२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाली आधुनिकताको खोजी

बहस
अहिले त वस्तुपरक ज्ञान नै पनि बहुरूपी हुने देखियो । त्यसैले सायद अब हामी पनि अलि समाजशास्त्रीय पारामा साहित्यमा हरूको प्रयोग गर्नेछौं ।
रत्नमणि नेपाल

काठमाडौँ — गत फागुन ४ र ५ गते प्रदेश नं १ को राजधानी विराटनगरमा एक महत्त्वपूर्ण विराट लेखक सम्मेलन आयोजना गरियो । कुनै पनि सम्मेलन नाममा विराट वा बृहत् राख्दैमा महत्त्वपूर्ण हुने होइन । तर, उक्त साहित्यिक सम्मेलन भने कतिपय अन्य अर्थमा ऐतिहासिक हुन गएको देखिन्छ ।

नेपाली आधुनिकताको खोजी

संघीय गणतन्त्र नेपाल घोषणापश्चात् कदाचित त्यही नै पहिलो त्यस्तो आयोजना थियो जसमा देशका सातै प्रदेशका लेखक साहित्यकारहरूको सहभागिता थियो । आयोजक संस्था मोरड नेपाली लेखक संघले निम्ता गर्दा नै प्रादेशिक सहभागिताको मनसाय राखेको जो थियो । त्यसको प्रतिविम्बन सम्मेलनमा किटानी भएको थियो । यद्यपि सहभागी र सहभागिताको कोणलाई गौण मान्दै यो छोटो लेखमा त्यसका अन्य गुणात्मक या वैचारिक पक्षलाई केलाउने प्रयत्न गरिएको छ ।


सम्मेलन आयोजक आफैंले प्रदेशको संख्यात्मक सहभागितालाई गौण ठानेको थियो । यसैअनुरूप उसले ती प्रदेशको साहित्यिक रूपरेखा प्रस्तुत होस् भन्ने उद्देश्य राखेको थियो । यसका लागि हरेक प्रदेशबाट एक जनालाई लिखित कार्यपत्रको जिम्मेवारीसहित उपस्थित हुन भनिएको थियो । कार्यक्रममा सोचेअनुरूप रोचक प्रस्तुतिहरू पनि भए । आयोजकको यो अवधारणाभित्र जे अन्तर्य होस् तर, एउटा जबरजस्त सैद्धान्तिक प्रश्न के उठ्छ भने आखिर साहित्यको प्रादेशिक संरचना हुन्छ त ? हुन्छ भने त्यो केमा आधारित हुन्छ ? साहित्यको भएजस्तै राजनीति, समाजशास्त्र, संस्कृति आदिको पनि हुने हो कि ? यी प्रश्नहरूको सम्बन्ध प्रदेशको राजनीतिक भौगोलिक संरचना कसरी केका आधारमा तय भयो भन्ने कुराहरूसँग ज्यादा छ । तर, नाबालक नै भए पनि हाम्रा प्रदेशहरू राज्यका न्यूनतम अवयवमै अडेका होलान् । नभए त ती कसरी विकसित राज्य बन्ने दिशातिर भोलि उन्मुख होलान् र ?


