मेलम्ची चीर पुराण

चिन्तन
काठमाडौं महानगरवासीका निम्ति मेलम्ची एउटा अन्नत सपना बनेको छ, आयुबिनाको एउटा सपना ।
किशोर नेपाल

काठमाडौँ — बााटाघाटा त नभएका होइनन् । छोटा बाटा, गल्छी–गल्छ्यौंडा त काठमाडौं शहरको विशेषता नै हो । तर, अलिकति हतारमा भएको र सुटबुट लगाएको मानिस गल्लीमा फँस्न पनि सक्दछ । गल्लीको बाटो ढलीमली गर्दै, चिलाएको ढाड पर्खालका भित्तामा कन्याउँदै, साँढे आउने सम्भावना त छँदै थियो । साँढेबाट बच्न गल्लीमा भाग्ने ठाउँ थिएन ।

जुन बाटो आएको हो त्यही बाटो फर्किनुबाहेक उपाय थिएन । साँढेले बाटो छोड्दैन । राज्यले ट्राफिक पुलिस नै खटाए पनि गल्लीको ट्राफिक शहरको भन्दा ध्वस्त हुन्छ ।

घरबाट मूल बाटो त्यति टाढा पनि छैन । कतै जाने सिलसिलामा घरछेउको लेखनाथ पौड्याल मार्ग छिचल्दै भरखरै नयाँ पिच भएको सूर्यविक्रम ज्ञवाली मार्ग पुग्नु सहज थियो । यो बाटो निस्किँदा यसको नाम लेखनाथ पौड्याल मार्ग निकै असहज लाग्ने । हाम्रो यो गाउँसँग कवि शिरोमणि लेखनाथ पौड्यालको कुनै साइनो थिएन । बरु, इतिहास शिरोमणि बाबुराम आचार्यको घर यहीं थियो । यो बाटो उनकै नाममा समर्पित गरिएको भए राम्रो हुन्थ्यो होला । कुरा यति मात्रै कि सहज बाटो सकिने ठाउँमा फोहोरको बडो ठूलो डुंगुर राखिएको हुन्थ्यो । यो सानो चोक फोहोरमैलाको कलेक्सन सेन्टर थियो । विदेशबाट ल्याइएका चिकन नगेट, सिंगापुर सलामीजस्ता अधिकांश डिब्बाबन्द जंक फुडका खोलहरू, टाइगर बियरका बोतलहरू ।


फोहोर हुनेखाने वर्गको घरबाट निस्किएर सार्वजनिक सडकमा थुिप्रएको थियो । बस्ती पनि हुने–खानेकै थियो । काम नगरी खान नपाउने वर्गका मानिस पनि थिए टोलमा । तर, ‘यिनीहरू’ र ‘उनीहरू’ को सम्बन्ध थिएन । फोहोरमैला व्यवस्थापनका कर्मचारीहरू महिनामा एकदुई पटक नियमित आयोजना गरिने हडतालमा सहभागी हुने भएकाले एकदुई दिनमा नै यो फोहोरको थुप्रो उठ्ने सम्भावना थिएन । तर, छेउछाउका घरवालाले फोहोरको थुप्रो देखेर आफ्ना मुनिमजीलाई इसारा गरे भने एकै घण्टामा एरिया क्लिन हुने गथ्र्यो । फोहोरमैला व्यवस्थापनका कर्मचारीहरू आफ्नो आर्थिक हैसियत उकासिएकोमा हर्षित हुन्थे । उनीहरूले मासिक रूपमा पाउने तलबजति मुनिमजीबाट ज्याला पाउँथे ।
त्यो दिन मैले छिटोछिटो फोहोरको थुप्रो क्रस गरें । किनभने, फोहोरको थुप्रोबाट दुर्गन्ध आइरहेको थियो । हिंड्दै अलि पर पुगेको मात्रै थिएँ । अनायास एउटा केटोले, त्यही फोहोरको थुप्रो घुमाएर, आफ्नो मोटरसाइकल हुइँक्याएर मतिर ल्यायो । उसले मोटरसाइकल रोक्यो र भन्यो, ‘अंकलसँग एउटा स्न्याप लिनुपर्‍यो । अंकल त सेलिब्रिटी । मेरो बुवाको साथी पनि । अहिले अंकललाई यहाँ देखेर ऊ उति परदेखि पछ्याउँदै आएको ।’


केटाको मुखबाट सेलिब्रिटी शब्द सुनेर मलाई साँच्चै कस्तोकस्तो रमाइलो ‘फिल’ भयो । कुनै दिन कसैले मलाई सेलिब्रिटी पनि भनेको थियो । कहिल्यै नसोचेको कुरा । पहिले त पत्यार नै लागेन, कसैले मलाई सेलिव्रिटी भनेको छ । तर, केटोले आफैं स्पष्टीकरण दियो : अंकल टेलिभिजन प्रोग्राम बनाउन हाम्रो गाउँमा आउनुभएको थियो । उता हाम्रो गाउँतिर गतिला होटल थिएनन् । हाम्रै घरमा बस्नुभएको थियो । त्यतिखेर हामी बाह्र–पन्ध्र वर्षका फुच्चे थियौं ।


