एउटा ब्रान्ड–नेम

स्मृति
बागबजारभित्रको डेराकोठामा एक दिन गितारको अनौठो धुन सुनियो । यो कस्तो धुन हो, यसको कुनै नाम पनि छ कि ? धुन निकाल्ने मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए— यो धुनको नाम हो, राल्फा । एउटा अर्थहीन शब्द— राल्फा ।
समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए ।
डा.हरि श्रेष्ठ (नोरेम)

काठमाडौँ — एउटा फरक धारको आन्दोलन जसले आफ्नो उत्कर्ष कालमा नेपाली साहित्य–संगीत क्षेत्रमा केही हलचल सृजना गरेको थियो । यो अझै पनि सम्झनाको फेरोमा बाँचिरहेकै छ । यो समूह राल्फाको विसर्जन भएको झन्डै दुई दशक व्यतीत भइसकेको छ । तथापि नयाँ पुस्तामा अद्यावधि राल्फाप्रतिको जिज्ञासा र कौतूहल मेटिएको छैन ।

एउटा ब्रान्ड–नेम

राल्फाका सूत्रधार भनेर चिनिएका व्यक्तिहरू यदाकदा संयोगले कुनै स्थानमा एकै ठाउँ भेटिँदा त्यो उनीहरूका निम्ति आश्चर्य र कौतूहलको विषय बन्छ । उनीहरूका जिज्ञासु आँखाहरू राल्फाको बारेमा केही कुराहरू सुन्न लालयित भएझैं देखिन्छन् । मञ्जुल, निरन र मेरो यस्तै एउटा भेटघाटमा पछिल्लो पुस्ताका भाइ राजनका उत्सुकतापूर्ण आँखाहरू उसैगरी हामीतिर एकोहोरिएका थिए त्यस दिन । तपाईंहरूको यस्तो भेटघाट देखेर मलाई आज अत्यन्तै खुसी लागिरहेछ, यसलाई निरन्तरता दिइरहनुहोला— भनेका थिए राजनले ।


मैले भनें— जिन्दगीका उल्लास र रोमाञ्चक अनुभव बाँडेर जिउने बेला हो, हाम्रो यतिखेर । तर, त्यति गर्न सकिएको छैन । फेसबुकले हाम्रा सामाजिक सम्बन्धको परिभाषा नै बदलिदिएको छ । स्मार्टफोनको स्क्रिनमा औंला थिचेर साथीभाइका स्टाटस लाइक गरिदिएपछि सशरीर भेटघाटको लन्ठो उठाइरहनु नपर्ने जमाना आएको छ । भावनात्मक संवेग मृतप्राय: छ ।


राल्फाबारेमा आजसम्म नउघ्रिएका कतिपय पाटाहरू अवश्य अझै बाँकी होलान्, त्यो सुन्न लालायित छु म आज । यस्ता भेटघाटमा तपार्इंहरू बीचमा हुने एकदमै अन्तरंग कुराकानीहरू कस्ता होलान्— त्यो पनि सुन्ने रहर छ मेरो । कौतूहल भरिएको राजनको आवाज छरिन्छ कोठाभरि । हामी मन्द मुस्कानमा परस्पर मुखामुख गर्छौं । मञ्जुलको अनुहारमा धेरै समयपछि उही पुरानै लोभलाग्दो मुस्कुराहट फर्किएको देख्छु म । राल्फाका आजसम्म नउघ्रिएका परिच्छेदहरू के होलान् ?


राजनको यो जिज्ञासा सुनेर उमेरले भुत्ते हुँदै गएको मेरो दिमागमा पनि केही सल्बलाएजस्तो अनुभव हुन्छ । पाँच दशकअघि जन्मिएको राल्फा, त्यसको उतारचढाव, राजनीतिले ल्याइदिएको विभाजन, विसर्जन र रूपान्तरणका परिघटना केस्राकेस्रा गरी केलाउने हो भने ठेलीहरू तयार हुन्छन् । राल्फामाथि आलोचनात्मक आलेख फुटकर रूपमा प्रकाशित त छन् तर तिनले राल्फाको समग्र तस्बिर प्रस्तुत गर्दैनन् । ३०–४० को दशकमा सर्वाधिक चर्चा र चासोमा परेका राल्फाको विकास यात्राका अनेक घुम्तीहरू ठम्याउन पनि मुस्किल हुँदै छ अव । व्यक्तिका स्मृतिमा कतिन्जेल विगतका सबै कुरा सुरक्षित रहन्छन् र ? अन्योलग्रस्त म निरन र मञ्जुलतिर दृष्टि फिजाउँछु ।