आज बनेका भए पनि हाम्रा प्रदेशहरू लामो परम्परा बोकेका समाजकै अलिक बृहत् रूप नै हुन् । तिनको इतिहास, समाज संंस्कृति हुन्छ नै । यसैको आधारमा साहित्य निर्माण हुने हो । सायद आयोजकले यसैको निरुपण पो खोजेका थिए कि ? सम्मेलनको विषयवस्तुमाथि प्राज्ञ दधिराज सुवेदीले प्रकाश पारिसकेपछि मैले यसबारे मेरा आफ्नै जिज्ञासाहरू प्रस्तुत गरें । के सात प्रदेशका सात साहित्यिक रूपरेखा हुन सक्छन् भने सात आधुनिकता हुन सक्छन् कि सक्दैनन् ? यी प्रदेशमा बस्ने मानिसका चेतना यहाँका छुट्टै पर्यावरण, शिक्षा, अर्थव्यव्यस्था, प्रविधि र भूगोलले निर्माण भएको छ कि छैन ? कि समग्र नेपालको आधुनिकता जे हो यी प्रदेशको पनि त्यही हो ? के नेपाली आधुनिकताको जो अवधाराणात्मक रूपरेखा छ त्यसैले यी प्रदेशका आधुनिकताको प्रतिनिधित्व गर्न सक्छ ? मैले आफ्ना विचार राख्दैन नेपाली भाषा साहित्यको समग्रताले प्रादेशिक साहित्यको निरुपण हुन सक्ने सम्भावनाबारे संशय व्यक्त गरें । मेरो विचार नेपाली आधुनिकताकै पुनर्लेखन हुनुपर्छ कि भन्ने थियो । समाज विकासको विविधताको कोणबाट हेर्दा आधुनिकताको प्रान्तीय केन्द्र र स्वरूप फरक हुन सक्छ भन्ने मेरो अवधारणा थियो । पूर्व कसरी पश्चिमभन्दा अलिक बढ्ता आधुनिकजस्ता, विकसितजस्तो भएको ? मध्यपश्चिम, हालको ६ नं प्रदेश, किन सुदूरपश्चिमभन्दा कम आधुनिक या विकसितजस्तो देखिएको हो ? कि यी हाम्रा देखाइहरू मात्र हुन् ? साहित्य कलाको उत्पादन प्रकाशनलाई आधार मान्दा पनि प्रदेशैपिच्छे फरक परिचय देखा पर्दछन् । किन ? कदाचित मलाई आज पनि लागिरहेछ प्रादेशिक रूपरेखाले सबैभन्दा पहिला त प्रदेशको आधुनिकीकरणमाथि विहंगम दृष्टिगोचर गर्नुपर्छ ।


बडो संयोगको कुरा हो । गत साता क्यालिफोर्निया विश्वविद्यालयको वैश्विक तथा अन्तर्राष्ट्रिय अध्ययन विभागले आफ्नो बुधबारे साप्ताहिक नियमित गोष्ठीको क्रममा यस्तै विषयमाथि छलफल गर्‍यो । उक्त शृङ्खलामा प्राध्यापक यान निदरभिन पिटर्सले आधुनिकता र पुँजीवादको विकासक्रममाथि आफ्नो विचार राखे । उक्त विभागले विद्यार्थीहरू या प्राध्यापकहरूबीचमा बोलचालको क्रममा या अनुसन्धानमूलक लेख लेख्दा या किताब लेख्दा प्रयोग गर्ने भाषिक शब्दावली कस्तो हुनुपर्छ र किन भन्ने सन्दर्भमा दिएको व्याख्यान सायद विराट लेखक सम्मेलनका आयोजकको उद्देश्य र त्यहाँ प्रस्तुत आधुनिकताबारेको विचार मिल्दाजुल्दा छन् ।


