जहिले तिमी आऊ...- कोसेली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहिले तिमी आऊ...

कुराकानी
कान्तिपुर संवाददाता

काठमाडौँ — सुश्री शान्ति ठटाल नेपाली सुगम गीत–संगीत विधाकी अग्रज साधक हुन् । भारतको दार्जिलिङमा जन्मे–हुर्केकी ठटाल नेपाल–भारत मात्रै होइन, संसारभरकै नेपालीभाषीका लागि प्रियवर संगीतकार/गायिकाका रूपमा चिनिएकी छन् ।

छिन्नलता गीत पुरस्कार गुठीले यो वर्ष दिएको छिन्नलता विशेष सम्मान थाप्न आएकी ८० वर्षीया संगीतकर्मी ठटालले एक साता लामो काठमाडौं बसाइमा विभिन्न स्टुडियो धाउँदै गीत रेकर्ड गराउने र इच्छुक–शुभेच्छुकलाई गीत सिकाउने काम गरेकी थिइन् । बुढेसकालले छोइसकेको उमेरमा बिहान अबेरसम्म सुत्नु, लौरोको सहारामा मुस्किलले हिंड्नु र खोलेजस्तो खान्की ब्रेकफास्टमा खानु शान्ति दिदीको दैनिकीझैं बनेको छ । बुधबार दिउँसो ‘गार्डेन अफ ड्रिम्स’ मा स्पागेटी र फलफूल सेवन गरेपछि दिदी आरामीका लागि रातोपुलस्थित एक आफन्त चेलीका डेरामा पुगिन् । र, हारमुनियम झिक्दै गीतकार पवन चाम्लिङको एउटा पछिल्लो गीतको धुन सुनाइन्, संसारभरका नेपालीलाई मिल्ने काइदाको— ‘नेपालीलाई के भयो के भयो, हराएर आफैंलाई खोजिरह्यो, जहाँजहाँ गयो, त्यहींत्यहींकै भयो...’

दिदी, बुढ्यौली लागेको भान भएको छैन ?
हिंड्ने, बस्ने, खाने कुरामा उमेरअनुसार थाकेको पक्कै हो । तर, सृजनकर्ममा (त्यो क्या) गानाबजानामा बूढी भएको मान्दिनँ । अहिले पनि नयाँ कम्पोज गरिरहेकै छु, चेलाचेलीलाई सिकाइरहेकै छु ।

तपाईं हरेक वर्षजसो मानसम्मान थाप्न नेपाल आइरहनुभएकै छ । दशगजा नाघेर हरेक पटक यता आउँदा कस्तो महसुस हुन्छ ?
हो, नेपाल राष्ट्र अर्कै राष्ट्र हो— हाम्रोनिम्ति । हामी त भारतमा छौं, भारतीय हौं । हामीलाई जसले मन पराउँदैन, हामीलाई बाहिरको भन्छन् । हामी सही बस्छौं । उता हामीलाई मान्नेहरू पनि थुप्रै छन् । यसरी निम्तो पाएर नेपाल आएपिच्छे आनन्द लाग्छ, औधी खुसी हुन्छु । नेपालले हामीलाई बिर्सिंदैन, पटक्कै भुल्दैन भन्ने लाग्छ । हामीले कुनै दिन अलिकति योगदान दिएका थियौं होला, तैपनि नेपालले मूल्यांकन गरेर बोलाइरहन्छ । यो सम्झेर म नेपालप्रति आभार व्यक्त गर्छु, सधैं आभारी छु ।

थोरै भूगोलको कुरा गरौं । तपाईं भारतमा हुनुहुन्छ, भारतीय हुनुहुन्छ । तर, तपाईंलाई सक्दो नाम–काम र सम्मान नेपाल–नेपालीले दिएको छ । उता रहेर हिन्दी वा बंगाली गीतसंगीत क्षेत्रमै लागेको भए अझ बढी उचाइमा पुगिने थियोजस्तो लाग्दैन ?
पहिले–पहिले यस्तो सोच्थें (क्या) । अहिले भने यस्तो सोच्न छाडें । मैले कलकत्ताका रवीन्द्र भारतीबाट ३ वर्षे शास्त्रीय संगीतको तालिम गरेपछि भने यस्तो कुरा बढी सोच्ने गर्थें । त्यो तालिम सकेर म दार्जिलिङ नै फिरें, १९६१ तिर । फर्केर त्यहाँको लोकमनोरञ्जन शाखामा जागिरे बनें । म ठूलो खोलाबाट सानो खहरेमा फर्किएजस्तै बनेकी थिएँ । बरु कलकत्तै बसेर गीतसंगीत अभ्यास र अरू तालिम गरेको भए हुने थियो भन्ने लाग्थ्यो । तर, जे भयो अच्छै भयो भन्ने लाग्छ अहिले क्या ।

