नाम मात्रैको कम्युनिस्ट !

समृद्धि
कवाङ ट्राउन डोङ चोकको अलिक परको सानो क्याफेमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले खाजा खाएका रहेछन् । यो ठाउँ युरोपको कुनै सहरभन्दा कम थिएन । युवायुवतीले भरिभराउ थियो चोक ।
दीपक चौधरी

काठमाडौँ — युवतीहरू चिटिक्क परेका खेलौनाजस्ता थिए, हाम्रो धरान, दुहबी वा पोखराका जस्ता थिए । अचानक मेरै अगाडि दुई महिलाको स्कुटी एकआपसमा ठोक्किएर दुवै जना लडेको देखें । तर, उनीहरू उठेर केही नबोली आआफ्ना सामान उठाएर बाटो लागे । यो देखेर मलाई आश्चर्य लाग्यो । 

नाम मात्रैको कम्युनिस्ट !

सन् १९४५, २ सेप्टेम्बरमा फ्रेन्च कोलोनीबाट स्वतन्त्रता पाएको भियतनामले त्यसको ३० बर्षपछि बेहोरेको नरसंहारको इतिहास पुरानो भइगएको छैन । विश्व महाशक्तिको त्यो खेल मैदानमा लाखांै सर्वसाधारणले ज्यान गुमाउनुपरेको थियो ।


समयले पूरै कोल्टे फेरेको छ आज । त्यही त्रासदीको नाम भियतनाम अहिले अर्कै बनेको छ, तिलस्मी विकासले भरिएको । विशेषत: सन् १९८९ मा सोभियत संघको पतनपछि भियतनामले अवलम्बन गरेको खुलापनले भियतनामलाई दह्रो आर्थिक सूचांकमा फड्को मार्न सघाउ गर्‍यो, यो सर्वविदित छ ।


तर, मैले भने आफ्नो भियतनाम भ्रमणका दौरानमा त्यहाँ कम्युनिस्ट शासन छ भन्ने अनुभूति गर्नै पाइनँ, पत्तै भएन । खुला अर्थतन्त्रले राम्रै काम गरेको देखियो, विकासले राम्रै गति लिएको जस्तो लाग्थ्यो । व्यक्तिगत स्वतन्त्रता पनि नसोचेको थियो । साँच्चै, यत्तिका युद्ध र विषम परिस्थितिका माझ भियतनामले कसरी आफूलाई सबल र सक्षम राष्ट्रको रूपमा उभ्यायो ?
बैंककबाट करिब १ घण्टाको हवाई यात्रामा भियतनामको राजधानी हनोई पुगिन्छ । लाओसको आकाशमाथि उडेको विमान भियतनाम प्रवेश गर्नासाथ स–साना पहाड देखिन थाल्यो, नेपालको भूगोलभन्दा खासै फरक लागेन । मसँगै सिटमा बसेकी नेदरल्यान्डकी युवतीले एउटा गहकिलो कुरा भनिन्, ‘यताका मान्छे एकदमैं शान्त छन् । बोल्दै नबोल्ने अथवा अत्यन्तै थोरै बोल्ने खालका । हाम्रो देशको प्लेनका यात्रु भए यति बेला कति होहल्ला भइसक्थ्यो... । भिसा दिनेदेखि इमिग्रेसन फाँट सबैमा सेना तैनाथ देखिन्थे । एयरपोर्ट सानै भए पनि सफा र पद्धतिमा चलेको देखिन्थ्यो ।