प्राध्यापक पिटर्सका अनुसार लेखाइमा या बोलाइमा आधुनिकता मात्र भन्नु अब गलत हुन्छ । त्यसो भन्नु युरोप केन्द्रित आधुनिकताको पक्षपोषण गरेको ठहर्छ । त्यति मात्र नभएर यसले आधुनिकताका अन्य इतिहास, केन्द्र तथा भविष्यका सम्भावनालाई समेत समस्यामा पार्छ । उनको विचारमा चाहे आधुनिकता भनौं या पुँजीवाद या विश्वव्यापीकरण यी सबै धेरै पहिले पूर्वमा केन्द्र भएका थिए । ती पश्चिमसम्म फैलिए । तर, समयक्रममा पश्चिमले आफ्नै पाराले यी प्रक्रियालाई अवधारणामा बदल्यो । पूर्व केन्द्र भएका प्रक्रिया भने केही समय प्रतिरक्षात्मक बने । तर, कालान्तरमा ती खुम्चिए । पश्चिमी खासगरी युरोपेली आधुनिकताले छोप्यो । उनी भन्छन् पूर्वका या उत्तर दक्षिणतर्फका ती प्रक्रिया नष्टै भइसकेका भने थिएनन् । ती अझै छन् नासिएका छैनन् । केवल खुम्चिएर बसेका थिए । अब ती जाग्दै छन् । कति ठाउँमा जागिसके । उनले चीन र भारतीय सभ्यताको उदाहरण प्रस्तुत गर्दै कति ठाउँमा त जागिसकेको बताए । यो देख्नलाई त्यहाँको शिक्षा, साहित्य, अर्थतन्त्र, आर्किटेक्चर, प्रविधि र खासगरी मानवीय चेतना र व्यवहार आदि हेर्नुपर्ने उनको विचार थियो । उनलाई चीनको सांघाई प्रान्तका एक नेताले भनेका रहेछन्, ‘हामी केही शताब्दी वर्ष गुमनाम भएका थियौं अब पुन: फर्केका छौं ।’ केही सय वर्षको अवधिलाई विश्राम गरेको जसरी सहज रूपमा ती नेताले लिएको कुरालाई उनले ‘बडो उत्तेजक अनि भविष्यमुखी’ संकल्प भएको उनको भनाइ थियो ।


यहाँ स्मरणीय कुरा के छ भने प्राध्यापक पिटर्सले समाजलाई अधिकतम उपरीय संरचनाहरूको आधार भनेका छन् । तर, हिजोको मात्र होइन आजको समाजमा पनि ती कुराहरू हेर्नुपर्छ । उनले गैरमाक्र्सवादी भाषा प्रयोग गरी भन्न के खोजे भने वर्तमान बनाउने ठेक्का इतिहासको मात्र होइन । स्वयम् वर्तमानकै पनि हो । हरेक देश, महादेश, या विश्व नै पनि बृहत् समाजहरू नै हुन् । यिनै समाजमा गडेका हुन्छन् साहित्य, भाषा, प्रविधि, र अर्थव्यवस्था । साहित्य पढ्नु भनेको समाज पढ्नु हो । प्रविधि जान्नु भनेको समाज जान्नु हो । धेरै अघि कार्ल पोलयानी नाम गरेका विद्वान्ले भनेकै थिए बजार समाजमा गडेको हुन्छ । यसको अर्थ हो साहित्यिक रूपरेखाको खोजी हामीले हाम्रा प्रादेशिक समाजको अध्ययनबाट गर्नुपर्ने हुन्छ । यसको सोझो अर्थ हो त्यहाँको सभ्यताको खोजी गर्नु ।


विराट लेखक सम्मेलनको ऐतिहासिकता सायद यसै विषयसँग जोडिएको छ । त्यहाँ हामीले भन्यौं प्रादेशिक साहित्य अध्ययनको अवधाराणात्मक रूपरेखा र समग्र नेपाली साहित्य हेर्ने रूपरेखा एउटै हुन्छ र ? हुँदैन भने प्रदेशको आधुनिकीकरणको प्रक्रियाबीचबाट साहित्यिक धारा निर्माण भएको हामीले हेर्नुपर्ने हुन्छ । सायद त्यहाँको शिक्षा र शैक्षिक संस्थाको विकास प्रक्रियाबाट त्यहाँको आधुनिकता हेर्न सकिन्छ कि ? प्रदेशका कुनै नेतृत्वदायी जातिको सामाजिक व्यवहारबाट त्यहाँको सभ्यता निर्मित छ कि ? अथवा कतिपय सन्दर्भमा केन्द्रीय राज्य पद्धतिले बलपूर्वक त्यसको निर्माण गरेको कुरालाई समेत नजरअन्दाज गर्न सकिंदैन । सभ्यता निमार्ण व्यापक बहुआयामिक प्रक्रिया भए तापनि प्राय: कुनै एक तत्त्वको भूमिका नेतृत्वदायी हुने गरेको छ ।


