कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सपनाको मुकाम

काँचुली फेर्दै कर्णाली
सरला गौतम

काठमाडौँ — पत्रकार सरलाले ठीक दुई वर्षअघि लेखेकी थिइन्— सपनाको ट्रान्जिट । कर्णाली प्रदेशको उही थातथलोमा पहिले रोग, शोक र भोक थियो ।

सपनाको मुकाम

अहिले परिवर्तन र सुधारको हाहु सुरु भएको छ । उबेला बम पड्कन्थ्यो विनाशको । आज बम पड्कन्छ
विकासको । अहिले त्यही कर्णालीको सुदुर गाउँ सपनाको ‘ट्रान्जिट’ बाट सपनाको ‘मुकाम’ बन्ने क्रममा छ ।

मैले भनी हिँडेथें, ‘अब सय वर्ष यो ठाउँमा केही हुँदैन ।’ आठ वर्षअघि महिना मंसिरको थियो । झरी थियो सिमसिम । बाजुराको विकटमध्येको एक सापपाटा गाविसबाट कालिकोटतर्फ जाँदै थिएँ । मर्केको खुट्टा, हातमा लठ्ठी । यस्तो ठाउँ आयो, बाटोको नाममा लमतन्न तेर्सिएको लामो चट्टान । वारि भीर, पारि भीर । निकै बेर टोलाएपछि हातपाउको नंग्राले टेकेर पारि पुगें । मसँग बाजुराका एक रैथाने साथी थिए । यसैगरी हिँड्दै गरेर पुगियो— कालिकोटको थिर्पु । चारैतिर हेरें । विरक्तलाग्दा आकाशलाई छेडेर उभिएका भीर । भीरभीरमा बस्ती । त्यही बेला हो— हरेस खाएर मैले भनेको यो ठाउँ युगौं बदलिने छैन । र, आठ वर्षपछि— म कालिकोट पुगें । राजकोट गाविस डुलेर फर्केकै साँझमा स्थानीय राजनीतिकर्मी नगेन्द्र विष्टले भने, ‘पलाँता नहेरी जानुभयो भने कर्णाली यात्रा अपुरो हुनेछ ।’ फर्केर कहिले जान्न भनेको ठाउँमा फेरि नगैकन मन मानेन ।

एक बजेको चर्को घाम छ । सदरमुकाम मान्मको ठाडो उकालोको ठीक मुन्तिर छ, हुल्मा बजार । टन्टलापुर घाममा पनि सुस्ताएको छैन । बीचको झोलुंगे पुल तरेपछि पारि पुगिन्छ । पारि पुगेपछि जिप भेटिन्छ । यो पुलमा मान्छे मात्र कहाँ तर्छन् र ? बडाबडा तारका जालि तर्छन्— मान्छेको ढाडमा ठिंग उभिएर, टाउकोमा तेर्सिएर । नीला ड्रम गुल्टुङ–गुल्टुङ गर्छन् । गाउँगाउँमा विकास पुग्दै छ नि । ट्रान्जिटमा उभिएका मानिसका सपना पुलको बाटो समाई तर्छन् । सपनाको मुकाम भेटाउन गाउँ पुग्छन् ।

दुई सय लिटर तेल भरिएका नीला ड्रम एकपछि अर्को गर्दै मानिसहरू तारिरहेछन् । शरीरमा भएको सबै बल लगाएर एउटा ड्रमलाई तीन तन्नेरीले धकेलिरहेछन् । यस्तो लाग्छ— हरेक पटक जोड लगाउँदा उनीहरूको शरीरको हड्डीको एक टुक्रा धूलो भयो कि ? तारका जाली बोक्ने महिला र केटाकेटी । गाउँगाउँमा धमाधम बाटो बन्दै छ । अलकत्राले होइन, पसिनाले भिजेर बन्छ यो भीरको बाटो । पुलबाट अलि पर काउन्टर छ । जिप चढेर कालिकोटकै नामी विकट पलाँता गाउँ जाँदै छु । साथमा छन्— स्थानीय रेडियोकर्मी लक्ष्मी तिमिल्सिना । उबेला नंग्राले हिँडेर पुगेको गाउँमा आज जिपैमा सरर । मैले कसरी पत्याउँ ?

