दस हजार बुद्ध, आँसु र अनुराग

नियात्रा
म भन्छु– बुद्ध खसोखास हाम्रो माटोका उपज हुन् । तसर्थ मूर्तिमा हाम्रा बुद्धलाई बेचर आर्जन गरिएको हङकङको समृद्धिमा हाम्रो पूरापूर हक लाग्छ ।

काठमाडौँ — बुद्ध दर्शनका दृष्टिमा मूर्तिपूजा सनातनी रूढि हो । र, अन्धमति कर्मकाण्ड हो यो । आत्मिक जागरण र प्रबोधनको सुन्दर माध्यम यो किमार्थ होइन । हो त यो केवल मनोवैज्ञानिक लम्पटपना र आत्मिक दासताको कुरूप माध्यम । कटु अनुभव भन्छ– कालान्तरमा सबै दर्शनको नियति यही हो । मूर्तिमा पतित गराइनु, पुजिनु र तुच्छ स्वार्थका लागि बेचिनु !

दस हजार बुद्ध, आँसु र अनुराग

झट्ट सुन्दा यो कुरा बेतालको लाग्न सक्छ । हङकङमा बुद्धको व्यापार बडो राम्रो छ † हङकङमा हेर्नलायकका ठाउँहरू के के छन् ब्रो ? उत्तरमा जसका पनि जिब्राका टुप्पामा झुन्डिएको ‘टेन थाउज्यान्ड बुद्ध’ आउँछ । बाफ रे हङकङमा बुद्ध † त्यो पनि कम्ती होइन दस हजार † मलाई अहिल्यै उडिजाऊँ र त्यो बुद्धमय तमासा हेरिहालूँ लाग्यो । नभन्दै एक बिहान जोगमेसो मिल्यो र लागेँ म ‘दस हजार बुद्ध’ तिर । साथमा मेरा अगुवा थिए मिस्टर नरेन्द्र शेर्पा । ठूलो दारका भद्र मनुवा, कुराको छाँटले सफल व्यापार व्यवसायी । आकाश धुम्म थियो, अहिल्यै पानी चुहिहाल्ला जस्तो । मौसम चिसोचिसो थियो । तातो कफी घुट्क्यायौँ र लाग्यौँ हामी मध्यम गतिको रेल चढेर ‘दस हजार बुद्ध’ तिर । समतल भूमि सकियो र पाखाको फेदीमा रेल रोकियो । दस हजार बुद्धलाई भेट्ने बाटो समातेर लाग्यौँ हामी उकालै–उकालो । अलि माथि बुद्धहरूको जंगल देखेर म त्यसैत्यसै जिल परेँ । आम्मामामा † बाटाको दुबैतिर आँखाले भ्याएसम्म पाखाभरि बुद्धैबुद्ध † अनेक रूपाकृति र अनेक मुखमुद्राका बुद्ध । कुशल कालीगडीसाथ निर्मित मूर्तिमा सुनको लेप लगाइएका पहेँलपुर बुद्ध † नरेन्द्र भाइले भने— दाइ, यहाँ जति बुद्ध छन्, यिनका त्यति नै फरक रूप छन् । कुनै बुद्ध कुनै बुद्धसँग मिल्दैन । यसो हेर्दा कुरो होझैँ लाग्यो मलाई । क्या परिकल्पना † क्या कलाकारिता † क्या लगानी † क्या संरचना † पर्याटकका आँखाको बिछट्टको जादुगरी आकर्षण । र, हङकङमा बुद्धको मालामाल व्यापार † पैसाका लागि जे पनि बेच्न तम्सिने धूर्त र लुब्ध पुँजीवादको कुशल क्रीडा †
बुद्ध दर्शनका दृष्टिमा मूर्तिपूजा सनातनी रूढि हो । र, अन्धमति कर्मकाण्ड हो यो । आत्मिक जागरण र प्रबोधनको सुन्दर माध्यम यो किमार्थ होइन । हो त यो केवल मनोवैज्ञानिक लम्पटपना र आत्मिक दासताको कुरूप माध्यम । कटु अनुभव भन्छ— कालान्तरमा सबै दर्शनको नियति यही हो । मूर्तिमा पतित गराइनु, पुजिनु र तुच्छ स्वार्थका लागि बेचिनु † यसरी दर्शन जब कर्मकाण्डीय धर्ममा पतित हुन्छ, त्यो जहाँ पनि र जहिले पनि मूर्तिमा बिक्री हुन्छ । हङकङमा मूर्तिबद्ध बुद्धहरू लटालट बिकिरहेका छन् । पर्यटक जो त्यहाँ जान्छ, ऊ बुद्धको ज्ञानको उपासना गर्न जाँदैन । ऊ जान्छ केवल बुद्धका दस हजार मूर्ति र चित्र हेरेर रोमाञ्चित हुँदै नयाँ उत्तेजनामा क्षणिक आनन्द लिन । मान्यवर, हङकङमा बुद्ध व्यापारको क्रीडा डरलाग्दो छ !


