हिमालपारिको सन्देश

पात्र
दौरा–सुरुवाल र ढाका टोपीमा चिनियाँ टेलिभिजनमा गीत गाएर चीनमा चर्चा बटुल्ने यी युवा हुन्, भक्तपुरका सन्देश देउजा ।
चेतनाथ आचार्य

काठमाडौँ — चिनियाँ केन्द्रीय टेलिभिजन सीसीटीभीको सजिसजाउ स्टुडियो । एकैचोटि करोडौँ दर्शकले हेर्ने प्रतियोगितात्मक सांगीतिक कार्यक्रम । एक जना युवा हातमा माइक बोकेर चिनियाँ गीत गाउँदै स्टुडियोमा प्रवेश गर्छन् । ताइवानी गायक फेई युछिङले गाएको गीत ती युवा दुरुस्तै गाउँछन् । मूल्यांकनको कुर्सीमा बसेका निर्णायकहरू आपसमा भन्छन्, ‘स्वर त काटीकुटी स्वाउकको जस्तै ।’ फेई युछिङ चीनमा स्वाउकको नामले चिनिन्छन् ।

प्रतियोगितामा सहभागी ती युवाको पोसाक र अनुहार देखेर निर्णायकले प्रश्न गर्छन्, ‘तिमी त चिनियाँजस्तो छैनौ । तिम्रो पोसाक पनि निकै अनौठो छ । तर, तिमीले गाएको गीतचाहिँ सक्कली गायकभन्दा केही पनि फरक छैन । तिमी कहाँका हौ ?’


ती युवाले मुसुक्क हाँसेर जवाफ दिन्छन्, ‘म नेपाली हुँ । म अहिले साङहाईमा पढ्दै छु ।’
नेपाली भनेपछि फेरि निर्णायकहरू मुखामुख गर्छन् र केही खासखुस गर्छन् । सुरुमा उनीहरू नेपालको नाम सुनेर अलमलिएजस्तो लाग्छ । सायद उनीहरूका लागि नेपाल त्यति प्रचलित नाम थिएन । केही क्षणमैं महिला मूल्यांकनकर्ताले भन्छिन्, ‘नेपाल † हाम्रो तिब्बतपारिपट्टिको हिमालय देश । जस्तो टल्किने हिमाल उस्तै तिम्रो हाँसो ।’
दौरा–सुरुवाल र ढाका टोपीमा चिनियाँ टेलिभिजनमा गीत गाएर चीनमा चर्चा बटुल्ने यी युवा हुन् भक्तपुरका—सन्देश देउजा । उनी अहिले साङहाईमा चिनियाँ भाषा मूल विषय लिएर स्नातक गर्दैछन् । सामान्य गितार बजाउने उनले कहिल्यै पनि सांगीतिक कक्षा लिएका छैनन् । उनी आफूलाई नेपालमा ‘बाथरुम सिंगर’ मात्रै रहेको बताउँछन् । साङहाई पढ्न आएपछि उनी चिनियाँ गीत गुनगुनाउन थाले । भिडियो हेरेर त्यस्तै गाउन नक्कल गर्न थाले । फलस्वरूप अहिले उनी ३० भन्दा बढी चिनियाँ गीत गाउन सक्छन् । उनले ती गीतहरू कण्ठ पनि गरेका छन् । उनी प्राय: फेई युछिङकै गीत गाउँछन् ।


उनी साङहाई आएर पढ्न थालेको तीन वर्ष भयो । साङहाईमा पढ्न थालेको एक वर्षपछि उनले कलेजले आयोजना गरेको कार्यक्रममा चिनियाँ गीत गाए । त्यही गीतले उनको नयाँ यात्रा सुरु भयो । त्यसपछि उनलाई साङहाईकै स्थानीय टेलिभिजनले बोलाएर स्टुडियोमा गीत गाउन लगायो— त्यो पनि नयाँ वर्षको विशेष कार्यक्रममा । बेइजिङमा रहेको सीसीटीभीले उनलाई तीन पटक गीत गाउनका लागि बोलाइसक्यो । चिनियाँ गीत स्पर्धामा प्रतिस्पर्धी उछिन्दै उनले उत्कृष्ट स्थान लिइसकेका छन् ।