...प्याँप्याँ पुँपुँ । मानिसको हतारपतार । जिप रोकिएपछि फुर्सदमा वरिपरिको नजराना नियाल्छु । जिपले खच्चड विस्थापित गरेछ । भरियाको कुरै भएन । रारा कर्णाली यातायातका म्यानेजर वसन्त बुढा भन्छन्, ‘आफंै जिपमा हिँड्दा पनि पत्यार लाग्दैन । बाँदर लड्ने अक्करे भीर चिरेर आज जिप गुडेको छ ।’ उनको उत्साहले शब्दहरू अलमलिँदै झर्छन् । भोलि यो बाटोले चाइना छुन्छ । हजारौं जिप दगुर्छन् र हजारौं मान्छेले यतै रोजगारी पाउँछन् । अनगिन्ती सपना उनको मस्तिष्कमा नाच्न थालेको छ । सोच्न पनि नसकिने विकास बाँचेको छ, भन्छन् उनी । बाटो पुग्नुमै यो अद्भुत खुसी त बाटो नपुगेर रोएकाले मात्रै महसुस गर्छ । एउटा मीठो सपना बाँचिरहेका जस्ता वसन्त बूढा । उनी ब्युँझिन चाहन्नन् । विकासको सपनाको अरू सिरिज थप्न चाहन्छन् ।

फेरि हर्न बज्यो । तीन त बजिसक्यो । जिप चल्यो । तलतल कर्णाली माथिमाथि भीर । खोली तीरैतीर । गुरुजी निर्धक्क छन् । नाथे भीर उनले चपाइसके । मौसम महोत्सवको छ । जिप रोकिएको बेला लामो पर्चा आउँछ । को–को आउने हुन् पाँचाल झरना महोत्सवमा ? जिपका मान्छे उत्सुक बन्छन् । कालिकोटको पाँचाल झरना र मुगुको रारा दुवै अहिले चर्चामा छन् । सुनसान सुनसान, दुनियाबाट बेखबर यो एरियाले हल्ला गरिरहेछ । तीन घण्टा बत्तिएपछि जारकोट भन्ने बजार आयो । यहाँ त एक मानिस माइक नै लिएर स्वर मचाउँदै थिए । ‘गाउँटोल सफा राखौं । महोत्सव सफल पारौं’ भनी भट्याउँदै थिए । आठ वर्षपहिला मलाई लागेको थियो— न बाँकी दुनियालाई यो ठाउँबारे थाहा छ । न मैले हिँडेर केही नाप्न सक्छु । किन बिसाएँ होला, यो भारी दु:ख । त्यतिबेलाको आफ्नो निराशा सम्झेर मनमनै हाँसें । अब त यो ठाउँ स्वर मचाउन सक्ने भएछ । आहा !!! लामो डरलाग्दो भीर आयो । यता भीरको के कुडा अर्नु ! मान्छे मात्र अट्ने भीरमा दुईवटा जिप वारपार हुन थालेछन् । त्यो साँझ कर्णालीको सुसेलीसँगै न्यास्रिँदै पैदल हिँडेको बाटो जिपमा हिँड्दै छु । आँखा रसाउनै लाग्दा जिपमा गाना बज्यो । नाच्नै मन लाग्यो । भीरको बाटो गीतको तालमा मोटर निकै बेर गुड्यो । आयो थिर्पु । झ्याप्प लाग्यो ब्रेक ।