राल्फाको उद्भव र विकासयात्राको एक जना साक्षी हुन्— निरन । आरम्भदेखि नै मञ्जुलनिकट रहेर राल्फालाई उनले नजिकबाट नियालिरहेका छन् । हक्की स्वभाव छ उनको, अर्थात् स्ट्रेट–फरवार्ड । आफ्नो स्मृतिमा संगृहीत केही नौला कुराको पोका खोल्न थाल्छन् उनी । भन्छन्— त्यो बेलाको कुरा, एक दिन मञ्जुल बागबजारको आफ्नो कोठामा गीतारमा औंला चलाइरहेका थिए । केही अनौठो धुन निक्लिरहेको थियो उनको गीतारबाट । हाम्रा साथी ओम सिटौला पनि त्यहाँ हामीसँगै थिए । गीतारको त्यो अनौठो धुन सुनेर ओमले मञ्जुललाई सोधे— यो कस्तो धून हो, यसको कुनै नाम पनि छ कि ? मञ्जुलले ठटयौली पारामा तत्क्षण जवाफ फर्काए, हो यसको नाम छ । यो धुनको नाम हो— ‘राल्फा’ । पहिलोचोटि सुनेको राल्फा शब्द साँच्चै नै अनौठो प्रतिध्वनित भइरहेथ्यो । ओम आश्चर्यमिश्रित भावमा मञ्जुललाई एकटक हेरिरहेका थिए, मजस्तै । उत्सुकता भरिंदै जान्छ, उनको आँखा र अनुहारमा पनि ।


हौसिँदै मञ्जुल भन्छन्— हो, राल्फा अचानक मेरो दिमागमा उब्जिएको शब्द थियो, जसको कुनै अर्थ थिएन । त्यसताका नौलो र अनौठो शब्द सृजना गर्ने र तिनलाई कविता लेखनमा प्रयोग गर्ने मेरो सोख नै थियो । रामेश, रायन र अरिमसँग मेरो सांगीतिक सामीप्य बढेपछि र तत्कालीन परिस्थितिले एउटा समूह नै बनाएर हिँड्नुपर्ने बाध्यता आइलागेपछि त्यो समूहको नाम नै राल्फा राख्ने हाम्रो बीचमा सहमति भयो । यसरी राल्फा जन्मिएको हो । पारिजात दिदीसँगको हाम्रो निकटता भने केही पहिलेदेखि नै थियो । हामीलाई एउटा समूहमा आबद्घ भएर काम गर्ने उत्प्रेरणा उहाँले नै दिनुभएको हो । समयक्रममा निरन, विमल, निनु, नोरेम पनि राल्फा समूहमा आबद्घ हुँदै गए । गणेश रसिक पनि केही समय राल्फामा थिए । पछि उनी राल्फा छाडेर लेकाली समूहमा गाँसिन पुगे । पारिजात दिदीचाहिँ अलिक पछि राल्फा हुनुभएको हो । उपन्यास ‘छेकुडोल्मा’ को भूमिका लेख्दा पहिलोचोटि उहाँले आफ्नो नामका पछि राल्फा शब्द जोड्नुभएको हो । यसरी राल्फा हामी सबैलाई जोड्ने एउटा भावनात्मक सूत्र भएर देखा पर्‍यो । पछि गएर एउटा ‘टिपिकल ब्रान्डनेम’ जस्तै भयो यो ।


राल्फाको जन्मकथाका प्रसंगहरू ‘रिवाइन्ड’ भइरहँदा म पनि आफ्नो अतीतका ती रमाइला क्षणमा एक छिन हराउन पुग्छु । राजन ध्यानमग्न भएर हाम्रा कुराकानीमा लठ्ठिरहेझैं देखिन्छन् । राजनले कुनै बेला मलाई सुनाएको उनको रहर अनायास सम्झन पुग्छु म त्यहाँ त्यसबेला । उनले भनेका थिए, राल्फाको समय समकालीन नेपाली साहित्य र संगीतको एउटा महत्त्वपूर्ण कालखण्ड हो । समग्रतामा राल्फाको अध्ययन, विश्लेषण र प्रस्तुति आवश्यक छ । यो भएको छैन । मलाई व्यक्तिकेन्द्रित भएर हैन, समूहकेन्द्रित भएर राल्फाको बहुआयामिक व्यक्तित्व उजागर गर्न मन लागेको छ । डिजिटल आर्काइभमा त्यसलाई सुरक्षित राख्ने मेरो रहर छ । उनको त्यो रहर सम्भँmदा मलाई लागिरह्यो, राल्फासँगको यो आकस्मिक साक्षात्कार राजनका निम्ति अझ बढी रोमाञ्चक भइरहेको हुँदो हो ।