व्यापारिक मूर्तिमालामा बुद्धत्वको कन्तबिजोक हेर्दै र सुस्त चालले उकालोमा पाइला चाल्दै नरेन्द्र भाइलाई सोधेँ— भाइ, यो पाखामा बुद्धका कति थान मूर्ति छन् ? उत्तर आयो— खै दाइ, मैले गन्या छैन, हजार थान छन् भन्छन् । अनि बाँकी नौ हजार थान बुद्ध नि ? ती माथि हलमा छन्, दाइ । बुद्धको जंगल छिचोलेर हामी माथि मन्दिरमा पुग्यौँ । मन्दिरनजिकैको विशाल भवनको विशाल हलका भित्ता र सिलिङभरि बुद्धका सहस्र चित्र सजिएका रहेछन् । एकदमै सफाचट्, सुन्दर र मनमोहक !


सिमसिम पानी पर्न थाल्यो र हतार गर्दै हामी लाग्यौँ रेल ताकेर ओरालै–ओरालो । तल झर्दै गर्दा मनमा विचार–तरंगहरू उठे । बुद्ध नेपालमा जन्मेका हुन् भन्दै हाम्रो देशमा घरीघरी आकाश–पाताल हल्लाउने होहल्ला हुन्छ । केही मौसमी राष्ट्रवादीहरू होहल्ला सुरु गर्छन्, र उन्मादी भीड आँखा चिम्लेर हाहाहोहो गर्दै होहल्लाको पछि लाग्छ । यो विवेकशून्य होहल्लामा बुद्धको ज्ञान र सन्देशप्रति न किञ्चित उत्सुकता हुन्छ, न त किञ्चित चाख नै हुन्छ । उता हङकङमा बुद्ध त्यसरी खुलेआम बेचिँदै छन् । बुद्धको त्यो उग्र अपमान, त्यो निर्मम मूल्यहरण र त्यो निर्लज्ज व्यापारप्रति हाम्रा बुद्धपूजक ब्रोहरू किन बेखबर छन् ? ती किन उदासीन छन् ? किन मौन छन् ती ? विचारको यो तरंगसँगै हाम्रा महान् राष्ट्रवादी मान्यवर खड्गप्रसाद ओली हठात् मेरो सम्झनाको आकाशमा उदाए । मनमा तर्कना उठ्यो— बुद्धको यो जंगल र यो लटालट व्यापार देख्न पाए ओली महोदय के भन्दा हुन् ? सायद ती भन्दा हुन्— हाम्रा बुद्धलाई बेचेर हङकङमा समृद्धिको चमत्कार सिर्जना गरिएछ । म भन्छु— बुद्ध खसोखास हाम्रो माटोका उपज हुन् । तसर्थ मूर्तिमा हाम्रा बुद्धलाई बेचर आर्जन गरिएको हङकङको समृद्धिमा हाम्रो पूरापूर हक लाग्छ । त्यसैले म ऐलान गर्छु— अब हङकङ सर्लक्क नेपालमा सरोस्, नेपाल सर्लक्क हङकङमा सर्छ । अनि समृद्धिका मेरा सुन्दर सपनाहरूलाई गिज्याउने हरिपहरू हाम्रो नेपालको समृद्धिको जादुगरी चमत्कार आजै देखून् !


