गृहिणी : तेहरो भूमिका

आवाज
मेरो ममी त केही काम नै गर्नुहुन्न, मेरो ममी हाउस–वाइफ हो । घरमा बस्नुहुन्छ । बिहान सबै उठ्नुभन्दा अगाडि उठ्नुहुन्छ ।
प्रतिमा उप्रेती

काठमाडौँ — न कसैले देख्छ, न बुझ्छ । न सम्झन्छ, न विवेकी भएर सोच्छ । एउटी छोरी मान्छे भएर नेपाली समाजमा जन्मनुको अर्थ के हो ? सधैंभर आफ्ना लागि होइन, अरूका लागि बाँच्ने ? ‘निर्णायक’ कहिल्यै हुन सकिएकै छैन, पुरुषकै निर्णय कहिलेसम्म पर्खिरहने ? कहिलेसम्म बेहोरिरहने यो तेहरो भूमिका ?

गृहिणी : तेहरो भूमिका

बाल्यकालदेखि मैले ‘हाउस–वाइफ’ को अर्थ खोजिरहेंं । हाउस–वाइफ अर्थात् घरको बूढी ? अथवा, बूढीले बनाएको घर ?


‘हाउस’ भनेको ‘वाइफ’ बिना हुन्न भनेको हो कि ? अथवा ‘वाइफ’ नभएको घर हुन्न भनेको पो हो कि ? साँच्चै, के हो यो हाउस–वाइफ भनेको ? मलाई यो प्रश्नले सधैं सताइरहेको हुन्थ्यो, हुन्छ । झन बुझ्यो झन् कठिनजस्तो ! कस्तो–कस्तो !
कस्तो सामान्य लाग्छ यो शब्द, कति सजिलो लाग्ने अर्थ छ । तैपनि कति ‘जटिल’ छ । जानीनजानी हरेक दिन हामी प्रयोग गरिरहेका छौं— हाउस–वाइफ ।


मैले कुनै नयाँ कुरा त भनेको होइन । मेरो घरपरिवारमा, आँखै सामुमा बितेको २३ वर्षदेखि देखेको कुरा हो यो । हाम्रो समाजमा, स्कुल–कलेजमा बुझिएको यो शब्दको अर्थ र भावार्थ बढो गजबको हुन्छ ।


संवाद सुरु हुन्छ यसरी :
तिम्रो ममी के काम गर्नुहुन्छ छोरी ?
मेरो ममी त केही काम नै गर्नुहुन्न, मेरो ममी हाउस–वाइफ हो । घरमा बस्नुहुन्छ । बिहान सबै उठ्नुभन्दा अगाडि उठ्नुहुन्छ । घर सबै सफा गर्नुहुन्छ । भुइँ–झ्यालढोका
पुछ्नुहुन्छ । घरका सब मान्छेलाई के–के खाने हो, पकाएर दिनुहुन्छ । र, सबैभन्दा पछि सबै जनाले खाएपछि आफू खानुहुन्छ । अनि अन्तिममा भाँडा माझ्नुहुन्छ । भ्याउँदा हामीलाई स्कुल पनि पुर्‍याउनुहुन्छ । घरमा आएर हाम्रो बाबाको, हजुरआमाको लुगा धुनुहुन्छ । फेरि हामी सबलाई खाजा पकाउनुहुन्छ । घरका सबै मान्छेलाई खुसी बनाउनुहुन्छ । तर, मेरो ममीले केही काम गर्नुहुन्न ।


म यस्तै जवाफ दिन्थें । अरू मेरा साथीभाइ पनि यही जवाफ दिन्थे । आम बालबालिकाले दिने सहज उत्तर यही नै हुन्थ्यो ।
फेरि कुनै जमघट या अवसरमा अर्को प्रश्न सुन्नुपर्ने हुन्छ । जहाँ घरका मुली अथवा श्रीमान् ठाँटिएर बसेका हुन्छन् । अनि प्रश्न झर्छ ।
तपाईंको बूढीले के काम गर्नुहुन्छ ?


केही गर्दिनँ, घरमैं बस्छे । महिना मरेपछि म लगेर हातमा पैसा हाल्दिन्छु । उसलाई आनन्द छ नि । बरु हामीलाई पो कसरी परिवार पालौं, गर्जो टारौं भन्ने टेन्सन हुन्छ ।
तपाईंंलाई कहिल्यै लाग्दैन– घरको काम, घरधन्दा झन् कति गाह्रो हुन्छ ?


के गाह्रो हुनु नि ? झन यहाँ पैसा कमाउन कति टेन्सन हुन्छ, अर्काले कमाएर ल्याएको पैसाले घर चलाउन के गाह्रो ? खुरुखुरु खर्च मात्रै गर्ने त हो नि ।
यो उत्तर एकदमै सामान्य हो, सधैं सुनिरहेकै । हो, मेरो बूढी, ममी, छोरी, बुहारी भाउजू केही काम गर्नुहुन्न । बरु दिनभर घरमा बस्नुहुन्छ ।
अब यसो सोचौंं— यदि एउटी ममिको दृश्यभन्दा अलि फरक तवरले सोच्ने हो भने, हामीले सोचेको, कल्पना गरेको समाज अनि हाउस–वाइफको अर्थ ।
तिम्रो ममी के काम गर्नुहुन्छ ?


