिने रहेछ ।


मैले यही विकल्प रोजें । रेलमा करिब १ घण्टा यात्रा गरेपछि अब बसयात्राको पालो आएको थियो । उमेरमा ६० नाघेकी एक महिलाले हाँकेको बसमा यात्रीहरू खासै थिएनन् । भएकाहरू पनि बस स्टपैपिच्छे उत्रिरहेका थिए । राति साढे ११ तिर बस चालक, म र अर्को एक यात्रु मात्रै नायग्रा स्टेसन पुग्यौं । उत्रनासाथ यताउता हेरेँ, मध्यरातको सन्नाटा छाएको छ । त्यहाँ भेटिएका दुई केटीलाई नायग्रा फल्स जाने बाटोका बारे सोधें । उनीहरूले भनेझैं म करिव ३ सय मिटर अगाडि बढँे तर मध्यरातको अँध्यारोका बीच कहालीलाग्दो सुनसानका कारण त्यहाँभन्दा अघि जान सकिनँ । फर्केर फेरि स्टेसनमै आएँ । स्टेसनमा भेटिएको अर्को जोडी युवायुवतीलाई नायग्राबारे फेरि सोधें । उनीहरूले यहाँबाट ४० मिनेटमा पैदल पुगिन्छ भनेपछि बाटो लागें । अनकण्टार लाग्ने सडकको पेटी समातेर हिडिरहँदा बाटामा एकाध प्राइभेट कार देखिन्थे भने केही यात्रु झुन्डमा फर्किरहेका थिए । बाटाको दायाँतर्फ केही घर देखिन्थे, देब्रेतर्फ भने अनकन्टार अँध्यारो मात्रै थियो । लाग्यो— त्यता ठूलै ताल, खोला या जंगल हुनुपर्छ । बिस्तारै उज्यालो भएका स्थान देखिन थाले । पुलजस्तो स्थानको प्रकाश पनि देखियो, जति अगाडि गयो, उति उज्यालो र रमझम ।


झन्डै ४० मिनेट हिंडेपछि म नायग्रा पुगेँ, त्यहाँ पुग्दा त माहोलै अर्के रहेछ । रातको १ बजेतिर पनि हजारौं मान्छे ओइरिएका थिए । झन्डै आधा घण्टा त्यहाँको नायग्राको बहुरंगी रूप हेरेपछि म नजिकैको वजारतर्फ लागेँ । त्यहाँ पनि क्याफे र खेलघरमा चर्को भीड थियो । डान्स बारमा छिर्न चाहने दर्शकको लाइन उस्तै थियो । रेस्टुरेन्टमा केही बेर नपर्खी सिट नपाउने अवस्था थियो । सोधपुछमा थाहा भयो— शनिबार–आइतबारको बिदा मनाउन अमेरिकादेखिका मान्छे यहाँ आउँदा रहेछन् ।


भोक लागिसकेको थियो । झन्डै २० मिनेट लाइनमा बसेर पाएको टेबलमा खाना खाएर फेरि रात्रिकालीन नायग्रा रमित हेर्न म निस्किएँ । रातको साढे दुई बजिसकेको रहेछ । अब त सुत्नु पनि पर्‍यो । आसपासका होटल–मोटलमा कतै कोठा पाइएन । अनि, एउटा ट्याक्सी रोकेँ । ६३ वर्षे उमेरका ट्याक्सी चालक सहयोगी रहेछन् भन्ने लागेको थियो । होटलमा कोठा मिलाएबापत १० डलरजति चार्ज लाग्ने बताएपछि म ट्याक्सी चढें । ती बा उमेरका ड्राइभरले एक छिन टयाक्सीमा घुमाइहेरे । केही मिनेटपछि एउटा होटलको पछिल्लो ढोकामा लगेर उतारे । ‘यहाँ मेरो कुरा भइसकेको छ, रुम खाली छ’ भनेर टयाक्सी बाटा लाग्यो । म रिसेप्सन खोज्न लागेँ । घुमेर जाँदा थाहा पाएँ कि मलाई पहिले जसले रुम छैन भनेको थियो, त्यही होटलको अर्कोपट्टि मलाई ल्याएर छाडिएको रहेछ । पाको उमेरका चालकले पनि यसरी धोका दिएको महसुस भयो । तर, मसंग अब के गर्ने, कसो गर्ने भन्ने विकल्प केही थिएन ।


यसरी अनेक चक्कर मारिरहँदा बिहानको ३ बज्नै लागेको थियो । रातभर सुत्न नपाएको मेरो शरीरमा थकान प्रशस्तै थियो । अब कतिखेर बस चढेर टोरोन्टो फर्कन पाइएला भन्ने सोचाइ मनमा पलाएको थियो । त्यही भएर जसोतसो बस स्टेसनमा आइपुगें । झन्डै १ घण्टा स्टेसनमा कुरेपछि साढे ५ तिर पहिलो बस आयो, म चढेँ र टोरोन्टोतर्फ फर्कें ।


बस चढेर फर्कंदै गर्दा म आफैंले नायग्रा यात्राको स्वविवेचना र आफ्नै मुख्र्याइँको आत्मलोचना पनि गरिरहें । गोजीमा पैसा छ भन्दैमा विकसित देशमा जे पनि पाइन्छ भन्ने मान्यता आफैंमा सधैं सही नहुने रहेछ । बरु विकसित दुनियाँमा गोजीको पैसाभन्दा पनि सही सूचना, जानकारी र इन्टरनेटको भरथेग महत्त्वपूर्ण हुने रहेछ भन्ने लाग्यो । सुविधा थियो । कहाँ, कसरी र कति शुल्कमा बस्न पाइन्छ अथवा कसरी जान सकिन्छ र कति बजे कुन सेवा लिन सकिन्छ भन्ने सूचना पनि मोबाइलमै पाउन सकिने थियो । तर, त्यो सुविधा मैले जोड्न पाएको थिइनँ । टयाक्सीदेखी होटल बुकिङसम्म अनलाइन पद्धतिमा चल्ने ठाउँमा म भने आकाशका जूनतारा हेर्दै कुदिरहेको थिएँ । साथमा, नेपालमा जस्तै हातमा एउटा सामान्य फोन (नेट एक्सेज नभएको) र गोजीमा अलिकति पैसा लिएर म बाटा लागेको थिएँ । यो मेरो आफ्नो हठ थियो र मूर्खतासमेत । यो दुरूह घडीसँगै नायग्रा झरनाले मेरो यात्रालाई रोमाञ्चिक र अविस्मरणीय बनाएको छ ।

प्रकाशित : भाद्र २, २०७५ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?