त्यसपछि उसले रविप्रतापको नाम लियो । लाग्यो, यो नाम त मैले त्यो इलाकाभर कतै सुनेकै थिइनँ । उसले गाउँको नाम लियो— कटहरी, उदयपुर । केटो स्मार्ट रहेछ । पक्कै पनि कटारीको पुरानो नाम हुनुपर्दछ कटहरी । जमाना कहाँ पुगिसक्यो । हामी भने फोहोरको थुप्रोछेउ उभिएर इतिहासको दिग्दर्शन गर्दै छौ । यहींनिर हो मलाई आफू सेलिब्रिटी भएर पनि केही गर्न नसकेको फिल भएको ।


उसले लगालग एक दर्जन फोटो खिच्यो र भन्यो, ‘फेसबुकमा राख्छु है अंकल ।’ मैले केही जवाफ दिइनँ । उसको नाम पनि सोधिनँ । उसले बाबु रविप्रतापको नाम बतायो, आफ्नो बताएन । मैले उसलाई खासै महत्त्व दिएको थिइनँ । मेरा लागि ऊ पनि, यो सडकमा दिनहुँ मोटरसाइकल र स्कुटर चलाउने सयौं केटा–केटीमा एक जना थियो । अलिकति पर, सडकको छेउमा राजधानी शहरकै सबभन्दा ठूलो एउटा म्यानपावर कम्पनी थियो : अधिकांश केटा–केटीको गन्तव्य । त्यहाँ सिकलाई पनि गराइन्थ्यो र मानिसलाई रोजगारीमा पठाइन्थ्यो । आफूलाई रविप्रतापको छोरो बताउने त्यो केटोको यात्रा पनि सम्भवत: त्यहींसम्मको थियो कि ?


साँझ म घर फर्किंदा पनि केटो त्यही थियो । मेरो अनुमान ठीकै थियो । मलाई देख्नेबित्तिकै केटोले रमाउँदै बतायो, ‘कोरियाली भाषाको जाँच दिएको थिएँ । पास भएछु अंकल । यो खुसीमा अंकल केही खाऊँ न, ऊ त्यो रेस्टुराँमा चिसो बियर पाइन्छ ।’ चिसो बियर शब्दले मेरो तृष्णा पक्कै बढाएको थियो । तर, त्यसले मेरो धक फुकाउन सकेन । चिन्दै नचिनेको र आफूभन्दा तीस वर्ष कान्छो केटोसँग के बियर तान्नु ? जवाफमा मैले भनें, ‘होइन बाबु म बियर पिउँदिनँ ।’ केटोले पत्याएन । मलाई लोभ नलागेको होइन । तैपनि म खुलिनँ । रेस्टुराँको चिसो बियर बिकेन ।


देशमा प्रजातन्त्रको पुन:स्थापना भएपछि, २०४६ यता, देख्न नपर्ने कुरा देखिए र सुन्न नपर्ने कुरा सुनिए । केटाहरूले आफू झगडा गरेर बस्ने ठाउँको नाम राखे मिलनचोक । त्यसपछि आयो विजयचोक । चियाचोक । कफीचोक । कति चोक कति । क्रसिङ र चोक गन्न थाल्यो भने पुग्नुपर्ने ठाउँमा पुगिँदैन । आइतीमायालाई पुग्नुपर्ने थियो वीर अस्पताल । पुगिन् बग्गीखाना । उनी कसलाई भनुन् आफ्नो दु:ख । प्रेस जगत्का एक जना नेताले भनी नै सकेका छन् (कि) नेताहरूसँग प्रश्न सोध्न सकिन्छ । ‘तर, मिलाएर सोध्नुपर्छ ।’


विषय प्रवेश गरिएको थियो बाटोबाट । शहरमा बाटो नबन्ने होइन, नटिक्ने हो । ठेकदारले दुई वर्षको ग्यारेन्टी दिएको छ भने ढुक्क भए हुन्छ, बाटो छ महिना चल्छ । तर, डाक्टर रवीन्द्र समीर भन्छन्, ‘चाबहिल, बौद्ध, जोरपाटी, साँखुको जस्तो बेहाल बाटो विश्वको कुनै पनि शहरमा छैनजस्तो लाग्यो ।’ कस्तो रमाइलो कुरा डाक्टर समीरको । डाक्टर साहेबलाई यतिबेला बानेश्वर भीमसेनगोला हुँदै कात्यायनी र शान्तिनगर पुग्नुभयो भने, कात्यायनीबाट छोटो बाटो रत्नराज्य स्कुल निस्किनुभयो भने कसरी निस्किनुहोला ? आश्चर्य यति मात्रै हो । अब यस्ता खराब बाटो र खाल्डाखुल्डी खोज्दै हिंड्ने हो भने काठमाडौंभरि कतिकति । रमाइलो के भने हरेक वर्ष बाटो खनजोत योजना चलिरहेकै हुन्छ ।


