मुसायराका नायक

स्मृति
अधिकांश उर्दू साहित्यकारहरू गजलमा सीमित छन् । खयाली भने पेन्टिङपछि उर्दू साहित्यमा लागे । उर्दू साहित्यमा महत्त्वपूर्ण योगदान रहे पनि मोहम्मद अमिन खयालीका एउटै प्रकाशित कृति छैनन् । उनका भरिभराउ डायरी र मुसायराका श्रोताहरू मात्रै बाँकी छन् ।
जनक नेपाल

काठमाडौँ — एक समय थियो, नेपाल–भारत सीमावर्ती सहरहरूमा मुसायराको खुबै चल्ती थियो । छर्लङ्गै रात काट्ने गरी सायरहरू महेफिल जमाउँथे । नेपालगन्जका मोहम्मद अमिन खयाली ती चर्चित सायर थिए, जो नहुँदा मुसायराहरू खल्लो–खल्लो लाग्थे । मन्द मुस्कानसहित जब उनले माइक समाउँथे, महेफिल त्यसै ‘वाह’ हुन्थ्यो । मुसायराका ती नायक अब रहेनन् ।

मुसायराका नायक

दुई महिनाअघिको ‘जस्ने सौक व खयाली’ मुसायरापछि उनी बिरामी परे । त्यो नै उनको अन्तिम कार्यक्रम बन्यो । श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित खयालीको असार १ गते ७१ वर्षको उमेरमा निधन भयो ।


उर्दू साहित्यमा महत्त्वपूर्ण योगदान रहे पनि उनको एउटै प्रकाशित कृति छैन । लामो साहित्य साधनाका साक्षीका रूपमा केही भरिभराउ डायरी र मुसायराका श्रोताहरू मात्र रहे । कृति प्रकाशन गर्न नसक्दा अब्बल साहित्यकार पनि गुमनाम हुन सक्छ भन्ने उदाहरण खयाली बनेका छन् । उर्दू साहित्यमा त्यस्ता स्रष्टा धेरै छन् । ‘खयाली साहेब नेपालकै नम्बर एक उर्दू सायर हुनुहुन्थ्यो,’ सायर मुस्तफा अहसन कुरैसी भन्छन्, ‘कुनै कृति छपाउन सक्नुभएन । यति ठूलो साहित्यकारलाई राष्ट्र्रले पनि चिन्न सकेन ।’


उर्दू साहित्यमा उनको ठूलो ख्याति छ । रोगले नच्याप्दासम्म पटक–पटक उनी अल इन्डिया मुसायरामा निम्त्याइन्थे । भारतका लखनउ, बहराइच र नानपाराका मुसायराको त कुनै गिन्ती नै रहेन । समकालीन नेपाली उर्दू गजलमा उनी सर्वाधिक रुचाइएकामध्ये एक सायर मानिन्छन् । उनको लोकप्रियता एक वर्षअघि नेपालगन्जमा भएको अल नेपाल मुसायरामा पनि देखिएको थियो । उनी बिरामी थिए, तर प्रस्तुति बेजोड थियो ।


धेरैले उनलाई सायरका रूपमा मात्र चिनेका छन् । तर, खयालीले उपन्याससमेत लेखेका छन् । वर्षौं लगाएर लेखेको उपन्यास ‘रघु चाचा’ प्रकाशन गर्ने उनको ठूलो धोको थियो । रोगले थलिएर अस्पतालको आईसीयूमा भर्ना हुँदासमेत उनले त्यो इच्छा व्यक्त गरेका थिए । प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनालाई अस्पतालमै बोलाएर भनेका थिए, ‘एउटै किताब नछापिएर म जाने भएँ । एउटा भए पनि छापिदिनुपर्‍यो ।’


खयालीको त्यो इच्छा पूरा गर्न तिमिल्सिनाले स्थानीय स्रष्टामाझ सल्लाह गरे । भेरी साहित्य समाजले पुस्तक छाप्ने भयो । पाण्डुलिपि सबै उर्दू लिपिमा थिए । अहिले देवानागरीमा अनुवाद गरेर प्रकाशन गर्न लागिएको छ । ‘उर्दू साहित्यमा खयालीको कद निकै उचो छ,’ तिमिल्सिना भन्छन्, ‘यति अग्ला साहित्यकारको अन्तिम इच्छा पूरा गर्न नसकेकोमा दु:खी छौं । तर, छिट्टै त्यो अधुरो सपना पूरा हुनेछ ।’


