२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

डा. महेशराजसमक्ष जिज्ञासा

प्रतिक्रिया

काठमाडौँ — लोककृष्ण भट्टराईद्वारा लिखित र हालै प्रकाशित ग्रन्थ ‘नेपाली सभ्यता : विगत र वर्तमान’ले नेपाली विद्धत जगतमा बहस सिर्जना गरेको छ ।

डा. महेशराजसमक्ष जिज्ञासा

कान्तिपुर दैनिकको फागुन १२, कोसेली अंकमा डा. महेशराज पन्तका नाउँमा ‘साम्यवादी नजरमा नेपालको इतिहास’ शीर्षक समीक्षा छापिएको थियो । समीक्षामा भट्टराईको पुस्तकमाथि डा. पन्तको चर्को आलोचना थियो ।

पुस्तकलाई साम्यवादी दृष्टिकोणमा राखेर मूल्यांकन गर्नुभन्दा सभ्यता विकासको चरणमाथि आधारित बनाएर टिप्पणी गरिएको भए त्यसमा आग्रह–पूर्वाग्रह झल्कने थिएन । यो पुस्तकलाई ‘साम्यवादी नजर’ भनेर उल्लेख गर्नु डा. स्वयम्को अल्पदृष्टि होइन र ? पुस्तकमा राजा–महाराजादेखि नेपाली राष्ट्रियताको जगेर्ना गर्नेहरू पृथ्वीनारायण शाह, बिसे नगर्ची, पुष्पलाल र हरिहर यादव, बीपी कोइराला र महेन्द्रनारायण निधि आदि पात्रको उत्तिकै महत्त्व छ भनेर उल्लेख गरिएको छ ।

विषयका हिसाबले यो पुस्तक नेपाली वाङमयको एउटा उपलब्धि हो । खालि अङ्ग्रेजी लेखक ह्यामिल्टन र कर्क प्याट्रिकको उल्था र तिनको पृष्ठभूमिमा ‘पृथ्वीनारायणले मानिसको तीन धार्नी नाक कीर्तिपुरमा काटे’ भनेर लेख्ने स्वघोषित इतिहासकारले यस पुस्तकमाथि गरेको टिप्पणी पूर्वाग्रहपूर्ण देखिन्छ ।

१. पृ. ३२ को बुद्ध दर्शनको अनुशासन विधि ९ वटा सूत्रको नाममा वर्णविन्यासको कुरा छ, त्यसमा नेपाली र अङ्ग्रेजी दुईवटै राखिएको छ— ती बुद्ध दर्शनको अनुशासन विधिका ९ वटा सूत्र हुन् । तिनको हिज्जेमा आलोचना गर्नुको कुनै अर्थ छैन ।

२. बङ्गाली, संस्कृत र मैथिल भाषामा पुरुषपरीक्षा भनेको ‘पुरुषापरिकशा’ नै हो जुन कुरा विद्यापति ग्रन्थमा समेत उल्लेख छ । ३. वाल्मीकि शीर्षकको श्लोक ‘मनिशदा’ शीर्षकबाट सुरु गरिएको छ । डा. पन्तले ‘निशदा’ लेख्नुभएको छ । ४. के किराँत सभ्यतापछि लिच्छवी सभ्यता, सिम्रौनगढ, जुम्लाभन्दा कालखण्ड नमिलेको हो ? किराँत सभ्यतापछि लिच्छवी वंश नै शासनमा आएका हुन् । जुम्लाको छुट्टै खोजबिन हुँदै छ । सिम्रौनगढ कालखण्डका दृष्टिले माथि राख्नुपर्ने त हो, यो तल पर्‍यो भन्दैमा किताबबारेमा कुतर्क राख्न मिल्दैन । ५. भोटका राजा स्रङ्चङगम्पोका दुईवटी श्रीमती थिए— एक अंशुबर्माकी छोरी भृकुटी र अर्की चिनियाँ सम्राट्की छोरी बेन्चेङ । बेन्चेङसँग विवाह गरेपछि उनलाई चिनियाँ सम्राट्ले छोरी विवाह गरेको हुनाले चीनको पनि राजकुमारको उपाधि दिएको र चिनियाँ कम्युनिस्ट पार्टीले शासनसत्ता लिएपछि त्यसबेला तिब्बत, भोट छुट्टै देश नभएको, चीनका सम्राट्लाई कर तिर्नुपर्ने राज्य अर्थात् संरक्षित राज्य भएको कुरा इतिहासकार पन्तलाई थाहा हुनुपर्ने हो । चीनको एक प्रान्तको कर तिर्नुपर्ने राजा उपाधि पाएका चिनियाँ राजकुमार हुन्छ कि हुँदैन ?

६. जहासम्म आषाढको गुरुपूर्णिमा भाद्रको जनैपूर्णिमाका बारेमा छ, त्यो डा. पन्तले भनेजस्तै छुट्टाछुट्टै त हो । तर, गायत्री मन्त्रको गुरु जनैपूर्णिमा र शिक्षाको गुरु आषाढ पूर्णिमाको जुन कुरा छ, ती दुवैको निचोड एउटै हो— शिक्षा सबै जातकाले बराबरी रूपमा पाउनु । ‘दशैं गुरुपूर्णिमा भन्दा पुरानो होइन’ भन्ने पन्तको भनाइ नै गलत छ । दशैं रामायणकालबाट सुरु भएको हो । राजा रामचन्द्रले रावणलाई परास्त गरेपछि त्यसको खुसियालीमा विजयादशमी मनाइन्छ । हाम्रै तराई र भारतको उत्तर प्रान्तमा रामचन्द्रले रावणको वध गरेजस्तो देखाएर विजयादशी मनाउने चलन छ ।

७. लिच्छवी कालका राजा जयदेवदेखि वृषवदेवसम्म भारदारी सभाबाट चुनिएका व्यक्ति नै राजा हुन्थे । त्यसपछि वंशपरम्परा सुरु भएको हो । अझ अंशुबर्मा त वंश परम्परा नभएर भानिजबाट प्रधानमन्त्री (महासामन्त) र राजा पनि भएका हुन् भन्ने केही इतिहासकारको ठहर छ । ८. नरभूपाल शाह रामशाहका खनाति, पृथ्वीपति शाहका जेठा छोरा, वीरभद्र शाहका छोरा भनेर यस पुस्तकको हस्तलिखित पाण्डुलिपिमा उल्लेख छ । त्योचाहिँ टाइप गर्दा छुटेकै हो, डा.पन्तले गल्ती देखाइ दिनुभएकोमा धन्यवाद ।

—नरनाथ लुइँटेल
कलङ्की, काठमाडौं

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?