यो बाटोघाटोको कुरामा मन्त्री तथा अधिकारीलाई प्रश्न सोध्दा मिलाउनु के र ? तीसौं वर्षदेखि निर्माणाधीन रहेको मेलम्ची नदीमा पानीको बहाव पहिलेको तुलनामा आधा घटेको छ । मेलम्ची मिसनबाट कमाउनेले कुस्त कमाए । सफा वाग्मतीको नारा दिएर पनि उत्तिकै पैसा कमाए सरोकारवालाले । एसियाली विकास बैंकको लगानीमा शहर सफा हुन लागेको थियो, त्यो पनि मेलम्चीमा नै अड्कियो । बरु, मेलम्चीको पानी ल्याएर भुइँचालोका कारण दबेको रानीपोखरीमा खसाल्ने योजना बनेको भए मेलम्ची अड्किँदैनथ्यो कि ?
बत्तीमा झुम्मिएर पुतलीहरू मरेजस्तै एक दिन मेलम्ची बन्नेछ र मर्नेछ । पानी त्यहाँबाट अनवरत आए पनि त्यसको उपादेयता रहन दिइने छैन । सरकारको समृद्धिको नारा पूरा गराउन अहोरात्र खटिएका साहु–महाजनको लगानीमा खुलेका पानी प्रशोधन कारखानाबाट जारमा भरेर पसलमा, घरमा, महलमा र दरबारमा जसरी पानीको आपूर्ति भइरहेको छ त्यसमा अलिकति पनि घाउखत नलाग्ने उपाय नरचेसम्म मेलम्ची आउला भन्नेमा संशय नै छ । मेलम्चीका ठेकदारलाई सरकार पिटेजस्तो गर्छ, ठेकदार रोएजस्तो गर्दछ । दुईवटा मेलम्ची बनाउन पुग्ने पैसा त ठेकदारले हर्जाना नै असुल गरी सक्यो । भनेपछि त्वं शरणम् ।


मेलम्चीका योगदान अतुलनीय छन् यो अलकापुरीका लागि । शहरका ठाउँठाउँका सडकमा बडो शानदारका बत्ती जडिएका छन । बाटो प्रिन्टेड छ । वेल प्रिन्टेड । जस्तो कि मानिसहरू भन्छन्— टेन्सन छ र त्यो कसै न कसैले बोक्नैपर्छ । मेलम्ची पनि एकप्रकारको टेन्सन नै हो जुन पूरा हुन्छ, सकिन्छ भनेको दिन पूरा पनि हुँदैन र सकिंदा पनि सकिंदैन । मेलम्चीको बहानामा काठमाडौं धूलोमा नुहाएको छ । धूलो पनि कस्तो भने पानीले भिजेर पनि उड्न सक्दैन । काठमाडौं र वरपरका गल्छी–गल्छेंडा कालोपत्रे भएका छन् । गल्छीमा माछा पर्छ ।
‘सकिन्छ’ भनेर मात्रै हुन्छ र ? सकिने भए उहिले नै एउटा बाटोको निर्माण हुन्थ्यो । ‘जनयुद्ध’ अथवा क्रान्ति सञ्चालनका लागि प्रचण्डले मात्रै पुलिसको बन्दुक खोसेका थिए र ? २०१७ फागुन १७ गते पाँचथरको सुखिया पोखरीबाट छापामार कांग्रेसले पनि पुलिसको बन्दुक लुटेका थिए । आखिर, यो देशमा, यो हाम्रो राम्रो देशमा, अल्लो र ढिंडोबाहेक अरू प्रश्न नै छैन । उपभोक्ता संस्कृतिको त कुरै बेग्लै भो । सरकारहरूमा उन्माद र उत्ताउलोपन बढ्दै जान्छ । कांग्रेसको पनि बढेको थियो र अहिले कम्युनिस्टहरूको पनि बढेको छ । यो हो अव्यवस्था । जति समाज लथालिंग हुन्छ त्यति नै लोकतन्त्रका दुश्मनहरू खुसी हुन्छन् । कम्युनिस्टहरू आफूलाई लोकतान्त्रिक मान्दैनन् । तर, लोकतन्त्र त कम्युनिस्टका लागि पनि उपयोगी हुन्छ । लोकतन्त्रले नै उनीहरूलाई सामाजिक वैधता दिन्छ ।
kishore.nepal@gmail.com

प्रकाशित : असार २३, २०७५ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सोमबजार : एउटा परदेशी हटिया

अनुभुति
रोहिणीको नेपाली संसार भने अलग्गै छ, क्यान्सरको उपचार गर्न–गराउन लाइन बसेका नेपालीको दिनरात यहीं बित्दो छ ।
यज्ञ बञ्जाडे

काठमाडौँ — सयौं र हजारौं नेपाली चाहेर अथवा नचाहेरै भारत जान्छन् । यसमा पनि स्वास्थ्य उपचार र रोगको पहिचान गर्नैका लागि दिल्ली जानेहरूको लर्को सानो छैन । यो कथा भने दिल्ली नजिकै रोहिणी सेक्टर फाइभको हो जहाँ एउटा लोकप्रिय क्यान्सर अस्पताल छ र, जहाँ सयौं नेपाली आफन्तहरू डेराडन्डा जमाएर उपचारकै खातिर पालो पर्खिरहेका छन् ।

उफ् कस्तो गर्मी ?’ इन्दिरा गान्धी इन्टरनेसलन एयरपोर्ट नयाँ दिल्लीमा प्लेनबाट बाहिरिँदै गर्दा अनायासै मुखबाट निस्कियो ।