यो राजनीतिको कुरा त होइन । तर, दार्जिलिङ क्षेत्र त तपाईंले थाहा पाएदेखि अस्थिर र अशान्त छ नि, राजनीतिकै कारण ? तपाईं कलाकर्मी, संगीतकर्मीहरूलाई यस्तो कुराले छुँदैन ?
हत्तेरि छुन्छ नि । भाषा, साहित्य, कला, संस्कृति, संगीत, सभ्यता र सबैभन्दा ठूलो कुरा हाम्रो अस्तित्वको कुरा हामी बसेको भूगोलमै जोडिएको हुन्छ । राजनीतिले सबै जातजातिको भलो गरोस्, थिचोमिचो नहोस् भन्ने न हो । पछि गएर अम्बर गुरुङ, अगमसिंह गुरुङहरूले गीत–शब्दमार्फत ‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको’ भनेपछि पो हामी धेरै झस्केका थियौं त । झसंग हुने गरी त्यहाँ हाम्रो अस्तित्वको प्रश्न जोडिएर आएको थियो, पहिलो पटक । आज दार्जिलिङ रित्तो हुँदै छ । युवाहरू पलायन हुँदै छन् । कलासंस्कृतिको कुरो पहिलेजस्तो बेजोडको छैन । विशेषगरी राजनीतिक स्थिरता भइदिए राम्रो हुन्थ्यो कि भन्ने हो ।

अहिले सांगीतिक संगत, माहोल र गतिविधि के कस्तो छ दार्जिलिङमा ?
अहिले उता शून्य–शून्य छ । हाम्रो अघिल्लो पुस्ता निष्क्रिय भइसक्यो, नयाँ पुस्ताको आफ्नै तरिका छ । तर, पुरानो समयको माहोल र अपनत्वले भरिएको ‘क्रिएसन’ भने छैन । अहिले व्यापार बढी छ, टालटुल गरेर र थुप्रै ‘टेक’ लिएर पनि गीत रेकर्ड गर्न सकिने अवस्था छ । मेरा पालामा एक सासमा एउटा गीत गाउनुपथ्र्यो । भए हुन्छ, नभए हुन्न । बरु अहिले र पहिलेको तुलनै नगरौं क्या ।

एउटा आम–प्रश्न छ तपाईंबारे, तपाईंले किन बिहा गर्नुभएन ? बिहा नगरेको अथवा नभएको हो ?
यो एकदमै सामान्य प्रश्न हो, मेरा लागि । हरेक पटक यसमा उत्तर अलग–अलग हुन्छ क्या । ‘मगनी’ गर्नेहरू पनि आएकै हुन् । परिस्थिति होला, कतिपय कारण खोजी हेर्दा । बिहा म आफैंले पनि नसोचेको र नचाहेको कुरा थियो । जीवनयात्रामा त्यस्ता कतिपय भेटघाट भए पनि । तर आए, गए । म्युजिकमै नित्य लागिरहेकाले अरू सोचाइ आएन क्या । बिहा गरिनँ, नगरेकोमा आज मलाई सन्तुष्टि छ, भनी नसाध्ये सन्तुष्टि । आज म जहाँ छु, बिहा नगरेकै कारण आइपुगेकी हुँ भन्ने लाग्छ । बिहा गरेको भए अनेक झमेलामाझ म कहींकतै हराएकी हुन्थें होला । मान्छेहरूले भन्थे होलान्, ‘एउटी शान्ति ठटाल भन्ने गायिका थिई, उहिलेउहिले गीत गाइटोपल्थी... । म एकादेशमा हुन्थें होला ।’