खयालीका अरू पनि परिचय छन् । उनी राम्रा पेन्टर हुन् । झन्डै ३५ वर्ष उनले पेन्टिङ पेसा अँगाले । तस्बिर दुरुस्तै उतार्न सक्थे । जतिसुकै दुरुस्त होऊन्, तस्बिरहरू निस्प्राण हुन्छन् । त्यसैले इस्लाम धर्म भन्छ, “प्राण भर्न सक्दैनौ भने तस्बिर नबनाऊ । त्यो ‘हराम’ हो ।” तैपनि, खयालीले ग्राफपेन्टिङलाई पेसा बनाए । हजारौं तस्बिर कोरे । तर, उनले घरमा एउटै तस्बिर राखेनन् । पेन्टिङलाई उनले जीविकोपार्जन पेसा मात्र बनाए । त्यसैले अर्डरबाहेकका एउटा पनि तस्बिर बनाएनन् । पञ्चायतकालमा उनले राजा वीरेन्द्रका मात्र आठ सयभन्दा बढी तस्बिर उतारेका थिए । त्यसको पारिश्रमिक राम्रै पाउँथे । सरकारी कार्यालयहरूमा टॉगिएका अधिकांश राजाका तस्बिरहरू उनैले बनाएका हुन् । खयालीले जनकपुर चुरोट कारखानामा पनि पेन्टर रूपमा काम गरे । देशभरका मुख्य सहरका भित्तामा चुरोटका विज्ञापन कोर्ने उनै थिए ।


दाङमा जन्मिएका खयाली नौ वर्षको हु‘दा आफन्तकहॉ बसेर पढ्न भारतको तुल्सीपुर पुगे । पॉच कक्षासम्म अरबी पढेपछि उनी मुरादावाद गए । त्यहॉको अक्रमुल उलुम मदरसामा पढेर मौलाना बनेपछि मदरसामा अरबी र फारसी पढाउन थाले । उनका अक्षर राम्रा थिए । चित्र राम्रो कोर्न सक्थे । कसैले भन्यो— पेन्टिङमा राम्रो कमाइ हुन्छ । उनी त्यतै तानिए । त्यो बेला मुरादावादको ‘हेना आर्ट’ ले निकै नाम कमाएको थियो, जहाँ चर्चित पेन्टर मोहम्मद अली आफैं सिकाउ‘थे । खयाली ‘हेना’ मा भर्ना भए र पेन्टिङ सिके । पेन्टिङपछि उनी उर्दू साहित्यमा लागे । अधिकांश उर्दू साहित्यकारहरू गजलमा सीमित छन् । तर, खयाली उपन्यास र धार्मिक साहित्य पनि लेखे ।


नेपालगन्जको डीएसपीरोडस्थित उनको घरमा एक दिन मैले सोधेको थिएँ, ‘खयाली साहेब, पेन्टर हुनु र सायर हुनुमा के फरक रहेछ ?’


परिचित उही मन्द मुस्कानमा उनले भनेका थिए, ‘दुवै कला हुन् तर फरक । तस्बिरमा मुस्कान, ऑसु र हाउभाउ उतारिन्छ । अनि, गजलमा भावना ।’ भावना भन्नुको अर्थ, उनले हौसिँदै थपे, ‘प्रेम–विछोड, दु:ख–सुख, उतार–चढाव । गजलमा तिनै भावना उतारिन्छ ।’


उनीसँग माहोल हेरेर तत्कालै गजल रचना गर्न सक्ने ‘फिलबन्दी’ क्षमता थियो । कमिजको खल्ती होस् वा डायरी, सिरानीमुनि वा टेबलमाथि, जहाँकहीँ गजल देखेपछि मैले सोधेको थिएँ, कति पुगे गजलहरू ? ‘भावनाको के गिन्ती’ उनी फेरि उसैगरी मुस्कुराएका थिए— अनगिन्ती ।


पहिलो पुस्ताका लोकप्रिय सायरहरूले नेपालगन्जलाई ‘सायरको सहर’ बनाए । नयाँ पुस्तामा त्यो उत्साह छैन । तर, सायरप्रतिको सम्मानमा भने कुनै कमी आएको छैन । उनीहरूलाई नगरको ‘सद्भाव दूत’ का रूपमा हेरिंदै आएको छ । २०५२ र २०५४ सालको हिन्दु–मुस्लिम र २०६३ पुसमा भड्किएको मधेसी–पहाडी दंगापछि सामाजिक एकता र सद्भावका लागि सबैभन्दा पहिले सायरहरू अघि सरेका थिए । तीमध्ये खयाली अग्रस्थानमा थिए । उनी सधैं भन्थे, ‘जात र धर्ममा जति बाँडिनुस् । जतिसुकै ठूलो दंगा किन नभड्कियोस्, शब्दले नै हो समाजलाई सद्भाव र एकतामा बाँध्ने । त्यो शब्द, त्यो भावना साहित्यमा हुन्छ ।’


करो तो फैसला पहिले अधेरें से निकलने का
ये तब देखों कि देते है सितारे रोसनी कैसी ।
जब अपनी आपही से बेखबर हम है खयाली तो
बताए क्या गुर्जती है किसी की जिन्दगी कैसी ।
है कितनी रात अभि और कुछ खबर भी तो हो
सहर करिबकै लेकिन कभी सहर भी तो हो ।
अलविदा खयाली साहेब !
[email protected]

प्रकाशित : असार ९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?