१२ मार्च २०१८ अर्थात् गत फागुन २८ गते । म छैटौं पटक नयाँदिल्ली एयरपोर्ट उत्रिँदै थिएँ । एक निकटस्थको उपचारका लागि रोहिणी, सेक्टर फाइभ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर पुग्नु थियो ।


एयरपोर्टबाट बाहिरिएपछि प्रि–पेड ट्याक्सी चढेर रोहिणी सेक्टर फाइभतिर लाग्यौं । काठमाडौंजस्तै दिल्लीका सडकमा पनि अचाक्ली जाम हुने गर्छ । जाम छिचोल्दै साढे २ घण्टामा हामी अस्पताल पुग्यौं । अस्पतालको काम सकेर बास बस्न ‘सोमबजार’ पुग्दा बेलुकीको साढे ५ बजिसकेको थियो । नेपालबाट हिँड्नुअघि नै जिनेश जैन (सोमबजारका एक सह्दयी समन्वयी जसले उपचारमा पुगेका बिरामीलाई कोठा भाडामा खोजिदिने काम पनि गर्छन् ।) लाई कोठा बुकिङ गरिदिन आग्रह गरेका थियौं । त्यो कोठामा सिधै गएर सामान थन्कायौं । थकान धेरै भएकाले खाना पकाउने जाँगर चलेन । होटलबाट ल्याएको रोटी–तरकारी खाएर सुत्यौं ।
***

सोमबजारसँग मेरो बेग्लै अनुभव छ । करिब डेढ वर्षअघि पहिलो पटक सोमबजार पुग्दा रातको ९–१० बजिसकेको थियो । अनेक सोधपुछबाट बाटो पछ्याउँदै हामी सोमबजार पुगेका थियौं । त्यस दिन कोठामा खाना पकाउने अवस्था थिएन । हामीसँगै रहेका खानेकुरा खाएर सुत्यौं । शरीरमा गहिरो थकान भएकाले होला, निद्रा पनि परेन । बाहिर सडकमा निकै होहल्ला थियो । हल्लाभन्दा पनि फलामका सामानहरू, फलामका छडजस्ता सामग्री ‘अनलोड’ गरेको चर्को आवाज आइरहेको थियो । पछि कतिबेला निदाइएछ, पत्तै भएन । बिहान ब्युझँदा पनि बाहिरको हल्ला सकिएको थिएन । चहलपहल हरपल भैरहेको थियो— के दिन, के रात । अलिक पछि थाहा भयो— सोमबार त्यो ठाउँमा हाटबजार लाग्दो रहेछ । यसकारण पनि त्यो बजारको नाम ‘सोमबजार’ रहन गएको रहेछ । संयोगले हामी त्यहाँ आइतबार राति पुगेका थियौं । सोमबारे बजारका लागि सामान झार्ने, टहरा मिलाउने सबै काम आइतबार रातभर हुँदोरहेछ । त्यही हल्ला रहेछ त्यो ।
***

सोमबजारसँग नेपालीहरूको साइनो बेग्लै प्रकारको रहेछ । न त यो सम्बन्ध दार्जिलिङ र सिलगुढीजस्तो नेपाली मूलका नागरिकको बसोबासका कारण भएको हो, न त विदेशमा रहेर पनि नेपाली भाषा वा वेशभूषाकै कारणले जोडिएको हो । यसको कारण रहेछ— नजिकैको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर । क्यान्सर उपचारका लागि सयौं र हजारौं नेपाली पुग्ने, रहने बस्ने ठाउँ रहेछ राजीव गान्धी । त्यहाँ पुग्नेमध्ये अधिकांश नेपाली सोमबजारमै बस्दा रहेछन् । त्यसबेलाको एउटा घटना स्मरणमा आइरहेको छ । एक दिन अस्पतालको काम सकेर मध्याह्नतिर कोठामा जाँदै थिए । गर्मी चर्को थियो । भोक र मानसिक पीडाले केही तनाव त थियो नै । बाहिर गेटमै अटो रिक्साको लाइन थियो । केही नबोली सबैभन्दा अघि रहेको अटोमा बसें । चालकले अटो गुडाउन थाल्यो । पाँच/सात मिनेटपछि चालकले ‘सरजी सोमबजार’ भनेपछि पो झसंग भएँ ।
‘तिमीलाई कसरी थाहा भो म सोमबजार बस्छु भन्ने ?’ मैले टुटेफुटेको हिन्दीमा भनें । ‘दस साल भयो रे, रिक्सा चलाएको । नेपालीहरू कुन कुन ब्लकमा छन्, सब पता छ,’ चालकले तुरुन्त जवाफ फर्कायो । रिक्साचालकको उत्तरले पनि स्पष्ट भनिरहेको थियो कि उपचारका लागि राजीव गान्धी पुग्ने नेपालीमध्ये बहुसंख्यक सोमबजारमै बस्छन् ।
***

