मञ्च राजनीति

अनुभूति
हाम्रो देशको इतिहासका अनेक कालखण्डमा महिलाहरूले आफ्नो ज्यान बाजीमा राखेर राष्ट्रका लागि लडेका थिए । तर, त्यस्ता पात्रहरू सधैँ नेपथ्यमै बिलाए । शक्ति र सत्ता सम्हाल्नेहरूमा अन्तत: पुरुषहरू नै अगाडि हुन्छन् ।
कुमारी लामा

काठमाडौँ — संगीन विषय भएको छ महिला सहभागिताका कुरा । बारम्बार उठ्दै छ प्रश्न सार्वजनिक मञ्चमा महिलाहरूको एकदमै न्यून उपस्थितिका विषय । महिला वक्ता नराखिएका साहित्यिक कार्यक्रमहरूमा सहभागिता नजनाउने प्रतिबद्धता गर्नेहरूको पनि सूची लम्बिँदै छ । हरेक क्षेत्रका महिलाहरू आफ्नो स्पेस खोजिरहेका छन् र आवाज मुखरित गरिरहेका छन् । तर यति हुँदाहुँदै पनि फेरि उनीहरू मञ्चहरूबाट टाढाटाढा नै छन् ।

राजनीतिक दलहरूभित्रको जड पुरुष प्रवृत्ति त हालसालै एक भएको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा परेका महिला संख्याले पनि छताछुल्ल परिसकेको छ । त्यस्तै व्यवहार, समतामूलक, न्यायिक समाज निर्माणको वकालतमा लागिरहेका साहित्यकारका वृत्तमा पनि निकै हावी देखिन्छ । हालै राजधानीमा भएको एक अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा राखिएका सेसनहरूमा मुस्किलले एक–दुई महिला वक्ता या सहजकर्ता पर्नुले पनि उही संकेत गरिसकेको छ । पुस्तक विमोचन होस् या बहस कार्यक्रम— महिलाहरू बहिष्करणमै परिरहेका हुन्छन् । किन यस्तो (?) भन्ने प्रश्न उठाउँदा आयोजकहरू भन्न पछि पर्दैनन्, ती विषयमा बोल्न सक्ने महिला नै भेटिएन । केको आधारमा भने हुनन् कि बोल्न सक्ने महिला नै भेटिएनन् ?
पुरुष वक्ताहरू हरेक विषयका ज्ञाता अनि महिलाहरूका लागि भने केही सीमित विषय मात्र ठीक भन्ने मानसिकता उदेकलाग्दो छ । मञ्च ठूलो होस् या सहरमा हुने साहित्यिक कार्यक्रमहरू नै सबैतिर उस्तै देखिन्छ दृश्य । झन्डै आधा दर्जन पुरुषहरू मञ्चमा पुस्तक विमोचनपछि आफ्ना लम्बेतान भाषण फलाकिरहँदा महिलाहरू भने चुपचाप उनीहरूको कुरा सुनिदिनुपर्ने श्रोता मात्र भएका देखिन्छन् ।
के यो मञ्च राजनीति हैन ?

क्षमतामाथिको प्रश्न
न्यायिक क्षेत्रबाट अवकाश प्राप्त गर्नुभएकी सत्यभामा माथेमाले जिल्ला न्यायाधीश भई विभिन्न जिल्लामा पुग्ने क्रममा बारम्बार सुन्ने एउटै कुरा थियो, न्यायाधीश त आइमाई पो ? त्यही आइमाई पो भन्ने प्रश्नसँग जुझ्दै अघि बढेर उहाँले लामो समय त्यही क्षेत्रमा काम गरी अवकाश प्राप्त गर्नुभयो ।


यो त मात्र एक उदाहरण हो । माथेमाजस्तै विभिन्न क्षेत्रका उच्च पदमा पुगेका महिलाहरूले सबैभन्दा पहिला सामना गर्ने गरेको कुरा नै उनीहरूको क्षमतामाथिको प्रश्न । लिंगकै कारण महिलाहरूको क्षमतामाथि प्रश्न उठाइनुपछाडि हाम्रो सामाजिक मनोविज्ञान लुकेको छ । निरंकुश पितृसत्तात्मक जड मानसिकता व्याप्त हाम्रो समाजमा महिला सधैँ नै दोस्रो दर्जामै रहे । उनीहरूको अस्तित्व र पहिचान सधैँ नै चुलोचौकोकै चारभित्ता र तरकारीको झ्वाइँसँगै बाफ भएर बिलाइरह्यो । आज देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइसक्दा पनि राज्यका उच्च पदमा आसीनहरूमा उही निरंकुश मानसिकतासहितको रवैया देखिन्छ । यसै सन्दर्भमा राजनीतिक विश्लेषक डा. जीवलाल बस्याल भन्नुहुन्छ—‘महिलाहरूको क्षमतामाथि आग्रहपूर्ण ढंगमा अविश्वास गरिन्छ । जसको परिणाम उनीहरूले आफ्नो क्षमता देखाउने अवसर नै पाउँदैनन् ।’