ओली सरको यो स्वप्नदर्शी ऐलान सुनेर म मनमनै कानसम्म मुख च्यातेर हाँसेँ । हो त कुरो ! यत्तिकैमा पानी ओइरियो र नरेन्द्र भाइ र म कुद्दै गएर रेल चढ्यौँ ।
यात्राको अर्को दृश्यको पर्दा उठ्यो । दृश्यमा विष्णु गुरुङ प्रकट भए । हङकङमा व्यवसाय गरी बसेका पोखरेली मिस्टर गुरुङ । उनीसँग पहलमानी ज्यान भएका हङकङे तबल्ची हरि श्रेष्ठ थिए । विष्णुजी आफूलाई कम्निस्ट हुँ भन्ने आफ्नै नेताद्वारा उपेक्षित र पीडित ठान्दा रहेछन् । तिनले आफ्नो पीडाको इतिवृत्त कहे र ती क्वाँक्वाँ रोए । के भन्नु न के भन्नु, म त त्यसैत्यसै अवाक् भएँ ।


विष्णुको व्यथामिश्रित राजनीतिक कथा लामो यात्राको नागबेली बाटो हुँदै यहाँसम्म आइपुगेको रहेछ । युवा बयमै उनी पुष्पलालको नेपाल कम्निस्ट पार्टीमा लागेछन् । पार्टी नाम मात्रको छ, आफ्नो भेगमा गतिविधि केही छैन । पार्टीमा न कतै राप छ, न ताप छ । न आवेग छ, न गति छ । जोसिलो र जंगी पार्टी खोज्दै विष्णु पुष्पलालको पार्टी छाडेर मालेमा भित्रिएछन् । विद्रोहप्रेमी विष्णुको दृष्टिमा एमालेको औतार धारण गरेपछि माले पनि राप–तापरहित, सुस्त र लम्पट हुन पुगेछ । अनि अर्को चर्को पार्टीको खोजीमा उनी आँधीमय माओवादीमा पुगेछन् । उनकै शब्दमा उनले माओवादीलाई ज्यानबाहेक के मात्रै दिएनन् ? घरीघरी आउनेलाई बास दिएनन् कि ? गाँस र कपास दिएनन् कि ? पटक–पटक थुप्रो रकम छन्छनी गनिदिएनन् कि ? आफ्नो राजनीतिक रामकहानी कहँदै जाँदा छिनछिनमा उनको गलो रुद्ध भयो । आकुल स्वरमा उनले भने— हङकङमा कहिले देव गुरुङ आए, कहिले को आए । पार्टी आर्थिक संकटमा छ कमरेड भनेर ती रुन खोजे । मैले लाख–लाख सहयोग गरेँ । कमाइ मालामाल, पैसा फालाफाल भएर दिएको होइन । देश–दुनियाँका लागि यसले चाहिँ पक्कै केही गर्छ भन्ने विश्वासले गाँस काटेर दिएको । पछि त तिनले के गरे ? चाटुकार र चोट्टा, दहिच्युरे र दलाल, बिचौलिया र चोरहरूलाई पार्टी केन्द्रमा ठाउँ दिए, आफ्नो सरकारमा भाउ दिए । मलाई कहिल्यै, कतै, कुनै अवसर दिएनन् । मेरो कुम टेकेर धेरै जालीफाटाहा माथि गए, म तलको तलै धूलामा फालिएँ । आखिर सर, माओवादी भन्ने यो पार्टी पनि हेर्दाहेर्दै खाओवादी भयो । र, खाई नखाई यसमा गरेको मेरो लगानी भुस भयो । यति भनेर उनले चोर औँलले आँसु पुछे ।


