ज्यान स्याल्टरका मुहारहरू

श्रद्धाञ्जली
नेपालप्रेमी बेलायती चित्रकार ज्यान स्याल्टरका एक–एक मुहारचित्रले हामीलाई आफ्नो विविधता नियाल्न प्रेरित गरिरहेको हुन्छ ।
‘२०७२ को नयाँ संविधानसमेत आइसक्यो तर त्यो सामुदायिक विविधता दुई दशकअघिको भन्दा कमजोर भएको छ’
कनकमणि दीक्षित

काठमाडौँ — जातजातिको विविधताको देश नेपाल भन्ने त सबैलाई थाहै थियो । आधुनिक युगमा मानवशास्त्रीहरूले यसको चर्चा पनि गर्न थाले । तर विविधताको बुझाइ र वास्तविकतालाई कलाद्वारा प्रस्तुत गरिन्, ज्यान स्याल्टरले ।

पहिलो पटक सन् १९६८ मा नेपाल आएकी ज्यानले १९७५ पश्चात् उपत्यकालाई नै आफ्नो घर बनाइन्, नेपाल चिन्ने र चिनाउने काम गरिन्। अन्य धेरै पश्चिमा जस्तै ‘नागरिकता नभएको नागरिक’ भइन्, बोरिस् लिस्सानोभिच्, लुड्विग स्टिलर, एलिजाबेथ हली र गट्ज् हागमुलरजस्तै।

ज्यानले नेपाली अनुहारहरूलाई सिसाकलम स्केचमा उतार्न थालिन्, पहिलो अनुहार थियो स्थानीय बालक प्रेमलाल महर्जनको, जसलाई उनले धर्मपुत्रसमेत बनाइन्। त्यसपछि मुहारचित्रको सिलसिला सुरु भयो। सबै समुदायको गरिछाड्छु भन्ने हेतुले काम सुरु गरेकी होइनन् तापनि हिमाल, पहाड र तराईका जातजातिका ३०० नागरिकको स्केच तयार हुनपुग्यो। फोटोग्राफीमा नेपालको ‘डेमोग्राफिक विविधता’ नेपाली र विदेशीद्वारा कैद नगरिएका होइनन् तर पेन्सिल स्केचमा व्यक्तिको स्वभाव र मौलिकता अझै झल्किएको पाइयो।

२०४६ को जनआन्दोलन तथा २०४७ को लोकतान्त्रिक संविधानले दिएको स्वतन्त्रता मार्फत विविध समुदाय आ–आफ्नो पहिचानको अभियान र संघर्षमा लागिपरे। संजोगले ज्यानको कलाले त्यो विविधता दर्साउँदै, झल्काउँदै यो अभियानलाई टेवा दियो।

ज्यान भन्थिन्, ‘पोट्रेचरमा आत्मीयता हुनुका कारण कलाकार र ‘लाइभ सब्जेक्ट’ बीच एक खालको सम्बन्ध बस्न जान्छ।’ महिला भएकाले महिला पात्रको पोट्ेरट उतार्नु उनलाई सजिलो भयो रे, किनकि पुरुष कलाकारले महिलालाई घण्टौं नियाल्दै तस्बिर कोर्नु सहज हुने भएन। उनी भन्थिन्, ‘सबैभन्दा लजालु थारू समुदायका हुन्थे, पहाड, हिमालका समुदायमा त्यति हिच्किचाहट हुँदैनथ्यो।’

उनको ध्येय हुन्थ्यो सकेसम्म परम्परागत वेशभूषाअन्तर्गतको अनुहार उतार्ने तर यदाकदा उनका पात्रहरूको विचार अर्कै हुन्थ्यो। एक जना रानाथारू महिला आधुनिक पोसाकमै पोज गर्छु भनेर ढिपी कसिन्। ज्यानले पेन्टिङ गर्न बसिदिनुस् मात्र के भनेकी थिइन्, थाकखोला मार्फाका एक बूढाले हजाम बोलाएर आफ्नो लामो केश, दाह्री, आँखीभौं सबै खौरिएर सत्यानास पारे !

