कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पनौती किन छुटाइयो ?

रामायण–सर्किट बहस

काठमाडौँ — पनौतीको नाम नसुन्ने कमै होलान् । पनौती कसरी पनौती बन्यो ? योचाहिँ कमैलाई थाहा हुन सक्छ । पनौती नेपालकै ठूलो तीर्थमध्ये एक हो जहाँ १२ वर्षे कुम्भ मकर मेला लाग्छ । काठमाडौं उपत्यका ताल हुँदा नै गौतम ऋषिले वासस्थान बनाएको ठाउँ हो पनौती । गौतम र उनकी श्रीमती अहिल्याले सुखद जीवन बिताएको ठाउँ पनि पनौती हो ।

पनौती किन छुटाइयो ?

इन्द्रले अहिल्याको सौन्दर्यमा मोहित भएर कुदृष्टि राख्नाले इन्द्र र अहिल्या दुवैले गौतम ऋषिको श्राप पाएको ठाउँ पनि पनौती नै हो ।

गौतम ऋषिले इन्द्रलाई दिएको श्रापबाट मुक्त हुन शिवलिंग बनाएर १२ वर्ष तपस्या गरेको ठाउँ यही पनौती हो । उनै इन्द्रले बनाएको शिवलिंगमाथि बनेको इन्द्रेश्वर मन्दिर नेपालकै प्राचीन मन्दिरको रूपमा ८ सय वर्षदेखि ठाडै छ । इन्द्रले पनौतीमा १२ वर्ष तपस्या गरेर आफू श्रापमुक्त भए भने अहिल्याले रामको आगमनसम्मको समय पर्खेर बस्नुपर्‍यो । गौतम ऋषिको श्रापबाट पत्थर बनेकी अहिल्या रामको पाइला पर्नेबित्तिकै श्रापमुक्त भएर स्वर्ग प्रस्थान गरेकी थिइन् । उक्त पत्थर इन्द्रेश्वर मन्दिर परिसरमा अझै छँदैछ । यो यथार्थ थाहा नभएरै होला रामायण सर्किटमा पनौती छुटेको हुन सक्छ अथवा यो तथ्य लुकाइएको पनि हुन सक्छ । यो तथ्य कसैले लुकाउँदैमा लुक्दैन । यो आलेखमा उल्लेख गरिएको इन्द्रेश्वर मन्दिर, शिवले इन्द्रलाई श्रापमुक्त गराउन हरेक १२ वर्षमा लाग्ने मकर मेला, मन्दिरको उत्तरतिरको पत्थर त यसैका प्रमाण हुन् । यदि गौतम ऋषि, अहिल्या, इन्द्र र राम पनौती नआएको भए पनौती भन्ने नाम नै रहँदैनथ्यो । नेवारी शब्दहरू ‘पँ’, ‘ल्हों’ र ‘टी’ बाट अपभ्रंश भई पनौटी बनेको हो । ‘पँ’ को अर्थ बाँस, ‘ल्हों’ को अर्थ ढुङ्गा र ‘टी’ को अर्थ टुसा हो । गौतम ऋषिले आफ्नी श्रीमती अहिल्या र आफ्नै स्वरूपको इन्द्र एउटै ओछ्यानमा भेटेपछि दुवैलाई श्राप दिएका थिए । गौतमले इन्द्रलाई शरीरभरि योनी होस् र अहिल्यालाई पत्थर होस् भन्ने श्राप दिएका थिए । यो श्रापबाट मुक्त हुन ब्रह्माको सुझावअनुसार इन्द्रले बाँसको लौरो टेकेर संसार भ्रमण गर्दा पनौतीको एउटा ढुङ्गामा बाँस बिसाएको मात्रै के थियो, त्यही ठाउँमा लठ्ठी टुसायो । टुसा निस्किएपछि त्यही ढुङ्गामा इन्द्रले शिवलिंग स्थापना गरेका थिए । ब्रह्माले जुन ठाउँमा यो लौरोबाट टुसा निस्कन्छ, त्यही ठाउँमा शिवलिंग स्थापना गरेर १२ ववर्ष तपत्या गरेपछि शिवले श्रापमुक्त गर्नेछन् भन्ने सल्लाह दिएका थिए । ढुङ्गामाथि बाँस टुसाएकोले पनौतीको नाम ‘पँल्होंटी’ रहन गएको थियो । यही शब्द अपभ्रंश हुँदै पनौती बनेको हो ।

गौतमको श्रापले पत्थर बनेकी आहिल्यालाई राम पाउको स्पर्षले श्रापमुक्त भएको भन्ने रामायणको एउटा महत्त्वपूर्ण अंश हो । राम पनौती आएका यति धेरै प्रमाण छन् । तर, अहिले रामायण सर्किटको कुरा आउँदा पनौती कसरी छुट्यो ? यदि पनौती छुटाउने हो भने रामायण सर्किट अधुरो रहन्छ । यो कुरा नेपाल र भारत दुवै सरकारको ध्यान पुग्नु जरुरी छ । आठ सय वर्षदेखि ठाडै रहेको इन्द्रेश्वर मन्दिर, गौतम तपस्या गरेको पुण्यभूमि, रामले पाइला टेकेको पत्थर, त्रिवेणीघाट, १२ वर्षे कुम्भ मेला, स्थानीय संस्कृतिले गर्दा नै सिङ्गो पनौतीलाई चाँडै युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गर्दै छ । यो नेपालको कुनै सहर वा बस्ती मात्रै होइन, अब विश्वकै सहर बन्दै छ । त्यसैले रामायण सर्किटमा पनौती छुट्नु हुँदैन । (संस्कृति र सभ्यताले सिंगो पनौतीलाई नवजीवन दिन लागिरहेका सम्पदाविद् रवीन्द्र पुरीसँग मकर श्रेष्ठले गरेको कुराकानीमा आधारित)

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?