यी सबैभन्दा भिन्न सभ्यताको मिश्रित या हाइब्रिड रूपको चर्चा यहाँको कार्यशालामा भयो । यो भनेको कसैको प्रभुत्वमा नपरेको समन्वयात्मक आधुनिकता हो (कोअर्डिनेटेड मोडनिटी) । यस्तो विरलै हुने गर्छ तर सम्भावनालाई नकार्न सकिंदैन । उदाहरणको रूपमा आज बन्दै गरेको युरोपेली सभ्यता र धेरै अघिको दक्षिण पूर्वी एसियाको सभ्यताको चर्चा सहभागीहरूले गरे । उनीहरूको विचारमा आधुनिकताको निर्माण केवल प्रभुत्व र प्रतिप्रभुत्वको द्वन्द्वबाट मात्र हुने होइन । अथवा सभ्यता प्रभुत्वको स्थापना मात्र हो भन्न सकिंदैन । कुनै समाजमा यो सन्तुलित पनि हुन सक्छ । विशेषगरी लामो समय वर्गीय एकरूपता कायम भएका समाजमा ।


विश्वमा कला, प्रविधि, राजनीतिलगायतका क्षेत्रमा नयाँनयाँ केन्द्रहरूको उत्खनन भइरहेको छ । साथै नवनिर्माण पनि । यो अवस्थामा प्राध्यापक पिटर्स आधुनिकता नभनेर आधुनिकताहरू, प्रजातन्त्र नभनेर प्रजातन्त्रहरू, राज्य नभनेर राज्यहरू, पुँजीवाद नभनेर पुँजीवादहरू भन्नुपर्ने बताउँछन् । यतिबेला इन्द्रबहादुर राईले कठपुतलीको मन कथामा ‘हरू’ को ज्यादै प्रयोग गर्नुभएको सन्दर्भ यहाँ सम्झना आउँछ । उहाँले त हरियोहरू, उज्यालोहरू, घामका बिटाहरू, छहरू, छैनहरूको प्रयोग गर्नुभएको छ । कुनै पनि वस्तु त्यसलाई हेर्ने हरेक व्यक्तिअनुसार फरकफरक देखिने भएपछि वस्तु नभएर वस्तुहरू हुने तर्क थियो उहाँको । सत्य आत्मपरक हुने हुँदा त्यो सत्य नभएर सत्यहरू हुने भयो ।


इन्द्रबहादुर राईले आत्मपरकताबाट अवधारणा वा ज्ञान बन्ने हुँदा त्यो बहुरूपी ज्ञान वा लीला हुने बताएका थिए । तर, अहिले त वस्तुपरक ज्ञान नै पनि बहुरूपी हुने देखियो । त्यसैले सायद अब हामी पनि अलि समाजशास्त्रीय पारामा साहित्यमा हरूको प्रयोग गर्नेछौं । साहित्यमा मात्र नभएर ज्ञानका अन्य क्षेत्रमा पनि यसको प्रयोग हुने सक्ने देखिन्छ । तर, यसका लागि अध्ययन सामग्री उपलब्ध हुनु जरुरी छ । यस हिसाबले अब हाम्रा साहित्य, कला, अर्थशास्त्र, समाजशास्त्र, संस्कृति, राजनीतिशास्त्रका पण्डितहरूलाई नयाँ जागिर खुला भएको छ । सायद उनीहरूले अब छिट्टै नेपाली आधुनिकताहरू, प्रजातन्त्रहरू, राज्यहरू, पुँजीवादहरू, समाजशास्त्रहरू, अर्थशास्त्रहरूको खोजी गर्नेछन् । त्यसो भयो भने सायद सबभन्दा बढी खुसी त विराट लेखक सम्मेलनका आयोजकहरू हुने होलान् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?