सुरुका दिनमा एउटा नेवार वृद्धाको स्केच गरेको सम्झिन्थिन् ज्यान, ‘अति मीठो मुस्कान र सौम्य मुहारले अनन्त मौन पीडालाई लुकाएको हुँदो रहेछ।’


ज्यान सल्टरले सन् १९९० को सुरुआतताका तैलचित्रमा नेपाली अनुहारहरू उतार्न थालिन्। ज्यानका चित्रका प्रशंसक र उनका मित्र डा. हर्क गुरुङको शब्दमा ‘फेसेस् अफ् नेपाल’ (नेपालका मुहारहरू) पुस्तक तयार भयो। डा. गुरुङको ताप्लेजुङको घुन्सा हेलिकप्टर दुर्घटना (७ असोज, २०६३) मा मृत्यु भयो, ज्यानको १५ वैशाख, २०७५ मा इंग्ल्यान्डमा।

ज्यानले ‘फेसेस् अफ् नेपाल’ मा लेखेकी छन् : ‘यी अनुहारहरूले नेपालको परम्परागत सुझबुझ र ज्ञान झल्काउँछ, साथै प्रकृतिप्रतिको झुकाव र संस्कृतिको गर्वले दिने आत्मबल।’ कुनाकाप्चामा नेपाली मुहारहरू कोर्दै जाँदा ज्यानलाई थाहा थियो, आधुनिकीकरण र ‘विकास’ को वेगको कारण सांस्कृतिक विविधता ‘डाइलुट’ हुँदै छ। पहिचानको आन्दोलन भयो, २०७२ को नयाँ संविधानसमेत आइसक्यो तर त्यो सामुदायिक विविधता दुई दशकअघिको भन्दा कमजोर भएको छ।

समाज बदलावको गति बढ्दै जाँदा ज्यानलाई ‘अलि बढी सामाजिक सन्देश’ दिने खालको मुहारचित्र कोर्न मन लाग्यो र तीन–तीन वर्ष लगाएर माइती नेपाल संस्थामा उद्धार गरिएका महिलाको चित्र प्रस्तुत गरिन्। उता काठमाडौं सहरका ‘सामुदायिक कुुकुर’ (बेवारिस भुस्याहा) लाई अमानवीय आम व्यवहारबाट बचाउने अभियान थालिन् १५ वर्षअगाडि, जो जारी छ।

अन्तत: पार्किन्सन्स् रोगले च्याप्दै लगेपछि ज्यान हातको कुची त्याग्न बाध्य भइन्। ज्यान सल्टरका एक–एक चित्र जब हेर्छौं, ती पात्रबाट उनी हामीलाई नै नियालिरहेकी हुन्छिन्। सोधिरहेकी हुन्छिन्, ‘कसरी बचाउँछौ त तिमी तिम्रो विविधता ?’

स्नेही स्याल्टर सम्झँदा

ज्यानेट (ज्यान) सोनिया स्याल्टरको जन्म साउथ्याम्प्टन, इंग्ल्यान्डमा सन् १९३६ मा भएको थियो । युवा उमेरमा उनले अफ्रिका, अस्ट्रेलिया र पूर्वी एसियाको भ्रमण गरिन् । उनले बटुलेका धेरै रोचक र उल्लेखनीय अनुभवमध्ये प्रख्यात इन्डोनेसियाली चित्रकार अफान्दीसँग उनको भेट भएको थियो, जसले उनको कलामा प्रगाढ रचनात्मक प्रभाव पारेको थियो । सन् ७० दशकको मध्यबाट उनले नेपालमा बसोबास गर्न सुरु गरिन् । नेपालका विभिन्न भूभागको भ्रमण गर्ने क्रममा भेटिएका ‘असाधारण मानिस’ का अनुहारको सिसाकलमले कागतमा चित्र कोर्थिन् । ज्यानका कलाकृति नेपालमा सदियौंदेखि चलिआएको परम्परागत वेशभूषा र आभूषणको समकालिक अभिलेख हो ।