क्षमता भएकाले देखाउने मौका पाउँदैनन् भने केही गर्न उत्साहित महिलाहरू पनि बारम्बारको प्रश्न र अविश्वासबाट हच्किन्छन् । उनीहरूको मनोविज्ञानमा रोपिँदै जान्छ महिलाका असक्षमताका कुरा । फलस्वरूप मौका पाउँदा पनि उनीहरू निणर्य लिन या ती पदका लागि दाबी गर्न आँट्दैनन् । यो हाम्रो समाजको मात्र नभई विकसित मानिएका अन्य समाजको पनि यथार्थ हो । अमेरिकी प्रोफेसरद्वय फक्स र ललेसको २०११ को रिसर्चले पनि त्यही देखाउँछ । उनीहरूका अनुसार महिलाहरूमा भएको राजनीतिक महत्त्वाकांक्षाको कमी र राजनीतिक पदहरूका लागि कम इच्छुक हुनुका पछाडि उनीहरूमा आत्मविश्वासको कमीसाथै राजनीतिक संस्थाहरू चलाउन आँट र उत्साह नै नभएका कारण हो । तर, यही खोतल्नुपर्ने कुरा के भने, महिलाहरूमा आत्मविश्वासको कमीको पछाडिका कारण के त ? सायद यो बहसको अर्को विषय बन्ला ।


धेरै अवस्थाहरूका कारण एकातिर महिलाहरू अवसरबाटै बन्चित हुन्छन् भने अर्को जसले केही गरेका छन् उनीहरू पनि इतिहासका पानाहरूबाट लापता पारिन्छन् । हाम्रो देशको इतिहासका अनेक कालखण्डमा महिलाहरूले आफ्नो ज्यान बाजीमा राखेर राष्ट्रका लागि लडेका थिए । तर, त्यस्ता पात्रहरू सधैँ नेपथ्यमै बिलाए । शक्ति र सत्ता सम्हाल्नेहरूमा अन्तत: पुरुषहरू नै अगाडि हुन्छन् ।


पूर्वी मध्यकालको चौधौँ शताब्दीमा नै नेपालको राजकाजमा महिलाहरूको प्रमुख हात थियो । जयादित्यदेवकी विधवा वीरम्मादेवीदेखि भक्तपुरकी नाबालिका राजकुमारी राजल्लादेवीलाई काखमा राखी शासन सम्हालेकी शक्तिशाली शासक देवलदेवीहरू थिए दरबार शासन सत्तामा । देवलदेवीले त्यस समय भइरहने मुसलमानहरूका अनेकन आक्रमणहरूको सामना गर्दै कुशल शासन सम्हालेकी थिइन् भन्ने कुरा उल्लेख गरेका छन् नेपालनिरुपणमा इतिहासविद् ज्ञानमणिनेपालले । महारानी राजेन्द्र राज्यलक्ष्मीले पनि नाबालक छोरालाई काखमा लिई शासन चलाएकी थिइन् । शासन मात्र चलाएकी हैनन्, उनले त ससुरा पृथ्वीनारायण शाहले लिएको राज्य विस्तार अभियानलाई समेत अगाडि बढाइन् । तर, आज उनको त्यत्रो योगदान इतिहासको गर्तमा कतै बिलाएको छ । फेरि पनि उनीहरूको योगदानलाई बिर्सिएर क्षमतामाथिको आशंकामा नै ल्याएर टुंग्याइदिन्छ समाज । इतिहसवेत्ता कमलप्रकाश मल्लको लेख नेपाली समाजमा बुद्धिजीवीभित्रको एक प्रसंग यस्तो छ :सन् १७७५मा पृथ्वीनारायण शाहको स्वर्गारोहण हुँदा गद्दीका उत्तराधिकारीहरूमा धेरैजसो नाबालक नै भए । रिजेन्ट बनेका उनका आमाहरूमा शक्ति सञ्चित पुग्यो । राजनीति तथा राज्यव्यवस्थाका अनुभवको अभाव भएका यी राजमाताहरूलाई सहजै प्रभाव पार्न सकिन्थ्यो । परिणामस्वरूप रिजेन्सी कालभरि नै (सन् १७७५ देखि १८४५ सम्म) गद्दीका लाािग परस्पर विनाशकारी होड चली नै रह्यो ।