सन्देश ताइवानी गायक फेई युछिङका दुई दर्जनभन्दा बढी गीतहरू जस्ताको तस्तै गाउन सक्छन् । फेईले महिला गायिका तङ ली चुनसँग युगल गायन पनि गरेका छन् । सन्देशले त्यो युगल गीत पनि सीसीटीभीमा गाएका छन् । सन्देशसँग तङ ली चुनको स्वरमा प्रख्यात चिनियाँ गायिका थोङ याओले साथ दिएकी छन् ।


साङहाइमा सन्देशले दोस्रो वर्षदेखि एक चिनियाँँसँग कोठा सेयर गरेर बाहिर बसे । ‘मलाई चिनियाँ संस्कृति, समाज र रहनसहनलाई नजिकैबाट नियाल्न मन लाग्यो । त्यही भएर म चिनियाँ साथीसँग डेरामा बस्न थालेँ,’ उनी भन्छन्, ‘त्यसपछि त साँच्चै नै मैले धेरै कुरा सिक्ने मौका पनि पाएँ ।’


टेलिभिजनहरू च्यानलहरूमा सीसीटीभी संसारमा सबैभन्दा धेरै दर्शकले हेर्नेमा पर्छ । चीनभित्र र प्रवासी चिनियाँले सीसीटीभी हेर्ने गर्छन् । एकैचोटि करोडौँले हेर्ने कार्यक्रममा उनले नेपालको प्रचारप्रसार गरेका छन् । अहिले पनि विच्याट, क्यूक्यू, विइपो, युखोलगायत विभिन्न चिनियाँ माइक्रो ब्लग र सामाजिक संजालहरूमा सन्देशले गाएको चिनियाँ गीतका भिडियो भेटिन्छन् । उनका त्यस्ता भिडियो थुप्रै व्यक्तिले हेरेका छन् र सेयर गरेका छन् ।


सन्देशले चिनियाँ टेलिभिजनमा चिनियाँ गीतसँगै केही नेपाली गीत पनि गाएका छन् । मधुरो र लामो स्वर तानेर चिनियाँ गीत गाएपछि मञ्चमा आसीन निर्णायकले उनलाई नेपाली गीत गाउन अनुरोध गरे । जब सन्देशले ‘छातीमा मेरो यो छोटो भोटो कमरमा खुर्पेटो’ गीत गाए, तब उनीहरू थप आश्चर्यमा परे । यो नेपाली गीत निकै तीव्र गति र उच्च स्वरमा गाउनुपथ्र्याे । पहिले सन्देशले प्रस्तुत गरेको चिनियाँ गीतसँग न लय मिल्थ्यो, न त कुनै सुर ताल नै । एउटै व्यक्तिमा यस्तो विपरीत क्षमता देखेर चिनियाँहरू आश्चर्यचकित भएको सुनाउँछन् ।
सीसीटीभीको स्टुडियोमा उपस्थित हुँदा सन्देश सधैँ नेपाली टोपी लगाउँछन् र नेपालबारेमा केही जानकारी पनि दिन्छन् । आफ्नो नामजस्तै चिनियाँ गीतसँगै नेपाली सन्देश छर्ने काम गर्छन्— सन्देश देउजा ।
chetnath@ymail.com

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

संघीयतामा ‘बक्स अफिस’

सन्दर्भ
चलचित्र हलहरूमा चलचित्र लागिसकेपछि आर्थिक कारोबारलाई पारदर्शी राख्न बक्स अफिस प्रणाली प्रभावकारी मानिन्छ । बक्स अफिस हल्लाको व्यापार गर्नमै मात्रै सीमित भएमा यो एउटा अनर्थ मात्रै हुनेछ ।
चलचित्र क्षेत्रको भिजन, मिसन र अवस्था नै नबुझेका अक्षम पात्रलाई बोर्ड नियुक्ति गर्ने परिपाटीको अन्त्य हुनैपर्छ ।
युवराज गौतम

काठमाडौँ — संघीयतामा नेपाली चलचित्र क्षेत्र वा चलचित्र उद्योगको बारेमा खासै बहस भइरहेको छैन । मनोरञ्जनमा मात्र नभई रोजगारका क्षेत्रमा पनि चलचित्र उद्योगको ठूलो हिस्सा छ । नेपालको सामाजिक, सांस्कृतिक, भौगोलिक सबैखाले क्षेत्रको विश्वव्यापी रूपमा प्रचार र प्रवद्र्धन गर्न नेपाली चलचित्रले ठूलो भूमिका निर्वाह गरिरहेका छन् ।