के साँच्चै कसैको लहडमै जन्मिएको हो त राल्फा शब्द ? अनि यससँग गाँसिएका व्यक्तिका अनौठा नामहरू ? दिमागमा नसुल्झिएका यी प्रश्नहरूमा राजन घोत्लिरहेझैं देखिन थाले । कुरो वास्तवमा लहडको मात्रै थिएन । यथास्थितिवाद र परम्परागत रुढीप्रति वितृष्णा र विरोध जनाउने दमित आकांक्षाको अभिव्यक्ति पनि थियो— राल्फाको त्यो शब्द सृजना । परम्परावादी आफ्नै नाम निषेध गर्ने चाहनाको प्रतिविम्बन थियो त्यो काम त्यसबेला । जातीय गन्धरहित ती नामहरू जातपातविरोधी राल्फाली चेतको अभिव्यक्ति पनि थियो । पछि मानिसले आफैं अनेक कोणबाट राल्फाको अर्थ केलाउन थाले ।


निरन सम्झन्छन्— ऊ राल्फा भएको थाहा पाएर उनलाई चिन्ने केही मानिसहरू उनको नजिक पर्दा तर्सिएको मृगझैं हुन थालेका थिए । राल्फासँग बोलचाल गर्दा बिटुलो नै भइन्छजस्तो गर्थे रे कोहीकोही । समूह चिनाउने अनौठो शब्द र राल्फालीका बेग्लै ध्वनिका विचित्र नामहरू सुनेर त्यसबेला मानिसहरू अचम्म मान्थे । नेपाली शब्द भण्डारले नपुगेर नौला शब्द सृजनामा लागेको मञ्जुललाई ‘देवकोटाभन्दा पनि ठूला कवि’ भन्दै उनको कुरा काट्ने मानिसको पनि कमी थिएन ।


राल्फाको अर्थ तिमीहरूले नबताए पनि मलाई थाहा छ । एक पटक बिजु नाम गरेका अफिसको साथीले एउटा अनौठो कुरो सुनाए निरनलाई । बिजुले निरनको कानमा सुटुक्क भने— राल्फा शब्दको अर्थ ‘रोयलफाएर’ हो अर्थात् राजतन्त्र नास गर्ने समूह । राल्फा शब्दको त्यो अनौठो परिभाषा सुनेर निरन त्यसबेला अचम्मित भएका थिए । यसरी राल्फालाई सुरुदेखि नै तत्कालीन सत्ताविरोधीका रूपमा चित्रित गर्ने जमात पनि देखा पदै थियो काठमाडौंमा । राल्फाको विद्रोही चेतका गीतहरू र साहित्य रचनाको बेग्लै बान्की देखेर राल्फामाथि त्यस प्रकारको आरोप लगाउन मानिसलाई पर्याप्त आधार तयार भइरहेको समय थियो । पञ्चायती शासकको आँखा र कान चनाखो हुँदै थियो— राल्फाली हरेक गतिविधिप्रति । तर, त्यसबेलासम्म राल्फा भने राजनीतिक चेतनाबाट निकै टाढै थिए । कुनै वैचारिक धरातलबिनाको स्वत:स्फूर्त विरोधमा मग्न थिए राल्फा ।


अहिले आएर हेर्दा लाग्छ, राल्फाको आरम्भिक कालखण्ड विश्व साहित्यको तत्कालीन ट्रेन्ड–फ्रेडरिक नित्सेले हुर्काएको शून्यवादी र निस्सारतावादी दर्शनबाट प्रभावित थियो । नित्सेको ‘ईश्वर मरिसक्यो’ भन्ने उद्घोषप्रति एक प्रकारको आकर्षण थियो राल्फामा पनि । अलबर्ट कामु र ज्याँ पाल सात्रको साहित्यबाट प्रभावित हुँदै थिए राल्फा । सारा परम्परावादी मूल्य मान्यता नकार्ने प्रवृत्ति र जिन्दगीलाई अर्थहीन ठान्ने सोच शून्यवादी दर्शनको सार थियो । पारिजातको उपन्यास ‘शिरीषको फूल’ र मञ्जुलको उपन्यास ‘छेकुडोल्मा’ को केन्द्रीय कथानकमा त्यही निस्सारतावादी दर्शनको परोक्ष–प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । नितान्त नौलो बान्कीमा लेखेका थिए मञ्जुलले छेकुडोल्मा । हाडे ओखरजस्तो । दिमागै चकराउने खालको । त्यस खालको उपन्यास सायद त्यो नै पहिलो थियो । हाम्रा कविता लेखनमा पनि जीवनप्रति निस्सारताका स्वरहरू नै बढी मुखरित हुँदै थिए ।


