कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मिसन ‘ढोरपाटन’

आरके अदीप्त गिरी

काठमाडौँ — बुर्तिबाङमा रात बिताएर भोलिपल्ट ढोरपाटनतर्फ लागेँ म । पुसे महिना साह्रै चिसो थियो । वरपर अग्ला डाँडाले घेरिएको बुर्तिबाङ बजार तुसारोले एकतमास काँपिरहेको थियो । बडिगाढ खोलालाई दायाँ पारेर शेराफाँट हुँदै यात्रा अगाडि बढाएँ ।

मिसन ‘ढोरपाटन’

केहीअघि ओसिलो देखिएको शेराफाँट घामको न्यानोसँगै सूर्यमुखीझैं फक्रेको थियो । गाउँलेहरू निश्छल मन बोकेर बिहानी कामधन्दामा क्रियाशील भइसकेका थिए । म भने पाखु खेत हुँदै निसीखोला तरेर खोलाको किनारैकिनार अघि बढेँ । बाटोमा फाट्टफुट्ट बस्तीबेगर मेरो साथी भनेका उही रूख, बुट्यान, भीरपाखा र खोल्सा, घुम्ती थिए । त्यहाँ बिहानी नास्ता गर्दा करिब नौ बजेको थियो । पातलो बस्ती भएकैले यसलाई पात्लेबास भनिएको होला भन्ने अड्कल गरेँ ।

बाटो आसपास खेतहरूमा उर्बर रूपमा गहुँ, फापर लगाइएको थियो । गाउँलेको जाँगर नियाल्दै म देवीस्थान पुगें । दुई डाँडाबीच समथर आकारमा फैलिएको देवीस्थान मानव बसोबासका दृष्टिले उत्तम रहेछ । गुरुङ, मगर, ठकुरी, बाहुन, क्षत्री आदिको मिश्रित बसोबास भएको देवीस्थान अनुपम प्रकृतिले भरिएको थियो ।


केही बेर गाउँ घुमेर गाउँको बीच बाटो हुँदै यात्रालाई उत्तरपश्चिमतर्फ मोडेंँ । देवीस्थान अनुभव सँगाल्दै म केही घण्टाको यात्रापश्चात् घग्रेनी आइपुगो । केही दलित र मगर समुदायको बसोबास रहेछ घग्रेनीमा । यात्रालाई पुन: खाँडु कान्लेचौर लक्ष्य बनाएर अघि बढिरहें । भिरालो पाखामा अवस्थित कान्लेचौरका बस्तीहरू साना र सघन पातला थिए । बाटोघाटो असुविधा र कृषियोग्य भूमिको अभावमा यहाँका जनताको आर्थिक स्तर भने कमजोर देखिन्थ्यो । कान्लेचौर नाघेर करिब एक घण्टाको हिँडाइमा म जुगजाखोला हुँदै दुवाखोला आइपुगेँ । यो ठाउँ बोहोरा गाउँको सीमावर्ती क्षेत्र पनि हो । यहाँ मगर समुदायको बसोबास रहेको छ ।


बाटोमा बोहोरा गाउँ आयो । हरियालीयुक्त बोहोरा गाउँ रमणीय बस्तीमा सजिएको थियो । गाउँवरपरका खेतमा भर्खर छरिएका गहुँ, फापर, तोरी, उवाका बोट मान्द्रोमा बिस्कुन सुकाएझैं भरिभराउ देखिन्थे । बोहोरा गाउँका गाउँले ज्यादै सहयोगी र मिलनसार लागे । मैले गाउँको फेदी हुँदै यात्रालाई झिवाखोलातर्फ अगाडि बढाएँ । यस गाउँका प्राय: बासिन्दा रोजगारी सिलसिलामा देशबाहिर वा देशकै सुविधासम्पन्न सहरमा गएका थिए । बोहोरा गाउँलाई चार गाउँ थापागाउँ, वडारेचौर, कानाबगर र झिम्पा गाउँले घेरेको थियो ।
...


