कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

लेनिनलाई सलामी

यात्रा
लेनिनबारेमा धेरै पटक पढिसकेको थिएँ, रुसी अक्टोबर समाजवादी क्रान्तिको इतिहास पनि सुन्दै आएको थिएँ । तर लेनिनकै देशमै पुगेर सम्मान चढाउने अवसर पाउँदाको क्षण अविस्मरणीय रह्यो ।
हस्तबहादुर केसी

काठमाडौँ — सन् २०१७ नोभेम्बर १, दिनको २.४० । हाम्रो १५ सदस्यीय टोली फ्लाई दुबई जेट विमानबाट रुसको राजधानी मस्कोस्थित भेनोकोभो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो । हामी रुसकै ऐतिहासिक सहर लेनिनग्राद जाँदै थियौं । लेनिनग्राद महान् लेनिनले सशस्त्र जनविद्रोहको उद्घोष गरेको ऐतिहासिक स्थान थियो ।

लेनिनलाई सलामी

त्यो अक्टोबर क्रान्तिले सन् २०१७ नोभेम्बर ७ का दिन १ सय वर्ष पूरा गर्दै थियो । रुसका क्रान्तिकारी धारका कम्युनिस्ट पार्टीहरूले आयोजना गर्न लागेको अक्टोबर क्रान्तिको शतवार्षिक उत्सवमा भाग लिन जाँदै थियौं हामी ।


राजधानी मस्कोमा नोभेम्बर १ देखि ४ सम्म बस्ने र त्यहाँ लेनिन–स्टालिनले गरेको योगदानमाथि अध्ययन, अवलोकन गर्ने कार्यक्रम तय भएको थियो । ४ नोभेम्बरका दिन राति रेल्वे लाइनको यात्राबाट लेनिनग्राद जाने कार्यक्रम थियो ।


हामी विमानस्थलबाट बाहिर निस्कने क्रममा थियौं । अलि पर गेटमा रुसी क्रान्तिकारी कम्युनिस्ट नेता कमरेड दिमित्री कोन्चेन्कोको नेतृत्वमा एउटा टोली आएको रहेछ— हामीलाई स्वागत गर्न । दिमित्रीका साथमा एलेक्सी, यन्तोन तथा एलिसासमेत थिए । क. दिमित्रीसँग त मेरो उत्तर कोरियामा चिनजान र बसउठ भएको थियो । दिमित्रीको नेतृत्वमा अगाडि बढ्यौं । आधा बाटो गाडी र आधा बाटो मेट्रो रेलको यात्राबाट हामीलाई बस्न व्यवस्था गरिएको होटेलमा पुग्यौं । मसहित ७ जनालाई एउटा होस्टलमा राखियो, अन्यलाई होटलमा । त्यही बखत ब्राजिल, बेल्जियम, नेदरल्यान्ड र कोरियाका कमरेडहरू पनि त्यही होटलमा आइपुगे । बाहिर बाक्लो हिउँ जमेको थियो । होस्टेलमा खाना पकाउने व्यवस्था रहेछ ।
त्यही नै खाना पकायौं, खायौं । यो ज्यादै शिक्षाप्रद विषय थियो ।


भोलिपल्ट बिहान नोभेम्बर २ मा बिहानी खाना खाएर हामी निस्कियौं, एलेक्सी र यन्तोन हाम्रा गाइड थिए । सबै जम्मा भइसकेपछि दिमित्रीबाट रुसी भाषामा ‘पहिलो नम्बरमा रेडस्क्वायरमा रहेको माक्र्सको सालिकमाथि सलामी, त्यसपछि महान् लेनिनको पार्थिव शरीर (शव) को अवलोकन गर्ने र सलामी दिएर फर्कने कार्यक्रम’ रहेको जानकारी आयो । बेल्जियमका कमरेडले अंग्रेजी भाषाबाट हामीलाई बुझाउने काम गरेका थिए ।