ज्यान भन्छिन्, ‘मैले चित्रमा उतारेका मानिसहरूले प्राकृतिक संसारसम्बन्धी उनीहरूको ज्ञान र बुझाइको हिसाबले आफ्नै सांस्कृतिक विशिष्टता र समृद्धि हिसाबले अझ धेरै कुराहरू प्रदान गर्न सक्छन् ।’ पछि उनले तैल रङ्गमा चित्रहरू निर्माण गर्न थालिन् जसले उनलाई विभिन्न ‘शैलीसम्बन्धी प्रचुर ज्ञान र आफूलाई व्यक्त’ गर्ने अपार अवसर प्रदान गर्‍यो । ज्यानले आफ्नो जीवनभरि २५० भन्दा बढी सिसाकलमले कोरिएका रेखाचित्र र तैलचित्र तयार पारिन् जसमा अधिकांश चित्रले नेपालका विविध जनजातीय समूहको अभिलेख गर्छन् । यीमध्ये धेरै चित्र ‘नेपालका अनुहारहरू’ (फेसेज अफ नेपाल) पुस्तकमा प्रकाशित भएका छन् । यो पुस्तकमा जनसंख्याविद् डा. हर्क गुरुङको सहलेखन छ ।

ज्यानमा आफू नजिकका मानिसप्रति अपार स्नेह र दया थियो । उनले नेपाली जीवनको अर्को अत्यन्त कहालीलाग्दो पक्षको चित्रण गर्दा अपूर्व संयम र सहानुभूति प्रदर्शन गरिन् । विदेशमा बेचिएका ५० भन्दा बढी नेपाली युवतीहरू, जसलाई माइती नेपालले उद्धार गरेको थियो, तिनलाई उनले अति भावपूर्ण शैलीमा चित्रण गरी ती पेन्टिङहरू ‘अल आवर डटर्स’ (सबै हाम्रा छोरीहरू) शृङ्खलामा संगृहीत गरेकी छन् । यस शृङ्खलाका ४५ थान कृतिहरू माइती नेपालसँग सुरक्षित छन् ।

पछिल्ला वर्षहरूमा ज्यानले आफ्नो अलग सोखमा भुस्याहा कुकुरहरूप्रति मानवीय व्यवहार जताउन थालिन् । सन् २००४ मा उनले काठमाडौं पशु आश्रम (काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर) को स्थापना गरिन् जसले सहरमा उल्लेखनीय परिवर्तन ल्याउन सकेको छ । भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न, संख्या नियन्त्रण गर्ने विधिको रूपमा विष खुवाइदिने उपायलाई निर्मूल पार्न, कुकुर र मानिसहरूमा रेबिजको संख्या न्यूनीकरण गर्न र भुस्याहा कुकुरप्रति जनमानसमा रहेको नकारात्मक मनोवृत्ति हटाउन अहम् भूमिका निर्वाह गरेकी छन् ।

ज्यान स्याल्टरले नेपाली जातिको कलात्मक चित्रण गरेबापत सन् १९९७ मा राजा वीरेन्द्रबाट गोरखा दक्षिण बाहु पदक प्राप्त गरेकी थिइन् । पशु हितको लागि अग्रणी भूमिका निर्वाह गरेबापत सन् २०१० मा ह्युमेन सोसाइटी इन्टरनेसनलबाट प्रसिद्ध ‘असाधारण प्रतिबद्धता र उपलब्धि पुरस्कार’ प्राप्त गरेकी थिइन् । नेपालमा पशु हितका लागि गरेको सेवाबापत उनी नयाँ वर्षको सम्मान सूची–२०१३ मा सूचीकृत भएकी थिइन् । उनले बेलायती महारानी एलिजाबेथबाट एमबीई सम्मान प्राप्त गरेकी थिइन् ।

ज्यानका आफ्नै शब्दहरूले उनका कलाकृतिको सबैभन्दा उपयुक्त सार प्रस्तुत गर्छ, ‘यदि मेरा कृति नेपाली अनुहारहरूले प्रतिनिधित्व गर्ने समृद्ध र विविध संस्कृतिका लागि बृहत्तर मान्यता र सम्मान प्रदान गर्नमा कुनै प्रकारले योगदान गर्न सक्यो भने म गर्व गर्नेछु । मैले नेपाल र यहाँका मानिसबाट जति माया र सहयोग प्राप्त गरेँ, त्यसको तुलनामा यो एउटा तुच्छ उपहार मात्रै हो ।’