भोलिपल्टको यात्रा बडानखोला हुँदै अगाडि बढ्यो । यो गाउँमा विशिष्ट रीतिरिवाज तथा सांस्कृतिक परम्पराका धनी मगर समुदाय रहेछन् । प्राय: आफ्नै भाषा र लवजमा बोल्दा रहेछन् । उनीहरूका पराक्रमी कथा सुन्दै र बुझ्दै म निसीगाउँतर्फ लागँे । निसीगाउँ यस भेगकै ठूलो गाउँ रहेछ । गुजुमुज्ज केन्द्रीकृत गाउँको रूपमा विकास भएको निसी स्थानीय स्रोतसाधनले पनि विकसित थियो ।


निसी गाउँपछि मेरो यात्रा गलकत्त खोला तरेर बुढाथोक हुँदै भलकोटतर्फ अगाडि बढ्यो । भलकोट मध्यपहाडी लोकमार्गको प्रस्तावित बसपार्क पनि हो । केही अगाडि बढेपछि भलकोटको मुख्य गाउँ फेला पर्‍यो । त्यहीँ मैले दिउँसोको खाना खाएर आफ्नो यात्रा ओखरबोट, लुप्सी हुँदै अगाडि बढाएँ । यो ठाउँको पारिपट्टि चलबाङ र माथिपट्टि तिलाचन पथ्र्याे । केही भिरालो भूबनोटमा फैलिएको यो ठाउँ प्राकृतिक हिसाबले निकै सुन्दर देखिन्थ्यो । गाउँलेले पानीको स्रोतको उपयोग विशेष ढंगले गरिरहेका थिए । कहीँ पानीघट्टहरू थिए भने कहीँ सिँचाइका लागि नहरलाई व्यवस्थित ढंगले प्रयोग गरिएको थियो ।


हिउँद समयमा बुर्तिबाङ–भलकोट जिप सेवा पनि नियमित सञ्चालनमा छ । यसले त्यहाँको उत्पादनदेखि स्थानीयलाई बजारसँग जोडेको छ । पुन: लुप्सीलाई पछि पार्दै नजिकैका तिग्रापानी र धुनखोलातर्फ लागेँ । यी ठाउँ पनि आर्थिक, सामाजिक अवस्थाले सुधारिएको मैले पाएँ र त्यस दिनको यात्रालाई मैले धुनखोलामा बिसाएँ ।
...


अर्को बिहानको यात्रा मेरो धुनखोला हुँदै निसल देउराली, रिजा भएर उकालो लाग्यो । यस दिनको यात्रा सधैँभन्दा अलि कठिन पनि थियो । बाटोमा स्थानीयहरू ठूलो संख्यामा गाईगोरु एवं भेडा–च्याङ्ग्रा झारिरहेका थिए । त्यो दृश्य कुनै दुर्लभ क्याराभानजस्तो थियो । निश्चल देउराली यस जिल्लाको पश्चिमी सुदूर सीमावर्ती गाउँ पनि हो । खासगरी बुकीखर्कको रूपमा उपयोग भएका यस स्थललाई गाउँलेले आ–आफ्ना बस्तुभाउको चरिचरन क्षेत्र रूपमा उपयोग गर्दा रहेछन् ।


लुप्सी, धनुखोला र तिग्रापानीको पहाडलाई ओगटेर अग्लो उचाइमा उभिएको यस धुरी वारपार गर्दा होस् या आफ्ना वस्तुभाउ चरिचराउमा ल्याउँदा— समस्या नपरोस् भनी गोठालाहरूले यहाँ केही धर्मशालाजस्ता गोठ निर्माण गरिरहेका रहेछन् । केही घण्टाको यात्रामा ठूलो जंगल फेला पर्‍यो । अग्ला–अग्ला रूख, बुट्यान बाटोको दायाँबायाँ उभिइरहेका थिए ।


केही क्षणको यात्रापश्चात् क्रमश: चट्टाने ढुंगाले सजिएको उकालो बाटो आइपुग्यो । यो बाटो अरू हिँडिरहेका बाटोभन्दा केही फरक र अप्ठ्यारो थियो । बाटोमा लालीगुराँस, खर्सु, धुपी होस् या निगालोले युक्त जंगल फराकिलो आवृत्तिमा फैलिरहेको थियो । यस क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपान्डा, कस्तुरी, झारल, घोरल र बँदेल पाइने जानकारी निसीढोरका स्थानीय गुम्बज पुनले दिएका थिए । यात्रामा म निसीधुरी हुँदै ढोर देउराली पुगेँ ।


टाढा क्षितिजमा टाँगिएका चुरे, पुथा र सिस्ने आदि हिमाल पुसे जाडो ओढेर मुसुमुसु हाँसिरहेका थिए । हिमालको कान्ति चहकिलो थियो । ढोर देउराली बसेर म अलिक बेर ती हिमालसँग साक्षात्कार गरिरहेँ । हिमालबाट बहिआएको चिसो हावाको स्याँठले मन चंगाझैं हलुंगो भयो ।


समुद्र सतहदेखि तीन हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित यस स्थल ढोरपाटन सिकार आरक्ष अवलोकनका लागि उपयुक्त भ्यु–प्वाइन्ट पनि हो । यो ढोरपाटन–निसीढोर–निसीगाउँ आउजाउ गर्ने पुरानो बाटो पनि हो । जहाँ स्थानीयहरू आ–आफ्ना कृषिउपजका साथै घरायसी बस्तुभाउलाई लिएर ओहोरदोहोर गरिरहेका भेटिन्थे । प्राय:को उत्पादन भूमि ढोरपाटन पनि थियो । ढोर देउरालीमा केही क्षण सुस्ताएपछि म दारेगौँडाको जंगलको ओरालो हुँदै निसल ढोरको गाँवा गाउँमा आइपुगेँ ।
...


भोलिपल्ट मासखोला तरी बोवाङ गाउँको मसगाउँ हुँदै थामसोर, काङखोला हुँदै भुजीमा बिहानको खाना खान आइपुगँे । लगत्तै वल्लो भुजीढोर खोलाको पुल तरेर म नोवी दलित बस्ती हुँदै ढोर उपत्यका प्रवेश गरेँ । ढोरपाटन प्रवेश गर्दा मन एकतमास रमाइरहेको थियो । देशको एक मात्र सिकार आरक्षको रूपमा ख्याति कमाएको यसको सौन्दर्य वर्णन शब्दमा गर्न मुस्किल छ । ढोरपाटन उपत्यकामै रहेका ढोरबराह मन्दिर दर्शन गर्दै उत्तरगंगाका २२ धारा नुहाएर आफ्नो यात्रालाई स्यालपाखे गाउँतर्फ लम्काएँ । ढोरमा मानिसको चहलपहल त्यति थिएन । कारण चिसो मौसममा उनीहरू प्राय: बेंसी झरिसकेका थिए । उत्तर, पश्चिम एवं दक्षिणमा अग्ला–अग्ला आरक्षका ब्लकले घेरिएको उपत्यका चिसो मौसमले कक्रिरहेजस्तो देखिन्थ्यो । म उपत्यकाका छ्याङ्टुङ गुम्बा, शरणार्थी शिविर, आरक्ष कार्यालय आदि घुमेर उपत्यकाको मध्यभागमा रहेको सामुदायिक लजमा विश्राम लिन पुगेको थिएँ ।


बिहानको यात्रा मेरो नौथर गाउँ हुँदै गुर्जाघाटतर्फ बढ्यो । जहाँबाट म्याग्दीको गुर्जागाउँ वा जलजलातिर लाग्न पनि सकिन्छ । गुर्जा पुग्दा अचानक हिउँ–वर्षा आइपर्‍यो । सर्वांग नांगो गाउँ एकै छिनमा हिउँको तन्ना ओछ्याए बराबर भयो । केही क्षण हिउँसँग बेस्मरी खेलियो । हिउँ पर्नाले ठूलो खुसी गाउँलेहरू मनाइरहेका थिए । कारण हिउँदे खेतीपातीका लागि हिउँले सिँचाइको काम गर्दथ्यो । दिनभरिजसो हिउँ परि नै रह्यो । मैले भने गुर्जागाउँमै बास रोजें ।
...


भोलिपल्ट बिहानको मेरो यात्रा लुङसुङ, मुना, सिबाङ, ताकम हुँदै देवीस्थानतर्फ बढ्यो । देवीस्थानबाट थाप्लेको पहाड काट्न मलाई केही कठिन भयो । कारण बाटो वरपर सर्वत्र हिउँ थियो । जेनतेन थाप्लेको पहाडलाई नाघेर म सिस्नेरी हँुदै ओखरबोट आइपुगेँ । यात्रामा भेटिएका सबै दृश्यहरू बिर्सिन नसक्ने थिए । गाउँलेहरूको दिनचर्या हिउँ पर्नुले फेरिएको थियो ।


सिस्नेरीमा खाना खाएर म दिनभरिको यात्रालाई खुँगासम्म डोर्‍याएँ । त्यस दिनको बास मेरो खुँगामै भयो । भोलिपल्टको यात्रा खुँगाको तल्लो बाटो हुँदै तमानखोला तरेर बोङ्गादोभानमा आइपुग्यो । केही घण्टाको यात्रापश्चात् मैले आफ्नो यात्रा पुन: बुर्तिवाङतर्फ डोर्‍याएँ । यसरी मेरो मिसन–ढोरपाटन टुंगएिको थियो, अद्भुत र अलौकिक अनुभव सँगाल्दै ।

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?