भावुकताले गाँजेका विष्णु धेरैअघिको एउटा बडो मर्मस्पर्शी घटना सम्झिन पुगे । घटना पोखराको रहेछ । ‘लाल उग्रवादी’ को आरोपमा विष्णु पक्राउ परेछन् । केरकारपछि केही रकम धितो राखे छुट्न पाउने भएछन् । तर, रकम भए पो † ऊबेला पृथ्वीनारायण कलेजका चिफ रहेछन् राधेश्याम कमारो । नामजस्तो, चरित्र र प्रवृत्तिउस्तै । मिस्टर कमारो आफ्ना क्रियाकर्ममा पञ्चायतको कमारोतुल्य थिएछन् । यी कमाराले मध्यस्थता गरेछन् र राजभक्त मण्डले बन्छु भन्ने लिखतमा औँठाको सहीछाप ठोकेर विष्णु छुटेछन् । त्यो विवशता, त्यो अपमान र त्यो हुर्मतको सम्झना गर्दै किञ्चित् पश्चात्तापको मुद्रामा विष्णु डाको छाडेरै रोए । छुट्ने बेलामा तिनले तँ आर्थिक दुरवस्थामा पो छस् कि भनेर मलाई सोधे । सोधाइबापत मैले तिनलाई धन्यवाद दिएँ । नित्य सम्पर्कमा रहने बाचा–कबोल गरी हामी छुट्टियौँ । पछि विष्णु काठमाडौँ आए । उनका लंगौटिया उनै तबल्ची ब्रोबाट मैले चाल पाएँ । निजले मलाई विष्णुको नेपाली जेबी फोनको नम्बर पनि दिइपठाए । अनेक पटक फोन गरेँ, विष्णुले उठाएनन् । पटकैपिच्छे कसैले उहाँ मिटिङमा हुनुहुन्छ भन्ने जवाफ दियो ।


आफूले विश्वास गरेकाले गरेको घातबाट आहत पोखरेली विष्णु म अकिञ्चनछेउ त्यसरी रुन किन आए ? त्यसरी रोएर ती सम्पर्कबाटै किन अलप भए ? म आश्चर्यचकित छु । कतै रुनु नहुनेसँग रोएँछु भन्ने पो लाग्यो कि † कतै रोदनको यो कथा सार्वजनिक भए शासकहरू रिसाउलान् भन्ने पो लाग्यो कि † मान्छे मुलाको चरित्र कति जटिल, कति रहस्यमय †
यात्राको अर्को प्रकरणको पर्दा उठ्यो । र, दृश्यमा हुत्त प्रकट भए देश सुब्बा । ती आफ्नो भयवादी दर्शनको पर्वत बोकेर आएका थिए । पर्वतको अथाह चापले गर्दा होला, तिनको अनुहार पत्थरमय र टिठलाग्दो थियो । भेट भयो कि भलाकुसारीबिनै तिनले भयवादको राग सुरु गरिहाले । एक तालका मान्छे रहेछन् ती । मानौँ दर्शनको वायुपङ्खीमा सवार भई धरतीबाट माथि शून्यमा उठेका । नयन–मिलनबिना अन्तै हरेर कुरा गर्ने । भयवादबाहेक कुनै चीजलाई माखो बराबर नगन्ने । कोही आओस् र यो पट्यारलाग्दो गनगनबाट मलाई मुक्त गरोस् भन्ने कामना गर्दै के थिएँ, लाल गन्जीधारी किसन राई टुप्लुक्क आइपुगे । उनले लौ अब ‘बिग बुद्ध’ हेर्न जाऔँ भने । बुद्ध नाउँका सहस्र जड मूर्तिहरू हेरेर म वाक्क भएको थिएँ । तैपनि मैले हुन्छ भनेँ । बिग बुद्धको थलो हाम्रो चन्द्रागिरिजस्तै उच्च स्थानमा रहेछ । यहाँजस्तै त्यहाँ जाने साधन पनि केबुलकार रहेछ । ठीक छ, केबुलकार चढ्छु, पाखाको हरियालीमा आँखाको भरपूर आनन्द लिन्छु र उचाइबाट तल निसासलाग्दो सहरको अनुहार हेर्छु । बस्, हामी बाटो लाग्यौँ । आखिर भयवादी न हुन्, तिनले किन छाड्थे ? मलाई भयभीत तुल्याउँदै भयवादी ब्रो पनि हाम्रो पछि लागे ।