—इजावेला खड्का

प्रकाशित : वैशाख २२, २०७५ १०:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनैतिकताको राष्ट्रिय खतरा

निर्वाचनको परिणामअनुसार वाम गठबन्धनको सरकार नबन्ने हो भने मुलुक कांग्रेसको नभई दक्षिणपन्थी पोल्टामा जाने निश्चित छ ।
कनकमणि दीक्षित

काठमाडौँ — राजनीतिक स्थायित्वतर्फको धेरै लामो यात्रापश्चात् तीन–तीन तहको निर्वाचन प्रक्रिया पार गर्दै नेपाली जनता भविष्यको संघारमा उभिएका छन् । आम नागरिकको संयम तथा राजनीतिक/लोकतान्त्रिक चेतले यो सम्भव भएको हो । तर निर्वाचन लगत्तै राजनीतिक स्थिरतातर्फको यात्रामा रातोबत्ती लागेको छ, राजनीतिक अकर्मण्यता र गलफत्तीका कारण । 

एकातर्फ संवैधानिक प्रावधानका कारण नयाँ सरकार निर्माण प्रक्रिया ढिलो भएको हो, राष्ट्रिय सभा तथा प्रादेशिक सांसदहरूको पदस्थापनको प्रक्रियाले गर्दा । केही हदसम्म निर्वाचनपश्चात् नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको आचरणले वर्तमान अन्योल सिर्जना भएको हो ।

समानुपातिकतर्फको प्राप्त मत एमालेको हाराहारीमा हुँदा पनि प्रत्यक्षतर्फ कांग्रेसको लज्जास्पद हार भयो । देउवाले आफूलाई कामचलाउ प्रधानमन्त्री घोषणा गर्नुपथ्र्यो, संविधानले यसै गर नभने पनि लोकतान्त्रिक नजिर बनाउन सकिन्थ्यो । घोषणा नै नगरे पनि बोली र व्यवहारले कामचलाउको जनाउ दिनुपथ्र्याे । तर जनमत कदर गर्दै नयाँ सरकारलाई मार्गप्रशस्त गर्नुको साटो प्रधानमन्त्री देउवा नयाँ नियुक्तिदेखि राजस्व बाँडफाँडमा व्यस्त रहे/छन्, जो नितान्त गैरसंसदीय छ ।

यदि प्रधानमन्त्री देउवाले वाम गठबन्धन टुट्ला र आफ्ना लागि केही फोसा मिल्ला भन्ने आस हो भने त्यो हतास मनस्थितिको उपज भन्नुपर्ने हुन्छ ।

आफ्नो पार्टीको विपत्लाई अलिकति भने पनि पाच्य बनाउन पुष्पकमल दाहाल आफूतर्फ पल्टेलान् भनी आस गरेको भए जनताको अपमान हो, त्यो कांग्रेसको आत्मसम्मानको त कुरै नगरौं । निर्वाचन पश्चात्को दुई–दुई महिना बितिसक्दा पनि नयाँ सरकारबारे अनिश्चितता रहनुमा देउवाको जिम्मेवारी ठूलो छ ।

वाम गठबन्धनले संयुक्त घोषणापत्रमार्फत जितेको सन्दर्भमा दाहालको निजी महत्त्वाकांक्षा तथा सुरक्षाकवचको खोजीमा प्रधानमन्त्री देउवाको ‘क्याल्कुलेसन’ अडेको हो भने त्यो उदेकलाग्दो छ । निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त जित थियो भने दाहालले त्यसलाई त्याग्नु नितान्त गैरनैतिक हुन्छ भने देउवा त्यही नैतिकहीनताको प्रतिफललाई कुरेर बसेका त होइनन्, सोध्नुपर्ने भएको छ ।

कांग्रेसभित्र सरकार छोड्नुपर्ने र ५ वर्ष आत्मशुद्धीकरणमा लगाउनुपर्छ भन्ने धार बलियो छ भनिन्छ । तर हारेका र जितेका नेताहरू दुवैको तर्फबाट यसतर्फ केही पहल देखिँंदैन । एक–एक कांग्रेसजन आफ्नै दल तथा आफ्नै राजनीतिक भविष्यप्रति विश्वस्त नभएकै देखियो, नत्र खोइ उठेको आफ्नो सभापतिलाई लाइनमा राखिराख्न आवाज ।