नदीको किनारमा मस्तको चौर । वरिपरि डाँडा । मान्छे सुस्ताएका । घोडा सुस्ताएका । एक जना साथी भेटेर गाउँतिर लाग्यौं । झमक्क साँझमा एउटा पसलको बाहिर बस्दै थियौं । गाउँपालिका अध्यक्ष आइपुगे । धूलोले पुरिएका । दिनभरि गाउँको विकासको काममा हिँड्दा उनी धुलाम्य भएका रहेछन् । नजिकको होटलमा एकै छिनमा जमघट बाक्लियो । उहिलेको पलाँता, अहिलेको पलाँता । सानोतिनो छलफल नै भयो । होटलकी साहुनीले कालो चिया स्टिलका गिलासमा भर्दै भनिन्, ‘रक्सी त ठ्याम्मै बन्द भयो । हामी लाइसेन्स भएकाले नि बेच्दैनौं ।’ बाँकी छलफल रक्सीकेन्द्रित भयो । बेला पनि त साँझकै थियो । ‘रक्सी खाएर बाटैमा लड्थे यी बडाअध्यक्ष,’ चोर औंलाले एक व्यक्तिले अर्कोलाई देखाए । उहिलेका कुडा अब बाइगया (उहिलेको कुरा अब त सकियो) । गाउँको तारिफ सुनेपछि गाउँपालिका अध्यक्ष लक्ष्मण बम बोले, ‘कोसिस गर्दै छु । पहिलाभन्दा धेरै कम त भयो । अवशेष बाँकी छन् ।’ रक्सी र झगडा, लुटपाटका लागि नाम कमाएको गाउँ, राम राज्य आजको भोलि बनोस् पनि कसरी ? रक्सी नियन्त्रणबाहेक विकास कामको रफ्तारले अहिले चर्चामा छ पलाँता । दिनभरि भिडेर थाकेका छन् मान्छेहरू । भोलि
सखारै आँखैले हेर्नु छ, मच्चिएका विकासका बेल्चाहरू ।

सारा जगत् एकतिर, कर्णाली नदी एकतिर । कर्णालीको सानदार सुसेली कानले चाल पायो । गाउँ त उठेर नि हल्ला गर्न थालिसकेछ । हामी तयार नहुँदै गाउँपालिका अध्यक्ष स्ट्यान्ड बाई भइसकेका छन् । उनीसँग कदम मिलाउन सानो जत्थै तयार छ । हामी पनि रफ्तारमा तयार भयौं । आफ्ना औजार लिएर हिँड्यौं टोलीसँग । उपभोक्ता समिति होइन, कार्यदल छ सय जनाको । हिँड्दाहिँड्दै जानकारी दिए गाउँलेमध्येका एकले । एकपछि अर्को लाममा बिहान सात बजेको कलिलो घाममा मानिसहरू फिल्डमा जाँदै छन् । रहरलाग्दो दृश्य ढुंगाको ‘बान्ना’ मा बसेर हेरिरहेकी महिलातिर लम्कें म । सोधें गाउँको हालखबर । उनको विचारमा चुनावपछि गाउँले बदलिने भान देखाएको छ । दिनदिनै भइरहेको कामले अब झनै राम्रो होला भन्ने आस दिलाएको छ । बान्नाबाट ओर्लेर कल्पना बम (४८) ले भनिन्, ‘जाँड–रक्सी त बन्दै भएको छ । हाम्रा कुडा सुनिन्छन् । शिर झुकाएर हिँड्थ्यौं । अब डाँडो पारि हिँड्न्या दिन आयाको छ ।’ कार्यदल पर पुगिसकेछ । उनको कुरा टिप्दै म कुदें । बाटो खनिदै छ, बनिदै छ । पाइलाले मेसो मिलाएर हिँड्नुपर्छ । नत्र मुन्टिएर कान्ला मुन्तिर । टलटललल टल्कियो पहेंलो डोजर । केटाकेटी नौलो मान्दा हुन् । हर्न बजाउँदै भाग्दै गर्ने रहेछन् । गुरुजीले कार्यदलसँग कुरो बिसाउँदै थिए । मैले गुरुजीको फोटो किलिक्क पारें । उनी मुसुक्क गरे ।