दिल्ली रोहिणी सेक्टर फाइभमा पर्ने एउटा सानो गाउँ (सहरोन्मुख गाउँ) हो, सोमबजार । यो रोहिणी वेस्ट मेट्रो स्टेसनबाट करिब ३ किलोमिटर दूरीमा छ । धेरै वर्षपहिले सरकारले आवास बनाएर सुकुम्बासीलाई बसोबास गराएको रहेछ त्यहाँ । यसकारण त्यहाँका सबैजसो घरहरू एकै प्रकारका छन्, अपार्टमेन्ट स्टाइलका । सोमबजारजस्ता धेरै टोलहरू पनि रोहिणी क्षेत्रमा छन । ती टोलमा पनि नेपाली बस्छन् । तीमध्ये पनि सडक, बजार, चहलपहल र विशेषगरी अस्पताल नजिक भएका कारणले धेरै नेपाली पायकमा सोमबजार वा आसपासमै बस्दा रहेछन् । त्यहाँको वातावरण हराभरा छ । सडकमा छेउछाउमा प्रशस्तै रूखहरू छन् । नजिकमा ठूला–ठूला पार्कहरू छन् । सायद भारतीय र नेपाली भाषाको लिपि एउटै भएकाले होला— पार्कका नाम पनि नेपालीजस्तै लाग्छन् । महाराणाप्रताप पार्क, विश्वकर्मा पार्क, छुटुराम पार्क आदि । ती पार्कहरू समय कटाउने थलो मात्र होइन, नेपालीहरूबीच भेटघाट र दु:खसुख साटासाट गराउने स्थल पनि बनेका छन् । मर्निङ र इभिनिङ वाक मात्र होइन, जाडोमा घाम ताप्ने र गर्मीमा छहारीमा बसेर गफिने थातथलो पनि बनेका छन् ।
***

सोमबजारको एउटा विशेषता सहजै कोठा/फ्लाट भाडामा पाइनु पनि हो । कोठा/फ्ल्याट पनि विशेषगरी बिरामीकै लागि पाउन सहज छ । होटलमा गएर कोठा बुक गरेजस्तो त्यहाँ फ्ल्याट भाडामा लिन सकिन्छ । आवश्यकताअनुसार बस्यो, भाडा तिर्‍यो अनि बाटा लाग्यो । कोठा भाडामा लिँदा अस्पतालले दिएको बिरामी परिचयपत्र नम्बर माग्छन् घरबेटीले । फ्ल्याटमा कम्तीमा पनि दुई–तीन जनालाई पुग्ने गरी सुत्नका लागि बेडसहित खाना पकाउने र खाने एकसरो सबै भाँडाकँुडा उपलब्ध हुन्छ । यहाँसम्म कि रोटी पकाउने चाहिने बेल्ना, तावा, पिठो मुछ्ने (भाँडो) बाटा, चिया छान्ने जाली र तरकारी काट्ने चक्कु पनि आफूले किनिरहनु पर्दैन । ती सामान उपयोगको शुल्क पनि कोठा भाडामै जोडिएको हुन्छ । कोठाको संख्या, आकार, सरसफाइ आदि भने बार्गेनिङमा भर पर्ने रहेछ । सामान्यतया दुई बेडरुम, किचन र ट्वाइलेट बाथरुमसहित कोठाको भाडा प्रतिदिन भारु ५ सयदेखि ७ सयसम्म पर्ने रहेछ ।
सोमबजार क्षेत्रमा मात्र करिब एक हजार जति भाडाका फ्ल्याट रहेछन् । यसमा धेरैजसो नेपाली नै भेटिन्छन् । बिरामी पनि नेपाली, कुरुवा, आफन्त र डुलुवासमेत नेपाली । घरधनीबाट फ्ल्याट भाडामा लिएर बिरामीलाई दिने ठेकदारी व्यवसाय पनि यहाँ फस्टाएको रहेछ । पसले, रिक्सावाला र अन्य नागरिकले बिरामी लगिदिएबापत कमिसन पाउने रहेछन् । ।
***

क्यान्सर रोगकै कारण वरिष्ठ स्नायु शल्यचिकित्सक प्राध्यापक डा. उपेन्द्र देवकाटाले जीवन गुमाउनुपरेको दु:खद घटना हामीसामु ताजै छ । पछिल्ला दिनहरूमा क्यान्सर लागेका बिरामीहरू हाम्रो समाजमा उल्लेख्य भेटिन थालेका छन् । यो रोग डरलाग्दो र उपचार विधि पनि निकै खर्चिलो छ । आफ्नो मान्छे बिरामी पर्दा कति पीडा हुन्छ भन्ने कुरा यहाँ व्याख्या गरिरहनु पर्दैन । हामी सबै भुक्तभोगी छौं, त्यसमाथि पनि क्यान्सर । रोग निको पार्न सम्भव भएजति स्थानमा पुग्नु र उपचार विधि प्रयोग गरिनु अनौठो होइन । यो खोजीमा आफन्त लिएर म राजीव गान्धी पुगेको थिएँ । अहिले पनि धाइरहेको छु ।


भारत छिमेकी राष्ट्र भए पनि राजीव गान्धी नपुग्दासम्म केही त्रास र अप्ठेरो महसुस भएको थियो । बिरानो ठाउँ, बिरानो भाषाले अप्ठेरो हुने मनको त्रास छँदै थियो । तर, अस्पताल पुगेपछिको कुरै अर्को छ । सुरुमा फाट्टफुट्ट नेपाली भेट्दा पनि उधुम खुसी लाग्यो । भित्रैदेखि आफ्नोपन उर्लेर आउँथ्यो । गर्दै भन्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका धेरै नेपाली अस्पतालमा भेटिए । पछि थाहा भयो— अस्पतालमा आउने बिरामीमध्ये कम्तीमा ३० प्रतिशत नेपाली नै हुँदा रहेछन् । अस्पतालका कर्मचारी मात्र नभएर चिकित्सकले पनि अधिकांश नेपाली शब्दहरू बुझ्दा रहेछन् । (यद्यपि, नेपालीमै जवाफ फर्काउनहरू निकै थोरै भेटिए ।)