भरतपुर ताण्डव
बाँकी रह्यो कुरा पुष्पकमल दाहालको, ती माहिर ‘खेलाडी’ जसले आफ्नो राजनीतिक बचाउका लागि जे पनि गर्न सक्छन्, जे गरेका पनि छन्, ‘जनयुद्ध’को सुरुआतदेखि खुला राजनीतिमा । उनको तर्फबाट जे पनि हुन सक्छ भन्ने कुरा पुरै जनताले बुझेका छन् भन्ने कुरा उनी स्वयंले बुझेका छन्। तर पनि नागरिक समाज र राजनीतिक वृत्तले दाहाललाई ‘उनी त्यस्तै हुन्’ भनी छोडिदिने चलन छ, गत दशकको ‘सहमतितुल्य’ राजनीतिमा । र यसैकारण आजैसम्म पनि नेपालको वर्तमान र भविष्य निर्धारण गर्ने ठाउँमा दाहाल विराजमान छन् ।

सबैलाई थाहा भएकै कुरा हो, नेपाली राजनीतिमा ठाडो भारतीय हस्तक्षेपको फाइदा निरन्तर दाहाललाई पुगेको छ । द्वन्द्वकालको कुरा नगरीहालैको शृंखलामात्र हेर्ने हो भने पनि एमाले, कांग्रेसको संविधान निर्माणपश्चात्को अन्तिम निर्वाचन नटुंगिएसम्म गठबन्धन नतोड्ने भद्र सहमति भारतीय दाउपेचले तोडियो र अन्तत: कांग्रेस–माओवादी गठबन्धननिर्माणमा गएर टुंगियो ।

स्थानीय निर्वाचनमा कांग्रेसले आफ्नो पुरै इतिहास बिर्सिएर दाहालसँग तालमेल गर्‍यो, भरतपुर नगरपालिकाको ताण्डवसम्म गराएर नेपाली निर्वाचन प्रणालीलाई थप कमजोर बनाइयो । दसैंको राजनीतिक उलटपुलट पश्चात् दाहाल, एमाले अध्यक्ष केपी ओलीसँग चुनावी तालमेल होइन, गठबन्धन र पार्टी एकीकरण प्रक्रियासम्ममा लागे ।
लोकतान्त्रिक पार्टी एमालेले ‘जनयुद्ध’का लागि जनतासामु माफीसम्म नमागेको तथा युद्धकालका ज्यादतीमा न्यायको खोजीलाई तगारो हाल्दै हिँडेका माओवादी नेतृत्वसँग अंकमालमा जानुले यस पंक्तिकार लगायत धेरैलाई झस्कायो । अझै ६०/४० को बाँडफाँडले त राष्ट्रिय राजनीतिमा ठूलै मस्तिष्कघात गर्‍यो । एमाले कार्यकर्तालाई मात्र होइन, नेपालमा ‘लोकतान्त्रिक स्थिरता’ आउला भन्ने सचेत नागरिकका लागि यो एउटा चिन्ताजनक मोड थियो ।

चित्त बुझाउने बाटो के रह्यो भने प्रस्तावित पार्टी एकीकरणले माओवादी शक्तिलाई अवसान गर्छ— अन्ततोगत्वा माओवादी एमालेभित्र विलय हुन्छ र दाहालको निरन्तर निजी अवसरवादबाट समाजले त्राण पाउँछ । यही बुझाइका कारण व्यावहारिकताको कोणबाट आम नागरिकले यो गठबन्धनलाई पचाए र मतदानमा होमिए ।
माओवादी नेतृत्वलाई समेत थाहा भएकै हो, पार्टी द्रुतगतिमा उँधो झर्दै थियो, मात्र पुष्पकमल दाहालको नेतृत्व तथा द्रव्य सञ्चालनमा चलेको एक संरचना । एमालेको टेको पाएपछि उसले समानुपातिकमा नभए पनि प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत राम्रै नतिजा ल्यायो । अध्यक्ष दाहालको कुरा नगर्ने हो भने आम माओवादी कार्यकर्ता तथा नेतागण समेतलाई राजनीतिक भविष्यको बाटो एमालेसँगैको गठबन्धनबाटै खुल्ने हो । तर आफ्नो नेतृत्वबारे कांग्रेसजन नबोलेझैं दाहालको ‘पार्टी’ माथिको पकडको कारण माओवादीजनहरू पनि चुप छन्, दाहालको ‘क्यारिएर’ जोगाइराख्न आफ्नै राजनीतिक भविष्य धरापमा पर्दा पनि ।