जहाँ साथमा भयवादी हुन्छ, सहयात्रीमा भयको सञ्चारसिबाय उसले आखिर गर्छ के ? हाम्रो यात्रा जारी छ, भयवादको प्रवचन जारी छ, र म भयले गाँजिँदो छु । भयवादी ब्रोले ल्यापटप बोकेका थिए । कतै टुसुक्क बस्यो कि उनी ल्यापटप खोलिहाल्थे । एकाध भयवादी अनेक देशमा रहेछन् । तिनले यदाकदा भेटवार्ता गर्दा रहेछन्, र ती वेभ पेजमा आफैँ आफ्नो महिमा राखेर आफैँ मखलेल हुँदा रहेछन् । संसार यति ठूलो छ, ती ब्रोहरू बीस–पच्चीस जनाको भयवादी झुन्डलाई नै संसाद ठानेर आत्मकेन्द्रित भ्रान्तिको चाकाचुलीमा फन्फनी घुम्दारहेछन् । भयवादी मान्यवरले मुख मिठ्याउँदै सुनाए— ठाउँठाउँबाट दर्शन–विमर्श गर्न निम्ता आइरहन्छ, म गइरहन्छु । तर नेपथ्यमा मैले सुनेको कथा अर्कै छ । यो कथा भन्छ— कतै त्यस्तो विमर्श हुने संकेत पाए हाम्रा दार्शनिक ब्रो सविनय आफूलाई डाकिमाग्छन् । र, डाकिएपछि आफ्नै खर्चले आफ्नो कुरो सुनाउन घरीघरी कताकता गइरहन्छन् । कुरा आफ्नो, सुनाउने मुख आफ्नै, सुन्ने कान आफ्नै, वेभ पेज आफ्नै, आफ्नै कुराको ऐनामा आफ्नो अनुहार हेरेर मुग्ध हुने नार्सिसस आफैँ । यी प्रिय ब्रोहरूको सीमान्त भयवादको चर्तिकला विचित्र छ !


मितभाषी किसन राई भयवादका कथा–किस्सा चुपचाप सुन्छन् । अथवा यसो सुनेझैँ गर्छन् र सुन्दासुन्दा आजित भएका ती मित्र केही नै सुन्दैनन् । त्यसैले ती बोल्दैनन् । त्यसो त म पनि बोल्दिनँ । बोलेर के भन्ने ? तिम्रो भयवाद पवन हो भनूँ भने आफ्नै एकोहोरो तानाबाट परम् आनन्द लिइरहेका दार्शनिक महोदयको सानो चित्त दुख्ला । र, उनले सदाझैँ आफ्नो फेसबुकमा तथानाम गाली गर्लान् । आ... एक मात्र नेपाली दार्शनिक ब्रोको अविराम बर्बराहटबाट उत्पन्न तनावले बरु फुटे मेरो टाउको फुटोस्, म मरे बोल्दिनँ !