अस्पतालमा भेटेका धेरै नेपालीसँग म आफैं परिचय गर्न पुग्थें । नेपालको ठेगाना र बिरामीको अवस्था सोध्थें । सबैको सामु मेरो साझा प्रश्न हुन्थ्यो, ‘नेपालमा उपचार नगरेर किन भारत आएको ?’


जवाफ पनि ‘साझा’ नै आउँथ्यो । ‘नेपालमा राम्रो अस्पताल छैन, सरकारी अस्पतालमा राम्रोसँग रोगको पहिचान हुँदैन, त्यसमाथि महिनौंसम्म पनि पालो पाइँदैन,’ जवाफ हुन्थ्यो । सबैभन्दा प्रमुख र ठूलो समस्या भनेको त ‘डाइग्नोसिस’ को थियो, नेपालमा रोग पत्तै लाग्न नसकेको अवस्था । यही समस्यामाझ हामी पनि राजीव गान्धीसम्म तानिएका थियौं ।
***

राजीव गान्धी क्यान्सर अस्पताल, रोहिणीमा ५ वर्षअघि उपचारार्थ गएका डा.चित्र वाग्लेलाई अस्पतालले घर फर्कने सुझाव दिएपछि बिदाइ गर्न आएका स्थानीय । डा.वाग्लेको २०७० कात्तिक ७ मा निधन भएको थियो । (फाइल तस्बिर )

सायद पहिलो पटक अस्पताल पुगेको एक/दुई दिन मात्र भएको थियो होला । उपचारका लागि कहिले एउटा कोठा त कहिले अर्को कोठा दौडिरहेका थियौंं । हामीले एक जना फोक्सोसम्बन्धी डाक्टरलाई भेट्नुपर्ने थियो । ती डाक्टरको कोठा कता पर्छ होला भनेर अस्पतालका एक जना कर्मचारी (म्यासेन्जर) लाई मैले सकीनसकी हिन्दीमा सोधें— डाक्टरका रुम कहाँ पड्ता है टाइपमा ।


ती कर्मचारीले नेपाली भाषामै मेरो समस्या समाधान गरिदिए । उनको अनुहार, हाउभाउ हेर्दा नेपालीजस्तो लाग्दैनथ्यो । बुझ्दै जाँदा थाहा लाग्यो, उनी नेपालको सुर्खेत जिल्लाका रहेछन् । बुबाको जागिरको सिलसिलामा उनी सानैमा दिल्ली पुगे । कलेजस्तरको शिक्षा पूरा गरेपछि काम सुरु गरेका ती व्यक्तिले ‘आउट–सोर्सिङ’ कम्पनी मार्फत यो अस्पतालमा काम गर्न पाएका रहेछन् । ती हितैषी मार्फत त्यहाँ पुग्ने नेपाली बिरामीबारेमा थप जानकारी पाएँ । ‘नेपालका सबैजसो जिल्लामा बिरामी उपचार गर्न यहाँ आउँछन्,’ उनले सुनाए, ‘काठमाडौं उपत्यका, विराटनगर, वीरगन्ज, पोखरा, बुटवललगायत ठूला सहरका धेरै बिरामी यहाँ भेटिन्छन् ।’


एक साँझ फलफूल किन्न बाहिर निस्किएको थिएँ । बाटो किनारमा फलफूल व्यापारीहरू लाइनबद्ध थिए । ‘साहुजी पर केजी अनारका प्राइस क्या है,’ मैले जानेको हिन्दी भाषामा सक्दो मिलाएर सोधें ।
जवाफ नेपालीमा आयो, ‘कति लाने, मिलाएर दिउँला नि ।’
‘अहो, तपाईंलाई नेपाली आउँछ,’ उत्साहित हुँदै मैले भनें ।
‘किन नआउनु, म नेपाली नै हुँ,’ तुरुन्त जवाफ आयो । विराटनगरका ती व्यक्ति झन्डै २५ वर्षअघि सोमबजार पुगेका रहेछन् । फलफूल बेचेरै तीन जना छोरी र श्रीमतीसहितको परिवार लालनपालन गर्दै आएका रहेछन् । ‘अब यतै बस्ने त होला नि, नेपाल जानुहुन्न ?’ मौकामा मैले सोधिहालें ।
‘बस्दिनँ यहाँ, यो पनि कहीं बस्ने ठाउँ हो ? छोरीहरूको पढाइ चलिरहेकाले मात्र बसेको हुँ, पढाइ सकिएपछि नेपाल फर्किने हो,’ उनले निर्धक्क भएर भने ।
***