यो भीरमा डोजर हाँक्न डर लाग्दैन ? फ्याट्ट सोधें पनि । उनले भने, ‘लाग्छ नि कैलेकैले ।’ तर डरके आगे जित हे भनेझैं दिनदिनै बन्दै गरेको गाउँघरको बाटो हेरी खुसी उनको मनमा सुटुक्क हाँस्दोरहेछ । भन्छन्, ‘मान्छेहरू अचम्म मानेर हेर्छन् । बाटो बन्दै जाँदा खुसी हुन्छन् । त्यो देखेपछि मलाई पनि खुसी लाग्छ ।’ काठमाडौंबाट यो दूरको गाउँमा डोजर हाँक्न आएका हुन्— वासुदेव चौधरी । आफ्नो सीपको स्वाद विकटको एक गाउँलाई दिन पाएकोमा उनी मख्ख देखिन्थे ।

पैसाको मुख देख्न मुग्लान हिँडेको पुस्ता अनि दैलोमा पैसा टिप्दै गरेको पुस्ता आमनेसामने थियो । ७० वर्षे जन्म बम उहिले राजापुरबाट साठी किलो नुन बोकेको कहानी गर्दै थिए । ३० वर्षे धनमान सिंह बाटो बनाउने कामको कमान्ड सम्हाल्दै थिए । माटोको आवाज स्वार स्वार, ढुंगाको आवाज ट्वाकट्वाक । आठ बजेको छैन, पूरा जत्था काममा छ । दैलोमा आएको रोजगार पैसा टिप्दै गर्दै गरेका शाखा–सन्तानतिर हेरेर सन्तोष मान्दै थिए— जन्म बम । कुराकानीको बीचमा पनि युवाहरूको हात चलेकै छ । गाउँका सक्ने बूढापाका पनि काममै छन् । महिलाहरू काममै छन् । वरपर गाउँको दृश्य हेर्नलायक छ । मानांै— यो कसैको बिहाघर हो । मानिसहरू हतारमा छन् । रफ्तारमा छन् । तर, मुहार उज्यालो छ ।

३० वर्षे धनमान सिंहले प्राविधिक शिक्षा पढे । कुनै बेला गाउँमा बाटो आउला भन्ने आस उनलाई थियो । त्यसकै लागि पढे । आज गाउँमा काम आयो, उनको शिक्षाले काम पायो । उनीसँगै उभिए— एक हूल नयाँ पुस्ता । आफ्ना बाजे–बराजु मुग्लान भासिएको सम्झे । हरेक दिन उज्यालोसँगै बन्दै–बन्दै गरेको आफ्नो गाउँको वर्तमान दृश्य आँखामा नचाए । एकै पटक सबैको आँखामा खुसी छल्कियो । आफ्नो गाउँ आफ्नै पौरखले हरेक दिन अलिकति बन्दै छ । बनेको गाउँ हेरेर उनीहरू मीठो निदाउँछन् । भोलिपल्टका लागि थप सपना पालेर । उठेपछि सय जनाको टोली बेल्चा समाउँछ, माटो सम्याउँछ, ढुंगा फोर्छ, गिटी पन्छाउँछ । कतारबाट, मलेसियाबाट, भारतबाट फर्केका तन्नेरीहरू पनि थिए लामबद्ध । उनीहरू भन्थे— परदेशी भूमिमा पसिना पोखिन्थ्यो । अर्काको देश बन्थ्यो । आफ्नो हड्डी खिइन्थ्यो । आज आफ्नै देश त्यो पनि आफ्नै गाउँ बनाउँदाको उनीहरूको अनुहारको आभा । आहा !!!