बाहिर मलाई गाइडले कुरिरहेको थियो, मेरो नेम–कार्ड लिएर । ती युवकको नाम ट्वान थियो । म उनको गाडीमा चढँे, गाडी फराकिलो र चिल्लो बाटो हुँदै हुइँकियो । एयरपोर्टदेखि हनोईसम्मको ६ लेनको हाइवे बनेको धेरै भएको थिएन । ट्वानसँगको परिचयमा मैले ‘म नेपाली र बुद्धको देशबाट आएको’ भन्न बाँकी राखिन् । उसले आफ्नो कुनै धर्म नरहेको र भियतनामको पनि कुनै धर्म नरहेको बतायो । बरु, ऊ भियतनामी कम्युनिस्ट पार्टीको कार्यकर्ता रहेछ । मैले फेरि पनि धर्मबारेमा कुरा कोटयाए । उसले बौद्ध धर्ममा धेरै नियम–बन्देज रहेको र यस्तो कुरा आफूलाई मन नपर्ने बताए । भियतनाम बौद्ध देश होला भन्ठानेको थिए, त्यस्तो पाइनँ ।

एयरपोर्ट हनोई हाइवे
रेड नदीमा भव्य पुल रहेछ । यसबाट भियतनामले भौतिक पूर्वाधारको विकासमा मार्दै गरेको फड्कोलाई पनि इंगित गथ्र्याे । यो नदी तर्नासाथ हनोई सुरु हुन्छ । नदीपारि नयाँ ठूला कम्प्लेक्समा प्राय: विदेशी बस्ने रहेछन् । सहरका बाटाहरू सफा र कहीँ कतै पिच नउप्किएका थिए । पैदलयात्रु लेन पनि सफा थिए । मोनोरेल बन्दै गरेको देखिन्थ्यो, यसको निर्माणले ट्राफिकमा कुनै असर परेको देखिएन । केटाकेटीदेखि बूढाबूढी सबैले स्कुटी चलाइरहेका थिए ।


युवतीहरू चिटिक्क परेका खेलौनाजस्ता थिए, हाम्रो धरान, दुहबी वा पोखराका जस्ता थिए । अचानक मेरै अगाडि दुई महिलाको स्कुटी एकआपसमा ठोक्किएर दुवै जना लडेको देखें । तर, उनीहरू उठेर केही नबोली आआफ्ना सामान उठाएर बाटो लागे । यो देखेर मलाई आश्चर्य लाग्यो ।


हनोई तलाउ नै तलाउले भरिएको सुन्दर सहर रहेछ । केही अग्ला भवनले सहरको शोभा बढाएको छ । हिँडडुलमा समस्या थिएन । खानाका परिकार हेर्दा भियतनामीहरू निकै सोखिन लाग्यो । थरीथरीका परिकार हुने, सुप, हरियो सागसब्जी, फलफूल आदि । अझ बढी त कफी खाने चलन रहेछ । रात परिसकेको थियो, बियर पारखीबाट सडक रेस्टुराँ भरिएका थिए, स्थानीय बियर निकै स्वादिलो थियो । केटाकेटी एकैसाथ नारिएर बस्ने कुरा साधारण रहेछ यहाँ ।

हनोईको केन्द्रीय भागमा अवस्थित ताल र बस्ती
भोलिपल्ट बिहानै ६ बजे निद्राले छाडिसकेको थियो । भियतनामी टीभी च्यानल टन्नै रहेछन् । ८ बजे एसिया एआईटी तालिम कार्यक्रममा सहभागी भएँ । कार्यक्रम सञ्चालनदेखि पढाउने सबैमा महिला थिए । मैले नेपालबाट ल्याएको बुद्धको प्रतिमा दिएँ एआईटीलाई । मसँग बर्माका सोसल सेक्टरमा कार्यरत नान ताजिन थियो । ऊ बुद्धमार्गी रहेछ । एआईटीमा कार्यरत सबै जना इसाई रहेछन् । मैले सोचेभन्दा अलि भिन्न लाग्यो, यी एसियन देशको धार्मिक–सांस्कृतिक पक्ष । बर्मेलीहरू मसँग अलि नजिक भए । बर्मा पूर्वी र दक्षिण एसियाबीच पर्ने भएर होला, उता (चाइनिज) र यता दुवैको प्रभाव देखिन्थ्यो तिनमा । आमा उमेरकी प्रिसिला बोईले मलाई आफ्नैजस्तो व्यवहार गरिन् र नेपालीहरू विश्वासिला हुन्छन् भनेर सबैका अगाडि मेरो प्रशंसा गरिरहिन् । बर्मेलीमा अनलाइन शिक्षा निकै लोकप्रिय रहेछ ।