कोठामा बस्दा बिहान–साँझ ‘वाक’ मा निस्कन्थ्यौं । ‘वाक’ मा जाँदा समय बिताउन सजिलो हुने, धेरै नेपाली भेट्न पाइने, दु:खसुखका कुराहरू साटासाट हुने भएकाले सम्भव भएसम्म ‘मर्निङ/इभिनिङ वाक’ अनिवार्यजस्तै थियो । बिहान–बेलुकी घुम्न निस्कँदा प्राय: भेटिनेमा एक जना चितवनका बिरामी थिए । पौडेल थरका ती व्यक्ति (३० वर्षयता) पेसाले शिक्षक रहेछन् । जीवनका ५५ हिउँद–वर्षा भोगिसकेका ती व्यक्ति हामीसँग अलि बढी नजिकिएका थिए । पेटको क्यान्सर उपचारका लागि राजीव गान्धी पुगेका उनी सुरुमा चितवन क्यान्सर अस्पताल पुगेका रहेछन् । तर, त्यहाँको उपचार चित्तबुझ्दो नभएपछि काठमाडौं आएका उनी आफन्तको सल्लाहमा राजीव गान्धी पुगेका रहेछन् । ‘के गर्नु नेपालमा राम्रा अस्पताल छैनन्,’ उनले गुनासो गरे, ‘आफ्नो देशमा राम्रो अस्पताल भएको भए, अर्काको मुलुकमा आउने रहर कसलाई लाग्दो हो ?’ सञ्चय कोषबाट निकालेको पैसा नेपालमै उपचार गर्दा सकिएको बताउने उनले लामो समयसम्म भारतमा बसेर उपचार गर्न आर्थिक रूपमा अप्ठेरो रहेको धेरै पटक दोहोर्‍याइरहेका थिए ।


नेपालबाट उपचार गर्नै भनेर त्यति टाढा पुगेपछि उपचार सकेरै घर फकँुला भन्ने सबैलाई लाग्छ । तर, परिस्थितिले सधैं त्यसो हुन दिंदो रहेनछ । उपचार क्रममा कहिले डाक्टरको पालो कुर्नुपर्ने हुन्छ, कहिले रिपोर्ट पर्खर्नैपर्ने हुन्छ । यो कुराइबीचमा २/४ दिन खाली भए पनि टाढा भएकाले घर आउन सम्भव हुँदैन । बिरामीलाई किमोथेरापी (केमो) सुरु भएपछि पनि एउटा केमोदेखि अर्को केमोबीचको अवधिमा खासै काम हुँदैन । यस्तो समयमा नेपालीसँग भेटघाट अलिक बाक्लै चल्थ्यो ।
***

बिहानै अस्पतालमा जानु नपर्ने अवस्थामा भने सबेरै उठ्ने, दुई/तीन गिलास मनतातो पानी खाने, बिहानको नृत्यकर्म सकेपछि कालो चिया–बिस्कुट सेवन गर्दै मर्निङ वाकमा हामी निस्कन्थ्यौं । कोठामा फर्किंदा पसलबाट दूध लिएर आउने हाम्रो दैनिकी हुन्थ्यो । एक दिन बिहानको नास्ताको तयारी गर्दै थिएँ । ढोकाको घण्टी बज्यो । ढोका खोलें । बाहिर सोही तलाको अर्को फ्ल्याटमा बस्ने ‘अमीर’ नाम गरेका व्यक्ति थिए । ‘भाइसाप गुडमर्निङ, कल मै घर जा रहा हुँ,’ उनले भने । ३/४ वर्षको छोराको ब्लड–क्यान्सर उपचारका लागि नौ महिनाअघि त्यहाँ आएका उनी घर जाने खुसीको समाचार बोकेर आएका रहेछन् । उनको छोरोको क्यान्सर निको भएपछि उनी घर जाँदै थिए । डाक्टरले तीन महिनापछि फलोअपमा आउन भनेको रहेछ ।


अमीर हामी बसेको तलाकै अर्को फ्ल्याटका एक जना भारतीय हुन । अग्लो जिउडाल, झुप्प दारी पालेका भलाद्मी स्वभावका ती व्यक्ति स्थानीय नै होलान् भन्ने हाम्रो अनुमान थियो । पछि थाहा लाग्यो— भारत, आसामका रहेछन् । भारतीय भए पनि नेपालबारेमा धेरै जानकार अमीरसँग हाम्रो सम्बन्ध प्रगाढ बनेको थियो । झन्डै वर्ष दिनपछि खुसीको समाचारसहित उनी फर्किंदै थिए ।
***

सोमबजारमा भेटिने बिरामीमाझ निकै लोकप्रिय थिए— दार्जिलिङे एक वृद्ध । गुरुङ थरका ती व्यक्तिमा उमेरले ७३ वर्ष पार गरिसक्दा पनि शारीरिक बनोट र हाउभाउले बुढ्यौलीको संकेत पर्न दिएको थिएन । आफ्नी ६३ वर्षीया श्रीमतीको ब्रेस्ट क्यान्सर उपचारका लागि उनी तीन महिनादेखि सोमबजार बस्दै आएका थिए । उमेरमा सेना (आर्मी, पुलिस) मा जागिरे नभए पनि उनको शारीरिक सुगठन र हाउभाउ हेर्दा पूर्व सेनाजस्ता देखिन्थे उनी । कम बोल्ने, सफा र आइरन लगाएको कपडा लगाई चिटिक्क परेर हिँड्नु नै गुरुङसापको प्रमुख चिनारी थियो । उनका कुरा सुन्दा श्रीमतीको स्वास्थ्यमा अपेक्षित सुधार हुन नसकेको स्पष्ट हुन्थ्यो । तर पनि, उनी श्रीमतीको उपचारमा कटिबद्ध भएर लागेका थिए ।
***