पारि पहरामा ड्यांग पड्क्यो बम । पहिला पनि त गाउँलाई बमले खुब तर्सायो । त्यो विनाशको बम । यो विकासको बम । बमहरूको बाहुल्य भएको ९ नम्बर वडाका सिनियर जन्म बम बोले, ‘उबेला क्या तर्सायो दुईतिरका बमले ।’ बमले सातो लिएको गाउँघरको सातो फर्किरहेको यो समय । पहराको चट्टान धुलाम्य भयो । आवाज आइरह्यो ड्वाङड्वाङ । यो आवाजले डर होइन, खुसी थप्यो । कान्लामाथि डोजर करायो । कान्लामुनि मान्छे । कालो चोलीमा, ढुंग्रे फुलीमा सजिएका महिलाहरू नजिकनजिक आइपुगे । उनीहरू चकमन्न भावमा काम हँुदै गरेको हेर्दै थिए । मलाई कसैले चिनाइदियो । पलाँता गाउँपालिका–९ का जनप्रतिनिधि हुन् उनीहरू । झोलुंगे पुलको आडमा थिए उनीहरू । तल बगिरहेथ्यो कर्णाली । मक्किएर नदीतिर झुन्डिएका काठका फलेकमा आँखा चिम्लेर टेक्दै छिरेकी थिएँ म यो गाउँ, ठीक आठ वर्षअघि । एक छिन टोलाएर झोलुंगे पुल हेरें । हरियो नदीमाथि चाँदीजस्तो पुल । कर्णाली सानदार सुसेलीमा मस्किरहेजस्तो । ‘फेरियो त गाउँ ?’ उभिरहेका महिला जनप्रतिनिधिलाई प्रश्न मिल्काएँ अलि वरबाट । सुनकेस्रा दर्जी र माली सार्कीले मुस्कान रिप्लाई गरे । दुवै चालीसको हाराहारीका । यिनले यो गाउँमा छुवाछूत र महिला हिंसा के मात्र भोगेनन् ? सबै भोगेका भुुक्तभोगी चुनाव जितेर जनप्रतिनिधि बने । विकासको कामको रखवारी गर्दै गर्दा उनीहरू भेटिए ।

हिजो दैलो कुचोमा अड्किएको जीवन । आफ्नो आवाज घाँटीभित्रै दबिएको जीवन । आज नमस्ते खाँदै गाउँ डुलेको जीवन । आफ्नै जुनी फेरिएको र गाउँको जुनी फेरिएको बदलावको साक्षी बनेका छन् उनीहरू । गाउँलाई यति बनाएर पुगेको छैन । यो त सुरुआत हो । तरकारी खेती, व्यवसाय चलेको, सललल बाटो, सिँचाइ, सबै भएको गाउँको सपना उनीहरूले सुनाए । महिला हिंसा र छुवाछूतमा आएको कमी मुक्तकण्ठले बोले ।‘पलाँता जाँदो छ थिपुमा आयाको डोजर, न्यायको अड्डा खोज्दो छ पीडित महिला कहाँ छन् भनी,’ दुई जना सखीले एकै लयमा ठाडी भाका हाले । विकास र न्यायसँगसँगै हिँड्नु्पर्ने राय पनि राखे । महिलाका कुरा एकै पटक सुनिन्न । बल गरेर राख्न नछोडे नसुनी सुख पनि छैन । यस्तै छ उनीहरूको अनुभव । अब एक छिन सुस्ताउने बेला भयो सबै टोली । खोली किनारमा कार्यदलका सबै मिलेर बिहानको नास्ता ब्रेक गरे । कर्णालीका माछा र गहँुका रोटी । यसपछि पालो गाउँगाउँ हिँड्ने । काम गर्दै गरेको समूह काममै फर्कियो । बाँकी जमात उकालो लाग्यो ।

बडेमानका पाइप बोक्दै गरेका महिलाको पसिनाले तप्प माटो भिजायो । गाउँको विकासमा उनीहरूको सुकुटे ज्यानले गरेको परिश्रम † परको एक घरमा प्रौढ मान्छे बाझेको सुनियो । कुरो के परेछ ? उनी बोलेको बुझिएन, नजिक पुग्दा पनि । गाउँपालिका अध्यक्ष देखेर उनी बम्केका रहेछन् । केमा कुरो मिलेन । आँगनमै जनप्रतिनिधिको सातो टिप्ने दिन आयो गाउँमा । हामी हेरी बस्यौं । अध्यक्षले कुरो मिलाएर हिँडे । एक छिन सँगै हिँडेपछि ठूलो जमात तितरबितर भयो । नयाँ संरचनाको गाउँपालिका अन्य ठाउँको झैं केही समय अलमलमा पर्‍यो । अलमल मात्र होइन, विवादमा पनि पर्‍यो । लामो समय अराजकतामा चलेको गाउँ एक्कासि सिस्टममा पस्न सकस मान्यो । त्यो सकसमै जुधिरहेको गाउँपालिका अध्यक्ष अनुभव सुनाउँछन् । जनयुद्धको समयमा बढी दमित थियो, नागरिक आवाज । त्यसपछि अति उन्मुक्त र अनुशासनहीन भयो । पद्धतिभन्दा बाहिर गएर सबै काम हुने अनियन्त्रित भीडजस्तो समाज भयो । जसले भेट्यो, उसले खायो । राज्यले हेप्यो भन्यो बस्यो । अब कर्तव्य र दायित्व दुवै स्थानीय स्तरमा आएको छ । यस्तो बेला आफ्नै समुदायलाई अनुशासनमा बाँधेर पद्धति बसाल्न सबैभन्दा कठिन काम मानेका छन् लक्ष्मणले । जुन बिस्तारै हँुदै छ । उनको विचारमा दशकौं गाउँको विकास एउटा रातो पेनले घुमाइदियो । केही मानिस मात्र त्यसको रस खाएर मोटाए । यस्तोमा बानी परेका मानिसहरू सिस्टमको बाधक बनेर निस्कन थाले सुरुमा ।