मल्लजस्ता विद्वान्बाट महारानी राजेन्द्रलक्ष्मीको योगदानलाई नजरअन्दाज गरी उनको अनुवभहीनताका कुरा अगाडि ल्याउनु निकै दु:खदायी कुरा हो । यसैगरी हाम्रो समाजले महिलाहरूको क्षमतामाथि बारम्बार प्रश्न उठाउँछ र उनीहरूको योगदानलाई सिमानामा धकेलिदिन्छ ।


हाम्रो देशले बेहोरेको दसवर्षे सशस्त्र द्वन्द्वको समय ज्यानको बाजी राखी युद्धमा होमिएका थिए धेरै–धेरै महिलाहरू । कतिले शहादत प्राप्त गरे, कति बेपत्ता भए, कति भने अयोग्य ठहरिए । र, अन्तमा पद, प्रतिष्ठा र शक्तिको केन्द्र पुग्ने मौका फेरि पनि अधिकांश पुरुषहरूकै भागमा पर्‍यो । अहिले दुई कम्युनिस्ट पार्टी एकीकृत भई बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय तहमा नेपालको संविधानले तोकिदिएको प्रतिशतभन्दा कम महिलाहरू पर्नु आफैंमा एक विडम्बना भएको छ । विभिन्न बहानाबाजीमा महिलाहरू मूल राजनीतिक मञ्चबाट टाढा पारिइरहनु पक्कै महिलामाथिको ठूलो षडयन्त्र हो । यो मञ्च राजनीति, धेरै कुरा परिवर्तन भइसक्दा पनि बद्लिन नसकेको महिलालाई सधैँ देस्रो दर्जामा नै राखिराख्न चाहने निरंकुश पितृसत्तात्मक संकीर्ण मानसिकताकै उपज हो ।

केही तीता कुरा
गुट राजनीतिले आक्रान्त छ समय । राजनीतिक गुट, साहित्यिक गुट, अनेकन संघसंस्था नामका गुट उपगुटहरू छ्याप्छ्याप्ती भएका छन् सहरमा । तर अधिकांश महिलाहरू गुट र झुन्डहरूतिर झुम्मिन भ्याउँदैनन् । केही परिधि, केही घेरा र केही जिम्मेवारीका देखिने नदेखिने दायराहरूले उनीहरूलाई खिचिबस्छ । बिहानको चिया गफमा भेटिने समूहबाट उनीहरू टाढै हुन्छन् । साँझ हुने ककटेलसहितका पुस्तक विमोचन होस् या छलफल भेटघाट कार्यक्रमहरू उनीहरूले परैबाट पन्साउनुपर्छ । केही दिनका लागि घरबाहिरका कार्यक्रमहरूमा भाग लिनुअघि धेरै कुराको चाँजोपाँजो मिलाएर निस्कनुपर्छ । उनीहरूले त छानी–चुनी समय अड्कलेर र समयमा नै घर छिर्ने प्रतिबद्धतासहित निस्कनुपर्छ घरबाट । साँझ झ्याप्पै परिसक्दा पनि घर फर्किने खास हतारो मान्नु नपर्ने पुरुषहरूविपरीत महिलाहरू गुँड फर्किने चटारोमा हुन्छन् । सहरका धेरै कविता कार्यक्रमहरूमा बोल्ड कवितावाचन गर्ने कवि विना थिङको दिन ढल्दै जाँदा बढ्दै जाने सकस र घर दौडिजाने हतारलाई मैले धेरै पटक नियालेकी छु ।


उनीजस्तै हतार–हतासको दौडमा भेटिन्छन् अरू धेरै महिलाहरू पनि । यस्ता घर–चुलो जिम्मेवारीले अचेटिएका महिलाहरू अनेक बौद्धिक बहस, छलफल, चिन्तन मन्थन, सम्बन्ध र जान पहिचान अगाडि बढाउने धेरै कुराहरूबाट पछाडि छुटिसक्छन् । उनीहरूसँग स्वाध्ययनका लागि पनि पर्याप्त समय हुँदैन न त बहस विमर्शमा भाग लिने र सुन्ने समय नै । चिन्तन, विमर्श, नयाँ अनुभव र अध्ययन अनुसन्धानबाट उनीहरू पछि पर्दै जान्छन् । जुन कुराबाट क्षमता अभिवृद्धि हुन्छ, आत्मविश्वास बढ्छ त्यस्ता कार्यहरू नै महिलाको भागमा नपरेपछि स्वत: उनीहरू मात्र आदेश पालना गर्ने र थपडी बजाउने झुन्डमा परिणत भइहाल्छन् । मञ्चमा भाषण दिने, बौद्धिक, चिन्तनशील भनिने कामबाट पुरुषहरूको पोल्टो भरिरहन्छ । तर, यही मनन गर्नुपर्ने महत्त्वपूर्ण कुरा, महिलाको यस अवस्थाको जिम्मेवार को ? उनीहरू किन यसरी बहिष्करणमा परिरहेका छन् ?