छाराछोरी : मेरो ममी घरको सबै काम गर्नुहुन्छ र, मेरो घरलाई अथवा घरमा ममी भएर मात्रै ‘घर’ भन्न मिलेको छ— मेरो ममी ‘होम–मेकर’ हो । उहाँ यति ट्यालेन्ट, क्रिएटिभ हुनुहुन्छ कि उहाँलाई घरमा कसरी–के कुरा मिलाउन पर्छ, सबै थाहा छ ।


बूढा : मेरो बूढीले धेरै काम गर्छिन् । म र मेरो बूढी मिलेर घर, हाम्रो दैनिक जीवन र परिवार सपार्ने (बनाउने) काम गर्छौं । एकअर्कालाई सपोर्ट गरिरहेका छौं । मेरो श्रीमती नभएको भए मेरो घर आजजस्तो छ ,त्यस्तो हुन्न थियो होला । पैसा हाम्रो जीवनमा चाहिन्छ तर, पैसा भएर पनि त्यसको राम्रो प्रयोग गर्न सकिएन भने त्यो पैसाले हामीले खुसी किन्न सक्दैनौं । मेरो बूढीले बिनास्वार्थ, बिनालालच मेरो घरलाई ‘घर’ बनाउने काम गरेकी छन् ।

घरमा रहने भनेको आमा, ममी, भाउजू, दिदी, बुहारी नै हुन् । अथवा भनौं, यिनै सही अर्थमा घर–कुरुवा हुन् । तर दुर्भाग्य, अहिले नेपाली महिलाको अवस्था दुर्भाग्यपूर्ण छ अर्थात् जसले घरलाई ‘घर’ बनाएका छन्, उनीहरूकै मूल्य–मान्यता र सम्मान केही पनि छैन । एउटी ममीको योगदान प्रतिव्यक्ति आयमा पनि कहींकतै गणना हुन्न । हिसाब र अनुपातमा राखेर भन्ने हो भने एउटा घरभित्र जति पनि समय बिनापैसा महिलाहरूले काम गरिराख्नुभएको छ, यसको मूल्य–मूल्यांकन के हुन सक्ला ?


मानौं, घरको काम भनेको सबै नै महिलाहरूको मात्रै उत्तरदायित्व हो । यो मामला पुरुषको टाउको दु:खाइ हुँदै होइन । जति नै ठूलो ठूलो गफ दिए पनि, ३३ प्रतिशतका हकदार महिला हुन्— राज्य, नियम र संविधानले तोकेको । तर लाग्छ, यो प्रतिशत भनेको ‘भीख’ मात्रै हो, जसरी प्रस्तुत गरे पनि हुने खालको भीख ।


झन् अहिले महिलाहरूले जेजसरी र जुन अवस्थामा तेहरो भूमिका निर्वाह गरिरहेका छन्, यसको हिसाबकिताब अझ कहालीलाग्दो छ । बच्चाहरू भनेको त बूढी (श्रीमती) का मात्रै हुन् र, बच्चा पाएदेखि नहुर्केसम्म सबै उत्तरदायित्व आमा (महिला) को मात्रै हो भन्ने गजबको सोचाइ हामीमाझ छ । बच्चाहरूको सबै काम विचार गरेरै आफूले हतारहतार दालभात खानुपर्‍यो, हतारमै भाँडा माझ्नुपर्‍यो, कुदेरै अफिस जानुपुर्‍यो अथवा अफिसबाट कुदेरै घर फिर्नुपर्‍यो आदि । यसबाहेक परिवार र समाजमा रहेका अरू जिम्मेवारी त छँदैछन् । हो, यो विभेदकारी दैनिकीबारे ठूलो प्रश्नचिह्न लगाउन सकिन्छ यहाँ ।


के घर ममीको मात्रै हो ? घरको सबै काम ममीको मात्रै हो ? दिनरात नभनी घरमा गरेको कामको केही मूल्य छैन ? साँच्चै, महिलाहरूको श्रम जीडीपीमा समावेश गर्नुपर्छ कि पर्दैन होला ?


हामी ठूलै स्वरमा र समूहमा मिलेरै घरेलु हिंसाको चर्को कुरा गर्छौं । आखिर किन बढेको हो यो हिंसा ? सबै कुरा दबाएर महिला जहिले पनि फरक नै हो, ‘सेकेन्ड सेक्स’ नै मात्रै हो भनेर यस्तो स्थिति आएको हो कि ? एकातिर ‘फ्रिडम’ नभएको अवस्था, अर्कातिर सधैं ‘शंका’ मात्रै गरिएको अवस्था !


हो, धेरै वर्षदेखि यसरी नै चलिराखेको थियो भन्दैमा ‘सधैं यसरी नै चल्नुपर्छ’ भन्ने केही छैन । धेरै कुराहरू त हामीले सायद आफैंबाट सुरुआत गर्नुपर्छ होला । हामीबीच महिला/पुरुष भनेर मात्रै ‘जज’ गर्नु र एकतर्फी धारणा राख्नुभन्दा ‘हामी सबै मानव हौं’ भनेर सोच्ने हो भने धेरै कुरा आफैं ठेगानमा लाग्ने थिए होलान् । अन्यथा यो रोइलो सधैंभरलाई यस्तै हो ।


न कसैले सुन्छ, न कसैले बुझ्छ । यही कारण हाम्रा आमा, दिदी, बहिनी र म स्वयं सधैं तेहरो भूमिकामा जकडिएकै हुन्छौं— म एक नादान केटी, म परिवारकी कमजोर महिला र, म यो समाजमा बोली नबिक्ने एउटी आइमाई । जन्मदेखि मृत्युसम्मकै तेहरो भूमिका !

प्रकाशित : श्रावण ५, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?