गाउँपालिका अध्यक्षले उपाय निकाले । विशेष गाउँ सभा भयो । छलफल र बृहत् विमर्श भयो । गाउँकै अठारदेखि चालीस वर्षका सय जना युवाहरूको कार्यदल बन्यो । अनकन्टारको अँध्यारो चिरेर विकासको उज्यालोतर्फ मोडिन अब पलाँतालाई हतार भइसकेको छ । एक वर्ष बितिसकेको छ बाँकी समय हरेक क्षेत्रमा मजबुत आधार बनाएर छोड्ने निर्वाचित जनप्रतिनिधिहरूको धोको छ । २७०० घर धुरी छ गाउँपालिकाभित्र । तीन वर्षभित्र प्रत्येक घरमा धारा । दुई वर्षभित्र प्रत्येक वडामा सडक सञ्जाल । दुई वर्षभित्र प्रत्येक घरमा बिजुली पुर्‍याउने लक्ष्य छ । अहिले ५, ६, ७ वडा झलमल्ल भइसके । ८, ९ मा रफ्तारमा काम हँुदै छ । जेठ महिनाभित्रै उज्यालो पार्ने लक्ष्य लिइएको छ । प्रत्येक वडामा सामुदायिक वन विकास गर्ने र एक वन एक हेराला राख्ने योजनामा छन् उनीहरू । ४, ५ र ६ वडामा तीन वर्षमा सिँचाइ पुर्‍याउने योजनाबमोजिम काम सुरु भएको छ । १ करोड रुपैयाँ विनियोजन भइसकेको छ । आठवटा थोपा सिँचाइ सुरु भएको छ । ९२ लाखको लागतमा दुई वर्षभित्र पूरा गर्ने लक्ष्यसहित काम हँुदै छ । नहर आरसीसी गरिएको हुनेछ । खानेपानीको पाइप दस केजी (ए–ग्रेड) भन्दा कम राख्न दिँदैनन् जनप्रतिनिधिहरू । गाउँपालिका अध्यक्ष आफंै अनुगमनमा भिड्छन् । विद्यालयहरूमा शिक्षक र विद्यार्थीको ७० प्रतिशत उपस्थिति अनिवार्य गरिएको छ । प्रत्येक वडामा स्वास्थ्य जनसेवा सुरु गरिएको छ । १५ शय्याको अस्पताल निर्माण योजनामा छ । स्याउ, सुन्तला र कागती फल्ने पकड क्षेत्रअनुसार खेती गर्ने । पशुपालनमा जोड दिने । सरकारले दिएको बजेट मात्र होइन, गाउँपालिकाको आफ्नै आय बढाउने बृहत् योजनाअनुसार पूरै युनिट खटिरहेको देखिन्छ । कुर्चीमा होइन, फिल्डमा देखिन्छन् सबै ।