निश्चय नै जिम्मेवार हाम्रो समाज हो, संस्कृति हो, हाम्रो सामाजिक मनोविज्ञान हो । महिलाहरूमाथि थोपरिएका सांस्कृतिक, सामाजिक मूल्य–मान्यताहरू हुन् । हालै प्रकाशित सरस्वती ज्ञवालीको जीवनी ‘लालटिनको उज्यालोमा’ भित्रका कुरा निकै धेरै नेपाली महिलाहरूको जीवनसँग मेल खान्छ । उनी थिइन् एक सक्रिय राजनीतिक कार्यकर्ता तर बिस्तारै घरभित्र सीमित भएर रहिन् । उनले पूर्णकालीन घर सम्हालेसँगै श्रीमान्ले राजनीतिक खुड्किलो उक्लिँदै गए तर उनी घरमै सीमित भइन् र भइन् राजनीतिक मञ्चबाट ओझेल ।


धेरै महिला साहित्यकारहरूको अवस्था पनि उस्तै छ । घर र जिम्मेवारीबाट थिचिएपछि चल्दै गरेको कलम पनि रोक्नुपर्ने बाध्यता हुन्छ महिलाको । कार्यक्रम, समूह र गुटहरूका पछाडि भागदौड गरिबस्न पनि भ्याउँदैनन् उनीहरू । सम्बन्ध, सम्पर्क र गुटमा नभएपछि क्षमतावान् महिलाहरू पनि ओझेलिँदै जान्छन् । सीमान्तकृत हुँदै जान्छन् । त्यसैले धेरै कार्यक्रम आयोजकहरूलाई मुखमा रेडिमेड उत्तर बोकी हिँड्न छुट भएको छ, त्यस विषयमा बोल्न सक्ने महिलै भेटिएन ।
klama54@gmail.com

प्रकाशित : असार ३०, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मांसाहारी कीरा

प्रकृति
कान्तिपुर संवाददाता

काठमाडौँ — हरिया वनस्पतिले हावामा रहेको कार्बन डाइअक्साइड र जमिनको पानी संश्लेषण गरेर ग्लुकोज बनाउँछ । ग्लुकोज वनस्पतिको भोजन हो । यो प्रक्रियालाई प्रकाश संश्लेषण भनिन्छ । तर, प्रकृतिमा यस्ता वनस्पति पनि हुन्छन् जसले ग्लुकोजको अतिरिक्त भोजनका निम्ति सोझै कीरा–फटयांग्रा आहार बनाउँछ ।

यस्ता वनस्पति ‘इन्सेक्टिभोरस प्लान्ट’ का रूपमा चिनिन्छन् ।
नेपालमा केही प्रजातिका ‘इन्सेक्टिभोरस प्लान्टस्’ पाइन्छन् । तीमध्ये एक हो— ड्रोसेरा पेल्टाटा । यो वनस्पति पारिलो घाम लाग्ने अक्सर घाँसेमैदानहरूमा भेटिन्छ । तर, यसलाई वर्षायामको सुरुदेखि मध्यसम्म मात्र देखिन्छ । यसो हुनुको कारण अन्य बेला यो वनस्पतिको जमिनमाथिको भाग मर्छ । जमिनमुनि भने यसको गानो वर्षभरि नै जीवित रहन्छ ।


यो वनस्पति १० देखि २० सेन्टिमिटर उचाइसम्म अग्लो हुन्छ । जेठ महिनामा हल्का सेतो रंगमा फुल्ने यसको पुष्पपत्र १.५ मिलिमिटर लामो हुन्छ । यसको पात हत्केला आकृतिको हुन्छ । यसैमा चिपचिपे पदार्थ निस्कने रौंजस्ता मसिना आकृति हुन्छन् । तिनै चिपचिपे पदार्थमा कीराहरू जब टाँसिन्छन् तब वनस्पतिले एक विशेष रसायन अर्थात् इन्जाइम उत्पादन गरी कीरामा रहेको जैविक पदार्थ ग्रहण गर्छ ।


तस्बिरमा दिइएको ‘ड्रोसेरा पेल्टाटा’ तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको निर्माणाधीन चोत्लुङ पार्क नजिक गत जेठ महिनामा खिचिएको हो । यसले विशेषत: भुसुनालाई आहार बनाउँछ । बिरलै रूपमा झिंगालाई आहार बनाउँछ । ड्रोसेरा पेल्टाटाले एक तस्बिरमा ‘ओरेन्ज क्रेन फ्लाई’ लाई पनि आहारा बनाउन लागेको देखिन्छ । यो वनस्पतिका लागि त्यत्रो कीरा आहारका लागि उपयुक्त होला भनेर पत्याउन गाह्रो हुन्छ ।
– कमल मादेन

प्रकाशित : असार ३०, २०७५ ०९:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×