मञ्जुलको अमूर्त र अनौठो शब्दावलीमा रामेशले संगीत र स्वर दिएका केही गीतहरू यस्ता पनि थिए जसलाई सुनेर श्रोताहरूको प्रतिक्रिया हुन्थ्यो, शब्द बुझिएन तर स्वर र धुन मीठो छ । तर, अधिकांश राल्फाली गीतहरूको मूल स्वर भने सुरुदेखि नै अर्थपूर्ण र जीवनवादी नै थिए । गीतको शब्द चयनमा राल्फा निकै संवेदनशील बन्दै गएको समय थियो त्यो । सामाजिक रूपान्तरणमा गीतले केही सन्देश दिनुपर्छ भन्ने धारणा प्रबल हुँदै गएको थियो राल्फामा । राल्फाको कतिपय गीत सृजनाका स्वरहरू अहिलेसम्म पनि जनमानसको हृदयमा गुन्जिरहनुको एउटा कारण त्यो पनि हो ।


समयक्रममा जीवनको सार्थक परिभाषा खोज्ने चेत राल्फामा हावी हुँदै गयो । निराशा र निस्सारताका स्वरहरू क्रमश: मलिन हुँदै गए । पारिजात दिदी र हाम्रो साहित्य लेखनमा सूक्ष्म रूपान्तरणको प्रक्रिया सुरु हुन थालेको समय थियो त्यो । पठन संस्कृतिमा हुर्किएका राल्फाहरू अन्तर्राष्ट्रिय प्रकाशनका चर्चित पुस्तकहरूको अध्ययनमा निरन्तर डुबिरहन्थे । यसैका कारण संसारमा भइरहेको परिवर्तनको लहरबाट चाँडै प्रभावित पनि हुन्थे । लाग्छ, राल्फालाई गतिशील तुल्याइरहन पुस्तक अध्ययनमा राल्फाको गहिरो लगावले पनि राम्रै मद्दत पुर्‍याएको थियो ।


म सम्झन्छु— त्यसैताक चेगेवारा, फिडेल क्यास्ट्रो, रेजिस देव्रे आदिका पुस्तकहरूको अध्ययनमा हामी मग्न हुन थालेका थियौं । एडगर स्नोको ‘रेड स्टार ओभर चाइना’ पनि हाम्रो पाठयसामग्रीमा समावेश थियो । राल्फामा तात्त्विक रूपान्तरणको सुरुआत तिनै पुस्तकसँगको सम्पर्क र अध्ययनपश्चात् देखा पर्न थालेको थियो । दक्षिण अमेरिकामा फैलिएको क्रान्तिको लहर र चेगेवारा, फिडेल क्यास्ट्रोले नेतृत्व गरेको गुरिल्ला युद्घको चमत्कारी र रोमाञ्चक कथाहरूले हामीलाई निकै गहिरो प्रभाव पार्न थालेको समय थियो त्यो । मेरो सम्पादनमा निस्कने राल्फाली साहित्यिक पत्रिका ‘यन्त्रणा’ मा चेगेवारा र गुरिल्ला युद्घको सामान्य चर्चा गर्न हामीले भ्याएका थियौं । पञ्चायती प्रशासनले त्यसलाई आपत्तिजनक ठान्यो । तर, त्यो उमेर र समय नै यस्तो थियो, हामी त्यस्ता कुराबाट भयभीत हुने कुरै थिएन ।


चे र फिडेलकै रोमाञ्चक जीवनगाथाको प्रभाव पनि एउटा कारण हुँदो हो, त्यसैताक मञ्जुलले राष्ट्र बैंकको आकर्षक जागिर अचानक परित्याग गरे र रामेशसँग पूर्वी नेपालका गाउँघरमा आफ्नो एक बहुचर्चित सांगीतिक यात्राको सुरुआत गर्ने निर्णय लिए । ग्रामीण जनजीवनसँग साक्षात्कार गर्ने त्यो उनीहरूको एक जोखिमपूर्ण तर साहसिक निर्णय थियो । त्यो घटना उनीहरूको जीवनमा अर्को एक महत्त्वपूर्ण फड्को सावित भयो । त्यसै बेलादेखि राल्फा राजनीतिको अर्कै कलेवरमा देखा पर्न थालेको हो । एउटै समूहको रूपमा राल्फा नरहेर समूह विघटनको सुरुआत पनि त्यसै बेलादेखि भएको हो ।