एक दिन अस्पतालबाट फर्किंदा अलि ढिलो भयो । साँझको सात बजेतिर कोठामा पुग्दा हामी बसेभन्दा माथिल्लो फ्ल्याटमा दाङका मान्छे आएका छन् भन्ने जानकारी पाएँ । आफ्नै जिल्लाका बिरामी आएको सुन्दा तिनलाई भेट्न मन लाग्यो । बाहिर जाँदा लाएको कपडा पनि नफुकाली सिधै माथिल्लो तलामा उक्लिए । ती आगन्तुक दाङ–देउखुरीका रहेछन् । स्कुल गएको छोरो ज्वरो आएर घर फर्किएपछि नजिकको मेडिकलमा जाँच गराएछन् । त्यसपछि मेडिकलवालाकै सल्लाहमा थप उपचारका लागि चितवन पुगेपछि साढे ६ वर्षको छोरालाई ब्लड क्यान्सर लागेको थाहा भएछ । चितवनमा उपचारमा ढिलाइ हुने देखेपछि उनी राजीव गान्धी आएका रहेछन् । सोमबजारमा पहिलो पटक आफ्नो जिल्लावासी आएको सुन्दा जति खुसी लागेको थियो, निर्दोष बच्चालाई यति ठूलो रोग लागेको सुनेर झन् बढी दु:ख लाग्यो । (करिब एक वर्षपछि ती व्यक्तिलाई राजीव गान्धी अस्पतालमा भेट्दा बच्चा पूर्ण रूपमा निको भएको र २/४ दिनमा नेपाल फर्किने बताएका थिए ।)
***

एक दिन अस्पताल कोठामा बस्न अल्छी लागेर बाहिर ग्यालरीमा बसेर मोबाइलमा क्यान्डिक्रस खेलिरहेको थिएँ । पछाडिबाट कसैले बोलाएजस्तो लाग्यो । फर्केर हेर्दा एक जना नेपाली महिला रहिछन् । मेरो रफटफ–कालो हुलिया देखेर ती महिलाले मेरोभन्दा गए–गुज्रेको हिन्दीमा केही सोधिरेहेकी थिइन् । मैले पनि बुझेसम्मको नेपालीमै जवाफ दिँदा उनी ट्वाँ परिन् । खासमा ती महिला श्रीमान्को उपचारका लागि राजीव गान्धी पुगेकी रहिछन् । धरान स्थायी घर बताउने बुढामगर थरको उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आएको रहेछ । ‘केमोको चार साइकल चलिरहेको छ, अझै दुईवटा साइकल बाँकी छ,’ उनले भनिन्, ‘पहिलो साइकल नेपालमै केमो दिए पनि राम्रो नभएपछि फेरि राजीव गान्धीमै आएको उनले बताइन् । ‘केमो लाउनासाथ धेरै किसिमका साइड–इफेक्टहरू देखिन थाले,’ उनले थपिन्, ‘ त्यसपछि नेपालमा उपचार नगरेर यहाँ आएका हौं ।’
***

रोहिणीमा रहँदा क्यान्सर रोग लागेका धेरै नेपाली भेटिए । सबैको एउटै गुनासो थियो— नेपालमा सुलभ र सहज क्यान्सर उपचार गर्ने अस्पताल भइदिएन । केही वर्षअघि ललितपुरको हरिसिद्धिमा क्यान्सर अस्पताल खुलेको छ । राजीव गान्धीकै पद्धती र उपचार विधिमा आधारित भएर पनि यो अस्पतालले अझै बिरामीको मन जित्न सकेको छैन । अथवा, प्रचार पुग्न सकेको छैन ।


यता रोहिणीको नेपाली संसार भने अलग्गै छ, क्यान्सरको उपचार गर्न–गराउन लाइन बसेका नेपालीको दिनरात यहीं बित्दो छ । कतिको त महिना र वर्ष पनि यतै बितिरहेको छ । रोग आशंकामा भर्खरै ‘डायग्नोसिस’ गर्न पुगेका आफन्त पनि यहीं भेटिन्छन्, जीवन–जगत्को आशा मारेर अन्तिम चरणको ‘केमो’ दिन पालो पर्खिरहेका ‘फोर्थ–स्टेज’ बिरामीहरू पनि यतै भेटिन्छन् । कतिपय बिरामीको बर्थ’ डे यहीं आउँछ, कतिको ‘सालगिरा’ साइत यहीं जुर्छ । दसैं, तिहार, असार १५, माघे संक्रान्ति, नयाँ वर्ष र अरू थुप्रै उत्सवहरू क्यान्सर अस्पतालमै आउँछन्–जान्छन् ।


नेपालीजनको हरेक दु:ख, सास्ती, हैरानी र पीडाको साक्षी बनेर बसेको छ यो सोमबजार— परदेशको एउटा हटिया ।
banjade.yagya@gmail.com

प्रकाशित : असार १६, २०७५ ०९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT