१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तिम्रो ग्याल्मो खोइ ?

रंगमञ्च
बिना थिङ

काठमाडौँ — मुलुकी ऐनमा कुनै बेला जार काट्ने प्रावधान थियो । अहिले पनि ती पुराना कपिहरू अनलाइन स्टोरहरूमा उपलब्ध छन् । त्यो कानुन बनाएका थिए उनै जंगबहादुरले । ‘जंगे कानुन सबैले जानुन्’ नाटकमा कुर्लिन्छ जंगबहादुर । तर, भेष बदलेर उनकै सिकार क्याम्पको अस्थायी दरबारमा पुगेका सोनामले ‘कानुन पालन’ गर्न खोज्दा के हुन्छ ?

तिम्रो ग्याल्मो खोइ ?

सायद मिथक समयको धमिलो ऐना हो । त्यही भएर मिथकभित्र हामी विस्मृतिको तस्बिरझैं लाग्ने घुर्माइलो यादहरू भेट्टाउँछौं । रहस्यझैं लाग्ने चामत्कारिक क्षणहरू चिहाउँछौं । आधिकारिक या तथ्यपरक इतिहास बन्न नसकेको सकस सायद मिथकहरूभित्र लुकिबसेका हुन्छन् । ती कि त श्रुति परम्पराबाट, कि त लोक कथा या गाथाबाट फुत्त निस्केर बेला बखत मानिसहरू जिस्काइरहन्छ ।


हालैको एक साँझ । बत्तिसपुतलीस्थित शिल्पी थिएटर । मिथकभित्रबाट दुई जना पात्र फुत्त निस्केर जिस्काउन आइपुगे । हैन हैन, झस्काउन आइपुगे । किनभने ती खासमा मिथकीय पात्र थिएनन् । आधिकारिक इतिहास बन्नबाट छेकिएका, मेटिएका, थिचिएका, अनि जर्बजस्त लोककथामा बाँच्न अभिशप्त पात्रहरू थिए ती । सोनाम र ग्याल्मो । जहानियाँ राणा शासनको जग बसाउने जंगबहादुरको जीवनको उत्तराद्र्धसित जोडिएका यी पात्रहरू यतिबेला शिल्पी थिएटरमा ‘जिउँदा जाग्दा’ भेटिन्छन् ।


इतिहासको मधौरु कुनाबाट यी पात्रहरूलाई बाहिर निकालेका हुन् कवि एवं नाटककार फूलमान वलले । जंगबहादुरलाई सर्लाहीको पत्थरघट्टमा तामाङ जारले काटेको प्रसंगहरू सुनिन्छन्, कहींकतै पढ्न पनि पाइन्छ । यही विषयमा संस्कृतिविद् एवं अन्वेषक रवीन्द्र ग्याबा तामाङले पुस्तक नै लेखेका छन् । मगर अध्येता एवं फिल्मकर्मी संजोग लाफाका अनुसार यो प्रसंग मगर समुदायमा पनि प्रचलित छ कथाको रूपमा । इतिहासकार ज्ञानमणि नेपालले हिमाल खबर पत्रिकामा लेखेका छन्, ‘जंगको मृत्युबारे कसैले सेतो बाघको कल्पना गरेका छन् भने कसैले मगर्नी ल्याएकाले जारले काटेको भनेका छन् ।’ त्यस्तै मदन रिमालद्वारा लिखित र स्पेस टाइम्स दैनिकमा २०५७ मा प्रकाशित अनुसन्धानमूलक आलेख ‘जंगबहादुरलाई गुलेली लाग्यो कि जारले काट्यो ?’ मा पनि जारले काटेको सन्दर्भ छ ।


वलले यही सन्दर्भहरू टिपेर नाटक लेखेका हुन्, ‘सोनाम ग्याल्मो’ । पत्थरघट्टमै पुगी दुई वर्षअघि तयार पारेको नाटक बल्ल मञ्चनमा आएको छ, निर्देशन गरेका हुन् सोनाम मोक्तानले । नाटक दुईवटा समयको कथा हो । एउटा मिथकजस्तै लाग्ने पुरानो समयको कथा, अर्को अहिलेको तामाङ समुदाय, संस्कृति र जीवनको कथा । तर, दुइटै समयमा डम्फुको ताल एउटै छ । लय एउटै छ । यो लयलाई भत्काउने काम नयाँ समयले गर्छ कि गर्दैन ? पर्खौ र हेरौं । अहिलेचाहिँ नाटकमै पसौं ।