आफूलाई गायिका भनेर चिनाउनुहुन्छ कि संगीतकार ?
‘सम्हालेर राख, सँगालेर राख’ (शब्द/संगीत अम्बर गुरुङ) बोलको गीत आधारमा मलाई गायिका भनेर चिन्नेहरू जति छन्, ‘उडीजाऊँ भने म पक्षी होइन’ (परालको आगो) गीतका आधारमा संगीतकार भनेर सम्झने पनि छँदै छन् । खासमा म कलकत्ता पढेर आएपछि मेरो स्वरमा अलिक गिरावट आएको थियो । त्यही भएर म कम्पोजिसनमा अलिक बढी लागें । त्यसो भनेर गाउन छाडेकै भने होइन । धेरै पछिसम्म काठमाडौंमा ‘पलेंटी’ मा गाउन आइरहें । तर, मलाई संगीतकर्मी भनिदिए पुग्छ ।

कलकत्ताबाट फिर्नेबित्तिकै संयोगले तपाईंको अम्बर गुरुङसँग सुरु भएको सांगीतिक–संगत निकै ‘उपलब्धिपूर्ण’ रह्यो । तपाईंसँग झन्डै ५० जति ‘रेकर्डेड’ अथवा रेकर्ड नभएका गीतहरू त गुरुङकै होलान् । तपाईं आफूलाई भने सबैभन्दा मन पर्ने, मन छुने गीत कुन होला ?
मलाई मात्रै होइन, अगमसिंह गुरुङ दाजुले पनि दोहोर्‍याउँदै फर्माइस गरिरहने एउटै गीत थियो । मलाई लाग्ने, हृदय नजिकै अनुभूत हुने गीत एउटै छ, अम्बर गुरुङज्यूको
शब्द–संगीतमा :
जहिले तिमी आऊ
बिरानीले सोध्छ
बिरानीमा फुल्ने फूल
तिमीलाई नै खोज्छ...

प्रकाशित : श्रावण १२, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

गृहिणी : तेहरो भूमिका

आवाज
मेरो ममी त केही काम नै गर्नुहुन्न, मेरो ममी हाउस–वाइफ हो । घरमा बस्नुहुन्छ । बिहान सबै उठ्नुभन्दा अगाडि उठ्नुहुन्छ ।
प्रतिमा उप्रेती

काठमाडौँ — न कसैले देख्छ, न बुझ्छ । न सम्झन्छ, न विवेकी भएर सोच्छ । एउटी छोरी मान्छे भएर नेपाली समाजमा जन्मनुको अर्थ के हो ? सधैंभर आफ्ना लागि होइन, अरूका लागि बाँच्ने ? ‘निर्णायक’ कहिल्यै हुन सकिएकै छैन, पुरुषकै निर्णय कहिलेसम्म पर्खिरहने ? कहिलेसम्म बेहोरिरहने यो तेहरो भूमिका ?

बाल्यकालदेखि मैले ‘हाउस–वाइफ’ को अर्थ खोजिरहेंं । हाउस–वाइफ अर्थात् घरको बूढी ? अथवा, बूढीले बनाएको घर ?


‘हाउस’ भनेको ‘वाइफ’ बिना हुन्न भनेको हो कि ? अथवा ‘वाइफ’ नभएको घर हुन्न भनेको पो हो कि ? साँच्चै, के हो यो हाउस–वाइफ भनेको ? मलाई यो प्रश्नले सधैं सताइरहेको हुन्थ्यो, हुन्छ । झन बुझ्यो झन् कठिनजस्तो ! कस्तो–कस्तो !
कस्तो सामान्य लाग्छ यो शब्द, कति सजिलो लाग्ने अर्थ छ । तैपनि कति ‘जटिल’ छ । जानीनजानी हरेक दिन हामी प्रयोग गरिरहेका छौं— हाउस–वाइफ ।


मैले कुनै नयाँ कुरा त भनेको होइन । मेरो घरपरिवारमा, आँखै सामुमा बितेको २३ वर्षदेखि देखेको कुरा हो यो । हाम्रो समाजमा, स्कुल–कलेजमा बुझिएको यो शब्दको अर्थ र भावार्थ बढो गजबको हुन्छ ।