उपहासको भावमा हाम्रा दार्शनिक भन्छन्— चिनियाँहरू दर्शनमा चाखै राख्दैनन् । ती खालि पैसाका पछाडि कुदेका छन् । तिनले बुझ्न नखोजी त्यत्तिकै मेरो भयवाद बुझिएन भने । तत्त्ववेत्ताको कटु टिप्पणी सुनेर म भित्रभित्रै फिस्स हाँसे । यस प्रसंगमा मैले नेपथ्यमा सुनेको कथा बडो रोचक छ । हाम्रा ब्रोले आफ्नो भयवाद महात्म्य सुनाउन पाउँm भनी हङकङ विश्वविद्यालयलाई आग्रह गरेछन् । अनि कार्यक्रमको आयोजन भएछ । घ्याकघ्याक प्रोफेसरहरू सुन्न हाजिर भए । जे जस्तो भए पनि आफ्नो जातिको गहनो हो, तैतै यसलाई हौसला किन नदिऊँ भनेर हङकङबासी नेपालीहरू पनि ओइरिए । अनि ? अनि के भन्ने ? अनि हुनु हुनामी अनर्थ भयो । भयो के भने मान्यवर, हाम्रा ब्रो आङग्ल भाषमा भयवादीमाथि धाराप्रवाह रूपले प्रकाश पार्न थाले । जब पाँच मिनेट बित्यो, आधा प्रोफेसरहरू उठेर हिँडे । जब दस मिनेट बित्यो, बाँकी प्रोफेसरहरूले पनि प्रवचन त्याग गरे । मानौँ ती सब भयवादबाट भयभीत भएर भागे † नेपालीभाषीबाहेकका श्रोताहरू जति जब पन्छिए तब भयो अर्को तमासा । सेमिनार कक्ष हङकङ विश्वविद्यालयको, विषय भयवाद, बोल्ने नेपाली ब्रो, भाषा अंग्रेजी, श्रोताजति जम्मै नेपाली । मलाई यो कथा सुनाउने बन्धुले कानमा सुटुक्क भनेथे— हाम्रो दार्शनिक कान्छाले त लास्टै पे बोर गर्‍यो हाव दाइ !


यता हामी तीन भाइ केबुल कार चढ्यौँ, उता प्रकृतिले वर्षा सुरु गर्‍यो । किसन र मैले हल्का ज्याकेट लगाएका थियौँ, भयवादी ब्रो बुच्चे सर्टमा ठाँटिएका थिए । ती जाडाले स्युस्यु भए र तिनको कर्णकटु दर्शन–प्रवाहले विश्राम लियो । तिनको जाडो मलाई बरदान भयो । र, मैले मनमनै भने— धन्य करुणामयी प्रकृति † भयकारी भयवादको निर्मम आरोपणबाट अलिबेरलाई म बचेँ । हामी बिग बुद्धको समीपमा पुग्यौँ । उच्च पर्वतको भित्तोमा पर्वत जत्रै अजंगको रहेछ— बिग बुद्ध नामक विकराल मूर्ति । बिग बुद्ध— ज्ञानी बुद्धको चरम् विकृतीकरण, पर्यटकलाई आँखाको रमिता, हङकङलाई लटालट पैसा । पक्का हो, हङकङमा बुद्धको व्यापार हुनुसम्म राम्रो छ !


सेरोफेरोमा डम्म कुहिरो लागेको थियो । मलाई न निष्प्राण बुद्धको फोटो खिच्नु थियो, न बुद्धको ढ्याके मूर्तिसामु भक्ति–मुद्रामा धनुषटंकार हुनु नै थियो । अब हामी लाग्यौँ केबुल कारमा उँधैउँधो । तल फेदीमा जाडो धपाउन तातो कफीको चुस्की लगाउँदै हाम्रा दार्शनिक ब्रोको दिमागी टेप फेरि खुल्यो । तिनले ओठ चाट्दै भने— कार्ल माक्र्सको वर्गसंघर्षको सिद्धान्त गलत रहेछ । हगि ? मैले कृत्रिम विस्मयको भावमा जिज्ञाषा पोखेँ । हो, उनी हौसिए । कसरी ? मैले निवेदन गरेँ । ढुंगेयुगमा कसरी समाज वर्ग संघर्षद्वारा सञ्चालित थियो ? अरे मूर्ख † भुइँफुट्टा दार्शनिकको बतासे वाणी सुन्दा अहिले भने मलाई त्यसैत्यसै जङ चलेर अयो । र, मैले भनेँ— अरे यार्, ढुंगेयुगमा परिवार नामक संस्थाको भर्खर भ्रूण टुसाउँदै हुँदो हो । निजी सम्पत्ति, वर्ग र राज्यको उदय भएकै थिएन । अनि ढुंगेयुग हुँदै नभएको समाज हुँदै नभएको वर्ष संघर्षद्वारा कसरी सञ्चालन होस् ?