रात्रिकालीन हनोई
दोस्रो दिनको क्लासमा आ–आफ्नो देशको विकास र यसमा उत्पन्न हुने सामाजिक व्यवधान तथा समस्याबारेमा अनुभव साटासाट गर्ने अवसर मिल्यो । बर्मामा ढिलासुस्ती र भ्रष्टाचार सामान्य रहेको बताए, मिस्टर थाङले । तर पनि विकासले गति लिँदै गएको उनको अनुभव थियो । प्राध्यापक डा. नुयाइन ताका अनुसार ठूला लगानी भित्र्याउने सन्दर्भमा यहाँको प्रधानमन्त्री कार्यालय आफैंले यसको नेतृत्व लिने गरेको र प्रक्रियाहरू चाँडो हुने भएकाले भियतनाममा वैदेशिक लगानीमा निकै वृद्धि आएको बुझिन्थ्यो । तर, त्यहींनेर बर्माका अनुभव नेपालसँग मिल्दोजुल्दो थियो । हामीकहाँ जस्तै कागजी प्रक्रिया धेरै झन्झटिलो रहेको सुनियो । मिस थाङकी ‘आन्टी’ नेपाल घुमिसकेकी रहिछन् । उनले आन्टीको अनुभव सुनाउँदै भनिन्, ‘नेपाल प्राकृतिक रूपमा सुन्दर रहेछ र पर्यटकीय सम्भावना प्रशस्तै रहेछ तर त्यहाँ भौतिक पूर्वाधार पटक्कै छैन नि, है ।’


म ट्वाँ परे र अँ–अँ भन्दै टाउको मात्र हल्लाइरहें ।


बेलुकी हामी तीन, आमा प्रिन्सिला र कोरियन न्युजिना हनोईको केन्द्रीय भागको लेक पुग्यौं । फराकिलो र सफा सडक, सुन्दर तालको कुनै बयान थिएन । हामी कवाङ ट्राउन डोङ चोकमा पुग्यौं, त्यही चोकको अलिक परको सानो क्याफेमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले यहाँको खाजा खाएका रहेछन । साँच्चिकै यो ठाउँ युरोपको कुनै सहरभन्दा कम थिएन । युवायुवतीले भरिभराउ थियो यो चोक । विदेशीहरू बढी थिए, हनोईको रात्रिकालीन जीवन साँच्चिकै आकर्षक लाग्यो । प्रिन्सिलालाई सन्चो नभएर उनी होटल लागिन् । युजिना र म चोकसँगै रहेको क्याफेमा गयौं । उनले नै दुईवटा कफीको पैसा तिरिन् । यो कफी हाउस विश्वमा प्रसिद्ध रहेछ, युजिनाले वेबसाइटमा हेरेर थाहा पाएकी रहिछन् । वरपरका बत्तीले गर्दा ताल बेहुलीझैँ सिँगारिएजस्तो देखिन्थ्यो । युजिना असाध्यै राम्री थिइन् । कफी पूरै फिँजजस्तो, बियरको याद आउने । भियतनामको क्याफेको कफी विश्वमै प्रख्यात रहेछ र यसले यहाँको आर्थिक क्षेत्रमा ठूलो योगदान दिएको रहेछ ।