आसन ग्रहण, उद्घाटन, भाषण र खादा भिर्नेजस्ता कार्यक्रम गाउँपालिका अध्यक्षले बहिष्कार नै गरेका छन् । भन्छन्, ‘हामीले योजना गरिसक्यौं । काम फिल्डमा हँुदै छ । काम सकिएपछि एकै पटक अर्को आर्थिक वर्षका लागि मात्र मिटिङ गर्ने हो ।’ अत्यावश्यकबाहेक मिटिङमा पनि उनीहरू समय खेर फाल्न चाहँदैनन् । आर्थिक प्रलोभन देखाउने ठेकेदारको अफर देख्दा उनलाई लाग्छ, यो पैसामा मैले घोटाला नगरे गाउँ पूरै बन्छ । उनले भने, ‘मैले घर बनाइसकें आफ्ना लागि । मैले आफ्नो घर जसरी डिजाइन गरें, रंगरोगन जसरी गरें, त्यसरी नै यो पूरै गाउँलाई रंगरोगन गरेर छोड्छु ।’ रक्सी–जुवातासको नियन्त्रण गर्न सामाजिक अभियान सञ्चालन गरिएको छ, गाउँपालिका उपाध्यक्षको नेतृत्वमा । युवाहरू काममा छन् । रक्सीवर्जित छ । घरघरको पैसा जोगिएको छ ।

बिहानभरि हामीलाई नछोडी हिँडेका ३० वर्षे तन्नेरी कलमबहादुर रोकाया गाउँको प्रगतिमा खुसी थिए । उनले भने, ‘म त विपक्षी पार्टीको हुँ, यिनलाई हराउन लागिपरेको । आज यिनले काम देखाउन थाले । राजनीतिक खुट्टा तानातान नि कम भयो । राम्रो काम गरे साथ दिने हो ।’ उनले थपे, ‘पहिला रक्सी आतंक हुँदा सद्दे मानिस नि नराम्रो कुरा गथ्र्याे । अहिले अगतिलो मान्छे नि राम्रो कुरा गर्छ । बिहानदेखि बेलुकासम्मको अथक परिश्रमले मान्छेहरू थाक्छन् । बेलामा घरको खाना खाई भुसुक्क निदाउँछन् । गाउँ अहिले मदिराको नशामा मात्तिएको छैन । कामको नशामा लठ्ठ छ । अहिले एक सय युवा काममा छन् । अर्को आर्थिक वर्षदेखि दुई सय अरू युवाहरू गाउँमा रोजगार हुनेछन् । जनही दिनको ८ सय रुपैयाँ ज्याला लिएर तीन सय युवा गाउँमै काम गरिरहेका हुनेछन् । अब फेरि कुनै मानिसले यो ठाउँमा भोट माग्दा आधारभूत कुरा बनाउने दुहाई दिएर माग्ने मौका नपाओस् । बनिसकेको आधार थप विकासको योजना लिएर आओस् । गाउँपालिका अध्यक्ष लक्ष्मण बम भन्छन्, ‘ अब धारा ल्याइदिन्छु भोट देउ भन्ने दिन सकियो । आँगनभरि पोखिएको पानीको उचित व्यवस्थापन कसरी गर्ने भन्ने योजनामा नयाँ प्रतिनिधि आउने वातावरण बनाउँछु ।’

यतिका वर्ष चुनाव नभएर गाउँको सपना आकांक्षा गुम्सिएर थुनियो । लामो समय थुनिएको नदी बाँध फुकेपछि जसरी हुत्तिएर बग्छ, त्यही मनोदशामा देखिन्छ पलाँता गाउँ । यो हतारमा छ, रफ्तारमा छ । स­–साना कामका लागि सदरमुकाम धाउने दिन सकिएको छ । आफ्नो आकांक्षाको मुकाम आफ्नै गाउँमा भेट्न थालेका छन् मान्छेहरू । कर्णाली प्रदेशकै विकटमध्येको एक पलाँता विकासको सपनाको ट्रान्जिट छिचोलेर मुकामतिर अघि बढिरहेछ । बन्दै छ कर्णाली । मुस्कुराएर बाटो देखाइरहेजस्तो भीरमा चेपिएको एउटा गाउँ ।

प्रकाशित : वैशाख २९, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?