संवाद सुरु हुन्छ यसरी :
तिम्रो ममी के काम गर्नुहुन्छ छोरी ?
मेरो ममी त केही काम नै गर्नुहुन्न, मेरो ममी हाउस–वाइफ हो । घरमा बस्नुहुन्छ । बिहान सबै उठ्नुभन्दा अगाडि उठ्नुहुन्छ । घर सबै सफा गर्नुहुन्छ । भुइँ–झ्यालढोका
पुछ्नुहुन्छ । घरका सब मान्छेलाई के–के खाने हो, पकाएर दिनुहुन्छ । र, सबैभन्दा पछि सबै जनाले खाएपछि आफू खानुहुन्छ । अनि अन्तिममा भाँडा माझ्नुहुन्छ । भ्याउँदा हामीलाई स्कुल पनि पुर्‍याउनुहुन्छ । घरमा आएर हाम्रो बाबाको, हजुरआमाको लुगा धुनुहुन्छ । फेरि हामी सबलाई खाजा पकाउनुहुन्छ । घरका सबै मान्छेलाई खुसी बनाउनुहुन्छ । तर, मेरो ममीले केही काम गर्नुहुन्न ।


म यस्तै जवाफ दिन्थें । अरू मेरा साथीभाइ पनि यही जवाफ दिन्थे । आम बालबालिकाले दिने सहज उत्तर यही नै हुन्थ्यो ।
फेरि कुनै जमघट या अवसरमा अर्को प्रश्न सुन्नुपर्ने हुन्छ । जहाँ घरका मुली अथवा श्रीमान् ठाँटिएर बसेका हुन्छन् । अनि प्रश्न झर्छ ।
तपाईंको बूढीले के काम गर्नुहुन्छ ?


केही गर्दिनँ, घरमैं बस्छे । महिना मरेपछि म लगेर हातमा पैसा हाल्दिन्छु । उसलाई आनन्द छ नि । बरु हामीलाई पो कसरी परिवार पालौं, गर्जो टारौं भन्ने टेन्सन हुन्छ ।
तपाईंंलाई कहिल्यै लाग्दैन– घरको काम, घरधन्दा झन् कति गाह्रो हुन्छ ?


के गाह्रो हुनु नि ? झन यहाँ पैसा कमाउन कति टेन्सन हुन्छ, अर्काले कमाएर ल्याएको पैसाले घर चलाउन के गाह्रो ? खुरुखुरु खर्च मात्रै गर्ने त हो नि ।
यो उत्तर एकदमै सामान्य हो, सधैं सुनिरहेकै । हो, मेरो बूढी, ममी, छोरी, बुहारी भाउजू केही काम गर्नुहुन्न । बरु दिनभर घरमा बस्नुहुन्छ ।
अब यसो सोचौंं— यदि एउटी ममिको दृश्यभन्दा अलि फरक तवरले सोच्ने हो भने, हामीले सोचेको, कल्पना गरेको समाज अनि हाउस–वाइफको अर्थ ।
तिम्रो ममी के काम गर्नुहुन्छ ?


छाराछोरी : मेरो ममी घरको सबै काम गर्नुहुन्छ र, मेरो घरलाई अथवा घरमा ममी भएर मात्रै ‘घर’ भन्न मिलेको छ— मेरो ममी ‘होम–मेकर’ हो । उहाँ यति ट्यालेन्ट, क्रिएटिभ हुनुहुन्छ कि उहाँलाई घरमा कसरी–के कुरा मिलाउन पर्छ, सबै थाहा छ ।


बूढा : मेरो बूढीले धेरै काम गर्छिन् । म र मेरो बूढी मिलेर घर, हाम्रो दैनिक जीवन र परिवार सपार्ने (बनाउने) काम गर्छौं । एकअर्कालाई सपोर्ट गरिरहेका छौं । मेरो श्रीमती नभएको भए मेरो घर आजजस्तो छ ,त्यस्तो हुन्न थियो होला । पैसा हाम्रो जीवनमा चाहिन्छ तर, पैसा भएर पनि त्यसको राम्रो प्रयोग गर्न सकिएन भने त्यो पैसाले हामीले खुसी किन्न सक्दैनौं । मेरो बूढीले बिनास्वार्थ, बिनालालच मेरो घरलाई ‘घर’ बनाउने काम गरेकी छन् ।