सुन्दर ओपेरा हाउस चोक
भेलि बिहानै ब्रेकफास्ट लिएर म हलोङ वेका लागि ओपेरा हाउस चोकमा पुगे । गोलाकार ठूलो चोक रहेछ ओपेरा हाउस र चोकको देब्रेपट्टि ओपेरा हाउसको ठूलो भवन रहेछ । चोक चिटिक्क र सफा थियो— कुनै युरोप सहरको याद दिलाउने । लामो दूरीका यात्रुको गाडी चढ्ने ठाउँ रहेछ यो । आधा घण्टापछि एउटा टुरिस्ट गाडी आयो । हाम्रो गाइडले हलोङ वे तथा भियतनामबारे केही कुरा भन्यो । सन् १९७५ अघिसम्म भियतनाममा सिभिल–वार रहेको कुरा उनले बताए ।

हलोङ वेको मनमोहक दृश्य
विश्व सम्पदा सूचीमा सूचीकृत हलोङ वे हनोईबाट करिब १५० किलोमिटर पूर्व उत्तरतर्फ पर्छ । ठूलाठूला चट्टान समुद्रमा च्याउ उम्रिएजस्तै गरी देखिन्थे । समुद्रभर यत्रतत्र जहाज तथा स्टिमर देखिन्थे । जहाजै जहाजले भरिएको नीलो समुद्र साँच्चिकै मनमोहक थियो । नीलो सफा पानीको चमक बेग्लै थियो, समुद्री वातावरणको वर्णन अतुलनीय थियो । हलोङ वे साँच्चिकै स्वर्गकै एउटा टुक्राजस्तो लाग्थ्यो । जति हेरे पनि चित्त नबुझ्ने । साँच्चिकै सेक्सी थिइन्— हलोङ वे । एक किंवदन्तीअनुसार निकै पहिले भियतनामीले आफ्नो आत्मरक्षा तथा सुरक्षाका लागि भगवान्लाई पुकारेछन् र भगवानले ड्रयागनलाई रक्षार्थ यहाँ पठाउनुभएछ । ड्रयागनको शरीरबाट निस्केको विभिन्न अवयवपछि गएर ‘लाइमस्टोन’ भएछ । यसले यहाँ चक्रव्यूहजस्तो काम गरेको देखिन्छ ।


बिहानै ब्रेकफास्ट लिएर टयाक्सीबाट हनोईको होचिमिन्ह म्युजियम पुगें । यहाँ ठूलो भव्य भवन थियो र यसको वरपर सुन्दर बगैंचा थिए । स्वतन्त्रता प्राप्ति र युद्धका बेला भियतनामीको बहादुरीका तस्बिर देखिन्थे । होचिमिन्हको जीवनी र संघर्षका थुप्रै तस्बिर थिए । आफ्ना पुर्खाका दु:ख र संघर्ष हेरेर भियतनामी भावविह्वल देखिन्थे । यो म्युजियमले भियतनामको इतिहासलाई जीवन्तता प्रदान गरेको छ । यस म्युजियमको बीच भागमा होचिमिन्हको शरीर ससम्मान राखिएको (दफनाइएको) रहेछ । सानैदेखि प्रेरकको रूपमा रहँदै आएको होचिमिन्हप्रति उनको चिहानमा श्रदासुमन गर्न पाउँदा मैले आफूलाई भाग्यमानी ठाने ।

होचिमिन्ह स्मारक तथा म्युजियम
यहाँ टयाक्सी चढ्न निकै सजिलो लाग्यो, जाने गन्तव्य भनिसकेपछि टयाक्सीमा जडित जीपीएसले बाटो ट्रयाक गर्दै गन्तव्यमा पुर्‍याइदिने र प्रिन्टेड बिलबाट पैसा दिने । ‘बार्गेनिङ’ संस्कार पटक्कै छैन । जाँदै गर्दा प्लेनले हनोईलाई एक फन्को लगाएको दृश्य साँच्चिकै अद्भुत थियो, जताततै तालहरू अनि सुन्दर बस्ती, गगनचुम्बी भवनहरू । ताल र खोलानालासँग लुकामारी गरिरहेको जस्तो देखिन्थ्यो हनोई ।

प्रकाशित : श्रावण १९, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?