अर्को दशक खेर ?
एक दशकको द्वन्द्वकाल तथा अर्को दशकको संक्रमणकालको अनिश्चितता र अराजकताबाट मुक्ति पाउने हिसाबले तीन तहको निर्वाचनलाई जनताले आत्मसात् गरेका हुन् । निर्वाचन नै सबै कुरा त होइन, तर यसपश्चात् राजनीतिको धरातल उठाउने, संघीयता कार्यान्वयन गर्ने, स्थानीय सरकारलाई सबल बनाउन सबै लाग्नुपर्ने अवस्था थियो, छ ।

अनगिन्ती कानुन बनाउनुपर्ने छन्, नयाँ संविधान अन्तर्गत समाजलाई स्थिर र प्रगतिशील दिशामा डोर्‍याउन । कणकणमा अराजकता र छिद्र–छिद्रमा भ्रष्टाचार मौलाएको समाजलाई विकृतिमुक्त बनाउने हिसाबले जनताले यी तीन तहको चुनावलाई हेरेथे । भुइँचालो, नाकाबन्दी, सामाजिक ध्रुवीकरणका बाबजुद धैर्यका साथ आम नागरिकले मुलुकलाई यहाँसम्म ल्याएका हुन् । सिद्धान्त–शून्यता तथा अवसरवादले जनताको यो उपलब्धि छिन्न मिल्दैन ।

कसैले भन्ला, राजनीतिमा जे पनि हुनसक्छ र पुष्पकमल दाहाल जसरी कांग्रेसको अंकमालबाट एमालेकोमा गए, अब फेरि कांग्रेसकैमा आउनु के आपत्ति ? तर पछिल्लो कदम भने संयुक्त घोषणापत्र र गठबन्धन अनुसार जनताले दिएको मत, जनभावना र विश्वास विपरीत हुनेछ, तसर्थ जाने र भित्र्याउने दुवैले गैरनैतिक काम गरेका हुनेछन् । यस्तो भइहाले देश त कतै जाँदैन, तर संसदीय लोकतान्त्रिक प्रणाली ध्वस्त पारिछाड्नेछन्, मुख्यकर्ताहरूले । केही दिन अरू राज गरौंला भनेर अभिप्रेरित जोकोहीले मुलुकलाई ‘क्राइसिस’तर्फ धकेल्नेछ । यसले न उसको पार्टी बन्नेछ, नत अर्को निर्वाचनमा उसको ‘नयाँ पिढी’ले जनताको विश्वास त्यति छिटो पाउनेछ ।

अनैतिकतामा मौलाउँदै गरेको यो राष्ट्रिय खतराले कांग्रेस पार्टीलाई जति घात गर्छ, सिंगो मुलुकको संवैधानिक अभ्यास र दुई–दुई दशकको लोकतान्त्रिक स्थिरताको संकल्पलाई नै उल्टाइदिने सम्भावना रहन्छ । शान्ति प्रक्रियाको फल प्राप्त हुने छैन, पहिचानको संघर्षमाथि आघात हुनेछ । भारतको हस्तक्षेप हुँदाहुँदै चीनको चासो पनि चुलिँंदै गएको आजको अवस्थामा ‘म्याच्योर’ वैदेशिक नीति नेपालले निर्माण गर्न सक्ने छैन ।

भ्रष्टाचार नियन्त्रण त के भ्रष्टाचारको खुला बजार बन्नेछ, नेपाल । स्थिर राजनीतिले समृद्धि र रोजगार दिलाउँछ भन्ने आस लत्याइनेछ र ठाउँ–ठाउँमा सामाजिक ध्रुवीकरण उत्पन्न हुनेछ भने प्रादेशिक र स्थानीय सरकारको अभ्यास संकटमा पर्नेछ । र बिग्रँदो चुनौतीमाझ विदेशी चासोसहित केन्द्रीकृत शासन चाहने दक्षिणपन्थी शक्ति हावी हुनेछ, त्यही शक्ति जसलाई जनताले हालैका तीन निर्वाचनमा अस्वीकृत गरे ।