अहिले भने दार्शनिक महोदयमा मुखमा राम्रैसँग बुजो लाग्यो । मानव सभ्यताभरि उदय भएका सारा दर्शनलाई मिथ्या सिद्ध गरी विराटरिक्त स्थानमा भयवादलाई थपक्क राख्न आतुर हाम्रा विरलाकोटी विद्वान् ब्रो कन्चट कन्याउन थाले, मुसुमुसु हाँस्दै म कफीको चुस्कीमा मग्न भएँ ।


त्यो साँझ मलाई मनकारी र धनधारी मित्र कमल पौडेलको निम्ता थियो । सनातनी काइदाले चिनारी दिने हो भने यी कमल कवि देवीप्रसाद किसानका छोरा हु्न् । अठाह्र–बीस वर्षदेखि हङकङमा रेस्टुराँ चलाएर बसेका । मिहिनेतले निकै दौलत कमाएका । हाम्रो टोली कमलको गगनचुम्बी अट्टालिकाको अठाह्रौँ तलाको आवासमा पुग्यो । कमल प्रसन्न भए । र, अतिथिको स्वागतमा तिनले सिवास रिगालको सिसीको बिर्को उघारे । भयवादी ब्रो नीरस दर्शनलाई बिर्सेर रमसय शिवास रिगालको भेलमा बाँकटे हाल्न थाले । मलाई हाइसन्चो भयो र किसन भाइ र म पनि सोमरसको मोर्चामा कटिबद्ध भयौँ । कमलले पिताजीको स्वाभिमान र सत्यनिष्ठाबारे हामीलाई एउटा रोचक कुरा सुनाए । एक दिन कवि किसानलाई कमलराज रेग्मीले डाकेर भनेछन्— कमलजी, तपाईंले चिताएको व्यवस्था आउने कहिले हो कहिले † आ... मरिजाने जुनीमा कति दु:ख गर्नुहुन्छ ? राजा र व्यवस्थाको समर्थनमा सानो एउटा वक्तव्य दिनुस्, सबै कुरा ठीकठाक हुनेछ । चाकरीमुखी कमलवाणी सुनेर झस्किँदै किसानले भनेछन्— भो कमलजी, यो बूढेसकालमा मलाई दरबारतिर नघिर्दिनुस् । म जे छु ठीकै छु । मसँग जे छ म, त्यसैमा सन्तुष्ट छु । तपाईंलाई धन्यवाद छ !


बस्, हङकङ यात्राको घुमघामको म्याद सकियो । र, म फिर्ती यात्राको बाटो लागे । साथमा बिरामी आमाको दर्शन गर्न आउन लागेका कलाकार टंक सुब्बा थिए । फिर्ती यात्रालाई तिनले साँच्चि नै सुखद र स्मरणीय बनाए । जीवन रहे र नबिर्से कुनै दिन यो कथा पनि भनूँला ।
...


अहिले मेरो ल्यापटपको टेबुलमा एउटा पार्कर कलम छ, र छ सुन्दर फूलको चित्रमुनि कलात्मक लिपिमा ‘थ्यांक यू’ लेखिएको एउटा कार्ड । कार्डभित्र हातले लेखिएको छ—
हेपिएकाहरूका लागि इन्कलाब गुन्जिरहोस् !
नयाँ कृतिहरू पढ्न पाइरहौँ,
तपाईंलाई सुन्न पाइरहौँ !!
तपाईंको शुभचिन्तक,
अनिल राई, हङकङ
धेरैधेरै धन्यवाद छ प्रिय तरुण डाक्टर अनिल । तर फसाद छ बा, तपाईको यो अनुरागपूर्ण अपेक्षा बूढो हुँदै गएको यो ज्यानले खै कसरी पो पूरा गर्ने हो !

प्रकाशित : असार ९, २०७५ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?