सुरुमै आउँछ सृष्टि गीत । तामाङ समुदायको ताम्बा दर्शन बोकेको यो गीत बलले सन्तवीर लामाको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ बाट लिएका हुन् । सृष्टिको गीत अहिले पनि ताम्बाहरूले गाउँदै आएका छन् गाउँघरतिर । बलले भने नाटकमा कथावाचनका लागि यसलाई टिपेका छन् । गीतको स्वरसँगै थिएटरको प्रकाश खुल्दै जाँदा अघिल्तिर देखिन्छ, तामाङ विवाहको भव्य सेट । यहाँ चारदाम भइरहेको छ । विवाह बन्धनमा बाँधिनु अघि तामाङ युवा–युवतीलाई माइती र जन्तीपक्ष दुवैमाझ राखेर कसम खाने र खुवाउने विधि हो चारदाम । यो विधिअन्तर्गत अन्तिममा ढोकामा भाले काटिन्छ, जसलाई जारको प्रतीक पनि मानिंदै आएको छ । धेरैको तर्क छ, तामाङ समुदायमा ‘जंगबहादुर काण्ड’ पनि जारको प्रतीकस्वरूप भाले काट्ने चलन बस्यो । यो पनि एउटा किंवदन्ती हो ।


नाटक अब इतिहासको धमिलो गर्तभित्र पस्छ । सोनाम र ग्याल्मो प्रणयको माधुर्य देखाउन निर्देशक सोनाम मोक्तानले राम्रै मिहिनेत गरेका छन् । तत्कालीन सर्लाही पत्थरघट्टाको निर्जन वनको पृष्ठभूमि रोचक लाग्छ । भर्खरै विवाह बन्धनमा बाँधिएका सोनाम र ग्याल्मोबीचको प्रेम–संवाद, भावभङ्गीमा दर्शक कुत्कुतिन्छन् । तर, अँध्यारो समयको कथा न हो । रैतीको खुसी कहाँ खुसी रहन्छ र ? काठमाडौं खाल्डोमा महारानी राज्यलक्ष्मीसँग सम्बन्ध बिग्रिएपछि, लखन थापाको विद्रोह दबाएपछि, अनि दुई छोराको अप्रत्याशित निधनको चोट बेहोरेपछि मन बहलाउने निहुँ पारेर पत्थरघट्टाको सिकार यात्रामा निस्केका श्री ३ जंगेले सोनाम र ग्याल्मोको खुसीमाथि सिकार खेल्छ ।


मुलुकी ऐनमा कुनै बेला जार काट्ने प्रावधान थियो । अहिले पनि ती पुराना कपीहरू अनलाइन स्टोरहरूमा उपलब्ध छन् । त्यो कानुन बनाएका थिए उनै जंगबहादुरले । ‘जंगे कानुन सबैले जानुन्’ नाटकमा कुर्लिन्छ जंगबहादुर । तर, भेष बदलेर उनकै सिकार क्याम्पको अस्थायी दरबारमा पुगेका सोनामले ‘कानुन पालन’ गर्न खोज्दा के हुन्छ ? नेपथ्यबाट कविता बोल्छ—
सरकार,
मैले त सोधेकै हुँ नि !
जार काट्न हुन्छ कि हुँदैन
हजुले नै काट् बक्सिुन भो
मैले काँटे, त के बिराएँ ?
इतिहासको क्लाइमेक्स हुन्छ या हुँदैन, थाहा छैन । तर, नाटकको क्लाइमेक्स यहींनेर हुन्छ । त्यसपछि सोनामको अवस्था के भयो ? ग्याल्मो कहाँ गइन् ? जंगबहादुरको मृत्यु त्यही खुकुरी प्रहारबाट भयो कि अरू नै कारणले ? नाटक रहस्यमा टुंगिन्छ, जसरी शक्ति हुनेहरूले बनाएको इतिहास तथ्यभन्दा पनि रहस्यको चाङमा उभिएको हुन्छ ।