करिब आधा घण्टा मेट्रो रेलबाट मस्को पुग्यौं । सहर विशाल थियो, सडकहरू पनि धेरै फराकिला लाग्थे । गाडीको भीड बाक्लो थियो । मलाई त कतिखेर वैज्ञानिक साम्यवादका सिद्धान्तकार तथा दार्शनिक कार्ल माक्र्सको सालिक भएको ठाउँमा पुगिएला भन्ने भएको थियो । लेनिनको पार्थिव शरीरमा सलामी दिने समय पनि म पर्खिरहेको थिएँ ।
यसअघि, मैले सन् २०१६ जुलाई १६ का दिन बिहान चिनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायर चोकमा राखिएको कमरेड माओत्सेतुङको पार्थिव शरीरमाथि सलामी दिने मौका पाएको थिएँ । त्यस्तै सन् २०१७ अप्रिल १५ का दिन उत्तर कोरियाका नेता किम इल सङ र किम इल जङको पार्थिव शरीरमाथि राजधानी प्योङयाङमा पुगेर सलामी दिने मौका पाएको थिएँ ।


सडक वारपर सेतै हिउँ जमेको थियो, कठांगिँ्रदो चिसो थियो । नेपाली र युरोपियन गरी हाम्रो ४० जनाको टोली थियो । मस्कोस्थित विशाल रेडस्क्वायर मैदान पश्चिममा एउटा विशाल चोकमा कार्ल माक्र्सको सालिक रहेछ । सालिकमाथि बढो भावपूर्ण र हार्दिकतासाथ लाल सलामको सलामी चढायौं । फूलमाला चढाउने चलन रहेनछ । अब
रह्यो— लेनिनको पार्थिव शरीर राखेको स्थानमा पुग्ने । सडकको वरपर ठूलाठूला भवन देखिन्थे । हामी क्रेमलिन भवननजिक पुग्दै थियौं । त्यहाँबाट पूर्वतिर मोडिएर रेडस्क्वायर मैदानको पश्चिमी गेटमा पुग्यौं । दायाँपट्टि अगाडि निकै ठूलो लाइनमा मानिसहरू देखिए । लाइन बिस्तारै अगाडि बढिरहेको थियो । चेक जाँचपछि एउटा ज्यादै महत्त्वपूर्ण स्थानमा पुगियो । त्यहाँ धेरै रुसी सहिदका फोटा–कदका सालिकहरू देखिन्थे । गार्डेनको अन्तिमतिर स्टालिनको छोटो कदको सालिक राखिएको रहेछ । अन्यत्र स्टालिनका सालिक पाउन मुस्किल थियो, बोरिस यल्तसिनको प्रतिक्रियावादी सरकारले स्टालिनका सालिक ध्वस्त पारेको पहिले नै सुनिसकेको थिएँ ।


तीन/चार सिँढी तल ओर्लिसकेपछि एउटा विशाल भवनको मूलढोकानेर पुग्यौं । त्यहाँबाट पनि पश्चिमतिरको कोठातिर पस्यौं, कोठा अलि अँध्यारो थियो । महान् लेनिनको पार्थिव शरीरलाई पूर्वतिर सिरानी राखेर आरामले सुताइएको रहेछ । अनुहार र हातमा चम्किलो बिजुलीको प्रकाश दिइएको रहेछ । नजिकै पुगेर लेनिनको शवमाथि लाल सलाम
सलामी चढाउँदै भावपूर्ण तरिकाले सम्मान गर्‍यौं ।


त्यो क्षण अत्यन्तै ऐतिहासिक एवं अविस्मरणीय रह्यो मेरो जीवनमा ।


लेनिनबारेमा धेरै पटक पढिसकेको थिएँ, रुसी अक्टोबर समाजवादी क्रान्तिको इतिहास पनि सुन्दै आएको थिएँ । तर यसरी, लेनिनकै देशमै पुगेर लेनिनको शव राखिएको स्थानमा सम्मान चढाउने अवसर पाउँदाको क्षण अविस्मरणीय रह्यो । अविस्मरणीय क्षणपछि हामी विशाल रेडस्क्वायर मैदान भएतिर निस्क्यिौं । त्यो ऐतिहासिक क्षणलाई मैले जीवनभर भुल्न नसक्ने अनुभूति बटुलेर त्यहाँबाट हामीहरू बाहिरियौं ।

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?