हलिउड–बलिउडको तुलनामा नेपाली चलचित्र उद्योग कमजोर देखिए पनि विषयवस्तुको उठान, पटकथा, पात्र, प्रविधि, लोकेसन प्रशंसायोग्य देखिन्छन् । संवत् २००८ पछि निर्माण भएका चलचित्र ‘सत्य हरिशचन्द्र’, ‘आमा’, ‘माइतीघर’ ‘परालको आगो’, ‘सिन्दूर’ हुँदै ‘कुसुमे रुमाल’, ‘साइनो’, ‘लाहुरे’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रमा धेरै परिवर्तनहरू देख्न पाइन्छ । २०४६ को आन्दोलन र २०५२ सालपछिको माओवादी आन्दोलनबाट प्रभावित भएर निर्माण भएका चलचित्र ‘बलिदान’, ‘आगो’, ‘सीमारेखा’ हरूले नेपाली सिने उद्योगको क्षेत्रमा नयाँ युगको सुरुआत गरेको पाइन्छ ।


त्यति मात्र होइन पछिल्लो समयमा बनेका चलचित्रले जातीय, क्षेत्रीय, लिङ्ग, वर्ग, समुदायको प्रतिनिधित्व गर्दै नयाँ रूपमा देखा पर्न सफल भएका छन् । प्रस्तुति, अभिनय, कथावस्तु र प्रविधिका हिसाबमा चलचित्रहरू उत्कृष्ट बन्न थालेका छन् ।


भारतमा पन्जाबी, मराठी, मैथिली, भोजपुरी, बंगाली भाषा र सोही क्षेत्रका कलाकारहरूले अभिनय गरेका चलचित्रहरू केन्द्रीय स्तरमै हिट छन् । किनकि त्यहाँ प्रान्तीय स्तरका विषयवस्तुको उठान र पटकथा लेखन मात्र नभई लोकेसन र पात्र छनोटले प्राथमिकता पाएको छ । नेपालमा त्यो अभ्यास हुन सकिरहेको छैन् । लिम्बु, मगर, थारू, गुरुङ, तामाङ, मैथिलीलगायतका भाषामा निर्माण भएका चलचित्रहरूलाई प्रवद्र्धन गर्न राज्य नै तयार देखिँदैन । यस्ता चलचित्र निर्माण गर्न र प्रचार गर्न सम्बन्धित निकायले चासो लिनुपर्ने आवश्यकता देखिन्छ ।


फलस्वरूप उच्छृंखल, तडकभडक, विदेशी नक्कललाई प्राथमिकता दिएर निर्माण भएका चलचित्रले बजार पिटेको पाइन्छ । एउटा चलचित्रले करोड व्यापार गर्‍यो भन्दैमा बजारलाई केन्द्रविन्दु बनाएर चलचित्र निर्माण गर्ने अस्वस्थ प्रतिस्पर्धाले नेपाली चलचित्र क्षेत्रलाई दूरगामी असर पारिरहेको छ । स्थानीय भाषा, कथावस्तु, जातीय पहिचान, भूगोल, रहनसहन समेट्ने गरी चलचित्र निर्माणमा संघीय सरकारले छुट्टै योजना तयार पारेर कार्य गर्नुपर्ने आवश्यकता देखिन्छ । किनकि ‘झोला’ ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ हिट हुनु र ‘छक्का पञ्जा’, ‘कोहिनूर’ ‘लुट’ जस्ता चलचित्र हिट हुनुमा फरक–फरक कारण छन् ।



प्रदेशमा विकास बोर्ड
सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्ड राजनीतिको चंगुलमा फसिरहने गर्छ । बोर्ड अध्यक्ष नियुक्ति गर्ने सवालमा चरम राजनीति हुने गरेको गुनासो आइरहन्छ । यसले चलचित्र उद्योगलाई हित गरिरहेको छैन । चलचित्र क्षेत्रको भिजन, मिसन र अवस्था नै नबुझेका अक्षम पात्रलाई बोर्ड नियुक्ति गर्ने परिपाटीको अन्त्य हुनैपर्छ । चलचित्र विकास बोर्ड सातवटै प्रदेशमा स्थापित गर्नुपर्नेतर्फ संघीय सरकारले सोच बनाउनु जरुरी छ ।