घरमा रहने भनेको आमा, ममी, भाउजू, दिदी, बुहारी नै हुन् । अथवा भनौं, यिनै सही अर्थमा घर–कुरुवा हुन् । तर दुर्भाग्य, अहिले नेपाली महिलाको अवस्था दुर्भाग्यपूर्ण छ अर्थात् जसले घरलाई ‘घर’ बनाएका छन्, उनीहरूकै मूल्य–मान्यता र सम्मान केही पनि छैन । एउटी ममीको योगदान प्रतिव्यक्ति आयमा पनि कहींकतै गणना हुन्न । हिसाब र अनुपातमा राखेर भन्ने हो भने एउटा घरभित्र जति पनि समय बिनापैसा महिलाहरूले काम गरिराख्नुभएको छ, यसको मूल्य–मूल्यांकन के हुन सक्ला ?


मानौं, घरको काम भनेको सबै नै महिलाहरूको मात्रै उत्तरदायित्व हो । यो मामला पुरुषको टाउको दु:खाइ हुँदै होइन । जति नै ठूलो ठूलो गफ दिए पनि, ३३ प्रतिशतका हकदार महिला हुन्— राज्य, नियम र संविधानले तोकेको । तर लाग्छ, यो प्रतिशत भनेको ‘भीख’ मात्रै हो, जसरी प्रस्तुत गरे पनि हुने खालको भीख ।


झन् अहिले महिलाहरूले जेजसरी र जुन अवस्थामा तेहरो भूमिका निर्वाह गरिरहेका छन्, यसको हिसाबकिताब अझ कहालीलाग्दो छ । बच्चाहरू भनेको त बूढी (श्रीमती) का मात्रै हुन् र, बच्चा पाएदेखि नहुर्केसम्म सबै उत्तरदायित्व आमा (महिला) को मात्रै हो भन्ने गजबको सोचाइ हामीमाझ छ । बच्चाहरूको सबै काम विचार गरेरै आफूले हतारहतार दालभात खानुपर्‍यो, हतारमै भाँडा माझ्नुपर्‍यो, कुदेरै अफिस जानुपुर्‍यो अथवा अफिसबाट कुदेरै घर फिर्नुपर्‍यो आदि । यसबाहेक परिवार र समाजमा रहेका अरू जिम्मेवारी त छँदैछन् । हो, यो विभेदकारी दैनिकीबारे ठूलो प्रश्नचिह्न लगाउन सकिन्छ यहाँ ।


के घर ममीको मात्रै हो ? घरको सबै काम ममीको मात्रै हो ? दिनरात नभनी घरमा गरेको कामको केही मूल्य छैन ? साँच्चै, महिलाहरूको श्रम जीडीपीमा समावेश गर्नुपर्छ कि पर्दैन होला ?


हामी ठूलै स्वरमा र समूहमा मिलेरै घरेलु हिंसाको चर्को कुरा गर्छौं । आखिर किन बढेको हो यो हिंसा ? सबै कुरा दबाएर महिला जहिले पनि फरक नै हो, ‘सेकेन्ड सेक्स’ नै मात्रै हो भनेर यस्तो स्थिति आएको हो कि ? एकातिर ‘फ्रिडम’ नभएको अवस्था, अर्कातिर सधैं ‘शंका’ मात्रै गरिएको अवस्था !


हो, धेरै वर्षदेखि यसरी नै चलिराखेको थियो भन्दैमा ‘सधैं यसरी नै चल्नुपर्छ’ भन्ने केही छैन । धेरै कुराहरू त हामीले सायद आफैंबाट सुरुआत गर्नुपर्छ होला । हामीबीच महिला/पुरुष भनेर मात्रै ‘जज’ गर्नु र एकतर्फी धारणा राख्नुभन्दा ‘हामी सबै मानव हौं’ भनेर सोच्ने हो भने धेरै कुरा आफैं ठेगानमा लाग्ने थिए होलान् । अन्यथा यो रोइलो सधैंभरलाई यस्तै हो ।


न कसैले सुन्छ, न कसैले बुझ्छ । यही कारण हाम्रा आमा, दिदी, बहिनी र म स्वयं सधैं तेहरो भूमिकामा जकडिएकै हुन्छौं— म एक नादान केटी, म परिवारकी कमजोर महिला र, म यो समाजमा बोली नबिक्ने एउटी आइमाई । जन्मदेखि मृत्युसम्मकै तेहरो भूमिका !

प्रकाशित : श्रावण ५, २०७५ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×