फेरि नयाँ समयमा नाटक फर्किंदा दर्शकहरू आँखाभरि आँसु बोकिराखेका हुन्छन् । यो एक महान् विछोडको कथा हो । ‘रोमियो जुलियट’, ‘मुना मदन’, ‘लैला मजनु’ जस्तै ट्रयाजेडी । जसरी यी सबै ट्रयाजेडीमा तत्कालीन समाज व्यवस्था, शक्ति र प्रवृत्तिहरू जोडिएका थिए, त्यसैगरी ‘सोनाम–ग्याल्मो’ को महाविछोडमा पनि राणा शासकहरूको क्रूर ज्यादती र दमनका कथाहरू जोडिएका छन् । धेरै लामो समय बितिनसकेको भए पनि, मिथकजस्तै बन्नुपरेको यो जोडीको चुँडिएको खुसी इतिहास र तामाङ समुदायबीचको एक शक्तिशाली विम्ब हो । श्री ३ भीमशमशेरको पालामा आइपुगेर सीता महारानीको कारणले ‘तामाङहरूको जात फिर्ता’ त भयो । तर, यो समुदायले तत्कालीन मुलुकी ऐनको ‘मासिन्या मतुवाली’ हुनुपरेबापत गुमाउनुपरेको प्रेम, खुसी र सुखचाहिँ फिर्ता भयो कि भएन ? कि अझै हुन बाँकी छ ? नाटक हेरेपछि मस्तिष्कमा प्रश्नहरूको भुमरी उठ्यो ।


नेपाली रंगमञ्चमा यो नाटक तामाङ मौलिकतासहितको अग्र्यानिक उपलब्धि होजस्तो लाग्छ । पीडादायी इतिहासको कथा भए पनि सांस्कृतिक सघनता र ताम्बा दर्शनको आलोकमा नाटक सजिएको छ । पुरानो समयको कथा आउँदा थिएटरमा खस्ने ‘घाम अस्ताउन लागेजस्तो समयको घुर्माइलो प्रकाश’ र तामाङ समुदायले भोग्नुपरेको विगतबीच ठूलो सम्बन्ध छ । भालाले रोपिएको सोनाम रक्तमुच्छेल प्रकाशमा छटपटिरहँदा नेपथ्यमा बज्ने कविता र कविताको अन्त्यसँगै सेतो ल्हामदेन (मृत्यु संस्कारमा प्रयोग हुने कपडा) सहित देखिने ग्याल्मोको उदास अनुहारले धेरै कुराको संकेत गर्छ । इतिहास कति पीडादायी थियो भन्ने कुरा यही सानो दृश्य काफी लाग्छ ।


ग्याल्मो बनेकी शान्ति वाइवा र सोनाम बनेका सोनाम मोक्तानको अभिनय जति दमदार लाग्छ, उत्तिकै चाँदनी मोक्तान, सुसन लामा र फूलकुमार बमजनको । चाँदनी दर्जनौं तामाङ फिल्मकी नायिका हुन् । फूलकुमार र सुसन संगीतकार र गायकको छवि बोकेर रंगमञ्च पसेका छन्, ताम्बाको रूपमा यी दुईले नाटकलाई प्रदान गर्ने गति प्रशंसनीय छ । बाँकी कलाकारको पनि अभिनय तारिफ गर्नयोग्य छ । जीवन बराल र आरके रोशन मेहताको सेट डिजाइनले पत्थरघट्टाको जंगलमै पुर्‍याउँछ । यति भन्दाभन्दै पनि यो नाटक कन्टेनकै लागि शक्तिशाली छ । इतिहासको गर्तमा बिलाएका पात्रहरूसितको रंगमञ्चीय भेट त्यसै त्यसै भावुक लाग्छ । त्यो प्रेम, त्यो विछोड, त्यो पीडा अनि त्यो कालो समय । अहिलेका भ्यालेन्टाइन डे मनाउनेहरूले ‘सोनाम–ग्याल्मो’ लाई सम्झुन् । नाटक हेरेर घर फर्किन्जेलसम्म पनि दिमागमा एउटै प्रश्नले चिमोटिरह्यो, ‘ओई सोनाम, तिम्रो ग्याल्मो (खुसी) खोइ ?’

प्रकाशित : असार १६, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?