बक्स अफिसको चर्चा
संघीय गणतन्त्र नेपालमा चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि भरपर्दो नीति आवश्यकता पर्छ । ‘सिनेमा म्यानेजम्यान्ट सिस्टम’ (बक्स अफिस) साथै विश्वासिलो ई–टिकेटिङ प्रणाली यतिबेलाको आवश्यकता हो । काठमाडौंका हलहरूमा ‘बक्स अफिस’ कार्यान्वयनमा ल्याएर मात्र पुग्दैन । यसका लागि गाउँ–नगरमा सञ्चालित सिनेमा घरसम्म नयाँ प्रविधि भित्र्याई दर्शकलाई हलसम्म ल्याउने वातावरण बनाउनु जरुरी छ । चलचित्रघरको वर्गीकरणका लागि सक्षम र अनुभवी व्यक्तिको कार्यदल तय हुनुपर्छ ।


चलचित्र क्षेत्रमा रहेका विकृति र विसंगतिको अन्त्यका लागि छुट्टै कार्ययोजना संघीय सरकारको महत्त्वपूर्ण जिम्मेवारी हो । बिनाअनुमति अरूको सिर्जनाको प्रतिलिपि उत्पादन तथा बिक्री वितरण गर्ने, ठगी गर्ने साथै दर्शकमाथि नै घात गर्ने प्रवृत्तिको अन्त्यका लागि ठोस कार्ययोजना अहिलेसम्म पाउन सकिएको छैन । पाइरेसी नियन्त्रणका लागि प्रत्येक प्रदेश सरकारले सोही अनुरूपको नीति वा निर्देशिका निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सक्नुपर्छ । चलचित्रको वैध व्यापारलाई प्रोत्साहन र प्रवद्र्धन गरी समृद्ध नेपाल निर्माणमा चलचित्र उद्योग कोसेढुंगा हुने भएकाले संघीय गणतन्त्र नेपालको नयाँ सरकारले ध्यान दिनुपर्ने हुन्छ ।


नेपालको चलचित्र क्षेत्रमा नेपाली भाषा वा खस भाषाको मात्र चलचित्र निर्माण भइरहेको छैन । आदिवासी जनजातिको भाषामा पनि थुप्रै चलचित्र निर्माण भइरहेका छन् । नेपाल भाषा, तामाङ, राई, थारू, मगर, भोजपुरी, मैथिली, सुनवार, सुनार, शेर्पा, कुमाल, डोटेली, दनुवार, लिम्बु, गुरुङ भाषाको चलचित्र पनि निर्माण भइरहेका छन् । लघु चलचित्र, टेली चलचित्र, मोबाइल चलचित्रलगायतमा पनि लगानी भइरहेको छ । यस्ता खाले चलचित्रको प्रचार–प्रवद्र्धन गर्न स्थानीय सरकारले प्रभावकारी योजना बनाउनुपर्ने देखिएको छ ।

बक्स अफिसको गति
चलचित्र हलहरूमा चलचित्र लागिसकेपछि आर्थिक कारोबारलाई पारदर्शी राख्न बक्स अफिस प्रणाली प्रभावकारी मानिन्छ । यसले लगानीकर्तालाई फाइदा पुग्ने निश्चित छ र हलवालालाई कस्तो प्रभाव परिरहेको छ, त्यसको पनि अध्ययन हुनु आवश्यक छ । सरकारले लामो समयको प्रतीक्षापछि ल्याएको बक्स अफिसको प्राविधिक पक्षा कतिको दह्रिलो छ र कतिको प्रभावकारी छ ? त्यो पनि अर्को पाटो हो । डाटाबेस सर्भर र गभर्मेन्ट इन्ट्रिग्रेटेड डाटा सेन्टर (जीआईडीसी) कतिको सक्षम छ ? यसतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । बक्स अफिस हल्लाको व्यापार गर्नमैं मात्रै सीमित भएमा यो एउटा अनर्थ मात्रै हुनेछ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×