चेगेवारा र फिडेल क्यास्ट्रोको जीवन दर्शनबाट प्रभावित राल्फालाई त्यसबेला नेपालको कुनै राजनीतिले प्रभाव पार्न सक्थ्यो भने त्यो निश्चय पनि देब्रे धारको राजनीति नै हुन्थ्यो । नभन्दै त्यस्तै भयो, आफ्नो मूल प्रवृत्तिअनुसार राल्फाहरू क्रमश: वाम विचारधारामा समाहित हुँदै गए । विभिन्न चिरामा विभाजित नेपालका वामपन्थी समूहहरूमा आआफ्नो रुचि र विश्लेषणअनुसार उनीहरू गाँसिन पुगे । केही साथीहरू भने राजनीतिबाट निरपेक्ष रहेर स्वतन्त्र ढंगले जीवन व्यतीत गर्न थाले ।


निष्क्रिय भएर बस्ने स्वभाव थिएन राल्फाको । दुई अलग धारका वामपन्थी समूहमा आबद्घ त्यसबेलाका निकै चर्चित सांस्कृतिक मोर्चा सम्हाल्न थाले राल्फाहरूले । संकल्प र इन्द्रेणी नामका प्रगतिशील सांस्कृतिक मोर्चा हाँकेर वामपन्थी राजनीतिको जनाधार सृजनामा राल्फाहरूले खेलेको भूमिका उल्लेखनीय रह्यो । तर, एउटा अनौठो कुरा, राल्फाले नै हाँकेका यी दुई मोर्चा बीचमा पानी बाराबारको सम्बन्ध थियो । राल्फाको विगतको एउटा सुन्दर कालखण्ड इतिहासको गर्तमा कतै बिलाइसकेको थियो । तत्कालीन वाम राजनीतिक धारहरूमा देखा परेको परस्पर शत्रुतापूर्ण सम्बन्धकै प्रतिच्छाया थियो त्यो ।


यसरी जुट्दै, टुट्दै, फुट्दै र फेरि जुट्दै इतिहासको एउटा अप्ठेरो कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अघि बढेका राल्फाहरू अहिलेसम्म पनि राल्फाकै ‘ब्रान्ड–नेम’ मा चर्चाको सेरोफेरोमा आइरहेकै छन् । अप्ठेरा दिनहरूमा हामीले बिताएको त्यो समयले एउटा बेग्लै सुखको अनुभूति दिइरहन्छ अझै पनि । लाग्छ, अरू साथीहरूलाई पनि यस्तै अनुभूति हुँदो हो । तर, एउटा यथार्थ के हो भने, राल्फाले आफ्नो ऊर्जाशील उमेर र समय जुन ढंगको सामाजिक रूपान्तरणको सपना बोकेर समर्पित गरेका थिए त्यसको तिर्खा भने अझै मेटिएको छैन राल्फामा ।


त्यस दिन मञ्जुल र निरनसँगको अनायास भेटघाट र भाइ राजनको जिज्ञासाका कारण राल्फाको विगतमा डुबुल्की मार्दा समय बितेको पत्तै भएन हामीलाई । हिँड्न लाग्दा राजनले फेरि अर्को प्रश्न तेस्र्याएर हाम्रो बाटो छेके, दाइ फेरि यस्तै अर्को भेटघाट कहिले ? अँ भेटौला नि । एउटा अमूर्त र अस्पष्ट जवाफ दिँदै हामीले बिदा माग्यौं । हिँड्दै गर्दा मनमा लागिरह्यो, सायद राल्फालाई सम्पूर्णतामा बुझ्ने राजनको चाहना पूरा हुन अझै बाँकी नै छ । थाहा छैन, ढल्किँदो उमेरका राल्फालीहरूको यस्तो भेटघाट उनीहरूकै मानसिक स्वास्थ्यका निम्ति पनि लाभदायक हुन्छ भनेर राजनले यस्तो आग्रह पालेका हुन् कि । जे होस्, पुस्तान्तरण संवादमा सहभागी भइरहँदा दिमागमा एउटा बेग्लै ताजगी भरेर फर्किएको थिएँ म त्यस दिन ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?