संघीय गणतान्त्रिक नेपाल बनाउने सबैको चाहना थिएन होला, तर अब यो ‘फेट अकम्प्ली’ भइसक्यो र यसलाई बलि दिएर अर्कै राष्ट्रिय संरचना बनाउनेहरूले प्रोत्साहन पाउने हो भने अर्को एक दशकको अराजकताको लागि तयार हुनुपर्‍यो । यस्तो चित्र अगाडि आउँछ, यदि मतगणना अनुसारको सरकार नबन्ने हो भने । गत दशकको राजनीतिक यात्राबाट असन्तुष्ट ‘राइटिस्ट एनार्किस्ट’हरूको लागि यो मौका पनि होला, तर बाँकी जनताको लागि यसले संकट निम्त्याउनेछ ।

कता नैतिकता ?
निर्वाचनपछिको दुई–दुई महिना अनिश्चयमा बित्यो, जसले गर्दा तीनै निर्वाचनमा साँचेर राखेको उत्साह मरेर गएको छ भने भ्रष्ट अराजक तत्त्वहरूले ठाउँ पाएकाछन्। नेपालको शान्ति अभ्यास, विधिको शासनको खोजी, मानवअधिकारको प्रत्याभूतिको आस– यो सब असफल होस् भन्ने कामना गर्ने धेरै छन्, मुलुकभित्र र बाहिर र उनीहरू आस गरिबसेका छन् ।

जनताको आफ्नो काम मत खसाल्नु थियो, तर राजनीतिक फाँटको अकर्मण्यता र बेइमानीमाझ निगरानी गर्नुपर्ने नागरिक समाज सुषुप्त छ । नागरिक समाजको अगुवा भन्नुस् या संस्थागत नेतृत्वले दुई–दुईमहिनाको राजनीतिक गतिरोधमा सिन्को नभाँची टुलुटुलु हेरेको कत्ति पनि सुहाएन । प्रस्ट छ, ‘नयाँ नेपाल’मा नागरिक र बौद्धिक समाजमा पनि नयाँ पात्रको आवश्यकता छ र यो काठमाडौं केन्द्रमा नभई प्रदेश–प्रदेशमा स्वस्फुर्त हुने जागरणबाट प्राप्त हुनेछ ।

पुष्पकमल दाहालको माओवादी केन्द्र एमालेसँग संयुक्त घोषणापत्रअन्तर्गतको गठबन्धन चुनावी मैदानमा थियो, त्यो पनि एकीकरण गर्ने घोषणासहित । यसै आधार र विश्वासमा ठूलो अनुपातमा मतदाताले वाम गठबन्धनलाई मत दिएका हुन् । तालमेल मात्र नभई यो त ‘गठबन्धन’ नै थियो र यसअन्तर्गत सरकार नबन्ने हो भने जनमतको ठाडो उपहास हुनेछ ।

जनताको मत अहिले वाम गठबन्धनकै सरकार बनाउनुमै थियो/छ, यति भन्नका लागि ‘वाम विचारक’ वा ‘वामपक्षीय’ हुनुपर्दैन । गठबन्धन बनाएर संयुक्त घोषणापत्रमार्फत चुनावमा होमिंँदै जितेकोले यो जित एमाले र माओवादी केन्द्रको संयुक्त हो, जुन कारण पनि एउटाले अर्कोलाई छाड्न मिल्दैन । अध्यक्षद्वय ओली र दाहालबीच जुन खालको ‘नेगोसिएसन’ अहिले चलिरहेछ, त्यस सन्दर्भमा अध्यक्ष दाहालले बुझ्नुपर्ने यत्ति हो कि राजनीतिशास्त्रमा केही न्यून सिद्धान्त छ भने गठबन्धन छोडेर अर्कासित जान मिल्दैन ।

प्रकाशित : माघ २६, २०७४ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×